सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय नौ

आमा वा बुबा मात्र भएका परिवारहरू सफल हुनसक्छन्‌!

आमा वा बुबा मात्र भएका परिवारहरू सफल हुनसक्छन्‌!

१-३. कुन कारणले गर्दा आमा वा बुबा मात्र भएका परिवारहरूको संख्या बढ्‌दो छ र यसमा विथोलित व्यक्‍तिहरू कसरी प्रभावित भएका छन्‌?

 आमा वा बुबा मात्र भएका परिवारहरूको संख्या संयुक्‍त राज्यमा “द्रुत गतिले बढ्‌दैछ।” अन्य देशहरूमा पनि यस्तै भइरहेछ। पारपाचुके, त्यजित, टुक्रिएका परिवारहरू र अवैध जन्मको वृद्धिले लाखौं आमाबाबु तथा छोराछोरी प्रभावित भएका छन्‌।

एउटी एक्ली आमा लेख्छिन्‌: “म २८ वर्षीया विधवा हुँ। मेरा दुइ छोराछोरी छन्‌। म साह्रै निराश छु। म आफ्ना छोराछोरीलाई तिनीहरूको बुबाबिना हुर्काउन चाहन्‍नँ। तर कसैले मेरो वास्ता गर्दैन जस्तो छ। छोराछोरीले म बारम्बार रोएको देख्छन्‌ र यसले तिनीहरूमाथि असर पार्छ।” थुप्रै एक्लो आमा अथवा बुबाले एकातिर क्रोध, दोष र एकाकीपनको भावहरूसित संघर्ष गर्नुपर्छ भने अर्कोतिर जागिर तथा घरायसी कामकाजको पनि सामना गर्छन्‌। एक जना यस्तै अभिभावकले यसो भने: “एक्लो आमा वा बुबा हुनु चटकी हुनु जस्तै हो। छ महिनाको प्रशिक्षणपछि बल्ल भुइँमा नखसाई चारवटा बल उफार्न सिकेको मात्र के हुन्छ, तपाईंले अर्को नयाँ बल उफार्न सिक्नुपर्ने हुन्छ!”

आमा वा बुबा मात्र भएका परिवारका प्रायः जवान छोराछोरीले पनि बेग्लै प्रकारको समस्या झेल्नुपर्छ। आफ्नो आमा वा बुबाको अकस्मात्‌ मृत्यु हुँदा अथवा उनीहरू अचानक घर छाडेर जाँदा ती जवान छोराछोरीलाई गहिरो भावनात्मक चोट पर्छ। आमा वा बुबा नहुँदा थुप्रै युवायुवतीमाथि अत्यन्त नकारात्मक प्रभाव पर्नसक्छ।

४. यहोवाले आमा वा बुबा मात्र भएका परिवारहरूको चिन्ता गर्नुहुन्छ भनी हामी कसरी भन्‍नसक्छौं?

आमा वा बुबा मात्र हुने परिवारहरू बाइबलीय समयमा पनि पाइन्थे। धर्मशास्त्रमा बारम्बार “विधवा” र “टुहुरा[को]” चर्चा गरिएको पाइन्छ। (प्रस्थान २२:२२; व्यवस्था २४:१९-२१; अय्यूब ३१:१६-२२) यहोवा परमेश्‍वरले तिनीहरूको वास्ता गर्नुहुन्थ्यो। भजनरचयिताले परमेश्‍वरलाई “टुहुराका बाबु र विधवाहरूका न्यायकर्त्ता” भनी सम्बोधन गरे। (भजन ६८:५) यहोवाले आज पनि आमा वा बुबा मात्र भएका परिवारहरूको अवश्‍य वास्ता गर्नुहुन्छ! निस्सन्देह परमेश्‍वरको वचनका सिद्धान्तहरूले तिनीहरूलाई सफल हुने मदत दिनसक्छ।

घरको दैनिक कामकाज भ्याउने

५. एक्लो आमा वा बुबाले सुरुसुरुमा कस्ता समस्याहरूको सामना गर्नुपर्छ?

