सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पति हो—ख्रीष्टले देखाउनुभएको शिरत्वको नमुना अनुसरण गर्नुहोस्‌

पति हो—ख्रीष्टले देखाउनुभएको शिरत्वको नमुना अनुसरण गर्नुहोस्‌

पति हो—ख्रीष्टले देखाउनुभएको शिरत्वको नमुना अनुसरण गर्नुहोस्‌

“हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ।”—१ कोरिन्थी ११:३.

१, २. (क) कस्तो पतिलाई तपाईं सफल मान्‍नुहुन्छ? (ख) विवाहको सुरुआतकर्ता परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार्नु किन महत्त्वपूर्ण छ?

 कस्तो पतिलाई तपाईं सफल मान्‍नुहुन्छ? तीक्ष्ण बुद्धि भएकोलाई? बलियोलाई? कि धेरै पैसा कमाउन सक्नेलाई? वा आफ्ना पत्नी र छोराछोरीलाई मायालु ढंगमा व्यवहार गर्नेलाई? पत्नी र छोराछोरासित मायालु व्यवहार गर्ने सन्दर्भमा चाहिं थुप्रै पतिहरू चुक्छन्‌ किनभने तिनीहरू संसारको आत्मा र मानव स्तरहरूको प्रभावमा परेका छन्‌। तिनीहरू किन त्यस्तो प्रभावमा परेका छन्‌? मुख्यतया तिनीहरू विवाहको सुरुआतकर्ताले दिनुभएको निर्देशन स्वीकार्दैनन्‌ र पालन पनि गर्दैनन्‌, ती सुरुआतकर्ता जसले ‘मानिसको करङ्‌बाट एउटी स्त्री बनाएर ती मानिसकहाँ ल्याउनुभयो।’—उत्पत्ति २:२१-२४.

विवाहको सुरुआतकर्ता परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने बाइबलको यो विवरण पुष्टि गर्दै येशूले आफ्ना आलोचकहरूलाई यसो भन्‍नुभयो: “के तिमीहरूले पढेका छैनौ, कि जसले बनाउनुभयो, उहाँले तिनलाई शुरूदेखिनै नर र नारी गरी बनाउनुभयो, र भन्‍नुभयो, यही कारण मानिसले आफ्ना आमा-बाबुलाई छोडेर आफ्नो स्वास्नीसँग मिलिरहन्छ, र ती दुइ जना एक शरीर हुनेछन्‌। र ती दुइ अब दुइ होइन, तर एउटै शरीर हुन्छन्‌। यसकारण जसलाई परमेश्‍वरले [विवाहमा] एक साथ जोडनुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्‌।” (मत्ती १९:४-६) साँच्चै, विवाहलाई सफल बनाउने मुख्य तरिका विवाहको सुरुआतकर्ता परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार्नु हो र उहाँको वचन बाइबलमा पाइने नीतिनिर्देशन पालन गर्दा मात्र विवाह सफल हुन्छ।

सफल पति बन्‍ने सूत्र

३, ४. (क) विवाहबारे येशूसित गहिरो ज्ञान छ भनेर कसरी भन्‍न सकिन्छ? (ख) येशूको प्रतीकात्मक पत्नी को हुन्‌ र पतिहरूले आफ्ना पत्नीलाई कस्तो व्यवहार गर्नुपर्छ?

सफल पति बन्‍न येशूले भन्‍नुभएको कुरा अध्ययन गर्नुपर्छ र उहाँको पाइलामा हिंड्‌नुपर्छ। विवाहबारे उहाँसित गहिरो ज्ञान छ किनभने परमेश्‍वरले प्रथम मानव दम्पती सृष्टि गर्नुहुँदा र तिनीहरूको विवाह गराइदिनुहुँदा उहाँ परमेश्‍वरसितै हुनुहुन्थ्यो। यहोवा परमेश्‍वरले येशूलाई यसो भन्‍नुभयो: “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं।” (उत्पत्ति १:२६) हो, यहाँ परमेश्‍वर आफूले सबैभन्दा पहिला सृष्टि गर्नुभएको मुख्य ‘कारीगरको हैसियतमा उहाँको छेउमा’ हुनुहुने व्यक्‍तिसित कुरा गर्दै हुनुहुन्थ्यो। (हितोपदेश ८:२२-३०, NRV) उहाँ “सारा सृष्टिको जेठो हुनुहुन्छ।” उहाँ “परमेश्‍वरको सृष्टिको सुरु” हुनुहुन्छ, ब्रह्‍माण्डभन्दा पनि पहिला सृष्टि हुनुभएको!—कलस्सी १:१५; प्रकाश ३:१४, NW.

