सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुई राजाबीच संघर्ष

दुई राजाबीच संघर्ष

अध्याय तेह्र

दुई राजाबीच संघर्ष

१, २. दानियल अध्याय ११ मा लिपिबद्ध भविष्यवाणीमा हामीले किन चासो राख्नुपर्ने हो?

 सबैभन्दा शक्‍तिशाली हुने होडबाजीमा दुई प्रतिद्वन्द्वी राजा संघर्षरत छन्‌। समय बित्दै जाँदा पहिला एक जनाले अनि पछि अर्कोले प्रभुत्व जमाउँछन्‌। कहिले एक जना राजाको शासन शक्‍तिशाली र अर्को निष्क्रिय हुन्छ अनि कहिले चाहिं कुनै संघर्ष नभई साम्य पनि हुन्छ। तर अकस्मात्‌ लडाइँ हुन्छ अनि संघर्ष चर्किन्छ। यो संघर्षको होडबाजीमा अरामी राजा सेल्युकस प्रथम निकेटर, मिश्री राजा टोलेमी लागस, अरामी राजकुमारी र मिश्रकी रानी क्लीयोपात्रा प्रथम, रोमी सम्राटहरू अगस्तस र टाइबेरियस अनि पाल्मीराकी रानी जेनोबिया संलग्न भएका छन्‌। यस संघर्षको अन्ततिर नाजी जर्मनी, साम्यवादी राष्ट्रहरू, एंग्लो-अमेरिकी विश्‍वशक्‍ति, राष्ट्र संघ अनि संयुक्‍त राष्ट्र संघ पनि मुछिएका छन्‌। यस संघर्षको अन्त भने कुनै पनि राजनैतिक शक्‍तिले आशा गरेजस्तो हुने थिएन। यहोवाको स्वर्गदूतले २,५०० वर्षअघि अगमवक्‍ता दानियलमार्फत यो रोमाञ्चकारी भविष्यवाणी घोषणा गरे।—दानियल अध्याय ११.

पछि देखा पर्ने दुई राजाहरूबीचको संघर्षबारे स्वर्गदूतले विस्तृत जानकारी दिंदा दानियल कत्ति रोमाञ्चित भए होलान्‌! यो घटना हाम्रोलागि पनि रोचक छ किनभने यी दुई राजाबीच शक्‍तिको होडबाजी अहिले हाम्रो समयसम्म पनि चलिरहेको छ। भविष्यवाणीको पहिलो भाग पूरा भएको इतिहासले देखाइसकेपछि यस भविष्यसूचक विवरणको पछिल्लो भाग पनि पक्कै पूरा हुनेछ भन्‍ने हाम्रो विश्‍वास अनि निश्‍चयतालाई अझ बलियो बनाउनेछ। यो भविष्यवाणीमा ध्यान दियौं भने हामी कुन समयमा बाँचिरहेका रहेछौं भनेर स्पष्ट हुनेछ। साथै, यहोवाले हाम्रो खातिर कदम चाल्नुहुनेछ भनी धीरजी भई पर्खंदै यो संघर्षमा निष्पक्ष रहने हाम्रो कटिबद्धतालाई पनि सुदृढ बनाउनेछ। (भजन १४६:३, ५) त्यसकारण, यहोवाको स्वर्गदूतले दानियललाई के भन्छन्‌, हामी ध्यान दिएर सुनौं।

युनानको राज्य विरुद्ध

३. “मादी राजा दाराको शासनकालको पहिलो वर्षमा” स्वर्गदूतले कसलाई सहायता गरे?

स्वर्गदूतले यसो भने, “मादी राजा दाराको [सा.यु.पू. ५३९/५३८] शासनकालको पहिलो वर्षमा तिनलाई सुदृढ़ पार्न र प्रोत्साहन दिनलाई म खड़ा भएँ।” (दानियल ११:१) यतिबेला दाराको मृत्यु भइसकेको थियो तर स्वर्गदूतले आफ्नो भविष्यसूचक सन्देशको सुरुमा तिनको शासनबारे बताए। यही राजाले दानियललाई सिंहको खोरबाट बाहिर निकाल्ने आदेश दिएका थिए। आफ्ना सबै प्रजाहरू दानियलको परमेश्‍वरसित डराउनुपर्छ भनेर आदेश दिने पनि यीनै राजा, दारा थिए। (दानियल ६:२१-२७) तथापि, साथ दिन खडा भएको स्वर्गदूत मादी दारा नभई स्वर्गदूतका सहायक माइकल अर्थात्‌ दानियलका जनहरूको राजकुमार थिए। (दानियल १०:१२-१४ तुलना गर्नुहोस्‌।) माइकलले मादी-फारसको पिशाच राजकुमारसित संघर्ष गर्दा परमेश्‍वरको स्वर्गदूतले यस्तो सहयोग गरे।

४, ५. भविष्यवाणी गरिएका फारसका चार जना राजा को थिए?

परमेश्‍वरको स्वर्गदूतले अझै यसो भने: “फारस देशमा अरू तीन राजाहरू खड़ा हुनेछन्‌, औ चौथो चाहिं अरूहरू सबैभन्दा धनाढ्य हुनेछन्‌। औ जब तिनले आफ्नो धन–सम्पत्तिले आफ्नो शक्‍ति बढ़ाएका हुनेछन्‌, तब तिनले सारा संसारलाई युनान राज्यको विरुद्धमा सुऱ्‍याउनेछन्‌।” (दानियल ११:२) यी फारसी राजाहरू को थिए?

सुरुका तीन जना राजाहरू महान्‌ कोरेस, क्याम्बिसेज द्वितीय अनि दारा प्रथम थिए। बार्दियाले (अथवा हुनसक्छ, गौमाता नाउँको नकली राजा) सात महिना मात्र शासन गरेको हुँदा भविष्यवाणीमा तिनको छोटो शासनकाल समावेश गरिएको छैन। सा.यु.पू ४९० मा तेस्रो राजा दारा प्रथमले युनानमाथि दोस्रो चोटि आक्रमण गरे। तथापि, फारसीहरूलाई म्याराथनको युद्धमा परास्त गरियो र तिनीहरू एसिया माइनर फर्के। दाराले युनान विरुद्ध थप अभियानको लागि होसियारीपूर्वक तयारी गरे तापनि चार वर्षपछि आफ्नो मृत्यु हुनुअघिसम्म त्यो पूरा गर्न सकेनन्‌। त्यो काम तिनको छोरा र उत्तराधिकारी, “चौथो” राजा, जारसेज प्रथमको जिम्मामा छोडियो। तिनी एस्तरसित विवाह गर्ने राजा अहासूरस थिए।—एस्तर १:१; २:१५-१७.

६, ७. (क) चौथो राजाले कसरी “युनान राज्य विरुद्ध सबैलाई खडा गरे”? (ख) युनान विरुद्ध जारसेजको अभियानको परिणाम कस्तो भयो?

