‘आत्माले परमेश्वरका गहिरा-गहिरा कुराहरू खोजी गर्छ’
‘आत्माले परमेश्वरका गहिरा-गहिरा कुराहरू खोजी गर्छ’
‘आत्माले सबै कुरा परमेश्वरका गहिरा-गहिरा कुराहरूलाई पनि खोजी गर्छ।’—१ कोरि. २:१०.
१. पहिलो कोरिन्थी २:१० मा पवित्र आत्माको कुन भूमिकाबारे पावलले प्रकाश पारे र कस्ता प्रश्नहरू उठ्छन्?
यहोवाको पवित्र आत्माले काम गरिरहेकोमा हामी कत्ति कृतज्ञ हुन सक्छौं! बाइबलले आत्मालाई शान्तिदाता अर्थात् सहायक, वरदान, गवाही दिने, हाम्रो निम्ति अन्तरबिन्ती गरिदिने भनी बताएको छ। (यूह. १४:१६; प्रेरि. २:३८; रोमी ८:१६, २६, २७) प्रेरित पावलले पवित्र आत्माको अर्को महत्त्वपूर्ण भूमिकाबारे पनि यसरी बताए: “आत्माले सबै कुरा परमेश्वरका गहिरा-गहिरा कुराहरूलाई पनि खोजी” गर्छ। (१ कोरि. २:१०) हो, यहोवाले आफ्नो पवित्र आत्मा प्रयोग गरेर गहिरा-गहिरा आध्यात्मिक सत्यहरू प्रकट गर्नुहुन्छ। यस्तो मदत उपलब्ध नहुँदो हो त यहोवाका उद्देश्यहरूबारे हामी कसरी पो बुझ्न सक्थ्यौं र? ( १ कोरिन्थी २:९-१२ पढ्नुहोस्) तर यस्ता थुप्रै प्रश्न उठ्छन्: ‘आत्माले परमेश्वरका गहिरा-गहिरा कुराहरू’ कसरी खोजी गर्छ? इस्वी संवत् प्रथम शताब्दीमा यहोवाले यी गहिरा-गहिरा कुरा कोमार्फत प्रकट गर्नुभयो? आत्माले हाम्रो समयमा यस्ता गहिरा-गहिरा कुरा कसरी अनि कोमार्फत खोजी गर्छ?
२. आत्माले काम गर्ने दुईपक्षीय भूमिका के-के हुन्?
२ आत्माले काम गर्ने दुईपक्षीय भूमिकाबारे येशूले बताउनुभयो। आफ्नो मृत्यु हुनुभन्दा अलिक समयअघि उहाँले प्रेरितहरूलाई यसो भन्नुभयो: ‘शान्तिदाता, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ त्यसले नै तिमीहरूलाई सबै कुरा सिकाउनेछ, र मैले तिमीहरूलाई भनेका कुरा जति सम्झना गराउनेछ।’ (यूह. १४:२६) पवित्र आत्माले शिक्षक र सम्झना गराउनेको रूपमा काम गर्ने थियो। शिक्षकको रूपमा, पहिला नबुझेका कुरालाई बुझ्न पवित्र आत्माले ख्रीष्टियानहरूलाई मदत गर्ने थियो। अनि सम्झना गराउनेको रूपमा, पहिल्यै प्रकट गरिसकेका कुरा सम्झन र ठीकसँग लागू गर्न मदत गर्ने थियो।
प्रथम शताब्दीमा
३. “परमेश्वरका गहिरा-गहिरा कुराहरू” क्रमशः प्रकट गरिनेछ भनी येशूले भन्नुभएको कुन कुराले सङ्केत गऱ्यो?
३ आफ्ना चेलाहरूलाई येशू आफैले नयाँ-नयाँ कुराहरू सिकाउनुभयो। तैपनि तिनीहरूले सिक्नुपर्ने कुरा अझै बाँकी थियो। येशूले आफ्ना प्रेरितहरूलाई भन्नुभयो: ‘तिमीहरूलाई भन्ने मसँग अझ धेरै कुरा छन्, तर अहिले तिमीहरू सहनसक्तैनौ। तैपनि जब सत्यका आत्मा आउनेछ, तब सबै सत्यमा तिमीहरूलाई बाटो देखाउनेछ।’ (यूह. १६:१२, १३) यसरी गहिरा-गहिरा आध्यात्मिक कुराहरू पवित्र आत्माद्वारा क्रमशः प्रकट गरिनेछ भनी येशूले बताउनुभयो।
४. इस्वी संवत् ३३ पेन्तिकोसको दिन पवित्र आत्माले शिक्षक र सम्झना गराउनेको रूपमा कसरी काम गऱ्यो?
