सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

संसारलाई कसले शासन गर्नेछ?

संसारलाई कसले शासन गर्नेछ?

अध्याय नौ

संसारलाई कसले शासन गर्नेछ?

१-३. बेलसजरको शासनको पहिलो वर्षमा दानियलले देखेको सपना र दर्शनबारे वर्णन गर्नुहोस्‌।

 दानियलको यो रोचक भविष्यवाणी बेबिलोनका राजा बेलसजरको प्रथम वर्षको हो। दानियल निर्वासनमा परेको धेरै भइसक्यो तर यहोवाप्रतिको तिनको निष्ठा कहिल्यै ढलपल भएन। अहिले ७० वर्ष नाघिसकेका वफादार अगमवक्‍ता “पलंगमा ढल्किरहेको बेला . . . सपना र दर्शनहरू” देख्छन्‌। अनि यी दर्शनहरू देखेर तिनी असाध्यै डराउँछन्‌!—दानियल ७:१, १५.

छक्क पर्दै दानियल भन्छन्‌, “आकाशका चारै बतासले महासमुद्रलाई हल्लाएको मैले देखें। औ समुद्रबाट चार किसिमका भिन्दाभिन्दै ठूला ठूला जन्तुहरू बाहिर निस्के।” कस्तो अचम्मका जन्तुहरू! पहिलो, पखेटा भएको सिंह अनि दोस्रो, भालुजस्तो। त्यसपछि, चारवटा पखेटा र चारवटा टाउको भएको चितुवा! असाध्यै बलियो चौथो जन्तुको फलामका ठूलठूला दाँत र दशवटा सीङ थियो। दशवटा सीङको बीचबाट उम्रिएको “सानो” सीङमा “मानिसको जस्तै आँखा” र “ठूला ठूला कुरा गर्ने मुख” थियो।—दानियल ७:२-८.

यसपछि दानियलले स्वर्गको दृश्‍य देख्छन्‌। एक जना अति वृद्ध व्यक्‍ति स्वर्गको सिंहासनमा न्याय गर्न विराजमान हुनुहुन्छ। ‘हजारौं हजारले उहाँको सेवा गर्दैछन्‌। दश हजार गुणा दश हजार उहाँको सामु उभिएका छन्‌।’ जन्तुहरूको विरुद्ध न्याय गर्दै उहाँले सर्वाधिकार खोस्नु हुन्छ र चौथोलाई नाश गर्नुहुन्छ। त्यसपछि “विभिन्‍न भाषा बोल्ने सबै जातिका मानिसहरू[माथि]” शासन गर्ने अनन्त सर्वाधिकार “मानिसका पुत्रजस्तै” देखिने कसैलाई दिइन्छ।—दानियल ७:९-१४.

४. (क) दानियलले भरपर्दो सत्य अर्थ बताउन कसलाई अनुरोध गरे? (ख) दानियलले त्यो रात देखेको र सुनेको घटना हाम्रोलागि किन महत्त्वपूर्ण छ?

दानियल यसो भन्छन्‌, “म . . . आत्मामा बेचैन भएँ, र मैले पाएका दर्शनहरूले मलाई विचलित तुल्याए।” त्यसकारण, तिनी एक जना स्वर्गदूतलाई “यी सबै कुराको सत्य अर्थ बताउन अनुरोध” गर्छन्‌। स्वर्गदूतले तिनलाई “यी कुराको अर्थ” बताउँछन्‌। (दानियल ७:१५-२८) दानियलले त्यो रात देखेको र सुनेको कुरा हाम्रोलागि निकै चासोको विषय हो किनभने त्यसले हाम्रो समयमा हुने विश्‍वघटनाहरूबारे बताउँछ। त्यतिबेला “मानिसको पुत्रजस्तै” देखिने व्यक्‍तिलाई “विभिन्‍न भाषा बोल्ने सबै जातिका मानिसहरू[माथि]” सर्वाधिकार दिइन्छ। परमेश्‍वरको वचन र आत्माको मदत पाएर हामी पनि यी भविष्यसूचक दर्शनहरूको अर्थ बुझ्न सक्नेछौं। a

चारवटा जन्तु समुद्रबाट निस्कन्छन्‌

५. बतासले हल्लाएको समुद्रले कुन कुरालाई चित्रित गर्छ?

दानियलले भने, “समुद्रबाट चार किसिमका . . . ठूला ठूला जन्तुहरू बाहिर निस्के।” (दानियल ७:३) बतासले हल्लाएको समुद्र कुन कुराको प्रतीक थियो? वर्षौंपछि प्रेरित यूहन्‍नाले सातवटा शिर भएको जनावर “समुद्रबाट” निस्किरहेको देखे। त्यो समुद्रले परमेश्‍वरबाट तर्किएका “मानिसहरू, भीड़हरू, जातिहरू र भाषाहरू[को]” मानवजातिलाई बुझाउँछ। त्यसकारण, परमेश्‍वरसित कुनै सम्बन्ध राख्न नचाहने मानव समुदायलाई बुझाउन समुद्र एकदमै उपयुक्‍त प्रतीक हो।—प्रकाश १३:१, २; १७:१५; यशैया ५७:२०.

६. चारवटा जन्तुले कुन कुराको चित्रण गर्छ?

परमेश्‍वरको स्वर्गदूतले भने, “यी ठूला ठूला चार जन्तुहरू चार राज्य हुन्‌, जो पृथ्वीमा खड़ा हुनेछन्‌।” (दानियल ७:१७) स्पष्टतः दानियलले देखेको चारवटा जन्तुहरू “चार राज्य” हुन्‌ भनी स्वर्गदूतले बताए। तसर्थ, यी जन्तुहरूले विश्‍वशक्‍तिलाई चित्रित गर्छन्‌। तर कुन कुन?

७. (क) कोही कोही बाइबल टिप्पणीकारहरू दानियलको सपना-दर्शनको चारवटा जन्तु र नबूकदनेसरले देखेको विशाल मूर्तिको सपनाबारे के भन्छन्‌? (ख) मूर्तिको चार बेग्लाबेग्लै धातुहरूले केलाई चित्रण गर्छ?

बाइबल टिप्पणीकारहरू चारवटा जन्तुको सपना-दर्शनलाई नबूकदनेसरले देखेको विशाल मूर्तिको सपनासित प्रायः तुलना गर्छन्‌। उदाहरणका लागि, दी एक्सपोजिटर्स बाइबल कमेन्टरी यस्तो टिप्पणी गर्छ: “[दानियल] अध्याय ७ र अध्याय २ मिल्दोजुल्दो छ।” द विक्लिफ बाइबल कमेन्टरी यसो भन्छ: “यहाँ [दानियल अध्याय ७] र [दानियल] अध्याय २ मा . . . अन्यजातिका चारवटा शक्‍तिहरूको श्रृंखलाबद्ध उत्थान एउटै हुन्‌ भन्‍ने कुरामा सामान्यतया मतभेद पाइँदैन।” नबूकदनेसरले सपनामा देखेको मूर्तिका चारवटा धातुहरूले बेबिलोन साम्राज्य (सुनको टाउको), मादी र फारसी (चाँदीका छाती र हातहरू), युनान (पित्तलका पेट र फिला) अनि रोम साम्राज्यलाई (फलामका खुट्टाहरू) चित्रण गर्छ। b (दानियल २:३२, ३३) दानियलले देखेका चारवटा ठूलठूला जन्तुहरूसित यी राज्यहरूको विवरण कसरी मेल खान्छ, हामी हेरौं।

सिंहजस्तै हिंस्रक, चीलजस्तै छिटो

८. (क) दानियलले पहिलो जन्तुको कसरी वर्णन गरे? (ख) पहिलो जन्तुले कुन साम्राज्यलाई चित्रण गर्छ र यसले कसरी सिंहको जस्तो व्यवहार गऱ्‍यो?

दानियलले कस्तो गजबका जन्तुहरू देखे! तिनले एउटा जन्तुबारे यसरी वर्णन गरे: “पहिलो चाहिं सिंहजस्तो थियो, तर त्यसका पखेटा चीलका जस्तै थिए। मैले त्यसका पखेटाहरू उखेलिएको हेरिरहें, त्यो भूइँबाट उचालियो, र मानिसजस्तै दुई खुट्टामा उभ्याइयो। औ त्यसलाई मानिसको मन पनि दिइयो।” (दानियल ७:४) यस जन्तुले विशाल मूर्तिको सुनको टाउकोले चित्रण गरेकै शासनलाई देखायो र त्यो हो, बेबिलोन विश्‍वशक्‍ति (सा.यु.पू. ६०७-५३९)। सिकारी ‘सिंहले जस्तै’ बेबिलोनले हिंस्रक भएर राष्ट्रहरूलाई फहराएर खायो, परमेश्‍वरका जनहरूलाई समेत त्यसले छोडेन। (यर्मिया ४:५-७; ५०:१७) चीलको पखेटा भएझैं गरी यस ‘सिंहले’ आफ्नो आक्रमणलाई तीव्र गति दियो।–विलाप ४:१९; हबकूक १:६-८.

९. सिंहजस्तो जन्तुमा कस्ता परिवर्तनहरू भए र यसले त्यस जन्तुलाई कसरी असर गऱ्‍यो?

समय बित्दै गएपछि पखेटा भएको यस अचम्मको सिंहको पखेटा ‘उखेलियो।’ राजा बेलसजरको शासनको अन्ततिर बेबिलोनको विजय रफ्तार र अरू राष्ट्रहरूमाथि सिंहको जस्तो प्रभुत्व कम हुनथाल्यो। त्यसको गति मानिसको जस्तै हुनथाल्यो। “मानिसको मन” पाएपछि त्यो कमजोर भयो। “सिंहकोजस्तै मुटु” नहुँदा बेबिलोनले “जंगलका पशुहरूका बीच” राजाको जस्तो व्यवहार गर्न सकेन। (२ शमूएल १७:१०; मीका ५:८ तुलना गर्नुहोस्‌।) त्यसमाथि अर्को ठूलो जन्तु विजयी भयो।

भालुजस्तै खन्चुवा

१०. “भालु[ले]” कुन शासकहरूको चित्रण गऱ्‍यो?

१० दानियलले यसो भने, “अनि मेरो अघि दोस्रो पशु थियो, जुनचाहिं भालुजस्तै देखिन्थ्यो। त्यसलाई शरीरको एकपट्टिबाट उठाइयो, र त्यसमा मुखका दाँतहरूका बीचमा तीनओटा करङहरू थिए। त्यसलाई यस्तो आज्ञा दिइयो: ‘उठ्‌ र खानसक्ने जत्ति मासु खा!’” (दानियल ७:५, नयाँ संशोधित संस्करण) “भालु” र विशाल मूर्तिको चाँदीका छाती तथा हातहरूले चित्रण गरेको राजा एउटै हो। त्यो हो, मादी दारा र महान्‌ कोरेसबाट सुरु भएर दारा तृतीयसम्मका मादी फारसी शासकहरू (सा.यु.पू. ५३९-३३१)।

११. प्रतीकात्मक भालु, शरीरको एकपट्टिबाट उठ्‌न खोज्नु र मुखमा तीनवटा करङ हुनुले कुन कुराको चित्रण गर्छ?

