अध्याय ११३
टालेन्टको उदाहरण—लगनशील हुनेबारे पाठ
-
येसु टालेन्टको उदाहरण बताउनुहुन्छ
जैतुन डाँडामा चार जना प्रेषितसँगै हुनुभएको बेला येसु उनीहरूलाई अर्को एउटा उदाहरण बताउनुहुन्छ। केही दिनअघि यरिहोमा छँदा उहाँले परमेश्वरको राज्य आउन अझ धेरै समय बाँकी छ भन्ने कुरा बुझाउन मीनाको उदाहरण बताउनुभएको थियो। अहिले उहाँले बताउन लाग्नुभएको उदाहरण त्यही उदाहरणसित मिल्दोजुल्दो छ। उहाँको उपस्थिति र यस युगको आखिरी समयको चिन्हबारे चेलाहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममै येसु यो उदाहरण पनि बताउनुहुन्छ। यस उदाहरणले उहाँका चेलाहरू आफूलाई सुम्पिइएको काम पूरा गर्न लगनशील हुनुपर्छ भनेर जोड दिन्छ।
येसु यो उदाहरण यसरी सुरु गर्नुहुन्छ: “स्वर्गको राज्य एक जना मानिसजस्तो हो, जसले परदेश जानुअघि आफ्ना दासहरूलाई बोलायो र आफ्नो सम्पत्ति जिम्मा लगायो।” (मत्ति २५:१४) येसुले पहिला पनि आफूलाई ‘राज्याधिकार हासिल गर्न’ परदेश जाने एक जना मानिससित तुलना गर्नुभएको थियो। त्यसैले अहिले येसुले बताउनुभएको “मानिस”-ले पनि उहाँलाई नै चित्रण गर्छ भन्ने कुरा चेलाहरूले सजिलै बुझेको हुनुपर्छ।—लुका १९:१२.
यस उदाहरणको मानिस परदेश जानुअघि उसले आफ्ना दासहरूलाई आफ्नो बहुमूल्य सम्पत्ति जिम्मा लगाउँछ। आफ्नो साढे तीन वर्ष लामो सेवाको दौडान येसु परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने काममा नै केन्द्रित हुनुभयो र चेलाहरूलाई पनि यो कामको लागि तालिम दिनुभयो। अब उहाँ टाढा जाँदै हुनुहुन्छ र चेलाहरूले आफूले पाएको तालिमअनुसारै काम गरिरहनेछन् भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ।—मत्ति १०:७; लुका १०:१, ८, ९; तुलना गर्नुहोस् युहन्ना ४:३८; १४:१२.
यस उदाहरणको मानिसले आफ्नो सम्पत्ति कसरी बाँडफाँड गर्छ? येसु भन्नुहुन्छ: “उसले आफ्ना दासहरूको क्षमताअनुसार पहिलोलाई पाँच टालेन्ट, दोस्रोलाई दुई टालेन्ट अनि तेस्रोलाई एक टालेन्ट चाँदीका सिक्काहरू दियो र परदेशतिर लाग्यो।” (मत्ति २५:१५) आफूलाई सुम्पिइएको सम्पत्ति ती दासहरूले कसरी प्रयोग गर्नेछन्? के तिनीहरू त्यो सम्पत्ति मालिकलाई फाइदा हुनेगरि प्रयोग गर्ने सन्दर्भमा लगनशील हुनेछन्? येसु आफ्ना प्रेषितहरूलाई भन्नुहुन्छ:
“पाँच टालेन्ट पाउने दास तुरुन्तै गयो र त्यसबाट व्यापार गरेर थप पाँच टालेन्ट कमायो। त्यसैगरि दुई टालेन्ट पाउनेले थप दुई टालेन्ट कमायो। तर एक टालेन्ट मात्र पाउने चाहिँ आफ्नो बाटो लाग्यो र जमिन खनेर आफ्ना मालिकको धन लुकाइराख्यो।” (मत्ति २५:१६-१८) मालिक फर्केपछि के हुनेछ?