४ इस्वी संवत् ३३ पेन्तिकोसमा यरूशलेममा भेला भएका लगभग १२० जना ख्रीष्टियानमा पवित्र आत्मा खन्याइँदा “सत्यका आत्मा” आयो। त्यतिबेला पवित्र आत्मा आएको साँच्चै देखियो र आवाज पनि सुनियो। (प्रेरि. १:४, ५, १५; २:१-४) चेलाहरूले “परमेश्वरका महाकार्यहरूका विषयमा” विभिन्न भाषामा बोले। (प्रेरि. २:५-११) यतिबेला एउटा नयाँ कुरा प्रकट गर्ने समय भएको थियो। यसरी पवित्र आत्मा खन्याइने विषयमा भविष्यवक्ता योएलले पहिल्यै बताइसकेका थिए। (योए. २:२८-३२) त्यहाँ भेला भएकाहरूमध्ये कसैले पनि आसै नगरेको कुराको पूर्ति तिनीहरूले देखिरहेका थिए अनि यो घटनाबारे वर्णन गर्न प्रेरित पत्रुस अग्रसर भए। (प्रेरित २:१४-१८ पढ्नुहोस्) चेलाहरूले जुन कुरा अहिले अनुभव गरेका थिए, त्यो पहिल्यै गरिएको भविष्यवाणीको पूर्ति थियो भनेर पत्रुसलाई स्पष्ट पार्न पवित्र आत्माले शिक्षकको रूपमा मदत गऱ्यो। अनि आत्माले सम्झना गराउनेको रूपमा पनि काम गऱ्यो किनभने पत्रुसले योएलको कुरा मात्र होइन तर दाऊदले लेखेका दुईवटा भजन पनि उद्धरण गरे। (भज. १६:८-११; ११०:१; प्रेरि. २:२५-२८, ३४, ३५) त्यहाँ भेला भएका सबैले जे देखे र सुने, त्यो सबै साँच्चै परमेश्वरका गहिरा-गहिरा कुरा थिए।
५, ६. (क) इस्वी संवत् ३३ पेन्तिकोसपछि नयाँ करारबारे कस्ता महत्त्वपूर्ण प्रश्नहरूको जवाफ चाहिएको थियो? (ख) जवाफ चाहिएका बुँदाहरूमा कोमार्फत प्रश्नहरू उठाइन्थ्यो अनि कसरी निर्णय गरिन्थ्यो?
५ प्रथम शताब्दीका ख्रीष्टियानहरूलाई थुप्रै विषय अझै स्पष्ट पार्नुपर्ने थियो। जस्तै: पेन्तिकोसको दिनदेखि लागू भएको नयाँ करारबारे प्रश्नहरू उठेका थिए। के त्यो नयाँ करार यहूदीहरू र धर्म परिवर्तन गरेर यहूदी भएकाहरूको लागि मात्र थियो? के अन्यजातिहरू पनि यस करारको भाग बन्न अनि पवित्र आत्माद्वारा अभिषिक्त हुन सक्थे? (प्रेरि. १०:४५) के अन्यजातिका पुरूषहरूले पहिला खतना गर्नुपर्ने र मोशाको व्यवस्था मान्नुपर्ने थियो? (प्रेरि. १५:१, ५) यी अत्यन्तै महत्त्वपूर्ण प्रश्नहरू थिए। यी गहिरा कुराहरूको खोजी गर्न यहोवाको आत्मा चाहिन्थ्यो। त्यसो भए पवित्र आत्माले कोमार्फत काम गर्ने थियो त?