येशूलाई “परमेश्‍वरका थुमा” भनिएको छ अनि उहाँलाई प्रतीकात्मक पतिको रूपमा पनि चित्रण गरिएको छ। एक पटक एउटा स्वर्गदूतले यसो भने: “यता आऊ, म तिमीलाई ती दुलही, अर्थात्‌ थुमाकी पत्नी देखाइदिनेछु।” (यूहन्‍ना १:२९; प्रकाश २१:९) त्यसोभए, ती दुलही अर्थात्‌ पत्नी को हुन्‌? “थुमाकी पत्नी” ख्रीष्टको आत्म-अभिषिक्‍त विश्‍वासी अनुयायीहरू हुन्‌ जसले उहाँसितै स्वर्गीय राज्यमा शासन गर्नेछन्‌। (प्रकाश १४:१, ३) तसर्थ, पृथ्वीमा छँदा येशूले आफ्ना चेलाहरूसित जुन तरिकामा व्यवहार गर्नुभयो त्यो तरिका पतिहरूका लागि पत्नीहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍ने सन्दर्भमा एउटा नमुना हो।

५. येशू विशेष गरी कसका लागि नमुना हुनुहुन्छ?

हो, बाइबलमा येशूलाई उहाँका सम्पूर्ण चेलाहरूको निम्ति नमुनाको रूपमा प्रस्तुत गरिएको छ। जस्तै, हामी यस्तो लेखिएको पाउँछौं: “तिमीहरूले उहाँको पाइलामा टेकेर हिंडनालाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (१ पत्रुस २:२१) तथापि, उहाँ विशेष गरी पुरुषहरूका लागि नमुना हुनुहुन्छ। बाइबलमा यसो भनिएको छ: “हरेक मानिसको [“पुरुष,” NW] शिर ख्रीष्ट हुनुहुन्छ, औ स्त्रीको शिर पुरुष हो, र ख्रीष्टका शिर परमेश्‍वर हुनुहुन्छ।” (१ कोरिन्थी ११:३) पुरुषको शिर ख्रीष्ट हुनुभएकोले पतिहरूले उहाँको अनुसरण गर्नुपर्छ। यसकारण, परिवारलाई सफल र आनन्दित बनाउन शिरत्वको सिद्धान्त पालना नगरी हुन्‍न। येशूले आफ्ना प्रतीकात्मक पत्नी अर्थात्‌ अभिषिक्‍त चेलाहरूलाई जसरी मायालु ढंगमा व्यवहार गर्नुभयो त्यसरी नै पतिहरूले पनि आफ्ना पत्नीलाई मायालु ढंगमा व्यवहार गर्नुपर्छ।

वैवाहिक समस्याहरू कसरी सुल्झाउने

६. पतिहरू आफ्ना पत्नीसित कसरी बस्नुपर्छ?

यस संकटग्रस्त संसारमा पतिहरूले विशेष गरी येशूले धार्मिक सिद्धान्तहरूको समर्थन गर्न देखाउनुभएको धीरज, प्रेम र दृढताको उदाहरण अनुसरण गर्नु आवश्‍यक छ। (२ तिमोथी ३:१-५) येशूले बसाल्नुभएको नमुनाबारे बाइबल यसो भन्छ: “हे पति हो, . . . बुद्धिमानसाथ तिम्रा पत्नीसँग बस।” (१ पत्रुस ३:७) हो, जसरी येशूले विवेकी भई कठिनाइहरूको सामना गर्नुभयो त्यसरी नै पतिहरूले पनि विवेक चलाएर वैवाहिक समस्याहरू सुल्झाउनुपर्छ। येशूले जस्तो कठिन परीक्षाहरू त अरू कुनै मानिसले भोगेको छैन। तर ती परीक्षाको स्रोत शैतान, त्यसका प्रेतहरू र यो दुष्ट संसार नै हो भनेर उहाँलाई राम्ररी थाह थियो। (यूहन्‍ना १४:३०; एफिसी ६:१२) परीक्षाहरू आइपर्दा येशू कहिल्यै आश्‍चर्यचकित हुनुभएन। त्यसरी नै, विवाह गरेपछि ‘शरीरमा कष्ट हुँदा’ विवाहित जोडीहरूले पनि अचम्म मान्‍नु पर्दैन। विवाह गर्नेहरूलाई यस्तो कष्ट हुन सक्छ भनी बाइबलले चेतावनी दिएको छ।—१ कोरिन्थी ७:२८.

