सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कसै-कसैले कसरी जवाफ पाए

कसै-कसैले कसरी जवाफ पाए

कसै-कसैले कसरी जवाफ पाए

लाखौं मानिसहरूले प्रार्थना गर्छन्‌। कोही-कोही मानिसहरू आफ्नो प्रार्थनाको सुनुवाइ हुन्छ भन्‍ने कुरामा विश्‍वस्त छन्‌। अरू कतिपय भने आफ्नो प्रार्थना कसैले सुन्छ कि सुन्दैन भन्‍ने कुरामा शंका गर्छन्‌। अरू थुप्रैले भने जवाफ खोजेका छन्‌ तर प्रार्थनाद्वारा परमेश्‍वरलाई आफ्नो बिन्ती चढाउने कुराबारे सोचेका छैनन्‌।

बाइबलले साँचो परमेश्‍वरलाई “प्रार्थना सुन्‍नुहुने” भनेर चिनाउँछ। (भजन ६५:२) तपाईं प्रार्थना गर्नुहुन्छ भने के तपाईंको प्रार्थना साँचो परमेश्‍वरकहाँ पुगेको छ भनी पक्का हुनुहुन्छ? के उहाँले तपाईंका प्रार्थनाहरूको जवाफ दिनुहुनेछ?

संसारका थुप्रै मानिसहरूले दिनुहुनेछ भन्‍ने जवाफ पाएका छन्‌। तिनीहरूले कसरी जवाफ पाए? तिनीहरूले कस्तो पाठ सिके?

परमेश्‍वर—उहाँ को हुनुहुन्छ?

पोर्चुगलकी एउटी शिक्षिकाले नन तथा पादरीहरूबाट शिक्षा पाएकी थिइन्‌। तिनी आफ्नो धर्ममा कट्टर थिइन्‌। तिनलाई महत्त्वपूर्ण भनेर सिकाइएका प्रचलनहरू चर्चले हेरफेर गरेर त्याग्दा तिनी अलमल्ल परिन्‌। अर्को मुलुकमा यात्रा गर्दा तिनले पूर्वीय धर्मबारे थाह पाइन्‌ अनि साँचो परमेश्‍वर एक जना मात्रै हुनुहुन्छ भन्‍ने कुरामा शंका गर्न थालिन्‌। तिनले अब कसरी उपासना गर्ने? तिनले पादरीलाई बाइबलका कुराहरूबारे सोध्दा तिनका प्रश्‍नहरूलाई वास्तै नगरिएकोले निराश भइन्‌।

यी शिक्षिकाको शहरमा क्याथोलिक चर्चले यहोवाका साक्षीहरूसित कुराकानी नगर्नू भन्‍ने चेतावनी दिंदै पर्चा वितरण गरेको थियो। तर तिनको मनमा प्रश्‍नहरू रहि नै रहे। एक दिन साक्षीहरू तिनको घरमा आउँदा तिनले सुनिन्‌ र तिनलाई आफूले सुनेको कुरामा चासो जाग्यो। तिनले उनीहरूसित कुरा गरेको यो पहिलो पटक थियो।

आफ्ना थुप्रै प्रश्‍नहरूको जवाफ पाउन यी स्त्रीले साक्षीहरूसित बाइबल अध्ययन गर्न थालिन्‌। तिनले हरेक हप्ता तीन थुप्रो प्रश्‍नहरू सोध्थिन्‌। तिनी परमेश्‍वरको नाउँ के हो, एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न, उहाँले उपासनामा मूर्तिहरूको प्रयोग स्वीकार्नुहुन्छ कि स्वीकार्नुहुन्‍न इत्यादि प्रश्‍नहरूको जवाफ चाहन्थिन्‌। तिनले सबै प्रश्‍नको जवाफ कसैको व्यक्‍तिगत धारणा नभई बाइबलबाटै पाएकीले छक्कै परिन्‌ र आफूले सिकिरहेको कुरामा रमाइन्‌। बिस्तारै तिनले आफ्ना थुप्रै प्रश्‍नहरूको जवाफ पाइन्‌। येशूले भन्‍नुभएझैं आज तिनी “साँचोसँग पुज्नेहरू[ले]” जस्तै आत्मा र सत्यतामा यहोवाको उपासना गर्छिन्‌।—यूहन्‍ना ४:२३.