६ जवाफ चाहिएका बुँदाहरूलाई जिम्मेवार भाइहरूले नै छलफलको लागि प्रस्तुत गर्थे। परिचालक निकायको त्यो सभामा पत्रुस, पावल र बर्णाबास उपस्थित थिए अनि खतना नगरेका अन्यजातिहरूसित यहोवाले कस्तो व्यवहार गर्दै आउनुभएको छ भनेर तिनीहरूले विस्तृत तवरमा बताए। (प्रेरि. १५:७-१२) हिब्रू धर्मशास्त्रमा बताइसकेका कुराहरूको आधारमा यस प्रमाणलाई विचार गरिसकेपछि अनि पवित्र आत्माको मदत पाइसकेपछि परिचालक निकायले एउटा निर्णय गऱ्यो। त्यसपछि यो निर्णय तिनीहरूले मण्डलीहरूलाई पत्रमार्फत लिखित रूपमा खबर गरे।—प्रेरित १५:२५-३०; १६:४, ५ पढ्नुहोस्; एफि. ३:५, ६.
७. केमार्फत गहिरा-गहिरा सत्यहरू प्रकट गरियो?
७ यूहन्ना, पत्रुस, याकूब र पावलले लेखेका प्रेरित लेखोटहरूमार्फत अरू थुप्रै विषय स्पष्ट पारियो। तर ख्रीष्टियान धर्मशास्त्र लेख्न सिद्धिएको केही समयपछि भविष्यवाणी गर्ने वरदान र चमत्कारपूर्ण ढङ्गमा ज्ञान प्रकाश पार्ने कुरा बन्द भयो। (१ कोरि. १३:८) के त्यसपछि पनि पवित्र आत्माले शिक्षक र सम्झना गराउनेको रूपमा काम गरिरहने थियो? के यसले ख्रीष्टियानहरूलाई परमेश्वरका गहिरा-गहिरा कुराहरू खोज्न मदत गरिरहने थियो? भविष्यवाणीले सङ्केत गरेअनुसार यसले मदत गर्ने थियो।
अन्तको समयमा
८, ९. अन्तको समयमा आध्यात्मिक अन्तरदृष्टि पाएर “चम्कने”-हरू को हुने थिए?
८ अन्तको समयबारे स्वर्गदूतले यस्तो भविष्यवाणी गरे: “ज्ञानी अगुवाहरू उज्ज्वल आकाशझैं चम्कनेछन्, औ मानिसहरूलाई सत्य मार्गमा सदासर्वदाको निम्ति डोऱ्याउनेहरूचाहिं ताराहरूझैं हुनेछन्। . . . [“र साँचो ज्ञान प्रशस्त हुनेछ” NW]।” (दानि. १२:३, ४) ज्ञानी अगुवाहरू अर्थात् अन्तर्दृष्टि भएकाहरू को हुने थिए र चम्कनेहरू को हुने थिए? गहुँ र सामाको दृष्टान्तमा येशूले एउटा छनक दिनुभयो। “जगत्को अन्त”-बारे बताउँदै उहाँले भन्नुभयो: “तब धर्मीहरू आफ्ना पिताको राज्यमा सूर्यजस्ता चम्किला हुनेछन्।” (मत्ती १३:३९, ४३) यसको अर्थ खुलाउँदै येशूले “धर्मीहरू” भनेको “राज्यका सन्तान” अर्थात् अभिषिक्त ख्रीष्टियानहरू हुन् भनेर चिनाउनुभयो।—मत्ती १३:३८.
९ के सबै अभिषिक्त ख्रीष्टियानहरू चम्कने थिए? एक अर्थमा भन्ने हो भने चम्कने थिए किनभने सबै ख्रीष्टियानले प्रचारकार्य, चेला बनाउने काम र सभाहरूमा एकअर्काको उत्थान गर्ने काममा भाग लिने थिए। यस सन्दर्भमा अभिषिक्त ख्रीष्टियानहरूले उदाहरण बसाल्ने थिए। (जक. ८:२३) यसको अलावा अन्तको समयमा गहिरा-गहिरा कुराहरू प्रकट गरिने थियो। दानियल स्वयम्ले लेखेका भविष्यवाणी अन्तको समयसम्मको लागि “बन्द” गरेर अर्थात् मोहोर लगाएर राखिएको थियो। (दानि. १२:९) पवित्र आत्माले कसरी अनि कोमार्फत यी गहिरा-गहिरा कुराहरू खोज्ने थियो?
