युहन्नाका अनुसार १९:१-४२
१९ तब पिलातसले येसुलाई लगे र कोर्रा हान्न लगाए।+
२ त्यसपछि सैनिकहरूले काँडाको मुकुट उनेर उहाँको शिरमा पहिराइदिए र बैजनी रङ्गको लुगा लगाइदिए।+
३ अनि तिनीहरूले उहाँको छेउमा गएर यसो भनिरहे: “हे यहुदीहरूका राजा, प्रणाम!”* तिनीहरूले उहाँको अनुहारमा थप्पड पनि हानिरहे।+
४ तब फेरि बाहिर मानिसहरूकहाँ गएर पिलातसले यसो भने: “हेर, मैले उसमा कुनै दोष भेटिनँ+ भनी तिमीहरूले थाह पाओ भनेर मैले उसलाई बाहिर तिमीहरूकहाँ ल्याएको छु।”
५ तब काँडाको मुकुट अनि बैजनी रङ्गको लुगा पहिरिनुभएको येसु बाहिर निस्कनुभयो। त्यसपछि पिलातसले मानिसहरूलाई यसो भने: “हेर, यो मानिस!”
६ तर उहाँलाई देखेपछि मुख्य पुजारीहरू अनि पहरेदारहरू यसो भन्दै चिच्याए: “त्यसलाई खम्बामा टाँग्नुहोस्! त्यसलाई खम्बामा टाँग्नुहोस्!”+ यो सुनेर पिलातसले तिनीहरूलाई भने: “तिमीहरू आफै लगेर उसलाई मार* किनकि म उसमा कुनै दोष भेट्टाउँदिनँ।”+
७ यहुदीहरूले तिनलाई भने: “हाम्रो आफ्नै व्यवस्था छ, जसअनुसार यो मानिस मर्नै पर्छ+ किनकि यसले आफू परमेश्वरको छोरा हुँ भन्ने दाबी गऱ्यो।”+
८ तिनीहरूको यो कुरा सुनेर पिलातस झन् डराए
९ अनि फेरि आफ्नो निवासभित्र पसेर येसुलाई सोधे: “तिमी कहाँका हौ?” तर येसुले तिनलाई कुनै जवाफ दिनुभएन।+
१० त्यसैले पिलातसले उहाँलाई भने: “के तिमी मसित बोल्दैनौ? तिमीलाई मुक्त गर्ने अख्तियार अनि तिमीलाई मार्ने* अख्तियार पनि मसित छ भनेर के तिमीलाई थाह छैन?”
११ येसुले तिनलाई जवाफ दिनुभयो: “यदि परमेश्वरले तपाईँलाई नदिनुभएको भए ममाथि तपाईँको कुनै अख्तियार हुने थिएन। त्यसैले जसले मलाई तपाईँकहाँ सुम्प्यो, त्यसले झन् ठूलो पाप गरेको छ।”
१२ यसकारण उहाँलाई कसरी मुक्त गर्ने भनेर पिलातसले उपाय खोज्न थाले। तर यहुदीहरू भने यसो भन्दै चिच्याए: “यदि तपाईँले यस मानिसलाई मुक्त गर्नुभयो भने तपाईँ सिजरको* मित्र होइन। आफूलाई राजा तुल्याउने जुनसुकै व्यक्तिले सिजरको विरुद्धमा बोलिरहेको हुन्छ।”*+
१३ यी कुराहरू सुनेपछि पिलातसले येसुलाई बाहिर ल्याए र तिनी ढुङ्गे-पेटी अर्थात् हिब्रूमा गब्बथा भनिने ठाउँमा राखिएको न्यायासनमा बसे।
१४ त्यतिखेर निस्तार चाडको तयारीको दिन* चलिरहेको थियो+ अनि लगभग छैटौँ घडी* भएको थियो। तब पिलातसले यहुदीहरूलाई भने: “हेर, तिमीहरूको राजा!”
