तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ होस्
“तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’ होस्।”—मत्ती ५:३७.
१. शपथ अर्थात् कसम खानेबारे येशूले के भन्नुभयो र किन?
साधारणतया साँचो ख्रीष्टियनहरूलाई शपथ अर्थात् कसम खानुपर्ने आवश्यकता पर्दैन किनभने तिनीहरू येशूले भन्नुभएको यो आज्ञा पालन गर्छन्: “तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ . . . होस्।” उहाँको भनाइको अर्थ थियो, मानिसले आफ्नो वचन पूरा गर्नुपर्छ। उक्त आज्ञा दिनुअघि येशूले यसो भन्नुभयो: “कसम खाँदै नखाओ।” थुप्रै मानिस आफूले भनेको कुरा पूरा गर्ने मनसाय नहुँदा पनि कसम खाने गर्छन्। त्यसैले येशूले त्यस्तो बानीको निन्दा गर्नुभयो। आफ्नो मनसाय व्यक्त गर्न ‘हुन्छ’ या ‘हुँदैन’ भने पुग्छ। तर “यसभन्दा बढ्ता” गर्ने व्यक्तिले आफू भरोसायोग्य नभएको र “त्यस दुष्टतर्फ” भएको देखाउँछ।—मत्ती ५:३३-३७ पढ्नुहोस्।
२. शपथ खानै हुँदैन भन्ने किन होइन, व्याख्या गर्नुहोस्।
२ के येशूको भनाइको अर्थ शपथ खानै हुँदैन भन्ने हो? त्यो त कसरी हुन सक्छ र! यहोवा परमेश्वर र उहाँको सेवक अब्राहामले विशेष अवसरहरूमा शपथ खाएको कुरा हामीले अघिल्लो लेखमा सिक्यौं। अनि परमेश्वरको व्यवस्थाअनुसार केही खास समस्या सुल्झाउन शपथ खानुपर्थ्यो। (प्रस्थ. २२:१०, ११; गन्ती ५:२१, २२) त्यसैले कुनै ख्रीष्टियनले अदालतमा बयान दिंदा सत्य कुरा भन्नको लागि शपथ खानुपर्ने हुन सक्छ। अनि यदाकदाचाहिं आफ्नो मनसाय स्पष्ट पार्न वा कुनै समस्या सुल्झाउन ख्रीष्टियनले शपथ खानुपर्ने आवश्यकता महसुस गर्न सक्छन्। यहूदी न्यायपरिषद्मा प्रधान पुजारीले कसम खान लगाउँदा येशूले आपत्ति जनाउनु भएन बरु सत्य कुरा बताउनुभयो। (मत्ती २६:६३, ६४) तर येशूले कसम खानुपर्ने आवश्यकता थिएन। तैपनि आफ्नो सन्देशको सत्यतालाई जोड दिन येशू अक्सर यसरी आफ्नो कुरा सुरु गर्नुहुन्थ्यो: “तिमीहरूलाई म साँच्चै [शाब्दिक, “साँचो, साँचो”] भन्छु।” (यूह. १:५१; १३:१६, २०, २१, ३८) आउनुहोस्, येशू, पावल र अन्य केही व्यक्तिको उदाहरणबाट सिकौं, जसले ‘हुन्छ’-लाई ‘हुन्छ’ बनाए।
येशू—उत्कृष्ट उदाहरण
३. परमेश्वरलाई प्रार्थना गर्दा येशूले कस्तो प्रतिज्ञा गर्नुभयो र स्वर्गमा बस्नुहुने बुबाले कस्तो प्रतिक्रिया देखाउनुभयो?
३ “हे परमेश्वर, हेर्नुहोस्, तपाईंको इच्छा पूरा गर्न म आएँ।” (हिब्रू १०:७) यी अर्थपूर्ण शब्दद्वारा येशूले परमेश्वरको इच्छा पूरा गर्ने प्रतिज्ञा गर्नुभयो। यसको मतलब, प्रतिज्ञा गरिएका सन्तानबारे गरिएको भविष्यवाणीअनुरूपै उहाँले सबै कुरा गर्नुहुनेथियो, सैतानलाई ‘आफ्नो कुर्कुच्चो डस्न’-समेत दिनुहुनेथियो। (उत्प. ३:१५) अरू कुनै पनि मानिस यस्तो गहन जिम्मेवारी निर्वाह गर्न अग्रसर भएको छैन। आफ्नो छोराप्रति पूरा भरोसा भएको कुरा यहोवाले स्वर्गबाट व्यक्त गर्नुभयो। तर येशूले गर्नुभएको प्रतिज्ञा पूरा गर्न यहोवाले उहाँलाई शपथ खान लगाउनुभएन।—लूका ३:२१, २२.
