अध्याय आठ
आफ्नो परिवारलाई विनाशकारी प्रभावहरूबाट बचाउनुहोस्
१-३. (क) परिवारलाई खतरामा पार्ने विनाशकारी प्रभावहरू कुन कुन स्रोतबाट आउँछन्? (ख) आफ्नो परिवारलाई बचाउने कोसिस गर्दा आमाबाबुले के सन्तुलन कायम राख्नुपर्छ?
बाहिर मुसलधार पानी पर्दैछ। तपाईंको सानो छोरा विद्यालय जाने बेला भइसक्यो। तपाईं के गर्नुहुन्छ? के उसलाई कुनै बर्साती अथवा छाताबिना बाहिर जान दिनुहुन्छ? अथवा के उसलाई चल्नै नसक्नेगरि खापाखाप लुगा लगाइदिनुहुन्छ? तपाईं यी कुनै पनि गर्नुहुन्न। पानीमा नरूझोस् भनेर जे जति चाहिन्छ, तपाईं उसलाई त्यति मात्र दिनुहुन्छ।
२ यसैप्रकार आज परिवारमाथि मनोरञ्जन संसार, पढ्ने सामग्री, साथीहरू र कहिलेकाहीं विद्यालयबाट समेत विनाशकारी प्रभावहरूको प्रहार भइरहेको छ। आमाबाबुले आ-आफ्नो परिवारलाई यी प्रभावहरूबाट बचाउन कुनै सन्तुलित उपाय खोज्नुपर्छ। तर कुनै कुनै आमाबाबुले परिवारलाई बचाउन प्रायः केही गर्दैनन्। तथापि केही यस्ता आमाबाबु पनि छन् जसले सबै बाह्य प्रभावहरूलाई हानिकारक ठान्छन्। तिनीहरूले छोराछोरीहरूको मानौं सासै थुन्नेगरि अति कडाइ गर्छन्। तर सन्तुलित उपाय अपनाउनु सम्भव छ र?
३ छ। ज्यादै कडाइ गर्दा केही असर हुँदैन। बरु अनेक प्रकारका आपत्विपत् मात्र आउनसक्छन्। (उपदेशक ७:१६, १७) तर मसीही आमाबाबुले परिवारलाई सुरक्षित राख्दा सन्तुलन कसरी कायम राख्नसक्छन्? यी तीन क्षेत्रहरूलाई विचार गर्नुहोस्: शिक्षा, संगत तथा मनोरञ्जन।
तपाईंका छोराछोरीलाई कसले सिकाउनुपर्छ?
४. मसीही आमाबाबुले शिक्षालाई कुन दृष्टिले हेर्नुपर्छ?
४ मसीही आमाबाबुले शिक्षालाई ठूलो महत्त्व दिन्छन्। विद्यालय गएर छोराछोरीले पढ्ने, लेख्ने, विचारहरूको आदानप्रदान गर्ने तथा अन्य समस्याहरू समाधान गर्ने मदत पाउँछन् भनी आमाबाबुलाई थाह छ। तर विद्यालयमा छोराछोरीले सिक्ने
तालिम पनि पाउनुपर्छ। विद्यालयमा सिकेका सीपहरूले छोराछोरीलाई संसारका चुनौतीहरूको बावजूद सफल हुन मदत दिन्छ। यसबाहेक राम्रो शिक्षाको कारण छोराछोरीले पछि स्तरीय काम पनि गर्नसक्छ।—हितोपदेश २२:२९.
५, ६. विद्यालय जाने केटाकेटीहरूले कसरी यौनसम्बन्धी विकृत धारणाहरू सिक्नसक्छन्?