७, ८. (क) पत्नीसित बुद्धिमानीसाथ बस्नुमा कुन कुरा समावेश छ? (ख) पत्नीहरू किन आदर पाउन योग्यका छन्‌?

आफ्ना पत्नीलाई “निर्बल पात्रलाई जस्तो . . . आदर दिई बुद्धिमानसाथ” उनीहरूसित बस्न पतिहरूलाई बाइबलमा भनिएको छ। (१ पत्रुस ३:७) धेरैजसो पतिहरूले आफ्ना पत्नीलाई थिचोमिचोमा राख्नेछन्‌ भनी बाइबलमा भविष्यवाणी गरिएको छ। तर परमेश्‍वरको अनुमोदन चाहने पतिहरूले त्यस्तो व्यवहार गर्नुको साटो आफ्ना पत्नीलाई आदर गर्नेछन्‌। (उत्पत्ति ३:१६) तिनीहरूले आफ्ना पत्नीलाई बहुमूल्य सम्पत्ति ठान्‍नेछन्‌। त्यसको अर्थ, शारीरिक तवरमा पत्नीभन्दा बलियो छु भन्दैमा बल प्रयोग गर्नेछैनन्‌। बरु, उनको भावनाको ख्याल गर्दै सधैं आदर र मर्यादापूर्वक व्यवहार गर्नेछन्‌।

किन पतिहरूले आफ्ना पत्नीलाई उचित आदर देखाउनुपर्छ? बाइबल यस्तो जवाफ दिन्छ: “किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्‌।” (१ पत्रुस ३:७, NRV) पुरुषले चढाउने उपासना परमेश्‍वरले कुनै पनि तरिकामा स्त्रीको भन्दा श्रेष्ठ ठान्‍नुहुन्‍न भनेर पतिहरूले बुझ्नु आवश्‍यक छ। परमेश्‍वरको अनुमोदन पाउने स्त्रीहरूले पुरुषहरूले जस्तै अनन्त जीवनको इनाम पाउनेछन्‌। अझ कतिपय स्त्रीहरूले त स्वर्गीय जीवनको इनाम समेत पाउनेछन्‌ जहाँ “नता पुरुष न स्त्री छ।” (गलाती ३:२८, NRV) विश्‍वासले गर्दा नै कुनै व्यक्‍ति परमेश्‍वरको नजरमा मूल्यवान्‌ ठहरिन्छ भन्‍ने कुरा पतिहरूले बिर्सनुहुँदैन। उक्‍त व्यक्‍ति पुरुष होस्‌ वा स्त्री, पति हुन्‌ या पत्नी वा छोराछोरी नै, त्यसले केही फरक पार्दैन।—१ कोरिन्थी ४:२.

९. (क) पत्रुसको भनाइअनुसार पतिहरूले किन आफ्ना पत्नीलाई आदर गर्नुपर्छ? (ख) येशूले कसरी स्त्रीहरूप्रति आदर देखाउनुभयो?

पतिले पत्नीलाई आदरसाथ व्यवहार गर्नुपर्छ भनेर १ पत्रुस ३:७ को अन्ततिर प्रेरित पत्रुसले लेखेको कुराबाट स्पष्ट हुन्छ, जहाँ यसो लेखिएको छ: “तिमीहरूका प्रार्थना नरोकिओस्‌।” प्रार्थना रोकिनु कत्ति घातक हुन सक्छ! प्राचीन समयमा परमेश्‍वरका केही लापरवाही सेवकहरूको प्रार्थना रोकिएझैं पतिहरूको पनि प्रार्थना रोकिन सक्छ। (विलाप ३:४३, ४४) येशूले स्त्रीहरूसित मर्यादित ढंगमा व्यवहार गर्नुभयो। विवाहित र विवाह गर्ने विचार गरिरहेका मसीही पुरुषहरुले येशूको त्यस व्यवहारलाई गौर गर्नु बुद्धिमानी कुरा हो। येशूले स्त्रीहरूलाई आफूसँगै सेवकाईमा जाने समूहमा सामेल हुन बोलाउनुभयो अनि तिनीहरूसित दयालु र आदरपूर्वक व्यवहार गर्नुभयो। एक चोटि त येशूले एउटा एकदमै अचम्मलाग्दो सच्चाइ समेत सबैभन्दा पहिला स्त्रीहरूलाई प्रकट गर्नुभयो र त्यो कुरा पुरुषहरूलाई गएर बताउन भन्‍नुभयो।—मत्ती २८:१, ८-१०; लूका ८:१-३.

