सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जब परमेश्‍वरको इच्छा यस पृथ्वीमा पूरा हुन्छ

जब परमेश्‍वरको इच्छा यस पृथ्वीमा पूरा हुन्छ

जब परमेश्‍वरको इच्छा यस पृथ्वीमा पूरा हुन्छ

येशूले आफ्ना चेलाहरूलाई “तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌” भनेर प्रार्थना गर्न सिकाउनुहुँदा, उहाँले आफ्नो अनुभवको आधारमा त्यसो भनिरहनुभएको थियो किनभने उहाँ आफ्नो पितासित स्वर्गमा बसिसक्नुभएको थियो। (मत्ती ६:१०; यहून्‍ना १:१८; ३:१३; ८:४२) मानवपूर्व अस्तित्वमा छँदा, येशूले स्वर्ग अनि यस पृथ्वीमा भएका सम्पूर्ण कुराहरू परमेश्‍वरको इच्छा अनुरूप भएको देख्नुभएको थियो। त्यो सफलता र सन्तुष्टिको आनन्दमय क्षण थियो।—हितोपदेश ८:२७-३१.

परमेश्‍वरको प्रथम सृष्टि, आत्मिक प्राणीहरू अर्थात्‌ ‘स्वर्गदूतहरू, उहाँको वचन पालन गर्ने शक्‍तिशाली जन’ थिए। तिनीहरू “उहाँको इच्छाअनुसार काम गर्ने सेवक” थिए र अहिले पनि हुन्‌। (भजन १०३:२०, २१, नयाँ संशोधित संस्करण) के तिनीहरू प्रत्येकसित स्वतन्त्र इच्छा थियो? थियो र पृथ्वीको सृष्टि हुँदा यी “स्वर्गीय-जनहरू रमाहटले कराए[का]” थिए। (अय्यूब ३८:७) तिनीहरूको रमाहटले परमेश्‍वरले इच्छा गर्नुभएको कुरामा व्यक्‍तिगत आनन्द झल्कायो र तिनीहरूले परमेश्‍वरको उद्देश्‍य अनुरूप गरे।

पृथ्वी सृष्टि गरिसक्नुभएपछि परमेश्‍वरले यसलाई मानिसजाति बसोबास गर्न लायक बनाउनुभयो र अन्ततः प्रथम पुरुष अनि स्त्री सृष्टि गर्नुभयो। (उत्पत्ति, अध्याय १) के यो पनि रमाहट गर्न लायक थियो? प्रेरित विवरण यसो भन्छ: “औ आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।” हो, त्रुटिरहित, सिद्ध थियो।—उत्पत्ति १:३१.

हाम्रा प्रथम मातापिता तथा उनीहरूका सन्तानको लागि परमेश्‍वरको इच्छा के थियो? उत्पत्ति १:२८ अनुसार, यो पनि साह्रै राम्रो थियो: “औ परमेश्‍वरले तिनीहरूलाई आशिष दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, ‘फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पादै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।’ ” यो महान्‌ अभिभारा पूरा गर्न हाम्रो सुरुका मातापिता र उनीहरूका सन्तान सधैंभरि बाँचिरहनु आवश्‍यक थियो। कुनै पनि कुराले आपत्‌-विपत्‌, अन्याय, पीडा वा मृत्यु हुन्छ भनी सङ्‌केत गर्दैनथ्यो।

यो, स्वर्ग अनि पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा हुँदै गर्दातिरको कुरा हो। उहाँको इच्छाअनुसार चल्ने व्यक्‍तिहरूले यसो गर्दा ठूलो आनन्द प्राप्त गर्ने थिए। कुरा कहाँनेर बिग्रियो त?

परमेश्‍वरको इच्छा विरुद्ध एउटा अप्रत्याशित चुनौती खडा भयो। तर यो समाधानै गर्न नसकिने चुनौती भने थिएन। यद्यपि, यसले लामो समयसम्म पीडा तथा कष्ट ल्यायो, जसले मानिसजातिका लागि परमेश्‍वरको इच्छाबारे धेरै अन्योल खडा गर्ने थियो। हामी सबैजना यसको सिकार भएका छौं। त्यो चुनौती के थियो?

