भजनसंग्रहको पाँचौं भागका विशेषताहरू
यहोवाको वचन जीवित छ
भजनसंग्रहको पाँचौं भागका विशेषताहरू
हुने खानेहरूले भन्लान्: “हाम्रा छोराहरू, तिनीहरूका युवावस्थामा रूखहरू बढेझैं हुन्छन्, र हाम्रा छोरीहरू महलको निम्ति कुँदेका कुने-ढुङ्गाझैं हुन्छन्। ... हाम्रा भँडार ... भरिएका हुन्छन्। र हाम्रा भेडा-बाख्राहरूले हाम्रा खेतहरूमा हजारौं हजार ब्याउँछन्।” त्यति मात्र होइन, धनीमानीहरू यसो भन्न पनि पछि पर्दैनन्: “यस्तो अवस्थामा हुने मानिसहरू कति सुखी [“आनन्दित,” NW] हुन्छन्।” तर यसको ठीक उल्टो भजनरचयिता भन्छन्: ‘ती मानिसहरू आनन्दित हुन्छन्, जसका परमेश्वर यहोवा हुनुहुन्छ।’ (भजन १४४:१२-१५) यस्तो पनि हुन्छ र? हुन्छ नि! किनभने यहोवा परमधन्य अर्थात् आनन्दित परमेश्वर हुनुहुन्छ र उहाँको उपासना गर्नेहरू पनि आनन्दित हुन्छन्। (१ तिमोथी १:११, NW) परमेश्वरले लेख्न लगाउनुभएका भजनहरूको अन्तिम भाग, भजन अध्याय १०७ देखि १५० मा यही सत्य कुरा प्रस्ट पारिएको छ।
भजनसंग्रहको पाँचौं भागमा यहोवाको करुणा, सत्यता र भलाइलगायत उहाँका प्रमुख गुणहरूबारे पनि चर्चा गरिएको छ। यहोवाको व्यक्तित्व जति राम्रोसँग थाह पाउँछौं, उहाँलाई प्रेम गर्न र उहाँको डर राख्न हामी उति नै इच्छुक हुन्छौं। यसरी इच्छुक हुँदा हामी आनन्दित हुन सक्छौं। भजनसंग्रहको पाँचौं भागमा यस्तै-यस्तै अमूल्य जानकारी पाइन्छ।—हिब्रू ४:१२.
यहोवाले करुणा देखाउनुभएकोमा आनन्दित
बेबिलोनको कैदबाट फर्केका यहूदीहरू यसो भन्दै गीत गाउँछन्: “मानिसहरूले परमप्रभुको करुणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्यकामका निम्ति उहाँको प्रशंसा गरून्!” (भजन १०७:८, १५, २१, ३१) परमेश्वरको प्रशंसा गर्दै दाऊद गाउँछन्: “तपाईंको सत्यता आकाशसम्मै पुग्छ।” (भजन १०८:४) अर्को गीतमा तिनी यसो भनेर प्रार्थना गर्छन्: “हे मेरा परमप्रभु परमेश्वर, मलाई सहायता गर्नुहोस्, तपाईंको करुणाअनुसार मलाई बचाउनुहोस्।” (भजन १०९:१८, १९, २६) भजन अध्याय ११० मा मसीहले गर्ने राज्यबारे भविष्यवाणी गरिएको छ। भजन १११:१० मा चाहिं यसो भनिएको छ, “परमप्रभुको भयनै ज्ञानको शुरू हो।” अर्को भजन भन्छ, “यहोवाको भय मान्ने मानिस आनन्दित हुन्छ।”—भजन ११२:१, NW.
