सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हृदयविदारक घटनाहरूको बावजुद सन्तोषजनक जीवन

हृदयविदारक घटनाहरूको बावजुद सन्तोषजनक जीवन

जीवनी

हृदयविदारक घटनाहरूको बावजुद सन्तोषजनक जीवन

अड्री हाइडको वृत्तान्तमा आधारित

पूर्ण-समय सेवकाईमा बिताएको ६३ वर्षलाई फर्केर हेर्दा—त्यसमा ५९ वर्ष यहोवाका साक्षीहरूको मुख्यालयमा—मेरो जीवन सन्तोषजनक भएको छ भनी म भन्‍न सक्छु। हो, मेरो पहिलो श्रीमान्‌लाई क्यान्सरले बिस्तारै खाँदै लगेको र दोस्रो श्रीमान्‌ अल्जाइमर्स रोगको दर्दनाक असरहरूबाट ग्रस्त भएको हेर्नु सजिलो थिएन। तर पहिला म तपाईंहरूलाई मैले यी विपत्तिहरूको बावजुद कसरी आनन्द कायम राख्न सकें भनी बताउन चाहन्छु।

मेरो बाल्यकाल नेब्रास्काको सीमासँगै उत्तरपूर्वी कोलोराडोको बेंसीमा हाक्सटन भन्‍ने सानो सहर नजिकै एउटा फार्ममा बित्यो। ओरिल र नीना मकका छ जना छोराछोरीमध्ये म पाँचौं थिएँ। रसल, वेन, क्लारा र आर्डिसको जन्म १९१३ देखि १९२० को बीचमा भएको थियो भने मेरो जन्म त्यसको एक वर्षपछि भयो। कर्टिसको जन्म चाहिं १९२५ मा भएको थियो।

सन्‌ १९१३ मा आमा बाइबल स्टुडेन्ट हुनुभयो, त्यतिबेला यहोवाका साक्षीहरू त्यही नाउँले चिनिन्थे। समयमा हामी सम्पूर्ण परिवार नै यहोवाका साक्षी भयौं।

बेंसीमा स्वास्थ्यकर जीवन

बुबा एकदमै प्रगतिशील व्यक्‍ति हुनुहुन्थ्यो। हामी बस्ने फार्मको सबै घरहरूमा बिजुली बत्ती थियो जुन कुरा ती दिनहरूमा एकदमै असाधारण थियो। हामी मौसमअनुसारको फलफूल, आफूकहाँ नै पालेका कुखुराको अन्डा अनि आफ्नै गाईको दूध, दूधको तर र मक्खन खान्थ्यौं। खेत जोत्न हामी घोडा चलाउँथ्यौं र स्ट्रबेरी, आलुका साथसाथै गहुँ र मकै बाली लाउँथ्यौं।

हामी बच्चाहरू सबैले काम गर्न सिक्नुपर्छ भन्‍ने बुबाको विचार थियो। स्कूल नजाँदै मलाई खेतमा काम गर्न सिकाइएको थियो। गर्मीको बखत चर्को घाममा बारीमा काम गरेका ती दिनहरू मलाई अझै याद छ। मलाई लाग्थ्यो, ‘ड्याङको पल्लो छेउसम्म कहिले पुगिने होला?’ शरीरमा पसिनाको धारा छुट्‌थ्यो अनि त्यसमाथि मौरीले चिल्थ्यो। कहिलेकाहीं आफैदेखि मलाई दया लाग्थ्यो किनभने अरू बच्चाहरूले मैलेजस्तो काम गर्नु पर्दैनथ्यो। तर अहिले आफ्नो बाल्यकाल सम्झँदा हामीलाई काम गर्न सिकाइएकोमा म साँच्चै कृतज्ञ छु।

हामी सबैलाई काम बाँडफाँड गरिएको थियो। आर्डिस गाईको दूध दुहुन मभन्दा खप्पिस थियो त्यसैले मेरो कामचाहिं तबेलाको फोहोर सफा गर्ने थियो। तर हामी रमाइलो नै नगर्ने र खेल्दै नखेल्ने चाहिं होइन। आर्डिस र म स्थानीय टोलीमा बल खेल्थ्यौं। हामी दुवै विभिन्‍न पोजिसनबाट खेल्थ्यौं।

