सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय पन्ध्र

हाम्रा वृद्ध आमाबाबुको मान गर्ने

हाम्रा वृद्ध आमाबाबुको मान गर्ने

“तँलाई जीवन दिने तेरो बाबुका वचन सुन्‌, औ आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्‌” भन्दै धेरैअघि बुद्धिमान मानिसले सल्लाह दिए। (हितोपदेश २३:२२) तर तपाईं भन्‍नुहोला, ‘म कहिल्यै आमाबाबुसित दुर्व्यवहार गर्दिनँ!’ आमाबाबुको हेलचक्य्राइँ गर्नुको साटो धेरैको मनमा तिनीहरूप्रति गहिरो प्रेम हुन्छ। हामी उनीहरूको ऋण कहिल्यै तिर्न सक्दैनौं। उनीहरूले हामीलाई जीवन दिए। हो, जीवनको स्रोत यहोवा हुनुहुन्छ। तापनि हाम्रा आमाबाबु नहुँदा हुन्‌ त हामी पनि हुने थिएनौं। उनीहरूले दिएको जीवनको तुलनामा हामी उनीहरूलाई केही दिन सक्दैनौं। यति मात्र होइन। सोच्नुहोस्‌, हामी बालकदेखि वयस्क नहोऊञ्जेल उनीहरूले हाम्रोलागि कति त्याग, चिन्ता, खर्च गरे होलान्‌। कति प्रेमपूर्वक हाम्रो देखरेख गरेको हुनुपर्छ। यसैकारण त परमेश्‍वरको वचनमा पाइने यो आदेश उपयुक्‍त छ: “आफ्ना बाबु र आमाको मान गर . . . र तिमीलाई भलो होस्‌, र पृथ्वीमा तिम्रो दीर्घायु होस्‌।”—एफिसी ६:२, ३.

भावनात्मक आवश्‍यकताहरूलाई मान्यता दिने

प्रेरित पत्रुसले मसीहीहरूलाई यसप्रकार लेखे: “. . . छोरा-छोरी अथवा नाति-नातिनीहरू[ले] . . . आफ्नै परिवारमा दया देखाऊन्‌ र आफ्ना माता-पितालाई प्रत्युपकारको साटो तिर्न सिकून्‌, किनकि यो परमेश्‍वरको दृष्टिमा ग्रहणयोग्य हुन्छ।” (१ तिमोथी ५:४) आमाबाबु तथा बाजेबज्यैले वर्षौंदेखि गरेको प्रेम, परिश्रम र चासोको कदर गर्दै हुर्केका छोराछोरीले “प्रत्युपकारको साटो” तिर्छन्‌। यसो गर्दा सम्झनुपर्ने कुरा एउटा के हो भने, सबै जनालाई झैं बूढापाकालाई पनि प्रेमको ठूलो खाँचो पर्छ। उनीहरू हाम्रो प्रेममा निर्धक्क हुन चाहन्छन्‌। हामीजस्तै उनीहरू पनि आदरका भोका हुन्छन्‌। उनीहरू पनि आफ्नो जीवनको मोल भएको महसुस गर्न चाहन्छन्‌।

तसर्थ, आमाबाबु तथा बाजेबज्यैलाई आफ्नो माया देखाउनुपर्छ। यो पनि उनीहरूको मान गर्ने एउटा तरिका हो। (१ कोरिन्थी १६:१४) हामीदेखि टाढा बस्ने आमाबाबु हामीसित बराबर सम्पर्क राख्न पाउँदा अत्यन्त खुशी हुन्छन्‌ भनेर हामीले सम्झनुपर्छ। रमाइलो पत्र, फोन अथवा भेटघाटबाट उनीहरू ज्यादै आनन्दित बन्‍नसक्छन्‌। जापानकी ८२ वर्षीया मियोले लेखिन्‌: “मेरी छोरी [जसको पति परिभ्रमण निरीक्षक हुन्‌] मलाई भन्छेः ‘आमा, तपाईं पनि हामी सँगसँगै “यात्रा” गर्नुहोस्‌।’ अनि उसले आफ्नो यात्रा-तालिका, कुन हप्ता कुन मण्डलीमा हुनेछ, त्यसको नाउँ र त्यहाँको फोन नम्बर जम्मै मलाई दिन्छे। यसले गर्दा म आफ्नो मानचित्र खोलेर ‘लौ, छोरी र ज्वाइँ अहिले त्यहाँ छन्‌’ भन्‍नसक्छु। यस्तो छोरी पाएकोमा म सधैं यहोवालाई धन्यवाद दिन्छु।”

