अय्युब २:१-१३
२ फेरि एकदिन साँचो परमेश्वर यहोवाका छोराहरू*+ उहाँसामु भेला भए।+ सैतान पनि तिनीहरूसँगै यहोवासामु उपस्थित भयो।+
२ त्यसपछि यहोवाले सैतानलाई सोध्नुभयो: “तँ कहाँ पुगेर आइस्?” सैतानले यहोवालाई जवाफ दियो: “पृथ्वीको चारैतिर घुमफिर गरेर आएँ।”+
३ अनि यहोवाले सैतानलाई भन्नुभयो: “तैँले मेरो दास अय्युबलाई याद गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही छैन। ऊ निर्दोष र सत्यनिष्ठ छ;+ मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ। तर तैँले विनाकारण मलाई सुऱ्याउने कोसिस गरिस् र उसलाई नाश गर्न खोजिस्।+ तर हेर्, ऊ आफ्नो निष्ठामा ढलपल भएको छैन।”+
४ तर सैतानले यहोवालाई जवाफ दियो: “छालाको सट्टा छाला। आफ्नो ज्यान जोगाउन मानिस जे गर्न पनि तयार हुन्छ।
५ त्यसैले एक चोटि आफ्नो हात पसारेर उसको शरीरमा प्रहार गरेर त हेर्नुहोस्, उसले तपाईँकै मुखको सामुन्ने तपाईँलाई सराप्नेछ।”+
६ यहोवाले सैतानलाई भन्नुभयो: “हुन्छ, त्यसोभए अय्युब तेरै हातमा भयो। केवल उसको ज्यानचाहिँ नली!”
७ तब सैतान यहोवाको सामनेबाट गयो। अनि त्यसले अय्युबलाई प्रहार गऱ्यो र अय्युबको शिरदेखि पैतालासम्म पीडादायी पिलोहरू निस्कियो।+
८ त्यसपछि अय्युब खरानीको थुप्रोमा बसे+ र खपटा लिएर आफ्नो जीउ कन्याउन थाले।
९ अय्युबको यस्तो हालत देखेर तिनकी पत्नीले यसो भनिन्: “के तपाईँ अझै आफ्नो निष्ठामा अडिग हुनुहुन्छ? यस्तो दुःख भोग्नुभन्दा त परमेश्वरलाई सरापेर मर्नु नै बेस!”
१० तर अय्युबले यसो भने: “तिमी कस्तो मूर्ख आइमाईजस्तै कुरा गर्छ्यौ। साँचो परमेश्वरले दिनुभएको सुख भोगेर दुःखचाहिँ नभोग्नु र?”+ यी सबै कष्ट भोगेर पनि अय्युबले परमेश्वरविरुद्ध एउटै अपशब्द बोलेनन्।+
११ अय्युबमाथि आइपरेको विपत्तिबारे सुनेपछि तिनका तीन जना साथी:* एलिपज+ तेमानी, बिल्दद+ सुही+ र जोपर+ नामाती आ-आफ्नो ठाउँबाट हिँडे। तिनीहरूले सँगै भेटेर अय्युबकहाँ जाने अनि तिनलाई सहानुभूति र सान्त्वना दिने योजना मिलाए।
१२ तिनीहरूले अय्युबलाई टाढैबाट देखे तर चिन्नै सकेनन्। तिनलाई देख्नेबित्तिकै तिनीहरू डाँको छोडेर रुन थाले र तिनीहरूले आफ्नो लुगा च्याते अनि हावामा धुलो हुर्ऱ्याए र आफ्नो टाउकोमा धुलो हाले।+
१३ तिनीहरू सात दिन र सात रातसम्म अय्युबसँगै भुईँमा बसे। तिनीहरूमध्ये कसैले एक शब्द पनि बोलेन किनभने अय्युबलाई साह्रै पीडा भइरहेको तिनीहरूले देखे।+