सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“मृत्यु विजयमा निलियो”

“मृत्यु विजयमा निलियो”

“मृत्यु विजयमा निलियो”

आत्महत्या गर्ने सानी केटीबारे होइन तर “मृत्यु विजयमा निलियो” भन्‍ने शीर्षसमाचारको खबरपत्रिका पढिरहेको कल्पना गर्नुहोस्‌। साँच्चै भन्‍ने हो भने, अहिलेसम्म कुनै पनि खबरपत्रिकाले यस्तो शीर्षकमा समाचार छापेकै छैन। तर हजारौं वर्ष पुरानो पुस्तकमा माथि उल्लिखित शब्दहरू लिपिबद्ध गरिएका छन्‌—त्यो पुस्तक हो बाइबल।

धर्मशास्त्रमा मृत्युबारे खुलस्त बताइएको छ। साथै, बाइबलले हामी मर्नुको कारण मात्र होइन तर मरिसकेका मानिसहरूको अवस्थाबारे बताउनुका साथै निधन भएका हाम्रा प्रियजनहरूका लागि आशा पनि प्रदान गर्छ। अन्तमा, बाइबलमा एउटा यस्तो महत्त्वपूर्ण घडीबारे पनि बताइएको छ जतिखेर यस्तो रिपोर्ट गर्न सम्भव हुनेछ: “मृत्यु विजयमा निलियो।”—१ कोरिन्थी १५:५४.

बाइबलले मृत्युलाई बुझ्नै नसकिने गरी होइन तर सजिलै बुझिने शब्दमा व्याख्या गर्छ। उदाहरणको लागि, बाइबलले अक्सर मृत्युलाई ‘निद्रामा पर्नुसित’ तुलना गर्छ र मरिसकेका मानिसहरूलाई चाहिं ‘सुतेकाहरू’ जस्तो गरी वर्णन गर्छ। (भजन १३:३; १ थिस्सलोनिकी ४:१३, NRV; यूहन्‍ना ११:११-१४) मृत्युलाई “शत्रु” भनेर पनि चिनाइएको छ। (१ कोरिन्थी १५:२६) सबैभन्दा महत्त्वपूर्ण कुरा त बाइबलले हामीलाई मृत्यु निद्राजस्तो हुनुको कारण, मृत्युले मानिसजातिलाई पिरोल्नुको कारण र अन्तमा यस शत्रुलाई कसरी पराजित गरिनेछ भन्‍ने कुरा बुझ्न मदत गर्छ।

हामी किन मर्छौं?

परमेश्‍वरले कसरी प्रथम पुरुष आदमलाई सृष्टि गर्नुभयो र प्रमोदवनरूपी घरमा राख्नुभयो भन्‍ने कुरा बाइबलको प्रथम पुस्तकमा उल्लेख गरिएको छ। (उत्पत्ति २:७, १५) आदमको सृष्टि भएपछि तिनलाई विभिन्‍न जिम्मेवारीका साथै एउटा कडा निषेधाज्ञा पनि दिइयो। अदनको बगैंचामा भएको एउटा रूखबारे परमेश्‍वरले तिनलाई यसो भन्‍नुभएको थियो: “रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।” a (उत्पत्ति २:१७) त्यसबाट आदमले मर्नै पर्छ भन्‍ने छैन रहेछ भनी बुझे। ईश्‍वरीय व्यवस्था उल्लङ्‌घन गरेको खण्डमा त्यसको परिणाम सोझै मृत्यु हुने थियो।

दुःखको कुरा, आदम अनि तिनकी पत्नी हव्वाले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे। तिनीहरूले जानाजानी आफ्नो सृष्टिकर्ताको इच्छालाई बेवास्ता गरे र त्यसको परिणाम पनि भोगे। तिनीहरूले गरेको पापको नतिजाबारे घोषणा गर्नुहुँदा परमेश्‍वरले तिनीहरूलाई यसो भन्‍नुभयो, “माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।” (उत्पत्ति ३:१९) तिनीहरू खोटो सिक्काझैं भए अर्थात्‌ तिनीहरू असिद्ध भए। आफ्नो असिद्धता अथवा पापले तिनीहरूलाई मृत्युतर्फ धकेल्ने थियो।

