सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नहेम्याहको पुस्तकका विशेषताहरू

नहेम्याहको पुस्तकका विशेषताहरू

परमेश्‍वरको वचन जीवित छ

नहेम्याहको पुस्तकका विशेषताहरू

एज्राको पुस्तकमा लिपिबद्ध अन्तिम घटनाहरू घटेको बाह्र वर्ष भइसकेको छ। अब ‘यरूशलेमको पुनर्प्राप्ति र पुनर्निर्माण हुनेछ भन्‍ने वचन निस्कने समय’ आउनै लागेको छ र यस घटनाले मसीह देखापर्ने ७० हप्ताको सुरुवातलाई सङ्‌केत गर्छ। (दानियल ९:२४-२७) नहेम्याहको पुस्तकमा यरूशलेमको पर्खाल पुनर्निर्माणमा जुटेका परमेश्‍वरका जनहरूको इतिहास पाइन्छ। यस पुस्तकले ईसापूर्व ४५६ देखि ईसापूर्व ४४३ को अलि पछिसम्मका अत्यन्तै महत्त्वपूर्ण समय अर्थात्‌ १२ वर्षभन्दा बढी समयावधि ढाक्छ।

राज्यपाल नहेम्याहले लेखेको यस पुस्तकमा, यहोवा परमेश्‍वरमा पूर्ण भरोसा राख्दै ठोस कदम चाल्दा साँचो उपासना कसरी उच्च हुन्छ भन्‍ने रोमाञ्चकारी विवरण पाइन्छ। आफ्नो इच्छा पूरा गर्न यहोवाले घटनाक्रमलाई कसरी मोड्‌न सक्नुहुन्छ भन्‍ने कुरा यस पुस्तकबाट स्पष्ट बुझ्न सक्छौं। यो, एक जना बलियो तथा साहसी नेताको कथा पनि हो। नहेम्याहको पुस्तकबाट साँचो उपासकहरूले मूल्यवान्‌ पाठ सिक्न सक्छन्‌ किनभने “परमेश्‍वरको वचन जीवित र प्रबल” छ।—हिब्रू ४:१२.

“पर्खालको काम सिद्धियो”

(नहेम्याह १:१–६:१९)

नहेम्याह शूशनको दरबारमा काम गर्छन्‌। त्यहाँ तिनले उच्च ओहदामा रहेर राजा आर्ट-जारसेज लंगिमानसको सेवा गर्दैछन्‌। आफ्ना मानिसहरूले ‘साह्रै दुःख र निन्दा सहनुपरिरहेको छ। यरूशलेमको पर्खाल भत्काइयो र त्यसका मूल-ढोकाहरू आगोले नष्ट भएका छन्‌’ भन्‍ने खबर सुनेपछि नहेम्याह साह्रै दुःखित हुन्छन्‌। डोऱ्‍याइको निम्ति तिनले परमेश्‍वरलाई व्यग्र प्रार्थना गर्छन्‌। (नहेम्याह १:३, ४) राजाले नहेम्याहको अनुहार निन्याउरो भएको कुरा छिट्टै याद गर्छन्‌। फलतः राजाले तिनलाई यरूशलेम जाने अनुमति दिन्छन्‌।