१०. (क) आखिरी दिनमा पवित्र आत्माले कोमार्फत गहिरा-गहिरा सत्य कुरा प्रकट गर्छ? (ख) यहोवाको महान् प्रतीकात्मक मन्दिरबारे सत्य कुराको स्पष्टीकरण कसरी दिइयो, व्याख्या गर्नुहोस्।
१० अहिले हाम्रो समयमा कुनै आध्यात्मिक विषयलाई स्पष्ट पार्नुपर्ने समय आउँदा “विश्वासी र बुद्धिमान् दास”-को प्रतिनिधित्व गर्ने परिचालक निकायलाई पवित्र आत्माले पहिले नबुझेका गहिरा-गहिरा सत्य कुराहरू बुझ्न मदत गर्छ। (मत्ती २४:४५; १ कोरि. २:१३) छाँटकाँट गरिएका स्पष्टीकरणलाई परिचालक निकायले समूहको रूपमा छलफल गर्छ। (प्रेरि. १५:६) आफूले सिकेका कुरा तिनीहरूले सबैको फाइदाको लागि प्रकाशित गर्छन्। (मत्ती १०:२७) समय बित्दै जाँदा थप स्पष्टीकरण आवश्यक पर्न सक्छ अनि कुरा नलुकाई यसलाई पनि स्पष्टसित व्याख्या गरिन्छ।—“आत्माले प्रतीकात्मक मन्दिरको अर्थ कसरी प्रकट गऱ्यो” भन्ने पेटी हेर्नुहोस्।
आज पवित्र आत्माको भूमिकाबाट लाभ उठाउने
११. परमेश्वरका गहिरा-गहिरा कुराहरू प्रकट गर्ने सन्दर्भमा पवित्र आत्माले जुन भूमिका खेल्छ, त्यसबाट आज सबै ख्रीष्टियानले कसरी लाभ उठाइरहेका छन्?
११ परमेश्वरका गहिरा-गहिरा कुराहरू प्रकट गर्ने पवित्र आत्माको भूमिकाबाट सबै विश्वासी ख्रीष्टियानले लाभ उठाउँछन्। प्रथम शताब्दीका ख्रीष्टियानहरूजस्तै पहिला हामी अध्ययन गर्छौं, त्यसपछि सम्झन्छौं अनि पवित्र आत्माको मदत पाएर बुझ्न सकेका जानकारीलाई व्यवहारमा उतार्छौं। (लूका १२:११, १२) प्रकाशित भएका गहिरा-गहिरा आध्यात्मिक सत्यहरू बुझ्न हामीले धेरै शिक्षा हासिल गरेको हुनुपर्दैन। (प्रेरि. ४:१३) परमेश्वरका गहिरा-गहिरा कुराहरू अझ राम्ररी बुझ्न हामी के गर्न सक्छौं? यहाँ दिइएका केही सुझाव विचार गर्नुहोस्।
१२. पवित्र आत्माको लागि हामीले कहिले प्रार्थना गर्नुपर्छ?
१२ पवित्र आत्माको लागि प्रार्थना गर्नुहोस्। धर्मशास्त्रमा आधारित कुनै विषयलाई विचार गर्नुअघि हामीलाई डोऱ्याउनुहोस् भनेर पवित्र आत्माको लागि प्रार्थना गर्नुपर्छ। हामी एक्लै छौं वा हामीसित थोरै समय मात्र छ भने पनि हामीले यसो गर्नुपर्छ। यसरी नम्र भई निवेदन गर्दा स्वर्गमा बस्ने हाम्रो बुबाको मन पक्कै छुनेछ। येशूले भन्नुभएझैं हामीले निष्कपट भई बिन्ती गर्दा यहोवाले खुला मनले हामीलाई पवित्र आत्मा दिनुहुनेछ।—लूका ११:१३.
१३, १४. परमेश्वरका गहिरा-गहिरा कुराहरू बुझ्ने सन्दर्भमा सभाहरूको लागि तयारी गर्नुले कस्तो भूमिका खेल्छ?