११ प्रतीकात्मक भालुलाई ‘शरीरको एकपट्टिबाट उठाइयो’ अर्थात्‌ यो सम्भवतः राष्ट्रहरूमाथि आक्रमण गरेर विश्‍व प्रभुता जमाउनका लागि तयार भएको हुनसक्छ। अथवा एक्लो मादी राजा दाराको ठाउँमा अरू फारसी शासकहरूको प्रभुता हुनेछ भनी देखाउन खोजेको पनि हुनसक्छ। भालुका दाँतहरूको बीचका तीनवटा करङले यसको तीनवटा दिशातर्फ फैलाउने विजय अभियानलाई चित्रण गर्नसक्छ। मादी-फारसी “भालु,” बेबिलोनमाथि आक्रमण गर्न सा.यु.पू. ५३९ मा उत्तरतिर लम्क्यो। यो पश्‍चिमतिर एसिया माइनर र थ्रेसमा गयो। अन्तमा, मिश्रमाथि विजयी हासिल गर्न यो “भालु” दक्षिणतिर लाग्यो। कहिलेकाहीं तीन भन्‍ने संख्याले तीव्रतालाई संकेत गर्ने हुँदा तीनवटा करङले प्रतीकात्मक भालुको विजयी हुने लोभलाई पनि जोड दिइरहेको हुनसक्छ।

१२. प्रतीकात्मक भालुले “उठ्‌ र खानसक्ने जत्ति मासु खा” भन्‍ने आज्ञा पालन गर्दा के भयो?

१२ “उठ्‌ र खानसक्ने जत्ति मासु खा” भन्‍ने शब्दहरू सुनेपछि “भालु[ले]” राष्ट्रहरूलाई छिन्‍नभिन्‍न पाऱ्‍यो। ईश्‍वरीय इच्छाअनुसारै बेबिलोनलाई खाएपछि मादी र फारसले यहोवाका जनहरूको लागि अनमोल सेवा चढाउन सक्ने भयो। अनि त्यसै गऱ्‍यो पनि! (पृष्ठ १४९ मा “सहिष्णु राजा” हेर्नुहोस्‌।) महान्‌ कोरेस, दारा प्रथम (महान्‌ दारा) र आर्टजारसेज प्रथममार्फत मादी र फारसले बेबिलोनमा बन्दी बनाइएका यहूदीहरूलाई मुक्‍त गऱ्‍यो अनि यहोवाको मन्दिर पुनर्निर्माण गर्न तथा यरूशलेमका पर्खालहरू बनाउन मदत गऱ्‍यो। अन्ततः मादी र फारसले १२७ वटा प्रान्तहरूमा शासन गर्न थाल्यो अनि रानी एस्तरका पति अहासूरस (जारसेज प्रथम) “भारतवर्षदेखि लिएर कूश देशसम्म” राजा भए। (एस्तर १:१) तथापि, अर्को जन्तु खडा हुनै लागेको थियो।

पखेटा भएको चितुवाजस्तै छरितो!

१३. (क) तेस्रो जन्तुले कुन कुराको चित्रण गऱ्‍यो? (ख) तेस्रो जन्तुको गति र त्यसले प्रभुत्व जमाएको इलाकाबारे के भन्‍न सकिन्छ?

१३ तेस्रो जन्तु “चितुवाजस्तै देखिन्थ्यो। अनि त्यसको पिठिउँमा चराको जस्तै चारओटा पखेटाहरू थिए। त्यस पशुका चारओटा टाउकाहरू थिए, र त्यसलाई शासन गर्ने अधिकार दिइयो।” (दानियल ७:६, नयाँ संशोधित संस्करण) यस विवरणसित मिल्ने अर्थात्‌ नबूकदनेसरले सपनामा देखेको मूर्तिको पित्तलका पेट र फिलाले जस्तै यो चार पखेटे, चार टाउके चितुवाले महान्‌ सिकन्दरबाट सुरु भएको म्यासिडोनियाली अर्थात्‌ युनानी राजकुलको चित्रण गऱ्‍यो। चितुवाको जस्तो फूर्ति र गतिले सिकन्दर एसिया माइनर, दक्षिणमा मिश्र र पश्‍चिममा भारतसम्म पुगे। (हबकूक १:८ तुलना गर्नुहोस्‌।) तिनले आफ्नो कब्जामा लिएको इलाका “भालु[को]” भन्दा व्यापक थियो किनभने यसमा म्यासिडोनिया, युनान र फारस साम्राज्य पर्थ्यो।—पृष्ठ १५३ मा “युवा राजा संसारमाथि विजयी हुन्छन्‌” हेर्नुहोस्‌।

१४. “चितुवा” कसरी चार टाउके भयो?

१४ सा.यु.पू. ३२३ मा सिकन्दरको मृत्युपछि “चितुवा” चार टाउके भयो। तिनका चार जना सेनापतिहरू बेग्लाबेग्लै इलाकाका उत्तराधिकारीहरू भए। सेलुकसको अधीनमा मेसोपोटामिया र सिरिया पऱ्‍यो। टोलेमीको अधीनमा मिश्र र प्यालेस्टाइन थियो। लाइसिमाकसले एसिया माइनर र थ्रेसमाथि शासन गरे भने क्यासान्डरले म्यासिडोनिया र युनानमाथि शासन गरे। (पृष्ठ १६२ मा “विशाल राज्य टुक्रिन्छ” हेर्नुहोस्‌।) तर त्यसपछि एउटा नयाँ किसिमको खतरा सृजना भयो।

भयंकर जन्तु फरक रहेछ

१५. (क) चौथो जन्तुबारे वर्णन गर्नुहोस्‌। (ख) चौथो जन्तुले कसलाई चित्रित गऱ्‍यो र यसले आफ्नो बाटोमा आइपर्ने सबैलाई कसरी मऱ्‍याकमुरुक पारेर निल्यो?

१५ दानियलले चौथो जन्तु “भयंकर र डरलाग्दो र अत्यन्तै शक्‍तिशाली” छ भनेर वर्णन गरे। तिनले अझै यसो भने: “यसका ठूला-ठूला फलामका दाँतहरू थिए। त्यसले आफ्नो शिकारलाई चकनाचूर पारी खाइदिन्थ्यो र बाँकी रहेकालाई खुट्टाले कुल्चीमिल्ची पार्थ्यो। अघिका पशुहरूभन्दा त्यो फरक थियो र त्यसका दशओटा सीङहरू थिए।” (दानियल ७:७, नयाँ संशोधित संस्करण) यो भयंकर जन्तु सुरुमा रोमको राजनैतिक तथा सैन्य शक्‍तिको रूपमा देखा पऱ्‍यो। त्यसपछि बिस्तारै युनान साम्राज्यको चारवटा इलाकामाथि प्रभुत्व जमाउन थाल्यो र सा.यु.पू. ३० सम्ममा रोम, बाइबल भविष्यवाणीको अर्को विश्‍वशक्‍तिको रूपमा देखा परिसकेको थियो। आफ्नो बाटोमा आइपर्ने जस्तोसुकै अवरोधलाई पनि सैन्य शक्‍तिद्वारा हटाएर रोमी साम्राज्यले ब्रिटिश आइल्सदेखि युरोपको अधिकांश भाग, भूमध्यसागर अनि बेबिलोन र फारसको खाडीदेखि टाढा-टाढासम्मको भू-भाग कब्जा गऱ्‍यो।

१६. स्वर्गदूतले चौथो जन्तुबारे कस्तो जानकारी दिए?

१६ “अत्यन्तै डरलाग्दो” जन्तुको अर्थ स्पष्टसित बुझ्न दानियलले स्वर्गदूतको यो कुरालाई ध्यान दिएर सुने: “[यसको] दश सीङहरू त्यस राज्यबाट आएका दश राजाहरू हुन्‌। त्यसपछि पहिलेको भन्दा फरक, अर्को राजा खड़ा हुनेछ। उसले तीन राजाहरूलाई दबाउनेछ।” (दानियल ७:१९, २०, २४, नयाँ संशोधित संस्करण) यी “दश सीङ” वा “दश राजाहरू” को थिए?

१७. चौथो जन्तुको “दश सीङ[ले]” केलाई चित्रण गर्छ?

१७ रोम संवृद्ध हुनुका साथै शासक वर्गको छाडा जीवनशैलीले गर्दा पतित हुन थालेपछि यसको सैन्य शक्‍ति कमजोर भयो। समय बित्दै जाँदा रोमको सैन्य बल कमजोर हुँदै गएको प्रस्टै हुन थाल्यो। अन्ततः यो पराक्रमी साम्राज्य थुप्रै स-साना राज्यहरूमा टुक्रियो। बाइबलले पूर्णता बुझाउन संख्या दश चलाउने हुँदा चौथो जन्तुको “दश सीङ[ले]” रोम टुक्रेर बनेको सबै राष्ट्रहरूलाई चित्रण गर्छ।— व्यवस्था ४:१३; लूका १५:८; १९:१३, १६, १७ तुलना गर्नुहोस्‌।

१८. रोमको अन्तिम सम्राट हटाइएपछि पनि कसरी यसले शताब्दीयौंसम्म युरोपमाथि प्रभुत्व जमाइरह्‍यो?

१८ तथापि, सा.यु. ४७६ मा रोमको अन्तिम सम्राटसँगसँगै रोम विश्‍वशक्‍तिको अन्त भएन। पोपको नियन्त्रणमा रहेको रोमले युरोपभरि निकै शताब्दीसम्म राजनैतिक र विशेष गरी धार्मिक आधिपत्य जमायो। त्यतिबेला सामन्ती शासन प्रणाली थियो र युरोपका प्रायजसो बासिन्दाहरू पहिला सामन्ती शासक अनि मात्र राजाको अधीनमा हुन्थे। अनि सबै राजाहरूले पोपको अख्तियार स्वीकार्थे। पोपको अधीनमा रहेको रोम, पवित्र रोमी साम्राज्यको केन्द्रबिन्दु थियो। यसरी पवित्र रोमी साम्राज्यले लामो समयसम्म सारा विश्‍वमाथि प्रभुत्व जमायो र त्यस समयलाई अन्धकार युग भनिन्छ।

१९. एक जना इतिहासकारका अनुसार अघिअघिका साम्राज्यहरूभन्दा रोम कसरी फरक थियो?

