सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दानियलको पुस्तक र तपाईं

दानियलको पुस्तक र तपाईं

अध्याय एक

दानियलको पुस्तक र तपाईं

१, २. (क) बाइबलको पुस्तक दानियलमा प्रस्तुत गरिएका केही असामान्य परिस्थितिहरू के हुन्‌? (ख) वर्तमान समयमा दानियलको पुस्तकबारे के-कस्ता प्रश्‍न खडा हुन्छन्‌?

 एक जना पराक्रमी राजाले बुझ्नै गाह्रो सपना देख्छन्‌ र त्यसको अर्थ खुलाउन नसकेमा ज्ञानी पुरुषहरूलाई मार्ने धम्की दिन्छन्‌। एउटा विशाल मूर्तिलाई उपासना गर्न इन्कार गर्ने तीन जना जवान केटाहरू दन्केको आगोको भट्टीमा फ्याँकिन्छन्‌ तर तिनीहरूलाई आगोले अलिकति पनि हानि गर्दैनन्‌। भोजको रमझममा मस्त भइरहेको बेला हजारौं मानिसहरूले महलको भित्तामा एउटा हातले रहस्यमय अक्षरहरू लेखेको देख्छन्‌। दुष्ट षड्यन्त्रकारीहरूले एक जना वृद्ध मानिसलाई सिंहको खोरमा फ्याँकिदिन्छन्‌ तर उसको शरीरमा सिंहले कोतरेको सानो दागसमेत पाइँदैन। परमेश्‍वरको अगमवक्‍ताले दर्शनमा चारवटा पशु देख्छन्‌ र त्यसको अर्थले भविष्यमा सदियौं पछिसम्मका घटनाहरूलाई असर गर्छ।

यी हुन्‌, बाइबलको पुस्तक दानियलमा पाइने केही विवरणहरू। के यी विवरणहरू गम्भीरतासाथ विचार गर्नु जरुरी छ? के यो पुरानो पुस्तक अहिले हाम्रो समयको लागि अर्थपूर्ण होला र? आजभन्दा लगभग २,६०० वर्षअघि घटेका घटनाहरूमा हामीले चासो राख्नुपर्ने कारण के हो?

वर्तमान समयको लागि एउटा पुरानो पुस्तक–दानियल

३, ४. मानवजातिको भविष्यबारे थुप्रै मानिस चिन्तित हुनु किन मनासिब हो?

दानियलको पुस्तकको प्रायजसो भाग विश्‍व शासनको विषयमा केन्द्रित छ र यो हाम्रो समयमा प्रमुख चासोको विषय हो। हामी कठिन समयमा बाँचिरहेका छौं भन्‍ने सन्दर्भमा कसैको दुई मत नहोला। विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय प्रगतिको बावजूद मानिसलाई अन्योलमा पार्ने समस्याहरूको दलदलमा मानव समाज डुब्दै गइरहेको समाचार दिनदिनै सुन्छौं।

विचार गर्नुहोस्‌: मानिसले चन्द्रमामा पाइला टेकिसक्यो तर पृथ्वीका कतिपय ठाउँ यस्ता छन्‌ जहाँ मानिसहरू मनमा कुनै डर त्रास नलिई हिंडडुल गर्न सक्दैनन्‌। आफ्नो घरमा किसिम किसिमका सुखसुविधाका साधनहरू जुटाउँछन्‌ तर परिवार टुक्रनदेखि रोक्न सकेका छैनन्‌। मानिसले सञ्चार युगको थालनी त गऱ्‍यो तर मानिसहरूलाई एकआपसमा मिलेर बस्न पटक्कै सिकाएको छैन भने पनि हुन्छ। इतिहासका प्राध्यापक, ह्‍यु थमसले एक चोटि यसो भनेका थिए: “ज्ञान र शिक्षाले मानवजातिलाई आत्मसंयमबारे खासै सिकाउन सकेको छैन र एकआपसमा कसरी मिलेर बस्ने भन्‍ने सन्दर्भमा त झनै शून्य छ।”

५. मानव शासनको परिणाम प्रायजसो कस्तो भएको छ?