५ तथापि विद्यालयमा छोराछोरीहरू अन्य केटाकेटीहरूसित पनि संगत गर्छन् तीमध्ये धेरैको विकृत दृष्टिकोण हुन्छ। उदाहरणका लागि, यौन तथा नैतिकतासम्बन्धी तिनीहरूको दृष्टिकोणलाई विचार गर्नुहोस्। नाइजेरियाको माध्यमिक विद्यालयमा पढ्ने एउटी केटी जथाभावी यौन सम्बन्ध राख्थी र आफ्ना सहपाठीहरूलाई यौन सल्लाह दिन्थी। उसका विचारहरू बेकार अनि अश्लील साहित्यमा आधारित हुन्थे। तापनि सहपाठीहरूले उसको कुरा उत्सुकतासाथ सुन्ने गर्थे। केही केटीहरूले उसको सल्लाह प्रयोग पनि गरे।
फलतः एउटी केटी विवाहपूर्व गर्भवती भई अनि आफैले गर्भपात गर्न खोज्दा मरी।
६ तर दुःखको कुरा, विद्यालयमा यौनसम्बन्धी गलत धारणाहरू केटाकेटीहरूबाट होइन, शिक्षकहरूबाट सुनिन्छ। केही विद्यालयहरूमा छोराछोरीहरूलाई यौन शिक्षा दिंदा नैतिकता तथा जिम्मेवारीबारे केही सिकाइँदैन। यो देखेर धेरै आमाबाबु विचलित भएका छन्। बाह्र वर्षीया छोरीकी आमा भन्छे: “हामी धर्म तथा परम्पराको ठूलो कदर गर्ने छिमेकमा बस्छौं। तैपनि यही छिमेकको माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई कन्डम बाँडिरहेको छ!” छोरीकै उमेरका केटाहरूले छोरीसित यौन सम्बन्ध राख्ने इच्छुकता प्रकट गरेको थाह पाएपछि यी आमाबाबु अझ चिन्तित भए। यस्ता गलत प्रभावहरूबाट आमाबाबुले परिवारलाई कसरी बचाउनसक्छन्?
७. यौनसम्बन्धी गलत धारणाहरूसित डट्ने उत्तम तरिका के हो?
७ केटाकेटीसामु यौनसम्बन्धी कुरा गर्दै नगर्नु के उचित हो? होइन। तपाईंका छोराछोरीलाई यौन शिक्षा स्वयं तपाईंले दिनु बेस हो। (हितोपदेश ५:१) हो, युरोप तथा उत्तर अमेरिकाका केही भागहरूमा धेरै आमाबाबु यस विषयमा छोराछोरीसित कुरा गर्न हिचकिचाउँछन्। यस्तैगरि, केही अफ्रिकी मुलुकहरूमा पनि आमाबाबुले छोराछोरीसित यौनसम्बन्धी कुरा प्रायः गर्दैनन्। सिएरा लिओनमा बस्ने एक बुबा भन्छन्: “यस्तो कुरा गर्नु अफ्रिकी संस्कृतिसित मिल्दैन।” केही आमाबाबुको विचारमा छोरीछोरीलाई यौन शिक्षा दिनु तिनीहरूको कलिलो मनमा यस्ता विचारहरू हाल्नु हो जसबाट तिनीहरू अनैतिकताको कुमार्गहरूमा लाग्नसक्छन्! तर यसबारे परमेश्वरको दृष्टिकोण के छ?
यौनसम्बन्धी परमेश्वरको दृष्टिकोण
८, ९. बाइबलमा यौनसम्बन्धी के कस्ता असल जानकारी पाउन सकिन्छ?
८ यौनबारे उचित छलफल गर्दा लाज मान्नु पर्दैन भनी बाइबलमा स्पष्ट बताइएको छ। इस्राएलमा मोशाको व्यवस्था पढेर सुनाउँदा परमेश्वरका जनहरू आफ्ना “बालक[हरूसमेत] भेला हुनुपर्थ्यो। (व्यवस्था ३१:१०-१२; यहोशू ८:३५) मोशाको व्यवस्थामा रजस्वला, वीर्यपतन, करणी, व्यभिचार, समसमागमी, हाडनाताकरणी तथा पशुकरणीजस्ता यौनसम्बन्धी कुराहरू स्पष्ट उल्लेख गरिएका थिए। (लेवी १५:१६, १९; १८:६, २२, २३; व्यवस्था २२:२२) निस्सन्देह, यस्ता कुरा पढेर सुनाएपछि आमाबाबुले आफ्ना जिज्ञासु छोराछोरीहरूलाई धेरै कुराहरू बुझाउन खाँचो पर्थ्यो।
९ हितोपदेशको पाँचौं, छैटौं र सातौं अध्यायहरूमा यौन अनैतिकताका खतराहरूबारे आमाबाबुले छोराछोरीलाई प्रेमपूर्वक दिने सल्लाह उल्लेख गरिएको छ। उक्त पदहरूअनुसार कहिलेकाहीं अनैतिकता निकै आकर्षक हुनसक्छ। (हितोपदेश ५:३; ६:२४, २५; ७:१४-२१) तैपनि अनैतिकता गलत हो, त्यसको परिणाम अत्यन्त दुःखदायी हुन्छ र जवान मानिसहरू त्यसबाट टाढै बस्नुपर्छ भनी ती पदहरूले सिकाउँछन्। (हितोपदेश ५:१-१४, २१-२३; ६:२७-३५; ७:२२-२७) तथापि, अनैतिकताको ठीक विपरीत वैवाहिक जीवनको परिधिभित्र यौन आनन्द लिनु चाहिं गलत होइन। (हितोपदेश ५:१५-२०) आमाबाबुले अनुकरण गर्नुपर्ने कति असल शिक्षा प्रणाली!
