“मान्छेको सुझबुझले उसको रिस धीमा पार्छ”
रिसलाई वशमा राख्न नसक्ने एक जना बास्केटबल प्रशिक्षकलाई कलेजबाट निकालिन्छ।
आफूले मागेको कुरा नपाउँदा एउटा बच्चा चिच्याई-चिच्याई रुन्छ।
छोराले कोठा लथालिङ्ग पारेकोले आमा र छोराबीच ठूलठूलो स्वरमा भनाभन हुन थाल्छ।
हामी सबैले मानिसहरू रिसाएको देखेका छौं। अनि हामी आफै पनि बेलाबेलामा रिसले चूर हुन्छौं। हुन त रिसाउनु गलत हो र आफ्नो रिसलाई सकेसम्म दबाएर राख्नुपर्छ भनेर हामीलाई थाह छ। तर कसैले अन्याय गरेजस्तो लाग्दा रिसाउनु जायजै हो जस्तो हामी महसुस गर्छौं। अमेरिकन साइकोलोजिकल एसोसिएसनले प्रकाशित गरेको एउटा लेखमा “रिस उठ्नु सामान्य कुरा हो अनि यसले प्रायः हाम्रै हित गर्छ” भनेर समेत लेखिएको थियो।
मानिसहरूलाई रिस उठ्नु स्वाभाविक हो भन्ने कुरा मानिलिंदै ख्रीष्टियन प्रेषित पावलले पनि यसो लेखेका थिए: “क्रोध गर तर पाप नगर; घाम डुब्नुअघि नै तिमीहरूको रिस मरोस्।” (एफिसी ४:२६) पावलले परमेश्वरबाट प्रेरणा पाएर लेखेको यो कुरालाई विचार गर्दा माथिको अनुच्छेदमा बताइएको कुरा सही हो जस्तो हामीलाई लाग्न सक्छ। त्यसोभए के हामीले रिस पोखाउनु ठीक हो त? अथवा यसलाई सकेसम्म वशमा राख्ने प्रयास गर्नु राम्रो हो?
रिसाउनु ठीक हो?
पावलले रिसको सन्दर्भमा सल्लाह दिंदा भजनको किताबको लेखकका यी शब्दहरू सम्झेको हुनुपर्छ: “रीस ता गर, तर पापचाहिं नगर।” (भजन ४:४) तर पावलले परमेश्वरबाट प्रेरणा पाएर दिएको सल्लाहको उद्देश्य के थियो? तिनी अझै यसो भन्छन्: “हरकिसिमको कटुता, रिसाउने, क्रोध गर्ने, चिच्याउने र दुर्वचन बोल्ने बानीका साथै सबै किसिमका खराबी त्याग।” (एफिसी ४:३१) वास्तवमा पावल ख्रीष्टियनहरूलाई रिस पोखाउनु गलत हो भनेर सल्लाह दिंदै थिए। अनि रोचक कुरा के छ भने अमेरिकन साइकोलोजिकल एसोसिएसनको लेखमा पनि यसो लेखिएको छ: “अनुसन्धानले देखाएअनुसार रिस पोखाउनुभयो भने तपाईंको रिस झन् बढ्छ र यसले तपाईंलाई समस्या समाधान गर्न पनि केही मदत गर्दैन।”
त्यसोभए हामी कसरी रिस ‘त्याग्न’ अनि यसले पार्ने खराब प्रभावहरूबाट जोगिन सक्छौं? पुरातन इस्राएलका बुद्धिमान् राजा सुलेमानले यस्तो लेखे: “मान्छेको सुझबुझले उसको रिस धीमा पार्छ; अनि अपराधमाथि ध्यान नदिनुचाहिं उसको महिमा हो।” (हितोपदेश १९:११, पवित्र बाइबल [TBS]) “मान्छेको सुझबुझले” कसरी रिस कम गर्न मदत गर्छ?
सुझबुझले कसरी रिस कम गर्न मदत गर्छ?
सुझबुझ भनेको कुनै परिस्थितिलाई सतही रूपमा मात्र नभई गहिरिएर बुझ्न सक्ने क्षमता हो। त्यसोभए हामीलाई रिस उठ्दा सुझबुझले कसरी मदत गर्न सक्छ?