१९ चौथो जन्तु “अरूभन्दा फरक” थियो भन्‍ने कुरामा सहमत नहुने को होला र? (दानियल ७:७, १९, २३) यस सन्दर्भमा इतिहासकार एच. जि. वेल्सले यस्तो लेखे: “यो नयाँ रोमी शक्‍ति . . . थुप्रै कुरामा तात्कालीन सभ्य संसारका अरू साम्राज्यहरूभन्दा बेग्लै थियो। . . . अघिका कुनै पनि साम्राज्यहरूजस्तो नभई [यसले] संसारको सबैजसो युनानी मानिसहरूलाई समेटेको थियो अनि यसको कुल जनसंख्यामा हेम र शेम वंशका मानिसहरू त्यति धेरै थिएनन्‌। . . . यतिबेलासम्मको इतिहासमै यो बिल्कुलै नयाँ कुरा थियो। . . . रोमी साम्राज्यको विस्तार भइरह्‍यो र यस्तो नयाँ वृद्धिको आशा गरिएको थिएन; यो विशाल प्रशासनिक परीक्षणमा सबै रोमीहरू चालै नपाई मुछिन पुगे।” यद्यपि, यो चौथो जन्तुको अझै वृद्धि हुन सिद्धिएको थिएन।

सानो सीङले प्रभुता जमाउँछ

२०. चौथो जन्तुको टाउकोमा उम्रेको सानो सीङबारे स्वर्गदूतले के भने?

२० दानियलले यसो भने, “जसै म ती सीङहरूका बारेमा विचार गर्दैथिएँ, मेरो अघि एउटा सानो सीङ थियो, जुनचाहिं तिनीहरूमध्येबाट उम्रेको थियो, र पहिलेका सीङहरूमध्ये तीनओटाचाहिं त्यसको सामु जरैसमेत उखेलिए।” (दानियल ७:८, नयाँ संशोधित संस्करण) यसरी उम्रेको सीङबारे स्वर्गदूतले दानियललाई यसो भने: “दश सीङहरू त्यस राज्यबाट आएका दश राजाहरू हुन्‌। त्यसपछि पहिलेको भन्दा फरक, अर्को राजा खडा हुनेछ। उसले तीन राजाहरूलाई दबाउनेछ।” (दानियल ७:२४) यो राजा को हो, यो कहिले खडा भयो र यसले कुन तीन राजाहरूलाई दबायो?

२१. बेलाइत कसरी चौथो जन्तुको प्रतीकात्मक सानो सीङ हुनपुग्यो?

२१ यी घटनाहरू विचार गर्नुहोस्‌। सा.यु.पू. ५५ मा रोमी सेनापति जुलियस सिजरले ब्रिटानियामा आक्रमण गरे तर लामो समयसम्म प्रभुत्व जमाइ राख्न सकेनन्‌। सा.यु. ४३ मा सम्राट क्लडियसले दक्षिणी बेलाइतमाथि गरेको आक्रमण त्योभन्दा अलि स्थायी भयो। त्यसपछि, सा.यु. १२२ मा सम्राट हेड्रियनले टाइन नदीदेखि सलवे फर्थसम्म पर्खाल निर्माण गरे र यो रोमी साम्राज्यको उत्तरी सीमा थियो। पाँचौ शताब्दीको सुरुतिर रोमी सेनाहरू टापु छोडेर गए। एक जना इतिहासकारले यसो भने, “सोह्रौं शताब्दीमा इंग्ल्याण्ड त्यति शक्‍तिशाली थिएन। नेदरल्याण्ड्‌सको तुलनामा यससित धनसम्पत्ति पनि कम थियो। यसको जनसंख्या फ्रान्सको भन्दा कम थियो। यसको सशस्त्र सैन्य दल (जलसेनासमेत) स्पेनको भन्दा कमजोर थियो।” प्राप्त प्रमाणअनुसार त्यतिबेला बेलाइत खासै महत्त्वपूर्ण राज्य थिएन र यो नै चौथो जन्तुको प्रतीकात्मक सानो सीङ थियो। तर त्यस्तो अवस्था सधैं रहिरहने थिएन।

२२. (क) चौथो जन्तुको कुन तीनवटा सीङलाई “सानो” सीङले परास्त गऱ्‍यो? (ख) त्यसपछि बेलाइत कस्तो रूपमा देखा पऱ्‍यो?

२२ स्पेनको फिलिप द्वितीयले १५८८ मा बेलाइत विरुद्ध आफ्नो विशाल सैन्य अभियान अर्थात्‌ स्पेनी अर्माडा सुरु गरे। यो १३० वटा जहाज भएको सैन्यदलमा २४,००० भन्दा बढी पुरुषहरू थिए र तिनीहरू इंग्लिश च्यानलमा पुग्दा बेलाइती जलसेनाबाट पराजित हुनुपऱ्‍यो। यसबाहेक, विपरीत दिशाबाट बहेको हावा र आन्द्र महासागरको आँधीबेहरी तिनीहरूले खप्न सकेनन्‌। एक जना इतिहासकारले यसो भने, यस घटनाले गर्दा “स्पेनको जलशक्‍ति इंग्ल्याण्डको हातमा पऱ्‍यो।” अनि १७ औं शताब्दीमा डचहरूले व्यापारिक प्रयोगको लागि संसारको सबैभन्दा ठूलो जलसेना बनायो। तथापि, समुद्रपारि विस्तार भइरहेका उपनिवेशहरूले गर्दा डचभन्दा बेलाइत प्रभावशाली भयो। अठारौं शताब्दीमा उत्तरी अमेरिका र भारतमा बेलाइती तथा फ्रान्सिसी सेनाबीच भएको युद्धको परिणामस्वरूप सा.यु. १७६३ मा पेरिसको सन्धि भयो। विलियम बि. विल्कक्सअनुसार यो सन्धिले “युरोपमा मात्र होइन तर अरू ठाउँहरूमा पनि बेलाइतलाई शक्‍तिशाली युरोपेली शक्‍ति साबित गऱ्‍यो।” सा.यु. १८१५ मा फ्रान्सका नेपोलियनले भोग्नुपरेको तीतो पराजयले पनि बेलाइतको प्रभुता पुष्टि गऱ्‍यो। अतः बेलाइतले ‘दबाएका’ “तीन राजाहरू” स्पेन, नेदरल्याण्ड्‌स र फ्रान्स थियो। (दानियल ७:२४) फलस्वरूप, बेलाइत संसारको सबैभन्दा ठूलो उपनिवेश र व्यापारिक शक्‍ति भयो। हो, यो “सानो” सीङ बढेर विश्‍वशक्‍ति भयो!

२३. प्रतीकात्मक सानो सीङले कसरी ‘समस्त पृथ्वीलाई निल्यो?’

२३ चौथो जन्तु अथवा चौथो राज्यले “समस्त पृथ्वीलाई निलिहाल्नेछ” भनेर स्वर्गदूतले दानियललाई बताए। (दानियल ७:२३) कुनै समय ब्रिटानिया भनेर चिनिने रोमी प्रान्तमा यस्तै भयो। पछि यो ठूलो बेलाइती साम्राज्य भएर ‘समस्त पृथ्वीलाई निल्यो।’ कुनै समय यस साम्राज्यको अधीनमा पृथ्वीको एक चौथाइ भूभाग र एक चौथाइ जनसंख्या थियो।

२४. बेलाइती साम्राज्य बेग्लै भएको सन्दर्भमा एक जना इतिहासकारले के भने?

२४ अघिका विश्‍वशक्‍तिहरूभन्दा रोमी साम्राज्य बेग्लै भएझैं “सानो” सीङले चित्रण गरेको राजा पनि “अघिका राजाहरूभन्दा बेग्लै” हुने थियो। (दानियल ७:२४) बेलाइती साम्राज्यबारे इतिहासकार एच. जि. वेल्सले यस्तो टिप्पणी गरे: “यस्तो पहिले कहिल्यै भएको थिएन। सम्पूर्ण प्रणालीको सर्वमहत्त्वपूर्ण र प्रमुख कुरा, संयुक्‍त बेलाइती राज्यको ‘शाही गणतन्त्र’ थियो . . . कुनै पनि प्रशासन वा मानिसले बेलाइती साम्राज्य यति ठूलो होला भनेर सोचेकै थिएन। यो साम्राज्यको व्यापक विस्तार हुनुका साथै यसमा थुप्रै प्रान्त गाभिए र यसअघिका साम्राज्यहरूमा यस्तो पटक्कै भएको थिएन।”

२५. (क) समयको दौडान पछि भएका घटनाहरूमा प्रतीकात्मक सानो सीङ के हो? (ख) कुन अर्थमा “सानो” सीङको “मानिसको जस्तै आँखा” र “ठूला ठूला कुरा गर्ने मुख” छ?

२५ यो “सानो” सीङ बेलाइती साम्राज्य मात्र थिएन। बेलाइतले १७८३ मा आफ्नो अधीनमा भएका १३ वटा अमेरिकी उपनिवेशलाई स्वतन्त्रता प्रदान गऱ्‍यो। दोस्रो विश्‍वयुद्धपछि पृथ्वीको शक्‍तिशाली राष्ट्रको रूपमा देखा परेको संयुक्‍त राज्य अमेरिका, बेलाइतको सहयोगी भयो। अहिलेसम्म पनि यसको बेलाइतसित बलियो सम्बन्ध छ। यसरी दुई राष्ट्र मिलेर बनेको एंग्लो-अमेरिकी द्वय विश्‍वशक्‍ति नै ‘आँखा भएको सीङ’ हो। निस्सन्देह, यो विश्‍वशक्‍ति चनाखो अनि चतुर छ! यसले “ठूला ठूला कुरा” बोल्छ, सारा संसारको लागि नीति तय गर्छ र संसारकै प्रवक्‍ता वा “झूटा अगमवक्‍ता” भई टोपल्छ।—दानियल ७:८, ११, २०; प्रकाश १६:१३; १९:२०.

सानो सीङले परमेश्‍वर र उहाँका पवित्र जनहरूको विरोध गर्छ

२६. स्वर्गदूतले यहोवा र उहाँका जनहरूप्रति प्रतीकात्मक सीङले गर्ने बोली र व्यवहारबारे कस्तो भविष्यवाणी गऱ्‍यो?

२६ आफूले देखेको दर्शनबारे दानियल यसरी वर्णन गर्दै जान्छन्‌: “मैले हेर्दा हेर्दै . . . त्यस सीङले पवित्र जनहरूसित युद्ध गर्दै रह्‍यो, र तिनीहरूलाई जित्दै लग्यो।” (दानियल ७:२१) यो “सीङ” वा राजाबारे परमेश्‍वरको स्वर्गदूतले यस्तो भविष्यवाणी गरे: “त्यसले सर्वोच्चको विरुद्धमा हाँक दिनेछ, र सर्वोच्चका पवित्र जनहरूलाई धुजा धुजा पार्नेछ। ठहराइएका समय र व्यवस्थाहरू त्यसले बद्‌लने विचार गर्नेछ। औ पवित्र जनहरूलाई त्यसको शक्‍तिमा एक समय, दुई समय र आधा समयको निम्ति सुम्पिदिनेछ।” (दानियल ७:२५) भविष्यवाणीको यो भाग कसरी र कहिले पूरा भयो?

