सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं “यहोवा कहाँ हुनुहुन्छ” भनेर सोध्नुहुन्छ?

के तपाईं “यहोवा कहाँ हुनुहुन्छ” भनेर सोध्नुहुन्छ?

के तपाईं “यहोवा कहाँ हुनुहुन्छ” भनेर सोध्नुहुन्छ?

“तिनीहरू मबाट टाढ़ा भए . . . तिनीहरूले यो सोधेनन्‌, ‘परमप्रभु [ “यहोवा,” NW] कहाँ हुनुहुन्छ?’ ”—यर्मिया २:५, ६, नयाँ संसोधित संस्करण।

१. मानिसहरूले “ईश्‍वर कहाँ छ?” भन्‍ने प्रश्‍न गर्दा, तिनीहरूको मनमा कुन कुरा हुन सक्छ?

 “ईश्‍वर कहाँ छ?” थुप्रै मानिसले यो प्रश्‍न सोधेका छन्‌। कसै-कसैले सृष्टिकर्ताबारे आधारभूत तथ्य, मुख्यतः उहाँ कहाँ बस्नुहुन्छ भन्‍ने कुरा मात्र जान्‍न खोजिरहेका हुन्छन्‌। अरूले भने सर्वव्याप्त विपत्ति आइपर्दा वा आफू कुनै अप्ठ्यारो परिस्थितिमा परेको बेला परमेश्‍वरले किन हस्तक्षेप नगर्नुभएको होला भनेर बुझ्न नसक्दा यस्तो प्रश्‍न गर्छन्‌। अनि कतिपयले भने यस्तो प्रश्‍न सोध्दै सोध्दैनन्‌ किनभने तिनीहरू परमेश्‍वरको अस्तित्व छ भन्‍ने कुरा नै स्वीकार्दैनन्‌।—भजन १०:४.

२. परमेश्‍वरको खोजी गर्ने काममा कस्ता व्यक्‍तिहरू सफल हुन्छन्‌?

निस्सन्देह, एक जना परमेश्‍वर हुनुहुन्छ भन्‍ने असंख्य प्रमाणहरूलाई स्वीकार्ने मानिसहरू पनि थुप्रै छन्‌। (भजन १९:१; १०४:२४) यिनीहरूमध्ये कोही-कोही भने कुनै न कुनै प्रकारको धर्ममै चित्त बुझाएर बसेका छन्‌। तर सच्चाइप्रतिको गहिरो प्रेमले सारा संसारका लाखौं व्यक्‍तिहरूलाई साँचो परमेश्‍वरको खोजी गर्न उत्प्रेरित गरेको छ। तिनीहरूको प्रयास बेकार गएको छैन किनभने उहाँ “हामी हरेकबाट टाढा हुनुहुन्‍न।”—प्रेरित १७:२६-२८.

३. (क) परमेश्‍वर कहाँ बस्नुहुन्छ? (ख) “परमप्रभु कहाँ हुनुहुन्छ?” भन्‍ने धर्मशास्त्रीय प्रश्‍नले कुन कुरालाई संकेत गर्छ?

