सृष्टिकर्ताको सेवा गरिरहने अठोट
जीवनी
सृष्टिकर्ताको सेवा गरिरहने अठोट
कान्सटन्स बेनान्टीको वृत्तान्तमा आधारित
बिजुली चम्केझैं एकछिनमै सबै कुरा भयो! बाइस महिनाकी हाम्री छोरी कमील छ दिनभित्रमा निस्लोट ज्वरो आएर मरिन्। मलाई असह्य पीडा भयो। छोरी मरेपछि म पनि बाँच्न चाहन्नथिएँ। परमेश्वरले त्यसो किन हुन दिनुभएको? मैले केही बुझ्नै सकिनँ।
मेरा आमाबाबु इटाली, सिसिलीको कास्टेलामारा डेल गोल्फो भन्ने सहरबाट अमेरिकाको न्यु योर्क सहरमा बसाइँ सर्नुभएको थियो। अनि मेरो जन्म सन् १९०८ डिसेम्बर ८ मा न्यु योर्क सहरमै भयो। हाम्रो परिवारमा आमाबाबु, पाँच भाइ र हामी तीन दिदीबहिनी थियौं। a
सन् १९२७ मा मेरो बुबा सान्टो काटान्जारो बाइबल स्टुडेन्टहरूले सञ्चालन गर्ने सभाहरूमा जान थाल्नुभयो। त्यतिबेला यहोवाका साक्षीहरू बाइबल स्टुडेन्ट्स नाउँले चिनिन्थे। हामी न्यु योर्कसँगै जोडिएको न्यु जर्सीमा बस्थ्यौं। हाम्रो ठाउँमा समाहरू सञ्चालन गर्न ब्रुक्लिनमा रहेको मुख्यालयमा (बेथल भनिन्छ) सेवा गर्ने जोभान्नी डाचेक्क भन्ने एक जना इटालीयन भाइ आउनुहुन्थ्यो। केही समयपछि बुबाले प्रचारमा भाग लिन थाल्नुभयो र पूर्ण-समय सेवक पनि बन्नुभयो। सन् १९५३ मा मृत्यु नहोउन्जेल उहाँले पूर्ण-समय सेवा गरिनै रहनुभयो।
आमा जवान हुँदा चर्चमा नन हुन चाहनुहुन्थ्यो तर उहाँको आमाबाबुले मान्नुभएन। सुरुमा त आमाको
लहैलहैमा लागेर म बुबासँग बाइबल अध्ययनमा बसिनँ। तर चाँडै बुबाले परिवर्तनहरू गर्न थाल्नुभयो। उहाँ झन्-झनै शान्त अनि नरम स्वभावको हुनुभयो र परिवारमा पनि शान्ति छाउन थाल्यो। मलाई यो कुरा मन पऱ्यो।यसै समयतिर मैले चार्ल्सलाई भटें। हामी दुई एउटै उमेरका थियौं। उहाँ ब्रुक्लिनमा जन्मनुभएको थियो। अनि उहाँको परिवार पनि सिसिलीबाट नै आएका थिए। चाँडै हाम्रो विवाहको कुरा छिनियो। अनि सन् १९३१ मा कोलम्बस, ओहायोमा आयोजना भएको यहोवाका साक्षीहरूको अधिवेशनबाट बुबा फर्किनुभएपछि हाम्रो विवाह भयो। हाम्रो विवाह भएको एक वर्षमै छोरी कमील जन्मिइ। छोरीको मृत्यु हुँदा मेरो मनै भाँचियो। एक दिन रुँदै गरेको चार्ल्सले यसो भन्नुभयो: “कमील तिम्रो मात्र होइन मेरी पनि छोरी हो। तर अब हामी एकअर्काको आँसु पुछ्दै जीवनमा अघि बढौं।”
हामीले बाइबल सत्य स्वीकाऱ्यौं
कमीलको अन्तयेष्टि भाषण दिनुहुँदा बुबाले पुनरुत्थानको आशाबारे बताउनुभएको कुरा चार्ल्सले मलाई सम्झाउनुभयो। मैले सोधें: “तर के तपाईं साँच्चै पुनरुत्थानमा विश्वास गर्नुहुन्छ?”