४. येशूले आफ्नो ‘हुन्छ’-लाई कुन हदसम्म ‘हुन्छ’ बनाउनुभयो?
४ येशूले आफ्नो ‘हुन्छ’-लाई ‘हुन्छ’ बनाएर आफूले प्रचार गरेको कुरा सधैं व्यवहारमा उतार्नुभयो। आफ्नो बुबाले सुम्पनुभएको काम अर्थात् परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने र परमेश्वरले खिच्नुभएकाहरूलाई चेला बनाउने काम गर्नदेखि उहाँ कहिल्यै पछि हट्नुभएन। (यूह. ६:४४) येशू परमेश्वरको इच्छा पूरा गर्न कुन हदसम्म तयार हुनुहुन्थ्यो भन्ने कुरा बाइबलका यी शब्दहरूबाट स्पष्ट हुन्छ: “परमेश्वरका प्रतिज्ञाहरू जतिसुकै भए तापनि ती उहाँद्वारा ‘हुन्छ’ भएका छन्।” (२ कोरि. १:२०) हो, आफ्नो बुबासित गरेको प्रतिज्ञा पूरा गर्ने सन्दर्भमा येशू उत्कृष्ट उदाहरण हुनुहुन्छ। अब येशूको उदाहरण अनुकरण गर्न सक्दो प्रयास गरेका अर्को व्यक्तिबारे विचार गरौं।
पावल—वचन पूरा गर्ने मानिस
५. प्रेषित पावलले हाम्रो लागि कस्तो उदाहरण बसाले?
५ “हे प्रभु, म के गरूँ?” (प्रेषि. २२:१०) पछि पावल भनेर चिनिएका शावलले प्रभु येशूको दर्शन देख्दा उक्त प्रतिक्रिया देखाए। ख्रीष्टियनहरूलाई खेदो गर्नदेखि रोक्न येशू दर्शनमा शावलकहाँ देखा पर्नुभयो। यस दर्शनपछि तिनले नम्र भई पश्चात्ताप व्यक्त गरे, बप्तिस्मा गरे र येशूबारे मानिसहरूलाई साक्षी दिने विशेष जिम्मेवारी स्वीकारे। त्यस उसो पावलले आफ्नो जीवनकालभरि येशूलाई “प्रभु” भनी सम्बोधन गरे र उहाँप्रति आज्ञाकारी भए। (प्रेषि. २२:६-१६; २ कोरि. ४:५; २ तिमो. ४:८) येशूलाई “प्रभु” भनी सम्बोधन गर्ने तर भनेजस्तो नगर्नेहरूलाई उहाँले यसो भन्नुभयो: “तिमीहरू किन मलाई ‘प्रभु! प्रभु!’ भनी पुकार्छौ तर मैले भनेजस्तो चाहिं गर्दैनौ?” (लूका ६:४६) तर पावल भने त्यस्ता मानिस थिएनन्। येशूलाई प्रभु स्वीकार्ने सबैले आफ्नो वचन पूरा गरेको उहाँ आशा गर्नुहुन्छ। पावलले पनि त्यसै गरे।
६, ७. (क) पुनः कोरिन्थको भ्रमण गर्ने योजनालाई पावलले किन परिवर्तन गरे? पावल भरोसायोग्य छैनन् भन्दै तिनको आलोचना गर्नु किन गलत थियो? (ख) हामीबीच अगुवाइ लिन नियुक्त भएकाहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?