विद्रोहको समयमा परमेश्‍वरको इच्छा

‘परमेश्‍वरका आत्मिक पुत्रहरूमध्ये’ एउटाले मानिसको लागि परमेश्‍वरको इच्छामा हस्तक्षेप गर्न सकिने सम्भावना देख्यो र त्यसको उद्देश्‍य आफ्नो स्वार्थपूर्ति गर्नु थियो। त्यस आत्मिक प्राणीले यसबारे जत्ति विचार गऱ्‍यो, उत्ति नै यो सम्भव देखिनुका साथै अझ आकर्षक लाग्न थाल्यो। (याकूब १:१४, १५) त्यसले प्रथम मानव जोडीलाई परमेश्‍वरको नभई आफ्नो कुरा सुन्‍न लगाउन सकेको खण्डमा, परमेश्‍वर प्रतिद्वन्द्वीको सार्वभौमिकता स्वीकार्न विवश हुनुहुनेछ भन्ठानेको हुनुपर्छ। परमेश्‍वरले तिनीहरूको न्याय गर्नुहुनेछैन किनभने त्यसो गर्नु भनेको त परमेश्‍वरको उद्देश्‍य विफल हुनु हो भनेर त्यसले सोचेको हुनुपर्छ। बरु, यहोवा परमेश्‍वरले पो त्यस आत्मिक पुत्रको स्थानलाई स्वीकार्दै आफ्नो उद्देश्‍यमा छाँटकाँट गर्नुपर्ने थियो, जसको अबदेखि उहाँका मानव सृष्टिले आज्ञा पालन गर्ने थिए। त्यसैकारण, विद्रोहीलाई पछि शैतान अर्थात्‌ “विरोधी” भनियो।—अय्यूब १:६, NW पादटिप्पणी।

आफ्नो इच्छाअनुसार शैतानले स्त्रीसित कुरा गऱ्‍यो। त्यसले तिनलाई परमेश्‍वरको इच्छा बेवास्ता गर्न र नैतिक रूपमा स्वतन्त्र हुन आग्रह गर्दै यसो भन्यो: “तिमीहरू कदापि मर्दैनौ। . . . असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमश्‍वरजस्तै हुनेछौ।” (उत्पत्ति ३:१-५) स्त्रीलाई शैतानले भनेको कुराले आफूलाई स्वतन्त्र तुल्याउँछ जस्तो लाग्यो र त्यसको कुरा सुनेमा उत्तम जीवन पाउन सकिन्छ भनेर तिनले विश्‍वास गरिन्‌। आफ्नो साथ दिन पछि तिनले आफ्नो पतिलाई पनि मनाइन्‌।—उत्पत्ति ३:६.

आदम र हव्वाको लागि यो परमेश्‍वरको इच्छा थिएन। यो त तिनीहरूकै इच्छा थियो। अनि यसले विपत्तिजनक परिणाम ल्याउने थियो। यस्तो अनाज्ञाकारिताले तिनीहरूलाई मृत्युमा पुऱ्‍याउनेछ भनेर परमेश्‍वरले पहिल्यै बताउनुभएको थियो। (उत्पत्ति ३:३) परमेश्‍वरबाट स्वतन्त्र भएर सफल हुने किसिमले तिनीहरूलाई सृष्टि गरिएको थिएन। (यर्मिया १०:२३) यसबाहेक, तिनीहरू असिद्ध हुने थिए अनि असिद्धता र मृत्यु अब तिनीहरूको सन्तानमा व्याप्त हुने थियो। (रोमी ५:१२) शैतानले यी असरहरूलाई सुधारेर जस्ताको तस्तै पार्न सकेन।