सफा रातमा मैदानबाट आकाश कस्तो राम्रो देखिन्थ्यो। ती हजारौं ताराहरूले मलाई हाम्रो सृष्टिकर्ता यहोवा परमेश्‍वरको सम्झना गराउँथ्यो। बच्चै छँदा पनि म भजन १४७:४ सम्झने गर्थें जहाँ यस्तो लेखिएको छ: “उहाँले [यहोवाले] ताराका संख्या गन्‍नसक्नुहुन्छ। र ती सबैलाई नाउँ दिनुहुन्छ।” ती सफा रातहरूमा हाम्रो कुकुर जज्‌ मेरो काखमा उसको टाउको राख्दै मेरो साथी बस्थ्यो। म दिउँसो अक्सर हाम्रो बरन्डामा बसेर गहुँको बालीमा हावा लागेको दृश्‍यको मजा लिन्थें, सूर्यको किरणमा ती चाँदी टल्केको जस्तै देखिन्थे।

आमाको असल उदाहरण

मेरी आमा असाध्यै असल र मायालु पत्नी हुनुहुन्थ्यो। बुबा सधैं परिवारको शिर हुनुहुन्थ्यो र आमाले हामीलाई उहाँको आदर गर्न सिकाउनुभयो। सन्‌ १९३९ मा बुबा पनि यहोवाको साक्षी हुनुभयो। बुबाले हामीलाई काममा परिश्रम गर्न लगाउनुभयो र हामीलाई कहिल्यै पुलपुल्याउनुभएन तैपनि उहाँले हामीलाई माया गर्नुहुन्छ भनी थाह थियो। जाडो याममा उहाँले अक्सर घोडाहरूलाई बाँधेर गाडाजस्तै साधनमा हामीलाई चढाउनुहुन्थ्यो। हिउँको त्यो चमकमा हामी कत्ति रमाउँथ्यौं!

तथापि, यहोवालाई प्रेम गर्न र बाइबललाई आदर गर्न सिकाउनुहुने त आमा नै हुनुहुन्थ्यो। हामीले परमेश्‍वरको नाउँ यहोवा हो र उहाँ नै जीवनको मूल हुनुहुन्छ भनेर सिक्यौं। (भजन ३६:९; ८३:१८, NW) उहाँले हामीलाई निर्देशनहरू दिनुको कारण हाम्रो आनन्द खोस्न होइन तर हाम्रै फाइदाको लागि हो भनेर पनि सिक्यौं। (यशैया ४८:१७) हामीले एउटा विशेष काम गर्नुपर्छ भनेर आमाले हामीलाई सधैं भन्‍ने गर्नुहुन्थ्यो। येशूले आफ्ना अनुयायीहरूलाई भन्‍नुभएको कुरा हामीले सिक्यौं: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.

ती दिनहरूमा स्कूलबाट घर फर्कंदा आमा घरमा नहुनुभएको बेला म उहाँलाई खोज्न हिंड्‌थें। एकचोटि, म त्यस्तै छ वा सात वर्षकी थिएँ होला, मैले उहाँलाई खलोमा भेट्‌टाएँ। त्यति नै बेला मुसलधारे पानी पर्न थाल्यो। हामी पराल थुपारिएको ठाउँमा थियौं र परमेश्‍वरले अर्को जलप्रलय ल्याउन लाग्नुभएको हो कि भनेर मैले आमालाई सोधें। परमेश्‍वरले संसार नाश गर्न फेरि कहिल्यै जलप्रलय नल्याउने प्रतिज्ञा गर्नुभएको कुरा आमाले मलाई बताउनुभयो। आँधी-तुफानहरू पनि आइरहने हुँदा थुप्रै चोटि हामी छिंडीमा लुक्न जानुपरेका घटनाहरू पनि मलाई याद छ।

म जन्मनुभन्दा अघि नै आमाले प्रचारकार्यमा भाग लिइसक्नुभएको थियो। एउटा समूह हाम्रो घरमा भेला हुन्थ्यो र तिनीहरू सबैको स्वर्गमा ख्रीष्टसँगै बस्ने आशा थियो। आमाको लागि घरघर प्रचारकार्यमा भाग लिनु चुनौतीपूर्ण भए तापनि परमेश्‍वरप्रतिको प्रेम उहाँको डरमाथि विजयी भयो। नोभेम्बर २४, १९६९ मा आफ्नो मृत्युको दिनसम्मै उहाँ विश्‍वासी रहनुभयो। उहाँ ८४ वर्षको हुनुहुन्थ्यो। “आमा, तपाईं स्वर्गमा जाँदै हुनुहुन्छ र त्यहाँ तपाईंले चिनेकाहरू हुनेछन्‌” भनेर मैले उहाँको कानमा खुसुक्क भनें। त्यस बेला आमासँगै हुनपाएकोमा र उहाँको त्यस आशाबारे मेरो विश्‍वास बताउन पाएकोमा म कत्ति खुसी भएँ! उहाँले मधुरो स्वरमा यसो भन्‍नुभयो, “तिमी मलाई कत्ति माया गछ्‌र्यौ।”