कुनै व्यक्‍तिले साँच्चै यहोवालाई भेट्टाएपछि “परमेश्‍वर आत्मा हुनुहुन्छ,” उहाँलाई मानव आँखाले देख्न सकिंदैन भन्‍ने कुरा तिनले बुझ्छन्‌। (यूहन्‍ना ४:२४) येशूले साँचो परमेश्‍वरलाई “स्वर्गमा हुनुहुने मेरा पिता” भन्‍नुभयो। यसको अर्थ के हो? आकाश पृथ्वीभन्दा उच्चमा भएझैं आध्यात्मिक अर्थमा हाम्रा पिता बस्नुहुने ठाउँ पनि उच्च छ। (मत्ती १२:५०; यशैया ६३:१५) हामीले आफ्नो भौतिक आँखाद्वारा परमेश्‍वरलाई देख्न नसके तापनि उहाँले हामीलाई उहाँ तथा उहाँको उद्देश्‍यबारे थुप्रै कुराहरू सिक्न सम्भव तुल्याउनुहुन्छ। (प्रस्थान ३३:२०; ३४:६, ७) उहाँले जीवनको अर्थ थाह पाउन चाहने निष्कपट व्यक्‍तिहरूले सोधेका प्रश्‍नहरूको जवाफ दिनुहुन्छ। हाम्रो जीवनलाई असर गर्ने कुनै खास मामिलालाई उहाँले कसरी हेर्नुहुन्छ र हाम्रा इच्छाहरू उहाँका उद्देश्‍यहरूअनुरूप छन्‌ कि छैनन्‌ भनेर ठम्याउन उहाँले हामीलाई ठोस आधार दिनुहुन्छ। हामीले यस्ता कुराहरूबारे सोधखोज गरेको र जवाफ भेट्टाउन निष्कपट प्रयत्न गरेको उहाँ चाहनुहुन्छ। पुरातन इस्राएलका मानिसहरूले त्यसो नगरेको कारण यहोवाले यर्मिया अगमवक्‍ताद्वारा तिनीहरूलाई ताडना दिनुभयो। तिनीहरूलाई परमेश्‍वरको नाउँ थाह थियो तर तिनीहरूले यो सोधेनन्‌, “परमप्रभु कहाँ हुनुहुन्छ?” (यर्मिया २:६) तिनीहरूको मुख्य चासोको विषय यहोवाको उद्देश्‍य थिएन। तिनीहरू उहाँको मार्ग-निर्देशनमा भर परिरहेका थिएनन्‌। ठूला तथा साना निर्णयहरू गर्नुपर्दा समेत के तपाईं “यहोवा कहाँ हुनुहुन्छ” भनेर सोध्नुहुन्छ?

परमेश्‍वरको डोऱ्‍याइ माग्नेहरू

४. यहोवाको डोऱ्‍याइ माग्ने सन्दर्भमा दाऊदको उदाहरणबाट हामी कसरी लाभ उठाउन सक्छौं?

जवान छँदै यिशैका छोरा दाऊदले यहोवामाथि बलियो विश्‍वास विकास गरे। तिनले यहोवालाई “जीवित परमेश्‍वरको” रूपमा चिनेका थिए। दाऊदले व्यक्‍तिगत तवरमा यहोवाको सुरक्षा अनुभव गरेका थिए। विश्‍वास र यहोवाको “नाउँ[प्रतिको]” प्रेमद्वारा उत्प्रेरित भएर दाऊदले हातहतियारद्वारा सुसज्जित बडेमानको पलिश्‍ती गोल्यतलाई मारे। (१ शमूएल १७:२६, ३४-५१) यद्यपि, आफ्नो सफलताको कारण दाऊद आत्मविश्‍वासी भएनन्‌। अब आफूले जेसुकै गरे तापनि त्यसमा यहोवाले आशिष्‌ दिनुहुनेछ भन्‍ने तर्क तिनले गरेनन्‌। त्यसपछिका वर्षहरूमा निर्णय गर्नुपर्दा दाऊदले बारम्बार यहोवाको डोऱ्‍याइ मागे। (१ शमूएल २३:२; ३०:८; २ शमूएल २:१; ५:१९) तिनले यसरी प्रार्थना गरिरहे: “तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, हे परमप्रभु। तपाईंको बाटो मलाई दिनुहोस्‌। तपाईंको सत्यतामा मेरो अगुवा हुनुहोस्‌, र मलाई सिकाउनुहोस्‌। किनकि तपाईंनै मलाई उद्धार गर्ने परमेश्‍वर हुनुहुन्छ, दिनभरि म तपाईंकै बाटो हेर्दैरहन्छु।” (भजन २५:४, ५) हामीले अनुकरण गर्नुपर्ने कस्तो राम्रो उदाहरण!