१०. यौनसम्बन्धी ईश्वरीय ज्ञान पाएर केटाकेटीहरू अनैतिकताको शिकार किन बन्नु नपर्ने हो?
१० के यसप्रकारको शिक्षाले छोराछोरीलाई अनैतिकतातर्फ डोऱ्याउँछ र? त्यसको ठीक विपरीत बाइबल भन्छ: “ज्ञानद्वारा धर्मी मानिस बचाइन्छ।” (हितोपदेश ११:९, NW) के तपाईं आफ्ना छोराछोरीलाई यस संसारको प्रभावबाट बचाउन चाहनुहुन्न र? एक जना बुबा भन्छन्: “छोराछोरीलाई सानै उमेरदेखि यौनसम्बन्धी कुराहरू हामीले स्पष्टसित बुझाउने कोसिस गऱ्यौं। अतः अरू केटाकेटीहरूले यौनबारे कुरा गर्दा हाम्रा छोराछोरी जिज्ञासु हुँदैनन्। हाम्रा छोराछोरीका लागि यौन रहस्यमय विषय हुनछाड्छ।”
११. जीवनका गुप्त कुराहरूबारे छोराछोरीलाई कसरी प्रगतिशील रीतिले सिकाउन सकिन्छ?
११ अघि अघिका केही अध्यायहरूमा उल्लेख गरिएझैं यौन शिक्षा सकेसम्म सानैदेखि दिन थाल्नुपर्छ। साना केटाकेटीलाई शरीरका अंगहरूको नाउँ सिकाउनु हुँदा गुप्तांगहरूलाई नछाड्नुहोस्। यी अंगहरूबारे लज्जित हुनुपर्दैन। यिनीहरूको पनि उचित नाउँ बताउनुहोस्। समय बित्दै जाँदा गोपनीयता र सीमाबारे सिकाउनु पनि आवश्यक हुन्छ। शरीरका गुप्तांगहरू महत्त्वपूर्ण हुन्, तिनलाई सबैले हेर्नु अथवा छुनु उचित होइन तथा तीबारे खराब ढंगमा कहिल्यै कुरा गर्नु हुँदैन भनी सम्भवतः आमाबाबु दुवै बसेर सम्झाउनु अत्यावश्यक हो। साथै, पुरुष तथा स्त्री दुवैको मिलनबाट कसरी गर्भधारण हुन्छ, छोराछोरी अलिक ठूलो भएपछि सम्झाउन सकिन्छ। त्यतिखेरसम्म तिनीहरूका आफ्नै शरीर पनि तारुण्यमा प्रवेश गर्न थालेको हुन्छ। फलतः तिनीहरूले पूर्व प्रतीक्षा गरेका परिवर्तनहरू महसुस गर्न थाल्छन्। अध्याय ५ मा छलफल गरिएझैं यस्तो शिक्षाले छोराछोरीलाई यौन दुर्व्यवहारबाट पनि बचाउनसक्छ।—हितोपदेश २:१०-१४.
आमाबाबुको गृहकार्य
१२. विद्यालयहरूमा अक्सर के कस्ता विकृत विचारहरू सिकाइन्छन्?