हामीले प्रचार गर्न थाल्यौं

सन्‌ १९३९ मा रसल अग्रगामी भए, यहोवाका साक्षीहरूमाझ पूर्ण-समय सुसमाचारकहरूलाई यसो भन्‍ने गरिन्छ। तिनले ओक्लाहामा र नेब्रास्कामा १९४४ सम्म अग्रगामी गरे र त्यसपछि तिनलाई न्यु योर्क सहरको ब्रूक्लिनस्थित यहोवाका साक्षीहरूको मुख्यालयमा (बेथेल भनिन्छ) सेवा गर्न बोलाइयो। मैले सेप्टेम्बर २०, १९४१ मा अग्रगामी गर्न थालें र कोलोराडो, क्यानसस र नेब्रास्काका विभिन्‍न ठाउँमा सेवा गरें। अग्रगामीका ती दिनहरू आनन्दमय हुनुको कारण मैले अरूलाई यहोवाबारे सिक्न मदत दिन सकेकीले मात्र होइन तर मैले उहाँमा भर पर्न सिकें।

रसलले अग्रगामी गर्न थालेको समयतिर नै वेन चाहिं केही समय काम गरेपछि अमेरिकाको पूर्वी तटको एउटा कलेजमा पढिरहेका थिए। पछि तिनलाई पनि बेथेलमा बोलाइयो। केही समय तिनले न्यु योर्कको इथेका नजिकै किङ्‌डम फार्ममा सेवा गरे। त्यहीं बस्ने सानो परिवारका साथै ब्रूक्लिन बेथेलमा भएका झन्डै २०० जनाको लागि त्यहाँ खेती गरिन्थ्यो। वेनले १९८८ मा आफ्नो मृत्यु नहोउन्जेल आफ्नो सीप र अनुभव यहोवाकै सेवामा चलाए।

मेरी दिदी आर्डिसको विवाह जेम्स कर्नसित भयो र उहाँहरूको पाँच जना छोराछोरी भए। दिदी १९९७ मा बित्नुभयो। मेरी अर्की दिदी क्लारा आजसम्म पनि यहोवाको सेवामा विश्‍वासी हुनुहुन्छ र म आफ्नो बिदाको बेला अहिले पनि उहाँलाई भेट्‌न कोलोराडो जान्छु। हाम्रो कान्छो भाइ कर्टिस सन्‌ १९४० दशकको बीचतिर ब्रूक्लिन बेथेल आयो। उसले किङ्‌डम फार्मदेखि ब्रूक्लिन बेथेलमा सामान तथा तरकारी, फलफूलहरू ओसारपसार गर्न ट्रक चलाउँथ्यो। ऊ अविवाहित थियो र १९७१ मा उसको मृत्यु भयो।

मेरो चाहना—बेथेल सेवा

मेरा दाइहरू बेथेल गएका थिए र मेरो पनि त्यहाँ सेवा गर्ने चाहना थियो। उहाँहरूको असल उदाहरणले गर्दा नै मलाई पनि बोलाएको हुनुपर्छ भन्‍ने कुरामा म विश्‍वस्त छु। यहोवाको संगठनको इतिहासबारे आमाले बताउनुभएको कुरा सुनेर र आखिरी दिनबारे बाइबलका भविष्यवाणीहरू आफैले पनि पूरा भएको देख्दा बेथेलमा सेवा गर्ने मेरो चाहना जाग्यो। मलाई यहोवाले बेथेलमा सेवा गर्ने मौका दिनुभयो भने आफूले हेरचाह गर्नुपर्ने अन्य केही मसीही दायित्वहरू नआएसम्म कहिल्यै नछोड्‌ने भाकल गरें।

म जून २०, १९४५ मा बेथेलमा आएँ र मलाई हाउसकिपरको रूपमा काम गर्न खटाइयो। मैले १३ वटा कोठा सफा गर्नुपर्थ्यो र त्यसमा २६ वटा ओछ्याउन मिलाउनुपर्थ्यो र कोठा बाहिरका हिंड्‌ने बाटो, भऱ्‍याङ र झ्यालहरू सफा गर्नुपर्थ्यो। काम गाह्रो थियो। हरेक दिन काम गर्दा आफूलाई यसो भन्‍ने गर्थें, ‘हो, तिमी थाकेकी छौ तर तिमी परमेश्‍वरको घर, बेथेलमा छौ!’