के यी घटनाहरूले मानिसजाति र पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य वा इच्छालाई सदाको लागि परिवर्तन गऱ्‍यो? अहँ, गरेन। (यशैया ५५:९-११) तर तिनीहरूले गर्दा समाधान गर्न आवश्‍यक विवादहरू भने खडा भयो: के मानिसजाति शैतानले दाबी गरेझैं ‘असल र खराबको ज्ञान पाएर परमेश्‍वरजस्तै हुनेछन्‌?’ अर्को शब्दमा भन्‍ने हो भने, हामीलाई पर्याप्त मात्रामा समय दिइएको खण्डमा, के हामी जीवनको सबै क्षेत्रमा असल र खराब, लाभदायक र हानिकारक कुरा आफै निर्णय गर्न सक्छौं? परमेश्‍वरको शासनपद्धति उत्कृष्ट भएको कारण के परमेश्‍वर पूर्ण आज्ञाकारिताको हकदार हुनुहुन्छ? के उहाँको इच्छा पूर्णतया आज्ञापालन गर्न लायक छ? तपाईं यी प्रश्‍नहरूको कसरी जवाफ दिनुहुन्छ?

सम्पूर्ण बौद्धिक सृष्टिसामु यी विवादहरू सुल्झाउने एउटै मात्र तरिका थियो: परमेश्‍वरबाट स्वतन्त्र भई बाँच्न चाहने मानिसहरूलाई त्यसो गर्न मौका दिने। तिनीहरूलाई मृत्युदण्ड दिंदैमा उत्पन्‍न विवाद सुल्झिनेवाला थिएन। मानवजातिलाई स्वतन्त्र भएर बाँच्ने पर्याप्त समय दिइएको खण्डमा विवाद सुल्झिने थियो किनभने त्यसको नतिजा अन्ततः दूधको दूध पानीको पानी हुने थियो। तैंले बालक जन्माउनेछस्‌ भनेर परमेश्‍वरले स्त्रीलाई बताउनुहुँदा नै उहाँले विवादहरू यस किसिमले सुल्झाउने सङ्‌केत दिनुभयो। यस प्रकार मानव परिवारको सुरुवात हुने थियो। यसैको कारण आज हामी जीवित छौं!—उत्पत्ति ३:१६, २०.

तथापि, यसको मतलब परमेश्‍वरले मानिसजाति र विद्रोही आत्मिक पुत्रलाई तिनीहरूले चाहेजस्तै सम्पूर्ण कुरा गर्न दिनुहुने थिएन। परमेश्‍वरले न आफ्नो सार्वभौमिकता त्याग्नुभयो न त उहाँले आफ्नो उद्देश्‍यलाई नै बेवास्ता गर्नुभयो। (भजन ८३:१८) विद्रोह गर्न उक्साउने व्यक्‍तिलाई अन्ततः धूलोपीठो पार्ने अनि सम्पूर्ण नराम्रा असरहरूलाई मेटाउने विषयमा पहिल्यै बताउनुभएर उहाँले यो कुरा स्पष्ट पार्नुभयो। (उत्पत्ति ३:१५) त्यसैकारण, सुरुदेखि नै मानव परिवारलाई छुटकाराको प्रतिज्ञा गरिएको थियो।

त्यतिन्जेलसम्म, हाम्रा प्रथम मातापिताले आफू र आफ्ना भावी सन्तानलाई परमेश्‍वरको शासनबाट अलग गरिसकेका थिए। तिनीहरूको निर्णयका सम्पूर्ण दुःखद परिणामहरूलाई रोक्न परमेश्‍वरले तिनीहरूको जीवनको हरेक कदममा आफ्नो इच्छा लाद्‌नुपर्ने थियो। यसो गर्नु त फेरि तिनीहरूलाई परमेश्‍वरबाट स्वतन्त्र भएर बाँच्न नदिनु जत्तिकै हुने थियो।