येसु अझै भन्नुहुन्छ: “धेरै समयपछि ती दासहरूको मालिक फर्क्यो र तिनीहरूसित हिसाबकिताब माग्यो।” (मत्ति २५:१९) पहिलो दुई जना दासले आफ्नो “क्षमताअनुसार” सकेजति गरे। आफूलाई सुम्पिइएको सम्पत्ति प्रयोग गर्ने सन्दर्भमा दुवै जना लगनशील, मेहनती र फलदायी साबित भए। पाँच टालेन्ट पाउने दासले थप पाँच टालेन्ट कमायो अनि दुई टालेन्ट पाउनेले पनि थप दुई टालेन्ट कमायो। (त्यतिबेला एक जना कामदारले लगभग १९ वर्ष काम गरेपछि मात्र एक टालेन्ट कमाउन सक्थ्यो।) मालिकले ती दुवै दासलाई यसरी प्रशंसा गर्छन्: “स्याबास, असल र विश्वासी दास! तिमी थोरै कुरामा विश्वासी भयौ। म तिमीलाई धेरै कुरामाथि नियुक्त गर्नेछु। तिमी आफ्नो मालिकसँगसँगै रमाऊ।”—मत्ति २५:२१.
एक टालेन्ट पाएको दासको कुरा भने बेग्लै छ। ऊ यसो भन्छ: “मालिक, तपाईँ आफूले नछरेको ठाउँमा कटनी गर्ने र आफूले ननिफनेको अन्न बटुल्ने कठोर मानिस हुनुहुन्छ भनेर मलाई थाह थियो। त्यसैले मलाई डर लाग्यो र गएर तपाईँको एक टालेन्ट जमिनमुनि लुकाएँ। तपाईँको एक टालेन्ट तपाईँ नै लिनुहोस्।” (मत्ति २५:२४, २५) उसले त्यो पैसा साहूकहाँ लगेर पनि राखेन। त्यसो गरेको भए उसले आफ्नो मालिकलाई केही ब्याजसहित पैसा फिर्ता गर्न सक्थ्यो। भन्ने हो भने, उसले आफ्नो मालिकलाई फाइदा हुने केही काम गरेन।
त्यसैले मालिकले उसलाई “दुष्ट र अल्छे नोकर” भन्छ। ऊसँग भएको पनि ऊबाट खोसेर लगिन्छ र लगनशील भएर काम गर्न चाहने दासलाई दिइन्छ। त्यो मालिक यसो भन्छ: “हरेक जोसित छ, उसलाई अझ धेरै दिइनेछ र ऊसित प्रशस्त हुनेछ तर जोसित छैन, ऊसित भएको पनि खोसिनेछ।”—मत्ति २५:२६, २९.
यो एउटा उदाहरणलाई मात्र हेर्ने हो भने पनि येसुका चेलाहरूले विचार गर्नुपर्ने कुरा धेरै छ भनेर थाह पाउन सक्छौँ। यस उदाहरणबाट येसुले सुम्पनुभएको कुरा अर्थात् चेला बनाउने सुअवसर कत्ति अनमोल छ भनेर उनीहरूले बुझ्न सक्छन्। अनि चेलाहरू यो काममा लगनशील भई लागेको येसु चाहनुहुन्छ। तर आफूले चेलाहरूलाई सुम्पेको प्रचारकार्यको सन्दर्भमा सबैले उत्तिकै गर्नुपर्छ भन्ने उहाँ सोच्नुहुन्न। उदाहरणले देखाएझैँ प्रत्येकले आफ्नो “क्षमताअनुसार” सकेजति गर्नुपर्छ। तर यसको अर्थ आफ्नो कुनै चेला “अल्छे” भए पनि र मालिकको सम्पत्ति बढाउने सन्दर्भमा सकेजति गर्न चुके पनि येसु खुसी हुनुहुन्छ भन्ने होइन।
तर येसुका यी सान्त्वनादायी शब्दहरू सुन्दा चेलाहरू कत्ति खुसी भए होलान्: “हरेक जोसित छ, उसलाई अझ धेरै दिइनेछ”!