बेथेल सेवाको सुरु-सुरुतिर एउटा एकदमै लाजमर्दो कुरा भयो। म गाउँमा हुर्केकी मान्छेलाई खाना तथा भाँडाकुँडा ओसार्ने सानो खालको लिफ्टलाई डम्‌वेटर भनिन्छ भनेर पत्तै थिएन। जेहोस्‌, एक चोटि काममा मलाई फोनबाट यस्तो आग्रह गरियो, “एकचोटि डम्‌वेटर तल पठाइदिनुस्‌ न, है?” फोन गर्ने व्यक्‍तिले त्यति भनेर फोन राखिहाले र के गर्ने भनेर मलाई थाहै भएन। तर त्यति नै बेला वेटर काम गर्ने एक जना भाइ मैले हाउसकिपिङ गर्ने तलामा बस्छन्‌ भनेर सम्झें। त्यसैले मैले उनको ढोका ढकढक्याएँ र यसो भने, “तपाईंलाई तल भान्छामा बोलाएको छ।”

नेथन नोरसँग विवाह

सन्‌ १९२० दशकदेखि विवाह गर्न चाहने बेथलाइटहरूले बेथल छोडेर अन्तै राज्य गतिविधिमा सेवा गर्नुपर्थ्यो। तर १९५० को दशकको सुरुतिर बेथेलमा लामो सेवा गरिसकेका कोही-कोहीलाई विवाह गरेपछि पनि बेथेलमै सेवा गर्न दिइयो। त्यसैले त्यतिबेला विश्‍वव्यापी राज्य गतिविधिमा अगुवाइ लिइरहनुभएको नेथन एच. नोरले मप्रति चासो देखाउनुहुँदा मैले यस्तो सोचें, ‘उहाँले त पक्कै बेथेल छोड्‌नुपर्ने छैन!’

नेथनसित यहोवाका साक्षीहरूको विश्‍वव्यापी कार्यको निरीक्षण गर्ने थुप्रै जिम्मेवारीहरू थिए। त्यसैले विवाहको प्रस्ताव स्वीकार्नुअघि मैले सोच्नुपर्ने थुप्रै कारणहरूबारे उहाँले मलाई स्पष्टसित बताउनुभयो। ती दिनहरूमा उहाँले संसारभरि यहोवाका साक्षीहरूको शाखा कार्यालयहरूको भ्रमण गर्न निकै यात्रा गर्नुपर्थ्यो र अक्सर हप्तौंसम्म उहाँ बाहिरै हुनुहुन्थ्यो। त्यसैले हामी लामो समयसम्म एकअर्काबाट टाढा हुनेछौं भनेर उहाँले मलाई बुझाउनुभयो।

म भर्खरकी केटी छँदा वसन्तयाममा विवाह गर्ने र प्रशान्तको हवाई टापुमा हनिमून मनाउने सपना देख्थें। तर हाम्रो विवाह जाडो मौसममा, जनवरी ३१, १९५३ मा भयो र हामीले हनिमून चाहिं न्यु जर्सीमा त्यो शनिबार दिउँसो र आइतबार मनायौं। अनि सोमबारदेखि काम गर्न थाल्यौं। तथापि, एक हप्तापछि हामी एक हप्ताको हनिमूनमा चाहिं गयौं।

परिश्रमी सहयोगी

नेथन १९२३ मा बेथेल आउनुहुँदा १८ वर्षको हुनुहुन्थ्यो। साक्षीहरूको कार्यमा अगुवाइ लिनुभएको जोसेफ एफ. रदरफोर्ड र छापाखानाको प्रमुख रबर्ट जे. मार्टिन जस्ता अनुभवी भाइहरूबाट उहाँले अमूल्य प्रशिक्षण पाउनुभयो। सेप्टेम्बर १९३२ मा भाइ मार्टिनको मृत्यु भएपछि नेथन छापाखानाको प्रमुख हुनुभयो। त्यसको अर्को साल भाइ रदरफोर्डले युरोपस्थित यहोवाका साक्षीहरूको शाखा कार्यलयको भ्रमणमा नेथनलाई सँगै लग्नुभयो। जनवरी १९४२ मा भाइ रदरफोर्डको मृत्युपछि यहोवाका साक्षीहरूको विश्‍वव्यापी कामको निरीक्षण गर्ने जिम्मेवारी नेथनलाई सुम्पियो।

नेथन प्रगतिशील खालको व्यक्‍ति हुनुहुन्थ्यो, सधैं पछि हुने वृद्धिको लागि अघि नै योजना बनाउनुहुन्थ्यो। यस दुष्ट रीतिरिवाजको अन्त एकदमै नजिक छ भन्ठानेकोले कोही-कोहीलाई उहाँको यस्तो सोचाइ उपयुक्‍त लागेन। साँच्चै भन्‍ने हो भने, नेथनका योजनाहरू थाह पाउने एक जना भाइले उहाँलाई यस्तो प्रश्‍न गरे: “भाइ नोर, यो के हो? तपाईंमा विश्‍वास छैन कि, क्या हो?” उहाँले यस्तो जवाफ दिनुभयो: “ममा विश्‍वास छ तर हामीले सोचे जति चाँडो अन्त आएन भने हामी तयार हुनेछौं।”