घरजम गर्ने विषयलाई नै विचार गर्नुहोस्‌। पारपाचुके गरेकी एउटी स्त्री भन्छिन्‌: “कहिलेकाहीं घरमा लोग्नेमान्छे भए पनि हुन्थ्यो जस्तो लाग्छ। जस्तै, मोटरबाट अनेक प्रकारको आवाज निस्किंदा, इन्जिनले राम्ररी काम नगर्दा अनि आफूलाई तीबारे केही थाह नहुँदा लोग्नेमान्छे सँगै भइदिए कति असल हुन्थ्यो जस्तो महसुस हुन्छ।” अर्कोतिर, भर्खरै पारपाचुके गरेका अथवा पत्नीको मृत्यु भएका लोग्नेमानिसहरू तीन थुप्रो घरायसी कामकाज देखेर हैरान हुनसक्छन्‌। केटाकेटीहरूमा चाहिं घरको अस्तव्यस्तताले गर्दा असुरक्षाको भाव बढ्‌नसक्छ।

केटाकेटी हो, आफ्नो एक्लो बुबा वा आमालाई सहयोग गर्नुहोस्‌

६, ७. (क) हितोपदेशमा वर्णित “सुयोग्य पत्नी[ले]” कस्तो असल उदाहरण कायम गरिन्‌? (ख) एक्लो आमा वा बुबा मात्र हुने परिवारमा घरायसी कामकाज गर्दा जाँगरिलो हुनु किन मदतकारी हुनसक्छ?

यस्तो स्थितिमा कुन कुरा मदतकारी हुनसक्छ? हितोपदेश ३१:१०-३१ मा वर्णित “सुयोग्य पत्नी[को]” उदाहरणलाई विचार गर्नुहोस्‌। तिनले उल्लेखनीय ढंगमा थुप्रै कामहरू भ्याएकी छिन्‌। तिनी किन्छिन्‌, बेच्छिन्‌, कपडा सिउँछिन्‌, खाना पकाउँछिन्‌, जग्गा किनबेच गर्छिन्‌, बारी लगाउँछिन्‌ तथा व्यापार पनि गर्छिन्‌। तर यी सबै गर्न तिनी भ्याउँथिन्‌ कसरी? तिनी मेहनती थिइन्‌। तिनी रातीसम्म काम गर्थिन्‌ र बिहान सबेरै काम सुरु गर्थिन्‌। तिनी सुव्यवस्थित पनि थिइन्‌। तिनले केही काम अरूलाई जिम्मा लगाउँथिन्‌ त केही आफै गर्थिन्‌। नभन्दै तिनी प्रशंसाको पात्र भइन्‌!

तपाईं घरमा एक्लो आमा वा बुबा हुनुहुन्छ भने, कर्तव्यनिष्ठ भई घरको कामकाज गर्नुहोस्‌। सन्तुष्ट मानेर काम गर्न सिक्नुहोस्‌। यो देखेर तपाईंका छोराछोरी आनन्दित हुनेछन्‌। तर यी सबै गर्न योजना तथा सुव्यवस्था अत्यावश्‍यक छ। बाइबल भन्छ: “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ।” (हितोपदेश २१:५) एक जना एक्लो बुबाले यो स्वीकारे: “भोक लागेपछि मात्र म खानेकुराबारे सोच्ने गर्छु।” तर पहिले नै सोचेर तयार पारिएको भोजन हतारपतार ठीक पारेकोभन्दा अक्सर धेरै पौष्टिक तथा स्वादिलो हुन्छ। तपाईंले सम्भवतः घरमा कहिल्यै नगरेको कामकाज पनि सिक्नु आवश्‍यक पर्ला। जान्‍ने मित्रहरूसित सोधपूछ गरेर, सम्बन्धित कितापहरू पढेर तथा पेशेवर कारिन्दाहरूको सुझाउ लिएर केही एक्ली आमाहरूले घरमा रंग लाउन, धारा जडान गर्न तथा मोटरको सानोतिनो मरम्मत गर्न सिकेका छन्‌।

८. एक्लो आमा वा बुबाका छोराछोरीले घरमा कस्तो मदत दिनसक्छन्‌?

