सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अन्तरराष्ट्रिय तवरमा तिनीहरू मसीही भ्रातृत्वको सेवा गर्छन्‌

अन्तरराष्ट्रिय तवरमा तिनीहरू मसीही भ्रातृत्वको सेवा गर्छन्‌

अन्तरराष्ट्रिय तवरमा तिनीहरू मसीही भ्रातृत्वको सेवा गर्छन्‌

के तपाईंले “अन्तरराष्ट्रिय सेवकहरू” र “अन्तरराष्ट्रिय स्वयम्‌सेवकहरू” भन्‍ने अभिव्यक्‍ति सुन्‍नुभएको छ? यी स्वयम्‌सेवकहरूको समूहमा संलग्न यहोवाका साक्षीहरूले बाइबलको राज्य सन्देश छापेर वितरण गर्ने भवनहरू निर्माण गर्न आफ्नो समय तथा सीप खर्च गर्छन्‌। यी स्वयम्‌सेवकहरूले बाइबल शिक्षा दिइने केन्द्रहरूको रूपमा प्रयोग हुने सम्मेलनभवन तथा राज्यभवनहरू निर्माण गर्न पनि मदत गर्छन्‌। हाल, यी स्वयम्‌सेवकहरूले विशेष गरी सीमित स्रोतसाधन भएका ३४ वटा मुलुकको निर्माणकार्यमा मदत गरिरहेका छन्‌। अन्तरराष्ट्रिय तवरमा मसीही भ्रातृत्वको सेवा गर्दा यी सेवकहरूले कस्ता विशेष चुनौती तथा आनन्द अनुभव गर्छन्‌? आफूले पूरा गर्ने “पवित्र सेवा[बारे]” तिनीहरू कस्तो महसुस गर्छन्‌? (प्रकाश ७:९, १५) आउनुहोस्‌, यसबारे थाह पाउन मेक्सिकोमा सेवा गरेका केही स्वयम्‌सेवकहरूलाई भेटौं।

विदेशबाट स्वयम्‌सेवकहरू मेक्सिकोमा पहिलो चोटि सन्‌ १९९२ मे महिनामा आएका थिए। त्यसको लगत्तै तिनीहरू शाखा विस्तार गर्ने काममा अग्रसर भए, जहाँबाट मेक्सिकोका यहोवाका साक्षीहरूको गतिविधि निरीक्षण गरिन्छ। यहाँको विस्तार कार्यअन्तर्गत शाखा कार्यालयमै सेवा गर्ने स्वयम्‌सेवकहरूको आवासगृह, छापाखाना र कार्यालय भवन गरेर जम्मा १४ वटा भवन निर्माण गरियो।

यस निर्माण परियोजनामा सघाउन क्यानाडा, बेलायत, संयुक्‍त राज्य अमेरिका तथा अन्य देशहरूबाट आएका ७३० भन्दा बढी स्वयम्‌सेवकहरूले मेक्सिकोका विभिन्‍न भागबाट आएका सयौं स्वयम्‌सेवकहरूसित काँधमा काँध मिलाएर सेवा गरे। यसबाहेक, शाखा कार्यालय नजिकै अवस्थित लगभग १,६०० वटा मण्डलीमा संगत गरिरहेका २८,००० भन्दा बढी स्वयम्‌सेवकहरूले सप्ताहन्तको दौडान निर्माणकार्यमा सहयोग गरे। सबैले इच्छुक मनोभावसहित काम गर्नुका साथै आफूमा भएको सीप प्रयोग गरे। तिनीहरूले यसलाई यहोवाको सेवा गर्ने एउटा सुअवसरको रूपमा लिए। निर्माणकार्य अवधिभरि नै तिनीहरूले भजन १२७:१ मा बताइएको प्रेरित वचन मनमा राखे: “परमप्रभुलेनै घर नबनाउनु भएता बनाउनेहरूले व्यर्थमा परिश्रम गर्छन्‌। परमप्रभुले शहरको रक्षा नगर्नु भएता पाले व्यर्थैमा जागो रहन्छ।”

तिनीहरूले सामना गर्ने चुनौतीहरू

विदेशी भूमिमा सेवा गर्दा अन्तरराष्ट्रिय स्वयम्‌सेवकहरूले कस्ता चुनौतीहरू सामना गर्छन्‌? तिनीहरूले अनुभव गरेका केही कुरा यहाँ दिइएका छन्‌। संयुक्‍त राज्य अमेरिकाका एक दम्पती कर्टिस र सेलीले जर्मनी, भारत, मेक्सिको, पाराग्वे, रोमानिया, रूस, सेनेगल र जाम्बियाको निर्माणकार्यमा मदत गरेका छन्‌। कर्टिस यसो भन्छन्‌: “पहिलो चुनौती त अग्रगामीको [पूर्ण-समय सेवक] रूपमा सेवा गरिरहेकी हाम्रो छोरी र मिनेसोटामा भएको आफ्नो मण्डली छोड्‌नु थियो। मेरी पत्नी र मैले त्यस मण्डलीसित संगत गरेको त्यस्तै २४ वर्ष भइसकेको थियो र हामीलाई त्यहाँ साह्रै सजिलो महसुस हुन्थ्यो।”