नेथनलाई सुरु गर्नै पर्छ भनी लागेको एउटा कुरा चाहिं मिसनरीहरूको लागि स्कूल थियो। तसर्थ, फेब्रुअरी १, १९४३ मा किङ्‌डम फार्ममा मिसनरी स्कूल सुरु गरियो। त्यतिबेला मेरो दाइ वेन पनि त्यहीं सेवा गर्दै हुनुहुन्थ्यो। स्कूलमा पाँच महिनासम्म विस्तृत बाइबल कक्षाहरू सञ्चालन हुने भए तापनि विद्यार्थीहरूका लागि केही मनोरञ्जन पनि होस्‌ भनेर नेथनले पक्का गर्नुहुन्थ्यो। स्कूलको सुरु-सुरुतिर उहाँ आफै पनि विद्यार्थीहरूसँग बल खेल्नुहुन्थ्यो तर गर्मी याममा हुने अधिवेशनहरूमा भाग लिन नपाउने गरी घाइते भइएला भन्‍ने डरले खेल्न छोड्‌नुभयो। त्यसको साटो उहाँ रेफ्री हुन थाल्नुभयो। विदेशबाट आएका विद्यार्थीहरूको पक्षमा उहाँले खेलको नियम असाध्यै बङ्‌ग्याउनुहुँदा विद्यार्थीहरू दङ्‌ग पर्थे।

नेथनसँगै गरेका यात्राहरू

पछि म पनि नेथनसँगै यात्रा गर्न थालें। शाखामा काम गर्ने स्वयम्‌सेवक तथा मिसनरीहरूसित अनुभवहरू आदानप्रदान गर्न पाउँदा रमाइलो लाग्थ्यो। मैले उहाँहरूको प्रेम र भक्‍ति आफ्नै आँखाले देख्न पाएँ र उहाँहरूको तालिका र उहाँहरूलाई खटाइएको देशको जीवनस्तर कस्तो छ भनेर जान्‍न पाएँ। वर्षौंको दौडान गरिएका त्यस्ता भ्रमणहरूको लागि मूल्याङ्‌कन व्यक्‍त गर्दै अहिले पनि चिठीहरू पाउने गर्छु।

ती भ्रमणहरूलाई सम्झँदा थुप्रै कुराहरू याद आउँछ। उदाहरणका लागि, हामी पोल्याण्ड जाँदा मेरो अगाडि दुई जना बहिनी कानेखुसी गर्दै थिए। मैले उनीहरूलाई सोधें, “किन कानेखुसी गरिरहनुभएको?” पोल्यान्डमा यहोवाका साक्षीहरूको कार्यमा प्रतिबन्ध लागेको बेला घरहरूमा गुप्तचरहरूले माइक्रोफोन लुकाएर चियो गर्ने भएकोले कानेखुसी गर्ने बानी लागेको कुरा बताउँदै उनीहरूले माफी मागे।

त्यस्तो प्रतिबन्धको बेला काम गर्ने थुप्रैमध्ये एक जना बहिनी आड्या थिइन्‌। उनको केश घुम्रेको थियो र अगाडि निधारमा केश निकालिएको थियो। एक चोटि उनले त्यो निधार छोपिरहेको केश हटाएर गहिरो खत देखाइन्‌, त्यो चोट एक जना सतावट दिने व्यक्‍तिले हिर्काएकोले लागेको थियो। हाम्रा भाइबहिनीहरूले सहनुपरेको निर्मम व्यवहार आफ्नै आँखाले देख्दा म अवाक्‌ भएँ।

बेथेलपछि मलाई सबैभन्दा मनपर्ने ठाउँ हवाई हो। सन्‌ १९५७ मा त्यहाँ हीलो भन्‍ने सहरमा आयोजना भएको अधिवेशन मैले अझै बिर्सेकी छैनँ। त्यो एउटा स्मरणीय अवसर थियो र उपस्थिति त्यहाँका स्थानीय साक्षीहरूभन्दा एकदमै धेरै थियो। त्यस सहरको मेयरले नेथनलाई सहरको साँचोसमेत दिएका थिए। हामीलाई फूलमाला लगाउँदै स्वागत गर्न थुप्रै आए।