केटाकेटीहरूको मदत माग्नु के उचित हो? एउटी एक्ली आमाले यस्तो सोचाइ व्यक्‍त गरिन्‌: “बच्चालाई हर सुविधा दिएर हामी घरमा आमा वा बुबाको कमीलाई ढाक्ने कोसिस गर्छौं।” यस्तो विचार स्वाभाविक भए तापनि बच्चाका लागि कहिलेकाहीं हानिकारक हुनसक्छ। बाइबलीय समयमा ईश्‍वरभीरु केटाकेटीहरूलाई सुहाउँदो कामकाजमा खटाउने चलन थियो। (उत्पत्ति ३७:२; श्रेष्ठगीत १:६) अतः छोराछोरीले गर्नै नसक्ने काम नदिनु भए तापनि तिनीहरूलाई भाँडा थन्काउने तथा कोठा सफा गर्ने जस्ता कामहरू दिनु बेस हुनेछ। यस्ता केही कामहरू तपाईं तिनीहरूसित मिलेर पनि गर्न सक्नुहुन्छ। यसो गर्नु निकै रमाइलो हुनसक्छ।

जीविका चलाउने चुनौती

९. एक्ली आमाहरूले अक्सर किन आर्थिक कठिनाइ अनुभव गर्छन्‌?

एक्लो आमा अथवा बुबालाई आफ्नो जीविका चलाउनु अक्सर गाह्रो पर्छ। अविवाहित आमाहरूलाई त झनै कठिन हुन्छ। a अतः अरू जागिर नभेट्टाऊञ्जेल उपलब्ध सरकारी मदतको फायदा उठाउनु अनुचित हुँदैन। आवश्‍यक परेको बेला यस्ता सुविधाहरूको लाभ उठाउन बाइबलले मसीहीहरूलाई अनुमति दिन्छ। (रोमी १३:१, ६) विधवा तथा पारपाचुके गरेका स्त्रीहरूले पनि यस्तै चुनौतीको सामना गर्नुपर्छ। वर्षौं घरमा काम गरेपछि बाहिर जागिर खोज्नेहरूको तलब प्रायः कम हुनसक्छ। अतः विभिन्‍न पेशागत प्रशिक्षण अथवा छोटो अवधिका तालिमहरू लिएर केहीले उन्‍नति गर्ने कोसिस गर्छन्‌।

१०. एक्ली आमाले उप्रान्त बाहिर जागिर खानैपर्छ भनी छोराछोरीलाई कसरी सम्झाउनसक्छिन्‌?

१० तपाईंले जागिर खोज्न थाल्दा छोराछोरीहरू अप्रसन्‍न हुनसक्छन्‌। यस्तो हुँदा दोषी भावले पीडित नहुनुहोस्‌। बरु तपाईंलाई अब काम गर्न किन खाँचो पऱ्‍यो, त्यो तिनीहरूलाई सम्झाउनुहोस्‌। तपाईंले तिनीहरूको रेखदेख गर्नुपर्छ। किनकि यही नै यहोवाको इच्छा हो भनी तिनीहरूलाई बुझ्ने मदत दिनुहोस्‌। (१ तिमोथी ५:८) समयमा धेरैजसो छोराछोरी मानि हाल्छन्‌। तर आफ्नो व्यस्त समयतालिकाको बावजूद यथाशक्य तिनीहरूसित समय बिताउनुहोस्‌। यसो गर्दा परिवारले सम्भाव्य आर्थिक कठिनाइ सहने बल पाउनसक्छ।—हितोपदेश १५:१६, १७.

रेखदेख गर्ने व्यक्‍ति को हो?

मण्डलीले “विधवा” र “अनाथलाई” बेवास्ता गर्दैन

११, १२. एक्लो आमा वा बुबाले छोराछोरीसित व्यवहार गर्दा कुन सिमाना नाँघ्नु हुँदैन र यो उनीहरूले कसरी गर्नसक्छन्‌?

