पहिलो युहन्ना २:१-२९
२ हे मेरा साना केटाकेटी हो, म तिमीहरूलाई यी कुराहरू लेख्दै छु ताकि तिमीहरूले पाप नगर। तर यदि कसैले पाप गरिहाल्यो भने पनि बुबासँग हाम्रो निम्ति एक जना मदतगार* हुनुहुन्छ अर्थात् येसु ख्रिष्ट,+ जो धर्मी हुनुहुन्छ।+
२ अनि हाम्रा पापहरूका लागि उहाँ प्रायश्चितको बलिदान+ हुनुहुन्छ,+ भनौँ भने हाम्रो लागि मात्र होइन तर सारा संसारका पापहरूका लागि।+
३ यदि हामीले उहाँका आज्ञाहरू पालन गरिरह्यौँ भने हामीले उहाँलाई चिनेका छौँ भनेर त्यसैबाट हामीलाई थाह हुन्छ।
४ यदि कसैले “मैले उहाँलाई चिनेको छु” भन्छ तर उहाँका आज्ञाहरू भने पालन गर्दैन भने ऊ झूटा हो र त्यस मानिसमा सत्य हुँदैन।
५ तर जसले उहाँको वचन पालन गर्छ, त्यस मानिसमा परमेश्वरप्रतिको प्रेम साँच्चै पूर्ण रूपमा देखिन्छ।+ हामी उहाँसित एकतामा छौँ भनेर त्यसैबाट हामीलाई थाह हुन्छ।+
६ जसले आफूलाई उहाँसित एकतामा छु भन्छ, उसले येसुले जसरी जीवन बिताउनुभएको थियो, त्यसरी नै जीवन बिताइरहनै पर्छ।*+
७ हे मेरा प्रियहरू हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन तर तिमीहरूले सुरुदेखि नै पाएको पुरानै आज्ञा लेख्दै छु।+ यो पुरानो आज्ञा त्यही वचन हो, जुन तिमीहरूले सुनिसकेका छौ।
८ फेरि पनि म तिमीहरूलाई एउटा नयाँ आज्ञाजस्तै गरी लेख्दै छु, जुन आज्ञा येसुले पनि पालन गर्नुभयो अनि तिमीहरू पनि पालन गर्छौ किनकि अन्धकार हट्दै छ र साँचो ज्योति चम्कन थालिसकेको छ।+
९ जसले आफू ज्योतिमा छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ,+ ऊ अझै पनि अन्धकारमा छ।+
१० जसले आफ्नो भाइलाई प्रेम गर्छ, ऊ ज्योतिमा रहन्छ+ र उसको लागि ठक्कर खाने केही कारण हुँदैन।
११ तर जसले आफ्नो भाइलाई घृणा गर्छ, ऊ अन्धकारमा हुन्छ र अन्धकारमै हिँडिरहेको हुन्छ+ अनि उसलाई आफू कहाँ जाँदै छु भनेर थाह हुँदैन+ किनकि अन्धकारले उसको आँखा अन्धो बनाएको छ।
१२ हे साना केटाकेटी हो, म तिमीहरूलाई लेख्दै छु किनकि उहाँको नामको खातिर तिमीहरूले आफ्ना पापहरूको क्षमा पाइसकेका छौ।+
१३ हे बुबाहरू हो, म तिमीहरूलाई लेख्दै छु किनकि तिमीहरूले उहाँलाई चिनेका छौ, जो सुरुदेखि नै हुनुहुन्छ। हे युवकहरू हो, म तिमीहरूलाई लेख्दै छु किनकि तिमीहरूले त्यस दुष्टमाथि* विजय हासिल गरेका छौ।+ हे केटाकेटी हो, म तिमीहरूलाई लेख्दै छु किनकि तिमीहरूले परमेश्वर, हाम्रा बुबालाई चिनेका छौ।+
१४ हे बुबाहरू हो, म तिमीहरूलाई लेख्दै छु किनकि तिमीहरूले उहाँलाई चिनेका छौ, जो सुरुदेखि नै हुनुहुन्छ। हे युवकहरू हो, म तिमीहरूलाई लेख्दै छु किनकि तिमीहरू बलिया छौ,+ परमेश्वरको वचन तिमीहरूमा छ+ अनि तिमीहरूले त्यस दुष्टमाथि विजय हासिल गरेका छौ।+
१५ संसारलाई वा संसारमा भएका थोकहरूलाई प्रेम नगर।+ यदि कसैले संसारलाई प्रेम गर्छ भने बुबाप्रतिको प्रेम उसमा हुँदैन+
