“ठीक बेलामा भनिएको कुरा झन् कति असल!”
“ठीक बेलामा भनिएको कुरा झन् कति असल!”
यहोवाका साक्षीहरूको एकदिने सम्मेलन। बहिनी किम अढाई वर्षकी छोरीलाई फकाउँदै भाषणको टिपोट लिंदै थिइन्। छुकछुके उमेरकी फुच्चीलाई फकाउँदै भाषणको टिपोट लिनु सजिलो त थिएन। तर बहिनीको प्रयास साँच्चै मनहर्ने थियो! हाराहारीमा बसिरहेकी अर्की बहिनीले सम्मेलन सकिएपछि किमलाई खुला मनले प्रशंसा गरिन्। हुन पनि तिनले देखेकी थिइन्, किम र उनका पतिले सम्मेलन चलिरहेको बेला छोरीलाई फकाएर राख्न कत्रो प्रयास गरिरहेका थिए। प्रशंसाका ती शब्दहरू किमको लागि अहिले वर्षौंपछि पनि ठूलो मोलको छ। तिनी भन्छिन्: “खास गरी सभामा थकित महसुस हुँदा ती बहिनीका शब्दहरू सम्झने गर्छु। उनको त्यो मीठो वचनले छोरीलाई राम्रो बाटोमा डोऱ्याउन मलाई अहिलेसम्म मदत दिइरहेको छ।” साँच्चै, प्रशंसा पाउँदा मनमा जाँगर पलाउँछ। बाइबल बताउँछ: “ठीक बेलामा भनिएको कुरा झन् कति असल!”—हितोपदेश १५:२३.
तर कतिलाई अरूको प्रशंसा गर्न गाह्रो लाग्ला। कुनैबेला आफ्ना कमी-कमजोरीले गर्दा पनि त्यस्तो हुन सक्छ। एक जना मसीही भाइ भन्छन्: “अरूको प्रशंसा गर्दा आफू दलदलमा भासिएको महसुस गर्छु। जति अरूको प्रशंसा गर्छु त्यति नै भित्र-भित्रै भासिदै गएको भान हुन्छ।” लजालुपन, आत्मबलको कमी र गलत अर्थ लगाउला कि भन्ने डर जस्ता कारणले पनि अरूको प्रशंसा गर्न अप्ठ्यारो लाग्न सक्छ। आफूले सानोमा कसैबाट प्रशंसा पाएको छैन वा एकदमै कम मात्र पाएको छ भने पनि अरूको प्रशंसा गर्न गाह्रो हुन्छ।
तैपनि, यो चाहिं पक्का हो, प्रशंसा गर्ने र पाउने दुवैलाई फाइदा हुन्छ। त्यसैले हामी प्रशंसा गर्नुपर्नेलाई ठीक बेलामा प्रशंसा गर्न पछि नहटौं। (हितोपदेश ३:२७) त्यसोभए, प्रशंसा दिंदाका फाइदा के-के हुन्? आउनुहोस्, सरसरती हेरौं!
प्रशंसाका फाइदाहरू
खुल्ला मनले गरेको प्रशंसाले आत्मबल बढाउँछ। विवाहित मसीही बहिनी इलेन भन्छिन्, “अरूबाट प्रशंसा पाउँदा आफू भरपर्दो रहेछु भन्ने लाग्छ।” प्रशंसा यस्तो ओखती हो जसले आत्मबल जगाएर कठिनाइहरूसित जुझ्न बल दिन्छ र मन आनन्दले भरिदिन्छ। युवाहरूले गरेका राम्रा कामको प्रशंसा गरिदिंदा तिनीहरू रमाउँछन्। जीवनमा निराशै-निराशा देख्ने दुःखी केटी भन्छिन्: “यहोवालाई खुसी पार्न हर प्रयास गर्छु। तैपनि लाग्छ, सक्दो गरेकी छैनँ। तर फेरि कसैबाट प्रशंसा पायो कि खुसीले मन नाच्न थाल्छ।” बाइबलको हितोपदेश पनि यसो भन्छ: “ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो।”—हितोपदेश २५:११.