भौतिक आवश्‍यकताहरू पूरा गर्ने मदत

आमाबाबुको मान गर्नेले उनीहरूका भौतिक आवश्‍यकताहरूको पनि हेरविचार गर्नु आवश्‍यक पर्नसक्छ र? प्रायः पर्नसक्छ। येशूको समयमा आफ्नो पैसा वा सम्पत्ति ‘परमेश्‍वरलाई दिएको छु’ भन्‍ने मान्छे आमाबाबुको रेखदेख गर्ने जिम्मेवारीबाट मुक्‍त हुन्छ भन्‍ने परम्परालाई यहूदी धार्मिक नेताहरू समर्थन गर्थे। (मत्ती १५:३-६) कस्तो कठोरता! ती धर्मगुरुहरूले मानिसहरूलाई आ-आफ्नो आमाबाबुको अनादर गर्न प्रोत्साहित गर्दै थिए। स्वार्थी भएर आमाबाबुका आवश्‍यकताहरूको उपेक्षा गर्दै उनीहरूको हेलचक्य्राइँ गर्न उक्साइरहेका थिए। हामी कदापि त्यस्तो गर्न चाहँदैनौं!—व्यवस्था २७:१६.

आज थुप्रै देशहरूमा बूढापाकाहरूका लागि खानेकुरा, कपडा तथा बस्ने घरजस्ता केही भौतिक आवश्‍यकताहरू उपलब्ध गराउने सरकारी योजनाहरू छन्‌। यसबाहेक, स्वयं बूढापाकाहरूले पनि आफ्नो बुढेसकालका लागि केही न केही व्यवस्था मिलाएका हुन्छन्‌। तर यी योजना तथा प्रबन्धहरू यथेष्ट नहुँदा चाहिं छोराछोरीले आमाबाबुका आवश्‍यकताहरू यथासम्भव पूरा गरेर उनीहरूको आदर गर्छन्‌। वृद्ध आमाबाबुको हेरविचार गर्नु वास्तवमा ईश्‍वरीय भक्‍ति अर्थात्‌ परिवारको आरम्भक यहोवा परमेश्‍वरको भक्‍ति गर्नु हो।

प्रेम तथा आत्मत्याग

आफ्ना कमजोर आमाबाबुको रेखदेख गर्न थुप्रै वयस्क छोराछोरीले प्रेम तथा आत्मत्यागको भाव देखाएका छन्‌। कतिले आमाबाबुलाई आफूसितै राखेका छन्‌ अथवा आमाबाबुको नजीक हुन बसाइँ सरेका छन्‌। अरू चाहिं बसाइँ सरेर आफ्नै आमाबाबुसँग बसेका छन्‌। यस्तो कदम अक्सर आमाबाबु तथा छोराछोरी दुवैका लागि लाभप्रद साबित भएको छ।