जारसेज प्रथमले साँच्चै “युनान राज्य विरुद्ध सबैलाई खडा गरे” अर्थात्‌ स्वतन्त्र युनानी प्रान्तहरूको समूह। द मीड्‌स एण्ड पर्सियन्स्‌—कंकरर्स एण्ड डिप्लोम्याट्‌स नामक पुस्तकअनुसार “महत्त्वाकांक्षी दरबारियाहरूको समर्थन पाएर जारसेजले जल र थल दुवै मार्गबाट आक्रमण गरे।” सा.यु.पू. पाँचौं शताब्दीका युनानी इतिहासकार हेरोडोटस भन्छन्‌, “योजस्तो भीषण आक्रमण पहिले कहिल्यै भएको थिएन।” तिनको रेकर्डअनुसार जल सेनामा जम्माजम्मी “५,१७,६१० जना पुरुष थिए। पैदल सिपाही १७,००,००० थिए; घोडचढी ८०,००० थिए; साथै ऊँटसवार अरबीहरू, रथसवार लिब्यालीहरू गरी मेरो विचारमा २०,००० जति थिए। तसर्थ, जल र थल सेनामा जम्माजम्मी २३,१७,६१० पुरुष थिए।”

पूर्णतया विजय हासिल गर्ने सुरमा जारसेज प्रथमले सा.यु.पू. ४८० मा आफ्नो विशाल सैन्य दललाई युनान विरुद्ध खडा गरे। थर्मोपाइलेमा आलेङटालेङ गर्ने युनानी रणनीतिमाथि विजय हासिल गर्दै फारसीहरूले एथेन्सलाई तहसनहस गरे। तर सलामिसमा भने ठूलो पराजय सहनुपऱ्‍यो। युनानले सा.यु.पू. ४७९ मा प्लाटियामा अर्को विजय हासिल गऱ्‍यो। त्यसपछि १४३ वर्षसम्म फारस साम्राज्यमा राज गर्ने जारसेजका सात जना उत्तराधिकारीहरूले युनानमाथि आक्रमण गरेन। तर पछि युनानमा एक जना पराक्रमी राजा खडा भए।

एउटा ठूलो राज्य चार भागमा टुक्रिन्छ

८. कुन “शक्‍तिशाली राजा” खडा भए अनि तिनले कसरी “ठूलो शक्‍तिसाथ शासन” गरे?

स्वर्गदूतले यसो भने, “एक जना शक्‍तिशाली राजा खडा हुनेछन्‌, जसले आफ्नो ठूलो शक्‍तिसाथ शासन गर्नेछन्‌ र जे मन लाग्यो त्यही गर्नेछन्‌।” (दानियल ११:३, नयाँ संशोधित संस्करण) सा.यु.पू. ३३६ मा बीस वर्षीय सिकन्दर म्यासिडोनियाको राजाको रूपमा ‘खडा भए।’ तिनी साँच्चै “शक्‍तिशाली राजा,” महान्‌ सिकन्दर भए। बुबा, फिलिप द्वितीयको योजनाअनुसारै तिनले मध्यपूर्वका फारसी प्रान्तहरू आफ्नो कब्जामा लिए। यूफ्रेटिस र टाइग्रिस नदी तरेर तिनका ४७,००० मानिसहरूले गाउगामेलामा दारा तृतीयका २,५०,००० सेनालाई तितरबितर पारे। त्यसको लगत्तै दारा भागे तर तिनको हत्या गरियो। यसरी फारसी राजकुलको अन्त भयो। अब युनान विश्‍वशक्‍ति भए र सिकन्दरले ‘ठूलो शक्‍तिसाथ शासन गरे र जे मन लाग्यो त्यही गरे।’

९, १०. सिकन्दरको राज्य तिनका सन्तानहरूलाई दिइनेछैन भन्‍ने भविष्यवाणी कसरी सत्य साबित भयो?

संसारमाथि सिकन्दरको शासन थोरै समयको लागि मात्र हुने थियो किनभने परमेश्‍वरको स्वर्गदूतले यसो भने: “उनी खडा भएपछि, उनको साम्राज्य टुक्रिनेछ र स्वर्गका चार बतासतिर बाँडिनेछ। त्यो उनका सन्तानहरूले पाउनेछैनन्‌, नता उनले चलाएको अधिकार त्यसको हुनेछ, किनभने उनको साम्राज्य जरैसमेत उखेलिनेछ र अरूलाई दिइनेछ।” (दानियल ११:४, नयाँ संशोधित संस्करण) सिकन्दर ३३ वर्ष पनि पुगेका थिएनन्‌, तिनी अकस्मात्‌ बिरामी परे अनि सा.यु.पू. ३२३ मा बेबिलोनमा तिनको निधन भयो।

१० सिकन्दरको विशाल साम्राज्य “तिनका सन्तानहरूले” पाएनन्‌। तिनका भाइ फिलिप तृतीय आरिडियसको शासन सात वर्ष पनि टिकेन र सिकन्दरकी आमा, ओलम्पियासको आग्रहमा सा.यु.पू. ३१७ मा तिनको हत्या गरियो। सिकन्दरका छोरा, सिकन्दर चौथोले सा.यु.पू. ३११ मा शासन गरे र त्यसपछि आफ्नो बुबाको सेनापति क्यासान्डरबाट मारिए। सिकन्दरका अवैध छोरा, हेराकल्सले आफ्नो बुबाको नाउँमा शासन गर्न खोजे तर सा.यु.पू. ३०९ मा तिनको हत्या गरियो। यसरी सिकन्दरको राजकुलको शासन र तिनको “अधिकार” त्यहीं खतम भयो।

११. सिकन्दरको राज्य कसरी “स्वर्गका चार बतासतिर” बाँडिए?

११ सिकन्दरको मृत्युपछि तिनको राज्य “चार बतासतिर” बाँडिए। तिनका सेनापतिहरूले आ-आफ्नो इलाका विस्तार गर्न खिचातानी गरे। कानो सेनापति एन्टिगोनस प्रथमले सिकन्दरको सारा साम्राज्य आफ्नो नियन्त्रणमा राख्न खोजे। तर तिनी फ्रिजियाको इप्ससको लडाइँमा मारिए। सिकन्दरले विजय हासिल गरेको विशाल इलाकामा तिनका चार जना सेनापतिहरूले सा.यु.पू. ३०१ तिर अधिपत्य जमाइसकेका थिए। क्यासान्डरले म्यासिडोनिया र युनानमाथि शासन गरे। लाइसिमाकसले एसिया माइनर र थ्रेसमाथि नियन्त्रण जमाए। सेल्युकस प्रथम निकेटरले मेसोपोटामिया र सिरिया कब्जा गरे। अनि टोलेमी लागसले मिश्र र प्यालेस्टाइनमाथि शासन गरे। भविष्यसूचक वचनअनुसारै सिकन्दरको विशाल साम्राज्य चारवटा युनानी राज्यहरूमा विभक्‍त भयो।

दुई प्रतिद्वन्द्वी राजाहरू देखा पर्छन्‌

१२, १३. (क) चारवटा युनानी राज्यहरू कसरी जम्मा दुइटा भए? (ख) सेल्युकसले सिरियामा कुन राजकुल स्थापना गरे?