विशेष गरी पतिहरूका लागि उदाहरण

१०, ११. (क) पतिहरूले विशेष गरी येशूको उदाहरण किन केलाउनुपर्छ? (ख) पतिहरूले आफ्ना पत्नीप्रति कसरी प्रेम देखाउनुपर्छ?

१० माथि बताइएझैं बाइबलमा पति-पत्नीको सम्बन्धलाई ख्रीष्ट र उहाँकी ‘दुलहीबीचको’ सम्बन्धसित तुलना गरिएको छ। उहाँकी “दुलही” भनेको अभिषिक्‍त अनुयायीहरूको मण्डली हो। बाइबल यसो भन्छ: “पत्नीका शिर पति हुन्‌, जस्तो ख्रीष्ट . . . मण्डलीका शिर हुनुहुन्छ।” (एफिसी ५:२३) यस पदले पतिहरूलाई शिरत्वको सिद्धान्त लागू गर्ने र नेतृत्व लिने सन्दर्भमा येशूले छाड्‌नुभएको उदाहरण केलाउन प्रोत्साहित गर्नुपर्ने हो। यसो गर्दा मात्र पतिहरू उचित तरिकाले येशूको उदाहरण पछ्याउन अनि येशूले मण्डलीलाई गरेझैं आफ्ना पत्नीलाई डोऱ्‍याउन, प्रेम गर्न र ख्याल गर्न सक्षम हुनेछन्‌।

११ बाइबल मसीहीहरूलाई यस्तो आग्रह गर्छ: “ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो।” (एफिसी ५:२५) एफिसी चार अध्यायमा हेऱ्‍यौं भने, ‘मण्डलीलाई’ “ख्रीष्टको शरीर” भनिएको छ। यो प्रतीकात्मक शरीरमा पुरुष-स्त्री थुप्रै छन्‌। शरीर सुचारु ढंगमा चल्न ती सबै सदस्यले योगदान पुऱ्‍याउँछन्‌। अनि येशू चाहिं “शरीर अर्थात्‌ मण्डलीका शिर हुनुहुन्छ।”—एफिसी ४:१२; कलस्सी १:१८; १ कोरिन्थी १२:१२, १३, २७.

१२. येशूले आफ्नो प्रतीकात्मक शरीरप्रति कसरी प्रेम देखाउनुभयो?

१२ येशूले विशेष गरी मण्डलीका सदस्यहरूको हितलाई ख्याल गरेर आफ्नो प्रतीकात्मक शरीर अर्थात्‌ ‘मण्डलीप्रति’ प्रेम देखाउनुभयो। उदाहरणका लागि, चेलाहरू थकित हुँदा उहाँले यसो भन्‍नुभयो: “एकान्त ठाउँमा आओ, र केही थकाइ मार।” (मर्कूस ६:३१) येशूको हत्या हुनु केही घण्टाअघि मात्र उहाँले गर्नुभएको कामबारे बताउँदै उहाँका एक जना प्रेरितले यसो भने: “येशूले . . . आफ्ना जतिलाई [अर्थात्‌ आफ्नो प्रतीकात्मक शरीरका सदस्यहरू] प्रेम गरेर तिनीहरूलाई अन्तसम्म नै प्रेम गर्नुभयो।” (यूहन्‍ना १३:१) पत्नीलाई व्यवहार गर्ने सन्दर्भमा पतिहरूका लागि येशूले छोड्‌नुभएको यो उदाहरण कत्ति राम्रो!

१३. आफ्ना पत्नीलाई प्रेम गर्नू भन्‍ने विषयमा पतिहरूलाई कस्तो सल्लाह दिइएको छ?