यरूशलेम आइपुगेपछि नहेम्याहले भत्केका पर्खालहरूको निरीक्षण रातको समयमा गर्छन्‌ र पर्खाल पुनर्निर्माण गर्ने आफ्नो योजना यहूदीहरूलाई बताउँछन्‌। जसै निर्माण कार्य सुरु हुन्छ, विरोध पनि चर्किन्छ। तर नहेम्याहको साहसिक नेतृत्वमा ‘पर्खालको काम सिद्धिन्छ।’—नहेम्याह ६:१५.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:१; २:१—यी दुई पदमा उल्लेख गरिएको “बीसौं वर्ष[ले]” के एउटै समयलाई बुझाउँछ? हो, बुझाउँछ। यी दुवै पदमा उल्लेख गरिएको बीसौं वर्ष राजा आर्ट-जारसेजको शासनको बीसौं वर्ष हो। तर यी दुई पदमा फरक तरिकाले वर्ष गन्ती गरिएको छ। आर्ट-जारसेज ई.पू. ४७५ मा राजा भएका थिए भनी ऐतिहासिक विवरणले देखाउँछ। बेबिलोनका शास्त्रीहरूले फारसी राजाहरूको शासनकालको गन्ती एउटा वर्षको नीसान महिनादेखि (मार्च/अप्रिल) अर्को वर्षको नीसान महिनासम्म गर्ने गर्थे। त्यसकारण, आर्ट-जारसेजले ई.पू. ४७४ को नीसान महिनादेखि शासन गर्न थाले भन्‍न सकिन्छ। तसर्थ, नहेम्याह २:१ मा उल्लिखित शासनकालको बीसौं वर्ष ई.पू. ४५५ मा सुरु भयो। अनि नहेम्याह १:१ मा उल्लेख गरिएको किसलेव महिनाचाहिं अघिल्लो वर्ष अर्थात्‌ ई.पू. ४५६ को थियो। त्यो महिना आर्ट-जारसेजले शासन गर्न थालेको बीसौं वर्षमा पर्छ भनी नहेम्याह बताउँछन्‌। त्यसकारण, आर्ट-जारसेज राजा भएको सालदेखि तिनले गन्ती गरेको हुनुपर्छ। अर्को कुरा, नहेम्याहले तिस्री महिनादेखि सुरु हुने अर्कै यहूदी क्यालेन्डरअनुसार गन्ती गरेको पनि हुन सक्छ र त्यो तिस्री महिना अहिलेको क्यालेन्डरअनुसार सेप्टेम्बर/अक्टोबरतिर पर्छ। जे होस्‌, यरूशलेमको पुनर्निर्माणको वचन निस्केको वर्षचाहिं ई.पू. ४५५ नै थियो।

४:१७, १८—एउटा मात्र हात चलाएर मजदूरले कसरी पर्खाल पुनर्निर्माणको काम गर्न सक्थे? भारी बोक्ने मजदूरहरूलाई यो कुनै गाह्रो काम थिएन। तिनीहरूले एउटा हातले टाउको अथवा काँधमा भएको भारी सजिलै थाम्दै ‘अर्को हातले हतियार’ समाउँथे। दुवै हात चलाएर निर्माणमा जुट्‌नुपर्नेहरूले चाहिं “पटुकामा तरवार भिरेर बनाउने काम गर्थे।” शत्रुले आक्रमण गरिहालेमा तिनीहरू जाइलाग्न तयार भएर बस्थे।

५:७ NRV—नहेम्याहले किन ‘भारदार र अधिकृतहरूको दोष देखाए’? ती मानिसहरूले मोशाको व्यवस्था उल्लङ्‌घन गर्दै सँगी यहूदीहरूबाट ब्याज लिइरहेका थिए, त्यो पनि चर्को दरमा। (लेवी २५:३६; व्यवस्था २३:१९) हरेक महिना ब्याज असूल गरेका भए “सयौं भाग” बराबर वर्षमा १२ प्रतिशत हुने थियो। (नहेम्याह ५:११, NRV) करको बोझले लादिएका र खाद्यान्‍नको सङ्‌कट भोगिरहेका मानिसहरूबाट त्यति चर्को ब्याज असूल गर्नु निर्दयी कुरा थियो। त्यसैकारण नहेम्याहले परमेश्‍वरको व्यवस्था चलाउँदै ती मानिसहरूलाई हप्काए र तिनीहरूले जे गरिरहेका थिए, त्यो ठीक थिएन भनी देखाइदिए।

६:५—गोप्य पत्रहरू अक्सर शिलबन्द हुने भए तापनि सन्बलतले किन नहेम्याहलाई “खुला-पत्र” पठाए? त्यस खुला पत्रको झूटो आरोप सबैले थाह पाओस्‌ भन्‍ने नियत सन्बलतको हुन सक्छ। त्यो पत्र पढेर नहेम्याह यति धेरै रिसाउनेछन्‌ कि निर्माण-कार्य नै छोडेर आफूलाई सही साबित गर्नेतिर लाग्नेछन्‌ भन्‍ने उनलाई लागेको हुन सक्छ। अथवा त्यस पत्रले यहूदीहरूलाई यति नराम्रो धक्का लाग्नेछ कि तिनीहरूले निर्माण कामै छोड्‌ने छन्‌ भनेर उनले सोचेको हुन सक्छ। तर नहेम्याह विचलित नभई परमेश्‍वरले खटाउनुभएको काममा लागिरहे।

हाम्रो लागि पाठ:

१:४; २:५; ४:४, ५. कठिन परिस्थिति आइपर्दा र महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा हामी “प्रार्थनामा अटूटसँग” लागिरहनुपर्छ अनि परमेश्‍वरको वचन र उहाँको संगठनले दिने निर्देशन अनुरूप चल्नुपर्छ।—रोमी १२:१२.