१२ आफूले शक्‍ति हासिल गरेको केही वर्षपछि क्यासान्डरको मृत्यु भयो र सा.यु.पू. २८५ मा लाइसिमाकसले युनान साम्राज्यका युरोपेली भागहरू आफ्नो कब्जामा लिए। सा.यु.पू. २८१ मा सेल्युकस निकेटरसितको युद्धमा लाइसिमाकसको मृत्यु भयो र यसपछि सेल्युकसले अधिकांश एसियाली इलाकाहरूमा प्रभुत्व जमाए। सिकन्दरको एक जना सेनापतिका नाति, एन्टिगोनस द्वितीय गोनाटसले सा.यु.पू. २७६ मा म्यासिडोनियाको सिंहासन सम्हाले। समय बित्दै जाँदा म्यासिडोनिया रोममा निर्भर भयो अनि सा.यु.पू. १४६ मा रोमको एउटा प्रान्त बन्‍न पुग्यो।

१३ अब चारवटा युनानी राज्यहरूमध्ये दुइटा राज्य मात्र शक्‍तिशाली भए—एउटा सेल्युकस प्रथम निकेटर र अर्को टोलेमी लागसको अधीनमा। सेल्युकसले सिरियामा सेल्युकाली राजकुल स्थापित गरे। तिनले स्थापना गरेका शहरहरूमध्ये सिरियाको नयाँ राजधानी, एन्टियोक र सेल्युसियाका अन्य बन्दरगाहहरू थिए। प्रेरित पावलले एन्टियोकमा पनि प्रचार गरे र येशूका चेलाहरू ख्रीष्टियान भनिन थालिएको यहींदेखि हो। (प्रेरित ११:२५, २६; १३:१-४) सा.यु.पू. २८१ मा सेल्युकसको हत्या गरियो तर रोमी सेनापति ग्नायस पम्पेले सा.यु.पू. ६४ मा सिरियालाई रोमी प्रान्त बनाउञ्जेलसम्म तिनको राजकुल कायमै रह्‍यो।

१४ मिश्रमा टोलेमी राजकुल कहिले स्थापना भयो?

१४ चारवटा युनानी राज्यहरूमध्ये सबैभन्दा लामो समयसम्म टिक्ने राज्य टोलेमी लागस वा टोलेमी प्रथमको हो जसले सा.यु.पू. ३०५ मा राजाको पदवी ग्रहण गरे। तिनले स्थापना गरेको टोलेमी राजकुलले सा.यु.पू. ३० मा रोमबाट परास्त नहोउञ्जेल मिश्रमाथि शासन गरिरह्‍यो।

१५. चारवटा युनानी राज्यहरूबाट कुन दुई शक्‍तिशाली राजा खडा भए अनि तिनीहरूले कस्तो संघर्ष सुरु गरे?

१५ यसरी चारवटा युनानी राज्यबाट दुई शक्‍तिशाली राजा खडा भए अर्थात्‌ सिरियामा सेल्युकस प्रथम निकेटर र मिश्रमा टोलेमी प्रथम। यी दुई राजाहरूबाट दानियल अध्याय ११ मा वर्णन गरिएको “उत्तरको राजा” र “दक्षिणको राजा[बीच]” लामो संघर्ष सुरु भयो। यहोवाको स्वर्गदूतले राजाहरूको नाउँ बताएनन्‌ किनभने यी दुई राजाहरूको चिनारी र राष्ट्रियता शताब्दीयौंको दौडान फरक फरक हुने थियो। स्वर्गदूतले थुप्रै अनावश्‍यक जानकारीहरू नबताएर ती दुईबीचको संघर्षसित सम्बन्धित शासक र घटनाहरू मात्र उल्लेख गरे।

संघर्ष सुरु हुन्छ

१६. (क) दुई राजाहरू कसको उत्तर र दक्षिणमा थिए? (ख) कुन कुन राजाले सुरुमा “उत्तरका राजा” र “दक्षिणका राजाको” भूमिका निर्वाह गरे?

१६ कान थापेर सुन्‍नुहोस्‌! यस भीषण संघर्षको सुरुआतबारे यहोवाको स्वर्गदूत यसरी वर्णन गर्छन्‌: “त्यसपछि दक्षिणका राजा शक्‍तिशाली हुनेछन्‌, तर [सिकन्दरका] कप्तानहरूमध्येका अर्को एक जनाले [उत्तरका राजाले] तिनलाई शक्‍तिमा जित्नेछन्‌, र तिनको भन्दा अझै ठूलो राज्य जित्नेछन्‌।” (दानियल ११:५) “उत्तरका राजा” र “दक्षिणका राजा” भन्‍ने पदावलीले दानियलका जनहरूको उत्तर र दक्षिणका राजाहरूलाई बुझाउँछ र दानियलका जनहरू यतिबेला बेबिलोनको बन्धनबाट मुक्‍त भएर यहूदा फर्किसकेका थिए। सुरुको “दक्षिणको राजा” मिश्रको टोलेमी प्रथम थिए। टोलेमी प्रथम विरुद्ध विजयी भएर “ठूलो राज्य” गर्ने सिकन्दरका सेनापति, सिरियाली राजा सेल्युकस प्रथम निकेटर थिए। तिनले “उत्तरका राजाको” भूमिका निर्वाह गरे।

१७. उत्तरका राजा र दक्षिणका राजाबीच संघर्ष सुरु हुँदा यहूदा कसको अधीनमा थियो?

१७ संघर्ष सुरु हुँदा यहूदा, दक्षिणका राजाको अधीनमा थियो। लगभग सा.यु.पू. ३२० देखि टोलेमी प्रथमले यहूदीहरूलाई मिश्रमा उपनिवेशी भएर आउन आग्रह गरिरहे। फलतः एलेक्जान्ड्रियामा यहूदी उपनिवेश फस्टायो र यहाँ टोलेमी प्रथमले एउटा प्रख्यात पुस्तकालयको स्थापना गरे। यहूदाका यहूदीहरू सा.यु.पू. १९८ सम्म दक्षिणका राजा, मिश्रका टोलेमीको अधीनमा थिए।

१८, १९. समयको दौडान दुई विद्रोही राजाहरूले कस्तो “सन्धि” गरे?

१८ दुई राजाहरूबारे स्वर्गदूतले यस्तो भविष्यवाणी गरे: “केही वर्षपछि उनीहरू मित्र बन्‍नेछन्‌। एउटा सन्धि गर्नका लागि दक्षिणका राजाकी छोरी उत्तरका राजाकहाँ जानेछिन्‌, तर तिनले आफ्नो शक्‍ति कायम गर्नेछैनन्‌, र उनी र उनको शक्‍ति दिगो रहनेछैनन्‌। ती दिनमा तिनका शाही रक्षकहरू र तिनका पिता र तिनका समर्थकका साथ तिनी सुम्पिइनेछिन्‌।” (दानियल ११:६, नयाँ संशोधित संस्करण) यो कसरी पूरा भयो?