यो खोट अर्थात्‌ पाप आदम अनि हव्वाको सन्तान सम्पूर्ण मानिसजातिमा पनि सऱ्‍यो। एक अर्थमा यो पाप वंशाणुगत रोगजस्तै थियो। आदमले मृत्युको पीडाबाट मुक्‍त भई बाँच्ने सुअवसर त गुमाए-गुमाए तर यसको अलावा तिनले आफ्नो सन्तानमा पनि असिद्धता सारिदिए। मानव परिवार पापको बन्धनमा पऱ्‍यो। बाइबल यसो भन्छ: “जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।”—रोमी ५:१२.

“पाप संसारमा प्रवेश भयो”

यो वंशाणुगत खोट अथवा पाप माइक्रोस्कोपले हेरे पनि देख्न सकिन्‍न। “पापले” नैतिक तथा आध्यात्मिक कमीलाई बुझाउँछ, जुन कमी हाम्रा प्रथम मातापिताबाट हामीमा सरेको छ र हामीले यस पापका शारीरिक नतिजाहरू भोग्नुपर्छ। तथापि, परमेश्‍वरले यसलाई समाधान गर्ने प्रबन्ध मिलाउनुभएको छ भनी बाइबल बताउँछ। प्रेरित पावल यसो भन्छन्‌: “पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।” (रोमी ६:२३) कोरिन्थका मसीहीहरूलाई लेखेको पत्रमा पावलले आफूलाई एकदमै अर्थपूर्ण लागेको एउटा आश्‍वासन पनि थपे: “जसरी आदममा सबै मर्दछन्‌, त्यसरीनै ख्रीष्टमा पनि सबै जीवित हुनेछन्‌।”—१ कोरिन्थी १५:२२.

कुरा स्पष्ट छ, पाप र मृत्युलाई नामेट पार्न येशू ख्रीष्टले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुन्छ। आफू यस पृथ्वीमा आउनुको उद्देश्‍य “धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनलाई” हो भनी उहाँले बताउनुभयो। (मत्ती २०:२८) यस कुरालाई अपहरणसित तुलना गर्न सक्छौं किनभने अपहरण भएको व्यक्‍तिलाई मुक्‍त गर्न तोकिएको रकम बुझाउनुपर्ने हुन्छ। यस सन्दर्भमा चाहिं पाप र मृत्युबाट हामीलाई मुक्‍त गर्न सक्ने छुडौतीको मोल भनेको येशूको सिद्ध मानव जीवन हो। bप्रेरित १०:३९-४३.

छुडौतीको प्रबन्ध मिलाउन परमेश्‍वरले येशूलाई आफ्नो जीवन बलिदान दिन यस पृथ्वीमा पठाउनुभयो। “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक[ले] . . . अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) मर्नुभन्दा पहिला ख्रीष्टले आफ्नो जीवन बलिदानको रूपमा चढाउनुभएर ‘सत्यको गवाही दिनुभयो।’ (यूहन्‍ना १८:३७) अनि आफ्नो जन सेवकाईको दौडान उहाँले कुनै-कुनै अवसरको सदुपयोग गर्दै मौका छोपेर मृत्युबारे सत्य कुरा प्रकट गर्नुभयो।

“ठिटी . . . निदाएकी छ”

पृथ्वीमा छँदा येशूलाई मृत्युबारे थाह थियो। आफू वरपरका मानिसहरूको मृत्यु हुँदा उहाँ दुःखित हुनुभयो र आफ्नो पनि अल्पायुमै मृत्यु हुनेछ भन्‍ने कुरा उहाँले राम्रोसँग बुझ्नुभएको थियो। (मत्ती १७:२२, २३) स्पष्टतया, येशूलाई मृत्युदण्ड दिइनुभन्दा केही महिनाअघि उहाँको प्रिय मित्र लाजरसको मृत्यु भयो। त्यस घटनाबाट हामी मृत्युप्रति येशूको दृष्टिकोण कस्तो थियो भन्‍ने कुराको अन्तरदृष्टि पाउन सक्छौं।