समाजमा सुव्यवस्था स्थापना गर्ने प्रयासमा मानिसले विभिन्‍न प्रकारका शासन व्यवस्थाहरू अपनाएर हेरेका छन्‌। तर ती सबैले राजा सुलेमानका यी शब्दहरू झल्काउँछन्‌: “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।” (उपदेशक ४:१; ८:९) हो, कतिपय शासकहरूले उच्च विचार नराखेका होइनन्‌। तर, कुनै पनि राजा, राष्ट्रपति वा तानाशाहले रोगबिमार र मृत्यु हटाउन सक्दैन। परमेश्‍वरले सुरुमा पृथ्वीलाई बनाउन खोज्नुभएको जस्तो प्रमोदवन कुनै पनि मानवले पुनर्स्थापना गर्न सक्दैन।

६. यहोवालाई आफ्नो इच्छा पूरा गर्न किन मानव शासनको सहयोग चाहिंदैन?

यद्यपि, सृष्टिकर्ता त्यसो गर्न इच्छुक मात्र होइन, सक्षम पनि हुनुहुन्छ। आफ्नो उद्देश्‍य पूरा गर्न उहाँलाई मानव सरकारहरूको अनुमति चाहिंदैन किनभने “उहाँको लेखामा सबै जातिहरू ता गाग्रोबाट चुहेको थोपोजस्तै मात्र छन्‌, र तराजूमा टाँसेको धूलोजस्तै गनिएका छन्‌।” (यशैया ४०:१५) हो, यहोवा ब्रह्‍माण्डको सार्वभौम सत्ताधारी शासक हुनुहुन्छ। त्यसकारण, उहाँसित जति अख्तियार छ त्यति अरू कुनै पनि मानव सरकारसित छैन। सबै मानव शासनको साटो परमेश्‍वरको राज्यले शासन गरेर मानवजातिलाई चिरस्थायी आशिष्‌ प्रदान गर्नेछ। सायद, यो कुरा बाइबलको पुस्तक दानियलमा जत्तिको स्पष्टसित अरू कतै पनि बताइएको छैन होला।

परमेश्‍वरको एकदमै प्रिय पात्र–दानियल

७. दानियल को थिए र यहोवाले तिनलाई कस्तो ठान्‍नुहुन्थ्यो?

अगमवक्‍ताको हैसियतमा निकै वर्ष सेवा गर्ने दानियललाई यहोवा परमेश्‍वर एकदमै माया गर्नुहुन्थ्यो। त्यसैकारण, परमेश्‍वरको दूतले दानियललाई “अति प्रिय मानिस” भने। (दानियल ९:२३) “अति प्रिय मानिस” भनी अनुवाद गरिएको मौलिक हिब्रू पदले “एकदमै प्यारो,” “अति आदरणीय” र “सबैभन्दा मन पर्ने” भन्‍ने अर्थ बुझाउनसक्छ। परमेश्‍वरको नजरमा दानियल एकदमै बहुमूल्य थिए।

८. दानियल कसरी बेबिलोन पुगे?

आउनुहोस्‌, हामी यस प्रिय अगमवक्‍ताको असामान्य परिस्थितिबारे छोटकरीमा छलफल गरौं। सा.यु.पू. ६१८ मा बेबिलोनी राजा नबूकदनेसरले यरूशलेमलाई घेरा हाले। (दानियल १:१) त्यसको केही समयपछि, ज्ञानले परिपूर्ण भएका केही यहूदीहरूलाई जबरजस्ती बेबिलोनमा कैदी बनाएर लगियो। त्यो समूहमा दानियल पनि थिए। हुनसक्छ त्यतिबेला तिनी किशोरावस्थामै थिए।

९. दानियल र तिनका हिब्रू साथीहरूलाई कस्तो तालिम दिइयो?

“कल्दीहरूका भाषा र साहित्य” सिक्न तीन वर्षे प्रशिक्षणको लागि छानिएका हिब्रूहरूमध्ये दानियल र तिनका साथीहरू हनन्याह, मीशाएल र अजर्याह पनि थिए। (दानियल १:३, ४) कोही कोही शास्त्रविद्‌का अनुसार यो भाषा सिकाउने तालिम मात्र थिएन। उदाहरणका लागि, प्राध्यापक सि. एफ. काइल यसो भन्छन्‌: “दानियल र तिनका साथीहरूलाई बेबिलोनका स्कूलहरूमा कल्दी पूजाहारी र ज्ञानी पुरुषहरूलाई सिकाइने जस्तो शिक्षा दिइने थियो।” अतः दानियल र तिनका साथीहरूलाई सरकारी सेवासम्बन्धी विशेष प्रशिक्षण दिइएको थियो।

१०, ११. दानियल र तिनका साथीहरूले कस्तो चुनौतीको सामना गरे अनि यहोवाले तिनीहरूलाई कस्तो मदत दिनुभयो?