१९ भविष्यवाणीमा सेल्युकस प्रथम निकेटरको छोरा र उत्तराधिकारी, एन्टियोकस प्रथमबारे केही बताइएको छैन किनभने तिनले दक्षिणका राजा विरुद्ध निर्णायक युद्ध लडेनन्‌। तर तिनका उत्तराधिकारी एन्टियोकस द्वितीयले टोलेमी प्रथमका छोरा, टोलेमी द्वितीय विरुद्ध लामो युद्ध लडे। त्यसपछि, एन्टियोकस द्वितीय र टोलेमी द्वितीय क्रमशः उत्तर र दक्षिणका राजा भए। एन्टियोकस द्वितीयले लाओडिससित विवाह गरेका थिए र तिनीहरूका छोराको नाउँ सेल्युकस द्वितीय थियो। अर्कोतिर, टोलेमी द्वितीयको छोरीको नाउँ बेरेनिस थियो। सा.यु.पू. २५० मा यी दुई राजाहरूले “एउटा सन्धि” गरे। यो गठबन्धनको लागि एन्टियोकस द्वितीयले आफ्नी श्रीमती लाओडिससित सम्बन्धविच्छेद गरेर “दक्षिणका राजाकी छोरी” बेरेनिससित विवाह गरे। अतः लाओडिसका छोराहरू होइन तर बेरेनिसबाट जन्मिएको छोरा सिरियाको राजगद्दीमा बसे।

२०. (क) कसरी बेरेनिसको “शक्‍ति” दिगो रहेन? (ख) के बेरेनिस, “तिनका समर्थक” र तिनलाई “शक्‍ति” दिनेहरू कमजोर भए? (ग) एन्टियोकस द्वितीयले आफ्नो “शक्‍ति” गुमाएपछि सिरियाका राजा को भए?

२० बेरेनिसको “शक्‍ति” भन्‍नु नै तिनको बुबा टोलेमी द्वितीय थिए। सा.यु.पू. २४६ मा टोलेमी द्वितीयको मृत्यु हुँदा बेरेनिसले आफ्नो पतिसित “शक्‍ति दिगो” राख्न सकिनन्‌। एन्टियोकस द्वितीयले तिनलाई त्यागेर फेरि लाओडिससित पुनर्विवाह गरे अनि लाओडिसबाट जन्मेका छोराहरूलाई आफ्नो उत्तराधिकारी घोषित गरे। लाओडिसको योजनाअनुसारै बेरेनिस र तिनको छोराको हत्या गरियो। प्राप्त प्रमाणअनुसार बेरेनिसलाई मिश्रबाट सिरिया ल्याउने “तिनका समर्थकहरूको” पनि त्यस्तै दुर्गति भयो। लाओडिसले एन्टियोकस द्वितीयलाई समेत विष खुवाएर मारे। यसरी तिनको “शक्‍ति दिगो” रहेन। यसर्थ, बेरेनिसको बुबा र तिनलाई केही समयको लागि “शक्‍ति” दिने सिरियाली पति दुवैको मृत्यु भयो। यसले गर्दा लाओडिसको छोरा, सेल्युकस द्वितीय सिरियाका राजा भए। यसप्रति अर्को टोलेमी राजाले कस्तो प्रतिक्रिया देखाउने थिए?

राजाले आफ्नी बहिनीको हत्याको बदला लिन्छन्‌

२१. (क) बेरेनिसको “वंशबाट” निस्केको को थियो र तिनी कसरी ‘उठे?’ (ख) टोलेमी तृतीय कसरी “उत्तरका राजाको किल्लाभित्र प्रवेश” गरेर विजयी भए?

२१ स्वर्गदूतले भने, “तिनको स्थान लिनका निम्ति एक जना तिनको वंशबाट उठ्‌नेछन्‌। उनले उत्तरका राजाको सैन्य शक्‍तिमाथि आक्रमण गर्नेछन्‌ र उनको किल्लाभित्र प्रवेश गर्नेछन्‌। उनले तिनीहरूका विरुद्ध लडाइँ गर्नेछन्‌ र विजयी हुनेछन्‌।” (दानियल ११:७, नयाँ संशोधित संस्करण) बेरेनिसको आमाबुबाको “वंशबाट” निस्केको व्यक्‍ति, तिनको भाइ थिए। बुबाको मृत्युपछि तिनी दक्षिणका राजा, मिश्री फिरऊन टोलेमी तृतीयको रूपमा ‘उठे।’ तिनी आफ्नी बहिनीको हत्याको बदला लिन सुरिए। बेरेनिस र तिनको छोराको हत्या गर्न लाओडिसले चलाएको सिरियाली राजा सेल्युकल द्वितीय विरुद्ध आक्रमण गर्न तिनी “उत्तरका राजाको किल्लाभित्र” प्रवेश गरे। टोलेमी तृतीयले एन्टियोकको बलियो किल्ला आफ्नो कब्जामा लिए अनि लाओडिसको हत्या गरे। तिनी उत्तरका राजाको इलाकामा कब्जा जमाउन पूर्वतिर लम्केर बेबिलोनियालाई तहसनहस गरे अनि त्यसपछि भारततर्फ लागे।

२२. टोलेमी तृतीयले मिश्रमा के ल्याए अनि तिनले किन “केही वर्षका लागि उत्तरका राजालाई” छोडे?

२२ त्यसपछि के भयो? परमेश्‍वरको स्वर्गदूत हामीलाई यसरी बताउँछन्‌: “उनले तिनीहरूका देवताहरू, तिनीहरूका फलामे मूर्तिहरू र चाँदी र सुनका बहुमूल्य भाँडाकुँडाहरू पनि जफत गर्नेछन्‌ र मिश्रदेशतिर लैजानेछन्‌। केही वर्षका लागि उनले उत्तरका राजालाई छोड्‌नेछन्‌।” (दानियल ११:८, नयाँ संशोधित संस्करण) लगभग २०० वर्षअघि फारसी राजा क्याम्बिसेज द्वितीयले मिश्रमाथि विजय हासिल गरेर मिश्री देवहरूका “फलामे मूर्तिहरू” ल्याएका थिए। फारसको भूतपूर्व शाही राजधानी सुसालाई भताभुंग पारेर टोलेमी तृतीयले यी देवहरू “जफत” गरेर मिश्र ल्याए। तिनले लुटका धनसरह “चाँदी र सुनका बहुमूल्य भाँडाकुँडाहरू” पनि ल्याए। आफ्नो देशमा चर्किरहेको विद्रोहलाई शान्त पार्न टोलेमी तृतीयले ‘उत्तरका राजालाई छोडे’ र कुनै क्षति पुऱ्‍याएनन्‌।

सिरियाली राजाले प्रतिरोध गर्छन्‌

२३ दक्षिणका राजाको राज्यभित्र घुसिसकेका उत्तरका राजा किन “आफ्नै देशमा” फर्के?