श्रीलंकामा एउटा परिवारले नियमित तवरमा सँगै बाइबल पढ्‌ने गर्थे तर तिनीहरूले थुप्रै महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाएका थिएनन्‌। तिनीहरूलाई मदत चाहिए तापनि पादरीले कुनै जवाफ दिन सकेन। तथापि, यहोवाका साक्षीहरू तिनीहरूकहाँ आए अनि केही मदतकारी बाइबल साहित्य छोडेर गए। पछि, यहोवाका साक्षीहरूले त्यस परिवारलाई बाइबलसम्बन्धी प्रश्‍नहरूबारे चित्तबुझ्दो जवाफ दिएपछि तिनीहरू बाइबल अध्ययन गर्न राजी भए। अध्ययनबाट सिकेका कुराहरूबाट तिनीहरूको चासो निकै बढ्यो।

तैपनि, सानैदेखि चर्चमा सिकेका कुराहरूको कारण श्रीमतीले येशू ख्रीष्टको पिता येशू स्वयंले भन्‍नुभएझैं “एक मात्र सत्य परमेश्‍वर” हुनुहुन्छ भनेर बुझ्न सकिनन्‌। (यूहन्‍ना १७:१, ३) उनलाई येशू र पिता बराबर हुनुहुन्छ र यो “रहस्य” के हो भनेर प्रश्‍न गर्नुहुँदैन भनेर सिकाइएको थियो। साँचो निष्कपटता झल्काउँदै व्यग्र भई उनले यहोवाको नाउँ पुकारेर प्रार्थना गर्न थालिन्‌ र येशू को हुनुहुन्छ भनी देखाइदिन आग्रह गरिन्‌। त्यसपछि उनले सान्दर्भिक शास्त्रपदहरू पुनः होसियारीसाथ जाँचिन्‌। (यूहन्‍ना १४:२८; १७:२१; १ कोरिन्थी ८:५, ६) आँखाबाट पर्दा उघारिएझैं उनले यहोवा, आकाश र पृथ्वीको सृष्टिकर्ता अनि येशू ख्रीष्टको पिता र एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनेर स्पष्टसित बुझिन्‌।—यशैया ४२:८; यर्मिया १०:१०-१२.

दुःखकष्ट—किन?

अय्यूब नाउँका व्यक्‍तिले अचाक्ली दुःख भोगे। तिनका सबै छोराछोरी आँधीबेहरीमा मारिए अनि तिनी दरिद्र हुन पुगे। तिनले पनि अत्यन्तै पीडादायी रोगको अनुभव गर्नुपऱ्‍यो अनि झूटा मित्रहरूको दबाब सहनुपऱ्‍यो। यस्तो घटनाको दौडान अय्यूबले सोचविचार नगरी केही मूर्ख टिप्पणीहरू गरे। (अय्यूब ६:३) तर परमेश्‍वरले तिनको अवस्था विचार गर्नुभयो। (अय्यूब ३५:१५) उहाँलाई अय्यूबको हृदयको कुरा थाह थियो अनि तिनलाई चाहिएको सल्लाह दिनुभयो। उहाँले आज पनि मानिसहरूलाई त्यसै गर्नुहुन्छ।

मोजाम्बिकको कुरा हो, क्यास्ट्रो दस वर्षको हुँदा तिनकी आमाको मृत्यु भयो। तिनी विचलित भए। तिनले प्रश्‍न गरे, “उहाँ किन मर्नुपऱ्‍यो र हामीलाई छोडेर जानुभयो?” तिनका आमाबाबु ईश्‍वरभीरु भए तापनि तिनले कुनै चित्तबुझ्दो जवाफ पाएनन्‌। तिनको मन अनि हृदयलाई कुन कुराले चित्त बुझाउने थियो? तिनले सानो चिचेवा बाइबल पढेर अनि आफ्ना दाइहरूसित छलफल गरेर सान्त्वना पाए।