लाजरस मरेको खबर सुन्‍नासाथ येशूले यसो भन्‍नुभयो: “हाम्रा मित्र लाजरस निद्रामा परेका छन्‌, तर म तिनलाई निद्राबाट बिउँझाउनलाई जाँदैछु।” चेलाहरूले लाजरस निद्रामा परेका छन्‌ भने त तिनी बाँच्छन्‌ होला भन्ठानेका थिए। त्यसकारण येशूले सफासँग भनिदिनुभयो: “लाजरस मरेका छन्‌।” (यूहन्‍ना ११:११-१४) निस्सन्देह, मृत्यु भनेको निद्राजस्तै हो भन्‍ने कुरा येशूले बुझ्नुभएको थियो। मृत्युबारे बुझ्न हामीलाई गाह्रो परे तापनि हामी निद्राबारे भने बुझ्न सक्छौं। मस्तसँग निदाएको बेला हामीलाई समय बितेको र हाम्रो वरिपरि के भइरहेको छ अत्तोपत्तो हुँदैन किनभने निदाएको बेला हामी केही समयको लागि अचेत अवस्थामा हुन्छौं। मरेका मानिसहरूको अवस्थाबारे पनि बाइबलमा ठीक यसै भनिएको छ। उपदेशक ९:५ यसो भन्छ: “मरेकाहरूले ता केही पनि जान्दैनन्‌।”

परमेश्‍वरको शक्‍तिद्वारा मानिसहरूलाई मृत्युबाट ब्यूँताउन सकिने भएकोले पनि येशूले मृत्युलाई निद्रासित तुलना गर्नुभयो। एक समयको कुरा हो, येशू एउटा शोकाकुल परिवारलाई भेट्‌न जानुभयो जुन परिवारको सानी ठिटी भर्खरै मरेकी थिई। येशूले यसो भन्‍नुभयो: “ठिटी मरेकी छैन, तर निदाएकी छ।” त्यसपछि उहाँ मरेकी ठिटीको नजिक जानुभयो र तिनको हात समात्नुभयो अनि त्यो ठिटी “जुरुक्क उठी।” अर्को शब्दमा भन्‍ने हो भने, त्यो ठिटी मृत अवस्थाबाट ब्यूँती।—मत्ती ९:२४, २५.

येशूले आफ्नो मित्र लाजरसलाई पनि त्यसै गरी ब्यूँताउनुभयो। तर त्यो चमत्कार गर्नुभन्दा पहिला उहाँले लाजरसकी दिदीलाई यसो भनेर सान्त्वना दिनुभयो: “तिम्रो भाइ फेरि बिउँतनेछ।” मार्थाले निर्धक्क हुँदै भनिन्‌: “‘म जान्दछु, कि त्यो पछिल्लो दिनको पुनरुत्थानमा फेरि बिउँतनेछ।” (यूहन्‍ना ११:२३, २४) निकट भविष्यमा परमेश्‍वरका सबै सेवकहरूको पुनरुत्थान हुनेछ भन्‍ने कुरामा तिनले आशा राखेकी थिइन्‌।

वास्तवमा पुनरुत्थानले केलाई बुझाउँछ? “पुनरुत्थान” (आनास्तासिस) भन्‍ने युनानी शब्दको शाब्दिक अर्थ हुन्छ, “खडा हुनु।” यसले मरेको अवस्थाबाट ब्यूँतनुलाई सङ्‌केत गर्छ। कसै-कसैलाई यो कुरा पत्यार नलाग्ला तरैपनि मरेकाहरूले आफ्नो सोर सुन्‍नेछन्‌ भनी बताइसक्नुभएपछि येशूले यसो भन्‍नुभयो: “यसमा अचम्म नमान।” (यूहन्‍ना ५:२८) पृथ्वीमा छँदा स्वयम्‌ येशूले गर्नुभएका पुनरुत्थानहरूले हामीलाई परमेश्‍वरको सम्झनामा भएका मरेका मानिसहरू लामो “निद्रा[बाट]” ब्यूँतनेछन्‌ भन्‍ने बाइबलको प्रतिज्ञामा विश्‍वस्त हुन मदत गर्छ। प्रकाश २०:१३ मा यस्तो भविष्यवाणी गरिएको पाउँछौं: “समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मृत्यु र पातालले [मानिसजातिको सामान्य चिहानले] पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले।”