१५ तर तिनीहरू यसो भन्दै चिच्याए: “त्यसलाई लैजानुहोस्! त्यसलाई लैजानुहोस्! त्यसलाई खम्बामा टाँग्नुहोस्!” पिलातसले तिनीहरूलाई सोधे: “के म तिमीहरूको राजालाई मारूँ?” मुख्य पुजारीहरूले जवाफ दिए: “सिजरबाहेक हाम्रो अरू कुनै राजा छैन।”
१६ तब पिलातसले उहाँलाई खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पे।+
त्यसैले तिनीहरूले येसुलाई आफ्नो जिम्मामा लिए।
१७ तब येसु यातनाको खम्बा* आफैले बोकेर खप्पर स्थान+ अर्थात् हिब्रूमा गलगथा भनिने ठाउँमा जानुभयो।+
१८ तिनीहरूले त्यहाँ उहाँलाई अरू दुई जना मानिससँगै खम्बामा टाँगे।+ दुई जनाको बीचमा येसु पर्नेगरि तिनीहरूले एक जनालाई उहाँको दायाँपट्टि अनि अर्कोलाई बायाँपट्टि टाँगे।+
१९ पिलातसले एउटा दोष-पत्र पनि तयार पारेर त्यसलाई यातनाको खम्बामा* टाँग्न लगाए। त्यसमा यस्तो लेखिएको थियो: “नासरी येसु, यहुदीहरूका राजा।”+
२० येसुलाई टाँगिएको ठाउँ सहरनजिकै पर्ने भएकोले धेरै यहुदीले त्यो दोष-पत्र पढे; त्यो हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो।
२१ तर यहुदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई यसो भने: “‘यहुदीहरूका राजा’ भनेर होइन तर यसले ‘म यहुदीहरूका राजा हुँ’ भन्यो भनेर लेख्नुहोस्।”
२२ पिलातसले जवाफ दिए: “मैले जे लेखेँ, सो लेखेँ।”
२३ अब येसुलाई खम्बामा टाँगिसकेपछि सैनिकहरूले उहाँको लुगा चार भाग लगाएर एक-एक भाग लिए। उहाँले त्यसभित्र लगाउनुभएको लुगा पनि तिनीहरूले लिए। त्यो सिउनी नभएको माथिदेखि तलसम्म बुनिएको सग्लो लुगा थियो।
२४ त्यसैले तिनीहरूले आपसमा भने: “यसलाई चाहिँ नच्यातौँ बरु कसको भागमा पर्छ, गोला हालेर हेरौँ।”+ “मैले लगाइराखेको लुगा तिनीहरूले आपसमा भाग लगाए अनि मेरो जीउको कपडा तिनीहरूले गोला हालेर लिए” भनी धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस् भनेर यस्तो भएको थियो।+ ती सैनिकहरूले वास्तवमै त्यसो गरे।
२५ येसु टाँगिनुभएको यातनाको खम्बाको* छेवैमा उहाँकी आमा अनि उहाँकी सानीमाका साथै क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी+ उभिरहेका थिए।+
२६ आफ्नी आमा र आफूले प्रेम गरेको चेलालाई+ नजिकै उभिरहेको देखेर उहाँले आफ्नी आमालाई भन्नुभयो: “आमा, हेर्नुहोस्, तपाईँको छोरा!”