६ पावलले एसिया माइनरभरि अनि युरोपमा परमेश्वरको राज्यबारे जोसिलो भई प्रचार गरे। तिनले थुप्रै मण्डली स्थापना गरे र ती मण्डलीहरूमा फेरि भ्रमण गरे। आफूले लेखेको कुरा सही हो भनेर बुझाउन कहिलेकाहीं तिनले शपथसमेत खाए। (गला. १:२०) कोरिन्थका कसै-कसैले पावललाई भरोसा नगर्दा तिनले आफ्नो सफाइ पेस गर्दै यस्तो लेखे: “जसरी परमेश्वरमाथि भरोसा गर्न सकिन्छ, त्यसरी नै यो कुरामा पनि भरोसा गर्न सकिन्छ, कि हामीले तिमीहरूलाई सुरुमा ‘हुन्छ’ भनेको कुरा पछि गएर ‘हुँदैन’ हुनेछैन।” (२ कोरि. १:१८) उक्त कुरा लेखेको समयमा पावल एफिसस छोडेर म्यासिडोनिया हुँदै कोरिन्थतर्फ यात्रा गर्दै थिए। सुरुमा तिनले म्यासिडोनिया जानुअघि पुनः कोरिन्थ जाने योजना बनाएका थिए। (२ कोरि. १:१५, १६) आजका परिभ्रमण निरीक्षकहरूले पनि कहिलेकाहीं आफ्नो तालिका परिवर्तन गर्नुपर्ने हुन्छ। तर आफ्नै इच्छा पूरा गर्ने सानातिना कुराको लागि यस्तो परिवर्तन गरिंदैन; कुनै आकस्मिक कारणले मात्र गरिन्छ। पावलको सन्दर्भमा भन्ने हो भने, तिनले कोरिन्थको भ्रमणलाई पछि सार्नुमा त्यस मण्डलीकै हित थियो। तर कसरी?
७ कोरिन्थ जाने योजना मिलाएको केही समयपछि पावलले त्यहाँको मण्डलीमा समस्या भएको कुरा सुने। भाइहरूमा फूट थियो र मण्डलीले अनैतिकताप्रति आँखा चिम्लिरहेको थियो। (१ कोरि. १:११; ५:१) यो अवस्था सुधार्न तिनले कोरिन्थीहरूलाई कडा सल्लाह दिंदै पहिलो पत्र लेखे। त्यसैले एफिससबाट सिधै कोरिन्थ जानुको सट्टा पावलले तिनीहरूलाई सल्लाह लागू गर्न समय दिने निर्णय गरे। यसो गर्दा तिनको भ्रमण अझ प्रोत्साहनदायी हुनेथियो। आफ्नो योजना परिवर्तन गर्नुको कारण बताउँदै पावलले दोस्रो पत्रमा यस्तो लेखे: “अब म परमेश्वरसामु आफ्नो ज्यानको कसम खाएर भन्छु, तिमीहरूलाई अझ दुःखी नबनाउनकै लागि म अहिलेसम्म कोरिन्थ नआएको हुँ।” (२ कोरि. १:२३) हामी पावलको आलोचना गर्ने मानिसहरूजस्तो कहिल्यै नहोऔं; बरु हामीबीच अगुवाइ लिन नियुक्त भएकाहरूको गहिरो आदर गरौं। पावलले आफूले गरेको प्रतिज्ञाअनुरूपै गरे। तिनले ख्रीष्टको उदाहरण अनुकरण गरेझैं हामीले तिनको उदाहरण अनुकरण गर्नुपर्छ।—१ कोरि. ११:१; हिब्रू १३:७.
अन्य असल उदाहरण
८. रिबेकाले हाम्रो लागि कस्तो उदाहरण बसालिन्?
८ “म जान्छु।” (उत्प. २४:५८) रिबेकाकी आमा र दाइले तिनी अब्राहामको छोरा इसहाककी पत्नी बन्न घर छोडेर जान इच्छुक छन् कि छैनन् भनी सोध्दा रिबेकाले उक्त जवाफ दिएकी थिइन्। तिनले त्यसै दिन आफ्नो घर छोडेर अपरिचित व्यक्तिसित ८०० किलोमिटरभन्दा लामो यात्रा गर्नुपर्नेथियो। (उत्प. २४:५०-५८) ‘हुन्छ’ भनेको कुरालाई रिबेकाले ‘हुन्छ’ हुन दिइन्। तिनी इसहाककी असल पत्नी भइन् र विश्वासी भई यहोवाको सेवा गरिन्। आफ्नो बाँकी जीवन प्रतिज्ञा गरिएको भूमिमा प्रवासी भएर पालमा बिताइन्। प्रतिज्ञा गरिएका सन्तान येशू ख्रीष्टकी पुर्खा बन्ने अवसर दिएर परमेश्वरले तिनलाई इनाम दिनुभयो।—हिब्रू ११:९, १३.
९. रूथले कसरी आफ्नो वचन पूरा गरिन्?
