सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युवाहरू हो–यहोवाले तपाईंहरूको काम बिर्सनुहुनेछैन!

युवाहरू हो–यहोवाले तपाईंहरूको काम बिर्सनुहुनेछैन!

युवाहरू हो–यहोवाले तपाईंहरूको काम बिर्सनुहुनेछैन!

“तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।”—हिब्रू ६:१०.

१. यहोवाले तपाईंको सेवाको मूल्यांकन गर्नुहुन्छ भन्‍ने कुरा बाइबलको हिब्रू तथा मलाकीका पुस्तकहरूले कसरी देखाउँछन्‌?

 के तपाईंसँग आफ्नो साथीको लागि कुनै काम गरिदिए तापनि तिनीबाट धन्यवाद नपाएको अनुभव छ? दयालु कार्यहरूलाई हल्कासित लिइयो वा अझ भुसुक्कै बिर्सियो भने चित्त दुख्न सक्छ। तथापि, हामीले तनमनले यहोवाको सेवा गर्दा भने कुरा कत्ति भिन्‍न छ! बाइबल यसो भन्छ: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।” (हिब्रू ६:१०) यसको अर्थ के हो विचार गर्नुहोस्‌। तपाईंले यहोवाको सेवामा गर्नुभएको र गरिरहनुभएको काम बिर्सनु भनेको यहोवाको नजरमा अधर्म वा पाप सरह हो। कस्तो कृतज्ञ परमेश्‍वर!—मलाकी ३:१०.

२. यहोवाको सेवा गर्नु किन साँच्चै विशेष कुरा हो?

तपाईंसँग यस्तो कृतज्ञ परमेश्‍वरको उपासना तथा सेवा गर्ने विशेष सुअवसर छ। संसारभरका लगभग छ अरब मानिसहरूको तुलनामा तपाईंका सँगी विश्‍वासीहरू ६० लाख मात्रै भएकोले पक्कै पनि तपाईंले दुर्लभ सुअवसर पाउनुभएको छ। अझ भन्‍ने हो भने, तपाईंले सुसमाचार सुन्‍नु र यसप्रति सकारात्मक प्रतिक्रिया देखाउनु नै यहोवाले तपाईंप्रति व्यक्‍तिगत चासो लिनुहुन्छ भन्‍ने प्रमाण हो। किनभने येशूले यसो भन्‍नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्‍तैन।” (यूहन्‍ना ६:४४) हो, यहोवाले मानिसहरूलाई ख्रीष्टको बलिदानबाट लाभ उठाउन व्यक्‍तिगत तवरमा मदत गर्नुहुन्छ।

आफ्नो महान्‌ सुअवसरको मूल्यांकन गर्ने

३. यहोवाको सेवा गर्ने सुअवसरप्रति कोरहका छोराहरूले कसरी मूल्यांकन जाहेर गरे?

अघिल्लो लेखमा छलफल गरिएझैं, तपाईं यहोवाको हृदयलाई आनन्दित तुल्याउन सक्ने अद्वितीय अवस्थामा हुनुहुन्छ। (हितोपदेश २७:११) यसलाई तपाईंले कहिल्यै हल्कासित लिनुहुँदैन। कोरहका छोराहरूको एउटा प्रेरित भजनमा, तिनीहरूले यहोवाको सेवा गर्ने सुअवसरप्रति मूल्यांकन जाहेर गरे। हामी यस्तो लेखिएको पाउँछौं: “तपाईंको दरवारमा एक दिन हजार दिनभन्दा असल छ। दुष्टका पालहरूमा बस्नभन्दा ता बरू परमेश्‍वरको भवनको ढोके हुन मलाई मनपर्छ।”—भजन ८४:१०.

४. (क) के कारणले गर्दा कसै-कसैलाई यहोवाको उपासना प्रतिबन्धकजस्तो लाग्न सक्छ? (ख) आफ्ना सेवकहरूको ख्याल राख्न र तिनीहरूलाई इनाम दिन यहोवा उत्सुक हुनुहुन्छ भन्‍ने कुरा उहाँले कसरी देखाउनुहुन्छ?