बिस्तारै, क्यास्ट्रोले आफ्नी आमाको मृत्यु हुनुमा परमेश्‍वरको दोष छैन तर जन्मजात असिद्धताले गर्दा मृत्यु भएको हो भनेर बुझे। (रोमी ५:१२; ६:२३) बाइबलले दिने पुनरुत्थानको आशाले तिनलाई सबैभन्दा ठूलो सान्त्वना दियो किनभने तिनले आफ्नी आमालाई फेरि भेट्‌न पाउने आधार पाए। (यूहन्‍ना ५:२८, २९; प्रेरित २४:१५) दुःखको कुरा, चार वर्षपछि तिनको बुबाको पनि मृत्यु भयो। तर यसपालि भने क्यास्ट्रोले त्यो पीडा सहने मदत पाए। आज, तिनी यहोवालाई प्रेम गर्छन्‌ र वफादार भई उहाँको सेवामा आफ्नो जीवन बिताउँछन्‌। तिनले पाएको आनन्द तिनले चिनेजानेका मानिसहरूसामु प्रत्यक्ष छ।

आफ्नो प्रियजन गुमाएका थुप्रै मानिसहरूले क्यास्ट्रोले सान्त्वना पाएको बाइबल सत्यबाट सान्त्वना पाएका छन्‌। दुष्ट मानिसहरूका कार्यले गर्दा ठूलठूला कठिनाइ भोगेका कसै-कसैले अय्यूबले झैं यस्तो प्रश्‍न गर्छन्‌: “दुष्टहरू किन चिरञ्जीवि हुन्छन्‌?” (अय्यूब २१:७) परमेश्‍वरले आफ्नो वचनमार्फत भन्‍नुहुने कुरा साँच्चै सुनेपछि परमेश्‍वरको तौरतरिकाले लाभ ल्याउँछ भनेर थाह पाउँछन्‌।—२ पत्रुस ३:९.

संयुक्‍त राज्य अमेरिकामा हुर्केकी बार्बराले व्यक्‍तिगत तवरमा युद्धका संकष्टहरू भोगेकी थिइनन्‌। तर तिनी युद्धमा मुछिएको संसारमा हुर्किन्‌। दिनदिनै युद्धका अत्याचारहरूबारे समाचारमा सुन्थिन्‌। स्कूलमा छँदा पत्याउनै नसकिने ढंगमा भएका इतिहासको घटनाक्रम देख्दा वाल्ल पर्थिन्‌। यो सबै हुनुको कारण के थियो? के परमेश्‍वरलाई यसको कुनै मतलब थियो? तिनी परमेश्‍वरको अस्तित्त्व छ भन्‍ने कुरामा विश्‍वास गर्थिन्‌ तर उहाँबारे स्पष्ट धारणा थिएन।

तथापि, यहोवाका साक्षीहरूसित संगत गर्न थाल्दा जीवनप्रति बार्बराको दृष्टिकोण बिस्तारै परिवर्तन हुन थाल्यो। तिनले उनीहरूको कुरा सुनिन्‌ र बाइबल अध्ययन गरिन्‌। तिनी राज्यभवनका सभाहरूमा उपस्थित हुन थालिन्‌। तिनी एउटा ठूलो अधिवेशनमा समेत उपस्थित भइन्‌। यसबाहेक, तिनले प्रश्‍नहरू सोध्दा साक्षीहरूबाट बेग्लाबेग्लै जवाफ पाइनन्‌। बरु, उनीहरूको सोचाइ बाइबलमा आधारित भएको हुँदा एउटै जवाफ दिए।