भजन अध्याय ११३ देखि ११८ लाई हल्लेल भजन भनिन्छ किनकि यी अध्यायहरूमा “हल्लेलूयाह” अथवा “याहको प्रशंसा गर” भन्ने अभिव्यक्ति पटक-पटक प्रयोग गरिएको छ। निस्तार चाड अनि अरू तीनवटा वार्षिक चाड मनाएको बेला यहूदीहरूले यस्तो भजन गाउँथे भनी मिश्नाहमा लेखिएको छ। मौखिक रूपमा बताइने कुरालाई समेटेर तयार पारिएको पुस्तकलाई मिश्नाह भनिन्छ। भजन अध्याय ११९ बाइबलको सबभन्दा लामो भजन र अध्याय हो। यस अध्यायमा यहोवाको वचन वा सन्देशको महत्त्व अझ प्रस्ट पारिएको छ।
धर्मशास्त्रीय प्रश्नहरूको जवाफ:
१०९:२३—दाऊदले यसो भन्नुको मतलब के थियो: “बेलुकाको छायाजस्तै . . . म उचालिने र खसालिने भएको छु”? दाऊदलाई आफ्नो मर्ने दिन एकदमै नजिक छ जस्तो लागेको थियो। त्यही कुरालाई तिनले कवितात्मक शैलीमा भनिरहेका थिए।—भजन १०२:११.
११०:१, २—“[दाऊदका] प्रभु,” येशू ख्रीष्टले परमेश्वरको दाहिने हाततर्फ बसेर के गर्नुभयो? पुनरुत्थान भएपछि येशू स्वर्ग जानुभयो र राजा भएर शासन गर्न थाल्नुअघि सन् १९१४ सम्म परमेश्वरको दाहिने हाततर्फ पर्खेर बस्नुभयो। त्यतिखेर येशूले आफ्ना अभिषिक्त जनहरूमाथि शासन गर्नुभयो। तर कसरी? प्रचारकार्य र चेला बनाउने काममा डोऱ्याएर अनि आफ्नो राज्यमा सँगै शासन गर्न उनीहरूलाई तयार पारेर।—मत्ती २४:१४; २८:१८-२०; लूका २२:२८-३०.
११०:४—यहोवाले ‘पछुताउनु नपर्ने’ कस्तो शपथ लिनुभएको छ? राजा र प्रधान पूजाहारी भएर येशू ख्रीष्टले सेवा गर्नुहुनेछ भनी यहोवाले बाँध्नुभएको करारलाई यस शपथले संकेत गर्छ।—लूका २२:२९.
११३:३—कुन अर्थमा “सूर्योदयदेखि लिएर सूर्यास्तसम्म” यहोवाको नाउँको प्रशंसा हुनुपर्छ? यसको अर्थ समूह-समूह मिलेर हरेक दिन परमेश्वरको उपासना गर्नु मात्र होइन। जसरी पूर्वबाट घाम झुल्केर पश्चिमतिर नअस्ताउन्जेल घामको किरणले पृथ्वीलाई उज्यालो बनाइराख्छ, त्यसै गरी यहोवाको प्रशंसा पनि संसारभरि हुनुपर्छ। तर यसरी प्रशंसा गर्ने काममा सबैको योगदान आवश्यक छ। हामी यहोवाका साक्षीहरूले परमेश्वरको प्रशंसा गर्ने र उहाँको राज्यको सन्देश जोसिलो भई घोषणा गर्ने ठूलो सुअवसर पाएका छौं।
११६:१५—यहोवाको नजरमा “उहाँका भक्तजनहरूको मृत्यु” कत्तिको अनमोल छ? यहोवाको लागि उहाँका भक्त सेवकहरू सबै अनमोल छन्। त्यसैले उनीहरूको मृत्यु हुनु भनेको उहाँको लागि ठूलो मोल चुकाउनु बराबर हो। त्यसकारण यहोवा त्यसो हुन दिनुहुन्न। किनभने त्यसो हुन दिएको खण्डमा उहाँका शत्रुहरू उहाँभन्दा शक्तिशाली रहेछन् भन्ने भ्रम पैदा हुन सक्छ। उहाँका भक्तजनहरू सबै मरे भने त, नयाँ संसारको जगको रूपमा पृथ्वीमा कोही पनि बाँकी रहनेछैनन्।