१२ विद्यालयमा विकासवाद, राष्ट्रियता वा कुनै पनि कुरा पूर्णतः सत्य हुनसक्दैन भन्ने सांसारिक दर्शनहरू सिकाइनसक्छ। यस्ता झूटा धारणाहरूको खण्डन गर्न आमाबाबु सधैं तयार हुनुपर्छ। (१ कोरिन्थी ३:१९; तुलना गर्नुहोस् उत्पत्ति १:२७; लेवी २६:१; यूहन्ना ४:२४; १७:१७) थुप्रै निष्कपट विद्यालय अधिकृतहरूले उच्च शिक्षालाई आवश्यकताभन्दा बढी महत्त्व दिन्छन्। अतिरिक्त शिक्षा लिनु या नलिनु व्यक्तिगत रुचिको कुरा भए तापनि त्यसलाई विद्यालय अधिकृतहरूले चाहिं सफलताको एक मात्र मार्ग ठान्छन्। a—भजन १४६:३-६.
१३. विद्यालय जाने छोराछोरीलाई गलत धारणाहरूबाट कसरी सुरक्षित राख्न सकिन्छ?
१३ आमाबाबुहरूले गलत वा विकृत धारणाहरू खण्डन गर्नसक्न बच्चाहरूलाई विद्यालयमा के सिकाइँदैछ, जान्नु आवश्यक छ। यसकारण, आमाबाबुहरू हो, तपाईंको पनि गृहकार्य छ भनेर नबिर्सनुहोस्! छोराछोरीले विद्यालयमा के सिक्दैछन्, त्यसमा गहिरो रुचि लिनुहोस्। विद्यालयबाट घर आएपछि तिनीहरूसित कुरा गर्नुहोस्। तिनीहरूले के के सिक्दैछन्, तिनीहरूलाई सबैभन्दा बढी के मन पर्छ, के गाह्रो लाग्छ, सोध्नुहोस्। तिनीहरूको गृहकार्य तथा जाँचको परिणाम राम्ररी हेर्नुहोस्। तिनीहरूका शिक्षकहरूसित चिनजान गर्ने कोसिस गर्नुहोस्। ती शिक्षकहरूले गरेको परिश्रमको प्रशंसा गर्नुहोस्। तिनीहरूलाई सक्दो मदत दिन तपाईं आफै पनि इच्छुक हुनुहुन्छ भनी बताउनुहोस्।
छोराछोरीका मित्रहरू
१४. ईश्वरभक्त छोराछोरीहरूले असल मित्रहरू रोज्नु किन आवश्यक छ?
१४ “तैले यस्तो कुरा कहाँबाट सिकिस्?” आफ्नो छोराछोरीले नगर्नु वा नभन्नुपर्ने कुरा गर्दा वा भन्दा आमाबाबु हैरान भएर अक्सर उक्त प्रश्न सोध्ने गर्छन्। र यसको जवाफसित अक्सर विद्यालय वा छिमेकमै बस्ने कुनै नयाँ साथीको नाउँ गाँसिएको हुन्छ। हो, जवान हौं वा वृद्ध, साथीसँगीहरूले हामीमाथि गहिरो प्रभाव पार्छ। प्रेरित पावलले यो चेताउनी दिए: “नठगियौ, खराब संगतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३; हितोपदेश १३:२०) साथीहरूको दबाबको शिकार विशेषगरि जवान मानिसहरू हुन्छन्। उनीहरू अक्सर आफ्नै कुरामा अनिश्चित हुन्छन्। जसले गर्दा साथीहरूलाई प्रसन्न तुल्याउन तुरुन्तै तयार भइहाल्छन्। यसैकारण असल साथीहरू रोज्नु उनीहरूका लागि अत्यावश्यक छ!
१५. आमाबाबुहरूले छोराछोरीलाई असल मित्रहरू रोज्ने मदत कसरी दिनसक्छन्?