१:११–२:८; ४:४, ५, १५, १६; ६:१६. यहोवा आफ्ना सेवकहरूको निष्कपट प्रार्थनाको जवाफ दिनुहुन्छ।—भजन ८६:६, ७.

१:४; ४:१९, २०; ६:३, १५. नहेम्याह दयालु व्यक्‍ति थिए। साथै, तिनले कर्मठ व्यक्‍तिको रूपमा असल उदाहरण बसाले र धार्मिकताको लागि दृढ अडान लिइरहे।

१:११–२:३. राजदरबारमा मद्य-टक्राउने उच्च ओहदा पाएकोले गर्दा मात्र नहेम्याह आनन्दित भएका थिएनन्‌। तिनी साँचो उपासनाको प्रगतिमा रमाउँथे। के हाम्रो आनन्द र चिन्ताको मुख्य विषय पनि यहोवाको उपासना र यससित सम्बन्धित कुरा नै हुनुपर्दैन र?

२:४-८. यरूशलेमको पर्खाल पुनर्निर्माण गर्न आर्ट-जारसेजले नहेम्याहलाई पठाउनुमा यहोवाकै हात थियो। हितोपदेश २१:१NRV] यसो भन्छ: “राजाको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानीझैं जता मन लाग्यो उतै उहाँले फर्काउनुहुन्छ।”

३:५, २७. साँचो उपासनाको लागि शारीरिक श्रम गर्नुपर्दा, हामीले यस्तो कामलाई तकोईका “भारदारहरू[ले]” जस्तो नीच ठान्‍नुहुँदैन। बरु, हामी सर्वसाधारण तकोईहरू जस्तो हुनुपर्छ जसले राजीखुसी खटेर काम गरे।

३:१०, २३, २८-३०. केही राज्य प्रचारकहरू आवश्‍यकता बढी भएको इलाकामा बसाइँ सर्छन्‌। त्यसो गर्न नसक्नेहरूले आफ्नै ठाउँमा रहेर साँचो उपासनाको उन्‍नतिमा योगदान पुऱ्‍याउन सक्छन्‌। राज्यभवन निर्माणकार्यमा भाग लिएर, प्राकृतिक प्रकोपको चपेटामा परेकाहरूलाई मदत गरेर हामी यस्तो योगदान गर्न सक्छौं। तर मदत गर्ने मुख्य तरिका त राज्य प्रचारकार्यमा भाग लिएरै हो।

४:१४. सतावट आइपर्दा हामी पनि “महान्‌ र भययोग्य परमप्रभुको” सम्झना गरेर डर हटाउन सक्छौं।

५:१४-१९. नम्र, निस्वार्थ र विवेकी हुने सन्दर्भमा राज्यपाल नहेम्याह मसीही निरीक्षकहरूका लागि उत्कृष्ट उदाहरण हुन्‌। परमेश्‍वरको व्यवस्था तिनी कडिकडाइका साथ पालन गर्थे तर आफ्नो फाइदाको लागि अरूलाई थिचोमिचो गर्दैनन्‌ थिए। बरु तिनले थिचोमिचोमा परेका र गरिबहरूप्रति दया देखाए। उदार मनोभाव देखाउने सन्दर्भमा पनि नहेम्याहले परमेश्‍वरका सेवकहरूका लागि राम्रो उदाहरण बसाले।

“हे परमेश्‍वर मेरो हितको निम्ति यस कामको सम्झना रहोस्‌”

(नहेम्याह ७:१–१३:३१)

यरूशलेमको पर्खाल पुनर्निर्माण गरिसिध्याउने बित्तिकै नहेम्याहले सहरको सुरक्षाका लागि मूल ढोकाहरू बनाउनुका साथै अरू प्रबन्धहरू मिलाए। तिनले मानिसहरूको वंशावलीको विवरण पनि तयार पारे। “मानिसहरू पानीमूल-ढोकाको सामनेको चोकमा . . . भेला भए[पछि]” पूजाहारी एज्राले मोशाको व्यवस्था पढेर सुनाए अनि नहेम्याह र लेवीहरूले चाहिं व्यवस्थाको अर्थ बुझाइदिए। (नहेम्याह ८:१) झूप्रोबासको चाडबारे थाह पाएपछि तिनीहरूले पनि रमाहटका साथ त्यो चाड मनाए।