साक्षीहरूले बाइबलको प्रमाण देखाउँदै यो संसारको शासक, शैतान अर्थात्‌ दियाबल हो र संसारमा त्यसैको आत्मा झल्कन्छ भनेर बताए। (यूहन्‍ना १४:३०; २ कोरिन्थी ४:४; एफिसी २:१-३; १ यूहन्‍ना ५:१९) बार्बरा अलमल्ल परेकी घटनाहरू बाइबलमा भविष्यवाणी गरिएको थियो भनी उनीहरूले बताए। (दानियल अध्याय २, ७ र) भविष्यबारे पहिल्यै थाह पाउन सक्ने क्षमता भएको हुँदा परमेश्‍वरले ती भविष्यवाणीहरू गर्नुभएको थियो। कुनै कुनै घटनाहरू परमेश्‍वरले गर्दा भएका थिए। अरू भने उहाँले हुन दिनुभएको थियो। बाइबलमा हाम्रो समयमा हुने राम्रा र नराम्रा घटनाहरूबारे भविष्यवाणी गरिएका छन्‌ भनेर साक्षीहरूले बार्बरालाई बताउनुका साथै त्यसको अर्थ बुझाइदिए। (मत्ती २४:३-१४) उनीहरूले तिनलाई धार्मिकताले बास गर्ने नयाँ संसार जहाँ दुःखकष्ट सबै अतितका कुरा हुनेछन्‌ भनी बाइबलको प्रतिज्ञाबारे देखाइदिए।—२ पत्रुस ३:१३; प्रकाश २१:३, ४.

बिस्तारै, बार्बराले बुझ्न थालिन्‌—मानव दुःखकष्टको लागि यहोवा परमेश्‍वरको कुनै दोष छैन अनि मानिसहरूले परमेश्‍वरको आज्ञा उल्लंघन गर्ने छनौट गर्दा समेत जबरजस्ती गर्नुहुन्‍न। (व्यवस्था ३०:१९, २०) हामी शान्तिमय अवस्थामा सधैंभरि बाँच्न सकोस्‌ भनेर परमेश्‍वरले प्रबन्धहरू मिलाउनुभएको छ तर हामी उहाँका धार्मिक मार्गअनुरूप जीवन बिताउन चाहन्छौं कि चाहँदैनौं भनी देखाउने मौका दिइरहनुभएको छ। (प्रकाश १४:६, ७) बार्बराले परमेश्‍वरको आवश्‍यकता सिकेर त्यसैअनुरूप जीवन बिताउने संकल्प गरिन्‌। येशूले आफ्ना साँचो अनुयायीहरूको माझमा हुने जुन प्रेमबारे बताउनुभएको थियो, त्यो साँच्चै यहोवाका साक्षीहरूको माझमा पाइन्‌।—यूहन्‍ना १३:३४, ३५.

तिनले जस्तै तपाईंले पनि यी प्रबन्धहरूबाट लाभ उठाउन सक्नुहुन्छ।

अर्थपूर्ण जीवन

जीवन राम्रै चलिरहेको ठान्‍ने मानिसहरूले समेत आफूलाई अलमल्ल पार्ने प्रश्‍नहरूको जवाफ खोज्न सक्छन्‌। उदाहरणका लागि, ब्रिटेनका म्याथ्यु नाउँ गरेका युवकले सधैं साँचो परमेश्‍वर र जीवनको उद्देश्‍य भेट्टाउने तिर्सना गरेका थिए। म्याथ्यु १७ वर्षको हुँदा तिनको बुबाको मृत्यु भयो। त्यसपछि, म्याथ्युले विश्‍वविद्यालयबाट संगीतमा डिग्री हासिल गरे। अनि तिनले भौतिकवादी जीवनको व्यर्थता अझै प्रस्टसित देख्न थाले। तिनी आफ्नो घर छोडेर लन्डनमा बसोबास गर्न थाले अनि सन्तोषजनक जीवनको खोजमा लागू पदार्थ, नाइट क्लब, ज्योतिषविद्या, प्रेतवाद, जैन बौद्धमार्गलगायत अन्य प्रकारका दर्शनहरूमा मुछिन पुगे। हरेस खाँदै तिनले सत्य भेट्टाउने मदतको लागि परमेश्‍वरलाई पुकारे।