२७ त्यसपछि उहाँले ती चेलालाई भन्नुभयो: “हेर, तिम्री आमा!” त्यसबेलादेखि ती चेलाले उहाँकी आमालाई आफ्नै घरमा लगे।
२८ यसपछि जब येसुले सबै कुरा अब पूरा भइसक्यो भनेर थाह पाउनुभयो, तब धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस् भनेर उहाँले यसो भन्नुभयो: “मलाई तिर्खा लाग्यो।”+
२९ त्यहाँ अमिलो दाखमद्यले* टन्न भरिएको एउटा भाँडो थियो। त्यसैले दाखमद्यमा स्पन्ज चोपेर तिनीहरूले त्यसलाई हिसपको* डाँठमा अड्काए अनि उहाँको मुखसम्म पुऱ्याए।+
३० अमिलो दाखमद्य चाखेपछि येसुले भन्नुभयो: “सबै पूरा भयो!”+ अनि आफ्नो शिर झुकाएर उहाँले अन्तिम सास लिनुभयो।+
३१ त्यो दिन तयारीको दिन* थियो+ र विश्रामदिनमा यातनाको खम्बामा कुनै लास नरहोस् भन्ने यहुदीहरू चाहन्थे+ (किनकि यो महाविश्रामदिन थियो)।+ त्यसैले खम्बामा टाँगिएका मानिसहरूको खुट्टा भाँचेर तिनीहरूको लास खम्बाबाट उतारियोस् भनी यहुदीहरूले पिलातसलाई आग्रह गरे।
३२ तब सैनिकहरू आए अनि उहाँसँगै खम्बामा टाँगिएको पहिलो मानिसको खुट्टा भाँचे। तिनीहरूले त्यसैगरि अर्कोचाहिँको पनि खुट्टा भाँचे।
३३ तर येसुकहाँ पुग्दा तिनीहरूले उहाँलाई मरिसकेको पाए। त्यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्।
३४ तर एक जना सैनिकले उहाँको कोखामा भाला घोप्यो+ अनि उत्तिखेरै त्यहाँबाट रगत र पानी निस्क्यो।
३५ जसले यो सब आफैले देख्यो, उसैले यसको साक्षी दिएको हो र उसको साक्षी साँचो छ। आफूले भनेको कुरा सत्य हो भनेर यस मानिसलाई थाह छ; त्यसैले तिमीहरू पनि उसको कुरा पत्याओ।+
३६ वास्तवमा धर्मशास्त्रमा लेखिएको यो वचन पूरा होस् भनेर यी कुरा भएका थिए: “उनको एउटै हड्डी भाँचिनेछैन।”+
३७ त्यसैगरि धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ: “जसलाई तिनीहरूले घोपे, उसैलाई तिनीहरूले हेर्नेछन्।”+
३८ अब यी कुराहरू भएपछि अरिमथियाका युसुफ, जो यहुदीहरूको डरले गर्दा गुप्तमा येसुका चेला बनेका थिए,+ तिनले येसुको शव लैजान पाऊँ भनी पिलातसलाई बिन्ती गरे। अनि पिलातसले तिनलाई अनुमति दिए। त्यसैले तिनी गए र उहाँको शव लगे।+
३९ निकोदेमस,+ जो पहिलो चोटि उहाँलाई भेट्न रातको बेला आएका थिए, तिनी पनि लगभग ३० किलो* मर्र* अनि अगरुको* मिश्रण* लिएर त्यहाँ आए।+
४० तब तिनीहरूले येसुको शव लगे अनि शव गाड्ने यहुदी चलनअनुसार त्यसलाई सुगन्धित मसला दलेर मलमलको कपडाले बेरे।+
४१ संयोगको कुरा, उहाँलाई मारिएको* ठाउँमा एउटा बगैँचा थियो अनि त्यस बगैँचामा एउटा नयाँ चिहान थियो,+ जहाँ त्यसअघि कसैलाई राखिएको थिएन।
४२ यहुदीहरूको तयारीको दिन भएकोले+ अनि चिहान पनि नजिकै भएकोले तिनीहरूले येसुलाई त्यहीँ राखे।
फुटनोटहरू
^ वा “तपाईँको जय होस्!”
^ वा “खम्बामा टाँग।”
^ वा “खम्बामा टाँग्ने।”
^ वा “सिजरको विरोध गरिरहेको हुन्छ।”
^ मध्यान्ह १२ बजेतिर।
^ अङ्गुरबाट बनेको रक्सी।
^ शा., “१०० पाउन्ड।” अर्थात्, रोमी पाउन्ड। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ यसले बाइबलकालीन समयमा अत्तर बनाउन प्रयोग गरिने बास्नादार तत्त्व भएको रूखलाई जनाउँछ।
^ वा सम्भवतः “मुठा।”
^ वा “खम्बामा टाँगिएको।”