उहाँले भन्नुभयो: “हो, म पुनरुत्थानमा विश्वास गर्छु। बाइबलले अरू के-के सिकाउँछ हामी बुझौं न।”
त्यो रात मैले आँखा झिमिक्क नगरी बिताएँ। चार्ल्स र मैले बाइबल अध्ययन गर्ने निर्णय गरेको कुरा बिहान छ बजे बुबा काममा जानुअघि नै उहाँलाई बताउन गएँ। उहाँ एकदमै खुसी हुनुभयो र मलाई अँगालो हाल्नुभयो। आमा ओछ्यानमै हुनुहुन्थ्यो र हामी बाबु-छोरीले कुरा गरिरहेको सुनेर ‘के भयो हँ?’ भनेर सोध्नुभयो। मैले भनें, “अँ, चार्ल्स र मैले बाइबल अध्ययन गर्ने निधो गऱ्यौं।”
“खासमा त हामी सबैले बाइबल अध्ययन गर्नुपर्छ नि” आमाले भन्नुभयो। त्यसैले मेरा भाइबहिनीहरू र हामी सबै गरेर जम्माजम्मी ११ जनाले सँगै पारिवारिक रूपमा अध्ययन गर्न थाल्यौं।
बाइबल अध्ययनबाट मैले सान्त्वना पाएँ। पहिला मैले बुझ्नै नसकेका कुराहरू बिस्तारै बुझ्न थालें र पीडा महसुस गर्नुको सट्टा मैले आशाका किरणहरू देख्न थालें। बाइबल अध्ययन गरेको एक वर्षपछि सन् १९३५ मा चार्ल्स र मैले बाइबल सत्य अरूलाई पनि बताउन थाल्यौं। बाइबलको शिक्षाअनुसार बप्तिस्मा लिनु कत्तिको महत्त्वपूर्ण छ भनी सन् १९३७ मा ब्रुक्लिन बेथेलमा सुनेको एउटा भाषणबाट हामीले बुझ्यौं। त्यसपछि स्विमिङ पुल भएको नजिकैको एउटा होटेलमा हामी र अरू थुप्रैले बप्तिस्मा लियौं। छोरीलाई फेरि भेट्ने इच्छाले मात्र मैले बप्तिस्मा लिएकी होइन। म सृष्टिकर्ताको सेवा पनि गर्न चाहन्थें, जसलाई मैले चिन्न र प्रेम गर्न थालेकी थिएँ।
पूर्ण-समय सेवामा प्रवेश
आफूले सिकिरहेको कुरा अरूलाई बताउनु रमाइलो र इनामदायी थियो किनभने त्यतिबेला थुप्रैले राज्यसन्देश स्वीकारेर तिनीहरू पनि प्रचारको काममा लागे। (मत्ती ९:३७) सन् १९४१ मा हामी दुवैले अग्रगामी गर्न थाल्यौं। यहोवाका साक्षीहरूले आफ्ना पूर्ण-समय सेवकहरूलाई अग्रगामी भन्ने गर्छन्। त्यसको केही समयपछि हामीले एउटा ट्रेलर गाडी किन्यौं र त्यही नै हाम्रो घर थियो। अनि चार्ल्सले पनि आफूले हेर्दै गरेको हाम्रो परिवारको गार्मेन्ट फ्याक्ट्री मेरो भाइ फ्रान्कलाई जिम्मा लगाउनुभयो। केही समयपछि हामीलाई विशेष अग्रगामी नियुक्त गरिएको पत्र पाउँदा हामी खुसीले उफ्रियौं। सुरुमा त हामीलाई न्यु जर्सीमै खटाइएको थियो तर पछि न्यु योर्क पठाइयो।
सन् १९४६ मा मेरील्याण्डको बाल्टिमोर सहरमा भएको अधिवेशनमा यहोवाका साक्षीहरूको विशेष प्रतिनिधिहरूसँग भेट्नु भनेर हामीलाई भनियो। उहाँहरू नेथन एच. नोर र मिल्टन जि. हेन्सेल हुनुहुन्थ्यो। उहाँहरूले हामीलाई मिसनरी कार्य र अझ विशेष गरी इटालीमा भइरहेको प्रचारकार्यबारे कुरा गर्नुभयो। गिलियड स्कूलमा जान चाहनुहुन्छ कि भनेर पनि उहाँहरूले हामीलाई सोध्नुभयो।