१० दानियल र तिनका साथीहरूको परिस्थितिमा यो एउटा आमूल परिवर्तन थियो! यहूदामा छँदा तिनीहरू यहोवाका उपासकहरूको समूहमा थिए। यहाँका मानिसहरू भने मिथ्यामा आधारित देवीदेवताहरूको उपासना गर्थे। तैपनि, जवान दानियल, हनन्याह, मिशाएल र अजर्याह आत्तिएनन्‌। आफ्नो विश्‍वासको चुनौती हुने अवस्थामा बस्नु परे तापनि कुनै हालतमा साँचो उपासनालाई नत्याग्न तिनीहरू कटिबद्ध थिए।

११ यसो गर्न सजिलो हुने थिएन। राजा नबूकदनेसर बेबिलोनको प्रमुख देवता, मार्डुकका भक्‍त थिए। कहिलेकाहीं राजाका मागहरू यहोवाको उपासकले पटक्कै गर्न नमिल्ने कुराहरू हुन्थे। (उदाहरणका लागि, दानियल ३:१-७ हेर्नुहोस्‌।) तर दानियल र तिनका साथीहरूको हर कदममा यहोवाको निरन्तर डोऱ्‍याइ थियो। तीन वर्षे प्रशिक्षणको दौडान परमेश्‍वरले तिनीहरूलाई “विद्या, बुद्धि र सबै कुराको ज्ञान” दिनुभयो। साथै, दानियललाई सबै दर्शन र सपनाहरूको अर्थ खोल्ने क्षमता दिइयो। पछि राजाले यी चार जना युवकहरूसित परामर्श लिंदा “राज्यभरिमा सबै ज्योतिषी र मंत्र-तंत्र गर्नेहरूभन्दा यिनीहरूलाई दश गुणा असल पाए।”—दानियल १:१७, २०.

परमेश्‍वरका सन्देशहरू घोषणा गर्ने

१२. दानियलले कस्तो विशेष काम पाएका थिए?

१२ बेबिलोनमा बिताएका ती थुप्रै वर्षको दौडान राजा नबूकदनेसर र बेलसजरजस्ता व्यक्‍तिहरूको लागि दानियल परमेश्‍वरको सन्देशवाहक भए। दानियलको काम अति महत्त्वपूर्ण थियो। यहोवाले नबूकदनेसरलाई चलाउनुभएर तिनैद्वारा यरूशलेम नाश गर्न लगाउनुभएको थियो। पछि, बेबिलोन पनि विनाश हुने थियो। दानियलको पुस्तकले सर्वोच्च र “मानिसहरूका राज्यमाथि” सर्वाधिकार हुने यहोवा परमेश्‍वरलाई पक्कै उच्च पार्छ।—दानियल ४:१७, नयाँ संशोधित संस्करण।

१३, १४. बेबिलोनको पतनपछि दानियललाई के भयो?

१३ दानियलले बेबिलोनको पतन नहोऊञ्जेलसम्म राजदरबारमा लगभग सात दशकजति सेवा गरे। तिनले सा.यु.पू. ५३७ मा थुप्रै यहूदी आफ्नो मातृभूमि फर्केको देख्न पाए तर त्यो जमातमा दानियल पनि थिए भनी बाइबलले बताएको छैन। फारसी साम्राज्यका संस्थापक राजा कोरेसको शासनकालको तेस्रो वर्षसम्म तिनी एकदमै सक्रिय थिए। त्यस बेलासम्ममा दानियल लगभग १०० वर्ष पुगिसकेको हुनुपर्छ!

१४ बेबिलोनको पतनपछि दानियलले आफ्नो जीवनका सबैभन्दा उल्लेखनीय घटनाहरू लेखे। तिनको लेखोट अहिले पवित्र धर्मशास्त्रको महत्त्वपूर्ण भाग बनेको छ र यो दानियलको पुस्तकको नाउँले चिनिन्छ। तर के हामीले यो पुरानो पुस्तकमा ध्यान दिनुपर्ने कुनै कारण छ?

दुई प्रकारको शैली तर सन्देश एउटै

१५. (क) बाइबलको पुस्तक दानियलमा कुन दुई शैली प्रयोग गरिएको छ? (ख) दानियलको पुस्तकको वर्णनात्मक शैलीबाट हामी कसरी लाभ उठाउन सक्छौं?