प्रशंसा पाउँदा जोस-जाँगर पलाएर आउँछ। एक जना अग्रगामी भाइ भन्छन्: “प्रशंसा पाउँदा मलाई जाँगर चल्छ र सेवकाईमा अझ बढी पसिना चुहाउन मन लाग्छ।” बच्चाहरूले सभामा टिप्पणी गरेकोमा अरूले प्रशंसा गरिदिंदा उनीहरू टिप्पणी गर्न झन् जोसिएको कुरा दुई बच्चाकी आमाले बुझेकी छिन्। पक्का हो, प्रशंसाले जवानहरूलाई मसीही जीवनको मार्गमा हिंड्न जोस दिन्छ। खासमा, हामी सबै नै आफ्नो कदर र मूल्यांकन भइरहोस् भन्ने चाहन्छौं। तनावग्रस्त यस संसारमा हामी थकित र दुःखित हौंला। एक जना मसीही प्राचीन भन्छन्: “मन भारी र खिन्न भइरहेको बेला प्रशंसा पाउँदा
यही नै मेरो प्रार्थनाको जवाफ हो भन्ने आभास हुन्छ।” त्यसै गरी, इलेन भन्छिन्: “कहिलेकहीं मलाई लाग्छ, प्रशंसाका शब्दहरू यहोवाका न्यानो अँगालो हुन्।”प्रशंसाले आत्मीयता बढाउँछ। विचारशील व्यक्ति अरूको खुला मनले प्रशंसा गर्छ। यसरी प्रशंसा गर्दा न्यानोपन, सुरक्षा र एकअर्काको मोल गर्ने वातावरण बन्छ। साथै, यसले हामी सँगी मसीहीलाई साँचो माया र मोल गर्छौं भन्ने प्रमाण पनि दिन्छ। जोसी नाउँकी आमा भन्छिन्: “विगतका दिन सम्झिंदा कस्तो-कस्तो लाग्छ। सच्चाइमा टिक्न मैले ठूलो जँघार तर्नुपऱ्यो किनकि धर्मको कारणले परिवारमा फूट र विरोध थियो। त्यो तीतो क्षणमा परिपक्व भाइबहिनीबाट प्रशंसाका मायालु शब्दहरू पाएँ र सच्चाइमा टिकिरहन सकें।” हो, “हामी एक दोस्रोका अङ्ग हौं।”—एफिसी ४:२५.
प्रशंसा गर्न अघि बढ्नु अरूमा असल कुरा खोज्नु हो। हामी अरूमा अवगुण होइन गुण खोज्छौं। प्राचीन भाइ डेभिड भन्छन्: “अरूको कामको राम्रो पक्षलाई हेऱ्यौं भने उनीहरूलाई प्रशंसा गर्न सजिलो हुन्छ।” यहोवा र उहाँका पुत्र कत्ति खुला मनले असिद्ध मानिसको प्रशंसा गर्नुहुन्छ! यो कुरा सम्झिंदा हामी पनि अरूको प्रशंसा गर्न जुरमुराउछौं।—मत्ती २५:२१-२३; १ कोरिन्थी ४:५.
प्रशंसा पाउन योग्यहरू
यहोवा परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले, उहाँ जत्तिको प्रशंसा पाउन योग्य अरू कोही छैन। (प्रकाश ४:११) हामीले उहाँको आत्मबल बढाउनु पर्दैन न त उहाँलाई उत्प्रेरणा नै दिनुपर्छ। तैपनि, उहाँका आश्चर्यलाग्दा काम र दयालु व्यवहारको प्रशंसा गऱ्यौं भने उहाँ हाम्रो नजिक आउनुहुन्छ। हामी उहाँसित घनिष्ठ सम्बन्ध कायम गर्न सक्छौं। यसो गर्दा आफूले गरेका हर थोकको श्रेय परमेश्वरलाई दिइरहेका हुन्छौं र आफ्ना उपलब्धिहरूमा घमन्ड गर्ने कुनै कारण रहँदैन। (यर्मिया ९:२३, २४) यहोवाले नम्र मानिसहरूलाई अनन्त जीवनको आशा दिनुभएको छ। यसकारण पनि हामीले उहाँको प्रशंसा गर्नुपर्छ। (प्रकाश २१:३, ४) पुरातन समयका राजा दाऊद “परमेश्वरको नाउँको प्रशंसा” गर्न र “धन्यवाद चढाएर” महिमा दिन उत्सुक थिए। (भजन ६९:३०) हाम्रो पनि त्यस्तै इच्छा होस्!