११९:७१—दुःख पाउनु पनि कसरी असलै हुन सक्छ? कठिनाइले हामीलाई यहोवामाथि अझ धेरै भर पर्न, अझ व्यग्र प्रार्थना गर्न र लगनशील भई बाइबल अध्ययन गर्नुका साथै अध्ययनबाट सिकेको कुरा लागू गर्न सिकाउँछ। साथै, दुःख आइपरेको बेला हामी जस्तो किसिमको प्रतिक्रिया देखाउँछौं, त्यतिबेला सुधार गर्न सकिने कमीकमजोरी देखिन सक्छ। ‘दुःखकष्टले हामीलाई खार्छ’ भन्ने सकारात्मक दृष्टिकोण राख्यौं भने दुःख हुँदा आत्तिने छैनौं।
११९:९६, NRV—“सिद्ध थोकहरूको पनि सीमा” छ भन्नुको मतलब के हो? मानिसले जुन कुरालाई सिद्धता भन्छ, भजनरचयिताले त्यही कुरा बताइरहेका छन्। तिनलाई सिद्धताबारे मानिसको धारणा सीमित छ जस्तो लागेको हुनुपर्छ। तर परमेश्वरको आज्ञाको त सीमा नै छैन। यसले दिने डोऱ्याइ जीवनको हर क्षेत्रमा काम लाग्छ। त्यसैकारण, भजन ११९:९६ को बाँकी पदले यसो भन्छ: “तर तपाईंका आज्ञाहरू असीमित छन्।”
११९:१६४—“दिनमा सातचोटि” परमेश्वरको प्रशंसा गर्नुको अर्थ के हो? सात संख्याले अक्सर पूर्णतालाई बुझाउँछ। त्यसकारण, यस पदमा भजनरचयिताले यहोवा पूरापूर प्रशंसा पाउन योग्यको हुनुहुन्छ भनिरहेका छन्।
हाम्रो लागि पाठ:
१०७:२७-३१. आरमागेडोन आउँदा यस संसारको बुद्धि ‘अक्कल गुम’ अर्थात् काम न काजको हुनेछ। (प्रकाश १६:१४, १६) यस्तो बुद्धिले कसैलाई बचाउन सक्दैन। उद्धारको लागि यहोवाको बाटो हेर्नेहरू मात्र “परमप्रभुको करूणाको निम्ति . . . उहाँको प्रशंसा” गर्न बाँच्नेछन्।
१०९:३०, ३१; ११०:५. दाहिने हातले तरवार समात्ने सिपाहीको हातलाई देब्रे हातमा हुने ढालले छेक्न सक्दैन। लाक्षणिक अर्थमा भन्नुपर्दा, आफ्ना सेवकहरूको खातिर लड्न यहोवा उनीहरूको “दाहिनेतिर” खडा हुनुहुन्छ। यसरी, यहोवा उनीहरूलाई रक्षा गर्नुहुन्छ र मदत दिनुहुन्छ। यहोवालाई “पूरा धन्यवाद चढाउने” कत्ति राम्रो कारण!
११३:४-९. यहोवा यत्ति उच्चमा हुनुहुन्छ कि ‘आकाशका कुराहरूमा नजर गर्नसमेत’ उहाँलाई निहुरिनुपर्छ। तैपनि, कङ्गाली, दरिद्र अनि बाँझी आइमाईलाई उहाँ करुणा देखाउनुहुन्छ। हो, ब्रह्माण्डकै शक्तिशाली परमेश्वर यहोवा नम्र हुनुहुन्छ र आफ्ना उपासकहरू पनि त्यस्तै होऊन् भन्ने इच्छा गर्नुहुन्छ।—याकूब ४:६.