१५ प्रायः सबै आमाबाबुले जानेका छन्, छोराछोरीहरू अक्सर राम्रो छनौट गर्न सक्तैनन्। उनीहरूलाई निर्देशन चाहिन्छ। तर यसको अर्थ उनीहरूको मित्र हामीले रोज्ने होइन। उनीहरू बढ्दै जाँदा उनीहरूलाई समझशक्ति प्राप्त गर्न सिकाउनुहोस्। मित्रहरूमा के कस्ता गुनहरूको मोल गर्नुपर्छ, त्यो बुझ्ने मदत दिनुहोस्। मुख्य गुन यहोवाको निम्ति प्रेम तथा उहाँको दृष्टिमा स्वीकार्य काम गर्ने इच्छुकता हो। (मर्कूस १२:२८-३०) उनीहरूलाई इमानदार, दयावन्त, उदारचित्त तथा परिश्रमी व्यक्तिहरूको कदर गर्न सिकाउनुहोस्। पारिवारिक अध्ययन गर्दा बाइबल कथाहरूमा यस्ता गुन भएका व्यक्तिहरूलाई औंल्याउन लाउनुहोस्। सोही गुनहरू मण्डलीका सदस्यहरूमा ठम्याउन मदत दिनुहोस्। उही गुनहरूको आधारमा आफ्ना मित्रहरू आफैले रोजेर असल उदाहरण बन्नुहोस्।
१६. छोराछोरीले कुन प्रकारका मित्रहरू रोज्दैछन्, यसमाथि आमाबाबुले कसरी ध्यान दिनसक्छन्?
१६ आफ्ना छोराछोरीका मित्रहरू को हुन्, के तपाईंलाई थाह छ? तिनीहरूलाई घरमा किन निम्त्याउनुहुन्न? यसप्रकार तिनीहरूलाई तपाईं अझ राम्ररी चिन्न सक्नुहुनेछ। साथै, छोराछोरीलाई सोध्नुहोस्, तिनीहरूका मित्रहरूलाई अरू केटाकेटीहरूले कुन दृष्टिले हेर्छन्? के तिनीहरू निष्ठावान् व्यक्तिहरू हुन्? अथवा के तिनीहरू बहुरूपी छन्? छन् भने, यस्ताहरूसित संगत गर्नु किन हानिकारक हुनसक्छ, छोराछोरीलाई बुझ्ने मदत दिनुहोस्। (भजन २६:४, ५, ९-१२) आफ्ना छोराछोरीको व्यवहार, पहिरन, मनोवृत्ति अथवा बोलीमा केही नराम्रो परिवर्तन देख्नुभयो भने, शायद तपाईंलाई उसका साथीहरूबारे ऊसित कुरा गर्नु आवश्यक हुनसक्छ। नकारात्मक प्रभाव पार्ने कुनै मित्रसित तपाईंको छोरा वा छोरीले समय बिताइरहेको हुनसक्छ।—तुलना गर्नुहोस् उत्पत्ति ३४:१, २.
१७, १८. खराब मित्रहरूबारे चेताउनी दिनुको साथै आमाबाबुले छोराछोरीलाई के व्यवहारिक मदत दिनसक्छन्?
१७ तर छोराछोरीलाई खराब मित्रहरूदेखि अलग बस्न सिकाएर मात्र पुग्दैन। तिनीहरूलाई असल मित्रहरू फेला पार्ने मदत पनि दिनुहोस्। एक जना बुबा भन्छन्: “हामी जहिले पनि रित्तोपनलाई भर्ने कोसिस गर्थ्यौं। अतः छोराले विद्यालयको फुटबल टीममा भर्ना हुने निम्तो पाउँदा त्यहाँ भर्ना हुनु किन राम्रो होइन, त्यहाँको संगत कसरी लाभदायक हुँदैन, हामी दुवै आमाबाबु बसेर उसलाई सम्झायौं। तर यसका साथै हामीले मण्डलीका केही युवकहरूलाई लगेर पार्कमा फुटबल खेल्ने सुझाउ पनि दियौं। यतिमै समस्या समाधान भयो।”
१८ असल आमाबाबुले छोराछोरीलाई असल मित्रहरू खोज्ने अनि तिनीहरूसित मिलेर हितकारी मनोरञ्जनको आनन्द उठाउने मदत दिन्छन्। तथापि, मनोरञ्जनको यो विषय धेरै आमाबाबुका लागि एउटा बेग्लै चुनौती भएको छ।
कस्तो मनोरञ्जन?
१९. परिवारहरूले रमाइलो गर्नु पाप होइन भनी बाइबलमा उल्लिखित कुन उदाहरणहरूबाट देख्न सकिन्छ?