९ “हामी तपाईंका मानिसहरूकहाँ जानेछौं।” (रूथ १:१०) मोआबी विधवाहरू रूथ र ओर्पाले मोआबबाट बेतलेहेम फर्किंदै गरेकी विधवा सासू नाओमीलाई पटक-पटक उक्त कुरा भनेका थिए। नाओमीले कर गरेपछि ओर्पा बल्लतल्ल आफ्ना मानिसहरूकहाँ फर्किन्। तर रूथको ‘हुँदैन’ साँच्चै ‘हुँदैन’ भयो। (रूथ १:१६, १७ पढ्नुहोस्) आफ्नो परिवार र मोआबको झूटो धर्म सदाको लागि त्यागेर तिनी नाओमीसितै बसिन्। तिनले आफ्नो बाँकी जीवन यहोवाको वफादार उपासक भएर बिताइन्। इनामस्वरूप, मत्तीले लिपिबद्ध गरेका ख्रीष्टको वंशावलीमा उल्लिखित पाँच जना स्त्रीमध्ये एक हुने अवसर पाइन्।—मत्ती १:१, ३, ५, ६, १६.
१०. यशैया हाम्रो लागि किन राम्रो उदाहरण हुन्?
१० “म हाजिर छु। मलाई पठाउनुहोस्।” (यशै. ६:८) यशैयाले यसो भन्नुअघि तिनले यहोवा इस्राएलको मन्दिरमाथि आफ्नो सिंहासनमा बसिरहनुभएको एउटा भव्य दर्शन देखे। उक्त दृश्यलाई एकटक लगाएर हेर्दै गर्दा यहोवाले यसो भन्नुभएको तिनले सुने: “म कसलाई पठाऊँ औ हाम्रा निम्ति को जाने?” अनाज्ञाकारी मानिसहरूलाई आफ्नो सन्देश सुनाउन उहाँ कसैलाई आफ्नो प्रवक्ता बनाउन चाहनुहुन्थ्यो। यशैयाले आफ्नो वचन पूरा गरे। तिनले ‘हुन्छ’-लाई ‘हुन्छ’ बनाए। अनाज्ञाकारी मानिसहरूलाई परमेश्वरले सजाय दिनुहुनेछ भन्ने कडा सन्देशका साथै साँचो उपासना पुनर्स्थापित हुनेछ भन्ने रोमाञ्चकारी सन्देश यशैयाले ४६ वर्षभन्दा लामो समयसम्म वफादार भई सुनाए।
११. (क) आफ्नो वचन पूरा गर्नु किन असाध्यै महत्त्वपूर्ण छ? (ख) आफ्नो वचन पूरा नगर्ने मानिसहरूको कस्तो चेतावनीमूलक उदाहरण पाउँछौं?
११ यहोवाले माथि उल्लिखित उदाहरणहरू किन बाइबलमा लेख्न लगाउनुभयो? अनि आफ्नो ‘हुन्छ’-लाई ‘हुन्छ’ बनाउनु कत्तिको महत्त्वपूर्ण छ? “विश्वासघाती” मानिसहरू “मृत्युको योग्य हुन्छन्” भनी बाइबलले स्पष्टसित बताएको छ। (रोमी १:३१, ३२) मिश्रका फिरऊन, यहूदी राजा सिदकियाह अनि हननिया र सफीरा बाइबलमा उल्लेख गरिएका खराब उदाहरण हुन् जसले आफ्नो ‘हुन्छ’-लाई ‘हुन्छ’ बनाएनन्। तिनीहरू सबैले दुःखलाग्दो नतिजा भोग्नुपऱ्यो। तिनीहरूको उदाहरण हाम्रो लागि चेतावनी हो।—प्रस्थ. ९:२७, २८, ३४, ३५; इज. १७:१३-१५, १९, २०; प्रेषि. ५:१-१०.
१२. आफ्नो वचन पूरा गर्न हामीलाई केले मदत गर्नेछ?
१२ “अन्तको दिनमा” बाँचिरहेकोले “विश्वासघाती” मानिसहरू प्रशस्तै पाउँछौं। यिनीहरू ‘परमेश्वरको भक्ति गरेको ढोंग गर्छन् तर त्यसको शक्तिलाई भने इन्कार गर्छन्।’ (२ तिमो. ३:१-५) सम्भव भएसम्म हामीले यस्ता मानिसहरूसित सङ्गत गर्नु हुँदैन। बरु आफ्नो ‘हुन्छ’-लाई सधैं ‘हुन्छ’ बनाउन प्रयास गर्नेहरूसित नियमित रूपमा भेला हुनुपर्छ।—हिब्रू १०:२४, २५.
