हितोपदेश ८:१-३६
८ हेर, बुद्धि ठूलो स्वरले कराउँदै छ!
अनि समझशक्तिले आफ्नो आवाज उचाल्दै छ!+
२ त्यो सडकछेउका अग्ला ठाउँहरूमा+
अनि चौबाटोहरूमा उभिन्छ।
३ त्यो सहरको मूलढोकाको छेउमा बस्छ,
त्यो ढोकाको मुखैमा उभिन्छ
अनि ठूलो स्वरले यसो भन्दै कराइरहन्छ:+
४ “हे मानिसहरू हो, मेरो कुरा सुन;
म तिमीहरू सबैलाई भन्दै छु।
५ हे अनुभवहीन मानिसहरू हो, चतुर हुन सिक।+
हे मूर्खहरू हो, समझदार हृदय हासिल गर।
६ मेरो कुरा सुन किनभने म महत्त्वपूर्ण कुरा भन्दै छु,
मेरो ओठले जे बोल्छ, त्यो सही छ।
७ मेरो मुखले साँचो कुरा मात्र गुनगुनाउँछ;
मेरो ओठले दुष्ट कुरालाई घृणा गर्छ।
८ मेरो मुखबाट निस्कने सबै कुरा सही छ,
एउटै पनि टेढोमेढो छैन, छलकपटले भरिएको छैन।
९ समझदार मानिसका लागि ती प्रस्ट छन्
अनि ज्ञान हासिल गरेकाहरूका लागि सही छन्।
१० चाँदी होइन, मेरो अर्ती लेऊ
निखुर सुन होइन, मेरो ज्ञान लेऊ+
११ किनकि मुगाभन्दा* बुद्धि उत्तम हुन्छ;
अरू कुनै बहुमूल्य थोकसित यसको तुलना गर्न सकिँदैन।
१२ म बुद्धि हुँ र चलाखी मेरो साथमा छ;
मसित ज्ञान र सोच्ने क्षमता छ।+
१३ यहोवाको डर मान्ने मानिसले खराब कुरालाई घृणा गर्छ।+
अहङ्कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु।
१४ मसित असल सल्लाह र बुद्धि* छ;+
समझ+ र तागत+ पनि मसितै छ।
१५ मेरो साथ पाएर राजाहरूले शासन गर्छन्;
हाकिमहरूले सही निर्णय गर्छन्।+
१६ मेरो साथ पाएर राजकुमारहरूले राज्य चलाउँछन्;
हाकिमहरूले ठीकसित न्याय गर्छन्।
१७ ज-जसले मलाई प्रेम गर्छन्, उनीहरूलाई म प्रेम गर्छु;
ज-जसले मेरो खोजी गर्छन्, उनीहरूले मलाई भेट्टाउनेछन्।+
१८ मसित धनसम्पत्ति र गौरव
अनि कहिल्यै नसिद्धिने धन* र धार्मिकता छ।
१९ मैले दिने उपहार सुनभन्दा उत्तम छ, निखुर सुनभन्दा पनि उत्तम;
म जे दिन्छु, त्यो शुद्ध चाँदीभन्दा बहुमूल्य छ।+
२० म धार्मिकताको मार्गमा हिँड्छु;
म न्यायको बाटोको बीचबाट हिँड्छु।
२१ ज-जसले मलाई प्रेम गर्छन्, म उनीहरूलाई प्रशस्त धनसम्पत्ति दिन्छु;
म उनीहरूका भण्डारहरू भरिदिन्छु।
२२ सृष्टिको सुरुमा यहोवाले मलाई बनाउनुभयो;+
सबै कुराभन्दा पहिला उहाँले मलाई सृष्टि गर्नुभयो।+
२३ धेरै पहिले* उहाँले मलाई बनाउनुभयो;+
पृथ्वी सृष्टि गर्नुभन्दा पनि अघि उहाँले मलाई रच्नुभयो।+
२४ गहिरा महासागरहरू नहुँदै+ मेरो जन्म भयो;
खोलानालाहरू हुनुभन्दा अघि नै म जन्मिएँ।
२५ पहाडहरू बनिनुभन्दा पहिले,
डाँडाकाँडाहरू बनिनुभन्दा पहिले म जन्मिएँ।
२६ उहाँले धर्ती र यसका मैदानहरू बनाउनुभन्दा अघि,
उहाँले माटो बनाउनुभन्दा अघि,
२७ म त्यहीँ थिएँ, जब उहाँले आकाश बनाउनुभयो,+
जब उहाँले पानीमा सीमारेखा* कोर्नुभयो,+
२८ जब उहाँले आकाशमा बादल फैलाउनुभयो,
जब उहाँले गहिरा महासागरहरूको मूल फुटाउनुभयो,
२९ जब उहाँले समुद्रको सीमा तोक्नुभयो,
जब उहाँले समुद्रको पानीलाई सीमा नतोड्न आदेश दिनुभयो,+
जब उहाँले पृथ्वीको जग बसाल्नुभयो,*
३० तब म मुख्य कारिगरको रूपमा उहाँको छेवैमा काम गर्थेँ।+
हरेक दिन मलाई देखेर उहाँ असाध्यै रमाउनुहुन्थ्यो;+
उहाँसामु रहन पाएकोले म सधैँ खुसीले गद्गद हुन्थेँ;+
३१ मानिस बस्न बनाइएको पृथ्वी देखेर म रमाएँ
अनि मानिसहरू देखेर मलाई असाध्यै खुसी लाग्थ्यो।
३२ हे मेरा छोरा हो, मेरो कुरा सुन
किनकि मैले देखाएको बाटोमा हिँड्नेहरू आनन्दित हुनेछन्।
३३ मेरो अर्ती सुन+ र बुद्धिमान् होऊ;
त्यसलाई कहिल्यै बेवास्ता नगर।
३४ मेरो कुरा सुन्ने मानिस सुखी हुन्छ,
जो हरेक दिन सबेरै मेरो ढोकामा आउँछ,*
जो मेरो घरको छेउमा पर्खेर बस्छ
३५ किनकि जसले मलाई भेट्टाउँछ, उसले जीवन पाउँछ,+
उसले यहोवाको निगाह पाउँछ।
३६ तर जसले मलाई बेवास्ता गर्छ, उसले आफैलाई हानि पुऱ्याउँछ;
जसले मलाई घृणा गर्छ, उसले मृत्युलाई निम्त्याउँछ।”+
फुटनोटहरू
^ वा “व्यावहारिक ज्ञान।”
^ वा “पैतृक संस्कार।”
^ वा “परापूर्वकालमा।”
^ वा “क्षितिज।” शा., “गोलो घेरा।”
^ वा “जग बसाल्ने घोषणा गर्नुभयो।”
^ वा “जो हरेक दिन मेरो ढोकामा जागा रहन्छ।”