स्वर्गमा बस्नुहुने तपाईंको पिताको सेवा गर्ने सुअवसरबारे के तपाईं पनि यस्तै महसुस गर्नुहुन्छ? कहिलेकाहीं यहोवाको उपासनाले तपाईंको स्वतन्त्रतालाई बन्धनमा पार्छजस्तो देखिन सक्छ। हो, बाइबल सिद्धान्तअनुरूप जीवन बिताउन केही हदसम्म आत्म-त्याग चाहिन्छ। यद्यपि, यहोवाले तपाईंबाट माग गर्नुहुने हरेक कुराले अन्ततः तपाईंकै भलो गर्छ। (भजन १:१-३) साथै, यहोवाले तपाईंको प्रयत्न देख्नुहुन्छ र तपाईंको विश्‍वासीपनको लागि मूल्यांकन देखाउनुहुन्छ। वास्तवमा, यहोवाले “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ” भनी पावलले लेखे। (हिब्रू ११:६) यहोवाले प्रतिफल दिने मौका हेरिरहनुभएको छ। पुरातन इस्राएलका एक जना धर्मी अगमवक्‍ताले यसो भने: “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।”—२ इतिहास १६:९.

५. (क) तपाईंको सम्पूर्ण हृदय यहोवातर्फ छ भनेर देखाउन सक्ने एउटा सर्वोत्तम तरिका के हो? (ख) आफ्नो विश्‍वासबारे अरूलाई बताउनु किन गाह्रोजस्तो देखिन सक्छ?

तपाईंको सम्पूर्ण हृदय यहोवातर्फ छ भनेर देखाउन सक्ने एउटा सर्वोत्तम तरिका अरूलाई उहाँबारे बताउनु हो। के तपाईंले कहिल्यै स्कूलका साथीहरूलाई आफ्नो विश्‍वासबारे बताउने मौका पाउनुभएको छ? सुरुमा, यसो गर्न गाह्रो देखिन सक्छ र साक्षी दिनेबारे सोच्दैमा समेत कता कता डर लागेर आउन सक्छ। तपाईं यस्तो विचार गर्नुहोला: ‘तिनीहरूले मेरो खिसी गरे भने नि? तिनीहरूलाई मेरो धर्म अनौठो खालको लाग्यो भने के गर्ने?’ परमेश्‍वरको राज्यको सन्देश सबैले सुन्‍नेछैनन्‌ भन्‍ने कुरा येशूले स्वीकार्नुभयो। (यूहन्‍ना १५:२०) तथापि, यसको अर्थ तपाईंले जीवनमा खिसी र तिरस्कार मात्र सामना गर्नुपर्छ भन्‍ने होइन। बरु, थुप्रै जवान साक्षीहरूले तिनीहरूको कुरा सुन्‍न इच्छुक व्यक्‍तिहरू भेट्टाएका छन्‌ र आफ्नो विश्‍वासको लागि अडान लिएको कारण साथीहरूबाट अझ बढी आदरसमेत कमाएका छन्‌।

“यहोवाले तपाईंलाई मदत गर्नुहुनेछ”

६, ७. (क) एक जना १७ वर्षीया केटीले आफ्ना सहपाठीहरूलाई कसरी साक्षी दिन सकिन्‌? (ख) जेनिफरको अनुभवबाट तपाईंले के सिक्नुभएको छ?