११४:३-७. लाल समुद्र, यर्दन नदी र सीनै पर्वतमा आफ्ना मानिसहरूलाई बचाउन यहोवाले गर्नुभएका अचम्मका कामहरूबारे जे-जति सिकेका छौं, त्यसले हामीलाई गहिरो छाप पार्नुपर्ने हो। ‘पृथ्वीले’ सङ्केत गर्ने मानिसजाति यहोवाको श्रद्धेय भयले—लाक्षणिक अर्थमा भन्ने हो भने, असह्य पीडाले “थरथरी” काम्नुपर्छ।
११९:९७-१०१. परमेश्वरको वचनबाट बुद्धि, अन्तरदृष्टि र समझशक्ति प्राप्त गऱ्यौं भने आध्यात्मिक रूपमा हामी सुरक्षित हुनेछौं।
११९:१०५. परमेश्वरको वचन हाम्रो खुट्टाको निम्ति बत्ती हो किनकि यसले हामीले भोगिरहेका समस्याहरू सुल्झाउन मदत गर्छ। परमेश्वरको वचनले हामी हिंड्नुपर्ने बाटो लाक्षणिक अर्थमा पनि उज्यालो बनाइदिन्छ किनभने यसले भविष्यमा परमेश्वरले के-के गर्न लाग्नुभएको छ भन्ने कुराको जानकारी पहिल्यै दिन्छ।
सङ्कष्ट भए पनि आनन्दित
अवस्था साह्रै गाह्रो भएको बेला र सङ्कष्ट हुँदा विचलित नहुन हामीलाई केले मदत गर्न सक्छ? भजन अध्याय १२० देखि १३४ सम्मका अध्यायहरूले यही प्रश्नको स्पष्ट जवाफ दिन्छ। मदतको लागि यहोवामा भर पऱ्यौं भने, कठिन अवस्थामा समेत हामी आनन्दित रहिरहन सक्नेछौं। यात्राको गीत भनेर चिनिने यी भजन वार्षिक चाड मनाउन यरूशलेम उक्लिंदा बाटोमा इस्राएलीहरूले गाएका हुन सक्छन्।
भजन अध्याय १३५ देखि १३६ मा यहोवालाई आफूले इच्छा गरेबमोजिम गर्नुहुने परमेश्वर भनिएको छ। तर मूर्तिहरूले त यसो गर्न सक्दैनन्। भजन अध्याय १३६ लाई चाहिं सहमति जनाउने गीत भन्दा फरक पर्दैन। किनभने यस अध्यायका प्रत्येक पदको पहिलो भागमा उल्लेख गरिएको कुरालाई पदको अन्तिम भागमा एकनासले दोहोऱ्याइएको छ। भजन अध्याय १३७ ले सियोनमा यहोवाको उपासना गर्न चाहने तर बेबिलोनमा निर्वासित जीवन बिताइरहेका यहूदीहरूको हृदयविदारक अवस्था वर्णन गर्छ। भजन अध्याय १३८ देखि १४५ दाऊदले रचेका हुन्। तिनी ‘सारा हृदयले यहोवालाई धन्यवाद दिन’ चाहन्छन्। किन? कारण खुलाउँदै तिनी भन्छन्: “किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु।” (भजन १३८:१; १३९:१४) यसपछिका पाँचवटा भजनमा दाऊदले ‘खराब मानिसबाट मलाई बचाउनुहोस्, धर्मात्माले मलाई पिटोस्, मलाई खेदो गर्नेहरूबाट बचाउनुहोस् र मलाई सोझो बाटोमा डोऱ्याउनुहोस्’ भन्दै प्रार्थना गरेका छन्। तिनी गर्व गर्दै भन्छन्, यहोवालाई आफ्नो परमेश्वर बनाउनेहरू आनन्दित हुन्छन्। (भजन १४४:१५) परमेश्वरको महानता र भलाई राम्ररी विचार गरेपछि दाऊदको मुखबाट यी शब्दहरू निस्कन्छन्: “मेरो मुखले परमप्रभुको प्रशंसाको बयान गर्नेछ। र सारा प्राणीले सधैंको निम्ति उहाँको पवित्र नाउँलाई धन्यको भनून्।”—भजन १४५:२१.
