बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
मेरो जीवन परिवर्तन गराउने तीनवटा प्रश्न
-
जन्म मिति: १९४९
-
जन्म स्थान: अमेरिका
-
पृष्ठभूमि: जीवनको उद्देश्य खोजी गर्ने व्यक्ति
मेरो विगत:
म अमेरिकाको न्यु योर्क सहरको उत्तरतिर पर्ने सानो सहर अन्क्राममा हुर्कें। यस ठाउँमा थुप्रै डेरी फार्म थिए। यहाँ मानिसहरूभन्दा गाईवस्तुहरू नै धेरै पाइन्थ्यो।
सहरमा एउटा मात्र चर्च थियो। हामी सपरिवार त्यहीं जाने गर्थ्यौं। हरेक आइतबार बिहान बाजेले मेरो जुत्ता टल्काइ दिनुहुन्थ्यो र बज्यैले दिनुभएको सानो सेतो बाइबल लिएर चर्चको स्कुल जान्थें। म र मेरा भाइबहिनीहरूलाई बुबाआमाले मेहनती हुन, छिमेकीको आदर गर्न र तिनीहरूलाई मदत गर्न सिकाउनुभएको थियो। साथै हामीले पाएका असल कुराहरूको लागि धन्यवादी हुन पनि सिकाउनुभयो।
हुर्किसकेपछि मैले घर छोडें र स्कुलको शिक्षिका भएँ। ईश्वर र जीवनबारे मेरा धेरै प्रश्नहरू थिए। स्कुलमा मेरा केही विद्यार्थीहरू अत्यन्तै सिपालु थिए भने केही त्यति सिपालु थिएनन्। तर तिनीहरू परिश्रमी थिए। कोही शारीरिक तवरमा अशक्त थिए भने कोही हट्टाकट्टा। यस्तो देख्दा मलाई अन्याय भएको जस्तो लाग्थ्यो। पढाइ-लेखाइमा कमजोर र केही असक्त विद्यार्थीका अभिभावकहरूले कहिलेकाहीं यसो भन्थे: “मेरो बच्चा यस्तै होस् भन्ने ईश्वरको इच्छा रहेछ।” तर म मनमनै यस्तो सोच्थें: “बच्चाहरूले त कुनै गलत काम गरेका हुँदैनन् तैपनि ईश्वरले किन कसैलाई अशक्त बनाउनुहुन्छ?”
म यस्तो पनि सोच्थें: “मैले जीवनमा गर्न सक्ने अर्थपूर्ण काम के हो?” मलाई जीवन केवल दुई दिने घाम-छाँया हो जस्तो लाग्थ्यो। म सुखी परिवारमा हुर्किएँ, स्कुलको राम्रो शिक्षा पाएकी थिएँ र शिक्षिकाको काम गर्दा खुसी थिएँ। तैपनि कताकता खोक्रो महसुस गर्थें। विवाह गर्ने, सुन्दर घर बनाउने, बालबच्चा हुर्काउने, अवकाश नपाएसम्म काममा लागिरहने र अन्तमा वृद्धाश्रममा जाने नै जीवनको उद्देश्य होला जस्तो लाग्थ्यो। जीवनमा त्यो बाहेक अरू केही छ कि भनेर टोलाउँथें।
बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?