के यी मरेका मानिसहरूलाई बूढाबूढी भएर लाजरसजस्तै फेरि मर्नका लागि पुनः जीवित पारिनेछन्‌ कि? परमेश्‍वरको त्यसो गर्ने उद्देश्‍य छैन। “मृत्यु” नै नहुने समय आउनेछ भनी बाइबलले हामीलाई आश्‍वासन दिएकोले कोही पनि बूढाबूढी भएर मर्ने छैनन्‌।—प्रकाश २१:४.

मृत्यु एउटा शत्रु हो। मानिसजातिका अरू शत्रुहरू पनि छन्‌; जस्तै: रोगबिमार तथा वृद्धावस्था जसले हामीलाई निकै सताउँछ। अन्तमा मानिसजातिको सबैभन्दा ठूलो शत्रुलाई दण्ड दिएर परमेश्‍वर यी सबै शत्रुलाई नामेट पार्ने प्रतिज्ञा गर्नुहुन्छ। “सबैभन्दा पछि नामेट हुने शत्रु, मृत्यु हो।”—१ कोरिन्थी १५:२६.

त्यो प्रतिज्ञा पूरा भएपछि मानिसजातिले पाप र मृत्युको छायासमेत नपरेको सिद्ध जीवनबाट आनन्द उठाउनेछन्‌। त्यस्तो समय नआउन्जेल हाम्रा प्रिय मृतजनहरू निदाइरहेका छन्‌ र परमेश्‍वरको सम्झनामा रहेछन्‌ भने उहाँको तोकिएको समयमा उनीहरूको पुनरुत्थान हुनेछ भन्‍ने कुराबाट हामी सान्त्वना प्राप्त गर्न सक्छौं।

मृत्युबारे बुझ्दा जीवन अर्थपूर्ण हुन्छ

मृत्यु र मरेका मानिसहरूबारे स्पष्टसित बुझ्दा त्यसले जीवनप्रतिको हाम्रो दृष्टिकोणलाई नै परिवर्तन गरिदिन सक्छ। सुरुको लेखमा उल्लिखित इयानले २० वर्ष पार गरेपछि बाइबलमा मृत्युबारे बताइएको कुरा थाह पाए। तिनी यसो भन्छन्‌: “मलाई सधैं मेरो बुबा कहीं न कहीं हुनुहुन्छ जस्तो लागिरहन्थ्यो। त्यसकारण, उहाँ मृत्युको निद्रामा हुनुहुन्छ भन्‍ने कुरा थाह पाउँदा सुरुमा त म अलि खिन्‍न भएँ।” यद्यपि, मरेकाहरूलाई पुनरुत्थान गर्ने परमेश्‍वरको प्रतिज्ञाबारे पढेपछि इयानले आफ्नो बुबालाई फेरि भेट्‌न सकिने कुरा थाह पाए र हर्षले विभोर भए। त्यतिखेरको कुरा सम्झँदै तिनी यसो भन्छन्‌, “त्यतिबेलै हो मैले जिन्दगीमा पहिलो चोटि मनोशान्ति महसुस गरेको।” मृत्युबारे सही जानकारी पाएपछि तिनलाई मनोशान्ति महसुस हुनुका साथै ढुक्क लाग्यो।