१३ येशूले पतिहरूका लागि छोड्‌नुभएको उदाहरणबारे बताउँदै प्रेरित पावलले पतिहरूलाई अझै यस्तो सल्लाह दिए: “पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। किनभने कुनै मानिसले कहिल्यै आफ्नै शरीरलाई घीन गर्दैन, तर मण्डलीलाई ख्रीष्टले गर्नुभएझैं त्यसको पालन पोषण गर्दछ।” पावलले थप यसो भने: “तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई जस्तैगरी प्रेम गर।”—एफिसी ५:२८, २९, ३३.

१४. पतिहरूले आफ्नो असिद्ध शरीरप्रति कस्तो व्यवहार गर्छन्‌ अनि यसले आफ्नो पत्नीसित गर्नुपर्ने व्यवहारबारे के बताउँछ?

१४ पावलका शब्दहरूबारे सोच्नुहोस्‌! के मानसिक तवरमा सद्दे व्यक्‍तिले जानाजानी आफ्नो शरीरमा चोट पुऱ्‍याउँछन्‌? बाटोमा हिंड्‌दा ठेस लाग्यो भने यसैले गर्दा ठेस लागेको भनेर के उनले आफ्नै खुट्टालाई हिर्काउँछन्‌? पक्कै पनि हिर्काउँदैनन्‌। त्यस्तै गरी के कुनै पति साथीहरूको अघि आफैलाई होच्याउँछन्‌ वा आफ्ना कमीकमजोरीहरूको खिल्ली उडाउँछन्‌? कदापि त्यसो गर्दैनन्‌। त्यसोभए, पत्नीले कुनै गल्ती गरेमा पतिले किन तिनलाई गाली गर्ने वा पिट्‌ने? पतिहरूले आफ्नै हित मात्र हेर्नुहुँदैन, पत्नीको हितको पनि ख्याल गर्नुपर्छ।—१ कोरिन्थी १०:२४; १३:५.

१५. (क) आफ्ना चेलाहरूले मानव कमजोरी देखाउँदा येशूले के गर्नुभयो? (ख) यस उदाहरणबाट कस्तो पाठ सिक्न सकिन्छ?

१५ येशूका चेलाहरूले उहाँ मारिनुअघिको रात मानव कमजोरी देखाउँदा उहाँले तिनीहरूका लागि कसरी चिन्ता देखाउनुभयो, विचार गर्नुहोस्‌। उहाँले गेतसमनीको बगैंचामा तिनीहरूलाई प्रार्थना गर्न निरन्तर अनुरोध गर्दा पनि तिनीहरू तीन पटक निदाए। त्यसपछि हतियार भिरेका मानिसहरूले तिनीहरूलाई अचानक घेरे। येशूले ती मानिसहरूलाई यसरी सोध्नुभयो: “तिमीहरू कसलाई खोज्दैछौ?” जब तिनीहरूले “नासरतका येशूलाई” भन्‍ने जवाफ दिए तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “म उही हुँ।” आफू मर्ने “बेला आइसक्यो” भन्‍ने जानेर उहाँले यसो भन्‍नुभयो: “यसकारण यदि तिमीहरू मलाई खोज्दछौ भने यिनीहरूलाई चाहिं जानदेओ।” येशूले सधैं आफ्नो प्रतीकात्मक दुलहीको भाग अर्थात्‌ चेलाहरूको हितलाई ध्यानमा राख्नुभयो र तिनीहरूलाई खतराबाट जोगाउनुभयो। येशूले आफ्ना चेलाहरूसित व्यवहार गर्नुभएको तरिका केलाएर पतिहरूले पनि आफ्ना पत्नीलाई व्यवहार गर्दा लागू गर्न सक्ने थुप्रै सिद्धान्तहरू सिक्न सक्नेछन्‌।—यूहन्‍ना १८:१-९; मर्कूस १४:३४-३७, ४१.

येशूले भावनामा बहेर मात्र प्रेम देखाउनुभएको थिएन

१६. येशूले मार्थालाई माया गर्नुभए तापनि तिनलाई कसरी सच्याउनुभयो?