११ स्वाभाविकतः एक्लो आमा वा बुबा आफ्ना छोराछोरीसित ज्यादै घनिष्ठ हुन्छन्‌। तथापि, आमाबाबु तथा छोराछोरीबीचको ईश्‍वर-स्थापित सिमाना नाघिनु हुँदैन। उदाहरणका लागि, एक्ली आमाले आफ्नो छोरालाई घरको शिरले उठाउनुपर्ने जिम्मेवारी वहन गर्न लाउनु अथवा छोरीलाई मनको दुःखसुख बाँड्‌ने वा गोप्य कुराहरू भन्‍ने साथी बनाउनु उचित होइन। यसो गर्नु छोराछोरीलाई अनावश्‍यक भार बोकाउनु तथा विचलित पार्नु हो।

१२ छोराछोरीले तपाईंको रेखदेख गर्ने होइन तर तपाईं आमा वा बुबाले तिनीहरूको रेखदेख गर्नुहुनेछ भनी तिनीहरूलाई ढुक्क पार्नुहोस्‌। (तुलना गर्नुहोस्‌ २ कोरिन्थी १२:१४) कहिलेकाहीं तपाईंलाई अलिकता सरसल्लाह अथवा सहायताको खाँचो पर्ला। त्यतिखेर तपाईंको नाबालिग छोराछोरीसित होइन तर मसीही प्राचीनहरू अथवा परिपक्व मसीही स्त्रीहरूसित सल्लाह लिनुहोस्‌।—तितस २:३.

अनुशासन कायम राख्नुहोस्‌

१३. छोराछोरीलाई अनुशासन दिंदा एक्ली आमाले कस्तो समस्या सामना गर्नसक्छिन्‌?

१३ अनुशासनको छडी चलाउन पुरुषलाई सजिलो लागे तापनि स्त्रीलाई भने गाह्रो पर्नसक्छ। एउटी एक्ली आमा भन्छिन्‌: “मेरा छोराहरू हलक्क बढेका लक्का जवान छन्‌। तिनीहरू सामु आफू फितलो अथवा कमजोर नदेखिने कोसिस गर्नु गाह्रो छ।” यसबाहेक, तपाईं आफ्नो प्रिय पति वा पत्नीको मृत्युले गर्दा अझ पनि शोकाकुल हुनुहुन्छ होला। अथवा आफ्नो वैवाहिक जीवन टुक्रिएकोमा दोषी भावले पीडित हुनुहोला। तपाईंबाट छुटिएको पति वा पत्नीले छोराछोरीमाथि अझ पनि कानुनन्‌ अधिकार जमाउन पाएको हुनसक्छ। अतः तपाईंसित भन्दा तपाईंको पूर्व पति वा पत्नीसित छोराछोरी बस्न रुचाउलान्‌ भनी तपाईं डराउनुहोला। यस्तो स्थितिमा सन्तुलित अनुशासन कायम राख्नु गाह्रो पर्नसक्छ।

१४. एक्लो आमा वा बुबाले अनुशासनबारे सन्तुलित दृष्टिकोण कसरी कायम राख्नसक्छन्‌?

१४ बाइबल भन्छ, “छाड़ा छोड़ेको छोराले आफ्नी आमालाई लाजमा पार्छ।” (हितोपदेश २९:१५) यहोवा परमेश्‍वरले तपाईंलाई परिवारका लागि नियमहरू बनाउने तथा तिनलाई लागू गर्ने अधिकार दिनुभएको छ। अतः दोषी भाव, पछितो अथवा डरको शिकार नबन्‍नुहोस्‌। (हितोपदेश १:८) बाइबलका सिद्धान्तहरू उल्लंघन हुन नदिनुहोस्‌। (हितोपदेश १३:२४) तपाईं आफ्नो व्यवहारमा सधैं नियमितता, विवेक र दृढता कायम राख्ने कोसिस गर्नुहोस्‌। त्यसो गर्दा समयमा प्रायजसो छोराछोरीहरूले आमाबाबुको कुरालाई ध्यान दिन थाल्छन्‌। तथापि तपाईंले छोराछोरीको सोचविचारलाई पनि ध्यान दिनुपर्छ। एक जना एक्लो बुबा भन्छन्‌: “घरमा आमा नभएकी हुनाले छोराछोरी विचलित हुन्थे। यस कुरालाई मैले ध्यानमा राखेर समझदारीसाथ अनुशासन दिनुपर्थ्यो। त्यसैकारण, मौका पाउने बित्तिकै म तिनीहरूसित कुरा गर्छु। तिनीहरूसित म केही रमाइला क्षणहरू पनि बिताउँछु। हामी मिलेर खाना पकाउँदा तिनीहरू मन खोलेर मसित कुरा गर्छन्‌।”

१५. आफ्नो पूर्व जीवनसाथीबारे कुरा गर्दा पारपाचुके गरेको पति वा पत्नीले कस्तो टिप्पणी गर्नु उचित होइन?