१५ दानियलको पुस्तकमा दुइटा एकदमै बेग्लाबेग्लै प्रकारको वर्णन शैली प्रयोग गरिएको पाइन्छ। एउटा वर्णनात्मक र अर्को भविष्यसूचक। दानियलको पुस्तकका यी दुवै पक्षले हाम्रो विश्‍वास बढाउन सक्छ। कसरी? बाइबलको एकदमै जीवन्त पक्ष अर्थात्‌ वर्णनात्मक शैलीद्वारा दानियलको पुस्तकले यहोवा परमेश्‍वरप्रति निष्ठा कायम गर्ने व्यक्‍तिहरूलाई उहाँले आशिष्‌ दिनुका साथै हेरचाह गर्नुहुनेछ भनी देखाउँछ। जीवन र मृत्युको दोसाँधमा आइपर्ने चुनौतीको सामने पनि दानियल र तिनका तीन जना साथीहरू वफादार रहे। तिनीहरूको उदाहरणलाई गहिरिएर विचार गर्दा यहोवाप्रति वफादार रहन चाहनेहरूले बल पाउनेछन्‌।

१६. दानियलको पुस्तकका भविष्यसूचक अंशहरूबाट हामी कस्तो पाठ सिक्छौं?

१६ दानियलको पुस्तकका भविष्यसूचक अंशहरूले यहोवालाई इतिहासको कालक्रम शताब्दीयौं र हजारौं वर्षअघि नै थाह हुन्छ भनी देखाएर हाम्रो विश्‍वास बढाएका छन्‌। उदाहरणका लागि, दानियलले पुरातन बेबिलोनलगायत अन्य विश्‍वशक्‍तिहरूको उत्थान र पतनदेखि लिएर “अन्तको समयको” कुरासम्म बताउँछ। (दानियल १२:४) परमेश्‍वरले नियुक्‍त गर्नुभएको राजा र उहाँका सँगी “पवित्र जनहरूका” हातमा सुम्पनुहुने राज्यप्रति दानियलले हाम्रो ध्यानाकर्षण गर्छन्‌ र सधैंभरि रहिरहने सरकार त्यही हो भनेर पनि औंल्याउँछन्‌। यो सरकारले पृथ्वीको लागि यहोवाले साँच्नुभएको सबै इच्छा पूरा गर्नेछ र उहाँको सेवा गर्न चाहने सबैले आशिष्‌ पाउनेछन्‌।—दानियल २:४४; ७:१३, १४, २२.

१७, १८. (क) दानियलको पुस्तकलाई गहिरिएर अध्ययन गरेपछि हाम्रो विश्‍वास कसरी बलियो हुनेछ? (ख) बाइबलको यस भविष्यसूचक पुस्तक अध्ययन गर्न थाल्नुअघि कुन कुन विषयमा ध्यान दिनु खाँचो छ?

१७ यहोवाले भावी घटनाहरूको जानकारी आफैमा मात्र सीमित नराख्नुभएकोमा हामी कृतज्ञ छौं। उहाँ “रहस्यका कुराहरू प्रकट” गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। (दानियल २:२८, नयाँ संशोधित संस्करण) दानियलको पुस्तकमा रेकर्ड गरिएका भविष्यवाणीहरूको पूर्तिलाई ध्यान दिएमा परमेश्‍वरका प्रतिज्ञाहरूमाथिको हाम्रो विश्‍वास अझ बलियो हुनेछ। आफूले तोक्नुभएको समय र तरिकामा परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्नुहुनेछ भन्‍ने कुरामा हामी अझ बढी ढुक्क हुन सक्नेछौं।

१८ ग्रहणशील हृदयले बाइबलको दानियलको पुस्तक अध्ययन गर्ने सबैको विश्‍वास अझ बलियो हुनेछ। तर यो पुस्तकलाई गहिरिएर केलाउनुअघि यसमा भएका कुराहरू साँचो हो कि होइन भनी प्रमाण खोज्नु जरुरी छ। कतिपय आलोचकहरूले दानियलको पुस्तकका भविष्यवाणीहरू, भविष्यवाणी पूरा भएपछि मात्र लेखिएको हो भन्‍ने आरोप लगाएका छन्‌। के त्यस्ता आरोप सही हुन्‌? यसपछिको लेखमा त्यसबारे छलफल गरिनेछ।

तपाईंले के बुझ्नुभयो?

• किन दानियल वर्तमान समयको लागि लेखिएको पुस्तक हो?

• दानियल र तिनका साथीहरू कसरी बेबिलोनको सरकारी सेवा गर्न पुगे?

• दानियलले बेबिलोनमा कुन विशेष काम पाएका थिए?

• हामीले किन दानियलको भविष्यवाणीमा ध्यान दिनुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ४-मा भएको पृष्ठभरिको चित्र]

[पृष्ठ ११-मा भएको पृष्ठभरिको चित्र]