५, ६. आफ्नो जीवनको विभिन्‍न समयमा यहोशापातले कसरी यहोवाको अगुवाइ खोजे?

दाऊदको शाही वंशका पाँचौं राजा यहोशापातको समयमा, तीनवटा राष्ट्रको संयुक्‍त सेना यहूदाको विरुद्धमा युद्ध गर्न आयो। यस राष्ट्रिय संकटको समयमा यहोशापातले “परमप्रभुको अगुवाइ खोज्न अठोट गरे।” (२ इतिहास २०:१-३) यहोशापातले यहोवाको अगुवाइ खोजेको यो पहिलो पटक थिएन। यी राजाले धर्मत्यागी इस्राएलको उत्तरी राज्यमा व्याप्त बाल उपासनालाई त्यागेर यहोवाको मार्गमा हिंड्‌ने छनौट गरेका थिए। (२ इतिहास १७:३, ४) तर अहिले संकटको समयमा यहोशापातले कसरी ‘परमप्रभुको अगुवाइ खोजे?’

यहोशापातले यहोवाको सर्वोच्च शक्‍तिलाई मनमा राखेका छन्‌ भन्‍ने कुरा तिनले यस खतरनाक समयमा यरूशलेममा चढाएको सार्वजनिक प्रार्थनाद्वारा प्रकट भयो। यहोवाले अरू राष्ट्रहरूलाई धपाएर इस्राएललाई त्यो देश अधिकार गर्न दिनुको उद्देश्‍यबारे तिनले गहिरिएर मनन गरेका थिए। यी राजाले आफूलाई यहोवाको मदत चाहिन्छ भन्‍ने कुरा स्वीकारे। (२ इतिहास २०:६-१२) यतिबेला के तिनले यहोवालाई भेट्टाए त? पक्कै भेट्टाए। एक जना लेवी यहजीएलमार्फत यहोवाले खास निर्देशन दिनुभयो र भोलिपल्ट उहाँले आफ्ना जनहरूलाई विजयी तुल्याउनुभयो। (२ इतिहास २०:१४-२८) डोऱ्‍याइको लागि यहोवामा भर पर्नुहुँदा तपाईंले पनि उहाँलाई भेट्टाउनुहुनेछ भन्‍ने कुरामा तपाईं कसरी पक्का हुन सक्नुहुन्छ?

७. परमेश्‍वरले कसका प्रार्थनाहरू सुन्‍नुहुन्छ?

यहोवा पक्षपाती हुनुहुन्‍न। उहाँ सबै राष्ट्रका मानिसहरूलाई प्रार्थनाद्वारा आफूलाई खोज्ने निमन्त्रणा दिनुहुन्छ। (भजन ६५:२; प्रेरित १०:३४, ३५) उहाँ आफूलाई बिन्ती गर्नेहरूको हृदय हेर्नुहुन्छ। उहाँले धर्मीहरूको प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने आश्‍वासन उहाँ हामीलाई दिनुहुन्छ। (हितोपदेश १५:२९) पहिले उहाँप्रति कुनै चासो नदेखाएका तर अहिले भने नम्रतासाथ उहाँको डोऱ्‍याइ खोज्ने व्यक्‍तिहरूले उहाँलाई भेट्टाउन सक्छन्‌। (यशैया ६५:१) उहाँको व्यवस्था पालन गर्न चुकेका तर अहिले नम्रतासाथ पश्‍चात्ताप गर्ने व्यक्‍तिहरूको प्रार्थनासमेत उहाँ सुन्‍नुहुन्छ। (भजन ३२:५, ६; प्रेरित ३:१९) यद्यपि, कुनै व्यक्‍तिको हृदय परमेश्‍वरप्रति आज्ञाकारी छैन भने उसका प्रार्थनाहरू बेकार हुन्छन्‌। (मर्कूस ७:६, ७) यस सन्दर्भमा केही उदाहरणहरू विचार गर्नुहोस्‌।

तिनीहरूले सोधे तर जवाफ पाएनन्‌

८. कुन कारणले गर्दा राजा शावलका प्रार्थनाहरू यहोवासामु अस्वीकार्य भयो?