१५ तपाईंले पारपाचुके गर्नुभएको छ भने चाहिं आफ्नो पूर्व पति वा पत्नीलाई होच्याएर केही पाउनुहुनेछैन। आमाबाबुबीचको कलह छोराछोरीका लागि अति नै दुःखदायी हुन्छ। अन्ततः तिनीहरूले तपाईं दुवैको आदर गर्न छाड्‌नसक्छन्‌। अतः “तँ तेरो बुबाजस्तै छस्‌!” जस्तो घोच्ने टिप्पणी नगर्नुहोस्‌। हुनसक्छ, तपाईंको पूर्व पति वा पत्नीले तपाईंलाई धेरै चोट पुऱ्‍याएको होला। तर ऊ अझै पनि तपाईंका छोराछोरीको आमा वा बुबा हो र तिनीहरूलाई तपाईं दुवैको प्रेम, चासो तथा अनुशासन चाहिन्छ। b

१६. आमा वा बुबा मात्र भएको परिवारमा के कस्ता आध्यात्मिक प्रबन्धहरू अनुशासनको अभिन्‍न भाग हुनुपर्छ?

१६ अघिल्ला अध्यायहरूमा छलफल गरिएझैं अनुशासन दिनुको अर्थ सजाय दिनु मात्र होइन। अनुशासनमा प्रशिक्षण तथा निर्देशन पनि सम्मिलित छ। आध्यात्मिक प्रशिक्षण दिने राम्रो कार्यक्रम लागू गर्दा धेरै समस्याहरू रोक्न सकिन्छ। (फिलिप्पी ३:१६) मसीही सभाहरूमा नियमित रीतिले उपस्थित हुनु अत्यावश्‍यक छ। (हिब्रू १०:२४, २५) पारिवारिक बाइबल अध्ययन गर्नु पनि उतिकै जरुरी छ। हुन त यस्तो अध्ययन नियमित रीतिले सञ्चालन गर्नु सजिलो हुँदैन। एउटा कर्तव्यनिष्ठ आमा भन्छिन्‌: “दिनभरि काम गरेपछि आराम गर्न असाध्यै मन पर्छ। तापनि छोरीसित अध्ययन गर्न म मनैमन आफूलाई तयार पार्छु। आखिर, यो पनि नगरी नहुने काम हो। र छोरीले हाम्रो पारिवारिक अध्ययन साह्रै मन पराउँछे!”

१७. पावलका सहकर्मी तिमोथीको असल पालनपोषणबाट हामी के सिक्नसक्छौं?

१७ प्रेरित पावलका सहकर्मी तिमोथीले बाइबल सिद्धान्तसम्बन्धी शिक्षा आफ्नो बुबाबाट नभएर आमा तथा बज्यैबाट पाएको हुनुपर्छ। र पनि तिमोथी कस्तो विलक्षण मसीही हुन सके! (प्रेरित १६:१, २; २ तिमोथी १:५; ३:१४, १५) तपाईंले पनि छोराछोरीलाई ‘यहोवाको शिक्षा तथा चेताउनीअनुरूप’ हुर्काउन लगातार कोसिस गर्नुभयो भने, मीठो परिणाम भोग्न सक्नुहुन्छ।—एफिसी ६:४.

एकाकीपनसित संघर्ष गर्ने

१८, १९. (क) एक्लो आमा वा बुबालाई एकाकीपनको अनुभव कसरी हुनसक्छ? (ख) शारीरिक अभिलाषाहरूलाई वशमा राख्न कस्तो सल्लाह दिइएको छ?

१८ एउटी एक्ली आमा सुस्केरा हाल्दै भन्छिन्‌: “घरमा आएर ती चार भित्ता देख्दा विशेषगरि छोराछोरी सुतिसकेपछि एकाकीपनले मलाई चारैतिरबाट घेर्छ।” हो, एक्लो आमा वा बुबाले सामना गर्नुपर्ने ठूलो समस्या अक्सर एकाकीपन हो। वैवाहिक जीवनको न्यानो स्नेहपूर्ण सम्बन्धको चाह गर्नु अस्वाभाविक होइन। तर जसरी भए पनि यो समस्याको समाधान गर्नैपर्छ भन्‍ने विचार राख्नु के उचित हो? प्रेरित पावलको दिनमा केही जवान विधवाहरू “ख्रीष्टको विरुद्ध [यौन] सुखविलासमा” फसेका थिए। (१ तिमोथी ५:११, १२) आध्यात्मिकतालाई शारीरिक अभिलाषाहरूले ढाक्दा परिणाम हानिकारक हुनसक्छ।—१ तिमोथी ५:६.