२३ उत्तरका राजाले कस्तो प्रतिक्रिया व्यक्‍त गरे? दानियललाई यसो भनियो: “उत्तरका राजाले दक्षिणका राजाको राज्यमाथि हमला गर्नेछन्‌ तर उनी आफ्नै देशमा फर्कनेछन्‌।” (दानियल ११:९, नयाँ संशोधित संस्करण) उत्तरका राजा अर्थात्‌ सिरियाली राजा सेल्युकस द्वितीयले प्रतिरोध गरे। तिनी दक्षिणका राजा अर्थात्‌ मिश्री राजाको “राज्य” वा इलाकामा घुसे तर तिनले पराजय भोग्नु पऱ्‍यो। आफ्नो सैन्यदल कम हुँदै गएकोले सेल्युकस द्वितीय, सा.यु.पू. २४२ मा ‘आफ्नै देशमा फर्के’ अर्थात्‌ सिरियाली राजधानी एन्टियोक गए। तिनको मृत्युपछि तिनका छोरा सेल्युकस तृतीय राजा भए।

२४. (क) सेल्युकस तृतीयलाई के भयो? (ख) सिरियाली राजा एन्टियोकस तृतीय कसरी दक्षिणका राजाको इलाकामा “रोक्न नसकिने बाढीझैं” आए?

२४ सिरियाली राजा सेल्युकस द्वितीयको सन्तानबारे कस्तो भविष्यवाणी गरिएको थियो? स्वर्गदूतले दानियललाई यसो भने: “तिनका छोराहरू एक ठूलो सैन्यदल जम्मा गर्नमा व्यस्त रहनेछन्‌। तिनीहरूमध्येको एक जनाले चाहिं रोक्न नसकिने बाढ़ीझैं जित्दै जित्दै लानेछन्‌। त्यसपछि तिनी शत्रुको किल्लासम्मै बढ़दै जानेछन्‌।” (दानियल ११:१०) सेल्युकस तृतीयको हत्याले गर्दा तीन वर्ष शासन गर्न नपाउँदै तिनको शासनको अन्त भयो। तिनको भाइ, एन्टियोकस तृतीय, सिरियाली राजगद्दीको उत्तराधिकारी भए। सेल्युकस द्वितीयको यो छोराले दक्षिणका राजा अर्थात्‌ टोलेमी चौथो विरुद्ध आक्रमण गर्न ठूलो सैन्यदल तयार पारे। उत्तरका नयाँ सिरियाली राजाले मिश्रलाई परास्त गरे अनि सेल्युसियाका बन्दरगाह, सिलि-सिरियाको प्रान्त, टायर, टालेमाइस र वरपरका शहरहरू फेरि आफ्नो कब्जामा लिए। तिनले राजा टोलेमी चौथोको सेनालाई अर्कैतिर फर्काएर थुप्रै शहरहरू आफ्नो कब्जामा लिए। सा.यु.पू. २१७ को वसन्तऋतुमा एन्टियोकस तृतीय टोलेमाइसबाट उत्तरतिर सिरियाको “किल्लासम्मै” गए। तर अब अवस्था अर्कै हुनेवाला थियो।

पासा पल्टन्छ

२५. टोलेमी चौथोले एन्टियोकस तृतीयसित कहाँ लडाइँ गरे अनि दक्षिणका मिश्री राजाको “हातमा” के दिइयो?

२५ दानियलजस्तै हामी पनि यहोवाको स्वर्गदूतले गर्ने भविष्यवाणी ध्यान दिएर सुन्छौं: “तब क्रोधित भएर दक्षिणका राजा उत्तरका राजासँग युद्ध गर्न निस्कनेछन्‌, औ तिनले पनि, अर्थात्‌ उत्तरका राजाले पनि एउटा ठूलो सैन्य–दल खड़ा गर्नेछन्‌, तर त्यो दल शत्रुको हातमा सुम्पिइनेछ।” (दानियल ११:११) दक्षिणका राजा, टोलेमी चौथो ७५,००० सिपाही भएको सैन्यदल लिएर उत्तरतिर शत्रु विरुद्ध लम्के। उत्तरका सिरियाली राजा, एन्टियोकस तृतीयले शत्रुको विरुद्ध ६८,००० को “ठूलो सैन्य-दल” खडा गरिसकेका थिए। तर यो “सैन्य-दल” मिश्रको सिमाना नजिकै तटवर्ती शहर राफियाको लडाइँमा दक्षिणका राजाको “हातमा” परे।

२६. (क) राफियाको युद्धमा दक्षिणका राजाले कस्तो “सैन्य-दल” लगे अनि त्यहाँ गरिएको शान्ति सन्धिका सर्तहरू के थिए? (ख) टोलेमी चौथो कसरी “विजयी” हुन खोजेनन्‌? (ग) त्यसपछि दक्षिणका राजा को भए?

२६ भविष्यवाणी अझै यसो भन्छ: “जब यो सेना लगिन्छ, दक्षिणका राजाले घमण्डले फुलेर हजारौंलाई मार्नेछन्‌, तैपनि उनी विजयी रहनेछैनन्‌।” (दानियल ११:१२, नयाँ संशोधित संस्करण) दक्षिणका राजा, टोलेमी चौथोले १०,००० सिरियाली पैदल सेना र ३०० घोडसवारलाई ‘लगे’ अर्थात्‌ तिनीहरूलाई मारे अनि ४,००० लाई कैदी बनाएर लगे। त्यसपछि ती राजाहरूले गरेको सन्धिअनुसार एन्टियोकस तृतीयले सेल्युसियाका बन्दरगाहहरूलाई कायमै राखे तर फोनिसिया र सिल-सिरिया गुमाउनुपऱ्‍यो। यो विजयले गर्दा दक्षिणका मिश्री राजा विशेष गरी यहोवा विरुद्ध ‘घमण्डले फुल्यो’। यहूदाचाहिं टोलेमी चौथोको नियन्त्रणमै रह्‍यो। तथापि, तिनले उत्तरका सिरियाली राजामाथि विजय हासिल गरेपछि अझै “विजयी” हुन खोजेनन्‌। टोलेमी चौथोले पतित जीवन बिताउन थाले अनि तिनको पाँच वर्षीय छोरा, टोलेमी पाँचौं, एन्टियोकस तृतीयको मृत्यु हुनुभन्दा केही वर्षअघि दक्षिणका राजा भए।

पराक्रमी फर्कन्छन्‌

२७. मिश्रबाट आफ्नो इलाका पुनः प्राप्त गर्न उत्तरका राजा कसरी “समय साल[को]” अन्तमा फर्के?