निस्सन्देह, व्यक्‍तिविशेषले परमेश्‍वरको शासन रोज्न सक्थे। त्यस समयमा तिनीहरूले मानिसहरूको लागि परमेश्‍वरको इच्छा के हो, सो सिक्न र सकेसम्म यसै इच्छाअनुसार चल्न सक्थे। (भजन १४३:१०) तथापि, मानिसजातिको पूर्ण स्वतन्त्रताको विवाद नसुल्झिएसम्म तिनीहरू धेरै लामो समयसम्म समस्याहरूबाट मुक्‍त हुन सक्ने थिएनन्‌।

व्यक्‍तिगत छनौटका असरहरू मानव इतिहासको प्रारम्भतिरै छर्लङ्‌ग भयो। मानव परिवारको जेठो छोरा, कयिनले आफ्नो भाइ हाबिलको हत्या गऱ्‍यो किनभने “त्यसको काम खराब थियो, तर उसको भाइको कामचाहिं धार्मिक थियो।” (१ यहून्‍ना ३:१२) यो परमेश्‍वरको इच्छा थिएन किनकि परमेश्‍वरले कयिनलाई चेतावनी दिनुका साथै पछि त्यसलाई सजाय दिनुभएको थियो। (उत्पत्ति ४:३-१२) कयिनले शैतानद्वारा प्रस्तावित नैतिक स्वतन्त्रता रोजेको हुनाले ऊ “दुष्टबाटको थियो।” अरूले पनि त्यसै गरे।

मानव इतिहासको १,५०० वर्षपछि “परमेश्‍वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो।” (उत्पत्ति ६:११) पृथ्वीलाई भ्रष्ट हुनदेखि रोक्न निर्णायक कदम चाल्नु आवश्‍यक थियो। विश्‍वव्यापी जलप्रलय ल्याउनुका साथै एउटा धार्मिक परिवार—नूह, तिनकी पत्नी, तिनका छोराहरू र तिनीहरूका पत्नीहरूलाई जीवितै राख्नुभएर परमेश्‍वरले कदम चाल्नुभयो। (उत्पत्ति ७:१) हामी सबै जना तिनीहरूकै शाखा-सन्तान हौं।

नूहको समयदेखि यताको मानव इतिहासभरि परमेश्‍वरको इच्छा चोखो मनले बुझ्न चाहने व्यक्‍तिहरूलाई उहाँले डोऱ्‍याइ प्रदान गर्नुभएको छ। डोऱ्‍याइको निम्ति उहाँको बाटो हेर्ने जोसुकैका लागि आफ्ना कुराकानीहरू लिपिबद्ध गर्न उहाँले वफादार मानिसहरूलाई चलाउनुभयो। यी कुराकानीहरू बाइबलमा लिपिबद्ध गरिएको छ। (२ तिमोथी ३:१६) उहाँले मायालुपूर्वक विश्‍वासी मानिसहरूलाई उहाँसित सम्बन्ध गाँस्न मात्र होइन उहाँको मित्र हुनेसमेत मौका दिनुभयो। (यशैया ४१:८) अनि स्वतन्त्र भएको हजारौं वर्षको दौडान मानिसजातिले अनुभव गर्दै आएका कठिन परीक्षाहरू सहन उहाँले तिनीहरूलाई आवश्‍यक बल प्रदान गर्नुभयो। (भजन ४६:१; फिलिप्पी ४:१३) यी सबै कुराको लागि हामी औधी कृतज्ञ हुन सक्छौं!

‘तपाईंको इच्छा पूरा होस्‌’—पूर्ण रूपमा

आजसम्म परमेश्‍वरले जे-जति गर्नुभएको छ, त्यो मानिसजातिका लागि उहाँको इच्छाको पूर्णता होइन। मसीही प्रेरित पावलले यस्तो लेखे: “उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१३) यस प्रतीकात्मक भाषाले मानिसजातिमाथि शासन गर्ने नयाँ सरकार र त्यस सरकारअन्तर्गत नयाँ मानव समाजलाई सङ्‌केत गर्छ।