१९ रमाइलो गर्नु के बाइबलमा निषेधित छ? पटक्कै छैन! बाइबल भन्छ, “हाँस्ने एउटा समय . . . नाच्ने एउटा समय छ।” b (उपदेशक ३:४) प्राचीन इस्राएलमा परमेश्वरका जनहरूले संगीत, नाचगान, खेल तथा गाउँ खाने कथाहरू भन्न विशेष रुचि लिन्थें। स्वयं येशू ख्रीष्ट पनि एउटा विशाल विवाह भोज तथा मत्ती लेवीद्वारा आयोजित “ठूलो भोज[मा]” उपस्थित हुनुभयो। (लूका ५:२९; यूहन्ना २:१,२) स्पष्टतः, येशू अर्घेलो व्यक्ति हुनुहुन्न थियो। अतः हँस्सी मजाक तथा रमाइलोपन तपाईंको परिवारमा कहिल्यै पाप सरह निषेधित नहोस्!
२०. परिवारका लागि मनोरञ्जन आयोजित गर्दा आमाबाबुले के कुरा ध्यानमा राख्नुपर्छ?
२० यहोवा “परमधन्य [आनन्दित, NW] परमेश्वर हुनुहुन्छ।” (१ तिमोथी १:११) यसकारण यहोवाको उपासना आनन्ददायी हुनुपर्छ। उहाँको उपासना वैरागलाग्दो हुनु भएन। (तुलना गर्नुहोस् व्यवस्था १६:१५) छोराछोरीहरूमा स्वभावतः भरपूर शक्ति हुन्छ। त्यसलाई खेल्दा तथा रमाइलो गर्दा प्रयोग गर्न सकिन्छ। राम्ररी रोजेको मनोरञ्जन रमाइलो मात्र हुँदैन। त्यस तरिकामा छोराछोरीले सिक्न र परिपक्व हुनसक्छ। मनोरञ्जनलगायत अन्य सबै आवश्यकताहरू पूरा गर्ने प्रबन्ध परिवारको अगुवाले गर्नुपर्छ। तथापि, यसमा सन्तुलनको खाँचो पर्छ।
२१. वर्तमान मनोरञ्जनका खतराहरू के हुन्?
२१ बाइबलमा भविष्यवाणी गरेजस्तै यी दुःखग्रस्त “आखिरी दिनहरू” “परमेश्वरभन्दा सुख-विलास निको मान्ने” मानिसहरूले भरिभराउ छ। (२ तिमोथी ३:१-५) धेरैका लागि जीवनमा रमाइलो गर्नु नै सबैभन्दा ठूलो कुरा भएको छ। साथै, मनोरञ्जनका यति धेरै साधनहरू छन्, जीवनका महत्त्वपूर्ण कुराहरू सजिलैसित बिर्सन सकिन्छ। यसबाहेक, आधुनिक मनोरञ्जनको नाउँमा यौन अनैतिकता, हिंसा, मादक पदार्थको दुर्व्यसन तथा अन्य अति नै हानिकारक चलनहरू प्रस्तुत गरिन्छ। (हितोपदेश ३:३१) यस्तो हानिकारक मनोरञ्जनबाट जवान मानिसहरूलाई कसरी बचाउने?
२२. आमाबाबुले छोराछोरीलाई मनोरञ्जनसम्बन्धी सही छनौट गर्ने प्रशिक्षण कसरी दिनसक्छन्?
२२ आमाबाबुले सीमा तोक्नु तथा प्रतिबन्ध लाउनुपर्छ। तर यतिले मात्र पुग्दैन। कस्तो मनोरञ्जन हानिकारक हो, मनोरञ्जन कति बेला आवश्यकताभन्दा बढी हुन्छ, त्यो ठम्याउने मदत पनि छोराछोरीलाई दिनुपर्छ। यस्तो प्रशिक्षण दिंदा समय बिताउनुपर्छ, यत्न गर्नुपर्छ। उदाहरणका लागि, एक जना बुबाका दुइ छोराहरू थिए। जेठो छोराले बारम्बार एउटा नयाँ रेडियो प्रसारण सुनेको बुबाले देखे। अतः एक दिन ट्रक हाँक्दै काममा जाँदा बुबाले पनि त्यही रेडियो प्रसारण सुन्ने विचार गरे। समय समयमा ट्रक रोक्दै उनले केही गीतका शब्दहरू कागतमा टिपे। त्यसपछि उनले छोराहरूसित आफूले सुनेका गीतका शब्दहरूबारे छलफल गरे। जहिले पनि “तिमीलाई कस्तो लाग्छ?” भन्दै छोराहरूको दृष्टिकोण प्रकट गराउने प्रश्नहरू उनले सोधे। छोराहरूले जवाफ दिंदा धैर्यसाथ सुने। बाइबल चलाउँदै छलफल गरिसकेपछि छोराहरूले उप्रान्त त्यो प्रसारण नसुन्ने फैसला गरे।
२३. आमाबाबुले छोराछोरीलाई हानिकारक मनोरञ्जनबाट कसरी बचाउनसक्छन्?