उहाँहरूले हामीलाई भन्नुभयो: “सोचविचार गरेर हामीलाई जवाफ दिनुहोस्।” अफिसबाट निस्केपछि चार्ल्स र मैले एकअर्कालाई पुलुक्क हेऱ्यौं, अफिसतिर फर्क्यौं अनि भित्र छिऱ्यौं। अनि हामीले भन्यौं: “हामीले विचार गरिसक्यौं। हामी गिलियड जान तयार छौं।” त्यसको दस दिनमा त हामी गिलियडको सातौं कक्षामा बसिरहेका थियौं।
गिलियड स्कूलमा हामीले बिताएका महिनाहरू बिर्सनै नसकिने थिए। हामीलाई सिकाउने भाइहरूको धीरज र प्रेम देखेर हामी एकदमै प्रभावित भयौं। विदेशी भूमिमा सेवा गर्दा आइपर्न सक्ने कठिनाइहरूको लागि उहाँहरूले हामीलाई तयार बनाउनुभयो। सन् १९४६ जुलाई महिनामा स्नातक गरेपछि केही समय हामीलाई इटालेली भाषा बोल्नेहरू थुप्रै भएको न्यु योर्क सहरमै खटाइयो। त्यसपछि हामीले पर्खिरहेको असाइनमेन्ट पत्र पायौं। सन् १९४७ जून २५ मा हामी इटालीमा मिसनरी असाइनमेन्टको लागि हिंड्यौं।
नयाँ ठाउँमा अघि बढ्दै
पहिला-पहिला सेनाहरूले चलाएको जहाजमा हामीले यात्रा गऱ्यौं। चौध दिनको समुद्री यात्रापछि हामी इटालीको जेनोवा बन्दरगाहमा पुग्यौं। दुई वर्षअघि मात्र सकिएको दोस्रो विश्वयुद्धको बेला त्यस सहरमा लागेका घाउहरू आलै थिए। उदाहरणका लागि, रेल स्टेसनमा सद्दे झ्याल एउटै थिएन, बमले सबै चक्नाचूर बनाएको थियो। जेनोवादेखि शाखा कार्यालय र मिसनरी घर भएको मिलान सहरसम्म हामी सामान ओसार्ने रेलमा गयौं।
युद्धपछि इटालीको अवस्था एकदमै दयनीय भएको थियो। पुनर्निर्माणका कामहरू त भइरहेकै थिए तर धेरै मानिसहरू गरिबीको मारमा थिए। त्यहाँ पुगेको केही समयमै म सिकिस्त बिरामी परें। मेरो मुटु एकदमै बिग्रिएको छ भनेर एक जना डाक्टरले भने। त्यसैले तिनको विचारमा म अमेरिका नै फर्किनु बेस हुने थियो। तर तिनको रिपोर्ट गलत भएकोमा म खुसी छु किनभने ५८ वर्षपछि पनि म अझै इटालीमै सेवा गरिरहेकी छु।
इटालीमा केही वर्ष बिताइसकेपछि अमेरिकामा रहेका मेरा भाइहरूले हामीलाई गाडी किनिदिन्छु भने। तर चार्ल्सले चाहिंदैन भन्नुभयो। उहाँको निर्णयमा म सहमत थिएँ। हामीलाई थाह भएसम्म त्यतिबेला इटालीमा भएका साक्षीहरूमध्ये कसैको पनि गाडी थिएन। चार्ल्सको विचारअनुसार हामीले पनि हाम्रा मसीही भाइहरूको जस्तै