१३ सभाहरूको लागि तयारी गर्नुहोस्। दासवर्गमार्फत हामी “ठीक-ठीक समयमा” भोजन पाउँछौं। “दास”-ले धर्मशास्त्रमा आधारित विषयवस्तु प्रस्तुत गरेर अनि अध्ययन तथा सभाहरूको लागि कार्यक्रम बनाएर आफ्नो जिम्मेवारी पूरा गर्छ। प्रस्तुत गरिएका कुनै-कुनै जानकारी सबै “भाइ-बन्धु”-ले विचार गर्नुहोस् भनेर आग्रह गर्नुका जायज कारणहरू छन्। (१ पत्रु. २:१७; कल. ४:१६; यहू. ३) दिइएका सुझावहरूअनुसार गर्न यथासक्दो गर्दा हामीले पवित्र आत्मासँगसँगै मिलेर काम गरिरहेका हुन्छौं।—प्रका. २:२९.
१४ ख्रीष्टियान सभाहरूको लागि तयारी गर्दा, उल्लेख गरिएका शास्त्रपदहरू पल्टाएरै हेर्नु अनि छलफल गरिंदै गरेको विषयमा प्रत्येक शास्त्रपद कसरी लागू हुन्छ भनेर बुझ्ने प्रयास गर्नु बेस हो। यसो गर्ने बानी बसाल्यौं भने बाइबललाई अझ गहिरिएर बुझ्दै जान सक्नेछौं। (प्रेरि. १७:११, १२) शास्त्रपदहरू पल्टाएरै हेर्दा दिमागमा ठप्प बस्छ अनि ती सम्झन पछि पवित्र आत्माले मदत गर्न सक्छ। साथै, बाइबलका पदहरू पानामै देखेपछि त्यो पद कहाँनेर छ भनेर थाह हुन्छ अनि आफूले खोजेकै बेला बाइबलमा भेट्टाउन सजिलो हुन्छ।
१५. प्रकाशित विषयवस्तुमा पाइने ताजा जानकारी हामीले किन लिनुपर्छ? अनि तपाईं कसरी यो गर्नुहुन्छ?
१५ ताजा जानकारीहरू थाह पाइराख्नुहोस्। प्रकाशित कुनै-कुनै विषयवस्तु हाम्रा सभाहरूमा छलफल गरिंदैनन् तर ती हाम्रो फाइदाको लागि तयार पारिएका हुन्छन्। जनसाधारणलाई दिइने पत्रपत्रिकामा समेत हामीलाई लाभदायक हुने जानकारी मनमा राखेर तयार पारिएको हुन्छ। अहिलेको गन्जागोल संसारमा हामीले अक्सर कसैको लागि वा कुनै कुराको लागि पर्खनुपर्ने हुन्छ। त्यसैले आफूले नपढेको वा पूरै पढ्न नभ्याएका प्रकाशन आफूसँगै लग्यौं भने पर्खनुपर्ने बेलामा केही अंश पढ्ने मौका पाउन सक्छौं। कोही-कोही भने हिंड्दा वा गाडी चढेको बेला हाम्रा प्रकाशनहरूको श्रव्य रेकर्डिङहरू सुनेर ताजा जानकारी प्राप्त गर्छन्। सामान्य पाठकलाई पढ्न मजा लाग्ने तर खूबै सोचविचार गरेर तयार पारिएका अनुसन्धानमूलक लेखहरूले आध्यात्मिक कुराहरूप्रति हाम्रो कृतज्ञता झन्-झन् बढाउँदै लैजान्छ।—हब. २:२.
१६. मनमा आएका प्रश्नहरूको टिपोट गर्दा र ती प्रश्नहरूबारे अझ धेरै सिक्दा कस्तो लाभ हुन्छ?
१६ मनन गर्नुहोस्। बाइबल वा बाइबलमा आधारित प्रकाशनहरू पढ्दा त्यसबारे समय लगाएर सोच्नुहोस्। पढेको विषयवस्तुको क्रम बुझ्दै जाँदा प्रश्नहरू उठ्न सक्छन्। तपाईं त्यस्ता प्रश्नहरूको टिपोट गर्न सक्नुहुन्छ अनि त्यसबारे पछि अझ बढी कुरा सिक्न सक्नुहुन्छ। हामी अक्सर आफूलाई रोचक लागेको विषयवस्तुलाई अझ गहिरिएर अध्ययन गर्छौं। यसरी अध्ययन गरेपछि बुझेका कुराहरू हाम्रो निजी भण्डारमा थपिंदै जान्छ र आफूलाई चाहिएको बेला त्यसबाट निकाल्न सक्छौं।—मत्ती १३:५२.