तर कहिलेकाहीं चाहिं नतिजा राम्रो भएको छैन। किन? किनभने सम्भवतः राम्ररी नसोचीकन अथवा आवेगमा आएर फैसला गरेको हुनसक्छ। बाइबलले बुद्धिमतापूर्ण ढंगमा यसरी सावधान गराउँछ: “चतुर मानिसले प्रमाणको आवश्‍यकतालाई बुझ्छ।” (हितोपदेश १४:१५) उदाहरणका लागि, तपाईंकी आमालाई एक्लै बस्न गाह्रो भइरहेको होला। तपाईंको विचारमा शायद तिनी तपाईंसितै बसेमा राम्रो हुन्छ भन्‍ने लाग्ला। तर चतुर मानिसले झैं तपाईंले पनि पहिले यस्ता केही प्रश्‍नहरूमाथि विचार गर्नु बेस हुनेछ: आमालाई वास्तवमा के चाहिएको छ? के तिनको समस्या कुनै सरकारी अथवा परोपकारी योजनाहरूद्वारा समाधान हुनसक्छ कि? के तिनी बसाइँ सर्न चाहन्छिन्‌? सरिन्‌ भने, तिनले के कस्ता परिवर्तनहरूको सामना गर्नेछिन्‌? के तिनी आफ्ना मित्रहरूदेखि टाढा हुनेछिन्‌? तिनका भावनाहरूमा यसले कस्तो प्रभाव पार्नेछ? यी कुराहरूबारे के तपाईंले तिनीसित छलफल गर्नुभएको छ? तिनी बसाइँ सर्दा तपाईं, तपाईंको पति वा पत्नी तथा छोराछोरीहरूमाथि कस्तो असर पर्नेछ? आमालाई स्याहारसुसारको खाँचो छ भने, सुसारे को हुनेछ? यो जिम्मेवारी बाँड्‌न सकिन्छ? परिवारका अन्य सम्बन्धित सदस्यहरूसित यसबारे के तपाईंले छलफल गर्नुभएको छ?

आमाबाबुको स्याहारसुसार गर्ने जिम्मेवारी परिवारका जम्मै छोराछोरीहरूको हो। अतः कुनै पनि फैसला गर्नुअघि सपरिवार मिलेर छलफल गर्नु बेस हो। मसीही मण्डलीका प्राचीनहरूसित तथा यस्तै समस्या झेलीसकेका मित्रहरूसित पनि कुरा गर्नु लाभप्रद हुनसक्छ। किनभने बाइबलले यो चेताउनी दिन्छ: “परामर्श विनाको योजना विफल हुन्छ तर धेरै सोचेर गरेको योजना सफल हुन्छ।”—हितोपदेश १५:२२.

संवेदनशीलता तथा समानुभूति दर्साउनुहोस्‌

वृद्ध आमाबाबुको आदर गर्दा संवेदनशीलता तथा समानुभूति चाहिन्छ। उमेर ढल्दै जाँदा उनीहरूलाई हिंड्‌न, खान तथा कुराहरू सम्झिरहन झन्‌ झन्‌ गाह्रो हुनसक्छ। उनीहरूलाई मदतको खाँचो पर्ला। उनीहरूबारे छोराछोरीहरू अक्सर निकै चिन्तित भएर सल्लाह दिने कोसिस गर्छन्‌। तर बुज्रुक आमाबाबुहरू वयस्कहरू हुन्‌। उनीहरूसित अझ पनि वर्षौंदेखि आर्जन गरेको बुद्धि तथा अनुभवको भण्डार हुन्छ। उनीहरूले जीवनभरि आफ्नो देखभाल तथा आफ्ना फैसलाहरू आफै गर्दै आएका हुन्छन्‌। आमाबाबु र वयस्कको भूमिकामा नै उनीहरूले आत्मसम्मान र अस्तित्वको अनुभव गरेका हुनसक्छन्‌। तसर्थ, पूर्णतः छोराछोरीको वशमा बस्नु पर्दा केही आमाबाबुहरू अप्रसन्‍न तथा निराश हुनसक्छन्‌। केही आमाबाबु चाहिं आफ्नो स्वतन्त्रताको हस्तक्षेप भएको ठान्दै सकेसम्म विरोध गर्छन्‌।