तपाईंको सबैभन्दा महत्त्वपूर्ण ‘हुन्छ’
१३. येशू ख्रीष्टका अनुयायीहरूको सबैभन्दा महत्त्वपूर्ण ‘हुन्छ’ कुन हो?
१३ मानिसले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण प्रतिज्ञा आफूलाई परमेश्वरप्रति समर्पण गर्ने प्रतिज्ञा हो। आफूलाई इन्कार गरेर येशूको चेला बन्न चाहनेहरूलाई तीनवटा भिन्नाभिन्नै अवसरमा तिनीहरूको मनसायबारे प्रश्न सोधिन्छ। यतिबेला तिनीहरूले ती प्रश्नहरूको सकारात्मक जवाफ दिने मौका पाउँछन्। (मत्ती १६:२४) बप्तिस्मा अप्राप्त प्रकाशक बन्न चाहने व्यक्तिलाई दुई जना एल्डरले भेटेर यस्तो प्रश्न सोध्छन्, “के तपाईं साँच्चै यहोवाका साक्षी हुन चाहनुहुन्छ?” पछि उक्त व्यक्तिले अझ प्रगति गरेर बप्तिस्मा गर्न इच्छुक भएमा एल्डरहरूले तिनलाई भेट्छन् र यस्तो प्रश्न सोध्छन्, “के तपाईंले प्रार्थना गरेर यहोवालाई आफ्नो जीवन समर्पण गरिसक्नुभयो?” अन्तमा, बप्तिस्मा गर्न लागेका प्रत्येकलाई बप्तिस्माअघि यस्तो प्रश्न सोधिन्छ, “येशू ख्रीष्टको बलिदानको आधारमा के तपाईंले आफ्ना पापहरूको पश्चात्ताप गरेर यहोवाको इच्छा गर्न आफूलाई समर्पण गर्नुभएको छ?” सधैंभरि परमेश्वरको सेवा गर्ने प्रतिज्ञा गर्दै अरू मानिसहरूको सामु यी नयाँ व्यक्तिहरूले उक्त प्रश्नको सकारात्मक जवाफ दिन्छन्।
१४. बेला-बेलामा हामीले आफूलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ?
१४ हालसालै मात्र बप्तिस्मा गरेको होस् वा वर्षौंदेखि यहोवाको सेवा गर्दै आएको किन नहोस्, यस्ता प्रश्नहरू सोधेर बेला-बेलामा आफूलाई जाँच्नुपर्छ: ‘येशू ख्रीष्टको अनुकरण गर्दै के मैले आफ्नो सबैभन्दा महत्त्वपूर्ण ‘हुन्छ’-लाई ‘हुन्छ’ बनाइरहेको छु? प्रचार गर्ने र चेला बनाउने कामलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण काम बनाएर के म येशूप्रति आज्ञाकारी भइरहेको छु?’—२ कोरिन्थी १३:५ पढ्नुहोस्।
१५. जीवनको कुन-कुन क्षेत्रमा आफ्नो ‘हुन्छ’-लाई ‘हुन्छ’ बनाउने प्रयास गर्नुपर्छ?
१५ समर्पणको बेला गरेको प्रतिज्ञा पूरा गर्न हामी अन्य महत्त्वपूर्ण मामिलामा पनि वफादार हुनै पर्छ। जस्तै: के तपाईं विवाहित हुनुहुन्छ? त्यसो हो भने आफ्नो जोडीलाई प्रेम र आदर गर्छु भनेको वाचा पूरा गर्नुहोस्। के तपाईंले व्यापारिक कारोबारको लागि कुनै सम्झौता गर्नुभएको वा परमेश्वरको सङ्गठनमा कुनै सेवा गर्न फाराम भर्नुभएको छ? त्यसो हो भने आफ्नो सम्झौता र वाचा पूरा गर्नुहोस्। के तपाईंले भौतिक रूपमा त्यति सम्पन्न नभएको व्यक्तिले भोजनको लागि दिएको निम्तो स्वीकार्नुभएको छ? त्यसो हो भने त्योभन्दा स्तरीयजस्तो देखिने निम्तो आएमा पहिलाको निम्तोलाई रद्द नगर्नुहोस्। अथवा घर-घरको प्रचारमा जाँदा के तपाईंले कुनै व्यक्तिलाई फेरि आउँछु भन्नुभएको छ? त्यसो हो भने आफ्नो ‘हुन्छ’-लाई हर हालतमा ‘हुन्छ’ बनाउनुहोस् अनि यहोवाले तपाईंको प्रचारकार्यमाथि आशिष् वर्षाउनुहुनेछ।—लूका १६:१० पढ्नुहोस्।
हाम्रा प्रधान पुजारी तथा राजाबाट लाभ उठाउनुहोस्
१६. आफ्नो वचन पूरा गर्न सकेनौं भने के गर्नुपर्छ?