अर्को अवसरमा पनि इस्राएलीहरू एकसाथ भेला भएको बेला “इस्राएली वंशकाहरूले” आफ्ना पुर्खाहरूले गरेको अधर्म स्वीकार्छन्‌, परमेश्‍वरले इस्राएलीहरूसित गर्नुभएको व्यवहार लेवीहरूले पुनर्विचार गर्छन्‌ र “परमेश्‍वरको व्यवस्था मान्‍न” शपथ खान्छन्‌। (नहेम्याह ९:१, २; १०:२९) यरूशलेममा अझै पनि मानिसहरू थोरै भएकाले अरू ठाउँमा बस्ने दश जना यहूदीमध्ये एक जनालाई पवित्र शहर यरूशलेममा रहनलाई चिट्ठा हालिन्छ। पर्खाल पुनर्निर्माण गरिसिध्याएपछि यत्ति उत्साहका साथ खुसीयाली मनाइयो कि “यरूशलेमको आनन्द-उत्सव टाढा टाढासम्म पनि सुनियो।” (नहेम्याह १२:४३) यरूशलेममा १२ वर्ष बिताएपछि नहेम्याह आर्ट-जारसेजको सेवामा फर्कन्छन्‌। तर चाँडै यहूदीहरूले अशुद्ध काम गर्न थाल्छन्‌। यरूशलेम फर्केपछि अवस्था सुधार्न नहेम्याहले ठोस कदम चाल्छन्‌। तिनी यस्तो विनम्र आग्रह गर्छन्‌: “हे परमेश्‍वर मेरो हितको निम्ति यस कामको सम्झना रहोस्‌।”—नहेम्याह १३:३१.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

७:६-६७—यरूबाबेलसित यरूशलेम फर्केका बाँकी यहूदीहरूको संख्या एज्रा र नहेम्याहको पुस्तकमा किन फरक-फरक छ? (एज्रा २:१-६५) एज्रा र नहेम्याहले यो जानकारी विभिन्‍न स्रोतबाट लिएको कारण यस्तो भएको हुन सक्छ। उदाहरणको लागि, यरूशलेम फर्कन आफ्नो नाउँ दर्ता गराएकाहरूको संख्या र साँच्चै फर्केकाहरूको संख्या फरक भएको हुन सक्छ। सुरुमा आफ्नो वंशावली लेखाउन नसकेका केही यहूदीहरूले पछि लेखाएकोले गर्दा पनि एज्रा र नहेम्याहको पुस्तकमा संख्या फरक पर्न गएको हुन सक्छ। तर दुवै विवरणमा एउटा कुरा भने ठ्याक्कै मिल्छ। त्यो हो, कमारा-कमारी र गवैयाहरूबाहेक सुरुमा फर्कनेहरूको संख्या ४२,३६० थियो।

१०:३४—मानिसहरूले किन काठ दिनुपर्थ्यो? काठ-बलि गर्नुपर्छ भनी मोशाको व्यवस्थामा भनिएको छैन। त्यो त केवल त्यतिबेलाको आवश्‍यकता थियो। वेदीमा बलिहरू जलाउन धेरै मात्रामा काठ चाहिन्थ्यो। स्पष्टतः त्यतिबेला मन्दिरमा सेवा गर्ने गैरइस्राएलीहरू अर्थात्‌ नेथिनिमवर्गको कमी थियो। त्यसैकारण काठको अभाव नहोस्‌ भनेर चिट्ठा हाल्ने गरिन्थ्यो।

१३:७—नहेम्याह कति लामो समयसम्म यरूशलेममा थिएनन्‌? यरूशलेम फर्कनको लागि नहेम्याहले राजालाई “केही समयपछि” अनुमति मागे भनेर मात्र बाइबलले बताउँछ। त्यसकारण तिनी कति लामो समयसम्म यरूशलेममा थिएनन्‌ भनी थाह पाउन सकिंदैन। तर मानिसहरूले पूजाहारीहरूलाई सहायता नगरेको र विश्रामको व्यवस्था पनि पालन नगरेको कुरा नहेम्याहले यरूशलेम फर्केपछि थाह पाए। थुप्रैले विदेशी पत्नीहरू ल्याएका थिए र तिनीहरूको सन्तानलाई यहूदीहरूको भाषासमेत बोल्न आउँदैन थियो। यस्तो खत्तम अवस्थालाई विचार गर्दा नहेम्याह पक्कै पनि लामो समयसम्म यरूशलेममा नभएको हुनुपर्छ।

