मिका ४:१-१३

  • यहोवाको डाँडा उच्च पारिन्छ (१-५)

    • तरबार पिटेर हलोको फाली ()

    • ‘हामी यहोवाको नाममा हिँड्‌नेछौँ’ ()

  • पुनर्स्थापित सियोनलाई बलियो बनाइनेछ (६-१३)

४  आखिरी समयमा यहोवा परमेश्‍वरको भवनको डाँडा+ अरू डाँडाभन्दा माथि उठाइनेछ, त्यसलाई टाकुरामाथि नहल्लिनेगरि बसालिनेछ र त्यहाँ जातिजातिका मानिसहरू ओइरिनेछन्‌।+  २  अनि जातिजातिका मानिसहरूले यसो भन्‍नेछन्‌: “आओ, हामी यहोवाको डाँडामा जाऔँ। याकुबका परमेश्‍वरको भवनमा जाऔँ।+ उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ अनि हामी त्यस मार्गमा हिँड्‌नेछौँ।” किनकि व्यवस्था* सियोनबाटै दिइनेछ र यहोवाको वचनचाहिँ यरुसलेमबाटै आउनेछ।  ३  उहाँले जातिजातिका मानिसहरूको इन्साफ गर्नुहुनेछ+ र टाढा-टाढाका शक्‍तिशाली जातिहरूसित आफ्नो मामिला सुल्झाउनुहुनेछ। तिनीहरूले आ-आफ्नो तरबार पिटेर हलोको फाली बनाउनेछन्‌ र भाला पिटेर हँसिया बनाउनेछन्‌।+ एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैन र तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्‌।+  ४  तिनीहरू प्रत्येक आ-आफ्नो अङ्‌गुरको बोट र आ-आफ्नो अन्जिरको बोटमुनि बस्नेछन्‌+ अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन+ किनकि यी सबै कुरा सेनाहरूका यहोवाले नै भन्‍नुभएको हो।  ५  जातिजातिका मानिसहरू आ-आफ्ना देवताको नाममा हिँड्‌नेछन्‌ तर हामी भने सदासर्वदा यहोवा हाम्रा परमेश्‍वरको नाममा हिँड्‌नेछौँ।+  ६  यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ, “त्यो दिन म खोच्याएर हिँड्‌नेहरूलाई भेला गर्नेछु अनि तितरबितर भएकाहरूलाई बटुल्नेछु।+ अनि मैले कठोर व्यवहार गरेकाहरूलाई पनि भेला गर्नेछु।  ७  खोच्याएर हिँड्‌नेहरूलाई म बाँकी राख्नेछु+ अनि टाढा-टाढा लगिएकाहरूलाई एउटा शक्‍तिशाली राष्ट्र बनाउनेछु;+ अनि तिनीहरूमाथि यहोवाले सियोन डाँडाबाट शासन गर्नुहुनेछ, अहिले र सदासर्वदा।  ८  अनि हे बगालको धरहरा, हे सियोनकी छोरीको* डाँडा,+ तिमीले पहिला पाएको त्यो अधिकार तिमीलाई फेरि दिइनेछ।+ हे यरुसलेमकी छोरी, तिमीले आफ्नो राज्य फिर्ता पाउनेछ्यौ।+  ९  तिमी किन ठूलो स्वरले चिच्याइरहेकी छ्यौ? के तिम्रो राजा छैन? तिम्रा सल्लाहकारहरू नष्ट भए? के यही कारणले तिमी बेथा लागेकी स्त्रीजस्तै छटपटाइरहेकी हौ?+ १०  हे सियोनकी छोरी, बेथा लागेकी स्त्रीजस्तै छटपटाऊ र सुस्केरा हाल किनकि तिमी सहरबाट निस्केर मैदानमा बस्नेछ्यौ। तिमी टाढा बेबिलोनसम्म जानेछ्यौ+ र त्यहाँ तिम्रो उद्धार गरिनेछ;+ त्यहाँ यहोवाले मोल तिरेर तिमीलाई शत्रुहरूको हातबाट फिर्ता ल्याउनुहुनेछ।+ ११  थुप्रै राष्ट्र तिमीविरुद्ध जम्मा हुनेछन्‌। तिनीहरूले भन्‍नेछन्‌, ‘त्यसलाई बिटुलो पारियोस्‌ अनि हामीले आफ्नै आँखाले सियोनमाथि यी सबै भएको देख्न पाऔँ।’ १२  तर तिनीहरूलाई यहोवा परमेश्‍वरको विचार थाह छैन, तिनीहरू उहाँको उद्देश्‍य* बुझ्दैनन्‌; भर्खरै काटिएको अन्‍नको बिटालाई खलामा जम्मा गरिएझैँ उहाँले तिनीहरूलाई जम्मा गर्नुहुनेछ। १३  हे सियोनकी छोरी, उठ र दाइँ गर+ किनकि म तिम्रो सिङलाई फलामको बनाइदिनेछु, तिम्रो खुरलाई तामाको बनाइदिनेछु अनि तिमीले थुप्रै मानिसलाई नाश गर्नेछ्यौ।+ तिमीले तिनीहरूको बेइमानीको कमाइ यहोवालाई दिनेछ्यौ अनि तिनीहरूका धनसम्पत्ति सारा पृथ्वीका साँचो प्रभुको लागि छुट्ट्याउनेछ्यौ।”+

फुटनोटहरू

वा “निर्देशन।”
“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।
वा “सल्लाह।”