जीवनस्तर कायम राख्नु बेस हुने थियो। हामीले सन् १९६१ मा मात्र एउटा सानो गाडी किन्यौं।मिलानमा हाम्रो पहिलो राज्यभवन जमिनमुनिको कोठा थियो र त्यहाँ भूइँ पनि माटोको थियो। ट्वाइलेट, पानी केही थिएन। तर पानी परेपछि भने हाम्रो खुट्टा-खुट्टासम्म पानी आउँथ्यो। हाम्रो राज्यभवन मुसाको घर पनि थियो। मुसाहरू यतउता दौडिरहेका हुन्थे। बत्तीको नाउँमा त्यहाँ दुइटा चीम मात्रै थियो। यस्तो अप्ठ्यारो परिस्थिति भए तापनि निष्कपट मानिसहरू हाम्रा सभाहरूमा आएको र हामीसँगै सेवकाईमा भाग लिएको हेर्न पाउनु एउटा प्रोत्साहनको कुरा थियो।
मिसनरी गर्दाका अनुभवहरू
एकचोटि एउटा घरमा हामीले पिस—क्यान इट लास्ट? भन्ने पुस्तिका एउटा मान्छेलाई दियौं। त्यहाँबाट निस्कँदा टन्न सामान बोकेर बजारबाट फर्केकी तिनकी श्रीमती सान्टीनालाई हामीले भेट्यौं। आठ-आठ जना छोरीहरूलाई पाल्नुपर्छ, फोकटको कुरा सुन्न फुर्सत छैन भनेर तिनी झर्किन्। म फेरि सान्टीनाकहाँ जाँदा तिनका श्रीमान् घरमा थिएनन् र तिनी चाहिं केही बुनिरहेकी थिइन्। तिनले भनिन्: “मलाई तिमीहरूको कुरा सुन्न फुर्सत छैन। मलाई पढ्न पनि आउँदैन—कालो अक्षर भैंसी बराबर!”
मैले मनमनै यहोवालाई प्रार्थना गरें। त्यसपछि, म पैसा दिन्छु मेरो श्रीमान्को लागि एउटा स्वीटर बुनिदिनुहुन्छ कि भनेर मैले सोधें। दुई हप्तापछि स्वीटर पनि तयार, बाइबल अध्ययन गर्न सान्टीना पनि तयार। “द ट्रुथ श्याल मेक यु फ्रि” पुस्तकबाट बाइबल अध्ययन सुरु भयो। सान्टीनाले लेखपढ गर्न पनि सिकिन् र श्रीमान्ले विरोध गरे पनि उन्नति गरिन् र बप्तिस्मा लिइन्। तिनकी पाँचवटी छोरीहरू पनि साक्षी भए। सान्टीनाले अरू थुप्रैलाई पनि बाइबल सत्यतर्फ डोऱ्याइन्।
सन् १९५१ मार्चमा अरू दुई जना मिसनरीहरू रूथ कानन् b र लोइस कालहानसँगै हामीलाई ब्रेशामा खटाइयो। लोइस कालहानले पछि बिल वेनर्गटसित विवाह गरिन्। ब्रेशामा यहोवाका साक्षीहरू थिएनन्। हामीले सामानहरू सहितको एउटा कोठा पायौं तर दुई महिनापछि हामीलाई घरपटीले २४ घण्टाभित्रै घर खाली गरिदिनु भन्यो। त्यस ठाउँमा यहोवाका साक्षीहरू नभएकोले होटेलमा बस्ने बाहेक अरू कुनै उपाय थिएन। हामी दुई महिनासम्म होटेलमै बस्यौं।
हामीसँग खानेकुरा एकदमै कम थियो। कफी, दुई चार टुक्रा पाउरोटी, अलिकति चीज र केही फलफूलहरू। यस्ता अप्ठ्याराहरू सहँदा हामीले धेरै आशिष् पायौं। केही समयपछि हामीले एउटा सानो कोठा पायौं र सन् १९५२ मा प्रभुको साँझको भोज मनाउँदा हाम्रो त्यो सानो कोठामा ३५ जना भेला भएका थिए।