हाम्रा आध्यात्मिक भाइबहिनीहरूले उचित प्रशंसा पाउनुपर्छ। उनीहरूलाई प्रशंसा गर्दा “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार” राख्नुपर्ने परमेश्वरको आज्ञा पालन गरिरहेका हुन्छौं। (हिब्रू १०:२४) यसो गर्नुमा प्रेरित पावलले राम्रो नमुना बसालेका थिए। तिनले रोमको मण्डलीलाई यस्तो लेखे: “पहिले, म आफ्ना परमेश्वरलाई येशू ख्रीष्टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढाउँछु, कि तिमीहरूको विश्वासको कीर्ति सारा संसारमा फैलिएको छ।” (रोमी १:८) त्यसरी नै, तनमन लगाएर “सत्यमा चलेका” हुनाले प्रेरित यूहन्नाले सँगी मसीही गायसलाई प्रशंसा गरे।—३ यूहन्ना १-४.
आज हामी केको लागि सँगी मसीहीलाई प्रशंसाका शब्दहरू व्यक्त गर्न सक्छौं? ख्रीष्टका गुणहरू देखाएर उदाहरण बसाल्दा, राम्ररी तयार गरेर भाषण दिंदा वा सभामा मन छुने टिप्पणीहरू गर्दा। साथै बच्चाहरूले सभाहरूमा वक्ता सँगसँगै बाइबल पदहरू पल्टाउने प्रयास गर्दा पनि तिनीहरूको प्रशंसा गर्न सक्छौं। अघिकै बहिनी इलेन भन्छिन्: “हामी प्रत्येकका आ-आफ्नै खुबीहरू छन्। यी बेग्लाबेग्लै खुबीहरूको मूल्यांकन कसरी गर्छौं? अरूको कामलाई मूल्यवान् ठानेर।”
परिवारमा एकअर्काको प्रशंसा गरौं
के परिवारमा एकअर्काको प्रशंसा गर्नु पर्दैन र? परिवारको आध्यात्मिक, भावनात्मक र भौतिक आवश्यकता एफिसी ५:३३) उदाहरणको लागि, परमेश्वरको वचनले सुयोग्य पत्नीबारे यसरी प्रशंसा गर्छ: “तिनका छोराहरूले एकै मतका भएर तिनलाई सुखी भन्छन्, तिनका पतिले पनि तिनको प्रशंसा” गर्छन्।—हितोपदेश ३१:१०, २८.
पूरा गर्न पतिपत्नीले निकै समय खर्चिनुपर्ने हुन्छ, अथक प्रयास गर्नुपर्ने र मायालु चासो पनि त्यतिकै देखाइरहनु पर्छ। त्यसैले, उनीहरूले एकअर्काबाट र छोराछोरीबाट प्रशंसा पाउनुपर्छ। (छोराछोरीलाई पनि प्रशंसा चाहिन्छ। तर अफसोस, कतिपय आमाबाबु छोराछोरीलाई यो गर्नु हुन्न र त्यो गर्नु हुन्न भनेर भाषण छाँट्न त सिपालु हुन्छन् तर प्रशंसा गर्न भने एक शब्द खर्च गर्दैनन्। न त उनीहरूले देखाएको आज्ञाकारिताको सराहना गरिदिन्छन् न त उनीहरूले अरूप्रति देखाएको आदरको नै मूल्यांकन गर्छन्। (लूका ३:२२) बच्चाले सानैदेखि प्रशंसा पाएमा आत्मीयता र सुरक्षित महसुस गर्छन्।
हुन त अरूको प्रशंसा गर्न प्रयास चाहिन्छ। तर यसको फल त मीठो हुन्छ। खासमा, जत्ति धेरै अरूको प्रशंसा गर्छौं त्यति नै बढी हामी आनन्दको गहिराईमा डुबिरहेका हुनेछौं।—प्रेरित २०:३५.