अर्को एकदमै रोमाञ्चकारी अधिवेशन १९५५ मा जर्मनीको न्युरमबर्गमा आयोजित अधिवेशन थियो। त्यो रङ्‌गशाला पहिला हिटलरको सेनाले कवाज गर्ने ठाउँ थियो। हिटलरले यहोवाका जनहरूलाई निर्मूल पार्ने वाचा त्यहीं गरेको कुरा सबैलाई थाह भएकै हो तर अहिले त्यही रङ्‌गशाला यहोवाका साक्षीहरूले भरिएको थियो! मैले आँसु थाम्नै सकिनँ। त्यहाँ ठूलो मञ्च थियो र मञ्चको पछाडि चाहिं ठूल्ठूला १४४ वटा खम्बा थिए। म मञ्चमा थिएँ र त्यहाँ भेला भएका १,०७,००० भन्दा बढीलाई देख्न सक्थें। दूरी यति लामो थियो कि अन्तिम लाइन त बल्लतल्ल देख्न सकिन्थ्यो।

नाजी शासनमा सतावटको दौडान जर्मन भाइहरूको निष्ठा र तिनीहरूले यहोवाबाट पाएको बल हामीले महसुस गर्न सक्थ्यौं। यसले वफादार हुने र यहोवाप्रति हाम्रो निष्ठा कायम राख्ने सङ्‌कल्पलाई झन्‌ बलियो बनायो। नेथनले समापन भाषण दिनुभयो र अन्तमा उहाँले श्रोताहरूलाई हात हल्लाउँदै बिदाइ गर्नुभयो। श्रोताहरूले पनि तुरुन्तै आ-आफ्नो रुमाल फर्फराउँदै बिदाइ गरे। त्यो रङ्‌गीचङ्‌गी फूलहरूको सुन्दर बगैंचाजस्तै देखिएको थियो।

डिसेम्बर १९७४ मा हाम्रो पोर्चुगल भ्रमण पनि अविस्मरणीय थियो। हाम्रो साक्षीकार्य कानुनी रूपमा दर्ता भएपछि लिस्बनमा भएको साक्षीहरूको पहिलो सभामा हामी उपस्थित थियौं। त्यहाँ ५० वर्षसम्म प्रतिबन्ध लागेको थियो! त्यतिबेला त्यस देशमा जम्मा १४,००० प्रकाशकहरू मात्र भए तापनि दुइटा सभाको लागि ४६,००० भन्दा बढी मानिसहरू उपस्थित थिए। भाइहरूले यसो भन्दा आँसुले मेरो गह भरियो: “अब हामी लुक्नुपर्दैन। हामी स्वतन्त्र भएका छौं।”

नेथनसँग यात्रा गरेका दिनहरूदेखि अहिलेसम्म पनि मलाई अनौपचारिक साक्षीकार्य—हवाईजहाज होस्‌ या रेष्टुराँमा—र सडक साक्षीकार्य गर्न रमाइलो लाग्छ। जुनसुकै बेला पनि साक्षी दिन तयार हुन म सधैं साहित्यहरू बोक्छु। एक दिन हामी हाम्रो हवाईजहाज ढिला भएकोले पर्खिरहँदा एउटी महिलाले मलाई म कहाँ काम गर्छु भनेर सोधिन्‌। यसले गर्दा तिनीसँग कुराकानी सुरु भयो र हामी वरपरका अरूले पनि सुनिरहेका थिए। बेथेल सेवा र हाम्रो प्रचार गतिविधिले मलाई व्यस्त राख्नुका साथै आनन्दित तुल्याएको छ।

बिमारी र बिछोडअघि प्रोत्साहनका दुई शब्द

सन्‌ १९७६ मा नेथनलाई क्यान्सर भयो र म लगायत बेथेल परिवारका सदस्यहरूले उहाँलाई मदत गऱ्‍यौं। उहाँको बिग्रँदो स्वास्थ्यस्थितिको बावजुद हामी त्यतिबेला ब्रूक्लिन बेथेलमा प्रशिक्षणका लागि आइरहेका विश्‍वभरिका शाखा कार्यालयका विभिन्‍न सदस्यहरूलाई कोठामा बोलाउँथ्यौं। डन र अर्लिन स्टिल, लोइड र मेल्बा ब्यारी, डग्लस र मेरी गेस्ट, मार्टिन र गर्टुड पोइटजिंगर, प्राइस ह्‍युग्स र अरू थुप्रै जना हामीलाई भेट्‌न आएको म अहिले पनि सम्झन सक्छु। उनीहरूले अक्सर आ-आफ्नो देशको अनुभव हामीलाई बताउँथे। प्रतिबन्धको दौडान पनि हाम्रा भाइहरूले कायम राखेको दृढता देखेर म विशेष गरी प्रभावित भएँ।