१० हो, यी समस्याहरू सजिलै समाधान गर्न सकिंदैन। तापनि आमाबाबुलाई उनीहरूको हेरविचार तथा निजी फैसलाहरू सकेसम्म उनीहरू आफैलाई गर्नदिनु उनीहरूमाथि कृपा गर्नु हो। कुनै फैसला उनीहरूको हितकै लागि हो भने पनि उनीहरूसित छलफल नगरी फैसला गर्नु बुद्धिमानी कुरा होइन। उमेर सँगसँगै उनीहरूको आत्मनिर्भरता घट्‌दै जान्छ। अतः जे जति बाँकी होला, त्यो पनि खोस्ने प्रयास नगर्नुहोस्‌। तपाईंले आमाबाबुलाई वशमा राख्ने जति कम कोसिस गर्नुहुन्छ, उनीहरूसित तपाईंको सम्बन्ध उति नै राम्रो हुनेछ। उनीहरू खुशी हुँदा तपाईं पनि खुशी हुनुहुनेछ। उनीहरूकै हितका लागि कहिलेकाहीं जिद्दी गर्नु आवश्‍यक परे तापनि, नबिर्सनुहोस्‌, आमाबाबुको मान गर्नुको अर्थ उनीहरूको सम्मान गर्नु अनि मानमर्यादा राख्नु हो। परमेश्‍वरको वचन आग्रह गर्छ: “बूढ़ा-पाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर।”—लेवी १९:३२.

सही मनोवृत्ति कायम राख्ने

११ तर कहिलेकाहीं हुर्केका छोरीछोरीलाई आफ्ना वृद्ध आमाबाबुको मान गर्न गाह्रो लाग्छ। सम्भवतः केटाकेटी छँदा आमाबाबुले राम्रो व्यवहार नगरेका हुनसक्छन्‌। शायद बाबुको स्वभाव मायालु थिएन होला र आमाले पनि कठोर व्यवहार गरेकी हुन सक्छे। उनीहरू तपाईंले चाहेको जस्तो आमाबाबु थिएनन्‌ होला। त्यसले गर्दा शायद तपाईं अझसम्मै विचलित, क्रोधित तथा दुःखी हुनुहोला। यस्ता भावनाहरूमाथि के तपाईं विजयी हुन सक्नुहुन्छ? a

१२ फिन्लैण्डमा हुर्केका बासे भन्छ: “मेरो सौतिनी बुबा पहिले नाजी जर्मनीमा विशेष सैन्य दलका अफसर हुनुहुन्थ्यो। उहाँलाई तुरुन्तै रीस उठ्‌थ्यो र त्यसपछि उहाँ खतरनाक व्यवहार गर्नुहुन्थ्यो। उहाँले कति पटक मेरै अघि आमालाई पिट्‌नुभएको छ। एक दिन मसित रीसाउनुभएको बेलामा मलाई जोडसित पेटीले मुखैमा हान्‍नुभएको छ। म रन्थनिएर खाटमा लडें।”

१३ तथापि, उहाँको असल गुन पनि थियो। बासे भन्छ: “बुबा धेरै परिश्रमी हुनुहुन्थ्यो। परिवारका भौतिक आवश्‍यकताहरू पूरा गर्न उहाँ जे पनि गर्न तयार हुनुहुन्थ्यो। उहाँले मलाई कहिल्यै माया देखाउनुभएन। तर उहाँ आफैले केटाकेटी छँदै भावनात्मक चोट खानुभएको कुरा मलाई थाह थियो। उहाँकी आमाले उहाँलाई कलिलै उमेरमा घरबाट निकालिदिनुभएको थियो। उहाँ मारपिट गर्दै हुर्कनुभएको थियो र जवान छँदै सेनामा भर्ना हुनुभयो। केही हदसम्म उहाँप्रति मेरो सहानुभूति थियो। उहाँ पूर्णतः दोषी हुनुहुन्‍न थियो। म अलिक हुर्केपछि उहाँ सिकिस्त बिरामी पर्नुभयो। उहाँ नमरूञ्जेल म उहाँको सकेसम्म मदत गर्न इच्छुक थिएँ। तर सजिलो थिएन। तापनि उहाँलाई यथाशक्य मदत गरें। अन्तसम्मै म उहाँको असल छोरा हुने प्रयास गरें र मलाई लाग्छ उहाँले पनि मलाई असल छोराकै रूपमा स्वीकार्नुभयो।”

१४ अन्य परिस्थितिमा जस्तै पारिवारिक मामिलाहरूमा पनि बाइबलको यो उपदेश लागू हुन्छ: “परमेश्‍वरका चुनिएकाहरूझैं पवित्र र प्रिय, सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर। एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।”—कलस्सी ३:१२, १३.