१७. पारिवारिक वा व्यक्तिगत अध्ययनको लागि तपाईंले कस्तो तरिका अपनाउनुभएको छ?
१७ पारिवारिक उपासनाको लागि समय तोक्नुहोस्। परिचालक निकायले हामी सबैलाई व्यक्तिगत वा पारिवारिक अध्ययन गर्न हरेक हप्ताको एक साँझ वा अर्को कुनै समय छुट्टयाउन प्रोत्साहन दिएको छ। हाम्रा सभाहरूको तालिकामा छाँटकाँट भएकोले यो सल्लाह लागू गर्न सम्भव भएको छ। पारिवारिक उपासनाको साँझ तपाईं के गर्नुहुन्छ? कोही-कोही बाइबल पढ्छन् अनि जुन पदहरूबारे मनमा प्रश्न उठेको छ, त्यसबारे अनुसन्धान गर्छन् अनि आफ्नो बाइबलमा छोटो टिपोट लेख्छन्। धेरैजसो परिवारचाहिं आफूले अध्ययन गरिरहेको विषयवस्तु कसरी लागू गर्न सकिन्छ भनी समय लगाएर विचार गर्छन्। कोही-कोही परिवारका शिरहरू आफ्नो परिवारलाई आवश्यक छ जस्तो लागेको विषयवस्तु छान्छन् वा परिवारले छलफल गर्न आग्रह गरेको विषय वा प्रश्नहरूमाथि विचार गर्छन्। समय बित्दै जाँदा छलफल गर्नुपर्ने अरू विषयहरू पनि तपाईंलाई याद हुनेछ। a
१८. परमेश्वरको वचनका गहिरा-गहिरा कुरा अध्ययन गर्नदेखि हामी किन पछि हट्नुहुँदैन?
१८ पवित्र आत्माले सहायकको रूपमा काम गर्नेछ भनेर येशूले भन्नुभएको थियो। त्यसैले परमेश्वरको वचनका गहिरा-गहिरा सत्यहरू अध्ययन गर्नदेखि हामी पछि हट्नुहुँदैन। त्यस्ता सत्यहरू “परमेश्वरको ज्ञान”-को अनमोल हिस्सा हुन् र ती खोजी गर्न हामीलाई निम्तो दिइएको छ। ( हितोपदेश २:१-५ पढ्नुहोस्) “परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको” कुराबारे परमेश्वरको वचनले धेरै कुरा प्रकट गर्छ। यहोवाको वचनबारे अझ धेरै कुरा सिक्ने प्रयास गर्दा पवित्र आत्माले हामीलाई मदत गर्नेछ, किनभने “आत्माले सबै कुरा परमेश्वरका गहिरा-गहिरा कुराहरूलाई पनि खोजी” गर्छ।—१ कोरि. २:९, १०. ( w10 -E 07/15)
[फुटनोट]
a हाम्रो राज्य सेवकाई अक्टोबर २००८ पृष्ठ ८ पनि हेर्नुहोस्।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
• “परमेश्वरका गहिरा-गहिरा कुराहरू” खोज्न आत्माले हामीलाई मदत गर्ने दुईपक्षीय भूमिका के-के हुन्?
• प्रथम शताब्दीमा पवित्र आत्माले कोमार्फत गहिरा-गहिरा सत्यहरू प्रकट गऱ्यो?
• आज हाम्रो समयमा विभिन्न विषयको स्पष्टीकरण दिन पवित्र आत्माले कसरी काम गर्छ?
• पवित्र आत्माको भूमिकाबाट लाभ उठाउन तपाईं के गर्न सक्नुहुन्छ?