१९ एक मसीही पुरुषले भने: “कामवासना जति नै प्रबल भए तापनि त्यसलाई वशमा राख्न सकिन्छ। यति हो, त्यस्तो विचार आउँदा त्यसमाथि पटक्कै घोरिनु हुँदैन। त्यसलाई तुरुन्तै मनबाट हटाउनुपर्छ। आफ्नो छोराछोरीबारे सोच्नुहोस्‌।” परमेश्‍वरको वचन भन्छ: “तिमीहरूका अंगहरूलाई आत्मसंयमद्वारा वशमा पार।” (कलस्सी ३:५) खाने रुचिलाई वशमा राख्ने प्रयासमा हुनुहुन्छ भने, के तपाईं स्वादिष्ट खानेकुराका चित्रहरूले भरिभराउ पत्रिकाहरू हेरिरहनुहुन्छ? अथवा के तपाईं हरदम भोजनबारे कुरा गर्ने मानिसहरूसित संगत गर्नुहुन्छ? अवश्‍य गर्नुहुन्‍न। शारीरिक अभिलाषाहरूको कुरा पनि यस्तै हो।

२०. (क) गैरविश्‍वासीहरूसित घनिष्ठ प्रेम बढाउनेहरू के कस्ता खतरामा फस्नसक्छन्‌? (ख) एक्लो व्यक्‍तिहरूले प्रथम शताब्दी तथा आज पनि एकाकीपनसित कसरी डटेका छन्‌?

२० गैरविश्‍वासीहरूसित केही एक्लो मसीहीहरूले प्रेम गर्न थालेका छन्‌। (१ कोरिन्थी ७:३९) तर के यसबाट समस्या समाधान भयो त? भएन। पारपाचुके गरेकी एउटी मसीही स्त्री यो चेताउनी दिन्छिन्‌: “गलत व्यक्‍तिसित विवाह गर्नु एक्लो हुनुभन्दा धेरै खराब हो!” प्रथम शताब्दीका मसीही विधवाहरू एकाकीपनले गर्दा समय समयमा अवश्‍य पीडित हुन्थे। तर तीमध्ये बुद्धिमतीहरूले चाहिं ‘परदेशीहरूको सत्कार गर्न, पवित्र जनहरूका खुट्टा धुन, दुःखीहरूको उपकार गर्नमा’ आफूलाई व्यस्त राख्थे। (१ तिमोथी ५:१०) आज पनि ईश्‍वरभीरु जीवनसाथी नपाऊञ्जेल वर्षौं पर्खेर बस्ने विश्‍वासी मसीहीहरूले आफूलाई व्यस्त राखेका छन्‌। एउटी ६८ वर्षीया विधवा आफूलाई एक्लो लाग्नासाथै अरू विधवाहरूसित भेट गर्न जान्थिन्‌। तिनी भन्छिन्‌: “यसरी भेटघाट गर्न, घरको कामकाज सँभाल्न तथा आफ्नो आध्यात्मिकतालाई बलियो पार्न व्यस्त हुँदा मलाई एकाकीपन महसुस गर्ने फुर्सतै हुँदैन।” अरूलाई परमेश्‍वरको राज्यबारे सिकाउनु विशेषगरि अति नै लाभदायक काम हो।—मत्ती २८:१९, २०.

२१. असल संगत तथा प्रार्थनाबाट एकाकीपनलाई जित्ने मदत कसरी पाउन सकिन्छ?