एक पटक गर्मीयाममा केही सहकर्मीहरूसँग म युरोप घुम्न गएँ। हामी लन्डनको वेस्टमिन्सटर एबे, पेरिसको नोट्रे-डाम र रोमको भ्याटिकनका साथै अन्य स-साना चर्चहरूमा गयौं। म जहाँ-जहाँ गएँ त्यहाँ मनमा उठे जति सबै प्रश्नहरू मैले सोधें। आफ्नो घर न्यु योर्कको स्लोट्सवर्गमा फर्केपछि पनि त्यहाँका
थुप्रै चर्चमा गएँ। तर कतै पनि मैले सोधेका प्रश्नहरूको चित्तबुझ्दो जवाफ पाइनँ।एक दिनको कुरा हो, १२ वर्षकी एक जना विद्यार्थीले मलाई तीनवटा प्रश्न सोधिन्। पहिलो: तिनी यहोवाको साक्षी हो भनेर मलाई थाह छ कि छैन भनेर सोधिन्। मैले थाह छ भने। दोस्रो: यहोवाका साक्षीहरूबारे अझ बुझ्न चाहनुहुन्छ कि भनेर प्रश्न गरिन्। चाहन्छु भनेर जवाफ फर्काएँ। तेस्रो: मेरो ठेगाना तिनले सोधिन्। घरको ठेगाना बताउँदै जाँदा त हामी नजिकै बस्दा रहेछौ भनेर थाह भयो। ती सानी केटीले सोधेका यी तीन प्रश्नले मेरो जीवन सधैंका लागि परिवर्तन गर्ने थियो भनेर मैले कल्पनै गरेकी थिइनँ।
त्यसको केही समयपछि ती विद्यार्थी साइकल चलाउँदै मेरो घर आइन् अनि मलाई बाइबल अध्ययन गराउन थालिन्। थुप्रै धार्मिक गुरुलाई मैले सोध्ने गरेका प्रश्नहरू तिनलाई पनि सोधें। ती धार्मिक नेताहरूले जस्तो नभई तिनले मलाई मेरै बाइबलबाट स्पष्ट अनि चित्तबुझ्दो जवाफ देखाइन्।
बाइबलबाट सिकेका कुराले मलाई ढुक्क र आनन्दित बनायो। पहिलो यूहन्ना ५:१९ पढ्दा त म छक्क परें; जहाँ यस्तो लेखिएको छ: “सारा संसार त्यस दुष्टको हातमा परेको छ।” हाम्रो वरपर भइरहेको दुःखकष्टको कारण ईश्वर होइनन् तर सैतान रहेछ भनेर बुझ्दा एक प्रकारको शान्ति महसुस गरें। साथै ईश्वरले सबै दुःखकष्टको निवारण गर्नुहुन्छ भनेर सिक्दा पनि ढुक्क भएँ। (प्रकाश २१:३, ४) बाइबलका कुरा स्पष्टसित व्याख्या गरिंदा मात्र यसको सही शिक्षा बुझ्न सकिन्छ भनेर मैले थाह पाएँ। हुन त मेरो बाइबल अध्ययन सञ्चालक १२ वर्षका मात्र थिए। तर जुनसुकै उमेरका व्यक्तिले सिकाएको किन नहोस् सत्य भनेको सत्य नै हुन्छ।
यहोवाका साक्षीहरूले सिकाउने कुरा आफै लागू गर्छन् कि गर्दैनन् भनेर म जान्न चाहन्थें। उदाहरणका लागि, साँचो ख्रीष्टियनहरूले धीरज र दया जस्ता गुणहरू देखाउँछन् भनेर ती सानी केटीले बारम्बार भन्थिन्। (गलाती ५:२२, २३) तिनी आफैले यी गुण देखाउँछिन् कि देखाउँदिनन् भनेर जाँच्ने निर्णय गरें। एक दिन बाइबल अध्ययनको लागि म जानाजानी ढिलो गएँ। ‘तिनी मलाई पर्खिरहन्छिन् होला? पर्खिरहेकी छिन् भने के तिनी रिसाउनेछिन्?’ भनेर सोच्दै गाडी लिएर घर पुग्दा त तिनी त्यहीं पर्खिरहेकी थिइन्। मेरो गाडीतिर दौडदै आएर यसो भनिन्: “तपाईं अध्ययनको लागि कहिल्यै ढिलो आउनुहुन्नथ्यो, त्यसैले तपाईंलाई केही भयो कि भनेर मलाई धेरै चिन्ता लाग्यो। घरमा गएर प्रहरीलाई र अस्पतालमा फोन गर्नुपर्छ भनेर आमालाई भन्नै लागेकी थिएँ।”