१३:२५, २८—नहेम्याहले धर्मत्यागी यहूदीहरूको दोष भेट्टाउनुको अलावा तिनीहरूलाई सच्च्याउन अन्य के-कस्तो कदम चाले? नहेम्याहले तिनीहरूलाई ‘हप्काउँदै’ परमेश्‍वरको व्यवस्थाको न्यायदण्ड सुनाए। न्यायदण्ड सुनाउँदै तिनले कसै-कसैलाई ‘पिटेका’ हुन सक्छन्‌। आफ्नो रिस जायज छ भनेर देखाउन ‘तिनीहरूलाई जगल्टाए।’ होरोनी सम्बलतकी छोरीसित विवाह गर्ने प्रधान पूजाहारी एल्याशीबका नातिलाई पनि तिनले निकालिदिए।

हाम्रो लागि पाठ:

८:८. हामी परमेश्‍वरको वचनका शिक्षकहरू हौं। त्यसैले, यसको ‘अर्थ बुझाउन’ हामी त्यहाँ भएका कुरा राम्ररी पढ्‌नुका साथै व्याख्या गर्छौं र सिकेको कुरा व्यवहारमा उतार्ने तरिका देखाउँछौं।

८:१०. आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सजग हुँदा र ईश्‍वरतान्त्रिक निर्देशन पालन गर्दा “परमप्रभुको आनन्द” पाउन सक्छौं। त्यसैले बाइबल अध्ययन गर्नु, नियमित तवरमा मसीही सभाहरू धाउनु र जोसका साथ प्रचार गर्दै चेला बनाउने काममा भाग लिनु कत्ति महत्त्वपूर्ण छ!

११:२. आफ्नो पैतृक-सम्पत्ति छोडेर यरूशलेम बसाइँ सर्दा आफ्नो खर्च त हुन्थ्यो नै। यसको अलावा बेफाइदा पनि थियो। बसाइँ सर्ने ती व्यक्‍तिहरूले आत्मत्यागी मनोभाव देखाए। अधिवेशन तथा अन्य अवसरहरूमा अरूको खातिर सेवा गर्ने सुअवसर पाउँदा हामी पनि त्यस्तै आत्मत्यागी मनोभाव देखाउन सक्छौं।

१२:३१, ३८, ४०-४२. यहोवाको प्रशंसा गर्ने एउटा राम्रो तरिका गीत गाएर पनि हो र यस प्रकार हामी आफ्नो कृतज्ञता व्यक्‍त गर्न सक्छौं। मसीही जमघटहरूमा मन खोलेर गाउनुपर्छ।

१३:४-३१. भौतिकवाद, भ्रष्टता र धर्मत्यागले प्रभावित हुनदेखि हामी होसियार हुनै पर्छ।

१३:२२. आफू परमेश्‍वरप्रति जवाफदेही भएको कुरा नहेम्याहलाई राम्ररी थाह थियो। हामी पनि यहोवाप्रति जवाफदेही छौं भनेर कहिल्यै नबिर्सौं।

यहोवाको आशिष्‌ नभई हुँदैन!

“परमप्रभुलेनै घर नबनाउनु भएता बनाउनेहरूले व्यर्थमा परिश्रम गर्छन्‌” भन्दै भजनहारले गाए। (भजन १२७:१) नहेम्याहको विवरण पढ्‌दा यो कुरा छर्लङ्‌ग हुन्छ!

यसबाट हामीले पक्कै पाठ सिक्न सक्छौं। आफ्नो काममा सफल हुन चाहन्छौं भने यहोवाको आशिष्‌ नभई हुँदैन। जीवनमा साँचो उपासनालाई प्राथमिकता दिएनौं भने के यहोवाको आशिष्‌ पाउने आशा गर्न सक्छौं र? त्यसैकारण, नहेम्याहले जस्तै हामीले पनि यहोवाको उपासना र यसको प्रगतिलाई आफ्नो मुख्य चिन्ताको विषय बनाऔं।(w06 2/1)

[पृष्ठ ८-मा भएको चित्र]

“राजाको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानीझैं जता मन लाग्यो उतै उहाँले फर्काउनुहुन्छ”

[पृष्ठ ९-मा भएको चित्र]

कर्मठ र दयालु नहेम्याह यरूशलेम आउँछन्‌

[पृष्ठ १०-मा भएका चित्रहरू]

परमेश्‍वरको वचनको कसरी ‘अर्थ बुझाउने,’ तपाईंलाई थाह छ?