प्रशंसा दिनुपर्छ र पाउनु पनि पर्छ तर मनमा कालो नराखी
तर कतिका लागि भने प्रशंसाले उल्टो परिणाम ल्याउँछ। (हितोपदेश २७:२१) जस्तै, प्रशंसा पाउँदा घमन्डले फुलेर आफूलाई ठूलो ठान्न के बेर! (हितोपदेश १६:१८) त्यसैले होसियार हुनुपर्छ। प्रेरित पावलले व्यावहारिक चेतावनी दिए: “हरेकलाई म भन्दछु, जसले आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढी नसम्झ, तर परमेश्वरले हरेकलाई बाँडिदिनुभएको विश्वासको नापबमोजिम सुबुद्धिले सम्झ।” (रोमी १२:३) प्रशंसामा गमक्क फुल्नु पासो हो। यस जोखिमबाट अरूलाई जोगाउनु हो भने उनीहरूको बौद्धिकता र बाहिरी सुन्दरताको प्रशंसा नगर्नु नै बेस। बरु, उनीहरूले गरेको असल कामको प्रशंसा गर्नुपर्छ।
मनमा कालो नराखी प्रशंसा गर्दा र प्रशंसा पाउँदा हामीलाई फाइदाको ढुकुटी नै हात लाग्छ। प्रशंसाले हामीलाई सुबाटोमा चलिरहन पनि प्रोत्साहन दिन्छ। साथै, आफूले गरेको सानोभन्दा सानो कामको श्रेय पनि यहोवालाई नै दिने मन हुन्छ।
प्रशंसा पाउनुपर्ने व्यक्तिलाई सफा मनले प्रशंसा दिनु हामी सबैले देखाउन सक्ने खुबी हो। राम्ररी सोचविचार गरेर अरूको प्रशंसा गर्दा हामीले सोच्दै नसोचेको ढङ्गमा उनलाई फाइदा हुन सक्छ। (w06 1/1)
[पृष्ठ २५-मा भएको पेटी/चित्र]
उनको मन पगाल्ने त्यो पत्र
एक जना परिभ्रमण निरीक्षकलाई एउटा घटना अझै झलझली याद आउँछ। मुटु कमाउने जाडोको दिन थियो। तिनी र तिनकी पत्नी प्रचारबाट घर फर्किसकेका थिए। तिनी भन्छन्: “मेरी पत्नी जाडोले लुगलुग काँपिरहेकी थिइन् र खिन्न पनि देखिन्थिन्। अबउसो क्षेत्रको भ्रमण गर्न नसक्ने कुरा उनले बताइन्। उनले भनिन्, ‘हप्तैपिच्छे यताउता जानुभन्दा आफ्नै मण्डलीमा अग्रगामी भएर बाइबल अध्ययन गर्नु कत्ति आनन्द हुन्थ्यो!’ मैले त्यसबारे त्यति नै खेर त केही भनिनँ। एक हप्ता पर्खेर हेरौं तिमीलाई कस्तो लाग्छ, त्यसपछि देखा जाला भनेर सान्त्वना दिएँ। उनलाई त्यस्तै लागिरहेमा मैले उनको भावना बुझिदिनुपर्छ भनेर सोचें। त्यही दिन हामी पोस्ट अफिस जाँदा उनकै नाउँमा शाखा कार्यालयबाट पत्र आएको रहेछ। त्यस पत्रमा सेवकाईको लागि उनले देखाएको प्रयास र धैर्यको मुक्तकण्ठले प्रशंसा गरिएको थियो। हरेक हप्ता भिन्नाभिन्नै ठाउँमा बिताउनुपरेको अप्ठ्यारा क्षणमा पनि तिनले देखाएको धैर्यको मूल्यांकन गरिएको थियो। त्यो पत्र पाएर उनी यत्ति बिघ्न पग्लिन् कि क्षेत्रीय भ्रमणको काम छोड्ने कुरा फेरि कहिल्यै गरिनन्। बरु उल्टो, मेरो मनमा त्यस्तो विचार उठ्दा सम्झाउने गर्थिन्।” यी दम्पती क्षेत्रीय भ्रमणको सेवामा लगभग ४० वर्षसम्म लागिरहे।
[पृष्ठ २४-मा भएको चित्र]
तपाईंको मण्डलीमा प्रशंसा पाउन योग्यका को-को छन्?
[पृष्ठ २६-मा भएको चित्र]
केटाकेटीहरू माया र प्रशंसा पाउँदा फस्टाउँछन्