अगमवक्‍ता शमूएलले राजा शावललाई, तिनले परमेश्‍वरको आज्ञा पालन नगरेको कारण परमेश्‍वरले तिनलाई त्यागिसक्नुभएको कुरा बताएपछि शावलले आफूलाई यहोवासामु नम्र तुल्याए। (१ शमूएल १५:३०, ३१) तर तिनले स्वाङ मात्र पारिरहेका थिए। शावलको इच्छा परमेश्‍वरप्रति आज्ञाकारी हुने होइन तर मानिसहरूसामु आफ्नो इज्जत होस्‌ भन्‍ने थियो। पछि, पलिश्‍तीहरू इस्राएलको विरुद्धमा युद्ध गर्न आउँदा शावलले औपचारिकता पूरा गर्न मात्र यहोवाको डोऱ्‍याइ मागे। तथापि, कुनै जवाफ नपाएपछि, यहोवाले दुष्टात्मासँग सल्लाह लिन निषेध गर्नुभएको थाह हुँदाहुँदै पनि तिनले त्यसैसित सल्लाह लिए। (व्यवस्था १८:१०-१२; १ शमूएल २८:६, ७) सारांशमा १ इतिहास १०:१४ ले शावलबारे यसो भन्छ: “तिनले परमप्रभुको सल्लाह लिएनन्‌।” किन? किनभने शावलको प्रार्थना विश्‍वासमा आधारित थिएन। त्यसकारण तिनले प्रार्थना गरे तापनि नगरे सरह थियो।

९. यहोवाको डोऱ्‍याइको लागि सिदकियाहले गरेको बिन्तीमा के खराबी थियो?

त्यसै गरी, यहूदा राज्यको अन्त नजिकिंदै जाँदा थुप्रै प्रार्थनाहरू चढाइनुका साथै यहोवाका अगमवक्‍ताहरूसित सल्लाह लिइयो। तथापि, मानिसहरूले मूर्तिपूजा तथा यहोवाप्रतिको तथाकथित श्रद्धालाई छ्यासमिस गरिरहेका थिए। (सपन्याह १:४-६) तिनीहरूले परमेश्‍वरको डोऱ्‍याइ खोज्ने औपचारिकता पूरा गरे तापनि उहाँको इच्छाअनुसार गर्न आफ्नो हृदयलाई भने तयार पारेनन्‌। राजा सिदकियाहले यर्मियालाई यहोवाको निर्देशन मागिदिन आग्रह गरे। तिनले के गर्नुपर्छ भनी यहोवाले ती राजालाई पहिल्यै बताइसक्नुभएको थियो। तर विश्‍वासको कमी र मानिसहरूको डरको कारण ती राजाले यहोवाको आज्ञा पालन गरेनन्‌ र यहोवाले तिनले चाहेको जस्तो जवाफ दिनुभएन।—यर्मिया २१:१-१२; ३८:१४-१९.

१०. योहानानले यहोवाको डोऱ्‍याइ मागेको तरिकामा के खराबी थियो र तिनको भूलबाट हामी के सिक्छौं?

१० बेबिलोनी सेनाले यरूशलेमको विनाश गरेर यहूदीहरूलाई निर्वासनमा लगेपछि, योहानानले यहूदामा बाँकी रहेका यहूदीहरूको सानो समूहलाई मिश्रमा लैजाने तयारी गरे। सबै योजना तय भयो तर देश छोड्‌नुभन्दा अघि तिनीहरूले आफ्नोतर्फबाट यहोवालाई प्रार्थना गरिदिन र उहाँको डोऱ्‍याइ मागिदिन यर्मियालाई आग्रह गरे। तथापि, आफूले चाहेजस्तो जवाफ नपाउँदा पनि तिनीहरूले आफ्नो मनस्थिति परिवर्तन गरेनन्‌ र योजनाअनुसारै काम गरे। (यर्मिया ४१:१६–४३:७) के तपाईंले यी घटनाहरूबाट यहोवाको खोजी गर्नुभयो भने तपाईंले उहाँलाई भेट्टाउन सक्नुहुनेछ भन्‍ने लाभकारी पाठ सिक्नुभयो?