सेली भन्छिन्‌: “नौलो परिवेशमा जीवन बिताउनु चुनौतीपूर्ण हुँदो रहेछ, पुरुषहरूलाई भन्दा महिलाहरूलाई अझ गाह्रो हुँदो रहेछ। तर छाँटकाँट गर्न सकिन्छ भन्‍ने कुरा पनि मैले सिकें। मैले स्याउँस्याउँती कीराहरू सहनसमेत सिकें!” तिनी अझै यसो भन्छिन्‌: “एउटा देशमा त हामी दस जना स्वयम्‌सेवकहरू एउटा भान्साकोठा पनि नभएको अनि दुइटा मात्र बाथरुम भएको अपार्टमेन्टमा बस्यौं। त्यहाँ मैले झनै धीरजी हुन सिकें।”

प्रयास तथा नम्रता चाहिने अर्को चुनौती भनेको नयाँ भाषा सिक्नु हो। विभिन्‍न देशको निर्माणकार्यमा आफ्ना पतिसँगै सेवा गरेकी स्यारोन यसो भन्छिन्‌: “आफूले सेवा गर्ने देशको भाषा नजान्‍नु एउटा चुनौती नै हो। सुरु-सुरुमा आफ्नो भावना खुलस्तसित व्यक्‍त गर्न नसक्दा आध्यात्मिक भाइबहिनीहरूसित घनिष्ठ हुन गाह्रो हुन्छ। त्यसो हुँदा निकै निराश पनि लाग्छ। तर विदेशी भूमिमा सेवा गर्दा भेटिने भाइहरू साह्रै धीरजी हुन्छन्‌ र हाम्रो भलाइमा निकै चासो राख्छन्‌। यसप्रकार हामी चाँडै कसो-कसो कुराकानी गरिरहेका हुन्छौं।”

सेवकाईमा भाग लिन साहस चाहिन्छ

यस्ता आत्मत्यागी स्वयम्‌सेवकहरूले निर्माणकार्यको प्रगतिमा निकै योगदान पुऱ्‍याउने भए तापनि आफ्नो प्रथम र मुख्य काम, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नु हो भन्‍ने कुरा तिनीहरूलाई थाह छ। त्यसकारण, आफू संगत गर्ने मण्डलीको प्रचारकार्यमा तिनीहरूले पूर्ण समर्थन गर्छन्‌। विदेशमा क्षेत्र सेवकाईमा भाग लिंदा अर्कै भाषामा बोल्न साहस चाहिन्छ भनी ग्वाडलुप, मलावी, मेक्सिको र नाइजेरियाको निमार्णकार्यमा मदत गरेका एक दम्पती, ओका र इङमरी स्वीकार्छन्‌।

इङमरी यसो भन्छिन्‌: “सुरु-सुरुमा हाम्रो सहभागिता सीमित थियो किनभने हामी सधैं स्थानीय साक्षीहरूसित सेवकाईमा जान्थ्यौं र अप्ठ्यारो लागेकोले उनीहरूलाई नै प्रायः कुरा गर्न लगाउँथ्यौं। तथापि, एक बिहान हामी आफै क्षेत्र सेवकाईमा जाने निर्णय गऱ्‍यौं। हाम्रो खुट्टा थरथर कामिरहेको र मुटुमा ढ्याँग्रो बजिरहेको थियो। हामीले एउटी युवती भेट्यौं, जसले मैले तयार गरेको प्रस्तुति राम्ररी सुनिन्‌। मैले एउटा शास्त्रपद पढ्‌नुका साथै केही साहित्य प्रस्तुत गरें। ती युवतीले यसो भनिन्‌: ‘कृपया मलाई एउटा कुरा भन्‍नुहोस्‌। मेरो एक जना नातेदार यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्छन्‌। म पनि अध्ययन गर्न चाहन्छु, यसको लागि मैले के गर्नुपर्छ?’ मलाई त के भनूँ के भनूँ भयो। आफ्नो होस ठेगानमा आएपछि मैले तिनीसित बाइबल अध्ययन गर्ने प्रस्ताव राखें।”