२७. (क) “सानो” सीङले सताएका “पवित्र जनहरू” को हुन्‌? (ख) प्रतीकात्मक सीङले कसरी “समय र व्यवस्थाहरू . . . बदल्ने” प्रयास गऱ्‍यो?

२७ “सानो” सीङ अर्थात्‌ एंग्लो-अमेरिकी विश्‍वशक्‍तिले सताएका “पवित्र जनहरू” पृथ्वीमा बाँकी रहेका येशूका आत्मा-अभिषिक्‍त दासहरू हुन्‌। (रोमी १:७; १ पत्रुस २:९) प्रथम विश्‍वयुद्ध सुरु हुनुभन्दा वर्षौंअघिदेखि यी शेष अभिषिक्‍त जनहरूले १९१४ मा “अन्यजातिहरूको समय” अन्त हुनेछ भनी चेताउनी दिंदै आएका थिए। (लूका २१:२४, नयाँ संशोधित संस्करण) सन्‌ १९१४ मा युद्ध सुरु हुँदा “सानो” सीङले यो चेताउनी पालन गरेको रहेनछ भनेर स्पष्ट भयो किनभने यसले “पवित्र जनहरूलाई” सताउन छोडेन। यहोवाको आज्ञाअनुसार (वा, “व्यवस्था”) सारा संसारभरि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न साक्षीहरूले गरेको प्रयासको समेत एंग्लो-अमेरिकी विश्‍वशक्‍तिले विरोध गऱ्‍यो। (मत्ती २४:१४) यसरी यो “सानो” सीङले “समय र व्यवस्थाहरू . . . बदल्ने” प्रयास गऱ्‍यो।

२८. “एक समय, दुई समय र आधा समय” कति लामो छ?

२८ यहोवाको स्वर्गदूतले “एक समय, दुई समय र आधा समयको” भविष्यसूचक अवधिबारे बताए। त्यो कति लामो समय हो? बाइबल टिप्पणीकारहरू यसले साढे तीन समय अर्थात्‌ एक समय, दुई समय र आधा समयको जोडलाई बुझाउँछ भन्‍ने कुरामा सहमत छन्‌। राजा नबूकदनेसर बौलाहा भएको “सात काल[को]” अवधि सात वर्ष भएको हुँदा साढे तीन समय साढे तीन वर्ष हो। c (दानियल ४:१६, २५) एन अमेरिकन ट्रान्सलेशन-मा यसप्रकार अनुवाद गरिएको छ: “तिनीहरू एक वर्ष, दुई वर्ष र आधा वर्षको लागि उसको हातमा सुम्पिइनेछन्‌।” जेम्स मोफटको संस्करणले यसो भन्छ: “साढे तीन वर्षको लागि।” यही समयावधि प्रकाश ११:२-७ मा पनि उल्लेख गरिएको छ र त्यहाँ परमेश्‍वरका साक्षीहरूले ४२ महिना वा १,२६० दिनसम्म प्रचार गर्नेछन्‌ र त्यसपछि मारिनेछन्‌ भनी बताइएको छ। यो समयावधि कहिले सुरु अनि अन्त भयो?

२९. भविष्यसूचक साढे तीन वर्ष कहिले र कसरी सुरु भयो?

२९ अभिषिक्‍त मसीहीहरूको लागि प्रथम विश्‍वयुद्ध परीक्षाको समय थियो। सन्‌ १९१४ को अन्ततिर तिनीहरूले अब सतावट आइपर्नसक्छ भन्‍ने विचार गरेका थिए। वास्तवमा, १९१५ को वार्षिक पद येशूले चेलाहरूलाई सोध्नुभएको यो प्रश्‍न थियो, “जुन कचौरा मैले पिउनलागेको छु, तिमीहरू पिउनसक्छौ?” यो मत्ती २०:२२ मा आधारित थियो। यसप्रकार, डिसेम्बर १९१४ देखि साक्षीहरूको यो सानो समूहले “भांग्राको लुगा लाएर” प्रचार गर्न थाले।

३०. प्रथम विश्‍वयुद्धको दौडान एंग्लो-अमेरिकी विश्‍वशक्‍तिले अभिषिक्‍त मसीहीहरूलाई कसरी सतायो?

३० युद्ध चर्किंदै गएपछि अभिषिक्‍त मसीहीहरूमाथि तीव्र सतावट आइपऱ्‍यो। तिनीहरूमध्ये कोहीकोही झ्यालखानामा थुनिए। इंग्ल्याण्डका फ्रांक प्लाट र क्यानाडाका रबर्ट क्लेगमाथि अमानवीय ढंगमा अत्याचार गरियो। फेब्रुअरी १२, १९१८ का दिन बेलाइत अधीनस्थ क्यानाडाले स्टडीज इन द स्क्रीप्चर्स-को भर्खरै मात्र प्रकाशित भएको सातौं खण्ड, द फिनिश्‍ड मिस्ट्री-का साथै द बाइबल स्टुडेन्ट्‌स मन्थ्ली शीर्षक भएको पर्चामाथि प्रतिबन्ध लगायो। त्यसपछिको महिनामा संयुक्‍त राज्य अमेरिकाको न्याय विभागले उक्‍त सातौं खण्डको वितरणलाई गैरकानुनी घोषणा गऱ्‍यो। परिणाम? घरहरू खानतलासी गरिए, साहित्यहरू जफत भए अनि यहोवाका उपासकहरू गिरफ्तार भए!

३१. कहिले र कसरी “एक समय, दुई समय र आधा समय” सकियो?

३१ जून २१, १९१८ का दिन अध्यक्ष, जे. एफ. रदरफोर्ड र वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका गन्यमान्य सदस्यहरूलाई झूटो आरोपमा लामो समयको लागि कैद गरिंदा परमेश्‍वरका अभिषिक्‍त जनहरूमाथिको सतावटले उग्र रूप लियो। “समय र व्यवस्थाहरू . . . बदल्ने” सुरमा यो “सानो” सीङले व्यवस्थित प्रचारकार्यको हत्या गऱ्‍यो। (प्रकाश ११:७) यसप्रकार, भविष्यवाणी गरिएको “एक समय, दुई समय र आधा समय” जून १९१८ मा सकियो।

३२. “सानो” सीङले “पवित्र जनहरू[को]” नामोनिसान मेटाउन भने सकेन भनेर तपाईं किन भन्‍न सक्नुहुन्छ?

३२ तर यो “सानो” सीङबाट आएको सतावटले “पवित्र जनहरू[को]” नामोनिसान मेटाउन भने सकेन। प्रकाशको पुस्तकमा गरिएको भविष्यवाणीअनुसार थोरै समयको लागि निष्क्रिय भएपछि अभिषिक्‍त मसीहीहरू पुनः जीवित र सक्रिय भए। (प्रकाश ११:११-१३) मार्च २६, १९१९ का दिन वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका अध्यक्ष र तिनका सहयोगीहरू जेलमुक्‍त भए र पछि तिनीहरूमाथि लगाइएका झूटा आरोपहरू पनि फिर्ता लिइयो। त्यसको तुरुन्तैपछि अभिषिक्‍त शेष जनहरूले थप क्रियाकलापको लागि व्यवस्था मिलाए। तर यो “सानो” सीङलाई के हुने थियो?

अति वृद्ध व्यक्‍ति सिंहासनमा बस्नुहुन्छ

३३. (क) अति वृद्ध व्यक्‍ति को हुनुहुन्छ? (ख) स्वर्गको दरबारमा ‘खोलिएका पुस्तकहरू’ के थिए?

३३ चारवटा जन्तुबारे बताइसकेपछि दानियलले आफ्नो नजर चौथो जन्तुबाट स्वर्गतिर घुमाउँछन्‌। तिनले अति वृद्ध व्यक्‍ति भव्य सिंहासनमा न्यायकर्ताको हैसियतमा बसिरहनुभएको देख्छन्‌। उक्‍त अति वृद्ध व्यक्‍ति स्वयम्‌ यहोवा परमेश्‍वर हुनुहुन्छ। (भजन ९०:२) स्वर्गमा दरबार बसेपछि दानियलले ‘पुस्तकहरू खोलिएको’ देख्छन्‌। (दानियल ७:९, १०) यहोवाको अस्तित्व अनादिदेखि भएको हुँदा उहाँलाई मानव इतिहास, एउटा किताबमा लेखिएजस्तै गरी सबै थाह छ। उहाँले चारैवटा प्रतीकात्मक जन्तुहरू देखिसक्नुभएको हुँदा आफैले देखेको आधारमा न्याय गर्न सक्नुहुन्छ।

३४, ३५. “सानो” सीङ र अरू जन्तुहरूलाई के हुनेछ?

३४ दानियल भन्दै जान्छन्‌: “त्यस सीङले बोलेको अभिमानी शब्दहरूको कारण मैले त्यसलाई हेरिनै रहें। मैले हेर्दा हेर्दै त्यो जन्तु मारियो, र त्यसको लोथ नष्ट पारे र आगोमा डढ़ाइयो। अरू जन्तुहरूको सर्वाधिकार खोसिए, तापनि केही काल तथा ऋतुको निम्ति तिनीहरूलाई अरू बाँच्नदिइयो।” (दानियल ७:११, १२) स्वर्गदूत दानियललाई यसो भन्छन्‌: “तब न्यायको दरवार बस्नेछ, र आखिरमा त्यसलाई नष्ट र खतम पार्न त्यसको सर्वाधिकार खोसिनेछ।”—दानियल ७:२६.

३५ परमेश्‍वरको निन्दा गरेर उहाँका “पवित्र जनहरूलाई” दुःख दिने यो सीङको पनि प्रारम्भिक मसीहीहरूलाई सताउने रोमी साम्राज्यको जस्तै हविगत हुनेछ भनी महान्‌ न्यायकर्ता, यहोवा परमेश्‍वर फैसला सुनाउनुहुन्छ। यो सानो सीङको शासन चलिरहनेछैन। रोमी साम्राज्यबाट उम्रेको स-साना सीङ अर्थात्‌ “राजाहरू[को]” शासन पनि चलिरहनेछैन। यसअघिका जन्तुहरूको शासनाधिकार नि? भविष्यवाणी गरिएअनुसार तिनीहरूको आयु “केही काल तथा ऋतुको निम्ति” लम्बाइयो। ती साम्राज्यका इलाकाहरूमा अहिलेसम्म पनि मानिसहरू बसोबास गर्छन्‌। उदाहरणका लागि, इराकले पुरातन बेबिलोनको इलाका ओगटेको छ। फारस (इरान) र युनान (ग्रीस) अहिले पनि अस्तित्वमा छन्‌। यी विश्‍वशक्‍तिका बाँकी अंशहरूचाहिं संयुक्‍त राष्ट्र संघको भाग भएका छन्‌। अन्तिम विश्‍वशक्‍ति नाश हुँदा यी राज्यहरू पनि नाश हुनेछन्‌। “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लड़ाइँ[मा]” सबै मानव सरकारहरूको नामोनिसान मेटिनेछ। (प्रकाश १६:१४, १६) त्यसो हो भने, यस संसारको शासक को हुनेछ त?