धर्मशास्त्रीय प्रश्नहरूको जवाफ:
१२२:३—यरूशलेम कसरी “एकै ठाउँमा मिलेर बनिएको शहर” थियो? “एकै ठाउँमा मिलेर बनिएको शहर” भन्ने पदावलीलाई “सुदृढ रूपले एकसाथ बाँधिएर निर्माण भएको शहर” भनेर पनि अनुवाद गरिएको छ। (NRV) प्राचीन समयका सहरहरूमा जस्तै यरूशलेममा पनि घरहरू एकदमै नजिक-नजिक बनाउने चलन थियो। त्यसैले सहर निकै बलियो हुन्थ्यो र शत्रुहरूले सजिलै आक्रमण गर्न सक्दैन थिए। त्यति मात्र होइन, घरहरू नजिक-नजिक भएकाले शहरवासीहरू मदत र सुरक्षाको लागि एक-आपसमा भर पर्न सक्थे। इस्राएलका १२ कुल यहोवाको उपासना गर्न एक ठाउँ भेला हुँदा देखिने उनीहरूको आध्यात्मिक एकतालाई यसले सङ्केत गर्छ।
१२३:२—नोकरहरूका आँखा भन्ने दृष्टान्त चलाएर के बुझाउन खोजिएको हो? नोकर/नोकर्नीले आफ्ना मालिक अथवा मालिक्नीको हाततिर दुइटा कारणले गर्दा हेर्छन्: (१) मालिक अथवा मालिक्नीले भन्न खोजेको कुरा ठम्याउन अनि (२) सुरक्षा पाउन र जीवनका आवश्यकताहरू पूरा गर्न। यहोवाको इच्छा बुझ्न र उहाँको कृपा पाउन हामी पनि उहाँमाथि भर पर्छौं।
१३१:१-३, NRV—दाऊदले कसरी ‘आमाको दूध छोडेको बालकले झैं आफ्नो प्राण शान्त’ पारे? दूध छोडेको बालकले आमाको काखमा लुटुपुटु गरेर सान्त्वना र सन्तुष्टि खोज्न सिकेझैं दाऊदले पनि ‘आमाको दूध छोडेका बालकले झैं’ आफ्नो प्राणलाई शान्त पार्न सिके। तर कसरी? घमन्डी र अहङ्कारी नभएर अनि आफ्नो हैसियतभन्दा धेरै कुरा नखोजेर। मान-सम्मान खोज्नुको सट्टा दाऊदले आफ्नो सीमितता मानिलिए र नम्रता देखाए। विशेष गरी मण्डलीमा कुनै सुअवसरको लागि अघि बढ्दा हामीले तिनको मनोवृत्ति अनुकरण गर्नुपर्छ।
हाम्रो लागि पाठ:
१२०:१, २, ६, ७. निन्दोचर्चो र घोचपेचले अरूलाई सहनै नसक्ने चोट पार्न सक्छ। जिब्रोमा लगाम कस्नु भनेको हामी “शान्तितर्फ” छौं भनेर देखाउने तरिका हो।
१२०:३, ४. “छली जिब्रो” भएको व्यक्तिले धुरुक्कै पारिरहेको छ भने, समयमा यहोवाले सब कुरा ठीक गर्नुहुनेछ भनेर ढुक्क हुन सक्छौं। निन्दोचर्चो गर्नेहरू “योद्धाका” हातबाट बच्नेछैनन्। तिनीहरूले ‘आगोका भूंग्रोले’ चित्रण गर्ने यहोवाको भयानक न्याय भोग्नेछन्।
१२७:१, २. हामीले जुनसुकै काम गर्दा पनि डोऱ्याइको लागि यहोवामा भर पर्नुपर्छ।
१३३:१-३. यहोवाका जनहरूको एकता मनै हर्ने, हितकर र स्फूर्तिदायी छ। अरूको गल्ती कोट्याएर, झैझगडा गरेर अथवा गनगन गरेर यस्तो एकतालाई बिथोल्नु हुँदैन।
१३७:१, ५, ६. प्राचीन समयमा सियोन परमेश्वरको संगठनको पार्थिव भाग भनेर चिनिन्थ्यो। निर्वासनमा लगिएका यहोवाका उपासकहरूले त्यस सियोनलाई मुटुको हरेक ढुकढुकीमा सम्झिरहे। हामी नि? यहोवाले आज चलाइरहनुभएको संगठनप्रति के हामीले पनि त्यतिकै माया विकास गरेका छौं?