स्पष्ट शब्दमा अगमवक्‍ता दानियलले यस्तो लेखे: “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, . . . त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” (दानियल २:४४) यस भविष्यवाणीले आजको थोत्रो रीतिरिवाजको अन्त र यसको ठाउँमा परमेश्‍वरको राज्य अर्थात्‌ सरकार आउने कुराको भविष्यवाणी गर्छ। यो साँच्चै सुसमाचार हो! आजको संसारलाई हिंसाले भर्ने झैझगडा र स्वार्थ अनि पृथ्वीलाई फेरि नाश पार्ने डर एक दिन विगतको कुरा हुनेछ।

यी कुराहरू कहिले हुनेछन्‌? येशूका चेलाहरूले यस प्रकार सोधेका थिए: “यो कुरा कहिले हुनेछन्‌, र तपाईंको आगमन र जगत्‌को अन्तको चिह्न के हुन्छ?” आफ्नो जवाफको एउटा भागको रूपमा येशूले यसो भन्‍नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:३, १४.

हाल यो प्रचारकार्य विश्‍वव्यापी रूपमा गरिंदैछ भन्‍ने कुरा मानिसहरूलाई राम्रोसँग थाह छ। सायद तपाईंले आफ्नो टोल-छिमेकमै पनि प्रचार गर्दै गरेको देख्नुभएको होला। दीज अल्सो बिलिभ [ अंग्रेजी] नामक आफ्नो पुस्तकमा चार्लस्‌ एस. ब्राडेन यस्तो लेख्छन्‌: “यहोवाका साक्षीहरूले आफ्नो प्रचारकार्यद्वारा साँच्चै पृथ्वी ढाकिसकेका छन्‌। . . . राज्यको सुसमाचार सुनाउन यहोवाका साक्षीहरूले जस्तो जोस र लगनशीलता संसारमा अरू कुनै पनि धार्मिक समूहले देखाएको छैन।” साक्षीहरूले २३० भन्दा बढी मुलुक र लगभग ४०० भाषाहरूमा यो सुसमाचार सक्रियतासाथ घोषणा गरिरहेका छन्‌। पूर्वघोषित यो कार्य पहिला कहिल्यै पनि यत्ति व्यापक रूपमा गरिएको थिएन। मानव सरकारहरूको ठाउँमा यस राज्यले शासन गर्ने समय अब धेरै छैन भन्‍ने कुराका थुप्रै प्रमाणहरूमध्ये यो एउटा प्रमाण हो।

येशूले बताउनुभएको प्रचार गरिने राज्य उहाँले हामीलाई आफ्नो नमुना प्रार्थनामा प्रार्थना गर्न सिकाउनुभएको राज्य नै हो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:१०) हो, मानिसजाति अनि पृथ्वीको लागि आफ्नो उद्देश्‍य तथा इच्छा पूरा गर्न परमेश्‍वरले यही राज्य प्रयोग गर्नुहुनेछ।

त्यसको अर्थ के हो? प्रकाश २१:३, ४ यस्तो जवाफ दिन्छ: “सिंहासनबाट यसो भन्‍ने एउटा ठूलो आवाज मैले सुनें, ‘हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।’ ” त्यसपछि भने परमेश्‍वरको इच्छा यस पृथ्वी र स्वर्गमा साँच्चै पूरा हुनेछ—पूर्ण रूपमा। a के तपाईंलाई यसको एउटा भाग हुन मनपर्दैन र?

[फुटनोट]

a परमेश्‍वरको राज्यबारे तपाईं अझ बढी सिक्न चाहनुहुन्छ भने, आफ्नो इलाकामा भएका यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌ वा यसै पत्रिकाको पृष्ठ २ मा दिइएको कुनै पनि ठेगानामा पत्राचार गर्नुहोस्‌।

[पृष्ठ ५-मा भएको चित्र]

परमेश्‍वरको इच्छाबाट स्वतन्त्र हुन खोज्दा दुःखकष्ट आइपऱ्‍यो