नेथनलाई आफ्नो मृत्यु नजिकै छ भन्‍ने थाह भएपछि उहाँले मलाई विधवा अवस्थासित सामना गर्न केही अत्यन्तै राम्रा सल्लाहहरू दिनुभयो। उहाँले भन्‍नुभयो: “हाम्रो दाम्पत्य जीवन सुखी रह्‍यो। थुप्रै मानिसहरूले यस्तो अनुभव गर्न पाएका छैनन्‌।” हाम्रो दाम्पत्य जीवन सुखी हुनुको एउटा कारण नेथनको विचारशील स्वभाव थियो। उदाहरणका लागि, हामी विभिन्‍न ठाउँमा जाँदा उहाँले मलाई यसो भन्‍ने गर्नुहुन्थ्यो: “अड्री, मैले तिमीलाई कोही-कोहीसँग परिचय गराइन भने यो मैले तिनीहरूको नाउँ बिर्सेर हो।” उहाँले मलाई पहिल्यै यसो भन्‍नुभएकोमा म कत्ति आभारी छु।

नेथनले मलाई यसरी सम्झाउनुभयो: “मृत्युपछि हाम्रो आशा पक्का छ र हामीले फेरि कहिल्यै पीडा भोग्नुपर्ने छैन।” त्यसपछि उहाँले मलाई यस्तो आग्रह गर्नुभयो: “अगाडि हेर किनभने तिम्रो इनाम तिमीसामु छ। आफूसँग सम्झनाहरू भए तापनि अतीतको लालसा गर्दै नबाँच्नु। समय बित्दै गएपछि तिम्रो पीडा कम हुँदै जानेछ। नमिठो महसुस नगर र आफूलाई बढ्‌ता दया नदेखाऊ। यी आनन्द तथा आशिष्‌हरू पाएकोमा आनन्दित होऊ। केही समयपछि तिमी विगतका कुराहरू सम्झेर खुसी हुनेछौ। सम्झनाहरू परमेश्‍वरका वरदान हुन्‌।” उहाँले अझ यसो भन्‍नुभयो: “व्यस्त रह—आफ्नो जीवन अरूको लागि चलाउने कोसिस गर। यसो गर्दा तिमीले जीवनमा आनन्द पाउन सक्नेछौ।” अन्ततः जून ८, १९७७ मा नेथनको पार्थिव जीवनको अन्त भयो।

ग्लेन हाइडसँग विवाह

नेथनले म या त अतीतमा बाँच्न सक्छु वा नयाँ जीवनको सुरुवात गर्न सक्छु भन्‍नुभएको थियो। त्यसैले १९७८ मा न्यु योर्क, वाल्किलको वाचटावर फार्ममा मेरो सरुवा भएपछि मैले ग्लेन हाइडसँग विवाह गरें। उहाँ हट्टाकट्टा, शान्त र भद्र खालको व्यक्‍ति हुनुहुन्थ्यो। उहाँ साक्षी हुनुभन्दा अघि संयुक्‍त राज्य अमेरिकाको जापान विरुद्ध युद्धमा जलसेनामा काम गर्नुहुन्थ्यो।

ग्लेन पट्रोल टोरपिडो जहाजमा हुनुहुन्थ्यो र उहाँलाई इन्जिन कोठामा खटाइएको थियो। इन्जिनको आवाजले गर्दा उहाँले आफ्नो श्रवणशक्‍ति गुमाउनुभयो। युद्धपछि उहाँले वारुणकर्मीको रूपमा काम गर्नुभयो। युद्धका अनुभवहरूले गर्दा उहाँ वर्षौंसम्म निद्रामा तर्सिनुहुन्थ्यो। उहाँले आफ्नी सेक्रटरीबाट सच्चाइ सिक्नुभएको थियो। ती सेक्रटरीले उहाँलाई अनौपचारिक साक्षी दिएकी थिइन्‌।

पछि १९६८ मा ग्लेनलाई ब्रूक्लिनमा वारुणकर्मीको रूपमा सेवा गर्न बेथेल बोलाइयो। पछि वाचटावर फार्ममा पनि दमकल राखेपछि उहाँलाई त्यहाँ सरुवा गरियो। समय बित्दै जाँदा उहाँ अल्जाइमर्स रोगबाट पीडित हुनुभयो। हाम्रो विवाह भएको दस वर्षपछि ग्लेन बित्नुभयो।