१३८:२. यहोवाले ‘आफ्नो वचन आफ्ना सारा नाउँमा श्रेष्ठ तुल्याउनुहुन्छ।’ तर कसरी? आफ्नो नाउँमा उहाँले जे-जे प्रतिज्ञा गर्नुभएको छ, त्यसको पूर्ति हामीले आशा गरेभन्दा कता हो कता श्रेष्ठ अथवा धेरै हुनेछ। हो, हाम्रो अगाडि ठूलो आशा छ।
१३९:१-६, १५, १६. यहोवालाई हामीले गर्ने कामकुरा, हाम्रो विचार तथा बोल्न लागेको कुरा पहिल्यै थाह हुन्छ। हाम्रो शरीरको अंग-प्रत्यंगले आकार लिनुभन्दा अघि अर्थात् भ्रूण बनेदेखि नै उहाँ हामीलाई चिन्नुहुन्छ। हामी हरेकलाई चिन्ने परमेश्वरको क्षमता बुझ्नै नसक्ने “साह्रै आश्चर्यपूर्ण छ।” यहोवालाई हामीले भोगिरहेको कठिनाइ त थाह हुन्छ नै, यसबाहेक यस्तो कठिनाइले हामीलाई पार्ने असर पनि उहाँ बुझ्नुहुन्छ! कत्ति सान्त्वनादायी कुरा, हैन र?
१३९:७-१२. हामी जहाँसुकै गए पनि परमेश्वरले हामीलाई बलियो बनाउन सक्नुहुन्छ।
१३९:१७, १८. के यहोवाको ज्ञान हाम्रो लागि आनन्द भएको छ? (हितोपदेश २:१०) भएको छ भने, हामीले अपार आनन्दको स्रोत भेट्टाएका छौं। यहोवाका विचारहरू “बालुवाका संख्याभन्दा बढी छन्।” उहाँको विषयमा सिकेर कहिल्यै सकिंदैन।
१३९:२३, २४. हामीभित्र “दुराचरण” अर्थात् अनुचित विचार, इच्छा र झुकाव रहेछ कि रहेनछ जाँच्नुहोस् र त्यस्ता खराब कुरा मनबाट हटाउन मदत गर्नुहोस् भनी यहोवासित बिन्ती गर्न हामी इच्छुक हुनुपर्छ।
१४३:४-७. हामी कसरी अत्यन्तै कठिन अवस्थामा पनि धैर्य धारण गर्न सक्छौं? यसको रहस्य भजनरचयिता यस प्रकार बताउँछन्: यहोवाले गर्नुभएका कामकुरामा ध्यान दिनुहोस्, उहाँको हातका काम विचार गर्नुहोस् र मदतको लागि उहाँलाई प्रार्थना गर्नुहोस्।
“परमप्रभुको प्रशंसा गर!”
भजनसंग्रहको सुरुका चारैवटा भागको अन्तमा यहोवाको प्रशंसा गरिएको छ। (भजन ४१:१३; ७२:१९, २०; ८९:५२; १०६:४८) पाँचौं भागमा पनि यस्तै आग्रह गरिएको छ। भजन १५०:६ यसो भन्छ: “सास हुने जति सबैले, परमप्रभुको प्रशंसा गर। परमप्रभुको प्रशंसा गर।” परमेश्वरले यस संसारलाई नयाँ बनाउनुहुँदा सास हुने जति सबैले यहोवाको प्रशंसा अवश्य गर्नेछन्।
त्यस्तो आनन्दमय क्षण नआउन्जेल साँचो परमेश्वरको महिमा गर्ने र उहाँको नाउँको प्रशंसा गर्ने हामीसित थुप्रै कारण छन्। यहोवालाई चिन्न र उहाँसित कसिलो सम्बन्ध गाँस्न पाउनु ठूलो कुरा हो। मनै फुरुङ्ग पार्ने यस्तो कुरा विचार गर्दा मुक्तकण्ठले यहोवाको प्रशंसा गर्न के हाम्रो मन जुरमुरिंदैन र? (w 06 9/1)
[पृष्ठ १९-मा भएको चित्र]
यहोवाले गर्नुभएका अचम्मका काम उदेकलाग्दा छन्
[पृष्ठ २०-मा भएको चित्र]
यहोवाका विचारहरू “बालुवाका संख्याभन्दा बढी छन्”