तर आफ्नो विश्‍वासबारे अरूलाई बताउने साहस तपाईं कसरी बटुल्न सक्नुहुन्छ? मानिसहरूले तपाईंको धर्मबारे प्रश्‍न गर्दा इमानदार तथा सोझो जवाफ दिए कसो होला? सत्र वर्षीया जेनिफरको अनुभवलाई विचार गर्नुहोस्‌। तिनी यसो भन्छिन्‌: “म स्कूलमा दिउँसोको खाना खाँदै थिएँ। मेरो टेबलमा बसेका केटीहरूले धर्मबारे कुरा गर्न थाले र त्यतिकैमा मलाई एक जना केटीले म कुन धर्म मान्छु भनेर सोधिन्‌।’ के जेनिफर जवाफ दिन हड्‌बडाइन्‌? तिनी यसरी स्वीकार्छिन्‌: “हो, हड्‌बडाएँ किनभने तिनीहरूले कस्तो प्रतिक्रिया देखाउलान्‌ भन्‍ने कुरा मलाई थाह थिएन।” त्यसोभए जेनिफरले के गरिन्‌ त? तिनी अझै यसो भन्छिन्‌: “मैले ती केटीहरूलाई म एक यहोवाको साक्षी हुँ भनेर बताएँ। सुरुमा त तिनीहरू छक्क परेजस्तो लाग्यो। स्पष्टतः यहोवाका साक्षीहरू अनौठो खालका हुन्छन्‌ भन्‍ने सोचाइ तिनीहरूको थियो। यसकारण तिनीहरू मसित प्रश्‍न गर्न अघि सरे र मैले तिनीहरूमा भएका केही भ्रमहरू हटाउन सकें। त्यसपछि पनि, बेला-बेलामा केही केटीहरू मसित प्रश्‍न सोध्न आए।”

आफ्नो विश्‍वासबारे बताउने मौका छोपेकोमा के जेनिफर पछुताइन्‌? अहँ, पटक्कै पछुताइनन्‌! तिनी यसो भन्छिन्‌: “यसरी बताएकोमा खाना खाने समय सिद्धिएपछि मैले निक्कै रमाइलो महसुस गरें। अहिले ती केटीहरूले यहोवाका साक्षीहरू वास्तवमा कस्ता व्यक्‍तिहरू हुन्‌ भन्‍ने कुरा अझ राम्ररी बुझेका छन्‌।” अहिले जेनिफर यस्तो सरल सल्लाह दिन्छिन्‌: “सहपाठी वा शिक्षकहरूलाई साक्षी दिन गाह्रो लाग्छ भने छोटो प्रार्थना गर्नुहोस्‌। यहोवाले तपाईंलाई मदत गर्नुहुनेछ। साक्षी दिने अवसरको सदुपयोग गर्नुभएकोमा तपाईं खुसी हुनुहुनेछ।”—१ पत्रुस ३:१५.

८. (क) अप्रत्याशित परिस्थितिको सामना गर्नुपर्दा नहेम्याहलाई प्रार्थनाले कसरी मदत गऱ्‍यो? (ख) स्कूलमा खडा हुने कस्ता परिस्थितिहरूमा तपाईंले यहोवालाई मनमनै छोटो प्रार्थना गर्नुपर्ने हुन सक्छ?

याद गर्नुहोस्‌, आफ्नो विश्‍वासबारे साक्षी दिने मौका मिल्नासाथै ‘छोटो प्रार्थना गर्ने’ सुझाव जेनिफर दिन्छिन्‌। फारिसी राजा आर्ट-जारसेजका दाखमद्य पिलाउने नहेम्याहले पनि अप्रत्याशित परिस्थितिमा पर्दा, ठीक यस्तै गरे। नहेम्याह उदास देखिन्थे किनभने तिनले यहूदीहरूको दुर्दशाका साथै यरूशलेमको पर्खाल तथा मूल-ढोकाहरू भत्किएको कुरा सुनेका थिए। नहेम्याह चिन्तित भएको देखेर राजाले तिनलाई उदास हुनुको कारण सोधे। जवाफ दिनुअघि नहेम्याहले डोऱ्‍याइका लागि प्रार्थना गरे। त्यसपछि तिनले यरूशलेम फर्केर विनाश भएको शहरको पुनर्निमाण गर्न मदत दिने अनुमति साहसपूर्वक मागे। आर्ट-जारसेजले नहेम्याहको बिन्ती मन्जुर गरे। (नहेम्याह २:१-८) यसबाट तपाईं कस्तो पाठ सिक्न सक्नुहुन्छ? आफ्नो विश्‍वासबारे साक्षी दिने मौका पाउँदा तपाईं हड्‌बडिनुभयो भने, मनमनै प्रार्थना गरिहाल्नुहोस्‌। पत्रुसले यस्तो लेखे: “तिमीहरूका सारा फिक्री [यहोवामाथि] राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।”—१ पत्रुस ५:७; भजन ५५:२२.