स्थायी शासन नजिकै!

३६, ३७. (क) “मानिसको पुत्रजस्तै” देखिने को हुनुहुन्छ अनि स्वर्गको दरबारमा कहिले र किन देखा पर्नुभयो? (ख) सा.यु. १९१४ मा के स्थापित भयो?

३६ दानियलले यस्तो घोषणा गरे, “रातीको दर्शनमा मैले हेरिनै रहेको थिएँ, औ आकाशका मेघहरूसँग मानिसका पुत्रजस्तै कोही आइरहनुभएको मैले देखें। उहाँ ती अति प्राचीन उमेरकहाँ आउनुभयो, र उहाँकै सामने हाजिर गराइनुभयो।” (दानियल ७:१३) पृथ्वीमा हुनुहुँदा येशू ख्रीष्टले आफूलाई “मानिसको पुत्र” भनी चिनाउनुभएर मानिसजातिसितको आफ्नो नाता देखाउनुभयो। (मत्ती १६:१३; २५:३१) सानहेड्रिन अथवा यहूदी महासभालाई येशूले यसो भन्‍नुभयो: “तपाईंहरूले मानिसको पुत्रलाई शक्‍तिको दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ।” (मत्ती २६:६४) अतः दानियलको दर्शनमा मानिसको नजरबाट अदृश्‍य भएर यहोवाकहाँ जानुहुने व्यक्‍ति, पुनरुत्थान अनि महिमित हुनुभएको येशू ख्रीष्ट हुनुहुन्थ्यो। यो कहिले भयो?

३७ राजा दाऊदसित जस्तै परमेश्‍वरले येशू ख्रीष्टसित पनि राज्यको करार बाँध्नुभएको छ। (२ शमूएल ७:११-१६; लूका २२:२८-३०) सा.यु. १९१४ मा “अन्यजातिहरूको समय” अन्त भएपछि दाऊदको शाही उत्तराधिकारीको रूपमा येशू ख्रीष्ट राज्य शासन पाउन योग्य ठहरिनुभयो। दानियलको भविष्यसूचक विवरणमा यस्तो लेखिएको पाउँछौं: “विभिन्‍न भाषा बोल्ने सबै जातिका मानिसहरूले उहाँको सेवा गरून्‌ भनेर उहाँलाई सर्वाधिकार, महिमा र राज्याधिकार दिइयो। उहाँको सर्वाधिकार कहिल्यै नबित्ने सदा सर्वदैको सर्वाधिकार छ, औ उहाँको राज्याधिकार कहिल्यै नष्ट हुनेछैन।” (दानियल ७:१४) यसरी १९१४ मा स्वर्गमा मसीही राज्य स्थापित भयो। तथापि, त्यसको शासन अरूलाई पनि दिइन्छ।

३८, ३९. यस संसारमाथि अनन्तसम्म शासन गर्ने अधिकार कसले पाउनेछ?

३८ स्वर्गदूतले यसो भने: “सर्वोच्चका पवित्र जनहरूले राज्याधिकार पाउनेछन्‌।” (दानियल ७:१८, २२, २७) येशू ख्रीष्ट पवित्र जनहरूमध्ये प्रमुख हुनुहुन्छ। (प्रेरित ३:१४; ४:२७, ३०) यो शासनका भागिदार अरू “पवित्र जनहरू” ख्रीष्टसित स्वर्गको राज्यमा सहशासक भएर राज गर्ने १,४४,००० आत्मा-अभिषिक्‍त विश्‍वासी मसीहीहरू हुन्‌। (रोमी १:७; ८:१७; २ थिस्सलोनिकी १:५; १ पत्रुस २:९) स्वर्गको सियोन डाँडामा ख्रीष्टसित शासन गर्न अमर आत्मिक प्राणीहरूको रूपमा तिनीहरूको पुनरुत्थान हुन्छ। (प्रकाश २:१०; १४:१; २०:६) यसर्थ, ख्रीष्ट येशू र पुनरुत्थान भएका अभिषिक्‍त मसीहीहरूले मानवजातिको संसारमाथि शासन गर्नेछन्‌।

३९ मानिसको पुत्र र पुनरुत्थान भएका “पवित्र जनहरू[को]” शासनबारे परमेश्‍वरको स्वर्गदूतले यसो भने: “अनि राज्याधिकार र सर्वाधिकार र स्वर्गमनिका सारा राज्यहरूको महिमा सर्वोच्चका पवित्र जनहरूलाई दिइनेछ। तिनीहरूका राज्याधिकार सदा सर्वदैको हुनेछ, र सबै सर्वाधिकार राख्नेहरूले तिनीहरूकै सेवा गर्नेछन्‌ र तिनीहरूकै आज्ञा पालन गर्नेछन्‌।” (दानियल ७:२७) त्यस राज्यअन्तर्गत आज्ञाकारी मानिसहरूले प्रशस्त आशिष्‌ पाउनेछन्‌!

४०. दानियलको सपना र दर्शनमा ध्यान दिएर हामी कसरी लाभ उठाउन सक्छौं?

४० यी ईश्‍वर-प्रदत्त दर्शनका अद्‌भुत पूर्तिबारे दानियललाई थाह थिएन। तिनले यसो भने: “विवरण यहीं अन्त हुन्छ। म, दानियलचाहिं मेरो विचारले गर्दा साह्रै घबराएँ, र मेरो अनुहारको रंग पहेंलो भयो, र मैले यो कुरा आफ्नो मनैमा राखें।” (दानियल ७:२८) तर हामी दानियलले देखेको कुराको पूर्ति बुझ्न सक्ने समयमा बाँचिरहेका छौं। यो भविष्यवाणीमा ध्यान दिंदा हाम्रो विश्‍वास बलियो हुनेछ र यहोवाको मसीही राज्यले नै यस संसारमा शासन गर्नेछ भन्‍ने हाम्रो संकल्प सुदृढ हुनेछ।

[फुटनोटहरू]

a स्पष्टता र एउटै कुरा नदोहऱ्‍याउन दानियल ७:१-१४ मा लिपिबद्ध दर्शनको एक एकवटा पदसँगसँगै दानियल ७:१५-२८ का पदहरू पनि छलफल गर्नेछौं।

b यो पुस्तकको अध्याय ४ हेर्नुहोस्‌।

c यो पुस्तकको अध्याय ६ हेर्नुहोस्‌।

तपाईंले के बुझ्नुभयो?

• ‘समुद्रबाट निस्केका चारवटा ठूलठूला जन्तुहरूले’ कसलाई चित्रित गर्छन्‌?

• “सानो” सीङमा के के समावेश छ?

• प्रथम विश्‍वयुद्धको दौडान प्रतीकात्मक सानो सीङले “पवित्र जनहरूलाई” कसरी सतायो?

• प्रतीकात्मक सानो सीङ र अरू जन्तुलाई के हुनेछ?

• “चार किसिमका . . . ठूला ठूला जन्तुहरू[बारे]” दानियलको सपना र दर्शनमा ध्यान दिएर तपाईंले कसरी लाभ उठाउनुभयो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १४९-१५२-मा भएको पेटी/चित्र]

सहिष्णु राजा

सा.यु.पू. पाँचौ शताब्दीको युनानी लेखकको भनाइअनुसार तिनी सहिष्णु र आदर्श राजा थिए। बाइबलमा तिनलाई “अभिषिक्‍त” र “पूर्वबाट” आएका “शिकारी पक्षी” भनिएको छ। (यशैया ४५:१; ४६:११, नयाँ संशोधित संस्करण) यहाँ वर्णन गरिएको राजा, फारसका महान्‌ कोरेस हुन्‌।

पुरातन फारसको शहर वा प्रान्त, आन्शानको सिंहासनमा तिनको बुबा, क्याम्बिसेज प्रथमका उत्तराधिकारी भएपछि सा.यु.पू. ५६०/५५९ देखि कोरेसको कीर्ति फैलन थाल्यो। त्यतिबेला आन्शान मादी राजा आस्टियाजेजसको सामन्ती शासनको अधीनमा थियो। आस्टियाजेजसको सेनाले कोरेसको पक्ष लिएको हुँदा मादी शासनको विद्रोह गरेर कोरेसले सजिलै विजय हासिल गरे। यसरी कोरेसले मादीहरूको विश्‍वास जिते। त्यसपछि, तिनको नेतृत्वमा मादी र फारस एकजूट भएर लडे। फलस्वरूप, मादी र फारसको शासन सुरु भयो, जुन अन्ततः एजियन समुद्रदेखि इन्दु नदीसम्म फैलियो।—मानचित्र हेर्नुहोस्‌।

मादी र फारसको संयुक्‍त सेनाको बल पाएर कोरेस सर्वप्रथम, समस्याग्रस्त इलाकामा नियन्त्रण जमाउन अघि सरे। त्यो थियो, मादीको पश्‍चिमी इलाका जहाँ लिडियाको राजा क्रिससले मादी क्षेत्रभित्र घुसेर इलाका विस्तार गरिरहेका थिए। एसिया माइनरमा लिडिया साम्राज्यको पूर्वी इलाकातिर लम्केर कोरेसले क्रिससलाई पराजित गरेर तिनको राजधानी, सार्डिस कब्जा गरे। त्यसपछि कोरेसले आयोनियाका सबै शहरहरूमा अधिकार जमाए अनि सारा एसिया माइनर मादी-फारसी साम्राज्यको अधीनमा पारे। यसरी तिनी बेबिलोन र त्यहाँको राजा नाबोनिडसको ठूलो प्रतिद्वन्द्वी भए।

यसपछि कोरेसले पराक्रमी बेबिलोनसित भिड्‌ने तयारी गरे। यो बेलादेखि बाइबल भविष्यवाणीमा तिनको भूमिका सुरु भयो। कोरेस राजाले बेबिलोनलाई हराएर यहूदीहरूलाई मुक्‍त गर्नेछन्‌ भनी यहोवाले झण्डै दुई शताब्दीअघि अगमवक्‍ता यशैया मार्फत्‌ बताइसक्नुभएको थियो। यस्तो अग्रिम नियुक्‍तिले गर्दा नै धर्मशास्त्रले कोरेसलाई यहोवाको “अभिषिक्‍त” जन भनेको छ।—यशैया ४४:२६-२८.