२१ हुन त एकाकीपन तत्कालै हट्‌ने कुरा होइन। तर यहोवाले दिनुहुने शक्‍तिद्वारा त्यसलाई सहन चाहिं सकिन्छ। तथापि यस्तो शक्‍तिका लागि मसीही पुरुष वा स्त्री “रातदिन अन्तरबिन्ती र प्रार्थनामा” लागिरहनुपर्छ। (१ तिमोथी ५:५) अन्तरबिन्ती हृदयको गहिराइबाट चढाइने प्रार्थना हो। अन्तरबिन्ती गर्दा हामी यहोवालाई अक्सर आँसु बहाई-बहाई गुहार्छौं। (तुलना गर्नुहोस्‌ हिब्रू ५:७) यहोवालाई “रातदिन” आफ्नो दुःख पोखाउनु वास्तवमा मदतकारी हुनसक्छ। यसबाहेक, असल संगत पाएमा एकाकीपन निकै कम हुनसक्छ। असल संगतद्वारा हितोपदेश १२:२५ मा वर्णन गरिएको प्रोत्साहनजनक “दयालु वचन” पाउन सकिन्छ।

२२. समय समयमा एकाकीपनको भाव उर्लेर आउँदा के कस्ता विचारहरू मदतकारी हुनसक्छन्‌?

२२ तैपनि एकाकीपन कहिलेकाहीं उर्लेर आइहाल्छ। यस्तो हुँदा कसैको जीवन पनि समस्याबाट पूर्णतः मुक्‍त छैन भन्‍ने कुरा नभुल्नुहोस्‌। यथार्थमा संसारभरिका हाम्रा “दाज्यूभाइहरू” कुनै न कुनै रीतिले पीडित छन्‌। (१ पत्रुस ५:९) अतीतका कुराहरू मनमा नखेलाइरहनुहोस्‌। (उपदेशक ७:१०) प्राप्त सुखहरू सम्झनुहोस्‌। र प्रथमतः निष्ठावान्‌ भएर यहोवाको हृदयलाई आनन्दित तुल्याउने संकल्प गर्नुहोस्‌।—हितोपदेश २७:११.

अरूले कसरी मदत दिनसक्छन्‌

२३. सँगी मसीहीहरूले मण्डलीका एक्लो आमा वा बुबाप्रति कस्तो जिम्मेवारी निर्वाह गर्नुपर्छ?

२३ सँगी मसीहीहरूले दिने मदत र आड ठूलो मोलको हुन्छ। याकूब १:२७ भन्छ: “अनाथ र विधवाहरूलाई तिनीहरूका कष्टमा हेरचाह गर। . . . [यो नै] हाम्रा परमेश्‍वर र पिताको सामने शुद्ध धर्म हो।” हो, एक्लो आमा अथवा बुबा मात्र भएका परिवारहरूलाई मदत दिनु मसीही कर्तव्य हो। अब यसलाई कुन कुन ढंगले व्यवहारमा ल्याउन सकिन्छ?

२४. खाँचोमा परेका एक्लो आमा वा बुबा मात्र हुने परिवारहरूलाई कसरी मदत दिन सकिन्छ?

२४ एउटा त, भौतिक मदत दिन सकिन्छ। बाइबल भन्छ: “संसारको सम्पत्ति हासिल गरेर पनि कसैले आफ्नो भाइलाई खाँचोमा परेको देखेर त्यसमाथि आफ्नो दया देखाउँदैन भनेता परमेश्‍वरको प्रेम त्यसमा कसरी रहन्छ?” (१ यूहन्‍ना ३:१७) यहाँ “देखेर” भनी अनुवादित युनानी शब्दको अर्थ झुलुक्क हेर्नु मात्र होइन। यसको अर्थ हो, जानाजानी एकोहोरो हेरिरहनु। अर्थात्‌ पहिले त त्यस परिवारका परिस्थितिहरू र आवश्‍यकताहरूलाई दयालु मसीहीले बुझ्नुपर्छ। त्यो परिवारलाई पैसाको खाँचो छ कि? अथवा घर मरम्मत गर्न जरुरी छ कि? होइन भने, तिनीहरूलाई खाना खान वा सामाजिक भेटघाटका लागि निम्त्याउनु मात्र पनि यथेष्ट हुनसक्छ।

२५. सँगी मसीहीहरूले एक्लो आमा वा बुबाप्रति कसरी अनुकम्पा दर्साउनसक्छन्‌?

