सबै असल मानिस स्वर्ग जान्छन्?
सबै असल मानिस स्वर्ग जान्छन्?
येशूले आफूलाई झुन्ड्याइनुअघिको साँझ प्रेरितहरूसितको अन्तिम भोजपछि तिनीहरूलाई स्वर्गको इनाम दिने प्रतिज्ञा गर्नुभयो। उहाँले भन्नुभयो: “मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्। त्यसो नभए, म तिमीहरूलाई भन्ने थिएँ, किनकि म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु।” (यूहन्ना १४:२) येशूले तिनीहरूका निम्ति किन स्वर्गमा ठाउँ तयार पार्नुहुने थियो? तिनीहरूले त्यहाँ के गर्नेछन्?
आफ्ना चेलाहरूलाई एउटा विशेष जिम्मा दिने कुरा येशूको मनमा थियो। त्यही साँझ उहाँले भन्नुभयो: “तिमीहरू मेरो परीक्षामा मसितै रहेकाहरू हौ, औ मेरा पिताले मेरो निम्ति नियुक्त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्त गर्छु।” (लूका २२:२८, २९) परमेश्वरले येशूलाई एउटा सरकारको शासक बनाउने प्रतिज्ञा गर्नुभएको थियो र उहाँले मानिसजातिको एउटा सबैभन्दा ठूलो आवश्यकता अर्थात् असल सरकारको आवश्यकता पूरा गर्नुहुने थियो। येशूले मानिसहरूलाई दुःखकष्टबाट उद्धार गर्नुहुनेछ र अत्याचारीहरूलाई टुक्रा-टुक्रा पार्नुहुनेछ। येशूका प्रजाहरू “पृथ्वीको पल्लो छेउसम्म” रहने भए तापनि उहाँको सिंहासन स्वर्गमा हुनेछ।—भजन ७२:४, ८; दानियल ७:१३, १४.
तर येशू एक्लैले शासन गर्नुहुने छैन। तसर्थ, उहाँले प्रेरितहरूलाई स्वर्गमा ठाउँ दिने प्रतिज्ञा गर्नुभयो। “पृथ्वीमाथि राज्य” गर्न छानिएकाहरूमध्ये तिनीहरू पहिलो थिए।—प्रकाश ५:१०.
स्वर्गमा कति जना जान्छन्? अरू सरकारमा जस्तै परमेश्वरको स्वर्गीय सरकारमा पनि प्रजाहरूको तुलनामा शासन गर्नेहरू थोरै छन्। उहाँसँगै शासन गर्नेहरूलाई येशूले भन्नुभयो: “ए सानो बगाल, नडराओ, किनभने तिमीहरूलाई राज्य दिने तिमीहरूका पिताको शुभेच्छा छ।” (लूका १२:३२) त्यो “सानो बगाल”-को संख्या अन्ततः १,४४,००० हुनेछ। (प्रकाश १४:१) यो संख्या, परमेश्वरको राज्यको वफादार प्रजाको रूपमा पृथ्वीमा सधैंभरि बाँच्ने लाखौं मानिसहरूको तुलनामा थोरै हो।—प्रकाश २१:४.
अतः सबै असल मानिस स्वर्ग जाँदैनन्। असल राजा दाऊदबारे प्रेरित पत्रुसले सीधै यसो भने: “दाऊद स्वर्गमा चढिगएनन्।” (प्रेरित २:३४) बप्तिस्मा दिने यूहन्ना असल व्यक्ति थिए। तैपनि, स्वर्गमा राजाको रूपमा शासन गर्न तिनलाई उच्च पारिनेछैन भनेर येशूले संकेत गर्नुभयो। येशूले भन्नुभयो: “मानिसमध्ये बप्तिस्मा दिने यूहन्नाभन्दा ठूलो कोही उठेको छैन। तरैपनि स्वर्गको राज्यका जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा ठूलो हो।”—मत्ती ११:११.
असल मानिसहरूले पाउने इनाम के तपाईंले पाउनुहुनेछ?
पृथ्वीमा सधैंभरि बाँच्ने इनाम पाउन कुनै व्यक्तिले के गर्नैपर्छ? येशूले भन्नुभयो: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) याद गर्नुहोस्, संसारप्रतिको परमेश्वरको प्रेमको कारण उहाँले सबैका लागि अनन्त जीवनको प्रबन्ध गर्नुभएको छ तर यो इनाम “विश्वास गर्ने”-हरूले मात्र पाउनेछन्।
विश्वास गर्नुमा परमेश्वरलाई सही तरिकाले चिन्नु समावेश छ। (यूहन्ना १७:३) मानिसजातिको लागि परमेश्वरको उद्देश्यबारे अझ धेरै सिकेर तपाईंले आफू असल मानिस भएको प्रमाण दिन सक्नुहुन्छ। आफूले सिकेको विश्वासअनुसार कदम चाल्नुहोस्। अनि अनन्त जीवनको ढोका साँच्चै तपाईंसामु खोलिएको छ भनेर विश्वस्त हुनुहोस्। ( w10 -E 02/01)
[पृष्ठ ७-मा भएको पेटी]
बाइबल के भन्छ?
प्रश्न:
असल मानिसहरू मरेपछि के हुन्छ?
उत्तर:
“मरेकाहरूले ता केही पनि जान्दैनन्।”
प्रश्न:
असल मानिसहरूको भविष्यको आशा कस्तो छ?
उत्तर:
“बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको [येशूको] सोर सुन्नेछन्।”—यूहन्ना ५:२८, २९.
प्रश्न:
अधिकांश असल मानिसहरू कहाँ बस्नेछन्?
उत्तर:
“धर्मात्माहरूले देश [“पृथ्वी,” NW] अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।”—भजन ३७:२९.