२७ एन्टियोकस तृतीयका पराक्रमी कार्यहरूले गर्दा तिनी महान्‌ एन्टियोकस कहलिए। तिनीबारे स्वर्गदूतले यसो भने: “उत्तरका राजाले फेरि एकपल्ट अघिको भन्दा पनि अझ ठूलो सैन्य–दल खड़ा गर्नेछन्‌, र समय सालमा एउटा ठूलो सेना र प्रशस्त राशन–सामग्रीसमेत लिएर बढ़नेछन्‌।” (दानियल ११:१३) यो “समय” मिश्रीहरूले सिरियालीहरूलाई राफियामा पराजित गरेपछिको १६ वर्ष वा त्योभन्दा लामो अवधि हो। जवान टोलेमी पाँचौं, दक्षिणका राजा भएपछि एन्टियोकस तृतीयले दक्षिणका मिश्री राजासितको युद्धमा गुमाउनु परेका इलाकाहरू पुनः प्राप्त गर्न “अघिको भन्दा अझ ठूलो सैन्य-दल” खडा गरे। यसो गर्न तिनले म्यासिडोनियाली राजा फिलिप पाँचौंसित मिलेमतो गरे।

२८ दक्षिणका जवान राजाले कस्ता समस्याहरू सामना गर्नुपऱ्‍यो?

२८ दक्षिणका राजाको पनि आफ्नै राज्यभित्र समस्याहरू थिए। त्यसबारे स्वर्गदूतले यसो भने, “ती दिनहरूमा धेरै जना दक्षिणका राजाको विरुद्धमा उठ्‌नेछन्‌।” (दानियल ११:१४क, नयाँ संशोधित संस्करण) साँच्चै नै थुप्रै “दक्षिणका राजाको विरुद्धमा उठे।” एन्टियोकस तृतीय र तिनका म्यासिडोनियाली सहयोगीको सैन्यदलको आक्रमणको साथसाथै दक्षिणका जवान राजाले आफ्नै देश मिश्रमा पनि समस्याहरू सामना गर्नुपऱ्‍यो। तिनको नाउँमा शासन गर्ने अभिभावक अगाथाक्लिजले मिश्रीहरूसित कठोर व्यवहार गरेको हुँदा धेरैले विद्रोह गरे। स्वर्गदूतले अझ यसो भने: “यो दर्शन पूरा गर्न तिम्रो आफ्नै जातिका मानिसहरूमध्येबाटै हिंसात्मक मानिसहरू निस्कनेछन्‌ तर सफल हुनेछैनन्‌।” (दानियल ११:१४ख) दानियलका कोही कोही जनहरूसमेत ‘हिंसात्मक मानिसहरू’ वा क्रान्तिकारीहरू भए। तर आफ्नो मातृभूमिमाथि अन्यजातिको अधिपत्य अन्त हुनेछ भन्‍ने ती यहूदी पुरुषहरूको “दर्शन” गलत थियो। तिनीहरू ‘सफल हुने थिएनन्‌।’

२९, ३०. (क) “दक्षिणको सेना” कसरी उत्तरका राजाको हातबाट पराजित हुनुपऱ्‍यो? (ख) उत्तरका राजा कसरी “असल देशमा” खडा हुन पुगे?

२९ यहोवाको स्वर्गदूतले अझ यस्तो अगमवाणी गरे: “उत्तरका राजा आएर घेरा–मचान उठाउनेछन्‌, र पर्खाल भएको शहरलाई लिनेछन्‌, औ दक्षिणको सेनाले तिनको सामना गर्नसक्नेछैनन्‌। यहाँसम्म कि तिनीहरूका फौजका वीर वीर जवानहरू पनि तिनको सामने अड़िनसक्नेछैनन्‌। औ यसरी तिनको विरोधीले जस्तो मन लाग्यो त्यस्तै गर्नेछन्‌, औ तिनलाई कसैले विरोध गर्नेछैन। सबैभन्दा असल देशमा तिनले आफैलाई बसाल्नेछन्‌, औ ती जम्मै तिनकै अधिकारमा आउनेछन्‌।”—दानियल ११:१५, १६.

३० टोलेमी पाँचौंको नेतृत्वमा गएको सैन्यदल वा “दक्षिणको सेनाले” उत्तरको आक्रमण सहन सकेन। पानिआसमा (सिजरिया फिलिप्पी) एन्टियोकस तृतीयले मिश्रको सेनापति स्कोपास र तिनका छानिएका १०,००० पुरुषहरू अथवा “वीर वीर जवानहरू[लाई]” सिदोन अर्थात्‌ “पर्खाल भएको शहरमा” धपाए। त्यहाँ एन्टियोकस तृतीयले ‘घेरा-मचान उठाए’ अनि सा.यु.पू. १९८ मा फोनिसियाली बन्दरगाह शहर आफ्नो कब्जामा लिए। तिनले “जस्तो मन लाग्यो त्यस्तै” गरे किनभने दक्षिणका मिश्री राजाको सैन्यदल तिनको सामु खडा हुनसकेन। त्यसपछि एन्टियोकस तृतीय, यरूशलेम अर्थात्‌ “असल देश[को]” राजधानी यहूदा विरुद्ध जाइलागे। सा.यु.पू. १९८ मा यरूशलेम र यहूदामाथि दक्षिणका मिश्री राजाको प्रभुत्व हट्यो र उत्तरका सिरियाली राजाको नियन्त्रणमा रहन गयो। अनि एन्टियोकस तृतीय अर्थात्‌ उत्तरका राजाले ‘असल देशमा आफैलाई बसाले।’ तिनले विरोधी यहूदी र मिश्रीहरू सबैलाई आफ्नै “अधिकारमा” ल्याए। यो उत्तरका राजाले कतिञ्जेल आफूलाई जस्तो मन लाग्यो त्यस्तै गर्ने थिए?

रोमले पराक्रमीलाई रोक्छन्‌

३१, ३२. उत्तरका राजाले किन दक्षिणका राजासित शान्ति “सन्धि” गर्न पुगे?

