जकरिया ३:१-१०

  • चौथो दर्शन: प्रधानपुजारीको लुगा बद्‌लिइयो (१-१०)

    • सैतानले प्रधानपुजारी यहोसुलाई रोक्न खोज्छ ()

    • ‘म मेरो सेवक टुसालाई ल्याउँदै छु’ ()

३  त्यसपछि तिनले मलाई यहोवा परमेश्‍वरका स्वर्गदूतको अगाडि उभिरहेका प्रधानपुजारी यहोसु देखाए।+ उनलाई रोक्न सैतान+ उनको दायाँपट्टि उभिरहेको थियो। २  तब यहोवा परमेश्‍वरका स्वर्गदूतले सैतानलाई भने: “ए सैतान,+ यहोवाले तँलाई हप्काऊन्‌। हो, यरुसलेमलाई रोज्नुहुने+ यहोवाले तँलाई हप्काऊन्‌। के यी मानिस बलिरहेको मुढा होइनन्‌ र, जुन आगोबाट निकालिएको हो?” ३  यहोसुले फोहोर लुगा लगाएका थिए र उनी स्वर्गदूतको अगाडि उभिरहेका थिए। ४  स्वर्गदूतले आफ्नो अगाडि उभिरहेकाहरूलाई यसो भने, “यिनको फोहोर लुगा फुकालिदेऊ।” अनि ती स्वर्गदूतले उनलाई भने, “हेर, मैले तिम्रो पापलाई तिमीबाट हटाइदिएको छु। अब तिमीलाई राम्रो वस्त्र* पहिराइनेछ।”+ ५  अनि मैले भनेँ: “यिनको शिरमा सफा फेटा बाँधिदेओ।”+ तब तिनीहरूले उनको शिरमा सफा फेटा बाँधिदिए अनि उनलाई अर्को लुगा लगाइदिए। त्यतिबेला यहोवाका स्वर्गदूत नजिकै उभिरहेका थिए। ६  अनि यहोवाका स्वर्गदूतले यहोसुलाई यसो भने: ७  “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘यदि तिमी मेरो मार्गमा हिँड्‌यौ र मसामु आफ्ना सबै जिम्मेवारी पूरा गऱ्‍यौ भने तिमीले मेरो भवनमा न्यायकर्ताको काम गर्न पाउनेछौ+ र मेरा चोकहरूको हेरविचार गर्न* पाउनेछौ। अनि जो-जो यहाँ उभिरहेका छन्‌, तिनीहरूसँगै तिमीले पनि मेरो अगाडि आउजाउ गर्न पाउनेछौ।’ ८  “‘हे प्रधानपुजारी यहोसु र उनको अगाडि बसिरहेका उनका साथीहरू हो, कृपया मेरो कुरा सुन किनकि तिमीहरू भविष्यमा हुने कुराको चिन्ह हौ। हेर! म मेरो सेवकलाई ल्याउँदै छु,+ जसको नाम टुसा+ हो। ९  मैले यहोसुको अगाडि राखेको ढुङ्‌गालाई हेर! त्यसमा सात वटा आँखा छन्‌: अनि म त्यसमा खोपेर केही लेख्नेछु,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, ‘अनि म त्यस भूमिको दोष एकै दिनमा मेटाइदिनेछु।’+ १०  “‘त्यस दिन तिमीहरू प्रत्येकले आ-आफ्नो छिमेकीलाई आफ्नो अङ्‌गुरको बोट र अन्जिरको रूखमुनि आउन निम्तो दिनेछौ,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।”+

फुटनोटहरू

वा “विशेष पोसाक।”
वा “निगरानी गर्न; सुरक्षा गर्न।”