सुसारेहरूलाई पनि स्याहारसुसार चाहिन्छ

१५ बिरामी आमा वा बुबाको सुसारे हुनु सजिलो हुँदैन। बिहानदेखि बेलुकीसम्म अनगिन्ती काम तथा थुप्रै जिम्मेवारीहरू भ्याउनुपर्छ। तर यसको सबैभन्दा गाह्रो भाग चाहिं भावनात्मक हो। आफ्नो आमाबाबुको स्वास्थ्य बिग्रँदै गएको तथा उनीहरूको स्मरणशक्‍ति क्षीण हुँदै गएको र उनीहरू आफ्नो खुट्टामा उभिन असमर्थ हुँदै गएको देख्दा साह्रै दुःख लाग्नसक्छ। पोर्टो रिकोकी स्यान्डी भन्छे: “परिवारको केन्द्रबिन्दु नै मेरी आमा हुनुहुन्थ्यो। उहाँले दुःख पाउनुभएको देख्दा र उहाँको स्याहारसुसार गर्दा हृदय दुःखले भरिन्थ्यो। प्रथमत: उहाँ खोच्याएर हिंड्‌न थाल्नुभयो; त्यसपछि उहाँलाई लट्ठी चाहियो। अनि वैशाखी र यसपछि गुड्‌ने मेच। त्यसपछि उहाँको हालत मरणोपरान्त झन्‌ झन्‌ बिग्रँदै गयो। हाडमा अर्बुद रोग लागेकोले दिनरात उहाँलाई स्याहारसुसारको खाँचो पर्थ्यो। हामी उहाँलाई नुहाइदिन्थ्यौं, खुवाउँथ्यौं, उहाँको लागि पढेर सुनाउँथ्यौं। यसो गर्नु धेरै गाह्रो थियो—विशेषगरि भावनात्मक तवरमा। मेरी आमा मर्न लागेकी देख्दा, म रुन्थें। मलाई उहाँको असाध्यै माया लाग्थ्यो।”

१६ यस्तै परिस्थितिको सामना गर्नु परेमा तपाईं के गर्न सक्नुहुन्छ? बाइबल पढेर यहोवाको वाणी सुन्‍नु र प्रार्थनाद्वारा उहाँसित कुरा गर्नु धेरै मदतकारी हुनसक्छ। (फिलिप्पी ४:६, ७) व्यवहारिक तवरमा सन्तुलित आहार तथा प्रशस्त आराम लिने गर्नुहोस्‌। यसरी आफ्नो प्रियजनको स्याहारसुसार गर्न तपाईं भावनात्मक तथा शारीरिक तवरमा समर्थ हुनुहुनेछ। कहिलेकाहीं फुर्सत निकालेर बाहिर जाने प्रबन्ध पनि मिलाउनुहोस्‌। लामो बिदामा जान सम्भव नभए पनि आराम गर्ने समय निकाल्नु राम्रो हो। आफ्नो बिरामी आमा वा बुबासित केही समयका लागि अरू कसैलाई राख्ने प्रबन्ध मिलाउन सकिन्छ।

१७ अक्सर वयस्क सुसारेहरू आफ्नो क्षमताभन्दा बढी गर्न खोज्छन्‌। तर आफ्नो क्षमताभन्दा बढी गर्न नसक्दा दोषी भावले पीडित नहुनुहोस्‌। परिस्थितिवश आफ्नो प्रियजनको स्याहारसुसार नर्सिङ होमलाई सुम्पन आवश्‍यक पर्नसक्छ। तपाईं सुसारे हुनुहुन्छ भने, सक्दोभन्दा बढी गर्ने कोसिस नगर्नुहोस्‌। तपाईंले आफ्ना आमाबाबुका आवश्‍यकताहरूलाई मात्र होइन, तर आफ्ना छोराछोरी, पति वा पत्नी र आफ्नै आवश्‍यकतालाई पनि सन्तुलनमा राख्नुपर्छ।

असाधारण सामर्थ्य

१८ बिरामी आमाबाबुको स्याहारसुसार गर्ने व्यक्‍तिलाई धेरै कामलाग्दा निर्देशनहरू यहोवाले प्रेमपूर्वक आफ्नो वचन बाइबलद्वारा दिनुहुन्छ। तर यहोवाले दिनुहुने मदत यति मात्र होइन। भजनरचयिताले प्रेरणाद्वारा लेखे: “उहाँमा पुकारा गर्ने सबैका नजीक परमप्रभु हुनुहुन्छ। . . . उहाँले तिनीहरूको पुकारा पनि सुन्‍नुहुनेछ र तिनीहरूलाई बचाउनुहुनेछ।”—भजन १४५:१८, १९.