१६ बाइबल यसो भन्छ: “येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई प्रेम गर्नुहुन्थ्यो।” (यूहन्‍ना ११:५) तिनीहरूले येशूलाई अक्सर घरमा निम्त्याउँथे। तर, मार्था येशूको आध्यात्मिक निर्देशन सुन्‍नमा भन्दा उहाँको निम्ति खानेकुरा बनाउनमा बढ्‌तै व्यस्त हुँदा तिनलाई सल्लाह दिन उहाँ पछि हट्‌नुभएन। उहाँले तिनलाई यसो भन्‍नुभयो: “मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गछ्यौ, र व्याकुल हुन्छ्यौ। तर आवश्‍यकता एउटै कुराको छ।” (लूका १०:४१, ४२, NRV) निस्सन्देह, येशूले मार्थासित मायालु ढंगमा व्यवहार गर्नुभएकोले तिनलाई उहाँको सल्लाह स्वीकार्न सजिलो भयो। त्यसै गरी, पतिहरूले पनि बोल्दा शब्दहरूमा ध्यान पुऱ्‍याएर आफ्ना पत्नीहरूलाई दयालु र मायालु ढंगमा व्यवहार गर्नुपर्छ। तर सच्याउनुपर्दा चाहिं येशूले जस्तो स्पष्ट सल्लाह दिनु उचित हो।

१७, १८. (क) पत्रुसले येशूलाई कसरी हप्काए र पत्रुसलाई किन सुधारको आवश्‍यकता पऱ्‍यो? (ख) पतिको के जिम्मेवारी छ?

१७ अर्को चोटि, येशूले आफ्ना प्रेरितहरूलाई आफू यरूशलेम जानै पर्ने कुरा बताउनुभयो जहाँ ‘बूढा-प्रधान र मुख्य पूजाहारीहरू औ शास्त्रीहरूबाट शासना भोग्नु, मारिनु र तेस्रो दिनमा बौरनु आवश्‍यक थियो।’ त्यतिबेला पत्रुसले उहाँलाई एकातिर लगेर यसो भन्दै हप्काउन थाले: “कृपा रहोस्‌, प्रभु, यस्तो कुरा तपाईंमाथि कदापि परिआउने छैन।” कुरा स्पष्ट छ, पत्रुस भावनामा बहेको कारण तिनको दृष्टि धमिलिएको थियो। तिनलाई सच्याउनु आवश्‍यक थियो। त्यसैले येशूले तिनलाई यसो भन्‍नुभयो: “ए शैतान, मेरो सामनेबाट हटिजा, तँ मेरो निम्ति ठेस लाग्ने कारण रहेछस्‌। किनभने तँ परमेश्‍वरका होइन, तर मानिसहरूका कुराहरूमा ध्यान दिन्छस्‌।”—मत्ती १६:२१-२३.

१८ येशूबाट परमेश्‍वरले के चाहनुहुन्थ्यो, त्यो कुरा उहाँले आफ्ना चेलाहरूलाई भर्खरै मात्र बताउनुभएको थियो अर्थात्‌ उहाँले धेरै शासना भोग्नुका साथै मर्नु पर्नेथियो। (भजन १६:१०; यशैया ५३:१२) त्यसैकारण, पत्रुसले येशूलाई हप्काउनु गलत थियो। हो, पत्रुसलाई कडा सुधारको खाँचो परेको थियो। हामी सबैलाई समय-समयमा यस्तो सुधारको आवश्‍यकता पर्छ। परिवारको शिरको हैसियतमा पत्नीलगायत परिवारका अन्य सदस्यहरूलाई सच्याउने अधिकार पतिसित छ र यो तिनको जिम्मेवारी हो। कडाइसाथ सच्याउनुपरे तापनि दयालु र मायालु ढंगमा सच्याउनुपर्छ। त्यसकारण, येशूले जसरी पत्रुसलाई सही दृष्टिकोण राख्न मदत दिनुभयो त्यसरी नै पतिहरूले पनि कोहीबेला पत्नीहरूलाई मदत दिनुपर्ने हुन सक्छ। उदाहरणका लागि, पत्नीको लुगाफाटा, गरगहना वा सिंगारपटार बाइबलले दिएको सल्लाहअनुसारको नहुँदा पतिले दयालु ढंगमा पत्नीलाई सच्याउन सक्छन्‌।—१ पत्रुस ३:३-५.