अप्ठ्याराहरू सहँदै
त्यतिबेला इटालीमा पादरीहरूको अझै दबदबा थियो। उदाहरणका लागि, हामी ब्रेशामा प्रचार गरिरहेको बेला हामीलाई ढुङ्गाले हान्न पादरीहरूले केही केटाहरूलाई उक्साए। तैपनि १६ जना मानिसहरूले हामीसित बाइबल अध्ययन सुरु गरे र तिनीहरू पनि छिट्टै यहोवाका साक्षी बने। तिनीहरूमध्ये एक जना हामीलाई ढुङ्गाले हान्छु भनेर धम्काउने केटा पनि थिए! तिनी अहिले ब्रेशाको एउटा मण्डलीमा प्राचीन छन्। सन् १९५५ मा हामी ब्रेशाबाट जाँदा ४० जना प्रकाशकहरूले प्रचारमा भाग लिइरहेका थिए।
त्यसपछि हामीले तीन वर्षसम्म लेगहर्नमा (लिर्भोनो) सेवा गऱ्यौं। त्यहाँ यहोवाका साक्षीहरूमध्ये भाइहरू धेरै थिएनन्। यसको अर्थ हामी बहिनीहरूले साधारणतया भाइहरूलाई खटाइने कामहरू गर्नुपर्थ्यो। त्यसपछि हामी जेनोवा सऱ्यौं जहाँ हामीले ११ वर्षअघि काम सुरु गरेका थियौं। तर अहिले त्यहाँ मण्डली स्थापना भइसकेको थियो। हामी बसेकै घरको तल्लो तलामा राज्यभवन थियो।
हामी जेनोवामा पुगेपछि मैले एउटी महिलासित बाइबल अध्ययन गर्न थालें। तिनको श्रीमान् पहिलाका बक्सिङ खेलाडी थिए र अहिले चाहिं बक्सिङ खेलाडीहरूको लागि व्यायाम गर्ने ठाउँको म्यानेजर थिए। ती महिलाले आध्यात्मिक प्रगति गरिन् र चाँडै मसीही बहिनी भइन्। तिनका श्रीमान्ले विरोध गर्थे र विरोध गरिनै रहे। तर पछि तिनी आफ्नी श्रीमतीसित सभाहरूमा आउन थाले। तर तिनी भित्र नआई बाहिरै बसेर सुन्थे। पछि हामी जेनोवाबाट गएपछि तिनले बाइबल अध्ययनको लागि आग्रह
गरेको कुरा सुन्यौं। समयमा तिनले बप्तिस्मा लिए र मायालु मसीही निरीक्षक भए। तिनी आफ्नो मृत्युसम्मै विश्वासी रहे।प्रहरीसित विवाह पक्का भइसकेको एउटी महिलासित पनि मैले बाइबल अध्ययन गरें। सुरुमा त ती प्रहरीले चासो देखाएका थिए तर विवाहपछि तिनी अर्कै भए। तिनले विरोध गर्न थाले र ती महिलाले पनि अध्ययन गर्न छोडिन्। तर ती महिलाले पछि फेरि अध्ययन गर्न थाल्दा तिनको श्रीमान्ले हामीलाई फेरि अध्ययन गरिरहेको भेट्टाएमा गोली हानेर मार्ने धम्की दिए। जेहोस्, तिनले आध्यात्मिक प्रगति गरिन् र बप्तिस्मा प्राप्त साक्षी भइन्। अनि ती प्रहरीले हामीलाई गोली हानेनन् भनेर त भनिरहनु नपर्ला। वर्षौंपछि, जेनोवामा भएको एउटा सम्मेलनमा एकचोटि कसैले पछाडिबाट मेरो आँखा छोपेर यसो भन्यो, ‘मलाई चिन्नुभयो?’ ती महिलाको श्रीमान् देख्दा त मैले आँसु थाम्नै सकिनँ। मलाई अंकमाल गरेपछि तिनले त्यही दिन बप्तिस्मा लिएको कुरा बताए!