‘सिक्ने कोसिस गरिरहनुहोस्‌’

११. हामीले किन एफिसी ५:१० लाई व्यवहारमा उतार्नुपर्छ?

११ साँचो उपासनामा पानीको निमज्जनद्वारा हाम्रो समर्पणलाई प्रतीकात्मक रूप दिनु, मण्डलीका सभाहरूमा उपस्थित हुनु तथा जन सेवकाईमा भाग लिनु मात्र समावेश छैन। यसमा हाम्रो सम्पूर्ण जीवन पद्धति बिथोलित छ। हामीलाई ईश्‍वरीय भक्‍तिअनुसारको मार्गबाट तर्काउन सक्ने प्रत्यक्ष तथा अप्रत्यक्ष दबाबहरूको हामीले दिनहुँ सामना गर्नुपर्ने हुन्छ। हामी यस्ता दबाबहरूप्रति कस्तो प्रतिक्रिया देखाउनेछौं? एफिससका विश्‍वासी मसीहीहरूलाई लेख्दा, प्रेरित पावलले तिनीहरूलाई यस्तो आग्रह गरे: “प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोशिश गर।” (एफिसी ५:१०, नयाँ संशोधित संस्करण) यसो गर्नुका लाभहरू धर्मशास्त्रमा लिपिबद्ध थुप्रै घटनाहरूबाट स्पष्ट हुन्छ।

१२. दाऊदले करारको सन्दुक यरूशलेम ल्याउँदा यहोवा किन रिसाउनुभयो?

१२ करारको सन्दुक इस्राएललाई फर्काएको निकै वर्षसम्म यो किर्यात्‌-यारीममा रहेपछि राजा दाऊदले यसलाई यरूशलेममा ल्याउने इच्छा गरे। तिनले मानिसहरूका मुखियाहरूसित छलफल गरे र ‘यहोवाले बाटो खोलिदिनुभयो भने’ त्यहाँबाट सन्दुक ल्याउने कुरा बताए। तर तिनले यसबारे यहोवाको इच्छा के छ भनेर पक्का गर्न त्यति वास्ता गरेनन्‌। यदि तिनले त्यसो गरेको भए, सन्दुकलाई रथमा राखिने नै थिएन। परमेश्‍वरले स्पष्ट निर्देशन दिनुभएजस्तै, यसलाई कहाती लेवीहरूले काँधमा बोकेर ल्याउने थिए। दाऊदले बारम्बार यहोवाको अगुवाइ खोज्ने गरे तापनि यस अवसरमा भने तिनले ठीक तरिकामा खोजेनन्‌। यसको नतिजा विनाशकारी भयो। पछि दाऊदले यसरी स्वीकारे: “परमप्रभु हाम्रा परमेश्‍वर हामीमाथि क्रोधित हुनुभयो। किनकि हामीले गर्नुपरेअनुसार उहाँको अगुवाइ हामीले खोजेनौ।”—१ इतिहास १३:१-३; १५:११-१३; गन्ती ४:४-६, १५; ७:१-९.

१३. सफलतासाथ सन्दुक ल्याउँदा गाइएको भजनमा कस्तो सम्झौटो समावेश थियो?

१३ पछि लेवीहरूले नै बोकेर सन्दुक ओबेद-एदोमको घरबाट यरूशलेम ल्याउँदा दाऊदले लेखेका एउटा भजन गाइएको थियो। यसमा यस्तो हृदयस्पर्शी सम्झौटो समावेश थियो: “परमप्रभु र उहाँको शक्‍तिलाई खोज, सधैंभरि उहाँको उपस्थितिको खोजी गर। उहाँले गर्नुभएका अचम्मका कामहरू र उहाँले दिनुभएका आश्‍चर्यका कामहरूको सम्झना गर।”—१ इतिहास १६:११, १२.