धीरजी हुनु पतिहरूका लागि असल हो

१९, २०. (क) येशूका प्रेरितहरूबीच कस्तो समस्या उठ्यो र उहाँले कसरी त्यसलाई सुल्झाउनुभयो? (ख) येशूको प्रयास कत्तिको सफल भयो?

१९ यदि सच्याउनुपर्ने कुनै गल्ती पत्नीले गरेकी छिन्‌ भने सच्याउने प्रयास गर्नासाथ त्यो गल्ती सुध्रिहाल्छ भनेर पतिहरूले आशा गर्नु हुँदैन। आफ्ना चेलाहरूको मनोवृत्ति सच्याउन येशूले निरन्तर प्रयास गर्नुपऱ्‍यो। उदाहरणका लागि, तिनीहरूबीचको होडबाजी येशूको सेवकाईको अन्ततिर फेरि सुरु भयो। तिनीहरूमध्ये को ठूलो भन्‍ने विवाद एकदमै चर्कियो। (मर्कूस ९:३३-३७; १०:३५-४५) यसको लगत्तैपछि येशूले चेलाहरूसित एकान्तमा निस्तार चाड मनाउने प्रबन्ध मिलाउनुभयो। त्यतिबेला त्यहाँको चलनअनुसार अरूको धूलाम्मे खुट्टा धोइदिन कोही पनि चेला अघि सरेनन्‌ किनभने त्यसलाई तुच्छ काम ठानिन्थ्यो। तर येशूले त्यो काम गर्नुभयो। त्यसपछि उहाँले यसो भन्‍नुभयो: “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु।”—यूहन्‍ना १३:२-१५.

२० पतिहरूले येशूको जस्तै नम्र मनोवृत्ति राखेमा आफ्ना पत्नीबाट सहयोग र समर्थन पाउन सक्नेछन्‌। तर धीरज चाहिन्छ। त्यो निस्तार चाडकै रात प्रेरितहरूबीच को ठूलो भन्‍ने विवाद फेरि चर्कियो। (लूका २२:२४) मनोवृत्ति र आचरण परिवर्तन हुन समय लाग्छ अनि यो परिवर्तन बिस्तारै हुन्छ। तर, प्रेरितहरूमा झैं राम्रो परिणाम देख्न पाउनु कत्ति इनामदायी हुन्छ!

२१. आजका समस्याहरूबीच पतिहरूलाई कुन कुरा नबिर्सन र गर्न आग्रह गरिएको छ?

२१ अहिले वैवाहिक सम्बन्धमा पहिलाभन्दा गम्भीर समस्याहरू आइरहेका छन्‌। थुप्रैले वैवाहिक वाचालाई गम्भीरतापूर्वक लिंदैनन्‌। त्यसकारण पति हो, विवाहका सुरुआतबारे गम्भीरतापूर्वक विचार गर्नुहोस्‌। नबिर्सनुहोस्‌, विवाहको सुरुआतकर्ता यहोवा परमेश्‍वर हुनुहुन्छ, उहाँले नै विवाह रच्नुभएको र स्थापित गर्नुभएको हो। उहाँले आफ्ना पुत्रलाई हाम्रो छुटकाराको मोल तिर्न अर्थात्‌ हाम्रो उद्धारकको रूपमा मात्र पठाउनुभएको होइन। तर पतिहरूले अनुसरण गर्नुपर्ने नमुनाको रूपमा पनि पठाउनुभएको हो।—मत्ती २०:२८; यूहन्‍ना ३:२९; १ पत्रुस २:२१. (w 07 2/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• विवाहको सुरुआतलाई स्वीकार्नु किन महत्त्वपूर्ण छ?

• कुन-कुन तरिकामा आफ्ना पत्नीलाई प्रेम गर्न पतिहरूलाई प्रोत्साहन दिइएको छ?

• येशूले देखाउनुभएको शिरत्वको उदाहरण पतिहरूले कसरी लागू गर्नुपर्छ भनी उहाँले चेलाहरूसित व्यवहार गर्नुभएका कुन उदाहरणहरूले देखाउँछन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

येशूले स्त्रीहरूलाई व्यवहार गर्नुभएको तरिकामाथि पतिहरूले किन चिन्तन-मनन गर्नुपर्छ?

[पृष्ठ १२-मा भएको चित्र]

पतिहरूले शब्दमा ध्यान दिंदै आफ्ना पत्नीलाई दयालु ढंगमा सल्लाह दिनुपर्छ