२३ बुद्धिमान आमाबाबुले छोराछोरीको ध्यानाकर्षित गर्ने संगीत, टिभी कार्यक्रम, भिडिओ टेप, चित्रकथा, भिडिओ गेम तथा चलचित्रहरू जाँच गर्छन्। उनीहरूले बाहिर खोलमा प्रदर्शित नक्सा, गीतका शब्दहरू, तीसित दिने उपहार तथा तीबारे अखबारहरूमा प्रस्तुत लेख अथवा अंशहरूलाई विचार गर्छन्। छोराछोरीलाई ध्यानमा राखेर तयार पारिएका कुनै कुनै “मनोरञ्जन” देखेर धेरै आमाबाबु तीन छक परेका छन्। ती अशुद्ध प्रभावहरूबाट छोराछोरीलाई बचाउन चाहनेहरूले परिवारसित बसेर बाइबल तथा बाइबलमा आधारित प्रकाशनहरू जस्तो कि युवा जनले सोध्ने प्रश्नहरू—त्यसका उपयोगी जवाफहरू (अंग्रेजी) नामक पुस्तक तथा प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरूमा प्रस्तुत लेखहरू प्रयोग गर्दै सम्भाव्य खतराहरूबारे छलफल गर्छन्। c आमाबाबुले मनासिब प्रतिबन्धहरू नियमित रीतिले तोक्ने गर्दा परिणाम अक्सर राम्रो हुन्छ।—मत्ती ५:३७; फिलिप्पी ४:५.
२४, २५. सपरिवार मिलेर कुन कुन प्रकारका मनोरञ्जनमा भाग लिनसक्छन्?
२४ तथापि, हानिकारक प्रकारका मनोरञ्जनहरू निषेध गर्दैमा आमाबाबुको काम समाप्त हुँदैन। खराबीको सामना असलले गर्नुपर्छ नत्रता छोराछोरी बिस्तारै फेरि गलत बाटोमा लाग्नसक्छन्। सपरिवार मिलेर वनभोज जाँदा, वनमा डुल्दा तथा पाल टाँगेर केही दिन नौलो ठाउँमा बिताउँदा, खेलकुद गर्दा, नातेदार तथा साथीहरूलाई भेट्न जाँदा अनुभव गरिएका रमाइला क्षणहरू थुप्रै मसीही परिवारहरूले अझै पनि सम्झन्छन्। उपस्थित सबैले सुन्नेगरि कुनै कुरा पढेर सुनाउनु पनि कतिका लागि आराम तथा आनन्ददायी हुनसक्छ। कति जनालाई भने हास्यास्पद तथा रुचिकर कथाहरू भन्नु मन पर्छ। अझ केहीले चाहिं सपरिवार मिलेर काठमा बुट्टा कोर्ने, बाजा बजाउने, चित्र कोर्ने अथवा परमेश्वरका अन्य सृष्टि अध्ययन गर्ने सौख बसालेका छन्। यस्तो विविधतामा भाग लिने केटाकेटीहरू अक्सर अशुद्ध मनोरञ्जनबाट बच्छन्। साथै, मनोरञ्जनको अर्थ हात बाँधेर अरूले रमाइलो गरेको हेर्नु मात्र होइन रहेछ भनी तिनीहरूले बुझ्छन्। हेर्दै बस्नुभन्दा अक्सर स्वयं भाग लिनु धेरै रमाइलो हुन्छ।
२५ सामाजिक भेटघाटहरू पनि रमाइला हुनसक्छन्। धेरै मानिस नभएका अथवा आवश्यक निरीक्षण पुगेका भेटघाटहरू छोराछोरीका लागि रमाइलो मात्र हुँदैनन्। तीबाट मण्डलीका सदस्यहरूबीचको प्रेम अझ बलियो हुनसक्छ।—तुलना गर्नुहोस् लूका १४:१३, १४; यहूदा १२.