३१ यहोवाको स्वर्गदूत हामीलाई यस्तो जवाफ दिन्छन्‌: “उनले [उत्तरका राजाले] आफ्नो सम्पूर्ण राज्यको शक्‍तिसाथ आउने निर्णय गर्नेछन्‌ र दक्षिणका राजासँग सन्धि गर्नेछन्‌। अनि त्यो राज्य पराजित गर्नलाई उनले आफ्नी छोरी तिनलाई विवाह गर्न दिनेछन्‌, तर उनको योजना सफल हुनेछैन नता उनलाई मदत नै हुनेछ।”—दानियल ११:१७, नयाँ संशोधित संस्करण।

३२ उत्तरका राजा एन्टियोकस तृतीयले “आफ्नो सम्पूर्ण राज्यको शक्‍तिसाथ” मिश्रलाई आफ्नो अधीनमा राख्ने “निर्णय” गरे। तर तिनी दक्षिणका राजा, टोलेमी पाँचौंसित शान्ति “सन्धि” गर्न पुगे। रोमका मागहरूले गर्दा एन्टियोकस तृतीयले आफ्नो योजना बदल्नु परेको थियो। तिनी र म्यासिडोनियाका राजा फिलिप पाँचौं, कलिलो उमेरको मिश्री राजाका इलाकाहरूलाई आफ्नो कब्जामा लिन तम्सिंदा टोलेमी पाँचौंका संरक्षकहरूले रोमलाई गुहारे। आफ्नो इलाका विस्तार गर्ने यो मौकाको फाइदा उठाउँदै रोमले आफ्नो शक्‍ति प्रदर्शन गर्न खोज्यो।

३३. (क) एन्टियोकस तृतीय र टोलेमी पाँचौंले शान्ति सन्धिका कस्ता सर्तहरू राखेका थिए? (ख) क्लीयोपात्रा प्रथम र टोलेमी पाँचौंबीच गरिएको विवाहको उद्देश्‍य के थियो र यो षड्यन्त्र किन सफल हुन सकेन?

३३ रोमको दबाउले गर्दा एन्टियोकस तृतीयले दक्षिणका राजासित शान्ति सन्धि गर्ने प्रस्ताव राखे। रोमले माग गरेअनुसार आफूले कब्जा गरेका इलाकाहरू फिर्ता गर्नुको साटो एन्टियोकस तृतीयले “आफ्नी छोरी” क्लीयोपात्रा प्रथमलाई टोलेमी पाँचौंसित विवाह गर्न लगाएर नाउँ मात्रको सट्टापट्टा गरे। “असल देश” यहूदालगायत अन्य प्रान्तहरू उनलाई दाइजोसरह दिइने थियो। तथापि, सा.यु.पू. १९३ मा सम्पन्‍न विवाहमा सिरियाली राजाले यी प्रान्तहरू टोलेमी पाँचौंलाई दिन मानेनन्‌। यो मिश्रलाई सिरियाको अधीनमा पार्ने राजनैतिक विवाह मात्र थियो। तर यो षड्यन्त्र असफल भयो किनभने क्लीयोपात्रा प्रथमले आफ्ना पतिलाई साथ दिएर ‘उनलाई मदत गरिनन्‌।’ एन्टियोकस तृतीय र रोमीहरूबीच लडाइँ हुँदा मिश्रले रोमको पक्ष लियो।

३४, ३५. (क) उत्तरका राजाले “समुद्र किनारका” कुन “देशहरू[तिर]” आँखा लगाए? (ख) उत्तरका राजाको “हाँकलाई” रोमले कसरी अन्त गऱ्‍यो? (ग) एन्टियोकस तृतीयको कसरी मृत्यु भयो र त्यसपछि उत्तरका राजा को भए?

३४ उत्तरका राजाको पराजयलाई संकेत गर्दै स्वर्गदूतले यसो भने: “तब तिनी [एन्टियोकस तृतीय] समुद्र किनारका देशहरू र टापूहरूतिर फर्केर धेरैलाई कैदी बनाउनेछन्‌, तर एउटा विदेशी सेनापतिले [रोम] तिनलाई थकाएर [एन्टियोक तृतीयको] हाँकलाई अन्त गरिदिनेछन्‌। यसरी ती विदेशी सेनापतिले [रोम] तिनको हाँक तिनकै शिरमा बजारिदिनेछन्‌। तिनी [एन्टियोकस तृतीय] आफ्नै किल्लातिर भागेर जानेछन्‌। त्यहींनै तिनको नाश हुनेछ, र फेरि कहिल्यै देखिनेछैनन्‌।”—दानियल ११:१८, १९.

३५ “समुद्र किनारका देशहरू” म्यासिडोनिया, युनान र एसिया माइनर थिए। सा.यु.पू. १९२ मा युनानमा युद्ध भयो र एन्टियोकस तृतीयलाई युनान आउन आग्रह गरियो। त्यहाँ थप इलाकाहरू कब्जा गर्ने सिरियाली राजाका प्रयासदेखि चित्त नबुझेर रोमले तिनी विरुद्ध युद्ध गर्ने औपचारिक घोषणा गऱ्‍यो। थर्मोपाइलेमा तिनले रोमीहरूको हातबाट पराजय भोग्नुपऱ्‍यो। सा.यु.पू. १९० मा म्याग्नेजियाको युद्ध हारेको एक वर्षपछि तिनले युनान, एसिया माइनर र टाउरस पहाडको पश्‍चिमी इलाकामा भएका सबथोक दिनुपऱ्‍यो। रोमले चर्को कर तिर्न लगायो र उत्तरका सिरियाली राजामाथि आफ्नो प्रभुत्व जमायो। युनान र एसिया माइनरबाट खेदिएका अनि आफ्ना पूरै सैन्यदल गुमाइसकेका एन्टियोकस तृतीय सिरिया अर्थात्‌ ‘आफ्नै किल्लातिर भागेर गए।’ रोमीहरूले ‘तिनको हाँक तिनकै शिरमा बजारिदिए।’ सा.यु.पू. १८७ मा फारसस्थित एलेमायसको मन्दिर लुट्‌न खोज्दा एन्टियोकस तृतीयको मृत्यु भयो। यसरी तिनको “नाश” भयो र तिनको छोरा, सेल्युकस चौथो तिनको उत्तराधिकारी अर्थात्‌ उत्तरका नयाँ राजा भए।

संघर्ष जारी रहन्छ

३६. (क) दक्षिणका राजाले कसरी संघर्ष गरिरहे अनि तिनलाई पछि के भयो? (ख) सेल्युकसको पतन कसरी भयो र तिनीपछि को राजा भए?

३६ दक्षिणका राजा, टोलेमी पाँचौंले क्लीयोपात्राले दाइजोको रूपमा पाउनुपर्ने प्रान्तहरू हात पार्न खोजे तर तिनलाई विष खुवाएर मारियो। त्यसपछि टोलेमी छैठौं राजा भए। सेल्युकस चौथो नि? रोमलाई तिर्नुपर्ने चर्को कर तिर्न तिनले यरूशलेमको मन्दिरमा धनसम्पत्ति छ भन्ठानेर आफ्नो खजान्ची हेलियोडोरसलाई लुट्‌न पठाए। सिंहासनको लोभको कारण हेलियोडोरसले सेल्युकस चौथोको हत्या गरे। तथापि, पर्गाममका राजा युमेनस र तिनको भाइ अटालसले मारिएका राजाको भाइ एन्टियोकस चौथोलाई राजगद्दीमा बसाले।

३७. (क) एन्टियोकस चौथोले कसरी आफूलाई यहोवा परमेश्‍वरभन्दा शक्‍तिशाली देखाउन खोजे? (ख) एन्टियोकस चौथोले यरूशलेमको मन्दिरलाई अपवित्र तुल्याउँदाको परिणाम के भयो?