सन् १९६४ देखि १९७२ सम्म मण्डलीहरूलाई आध्यात्मिक रूपमा बलियो बनाउने काममा चार्ल्ससँगै जाने सुअवसर मैले पाएँ। हामीले इटालीको झन्डै पूरै उत्तरी भाग पेडमान्ट, बलबार्डे र लेग्युरियमा सेवा गऱ्यौं। त्यसपछि हामीले फ्लोरेन्स नजिकै र पछि भर्सेलीमा अग्रगामी गऱ्यौं। सन् १९७७ मा भर्सेलीमा एउटा मात्रै मण्डली थियो। तर सन् १९९९ मा त्यहाँबाट जाँदा तीनवटा मण्डली भइसकेको थियो। त्यस वर्ष म ९१ वर्षकी भएँ र हामीलाई रोमको मिसनरी घरमा सर्न प्रोत्साहन दिइयो। त्यो इलाका अलि शान्त थियो।
अर्को एउटा दुःखद् घटना
खासै स्वास्थ्य समस्या नभएको चार्ल्स सन् २००२ मार्च महिनामा अचानक बिरामी पर्नुभयो। उहाँको स्वास्थ्य झन्-झनै बिग्रियो र सन् २००२ मे ११ का दिन बित्नुभयो। हामी ७१ वर्षसम्म दुःखमा सँगै रोयौं र सुखमा सँगै हाँस्यौं। उहाँको मृत्यु मेरो लागि अपूरणीय क्षति थियो।
चट्ट मिलेको सुट र पुरानो जमानाको टोपी लगाएको चार्ल्सलाई म सधैं सम्झन्छु। उहाँ मुसुक्क हाँसेको मलाई याद आउँछ अनि उहाँको हाँसो सुनेजस्तो लाग्छ। यहोवाको मदत र थुप्रै मायालु मसीही भाइबहिनीहरूको माया पाएर मैले यस दुःखद् घडीलाई सहन सकेकी छु। चार्ल्सलाई फेरि भेट्ने समयको म उत्कट प्रतीक्षा गर्छु।
अझै यहोवाको सेवामा
सृष्टिकर्ताको सेवा गर्न पाउनु नै मेरो जिन्दगीको सबैभन्दा राम्रो पक्ष हो। ‘यहोवा कस्तो भलो हुनुहुन्छ’ वर्षौंको दौडान मैले ‘पारख गरेर’ हेरेकी छु। (भजन ३४:८) मैले उहाँको प्रेम महसुस गरेकी छु र उहाँको हेरचाह अनुभव गरेकी छु। मैले मेरी छोरी गुमाएँ तर पनि इटालीभरि थुप्रै आध्यात्मिक छोराछोरीहरू पाएकी छु र उनीहरूले मेरो र परमेश्वरको हृदयलाई आनन्दित तुल्याएका छन्।
सृष्टिकर्ताबारे अरूसित कुरा गर्न पाउनु नै मेरो जीवनको सबैभन्दा ठूलो आनन्द हो। त्यसैले अहिले पनि म प्रचारमा जान्छु र बाइबल अध्ययनहरू सञ्चालन गर्छु। मेरो स्वास्थ्यको कारण धेरै गर्न नसकेकोले कहिलेकाहीं थकथक लाग्छ। तर यहोवालाई मेरा सीमिताहरू थाह छ र मैले जे-जति गर्न सकिरहेकी छु उहाँ त्यसको कदर गर्नुहुन्छ भनेर मलाई थाह छ। (मर्कूस १२:४२) भजन १४६:२ मा भनिएझैं म गर्न चाहन्छु: “म बाँचुञ्जेल परमप्रभुको प्रशंसा गर्नेछु। मेरो जीवन रहुञ्जेलसम्मै मेरा परमेश्वरको स्तुति म गाउँदैरहनेछु।” c
[फुटनोट]
a मेरो भाइ एन्जलो काटान्जारोको जीवनी अप्रिल १, १९७५ अंकको द वाचटावर पृष्ठ २०५-२०७ मा पढ्न सक्नुहुन्छ।
b तिनको जीवनी मे १, १९७१ को द वाचटावर पृष्ठ २७७-२८० मा पढ्न सक्नुहुन्छ।
c यो लेख तयार पार्दा-पार्दै जुलाई १६, २००५ मा बहिनी बेनान्टीको मृत्यु भयो। उहाँ ९६ वर्षको हुनुहुन्थ्यो।
[पृष्ठ १३-मा भएको चित्र]
कमील
[पृष्ठ १४-मा भएको चित्र]
हाम्रो विवाहको दिन, सन् १९३१
[पृष्ठ १४-मा भएको चित्र]
आमाले सुरुमा चासो देखाउनुभएन तर पछि हामी सबैले बाइबल अध्ययन गर्नुपर्छ भन्नुभयो
[पृष्ठ १५-मा भएको चित्र]
गिलियडको स्नातकको बेला भाइ नोरसित, सन् १९४६
[पृष्ठ १७-मा भएको चित्र]
चार्ल्सको मृत्यु हुनुभन्दा केही समयअघि