२५ यसबाहेक, १ पत्रुस ३:८ मा अझ यो आग्रह गरिएको छ: “तिमीहरू सबै एक मनका, सहानुभूति देखाउने, भातृ-प्रेम गर्ने, कोमल हृदयका, नम्र मनका [होओ]।” छ जना छोराछोरी भएकी एक्ली आमा भन्छिन्‌: “मैले धेरै कठिनाइहरू झेल्दै आएकी छु र यसको बोझले कहिलेकाहीं फतक्क गल्छु। तर बेलाबेलामा एक जना भाइ वा बहिनी मकहाँ आएर भन्छन्‌: ‘जोन, तिमीले ठूलो काम गर्दैछौ। यसको मीठो फल तपाईंले एक दिन अवश्‍य पाउनुहुनेछ।’ यसरी अरूले मबारे सोची दिंदा, मेरो चिन्ता गर्दा म ठूलो बल पाउँछु।” वृद्धा मसीहीहरूले एक्ली जवान आमाहरूलाई विशेष मदत दिनसक्छन्‌। पुरुषसित छलफल गर्न अप्ठ्यारो हुने किसिमको समस्या आइपर्दा यी वृद्धाहरूले सुन्‍नसक्छन्‌।

२६. परिपक्व मसीही पुरुषहरूले टुहुराटुहुरीहरूलाई कसरी मदत दिनसक्छन्‌?

२६ मसीही पुरुषहरूले अन्य ढंगमा सहायता गर्नसक्छन्‌। धर्मी पुरुष अय्यूबले भने: “सहायताको लागि पुकारा गर्दा गरीब मानिसलाई र रक्षाहीन टुहुरा-टुहुरीलाई मैले बचाएँ।” (अय्यूब २९:१२) यस्तैगरि आज केही मसीही पुरुषहरूले बाबु नभएका केटाकेटीहरूप्रति गहिरो रुचि लिन्छन्‌। तिनीहरूप्रति “शुद्ध हृदयबाटको” निःस्वार्थ प्रेम देखाउँछन्‌। (१ तिमोथी १:५) आ-आफ्ना परिवारहरूको हेलचक्य्राइँ नगरी तिनीहरू यस्ता केटाकेटीसित प्रचारकार्यमा जाने प्रबन्ध मिलाउँछन्‌। अथवा तिनीहरूलाई आफ्नो पारिवारिक अध्ययन वा कुनै प्रकारको मनोरञ्जनमा भाग लिन निम्त्याउँछन्‌। दयाका यस्ता अभिव्यक्‍तिहरूले टुहुराटुहुरीलाई गलत मार्गबाट बचाउन सकिन्छ।

२७. एक्लो आमा वा बुबाले कुन आडको आश्‍वासन पाउनसक्छन्‌?

२७ तर जिम्मेवारीको “निज भार” अन्ततः एक्लो आमाबाबु आफैले वहन गर्नुपर्छ। (गलाती ६:५) तापनि तिनीहरूले मसीही भाइबहिनीहरू र स्वयं यहोवा परमेश्‍वरको प्रेम पाउनसक्छन्‌। उहाँबारे बाइबल भन्छ: “टुहुराहरूलाई र विधवाहरूलाई उहाँ सम्हाल्नुहुन्छ।” (भजन १४६:९) उहाँको मायालु समर्थन पाएर आमा वा बुबा मात्र भएका परिवारहरू सफल हुनसक्छन्‌!

a अनैतिक चालचलनको कारण कुनै मसीही युवती गर्भवती हुँदा मसीही मण्डलीले उसको सराहना पटक्कै गर्दैन। तर ऊ पश्‍चात्ताप गर्छे भने, मण्डलीका प्राचीन तथा अरूले चाहेमा उसलाई मदत दिनसक्छन्‌।

b यहाँ हामीले ती परिस्थितिबारे कुरा गरेका छैनौं जहाँ बच्चालाई दुर्व्यवहार गर्ने आमा वा बुबाबाट बचाउन खाँचो पर्छ। साथै, तपाईंको पूर्व पति वा पत्नीले छोराछोरीलाई तपाईंबाट अलग्याउन तपाईंको अधिकारको उपेक्षा गर्न खोज्दैछ भने, त्यति बेला मण्डलीका प्राचीनजस्ता अनुभवी मित्रहरूबाट सल्लाह लिन सक्नुहुन्छ।