१४. सुलेमानको असल उदाहरण तथा बुढेसकालमा तिनले गरेका भूलहरूबाट हामी कसरी लाभ उठाउन सक्छौं?

१४ दाऊदले आफ्नो मृत्युअघि छोरा सुलेमानलाई यस्तो सल्लाह दिए: “यदि [यहोवालाई] खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ।” (१ इतिहास २८:९) राज्यारोहण गरेपछि, सुलेमान भेट हुने पाल भएको ठाउँ, गिबोन गएर यहोवालाई बलिदान चढाए। त्यहाँ यहोवाले सुलेमानलाई यसो भन्‍नुभयो: “म तँलाई के दिऊँ? मलाई भन्‌।” सुलेमानको बिन्तीको प्रत्युत्तरमा यहोवाले तिनलाई इस्राएलमाथि न्याय गर्न प्रशस्त बुद्धि र ज्ञान दिनुका साथै धन-सम्पत्ति र मान पनि दिनुभयो। (२ इतिहास १:३-१२) यहोवाले दाऊदलाई दिनुभएको नाप-नक्साअनुसार सुलेमानले भव्य मन्दिर निर्माण गरे। तर आफ्नो वैवाहिक सम्बन्धको सन्दर्भमा भने सुलेमानले यहोवाको अगुवाइ खोजेनन्‌। सुलेमानले यहोवाको उपासना नगर्ने स्त्रीहरूसित वैवाहिक सम्बन्ध गाँसे। तिनको बुढेसकालमा ती स्त्रीहरूले तिनको मन यहोवाबाट अर्कैतिर बहकाइदिए। (१ राजा ११:१-१०) हामी जतिसुकै प्रतिष्ठित वा जान्‍नेबुझ्ने जस्तो देखिए तापनि “प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोशिश” गरिरहनु महत्त्वपूर्ण छ!

१५. कूशी जेरा यहूदाको विरुद्धमा आउँदा, यहोवाले यहूदालाई बचाउनुहुनेछ भनी आसाले किन निर्धक्क भएर प्रार्थना गर्न सके?

१५ यसो गर्नुको महत्त्व सुलेमानका पनाति आसाको शासनकालको विवरणबाट अझ प्रस्ट हुन्छ। आसा राजा भएको ११ वर्षपछि, कूशी जेरा यहूदाको विरुद्धमा दस लाख मानिसहरूको सैन्य दल लिएर आए। के यहोवाले यहूदालाई बचाउनुहुने थियो? यहोवाको वचन सुनेको तथा उहाँको आज्ञा पालन गरेको खण्डमा उहाँका जनहरूले उहाँबाट के आशा गर्न सक्थे र त्यसो नगरेको खण्डमा के आशा गर्न सक्थे भनी यहोवाले ५०० वर्षभन्दा अघि नै स्पष्टसित बताइसक्नुभएको थियो। (व्यवस्था २८:१, ७, १५, २५) आसाले तिनको शासनको सुरुमा आफ्नो भू-भागबाट झूटो उपासनामा प्रयोग गरिने वेदी तथा खामाहरू हटाएका थिए। तिनले मानिसहरूलाई “परमेश्‍वरको अगुवाइ खोज्न” हुकुम गरेका थिए। आसाले कुनै विपत्ति आइपर्ला र यहोवाको अगुवाइ खोजौंला भनेर सोचेनन्‌। त्यसकारण आसाले यहोवामाथिको विश्‍वाससहित उहाँलाई आफ्नो पक्षमा काम गरिदिन प्रार्थना गर्न सके। यसको नतिजा कस्तो भयो? यहूदाले शानदार विजय प्राप्त गऱ्‍यो।—२ इतिहास १४:२-१२.