१९ यसको अनुभव फिलिपिन्समा बस्ने मर्नालाई आफ्नी आमाको स्याहारसुसार गर्दा भयो। तिनकी आमा पक्षाघातले गर्दा पूर्णतः असहाय थिइन्‌। मर्ना लेख्छिन्‌: “आफ्नो प्रिय व्यक्‍तिलाई पीडित तथा आफ्नो दुःख व्यक्‍त गर्न असमर्थ देख्नुजस्तो निराशाजनक कुरा अरू केही हुनसक्दैन। मलाई लाग्थ्यो, तिनी बिस्तारै डुबी रहेछिन्‌ र म केही गर्न नसकेर हेरिरहेछु। कैयौं पटक म घुँडा टेकेर यहोवासित प्रार्थना गर्थें। म आफ्नो सारा थकान उहाँलाई पोख्थें। यहोवाले उनको आँसु भाँडामा साँचेर राखिदिऊन्‌, उनको स्मरण गरून्‌ भनी दाऊदले बिन्ती गरेझैं म पनि रोईरोई यहोवालाई पुकार्थें। [भजन ५६:८] अनि यहोवाले आफ्नो प्रतिज्ञाबमोजिम मलाई चाहिएको शक्‍ति दिनुभयो। ‘यहोवा मेरो आड हुनुभयो।’ ”—भजन १८:१८.

२० भनिन्छ, वृद्ध आमाबाबुको स्याहारसुसार गर्नु “वियोगान्त कथा हो।” सक्दोभर राम्रो रेखदेख गर्दागर्दै पनि वृद्ध आमाबाबुहरू मर्नाकी आमाजस्तै मरिहाल्छन्‌। तर यहोवामा भरोसा राख्नेहरूलाई थाह छ हाम्रो कथा मृत्युमै टुंगिदैन। प्रेरित पावलले भने: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ भन्‍ने आशा परमेश्‍वरतर्फ राखेको छु।” (प्रेरित २४:१५) ज-जसका वृद्ध आमाबाबुहरू मरेका छन्‌, उनीहरूले पुनरुत्थानको आशाबाट ठूलो सान्त्वना पाएका छन्‌। तिनीहरूले उत्सुकतासाथ परमेश्‍वरको प्रतिज्ञाकृत नयाँ संसारको बाटो हेर्छन्‌ जहाँ “फेरि मृत्यु हुनेछैन।”—प्रकाश २१:४.

२१ परमेश्‍वरका सेवकहरूले आफ्ना आमाबाबु वृद्ध हुँदा पनि उनीहरूको ठूलो मान गर्छन्‌। (हितोपदेश २३:२२-२४) उनीहरूको आदर गर्छन्‌। अतः ईश्‍वरप्रेरित हितोपदेशको यो कुरा आफ्नो जीवनमा साक्षात्‌ अनुभव गर्छन्‌: “तेरा आमाबाबुलाई खुशी हुने केही कारण होस्‌, तँलाई जन्म दिने आमाले रमाहट गरोस्‌।” (हितोपदेश २३:२५) सबैभन्दा मुख्य कुरा, आफ्ना वृद्ध आमाबाबुको मान गर्नेहरूले यहोवा परमेश्‍वरको मान गर्नुका साथै प्रसन्‍न तुल्याउँछन्‌।

a हामी यहाँ ती परिस्थितिहरूबारे कुरा गरेका छैनौं जहाँ आमाबाबुहरूले कानुन विपरीत आफ्नो शक्‍ति तथा अख्तियारको घोर दुरुपयोग गरेका हुन्छन्‌।