तपाईंको परिवार संसारमाथि विजयी हुनसक्छ
२६. परिवारलाई हानिकारक प्रभावहरूबाट बचाउने कोसिस गर्दा सबैभन्दा महत्त्वपूर्ण गुन के हो?
२६ निस्सन्देह, संसारका विनाशकारी प्रभावहरूबाट आफ्नो परिवारलाई बचाउनु सजिलो छैन। तर एउटा खास कुरा छ जसद्वारा तपाईं निश्चय सफल बन्न सक्नुहुन्छ। त्यो हो प्रेम! परिवारमा आत्मीयता तथा प्रेम छ भने, तपाईंको घर एउटा सुरक्षित थलो हुनेछ। परिवारका सदस्यहरूबीच विचारको आदानप्रदान फस्टाउनेछ। परिवार खराब प्रभावहरूबाट सुरक्षित हुनेछ। तर एउटा बेग्लै प्रकारको प्रेम पनि विकसित गर्नु अझ महत्त्वपूर्ण छ। त्यो हो, यहोवाका लागि प्रेम। परिवारमा यस्तो प्रेम प्रबल हुँदा केटाकेटीहरू सांसारिक प्रभावहरूको शिकार बन्न चाहने छैनन्। परमेश्वरलाई अप्रसन्न तुल्याउने विचारसमेत तिनीहरूका लागि घृणास्पद हुनेछ। साथै, हृदयको गहिराइबाट यहोवासित प्रेम गर्ने आमाबाबुले चाहिं उहाँको मायालु, विवेकशील तथा सन्तुलित व्यक्तित्व अनुसरण गर्न खोज्नेछन्। (एफिसी ५:१; याकूब ३:१७) आमाबाबुले यसो गर्दा छोराछोरीले यहोवाको उपासनालाई निषेधित कुराहरूको तालिका अथवा सकेसम्म उम्कनु पर्ने वैरागी जीवनशैलीको रूपमा देख्नेछैनन्। बरु परमेश्वरको उपासना तिनीहरूको दृष्टिमा सबैभन्दा आनन्ददायी, अर्थपूर्ण तथा सन्तोषजनक जीवनशैली बन्नेछ।
२७. परिवार संसारमाथि कसरी विजयी हुनसक्छ?
२७ परमेश्वरलाई सन्तुलित सेवा चढाउँदै संसारका भ्रष्ट प्रभावहरूबाट “निष्कलंक” रहन पूर्ण हृदयदेखि कोसिस गर्ने एकताबद्ध परिवारहरू देखेर यहोवा प्रसन्न हुनुहुन्छ। (२ पत्रुस ३:१४; हितोपदेश २७:११) यस्ता परिवारहरूले येशू ख्रीष्टको उदाहरण अनुकरण गर्ने कोसिस गर्छन्। किनकि उहाँले पनि आफूलाई दूषित पार्न खोज्ने शैतानको हर प्रयासलाई प्रतिरोध गर्नुभयो। फलतः आफ्नो मानव जीवनको अन्ततिर येशूले यसो भन्न सक्नुभयो: “मैले संसारलाई जितेको छु।” (यूहन्ना १६:३३) यस्तैगरि तपाईंको परिवारले पनि संसारलाई जितेर सधैंभरि जीवनको आनन्द उठाउन सकून्!
a वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित पुस्तिका यहोवाका साक्षीहरू तथा शिक्षा (अंग्रेजी) पृष्ठ ४-७ मा अतिरिक्त शिक्षाबारे छलफल गरिएको छ, हेर्नुहोस्।
b यहाँ “हाँस्ने” भनेर अनुवादित हिब्रू शब्दलाई “खेल्नु,” “मनोरञ्जन गर्नु,” “उत्सव मनाउनु,” अथवा “मोज गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ।
c वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।.