अघिल्लो लेखमा चर्चा गरिएको दुर्घटनामा क्लाइभ र ब्रिन्डाले आफ्नो २१ वर्षीय छोरा स्टिभनलाई गुमाए। मृत्युबारे बाइबलमा बताइएको कुरा थाह भए तापनि अचानक आफ्नो छोरालाई गुमाउनुपर्दा उनीहरूको मन छियाछिया भएको थियो। आखिर, मृत्यु भनेको शत्रु हो र यसको खील निकै पीडादायी हुन्छ। मरेका मानिसहरूको अवस्थाबारे आफूलाई थाह भएको धर्मशास्त्रीय ज्ञानले गर्दा उनीहरूको शोक बिस्तारै कम हुँदै गयो। ब्रिन्डा यसो भन्छिन्‌: “मृत्युबारे हामीले जे-जति बुझेका छौं त्यसले आफूलाई सँभालेर विचलित नभई फेरि अघि बढ्‌न मदत गरेको छ। हुन त, मस्त निद्राबाट स्टिभन ब्यूँझने समयबारे हामीले नसोचेको दिन नै हुँदैन।”

“ए मृत्यु, तेरो खील कहाँ?”

कुरा स्पष्ट छ, मरेका मानिसहरूको अवस्थाबारे बुझ्यौं भने त्यसले हामीलाई जीवनप्रति सन्तुलित दृष्टिकोण राख्न मदत गर्न सक्छ। मृत्यु एउटा रहस्यमय कुरा हुनु पर्दैन। हाम्रो पिछा नछोड्‌ने यस मृत्युको कुनै डर-त्रासविना हामी जीवनबाट आनन्द उठाउन सक्छौं। अनि मृत्युले हाम्रो जीवनलाई सदाको लागि समाप्त गर्छै भन्‍ने छैन भनी बुझ्दा त्यसले “जीवन एकदमै छोटो छ” भन्‍ने कुराको हेक्का राख्दै मोजमस्तीको लागि बाँच्ने चाहनालाई पन्छाउन मदत गर्छ। परमेश्‍वरको सम्झनामा भएका हाम्रा मरेका प्रियजनहरू मृत्युको निद्रामा छन्‌ र पुनरुत्थान हुने समयको प्रतीक्षामा छन्‌ भन्‍ने कुरा थाह पाउँदा त्यसले हामीलाई सान्त्वना दिनुका साथै जीवनमा अघि बढ्‌ने जोस-जाँगर पलाएर आउँछ।

हो, जीवनदाता यहोवा परमेश्‍वरले मृत्युलाई सदाको लागि नामेट पार्नुहुने समयको हामी निर्धक्क भई बाटो हेर्न सक्छौं। त्यसैकारण, हामीले यस्तो प्रश्‍न सोध्न सक्नु कत्ति ठूलो आशिष्‌को कुरा हुनेछ: “ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?”—१ कोरिन्थी १५:५५.

[फुटनोट]

a मृत्युबारे बाइबलमा पाइने सबैभन्दा पहिलो विवरण यही हो।

b त्यो छुडौतीको मोल सिद्ध मानव जीवन थियो किनभने आदमले गुमाएको जीवन पनि सिद्ध नै थियो। पापले सबै मानिसजातिलाई असिद्ध पारेको कारण कुनै पनि मानिसले त्यस्तो छुडौतीको मोल तिर्न सक्दैनथ्यो। त्यसकारण, यसै उद्देश्‍यको लागि परमेश्‍वरले आफ्नो पुत्रलाई स्वर्गबाट पठाउनुभयो। (भजन ४९:७-९) यस विषयमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने पुस्तकको अध्याय ७ हेर्नुहोस्‌।

[पृष्ठ ५-मा भएको चित्र]

आदम र हव्वाको अनाज्ञाकारिताले मृत्युतर्फ डोऱ्‍यायो

[पृष्ठ ६-मा भएको चित्र]

येशूले मरिसकेकी ठिटीको हात समात्नुभयो र ऊ जुरुक्कै उठी

[पृष्ठ ७-मा भएको चित्र]

लाजरसजस्तै आफ्ना मृत प्रियजनहरू पनि निद्राबाट ब्यूँझने समयको धेरैले प्रतीक्षा गरिरहेका छन्‌