१६ त्रुटिपूर्ण भएकोले “हामी सबै जना धेरै चोटि चुक्छौं” भनी बाइबल बताउँछ, विशेषगरि जिब्रो प्रयोग गर्ने सन्दर्भमा। (याकू. ३:२) आफ्नो वचन पूरा गर्न नसकेको महसुस गऱ्यौं भने हामीले के गर्नुपर्छ? ‘सोचविचार नगरी किरिया हाल्ने’ व्यक्तिले परमेश्वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा उल्लिखित एउटा दयालु प्रबन्धबाट लाभ उठाउन सक्थ्यो। (लेवी ५:४-७, ११) यस किसिमको गल्ती गर्ने ख्रीष्टियनहरूका लागि आज पनि मायालु प्रबन्ध छ। आफ्नो पाप यहोवासामु स्वीकाऱ्यौं भने हाम्रा प्रधान पुजारी येशू ख्रीष्टद्वारा उहाँले हामीमाथि कृपा देखाउनुहुनेछ र हामीलाई क्षमा दिनुहुनेछ। (१ यूह. २:१, २) तर परमेश्वरको अनुमोदन पाइरहने हो भने आफू साँच्चै पश्चात्तापी भएको कुरा देखाउनुपर्छ। कसरी? प्रतिज्ञा तोड्ने बानी नबसालेर अनि प्रतिज्ञा तोडेकोले खडा भएको अवस्थाको क्षतिपूर्ति गर्न यथासक्दो गरेर। (हितो. ६:२, ३) कुनै पनि प्रतिज्ञा गर्नुअघि होसियार भई सोचविचार गर्नु अझ बेस!—उपदेशक ५:२ पढ्नुहोस्।
१७, १८. आफ्नो ‘हुन्छ’-लाई ‘हुन्छ’ बनाउन प्रयास गर्नेहरूसामु कस्तो भविष्य छ?
१७ आफ्नो ‘हुन्छ’-लाई ‘हुन्छ’ बनाउन प्रयास गर्ने यहोवाका उपासकहरूसामु सुनौलो भविष्य छ! परमेश्वरको पवित्र शक्तिद्वारा अभिषिक्त १,४४,००० ले स्वर्गमा अमर जीवन प्राप्त गर्नेछन्। त्यहाँ तिनीहरूले “राजाको रूपमा एक हजार वर्षसम्म उहाँसित [अर्थात् येशूसित] शासन गर्नेछन्।” (प्रका. २०:६) तर करोडौं मानिस भने पार्थिव प्रमोदवनमा बस्नेछन्। ख्रीष्टले परमेश्वरको राज्यको राजाको रूपमा शासन गर्दा ती मानिसहरू शारीरिक र मानसिक रूपमा त्रुटिरहित हुँदै जानेछन्।—प्रका. २१:३-५.
१८ येशूको हजार वर्षीय शासनको अन्तमा अन्तिम जाँच हुनेछ। त्यस जाँचमा विश्वासी साबित हुनेहरू मात्र प्रमोदवनमा बस्न पाउनेछन्। त्यतिखेर कसैको कुरामा शङ्का गर्नुपर्नेछैन। (प्रका. २०:७-१०) सबैले आफ्नो ‘हुन्छ’-लाई ‘हुन्छ’ बनाउनेछन् अनि ‘हुँदैन’-लाई ‘हुँदैन।’ तिनीहरूले स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबा यहोवाको दुरुस्त नकल गर्नेछन्, जो “सत्यका परमेश्वर” हुनुहुन्छ।—भज. ३१:५, NRV.