३७ उत्तरका नयाँ राजा, एन्टियोकस चौथोले आफूलाई परमेश्‍वरभन्दा शक्‍तिशाली साबित गर्न यहोवाको उपासनालाई नामेट पार्न खोजे। यहोवालाई इन्कार गर्दै तिनले यरूशलेमको मन्दिर जियस अथवा जुपिटरलाई समर्पित गरे। यहोवालाई दिनहुँ होमबलि चढाइने मन्दिरको चोकको ठूलो वेदीमा सा.यु.पू. १६७ मा एउटा मूर्तिपूजक वेदी खडा गरियो। त्यसको दस दिनपछि त्यही मूर्तिपूजक वेदीमा जियसको लागि बलि चढाइयो। यसरी वेदीलाई अपवित्र तुल्याउँदा यहूदीहरूले मक्काबीहरूसित मिलेर विद्रोह गरे। एन्टियोकस चौथोले यहूदीहरूसित तीन वर्षसम्म युद्ध गरे। सा.यु.पू. १६४ मा वेदीलाई अपवित्र तुल्याइएको वार्षिकीमा जुडास मक्काबियसले यो मन्दिर पुनः यहोवालाई नै समर्पित गरे अनि समर्पण उत्सव अर्थात्‌ हनुकाहको सुरुआत गरे।—यूहन्‍ना १०:२२.

३८. मक्काबी शासनको कसरी अन्त भयो?

३८ सम्भवतः मक्काबीहरूले सा.यु.पू. १६१ मा रोमसित सन्धि गरेर सा.यु.पू. १०४ मा राज्य स्थापना गरे। तर तिनीहरू र उत्तरका राज्यबीच तनाउ यथावतै रह्‍यो। अन्ततः रोमलाई हस्तक्षेप गर्न बोलाइयो। रोमी सेनापति नायस पम्पेले यरूशलेमलाई तीन महिनासम्म घेरा हालेर सा.यु.पू. ६३ मा कब्जा गरे। सा.यु.पू. ३९ मा रोमी संसदले एदोमी हेरोदलाई यहूदियाका राजा नियुक्‍त गरे। यसरी मक्काबी शासनको अन्त भएपछि तिनले सा.यु.पू. ३७ मा यरूशलेममाथि शासन गरे।

३९. दानियल ११:१-१९ मा ध्यान दिनुभएर तपाईंले कसरी लाभ उठाउनुभयो?

३९ दुई राजाको संघर्षबारे गरिएको भविष्यवाणीको पहिलो भाग यसरी विस्तृत रूपमा पूरा भएको हेर्न पाउनु साह्रै रोमाञ्चकारी कुरा हो! निस्सन्देह, दानियललाई भविष्यसूचक वचन दिइएको ५०० वर्षपछिको इतिहास अनि दक्षिणका राजा र उत्तरका राजाको भूमिका निर्वाह गर्ने शासकहरू चिन्‍न पाउनु पनि अत्यन्तै रोचक कुरा हो! तथापि, यी दुई राजाबीचको संघर्ष येशू ख्रीष्ट यस पृथ्वीमा आउनुभएको समयदेखि अहिले हाम्रो समयसम्म चलिरहेको छ तर तिनीहरूको राजनैतिक चिनारी भने फरक फरक भएको छ। यो भविष्यवाणीमा प्रकट गरिएका अद्‌भुत विवरणहरूलाई ऐतिहासिक तथ्यसित मिलान गरेर हामी यी दुई राजालाई प्रस्टै चिन्‍नेछौं।

तपाईंले के बुझ्नुभयो?

• युनानी राज्यहरूबाट कस्ता दुई शक्‍तिशाली राजा देखा परे र यी राजाहरूले कस्तो संघर्ष सुरु गरे?

दानियल ११:६ मा भविष्यवाणी गरिएअनुसार दुई राजाले कस्तो “सन्धि” गरे?

• यी राजाहरूबीच कसरी संघर्ष कायम रह्‍यो?

सेल्युकस द्वितीय र टोलेमी तृतीय (दानियल ११:७-९)?

एन्टियोकस तृतीय र टोलेमी चौथो (दानियल ११:१०-१२)?

एन्टियोकस तृतीय र टोलेमी पाँचौं (दानियल ११:१३-१६)?

• क्लीयोपात्रा प्रथम र टोलेमी पाँचौंबीचको विवाहको उद्देश्‍य के थियो र यो षड्यन्त्र किन असफल भयो (दानियल ११:१७-१९)?

दानियल ११:१-१९ मा ध्यान दिनुभएर तपाईंले कसरी लाभ उठाउनुभयो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २२८-मा भएको पेटी/चित्र]

दानियल ११:५–१९ का राजाहरू

उत्तरका दक्षिणका

राजा राजा

दानियल ११:५ सेल्युकस प्रथम निकेटर टोलेमी प्रथम

दानियल ११:६ एन्टियोकस द्वितीय टोलेमी द्वितीय

(पत्नी लाओडिस) (छोरी बेरेनिस)

दानियल ११:७-९ सेल्युकस द्वितीय टोलेमी तृतीय

दानियल ११:१०-१२ एन्टियोकस तृतीय टोलेमी चौथो

दानियल ११:१३-१९ एन्टियोकस तृतीय टोलेमी पाँचौं

(छोरी क्लीयोपात्रा प्रथम) उत्तराधिकारी:

उत्तराधिकारीहरू: टोलेमी छैठौं

सेल्युकस चौथो र

एन्टियोकस चौथो

[चित्र]

टोलेमी द्वितीय र तिनकी पत्नी चित्रांकित सिक्का

[चित्र]

सेल्युकस प्रथम निकेटर

[चित्र]

एन्टियोकस तृतीय

[चित्र]

टोलेमी छैठौं

[चित्र]

टोलेमी तृतीय र तिनका उत्तराधिकारीहरूले मिश्रको माथिल्लो भाग, इड्‌फुमा यो होरसको मन्दिर निर्माण गरे

[पृष्ठ २१६-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

“उत्तरका राजा” र “दक्षिणका राजा” भन्‍ने नाउँले दानियलका जनहरूको देशबाट उत्तर र दक्षिणतिर पर्ने राजालाई संकेत गर्छ

म्यासिडोनिया

ग्रीस

एसिया माइनर

इजरायल

लिबिया

मिश्र

इथियोपिया

सिरिया

बेबिलोन

अरेबिया

[चित्र]

टोलेमी द्वितीय

[चित्र]

महान्‌ एन्टियोकस

[चित्र]

महान्‌ एन्टियोकसको औपचारिक आदेश भएको शिलालेख

[चित्र]

टोलेमी पाँचौं चित्रांकित सिक्का

[चित्र]

मिश्रको कर्नाकमा टोलेमी तृतीयको ढोका

[पृष्ठ २१०-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ २१५-मा भएको चित्र]

सेल्युकस प्रथम निकेटर

[पृष्ठ २१५-मा भएको चित्र]

टोलेमी प्रथम