१६, १७. (क) आसा विजयी भए तापनि यहोवाले तिनलाई कस्तो सम्झौटो दिनुभयो? (ख) आसाले मूर्ख काम गर्दा तिनलाई कस्तो मदत दिइयो तर तिनले कस्तो प्रतिक्रिया देखाए? (ग) आसाको क्रियाकलापलाई विचार गरेर हामी कसरी लाभ उठाउन सक्छौं?

१६ तथापि, आसा विजयी भएर फर्केपछि, यहोवाले राजालाई भेटेर यसो भन्‍न अजर्याहलाई पठाउनुभयो: “हे आसा, सबै यहूदा र बिन्यामीन, मेरो कुरा सुन। जब तिमीहरू परमप्रभुसँग हुन्छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ। तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।” (२ इतिहास १५:२) नयाँ जोसका साथ आसाले साँचो उपासनालाई बढवा दिए। तर २४ वर्षपछि फेरि युद्धको सामना गर्नुपर्दा आसाले यहोवाको अगुवाइ खोजेनन्‌। तिनले परमेश्‍वरको वचनमा ध्यान दिएनन्‌ र कूशी सेनाले यहूदामा आक्रमण गर्दा यहोवाले के गर्नुभएको थियो भन्‍ने कुरा बिर्से। तिनले मूर्ख हुँदै अरामसित साँठगाँठ गरे।—२ इतिहास १६:१-६.

१७ यसकारण यहोवाले दर्शी हनानीमार्फत आसालाई ताडना दिनुभयो। यस सन्दर्भमा यहोवाको दृष्टिकोणबारे अवगत गराएपछि पनि आसाले लाभ उठाउन सक्थे। तर उल्टो तिनी रिसाए र हनानीलाई थुनामा राखे। (२ इतिहास १६:७-१०) कस्तो दुःखलाग्दो कुरा! हामी नि? के हामी परमेश्‍वरको अगुवाइचाहिं खोज्छौं तर सल्लाह स्वीकार्न भने इन्कार गर्छौं? हामी सांसारिक कामकुराहरूमा अलमलिन थालेको कारण हाम्रो चासो राख्ने तथा हेरविचार गर्ने प्राचीनहरूले “प्रभुलाई मन पर्ने के हो” भन्‍नेबारे बाइबल चलाएर मायालु सल्लाह दिंदा के हामी मूल्यांकन देखाउँछौं?

सोध्न नबिर्सनुहोस्‌

१८. एलिहूले अय्यूबलाई भनेका शब्दहरूबाट हामी कसरी लाभ उठाउन सक्छौं?

१८ यहोवाको सेवामा राम्रो रेकर्ड बसालेको व्यक्‍तिसमेत तनावको सामना गर्नुपर्दा चुक्न सक्छ। अय्यूब एकदमै घीनलाग्दो रोगले ग्रस्त हुँदा, छोराछोरी तथा भौतिक धनसम्पत्ति गुमाउनुपर्दा र साथीहरूले झूटो आरोप लगाउँदा तिनमा आत्म-केन्द्रित झुकाव आयो। एलिहूले तिनलाई यसरी सम्झाए: “कसैले पनि यसो भनेर सोध्दैनन्‌, ‘. . . मेरा सृष्टिकर्त्ता कहाँ हुनुहुन्छ?’ ” (अय्यूब ३५:१०) अय्यूबले यहोवातिर आफ्नो ध्यान केन्द्रित गर्नुका साथै उहाँले परिस्थितिलाई कसरी हेरिरहनुभएको थियो भनी विचार गर्नुपरेको थियो। अय्यूबले नम्रतासाथ उक्‍त सम्झौटो स्वीकारे र तिनको उदाहरणले हामीलाई पनि त्यसै गर्ने मदत दिन सक्छ।

१९. इस्राएलका मानिसहरूले अक्सर कुन कुरा गरेनन्‌?