अर्को एक पटक १२ वर्षको केटीलाई जवाफ दिन गाह्रो हुने खालको एउटा प्रश्न मैले तिनलाई सोधें। तिनले मनगढन्ते जवाफ दिनेछिन् कि भनेर हेर्न चाहन्थें। मैले प्रश्न सोधेपछि तिनले मलाई घोरिएर हेरिन् र भनिन्: “यो प्रश्न निकै गाह्रो छ। म यसलाई लेख्छु र बुबाआमालाई सोध्छु।” साँच्चै! अर्को पटकको अध्ययनमा तिनले मेरो प्रश्नको जवाफ भएको प्रहरीधरहरा पत्रिकाको एउटा अङ्क ल्याइन्। यहोवाका साक्षीहरूतर्फ मलाई आकर्षित गराउने एउटा कुरा यही थियो। मैले सोधेका सबै प्रश्नहरूको जवाफ तिनीहरूका प्रकाशनहरूमा पाइन्थ्यो अनि ती जवाफहरू बाइबलमा आधारित थिए। ती सानी केटीसँग एक वर्ष बाइबल अध्ययन गरिसकेपछि बप्तिस्मा गरेर म एक जना यहोवाको साक्षी भएँ। a
मैले कसरी लाभ उठाएको छु?
मेरा सबै प्रश्नहरूको चित्तबुझ्दो जवाफ पाएकोले ती कुरा अरूहरूसित पनि बाँड्न चाहन्थें। (मत्ती १२:३५) सुरुमा त मेरो परिवारले विरोध गरे। तर समयको दौडान उहाँहरूको विरोध कम भयो र आमाले पनि बाइबल अध्ययन गर्न सुरु गर्नुभयो। तर बप्तिस्मा गर्न नपाउँदै उहाँ बित्नुभयो। उहाँ जीवित रहनुभएको भए यहोवा परमेश्वरको सेवा गर्ने नै निर्णय गर्नुहुन्थ्यो भनेर म पक्का छु।
सन् १९७८ मा मेरो विवाह इलियास काजान नाम गरेको एक जना यहोवाको साक्षीसित भयो। सन् १९८१ मा हामी दुवैलाई अमेरिकाको बेथेल परिवारको सदस्य हुन बोलाइयो। b तर दुःखको कुरा, त्यहाँ सेवा गरेको ४ वर्षपछि इलियासको मृत्यु भयो। श्रीमान्को मृत्युपछि पनि मैले बेथेलको काम गरिरहें। यसरी बेथेल सेवामा व्यस्त हुँदा आफ्नो ध्यान विकर्षण हुनदेखि जोगिएँ अनि सान्त्वना पनि पाएँ।
सन् २००६ मा बेथेल परिवारका एक सदस्य रिचार्ड एल्ड्रेडसित मेरो विवाह भयो। हामी दुवैले बेथेल सेवाको आनन्द उठाइरहेका छौं। परमेश्वरबारे साँचो ज्ञान लिएकोले मैले खोजिरहेका प्रश्नहरूको जवाफ मात्र नभई जीवनको साँचो उद्देश्य पनि पाएकी छु। यो सबै सम्भव हुनुको कारण ती सानी केटीले सोधेका तीनवटा प्रश्नले गर्दा नै हो।
a ती सानी केटी अनि तिनका दाइदिदीहरूले स्कुलका ५ जना शिक्षकलाई बाइबल अध्ययन गराए। ती शिक्षकहरू पनि पछि यहोवाको उपासक भए।
b “बेथेल” शब्दको अर्थ “परमेश्वरको घर” हो। यहोवाका साक्षीहरूले आफ्ना मुख्य र शाखा कार्यालयलाई बेथेल भन्छन्। (उत्पत्ति २८:१७, १९) यहोवाका साक्षीहरूको शैक्षिक कामलाई टेवा पुऱ्याउन बेथेल परिवारका सदस्यहरूले विभिन्न कामहरू सम्हाल्छन्।