इङमरी अझ यसो भन्छिन्‌: “अरूलाई सत्य कुरा सुनाउन हामीले चालेको कदम तथा हाम्रो इच्छालाई यहोवाले आशिष्‌ दिनुभएकोमा म कत्ति आनन्दित तथा आभारी भएँ होला, कल्पना गर्नुहोस्‌।” यी युवतीले राम्रो प्रगति गरिन्‌ अनि मेक्सिको शहरमा सम्पन्‍न जिल्ला अधिवेशनमा एक जना साक्षीको हैसियतमा तिनले बप्तिस्मा लिइन्‌। आफ्नो सेवकाईबारे संक्षिप्तमा ओका र इङमरी यसो भन्छन्‌: “विभिन्‍न निर्माणकार्यमा पाएका जिम्मेवारीहरूलाई हामी धेरै मूल्यवान्‌ ठान्छौं तर अरूलाई सत्य स्वीकार्न मदत गर्दा मिल्ने आनन्द तथा सन्तुष्टिजस्तो अरू केही कुरा छैन।”

आत्मत्यागी मनोभाव

हो, विदेशी भूमिमा आफ्ना भाइहरूको सेवा गर्न जाने स्वयम्‌सेवकहरू आफ्ना परिवार तथा साथीभाइहरूबाट टाढा हुन्छन्‌ तर तिनीहरूले अतुलनीय आनन्द पनि अनुभव गर्छन्‌। ती के हुन्‌?

अंगोला, कोलम्बिया, इक्वेडर, एल साल्भाडोर, गायना, मेक्सिको र पोर्टो रिकोमा आफ्नी पत्नी, पामेलासित सेवा गरेका होवर्ड यसो भन्छन्‌: “विभिन्‍न देशका भाइबहिनीहरूलाई भेट्‌नु र हाम्रो अन्तरराष्ट्रिय भ्रातृत्वमा भएको प्रेमको बन्धन प्रत्यक्ष अनुभव गर्न पाउनु ठूलो सुअवसरको कुरा हो। हामी अक्सर यस्तो भ्रातृत्वबारे पढ्‌छौं तर जब तपाईं विभिन्‍न संस्कृति तथा पृष्ठभूमिबाट आएका अन्य व्यक्‍तिहरूसँगसँगै सेवा गर्नुहुन्छ, तब तपाईंले हाम्रो अमूल्य भ्रातृत्वको झनै बढी मूल्यांकन गर्नुहुन्छ।”

कोलम्बिया, कोस्टा रिका, इक्वेडर, मेक्सिको र जाम्बियाको निर्माणकार्यमा सहयोग गरेका गेरी पनि यस कार्यक्रमले आफूलाई ठूलो लाभ पुऱ्‍याएको महसुस गर्छन्‌। तिनी भन्छन्‌: “मलाई खटाइएका देशहरूका शाखाहरूमा कार्यरत परिपक्व भाइहरूसित वर्षौंको दौडान काम गर्दा प्राप्त गरेको प्रशिक्षणले मलाई आफ्नो असाइनमेन्टमा आइपर्ने चुनौतीहरूको सामना गर्न सुसज्जित हुन मदत गरेको छ। यसले मेरो विश्‍वास बलियो बनाएको छ किनभने यसले यहोवाको विश्‍वव्यापी संगठनको चित्रण गर्ने एकता अर्थात्‌ भाषा, जात वा संस्कृतिमा भएको भिन्‍नताले समेत असर नगर्ने एकता अनुभव गर्ने अवसर प्रदान गर्छ।”

समयको दौडान मेक्सिकोमा निर्माणकार्य पनि पूरा भइसकेको थियो र विस्तार गरिएका शाखा कार्यालयहरू यसै वर्ष समर्पण गरिए। मेक्सिकोलगायत अन्य ठाउँहरूमा अन्तरराष्ट्रिय सेवक तथा अन्तरराष्ट्रिय स्वयम्‌सेवकहरूले परमेश्‍वरप्रतिको प्रेमले उत्प्रेरित भई साँचो उपासना विस्तार कार्यमा ठूलो योगदान पुऱ्‍याउँछन्‌। अन्तरराष्ट्रिय तवरमा आफ्ना मसीही भ्रातृत्वको सेवा गर्न तिनीहरूले देखाएको इच्छुकता तथा आत्मत्यागी मनोभावको विश्‍वभरिका यहोवाका साक्षीहरूले ठूलो मूल्यांकन गर्छन्‌।

[पृष्ठ २५-मा भएको चित्र]

इक्वेडर

[पृष्ठ २५-मा भएको चित्र]

कोलम्बिया

[पृष्ठ २५-मा भएको चित्र]

अंगोला

[पृष्ठ २६-मा भएको चित्र]

मेक्सिको शाखाका नयाँ भवनहरूमा काम सुरु हुन्छ

[पृष्ठ २६-मा भएको चित्र]

शाखाको बगैंचा

[पृष्ठ २६-मा भएको चित्र]

तल: नयाँ भवनहरूका अगाडि निर्माण विभागका केही सदस्यहरू

[पृष्ठ २७-मा भएको चित्र]

निर्माणकार्यका स्वयम्‌सेवकहरूले स्थानीय मण्डलीहरूलाई प्रचारकार्यमा साथ दिएर आनन्द उठाउँछन्‌