कोरेसले सा.यु.पू. ५३९ मा बेबिलोनमाथि आक्रमण गर्दा भयानक चुनौती सामना गर्नुपऱ्‍यो। ठूलठूला पर्खालहरू र चारैतिर यूफ्रेटिस नदीको पानीले घेरेको यो शहर अजेय देखिन्थ्यो। बेबिलोन भएर यूफ्रेटिस नदी बग्ने ठाउँमा नदीको किनारामा पहाडसरि पर्खाल र तामाका ठूलठूला ढोकाहरू थिए। के कोरेसले बेबिलोन कब्जा गर्न सक्ने कुनै उपाय थियो?

लगभग एक शताब्दीअघि यहोवाले बेबिलोनको “पानी सुकिजाओस्‌” र “खड़ेरी” परोस्‌ भनेर भविष्यवाणी गरिसक्नुभएको थियो। (यर्मिया ५०:३८) भविष्यवाणीअनुसारै कोरेसले बेबिलोनको उत्तरतिर केही किलोमिटर टाढा यूफ्रेटिसको पानीलाई फर्काए। त्यसपछि तिनको सेना नदीमा छप्ल्याङछुप्लुङ गर्दै, पर्खालतिर उक्लिएर शहरभित्र सजिलै घुस्यो। किनभने तामाका ठूलठूला ढोकाहरू खुल्लै थिए। आफ्नो सिकारलाई झम्टिहाल्ने “शिकारी पक्षी[ले] जस्तै” यो “पूर्वबाट” आएका शासकले एकै रातमा बेबिलोन कब्जा गरे!

कोरेसको विजय, बेबिलोनका यहूदीहरूको लागि दासत्वबाट छुटकारा थियो। साथै, ७० वर्षसम्म उजाड रहेको मातृभूमि पनि अब उजाड रहने थिएन। कोरेसले तिनीहरूलाई यरूशलेम फर्केर मन्दिरको पुनर्निर्माण गर्ने अनुमति दिएको घोषणा सुन्दा तिनीहरू कति खुसी भए होलान्‌! नबूकदनेसरले मन्दिरबाट बेबिलोनमा ल्याएका बहुमूल्य भाँडाकुँडाहरू पनि कोरेसले फर्काए, लबानोनबाट काठहरू आयात गर्ने शाही अनुमति दिए अनि शाहीकोशबाट निर्माण खर्च बेहोर्ने आदेश दिए।—एज्रा १:१-११; ६:३-५.

आफूले कब्जा गरेको ठाउँका मानिसहरूसित कोरेसले सामान्यतया दयालु अनि सहिष्णु व्यवहार गरे। तिनको धर्मले गर्दा पनि यस्तो व्यवहार गरेको हुनसक्छ। हुनसक्छ, कोरेसले फारसी अगमवक्‍ता जरथ्रुस्तको शिक्षा पालन गर्थे र सबै असल कुराको सृष्टिकर्ता मानिने देव, अहुरा माज्दाको उपासना गर्थे। जोरास्ट्रियन ट्रडिशन भन्‍ने किताबमा फरहाङ मेर लेख्छन्‌: “जरथ्रुस्तले परमेश्‍वर अत्यन्तै नैतिकवान्‌ छन्‌ भनेर सिकाएका थिए। तिनले मानिसहरूलाई अहुरा माज्दा-ले बदला लिंदैनन्‌ तर न्यायी छन्‌, त्यसैले तिनीसित डराउनुपर्दैन, प्रेम गर्नुपर्छ भनेका थिए।” नीतिवान्‌ र न्यायी देवमाथि विश्‍वास गर्ने हुँदा कोरेसको मूल्यमान्यतामा त्यसले प्रभाव पार्नुका साथै ठूलो मनका अनि निष्पक्ष हुन प्रोत्साहित गरेको हुनुपर्छ।

तथापि, यो राजाले बेबिलोनको मौसम सहन सकेनन्‌। त्यहाँको चर्को गर्मी त तिनलाई असह्‍य भयो। अतः बेबिलोन, तिनको साम्राज्यको शाही शहर हुनुका साथै राजनैतिक र सांस्कृतिक केन्द्र भए तापनि तिनी हिउँदमा मात्र त्यहाँ आउने गर्थे। भनौं भने, बेबिलोन कब्जा गरिसकेपछि तिनी आफ्नो ग्रीष्म दरबार एक्बाताना फर्के र यो समुद्री सतहभन्दा लगभग १,९०० मिटर माथि अल्वन्ड डाँडाको फेदमा अवस्थित थियो। यहाँ हिउँदमा असाध्यै जाडो हुने भए तापनि गर्मी महिनामा न्यानो हुने हुँदा राजालाई त्यति असह्‍य भएन। कोरेसले एक्बातानाभन्दा झन्डै ६५० किलोमिटर टाढा दक्षिणपूर्वमा आफ्नो पुरानो राजधानी, पासारगाडीमा (पर्सिपोलिस नजिकै) भव्य महल पनि बनाए। यहाँ तिनी आराम गर्ने गर्थे।

यसप्रकार, साहसी विजेता र सहिष्णु राजाको रूपमा कोरेसको सम्झना गरिन्छ। सैन्य अभियानमा लागेको बेला सा.यु.पू. ५३० मा मृत्यु हुँदा तिनको ३० वर्षे शासनको पनि अन्त भयो। त्यसपछि तिनका छोरा, क्याम्बिसेज द्वितीयले फारसी सिंहासन सम्हाले।

तपाईंले के बुझ्नुभयो?

• फारसी कोरेस कसरी यहोवाको “अभिषिक्‍त” जन हुन पुगे?

• कोरेसले यहोवाका जनहरूको लागि कस्तो मूल्यवान्‌ सेवा गरे?

• आफूले कब्जा गरेका मानिसहरूसित कोरेसले कस्तो व्यवहार गरे?

[नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

मादी-फारस साम्राज्य

म्यासिडोनिया

मेम्फिस

मिश्र

इथियोपिया

यरूशलेम

बेबिलोन

एक्बाताना

सुसा

पर्सिपोलिस

भारत

[चित्र]

पासारगाडीमा कोरेसको चिहान

[चित्र]

पासारगाडीको कोरेस दरबारमा शिलाखण्ड

[पृष्ठ १५३-१६१-मा भएको पेटी/चित्र]

युवा राजा संसारमाथि विजयी हुन्छन्‌

लगभग २,३०० वर्षअघिको कुरा हो, कैलो केश भएका २० वर्ष नाघिसकेका सेनापति भूमध्यसागरको किनारामा उभिरहेका थिए। तिनको नजर झन्डै एक किलोमिटर परको टापुमाथि बसालिएको शहरमा टक्क अडिएको थियो। त्यो शहरभित्र घुस्न नदिएको कारण रिसले चूर भएका सेनापतिले उक्‍त शहर कब्जा गर्ने सुर कसेका थिए। तिनले कस्तो रणनीतिबारे विचार गर्दै थिए? टापुसम्म पुग्ने बाटो बनाएर आफ्नो सेना तैनाथ गर्ने। तिनले त्यो बाटो निर्माण गर्न थालिसकेका थिए।

तर फारस साम्राज्यको महान्‌ राजाबाट आएको सन्देशले यो जवान सेनापतिको काम अवरुद्ध भयो। शान्ति कायम गर्न आतुर फारसी राजाले यस्तो असाधारण प्रस्ताव राखे: १०,००० तोडा सुन (अहिलेको बजारभाउअनुसार दुई अरब अमेरिकी डलरभन्दा बढी), राजाकी छोरीसित विवाह, फारसी साम्राज्यको सम्पूर्ण पश्‍चिमी भागमाथिको प्रभुता। सेनापतिले आफ्नो कब्जामा पारेको राजाको परिवार फिर्ता पाउन यत्रो ठूलो प्रस्ताव राखिएको थियो।

यो प्रस्ताव स्वीकार्ने वा इन्कार गर्ने भन्‍ने सन्दर्भमा निर्णय गर्नुपरेका उक्‍त सेनापति म्यासिडोनियाका सेनापति अर्थात्‌ सिकन्दर तृतीय थिए। अब के गर्ने? इतिहासकार उल्रिक भिलेन यसो भन्छन्‌, “यो पुरातन संसारको लागि एकदमै निर्णायक घडी थियो। तिनको निर्णयको असर मध्य युगदेखि अहिले हाम्रो समयसम्म, पूर्व र पश्‍चिम सबैतिर परेको छ।” सिकन्दरले कस्तो जवाफ दिए होलान्‌ भनी विचार गर्नुअघि, यो निर्णायक घडी आइपर्नुका घटनाहरूमा ध्यान देऔं।

तिनी कसरी विजेता भए

सिकन्दरको जन्म सा.यु.पू. ३५६ मा म्यासिडोनियाको पेलामा भएको थियो। तिनी राजा फिलिप द्वितीय र रानी ओलम्पियासका छोरा थिए। म्यासिडोनियाली राजाहरू युनानी देव जुइसको छोरा, हर्कुलिजका सन्तानहरू हुन्‌ भनी तिनले आफ्नी आमाबाट सिकेका थिए। ओलम्पियासको भनाइअनुसार सिकन्दरको पूर्वज होमरको कवितासंग्रह, इलियाड-का मुख्य पात्र एकिलस थिए। विजय र शाही महिमाबारे सानैदेखि आमाबाबुबाट सिकेको हुँदा सिकन्दरलाई अरू कुरामा त्यति चासो थिएन। ओलम्पिक खेलको दौड प्रतियोगितामा भाग लिन चाहन्छौ कि भनी सिकन्दरलाई सोध्दा राजाहरूसित दौडन लगाइयो भने मात्र दौडनेछु भन्‍ने जवाफ दिए। तिनको लक्ष्य, आफ्नो बुबाले भन्दा ठूलठूला कार्यहरू गर्नु र ती उपलब्धिहरूबाट महिमा कमाउनु थियो।

तिनले १३ वर्षको उमेरमा युनानी दार्शनिक अरस्तुसित शिक्षादीक्षा हासिल गरे र फलस्वरूप दर्शनशास्त्र, चिकित्सा र विज्ञानजस्ता विषयहरूमा तिनको चासो जाग्यो। अरस्तुको दार्शनिक शिक्षाहरूले सिकन्दरको सोचाइमा कत्तिको प्रभाव पाऱ्‍यो भन्‍ने विषयमा सबैको बेग्लाबेग्लै धारणा पाइन्छ। “धेरै कुरामा यी दुई जनाको धारणा एकअर्कासित मेल खाँदैनथ्यो भन्‍नु गलत हुनेछैन” भनी २० औं शताब्दीका दार्शनिक बट्रान्ड रसलले टिप्पणी गरे। “अरस्तुका राजनैतिक धारणाहरू त्यतिबेला पतन भइरहेको युनानी स्वशासित नगरमा आधारित थियो। केन्द्रीय सरकारबाट सञ्चालित महान्‌ साम्राज्य निर्माण गर्न चाहने महत्त्वाकांक्षी राजकुमार शहरैपिच्छे स्वशासित सरकार होस्‌ भन्‍ने चाहँदैनथे। गैर-युनानीहरूलाई दासजस्तो व्यवहार गर्ने अरस्तुको अवधारणा पनि सिकन्दरलाई मन परेको थिएन होला किनभने तिनले जित्ने र हार्ने पक्षबीच सुमधुर सम्बन्ध भएको साम्राज्य बनाउने परिकल्पना गरेका थिए।