मैले यी सबै कसरी सहें? नेथनलाई आफ्नो मृत्यु नजिक छ भनी थाह भएपछि उहाँले मलाई दिनुभएको बुद्धिका दुई शब्दले नै मलाई सान्त्वना प्रदान गऱ्‍यो। विधवा अवस्थासित सामना गर्नेबारे उहाँले लेख्नुभएका कुराहरू मैले बारम्बार पढें। आफ्नो जीवनसाथी गुमाएकाहरूलाई म आज पनि ती कुराहरू सुनाउँछु र तिनीहरूले पनि नेथनको सल्लाहबाट सान्त्वना पाउँछन्‌। हो उहाँले प्रोत्साहन दिनुभएझैं अगाडि हेर्नु बेस हो।

अनमोल भ्रातृत्व

मेरो जीवन सुखी र सन्तोषजनक हुनुको एउटा कारण बेथेलमा भएका प्रिय मित्रहरू हुन्‌। त्यस्तै एक जना साथी एस्तर लोपेज हुन्‌ जसले १९४४ वाचटावर बाइबल स्कूल अफ गिलियडको तेस्रो कक्षाबाट स्नातक गरेकी थिइन्‌। तिनी फेब्रुअरी १९५० मा हाम्रो बाइबल साहित्यहरू स्पेनी भाषामा तयार गर्न अनुवादकको रूपमा सेवा गर्न ब्रूक्लिन फर्किन्‌। नेथन अक्सर बाहिर जानुहुँदा एस्तर मेरो नजिकको साथी हुन्थिन्‌। तिनी पनि वाचटावर फार्ममा नै छिन्‌। तिनी ९० वर्षभन्दा धेरैकी भइसकिन्‌ र स्वास्थ्यस्थिति कमजोर हुँदै गएकोले तिनको हेरचाह हाम्रो इन्फर्मरीले नै गर्छ।

मेरो आफ्नै परिवारमा रसल र क्लारा मात्र बाँकी छन्‌। रसल ९० वर्ष नाघिसकेका छन्‌ र ब्रूक्लिन बेथेलमै सेवा गर्दैछन्‌। विवाह गरेपछि पनि बेथेलमै रहन दिइएको पहिलो केही थोरै व्यक्‍तिहरूमध्ये तिनी पनि हुन्‌। सन्‌ १९५२ मा तिनले सँगी बेथलाइट जिन लार्सनसँग बिहे गरे। जिनको दाइ म्याक्स १९३९ मा बेथेल आएका थिए र नेथनपछि १९४२ मा उनी छापाखानाका प्रमुख भए। म्याक्सले अहिले पनि बेथेलमा थुप्रै जिम्मेवारीहरू सम्हालिरहेका छन्‌ जसमध्ये एउटा, मल्टिपल स्क्लेरोसिसले पीडित आफ्नी पत्नीको हेरचाह पनि हो।

यहोवाको सेवामा बिताएको ६३ वर्षलाई फर्केर हेर्दा मेरो जीवन साँच्चै सन्तोषजनक छ भनेर म भन्‍न सक्छु। बेथेल नै मेरो घर भयो र आनन्दसाथ अहिले पनि सेवा गर्दैछु। काम गर्ने राम्रो बानी र यहोवाको सेवा गर्ने इच्छा जगाउने श्रेय त मेरा आमाबाबुलाई नै जान्छ। तर जिन्दगी साँच्चै सन्तोषजनक हुनुको कारण त हाम्रो अद्‌भुत भातृत्व र एक मात्र साँचो परमेश्‍वर, महान्‌ सृष्टिकर्ताको सदाको लागि सेवा गर्दै आफ्ना भाइबहिनीहरूसँगै पार्थिव प्रमोदवनमा बाँच्ने आशा हो।

[पृष्ठ २४-मा भएको चित्र]

जून १९१२ मा मेरा आमाबाबु विवाहको दिनमा

[पृष्ठ २४-मा भएको चित्र]

बायाँ देखि दायाँ: १९२७ मा रसल, वेन, क्लारा, आर्डिस, म र कर्टिस

[पृष्ठ २५-मा भएको चित्र]

सन्‌ १९४४ मा अग्रगामीका दिनहरूमा फ्रान्सिस र बार्बरा म्याकनटको बीचमा म

[पृष्ठ २५-मा भएको चित्र]

सन्‌ १९५१, बेथेलमा। बायाँदेखि दायाँ: म, एस्तर लोपेज र मेरी भाउजू जिन

[पृष्ठ २६-मा भएको चित्र]

नेथन र मेरा सासु-ससुरासँग

[पृष्ठ २६-मा भएको चित्र]

सन्‌ १९५५ मा नेथनसँग

[पृष्ठ २७-मा भएको चित्र]

नेथनसँग हवाईमा

[पृष्ठ २९-मा भएको चित्र]

मेरो दोस्रो श्रीमान्‌ ग्लेनसँग