दुई दिनपछि म्याथ्युले एक जना पुरानो साथी भेटे र आफ्नो अवस्था बताए। यी मानिसले यहोवाका साक्षीहरूसित अध्ययन गरेका रहेछन्‌। म्याथ्युलाई २ तिमोथी ३:१-५ देखाइयो र बाइबलले हामी बसिरहेको संसारको कति सही वर्णन गर्दो रहेछ भनी थाह पाउँदा तिनी छक्कै परे। डाँडाको उपदेशले तिनको हृदय छोयो। (मत्ती, अध्याय ५-७) सुरुमा त तिनी अलि हिचकिचाए किनभने तिनले यहोवाका साक्षीहरूको आलोचना गरिएको केही लेखहरू पढेका थिए। तर जे होस्‌, तिनले नजिकैको राज्यभवनको सभामा उपस्थित हुने निधो गरे।

आफूले सुनेको कुरा म्याथ्युलाई मन पऱ्‍यो अनि मण्डलीका एक जना प्राचीनसित बाइबल अध्ययन गर्न थाले। आफूले सिकेको कुरा त आफूले खोजिरहेका कुराहरू नै रहेछन्‌ भनेर तिनले चाँडै थाह पाइहाले, यो परमेश्‍वरले तिनको प्रार्थनाको जवाफ दिनुभएझैं भयो। तिनले यहोवालाई मन नपर्ने आनीबानीहरू त्याग्दै जाँदा असल परिणाम प्राप्त गर्न थाले। तिनले परमेश्‍वरप्रति स्वास्थ्यकर भय विकास गर्न थाल्दा परमेश्‍वरको आज्ञाअनुरूप आफ्नो जीवन ढाल्न उत्प्रेरित भए। म्याथ्युले जीवनको साँचो अर्थ रहेछ भनी सिके।—उपदेशक १२:१३.

यस लेखमा उल्लिखित म्याथ्यु वा अन्य व्यक्‍तिहरूले सन्तोषजनक जीवन भेट्टाउनेछन्‌ भनेर पूर्वनिर्धारण गरिएको थिएन। तैपनि, यहोवा परमेश्‍वरले राख्नुभएको मायालु उद्देश्‍यमा उहाँको आज्ञा पालन गर्न चाहने सबैलाई समेट्‌नुहुन्छ भनी तिनीहरूले सिके। (प्रेरित १०:३४, ३५) त्यस उद्देश्‍यमा युद्धबाट मुक्‍त संसारमा अनन्त जीवन, रोगबिमार र भोकबाट छुटकारा अनि मृत्युबाट मुक्‍ति इत्यादि कुराहरू समावेश छन्‌। (यशैया २:४; २५:६-८; ३३:२४; यूहन्‍ना ३:१६) के तपाईंले चाहनुभएको कुरा त्यही हो? हो भने, यहोवाका साक्षीहरूको राज्यभवनमा बाइबल आधारित सभाहरूमा उपस्थित हुनुभएर सन्तोषजनक जीवन भेट्टाउने तरिका सिक्न सक्नुहुन्छ। तपाईंलाई न्यानो स्वागत छ।

[पृष्ठ ७-मा भएको चित्र]

परमेश्‍वरको व्यक्‍तिगत नाउँ चलाउँदै उहाँलाई व्यग्र प्रार्थना गर्नुहोस्‌

[पृष्ठ ७-मा भएको चित्र]

बाइबलमा जे छ, त्यही सिकाउने मानिसहरूसित अध्ययन गर्नुहोस्‌

[पृष्ठ ७-मा भएका चित्रहरू]

राज्यभवनका सभाहरूमा उपस्थित हुनुहोस्‌

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

Hiker: Chad Ehlers/Index Stock Photography