निस्सन्देह, अरस्तुले गर्दा पढाइलेखाइमा सिकन्दरको चासो जाग्यो। सिकन्दरले आफ्नो जीवनकालभरि थुप्रै पुस्तकहरू पढे र तिनी विशेष गरी होमरका लेखहरू असाध्यै मन पराउँथे। भनिन्छ, तिनले इलियाड कविताको पूरै १५,६९३ हरफ कण्ठस्थ पारेका थिए।

आफ्नो बुबाको अनुपस्थितिमा म्यासिडोनियामाथि शासन गर्न १६ वर्षीय राजकुमार पेला जाँदा सा.यु.पू. ३४० मा अरस्तुसित शिक्षादीक्षा लिने कार्य बन्द भयो। अनि छिट्टै राजकुमारले आफूलाई सैन्य कलामा निपुण साबित गरे। तिनले विद्रोही थ्रेसी कुल, मिडिलाई परास्त गरे, छिनभरमै मुखियालाई आफ्नो कब्जामा पार्नुका साथै आफ्नै नाउँबाट यो ठाउँको नाउँ एलेक्जान्ड्रापोलिस राखे। यस घटनाबाट राजा फिलिप दंग परे।

विजय अभियान कायमै

सा.यु.पू. ३३६ मा फिलिपको हत्यापछि २० वर्षीय सिकन्दर म्यासिडोनियाको राजगद्दीमा बसे। सा.यु.पू. ३३४ को वसन्तऋतुमा हेलेसपोन्ट (हाल डार्डनेल्स) भन्‍ने ठाउँबाट एसिया घुसेका सिकन्दर केवल ३०,००० सिपाही र ५,००० घोडसवार भएको सानो तर कुशल सैन्यदलको भरमा विजय हासिल गर्न अघि लम्के। तिनको सेनासँगसँगै इन्जिनियर, अमिन, वास्तुविद्‌, वैज्ञानिक तथा इतिहासकारहरू पनि गएका थिए।

एसिया माइनरको (हालको टर्की) उत्तरपश्‍चिमी किनारा, ग्रानिकस नदीमा सिकन्दरले फारसीहरू विरुद्ध पहिलो लडाइँ जिते। त्यही सालको हिउँदमा तिनले एसिया माइनरको पश्‍चिमी भाग कब्जा गरे। त्यसपछिको सालको हेमन्तऋतुमा, एसिया माइनरको दक्षिणपूर्वी इलाका आइससमा फारसीहरूसित अर्को निर्णायक युद्ध भयो। लगभग पचास लाख मानिसहरू भएको सैन्यदलको नेतृत्व गर्दै फारसी राजा दारा तृतीय, सिकन्दरसित लड्‌न आए। आफ्नो सैन्यशक्‍तिदेखि अतिविश्‍वस्त दाराले यो सानदार विजयको धाक देखाउन आफ्नी आमा, पत्नी र परिवारका अन्य सदस्यहरू पनि आफूसितै ल्याएका थिए। तर फारसीहरू म्यासिडोनियाली आक्रमणको चातुर्य र शक्‍ति प्रतिरोध गर्न तयार थिएनन्‌। सिकन्दरको सेनाले फारसी सेनालाई पूर्णतया हरायो अनि दारा आफ्नो परिवारलाई छोडेर भागे।

भागिरहेका फारसीहरूलाई खेद्‌नुको साटो सिकन्दर भूमध्यसागरको किनारा हुँदो दक्षिणतिर लम्के अनि शक्‍तिशाली फारसी लडाकू दलका जलसेनामाथि कब्जा जमाए। तर टायरको टापु शहरलाई भने कब्जा गर्न सकेनन्‌। यो कब्जा गर्न कटिबद्ध सिकन्दरले सात महिनासम्म घेरा लगाए। यसरी घेरा लगाएको बेला नै दाराले माथि उल्लिखित प्रस्ताव राखेका थिए। यो प्रस्ताव यति आकर्षक थियो कि, सिकन्दरको विश्‍वस्त सल्लाहकार पारमेनियोले यसो भने रे: “म सिकन्दर हुँदो हुँ त, यो प्रस्ताव स्वीकार्ने थिएँ।” तर यस जवान सेनापतिले यस्तो जवाफ फर्काए: ‘म पारमेनियो हुँदो हुँ त मैले पनि स्वीकार्ने थिएँ।’ सम्झौता गर्न इन्कार गरेर सिकन्दरले घेरा हाल्न छोडेनन्‌ अनि सा.यु.पू. ३३२ मा पानीमाथि बसालिएकी त्यो घमण्डी स्त्रीलाई तहसनहस गरे।

यरूशलेमले आत्मसमर्पण गरेपछि त्यसलाई केही नगरी सिकन्दर दक्षिणतिर गाजा कब्जा गर्न गए। फारसी शासनबाट वाक्क भइसकेको मिश्रले तिनलाई आफ्नो उद्धारक ठानेर हार्दिक स्वागत गरे। मेम्फिसमा तिनले एपिस साँढेलाई बलि चढाउँदा मिश्री पूजाहारीहरू खुसी भए। तिनले अलेक्जान्ड्रिया शहर पनि निर्माण गरे र यो पछि एथेन्स बराबरकै अध्ययन केन्द्र भयो र अहिलेसम्म पनि यो शहर त्यही नाउँले चिनिन्छ।

त्यसपछि, सिकन्दर उत्तरपूर्वमा प्यालेस्टाइन हुँदै टाइग्रीस नदीतिर लागे। सा.यु.पू. ३३१ मा तिनले निनवेका भग्नावशेष नजिकै गाउगेमाला भन्‍ने ठाउँमा फारसीहरू विरुद्ध तेस्रो ठूलो लडाइँ लडे। यहाँ सिकन्दरका ४७,००० मानिसहरूले २,५०,००० सिपाहीको पुनर्व्यवस्थित फारसी सैन्यदललाई परास्त गरे! दारा भाग्न त भागे तर पछि आफ्नै मान्छेहरूको हातबाट मारिए।

एकपछि अर्को विजयले गर्दा उन्मत्त भएका सिकन्दर दक्षिणतिर लागे अनि फारसको हिउँदे राजधानी बेबिलोनलाई कब्जा गरे। तिनले सुसा र पर्सिपोलिसका राजधानीहरू पनि आफ्नो कब्जामा लिए र फारसी ढुकुटीबाट धेरै धनसम्पत्ति हात पारे अनि जारसेजको महान्‌ दरबारलाई आगोले भस्म पारिदिए। अन्तमा राजधानी एक्बाताना पनि तिनको हातमा पऱ्‍यो। यसरी द्रूतगतिमा विजय हासिल गरेर फारसका बाँकी इलाकाहरू पनि तिनले आफ्नो वशमा पारे र पूर्वमा सिन्धु नदीसम्म पुगे जहाँ अहिले पाकिस्तान अवस्थित छ।

फारसी प्रान्तको सीमा इलाका, टाक्सिलामा सिन्धु नदी पार गरेपछि सिकन्दरले अत्यन्तै भयानक प्रतिद्वन्द्वी अर्थात्‌ भारतीय राजा पोरससित मुठभेड गरे। सिकन्दरले सा.यु.पू. ३२६ मा चौथो तथा अन्तिम लडाइँ यही शासक विरुद्ध लडे। पोरसको सेनामा ३५,००० सिपाही र २०० वटा हात्ती थिए र यो देखेर म्यासिडोनियाली सेनाका घोडाहरू तर्सिए। यो लडाइँ भीषण र रक्‍तपातपूर्ण थियो तर सिकन्दरको दल विजयी भयो। पोरसले आत्मसमर्पण गरे र सिकन्दरका सहयोगी भए।

म्यासिडोनियाली सेना एसिया घुसेको आठ वर्षभन्दा बढी भइसकेको थियो र सिपाहीहरू थकित हुनुका साथै तिनीहरूलाई घरको सम्झनाले पिरोलिरहेको थियो। पोरस विरुद्ध लडेर क्लान्त भएका यी सिपाहीहरू घर फर्कन आतुर थिए। तिनीहरूको कुरा सुन्‍न सुरुमा सिकन्दर मानेनन्‌ तर पछि माने। युनान, साँच्चै विश्‍व शक्‍ति भइसकेको थियो। विजय हासिल गरेका ठाउँहरूमा युनानी उपनिवेश स्थापना भएपछि युनानी भाषा र संस्कृति संसारभरि फैलियो।

तिनको वास्तविक स्वभाव

विजय अभियानको दौडान म्यासिडोनियाली सेनालाई एकजूट पार्ने मुख्य कुरा, सिकन्दरको व्यक्‍तित्व थियो। लडाइँपछि घाइतेहरूलाई भेट्‌ने, तिनीहरूको चोटपटक हेर्ने, साहसी कार्यको लागि सिपाहीहरूको प्रशंसा गर्ने र तिनीहरूको कामअनुसारको इनाम दिने सिकन्दरको बानी बसिसकेको थियो। लडाइँमा मारिनेहरूको लागि सिकन्दरले भव्य अन्त्येष्टिको प्रबन्ध मिलाउँथे। लडाइँमा मारिने पुरुषहरूको आमाबुबा र छोराछोरीहरूले कुनै पनि प्रकारको कर वा अरू सेवा बुझाउनु पर्दैनथ्यो। लडाइँपछि मन बहलाउन सिकन्दरले विभिन्‍न खेलकुद तथा प्रतियोगिताको आयोजना गर्थे। एक चोटि त तिनले नवविवाहित पुरुषहरूले आफ्ना पत्नीहरूसित हिउँद सँगै बिताउन पाऊन्‌ भनेर घरबिदाको प्रबन्ध पनि गरेका थिए। यस्ता कार्यहरूले गर्दा तिनले आफ्ना सिपाहीहरूबाट माया र प्रशंसा पाउन सके।