[प्रश्नहरू]
[पृष्ठ ३०-मा भएको पेटी]
आत्माले प्रतीकात्मक मन्दिरको अर्थ कसरी प्रकट गऱ्यो
प्रथम शताब्दीमा प्रकट गरिएका “परमेश्वरका गहिरा-गहिरा कुराहरू”-मध्ये एउटाचाहिं, बासस्थान र पछि मन्दिरले अझ ठूलो प्रतीकात्मक अर्थलाई पूर्वचित्रण गर्छ भन्ने थियो। पावलले त्यसलाई “मानिसले खडा गरेको होइन, तर प्रभुले खडा गर्नुभएको . . . सच्चा बासस्थान” भने। (हिब्रू ८:१, २) यो महान् प्रतीकात्मक मन्दिर अर्थात् येशू ख्रीष्टको बलिदान र पूजाहारीको रूपमा उहाँको भूमिकाले गर्दा परमेश्वरलाई पुकार्न सम्भव भएको प्रबन्ध थियो।
जब इस्वी संवत् २९ मा येशूको बप्तिस्मा भयो र एउटा सिद्ध बलिदान हुनको लागि यहोवाले उहाँलाई स्वीकार्नुभयो, तब “सच्चा बासस्थान” अस्तित्वमा आयो। (हिब्रू १०:५-१०) आफ्नो मृत्यु र पुनरुत्थानपछि येशू त्यस प्रतीकात्मक मन्दिरको महापवित्रस्थानमा प्रवेश गर्नुभयो र “परमेश्वरको सामने” आफ्नो बलिदानको मोल प्रस्तुत गर्नुभयो।—हिब्रू ९:११, १२, २४.
अन्य ठाउँहरूमा प्रेरित पावलले अभिषिक्त ख्रीष्टियानहरू यहोवामा “एउटै पवित्र मन्दिर हुनलाई बढ्दै जान्छ” भनी लेखे। (एफि. २:२०-२२) के यो मन्दिर र तिनले पछि हिब्रूहरूलाई लेखेको पत्रमा वर्णन गरेको “सच्चा बासस्थान” एउटै थियो? वर्षौंसम्म यहोवाका सेवकहरूले एउटै हो भन्ठानेका थिए। अभिषिक्त ख्रीष्टियानहरू यहोवाको स्वर्गीय मन्दिरका “पत्थरहरू” बन्न पृथ्वीमा तयार पारिंदैछन् जस्तो देखिन्थ्यो।—१ पत्रु. २:५.
तथापि, सन् १९७१ को अन्ततिर दासवर्गको प्रतिनिधित्व गर्ने परिचालक निकायले एफिसीको पुस्तकमा पावलले बताएको मन्दिर यहोवाको महान् प्रतीकात्मक मन्दिर हुन सक्दैन भनेर बुझ्न थाले। यदि “सच्चा बासस्थान” पुनरुत्थान भएका अभिषिक्त ख्रीष्टियानहरू मिलेर बनेको हुँदो हो त “प्रभुको आगमन [“उपस्थिति,” NW]”-को दौडान तिनीहरूको पुनरुत्थान हुन सुरु भएपछि मात्र त्यो बासस्थान अस्तित्वमा आएको हुनुपर्ने थियो। (१ थिस्स. ४:१५-१७) तर बासस्थानलाई सङ्केत गर्दै पावलले लेखे: “यो ता अहिले वर्तमान समयको निम्ति एक दृष्टान्त हो।”—हिब्रू ९:९.
यी र अन्य शास्त्रपद होसियारीपूर्वक तुलना गरेर हेर्दा प्रतीकात्मक मन्दिर निर्माण हुँदै गरेको अवस्थामा छैन अनि अभिषिक्त ख्रीष्टियानहरू त्यस मन्दिरमा थपिन यस पृथ्वीमा तयार पारिएका “पत्थरहरू” होइनन् भनेर प्रस्ट भयो। अभिषिक्त ख्रीष्टियानहरू त्यस प्रतीकात्मक मन्दिरको चोकमा र पवित्रस्थानमा दिनहुँ परमेश्वरलाई “स्तुतिको बलिदान” चढाएर सेवा गरिरहेका छन्।—हिब्रू १३:१५.
[पृष्ठ ३१-मा भएको चित्र]
“परमेश्वरका गहिरा-गहिरा कुराहरू” हामी कसरी अझ राम्ररी बुझ्दै जान सक्छौं?