१९ इस्राएलका मानिसहरूलाई परमेश्‍वरले विगतमा आफ्नो राष्ट्रिसत गर्नुभएको व्यवहारबारे थाह थियो। तैपनि आफ्नो जीवनमा खास परिस्थितिहरूको सामना गर्नुपर्दा तिनीहरूले प्रायजसो यो कुरा सम्झेनन्‌। (यर्मिया २:५, ६, ८) जीवनमा निर्णयहरू गर्नुपर्दा, “यहोवा कहाँ हुनुहुन्छ?” भनेर सोध्नुको सट्टा तिनीहरू सुखविलासको पछि लागे।—यशैया ५:११, १२.

“यहोवा कहाँ हुनुहुन्छ?” भनेर सोधिरहनुहोस्‌

२०, २१. (क) यहोवाको डोऱ्‍याइ खोज्ने सन्दर्भमा आज कसले एलिशाको मनोभाव देखाएका छन्‌? (ख) हामी कसरी तिनीहरूको विश्‍वासको उदाहरण अनुकरण गर्न र त्यसबाट लाभ उठाउन सक्छौं?

२० एलियाको जन सेवकाई सिद्धिएपछि, तिनको चाकर एलिशा तिनले खसालेका खास्टो लिएर यर्दन नदीमा गए अनि त्यहाँको पानीलाई हिर्काएर यसरी सोधे: “परमप्रभु, एलियाका परमेश्‍वर कहाँ हुनुहुन्छ?” (२ राजा २:१४) अब उहाँको आत्मा एलीशासित छ भन्‍ने कुरा देखाएर यहोवाले यस प्रश्‍नको जवाफ दिनुभयो। यसबाट हामी के सिक्न सक्छौं?

२१ आधुनिक समयमा पनि यस्तै कुरा भयो। प्रचार कार्यमा नेतृत्व लिइरहेका अभिषिक्‍त मसीहीको पार्थिव जीवन पूरा भयो। तिनीहरूको सट्टामा रेखदेख गर्ने जिम्मेवारी सुम्पिएकाहरूले धर्मशास्त्र जाँचे र डोऱ्‍याइको लागि यहोवालाई प्रार्थना गरे। तिनीहरू “यहोवा कहाँ हुनुहुन्छ?” भनेर सोध्न कहिल्यै चुकेनन्‌। फलस्वरूप, यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याइरहनुभएको छ र तिनीहरूको क्रियाकलापमा आशिष्‌ दिइरहनुभएको छ। के हामी तिनीहरूको विश्‍वासको अनुकरण गर्छौं? (हिब्रू १३:७) त्यसो हो भने, हामी यहोवाको संगठनको नजिक रहनेछौं, यसको डोऱ्‍याइअनुसार चल्नेछौं र येशू ख्रीष्टको नेतृत्वअन्तर्गत भइरहेको काममा पूर्णतया भाग लिनेछौं।—जकरिया ८:२३.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• हामीले कुन मनसायले “यहोवा कहाँ हुनुहुन्छ?” भनेर सोध्नुपर्छ?

• “यहोवा कहाँ हुनुहुन्छ?” भन्‍ने प्रश्‍नको जवाफ आज हामी कसरी पाउन सक्छौं?

• ईश्‍वरीय डोऱ्‍याइको लागि गरिएका कुनै-कुनै प्रार्थनाको जवाफ किन पाइँदैन?

• कस्ता बाइबल उदाहरणहरूले “प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोशिश” गरिरहनुको महत्त्व स्पष्ट पार्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

राजा यहोशापातले कसरी यहोवाको अगुवाइ खोजे?

[पृष्ठ १०-मा भएको चित्र]

शावलले किन दुष्टात्मासँग परामर्श लिए?

[पृष्ठ १२-मा भएका चित्रहरू]

“यहोवा कहाँ हुनुहुन्छ” भनी ठम्याउन प्रार्थना, अध्ययन तथा मनन गर्नुहोस्‌