बाक्ट्रियाकी राजकुमारी, रक्जानासित सिकन्दरको विवाहबारे युनानी जीवनी-लेखक प्लुटार्क लेख्छन्‌: “यो साँच्चै प्रेम कहानी थियो तर तिनको आफ्नै लक्ष्य प्राप्तिको लागि गरिएको जस्तो पनि देखिन्थ्यो। किनभने आफूले कब्जा गरेका मानिसहरूबाटै पत्नी छान्दा तिनीहरू खुसी हुनुका साथै सिकन्दरप्रति गहिरो स्नेह महसुस गर्नेथिए। आफ्नी प्रेमिकादेखि अत्यन्तै मोहित भए तापनि उनलाई कानुनी अनि आदरणीय ढंगमा हासिल नगरुञ्जेल तिनले संयम देखाए।”

सिकन्दरले अरूको विवाहबन्धनको पनि आदर गर्थे। राजा दाराकी पत्नी आफ्नो बन्दी भए तापनि उनीसित आदरणीय ढंगमा व्यवहार गर्न लगाउँथे। त्यस्तै गरी, दुई जना म्यासिडोनियाली सिपाहीहरूले परदेशीहरूका पत्नीहरूमाथि दुर्व्यवहार गरेको कुरा थाह पाउँदा ती सिपाहीहरूलाई दोषी साबित भएको खण्डमा मृत्युदण्ड दिने आदेश दिएका थिए।

आफ्नी आमा ओलम्पियासजस्तै सिकन्दर असाध्यै धर्मकर्म गर्नुपर्ने मान्छे थिए। तिनी लडाइँमा जानुअघि र पछि बलि चढाउँथे अनि अनेकन्‌ शकुनबारे तन्त्रमन्त्र गर्नेहरूको राय लिन्थे। तिनले लिबियाको अम्मोनस्थित भावीदेवको पनि राय लिए। अनि बेबिलोनमा छँदा विशेष गरी बेबिलोनी देव, बेललाई (मार्डुक) कल्दीहरूको निर्देशनअनुसार बलि चढाए।

सिकन्दर भोजनमा परहेजी भए तापनि रक्सी भने धेरै पिउँथे। तिनले हरेक चोटि रक्सीको प्याला उठाउँदा नानाभाँतीका कुरा गर्नुका साथै आफ्ना उपलब्धिहरूको असाध्यै घमण्ड गर्थे। सिकन्दरले गरेको अत्यन्तै दुःखद कामहरूमध्ये रक्सीले मात्तिएर रिसको झोंकमा आफ्नो मित्र क्लाइटसको हत्या पनि थियो। तर यसपछि सिकन्दरले असाध्यै आत्म-ग्लानि महसुस गरे अनि तीन दिनसम्म खानपिन केही नगरी ओछ्यानबाटै उठेनन्‌। बल्ल बल्ल साथीहरूले तिनलाई केही खान मनाए।

समय बित्दै जाँदा मानमर्यादाको लालसाले गर्दा सिकन्दरमा केही अप्रिय गुणहरू देखिन थाले। तिनले झूटा आरोपहरू तुरुन्तै पत्याउन अनि असाध्यै कठोर दण्ड दिन थाले। उदाहरणका लागि, आफ्नो ज्यान लिने षड्यन्त्र भइरहेको हल्ला पत्याएर सिकन्दरले फिलोटास र तिनको बुबा, पारमेनियो अर्थात्‌ पुरानो विश्‍वासपात्र तथा सल्लाहकारलाई मृत्युदण्ड दिए।

सिकन्दरको हार

बेबिलोन फर्केको धेरै समय नबित्दै सिकन्दरलाई औलो ज्वरोले समात्यो र तिनी निको हुन सकेनन्‌। सा.यु.पू. ३२३ जून १३ का दिन ३२ वर्ष ८ महिना उमेर पुगेका सिकन्दरले अजेय शत्रु, मृत्युको सामु आफ्नो हार स्वीकार्नुपऱ्‍यो।

एक जना हिन्दुस्तानी ज्ञानी पुरुषले भनेझैं भयो: “हे महाराज सिकन्दर, मानिस उभिंदा जति भूमि ओगट्‌छ, त्यति जमिन मात्र उसको हो; हे महाराज, तपाईं पनि अरू मानिसहरूजस्तै त हो, फरक यति छ कि तपाईंको जीवन अति व्यस्त र अनवरत छ र तपाईं घरबाट टाढा आफू पनि दुःख खाँदै, अरूलाई पनि दुःख दिंदै सारा संसार चहारिरहनुभएको छ। तर अब यो क्रम धेरै चल्नेछैन किनभने तपाईंको मृत्यु हुनेछ र तपाईंको शरीर गाड्‌न चाहिनेजति जमिनमाथि मात्र तपाईंले अधिकार गर्नुहुनेछ।”

तपाईंले के बुझ्नुभयो?

• महान्‌ सिकन्दर कस्तो वातावरणमा हुर्केका थिए?

• म्यासिडोनियाको सिंहासनमा बस्ने बित्तिकै सिकन्दर कुन अभियानमा लागे?

• सिकन्दरका केही अभियानहरू वर्णन गर्नुहोस्‌

• सिकन्दरको व्यक्‍तित्त्वबारे के भन्‍न सकिन्छ?

[[नक्सा]]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

सिकन्दरका विजयहरू

म्यासिडोनिया

मिश्र

बेबिलोन

सिन्धु नदी

[चित्र]

सिकन्दर

[चित्र]

अरस्तु र तिनको शिष्य सिकन्दर

[पृष्ठ भरिको चित्र]

[चित्र]

महान्‌ सिकन्दर चित्रण गरिएको कथित तक्मा

[पृष्ठ १६२, १६३-मा भएको पेटी/चित्र]

विशाल राज्य टुक्रिन्छ

बाइबलले महान्‌ सिकन्दरको राज्य टुक्रिनेछ र “तिनका सन्तानहरूले त्यो राज्य पाउनेछैनन्‌” भनी भविष्यवाणी गरेको थियो। (दानियल ११:३, ४) त्यसैअनुरूप सा.यु.पू. ३२३ मा सिकन्दरको अचानक मृत्यु भएको १४ वर्षभित्र तिनको वैध छोरा, सिकन्दर चौथो र अवैध छोरा हेराकल्सको हत्या भयो।

सिकन्दरले स्थापना गरेको विशाल साम्राज्यमाथि सा.यु.पू. ३०१ तिर तिनका चार जना सेनापतिहरूले आ-आफ्नो अधिपत्य जमाइसकेका थिए। सेनापति क्यासान्डरले म्यासिडोनिया र युनान आफ्नो कब्जामा लिए। सेनापति लाइसिमाकसले एसिया माइनर र थ्रेसमाथि प्रभुत्व जमाए। सेल्युकस प्रथम निकेटरले मेसोपोटामिया र सिरियामाथि प्रभुता जमाए। अनि टोलेमी लागस वा टोलेमी प्रथमले मिश्र र प्यालेस्टाइमाथि शासन गरे। यसरी सिकन्दरको एउटा विशाल राज्यबाट चारवटा युनानी राज्यको उत्पत्ति भयो।

चारवटा युनानी राज्यहरूमध्ये क्यासान्डरको शासनकाल सबैभन्दा कम टिक्यो। क्यासान्डरले शासन गर्न थालेको केही वर्षभित्रै तिनका पुरुष सन्तानहरू कोही पनि बाँकी रहेनन्‌ अनि सा.यु.पू. २८५ मा लाइसिमाकसले युनानी साम्राज्यको युरोपेली भाग आफ्नो कब्जामा लिए। चार वर्षपछि सेल्युकस प्रथम निकेटरसितको युद्धमा लाइसिमाकस मारिए र फलस्वरूप अधिकांश एसियाली इलाकाहरू सेल्युकसको नियन्त्रणमा पऱ्‍यो। सिरियामा शासन गर्ने सेल्युकस कुलका प्रथम राजा, सेल्युकस नै हुन्‌। तिनले सिरियामा एन्टियोक शहर बसालेर त्यसलाई नयाँ राजधानी बनाए। सा.यु.पू. २८१ मा सेल्युकसको हत्या गरियो तर तिनले स्थापना गरेको राजकुलले रोमी सेनापति पम्पेले सिरियालाई रोमको प्रान्त नबनाउञ्जेल अर्थात्‌ सा.यु.पू. ६४ सम्म शासन गरिरह्‍यो।

सिकन्दरको साम्राज्यका चार भागहरूमध्ये टोलेमी राज्य सबैभन्दा लामो समयसम्म टिक्यो। टोलेमी प्रथमले सा.यु.पू. ३०५ मा राजाको पदवी ग्रहण गरे र प्रथम म्यासिडोनियाली राजा अथवा मिश्रका फिरऊन भए। एलेक्जान्ड्रियालाई राजधानी बनाइसकेपछि तिनी तुरुन्तै नगर विकास कार्यक्रममा जुट्‌न थाले। तिनले गरेको ठूलो निर्माण परियोजनामध्ये, एलेक्जान्ड्रियन पुस्तकालय पनि हो। यो महान्‌ परियोजनाको सुपरिवेक्षण गर्न टोलेमीले ग्रीसबाट प्रख्यात एथेनी विद्वान्‌, डिमेट्रीयस फिलारुसलाई झिकाए। प्राप्त प्रमाणअनुसार सा.यु. प्रथम शताब्दीसम्म यो पुस्तकालयमा दस लाख जति मुठा संकलन भइसकेको थियो। सा.यु.पू. ३० मा रोमले मिश्रमाथि प्रभुत्व जमाउनु अघिसम्म टोलेमी राजतन्त्रले शासन गरिरह्‍यो। युनानपछि रोमले विश्‍व प्रभुता जमाउन थाल्यो।

तपाईंले के बुझ्नुभयो?

• सिकन्दरको विशाल साम्राज्य कसरी बाँडियो?

• सिरियामा कहिलेसम्म सेल्युकस कुलका राजाहरूले शासन गरे?

• मिश्रमा टोलेमी राज्यको कहिले अन्त भयो?

[नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

सिकन्दरको साम्राज्य विभाजन

क्यासान्डर

लाइसिमाकस

टोलेमी प्रथम

सेल्युकस प्रथम

[चित्र]

टोलेमी प्रथम

सेल्युकस प्रथम

[पृष्ठ १३९-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

दानियलको भविष्यवाणीका विश्‍वशक्‍तिहरू

विशाल मूर्ति (दानियल २:३१-४५)

समुद्रबाट निस्केका चार जन्तु

(दानियल ७:३-८, १७, २५)

बेबिलोनिया

सा.यु.पू. ६०७ देखि

मादी र फारस

सा.यु.पू. ५३९ देखि

युनान

सा.यु.पू. ३३१ देखि

रोम

सा.यु.पू. ३० देखि

एंग्लो-अमेरिकी विश्‍वशक्‍ति

सा.यु. १७६३ देखि

अन्तको समयमा

राजनैतिक तवरमा विभक्‍त संसार

[पृष्ठ १२८-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ १४७-मा भएको पृष्ठभरिको चित्र]