१६ किनकि संसारमा भएको जुनसुकै थोक अर्थात् शरीरको अभिलाषा,+ आँखाको अभिलाषा+ र तडकभडक * बुबाबाट होइन तर संसारबाट आउँछ।
१७ यसबाहेक संसार बितेर जाँदै छ र त्यसको अभिलाषा पनि+ तर जसले परमेश्वरको इच्छा पूरा गर्छ, ऊ सधैँभरि रहिरहन्छ।+
१८ हे साना केटाकेटी हो, यो आखिरी समय हो। ख्रिष्ट-विरोधी आउँदै छ भनेर तिमीहरूले सुनेअनुसारै+ अहिले पनि धेरै जना ख्रिष्ट-विरोधी देखा परेका छन्;+ यसैबाट यो आखिरी समय हो भनेर हामी थाह पाउँछौँ।
१९ तिनीहरू हामीबाट निस्केर गए तर तिनीहरू हामीजस्ता थिएनन्*+ किनकि तिनीहरू हामीजस्ता भएका भए तिनीहरू हामीसितै रहने थिए। तर सबै जना हामीजस्ता छैनन् भन्ने कुरा देखियोस् भनेर नै तिनीहरू निस्केर गए।+
२० तिमीहरू पवित्र परमेश्वरबाट अभिषेक भएका छौ,+ त्यसैले तिमीहरू सबैसित ज्ञान छ।
२१ तिमीहरूलाई सत्य थाह नभएकोले मैले तिमीहरूलाई लेखेको होइनँ+ तर तिमीहरूलाई सत्य थाह भएकोले र सत्यबाट कुनै झूट नआउने भएकोले नै मैले लेखेको हुँ।+
२२ येसु नै ख्रिष्ट हुनुहुन्छ भनेर इन्कार गर्ने मानिस यदि झूटा होइन भने अरू को होला र?+ ख्रिष्ट-विरोधी त्यही हो,+ जसले बुबा र छोरालाई इन्कार गर्छ।
२३ हरेक जसले छोरालाई इन्कार गर्छ, ऊसित बुबा रहनुहुन्न।+ जसले छोरालाई स्विकार्छ,+ ऊसित बुबा रहनुहुन्छ।+
२४ जहाँसम्म तिमीहरूको कुरा छ, तिमीहरूले सुरुदेखि जे सुनेका छौ, त्यो तिमीहरूमा रहिरहनै पर्छ।+ तिमीहरूले सुरुदेखि जे सुनेका छौ, त्यो तिमीहरूमा रहिरह्यो भने तिमीहरू छोरासित एकतामा रहन र बुबासित एकतामा रहन सक्नेछौ।
२५ यसबाहेक उहाँ आफैले हामीसित प्रतिज्ञा गर्नुभएको कुरा यही हो अर्थात् अनन्त जीवन।+
२६ म तिमीहरूलाई यी कुराहरू ती मानिसहरूको विषयमा लेख्दै छु, जसले तिमीहरूलाई बहकाउन खोजिरहेका छन्।
२७ अनि जहाँसम्म तिमीहरूको कुरा छ, परमेश्वरले आफ्नो पवित्र शक्तिद्वारा तिमीहरूलाई अभिषेक गर्नुभएको छ+ र यो पवित्र शक्ति तिमीहरूमा रहिरहन्छ अनि तिमीहरूलाई कसैले सिकाइरहनु आवश्यक छैन। तर परमेश्वरले तिमीहरूको अभिषेकद्वारा तिमीहरूलाई सबै कुरा सिकाइरहनुभएको छ।+ तिमीहरूको यो अभिषेक झूटो होइन तर साँचो हो। तिमीहरूको अभिषेकद्वारा तिमीहरूलाई सिकाइएअनुसारै तिमीहरू परमेश्वरसित एकतामा रहिरहो।+
२८ त्यसैले अब हे साना केटाकेटी हो, उहाँसित एकतामा रहिरहो ताकि उहाँ प्रकट हुनुहुँदा हामी निर्धक्क भई साहसका साथ बोल्न सकौँ + अनि उहाँको उपस्थितिको बेला हामी सरममा परेर उहाँबाट टाढा नजाऔँ।
२९ यदि उहाँ धर्मी हुनुहुन्छ भनेर तिमीहरूलाई थाह छ भने परमेश्वरको धार्मिक स्तरबमोजिम चल्ने हरेक मानिस उहाँबाट जन्मिएको हुन्छ भनेर पनि तिमीहरूलाई थाह छ।+
फुटनोटहरू
^ वा “हाम्रो पक्षबाट बोल्नेवाला।”
^ शा., “उहाँ जसरी हिँड्नुभयो, त्यसरी नै हिँडिरहनै पर्छ।”
^ अर्थात्, सैतानमाथि।
^ वा “आफूसित भएका कुराहरूको धाकधक्कु।”
^ वा “तिनीहरू हाम्रा मानिसहरू थिएनन्।”