अन्याय भएको देख्दा हामीलाई झनक्क रिस उठ्न सक्छ। तर त्यसबेला हामीले रिसको झोंकमा हातखुट्टा चलायौं भने आफैलाई वा अरू कसैलाई चोट पुऱ्याउन सक्छौं। अनियन्त्रित आगोले पूरै घरलाई सखाप पार्न सक्छ। त्यसैगरि रिसको आगोको एक झिल्कोले पनि हाम्रो प्रतिष्ठालाई तहसनहस पार्न अनि अरूसितको हाम्रो सम्बन्धलाई बिगार्न सक्छ। यसले परमेश्वरसितको हाम्रो सम्बन्धलाई समेत कमजोर बनाउँछ। त्यसैले रिस उठ्दा हामीले परिस्थितिलाई अझै राम्ररी बुझ्ने प्रयास गर्नुपर्छ। यसो गऱ्यौं भने हामीले आफ्नो भावनालाई काबूमा राख्न सक्नेछौं।
सुलेमानका बुबा राजा दाऊद नाबाल नाम गरेका व्यक्तिको कारण झन्डै रक्तदोषी हुन पुगेका थिए। तर दाऊदले परिस्थितिलाई गहिरिएर बुझ्न मदत पाएकोले तिनी जोगिए। दाऊद र तिनका मानिसहरूले यहूदाको उजाडस्थानमा नाबालको भेडा बगालको रक्षा गरेका थिए। भेडाको ऊन कत्रने समय आएपछि दाऊदले नाबाललाई केही खानेकुरा मागे। त्यसबेला नाबालले यसो भन्यो: “के मेरो खानेकुरा, मेरो दाखमद्य र मेरा ऊन कत्रनेहरूका लागि जुटाएका मासु, अज्ञात मानिसहरूलाई मैले दिनु?” दाऊदको कत्रो अपमान! यो कुरा सुनेपछि दाऊद ४०० जना मानिसलाई लिएर नाबाल र उनको परिवारलाई नाश गर्न हिंडे।—१ शमूएल २५:४-१३.
नाबालकी पत्नी अबीगेलले यो कुरा सुनिन् र दाऊदलाई भेट्न गइन्। दाऊद र तिनका मानिसहरूलाई भेटेपछि उनले दाऊदको खुट्टामा दण्डवत् गरिन् र भनिन्: “हजुरकी विनम्र दासीलाई बोल्ने अनुमति दिनुहोस्। मेरो मालिकले मेरो कुरा सुन्नुहोस्।” त्यसपछि उनले नाबाल साह्रै मूर्ख व्यक्ति हो र दाऊदले बदला लिएमा अनि हत्या गरेमा पछि पछुताउनु पर्नेछ भनेर बताइन्।—१ शमूएल २५:२४-३१.
अबीगेलका शब्दहरूले दाऊदलाई कसरी त्यस्तो तनावपूर्ण परिस्थिति सम्हाल्न मदत गऱ्यो? पहिलो, दाऊदले नाबाल पहिल्यैदेखि मूर्ख थियो भनेर बुझ्न सके। दोस्रो, आफैले बदला लिएमा आफू रक्तदोषी हुने कुरा पनि तिनले बुझे। दाऊदलाई जस्तै तपाईंलाई पनि कुनै कुराले झडङ्ङ रिस उठाउन सक्छ। त्यसबेला तपाईं के गर्न सक्नुहुन्छ? रिसलाई वशमा पार्ने तरिकाहरूबारे बताइएको मायो क्लिनिकको एउटा लेखमा यस्तो सल्लाह दिइएको छ: “लामो सास फेर्नुहोस् र १० सम्म गन्नुहोस्।” हो, समस्याको कारण के हो र आफूले झट्टै कुनै कदम चाल्दा नतिजा कस्तो हुन्छ भनी विचार गर्नुहोस्। सुझबुझ चलाउँदै रिस कम गर्नुहोस् र रिसाउन छोड्नुहोस्।—१ शमूएल २५:३२-३५.
दाऊदले जस्तै आज पनि थुप्रैले आफ्नो रिसलाई काबूमा राख्न मदत पाएका छन्। बाइबल अध्ययनले रिसलाई वशमा राख्न आफूलाई कसरी मदत गऱ्यो भनी पोल्याण्डको झ्यालखानाका कैदी, २३ वर्षीय सेबास्टियन बताउँछन्। तिनी भन्छन्: “पहिला त म समस्याबारे सोच्ने गर्छु। त्यसपछि बाइबलमा दिइएको सल्लाह पालन गर्ने कोसिस गर्छु। हामीलाई चाहिने निर्देशनहरू भएको सबैभन्दा राम्रो किताब बाइबल नै हो भनेर मैले अनुभव गरेको छु।”
सेत्सुओ नाम गरेका व्यक्तिले पनि यस्तै तरिका अपनाए। तिनी भन्छन्: “पहिले-पहिले काममा कसैले रिस उठाउँदा म बेस्सरी हपार्ने गर्थें। तर बाइबल अध्ययन गरेपछि म सुध्रिएको छु। अहिले म अरूलाई हपार्नुअघि आफैलाई सोध्छु: ‘वास्तवमा गल्ती कसको हो? कतै मैले गर्दा पो समस्या भएको हो कि?’” यस्ता प्रश्नहरूबारे विचार गर्दा तिनको रिस कम भयो र तिनले आफ्नो भावनालाई काबूमा राख्न सके।
हाम्रो रिस एकदमै चर्को वा वशमै राख्न नसकिने खालको देखिएला। तर परमेश्वरको वचनमा पाइने सल्लाह निकै प्रभावकारी छ। बाइबलको बुद्धिमानी सल्लाह लागू गर्नुभयो अनि मदतको लागि परमेश्वरलाई प्रार्थना गर्नुभयो भने तपाईंले पनि सुझबुझ चलाउँदै रिस कम गर्न र यसलाई वशमा राख्न सक्नुहुनेछ।