“जवाफ दिन . . . तयार”

९. तेह्र वर्षीया लेआले कसरी २३ वटा युवा जनहरूका प्रश्‍न पुस्तक प्रस्तुत गर्न सकिन्‌?

अर्को अनुभव विचार गर्नुहोस्‌। स्कूलमा दिउँसोको खाना खाने छुट्टी हुँदा, १३ वर्षीया लेआले युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ a पुस्तक पढिरहेकी थिइन्‌। तिनी यसो भन्छिन्‌: “अरूले मलाई हेरिरहेका थिए र एकछिनपछि मैले के पढिरहेकी छु भनेर थाह पाउन मेरो पछाडी थुप्रै जना झुम्मिरहेका थिए। तिनीहरूले त्यस पुस्तकबारे सोध्न थाले।” त्यस दिनभरिमा, लेआसँग चार जना केटीहरूले युवा जनहरूका प्रश्‍न पुस्तक मागे। चाँडै ती केटीहरूले त्यो पुस्तक अरूलाई पनि देखाए र तिनीहरू पनि उक्‍त पुस्तक लिन चाहन्थे। केही हप्ताभित्रै लेआले आफ्नो स्कूलका साथीहरू र तिनीहरूका साथीहरूलाई २३ वटा युवा जनहरूका प्रश्‍न पुस्तक प्रस्तुत गरिन्‌। तिनले पढिरहेकी पुस्तकबारे अरूले सोध्दा, सुरुमा के लेआलाई जवाफ दिन सजिलो भयो त? अहँ भएन! तिनी यसरी स्वीकार्छिन्‌: “सुरुमा त म हड्‌बडाएँ। तर मैले प्रार्थना गरें र यहोवा मसँग हुनुहुन्छ भन्‍ने कुरा मलाई थाह थियो।”

१०, ११. यहोवाबारे अझ बढी सिक्न एक जना सानी इस्राएली ठिटीले अरामी सेनापतिलाई कसरी मदत दिन सकिन्‌ र त्यसपछि तिनले कस्ता परिवर्तनहरू गरे?

१० लेआको अनुभवले तपाईंलाई कैदी बनेर अराम पुगेकी एक इस्राएली ठिटीले सामना गर्नुपरेको, यस्तै खालको परिस्थितिको सम्झना गराउन सक्छ। अरामी सेनाका सेनापति नामान कोरी थिए। तिनकी पत्नीले सुरु गरेको कुराकानीको दौडान नै यी सानी ठिटी आफ्नो विश्‍वासबारे बताउन अघि सरेकी हुनुपर्छ। तिनले यसो भनिन्‌: “यदि मेरा मालिकले सामरियामा बस्नुहुने अगमवक्‍तालाई भेट गरे तिनको रोग उहाँले निको पारिदिनुहुने थियो।”—२ राजा ५:१-३.

११ यस सानी ठिटीको साहसको कारण नामानले “इस्राएलमा बाहेक पृथ्वीको अरू कुनै ठाउँमा ईश्‍वर रहेनछन्‌” भन्‍ने कुरा थाह पाए। तिनले “होमबलि र बलिदान परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई चढाउनेछैनँ” भन्‍ने संकल्पसमेत गरे। (२ राजा ५:१५, १७) पक्कै पनि यहोवाले यस सानी ठिटीको साहसमा आशिष्‌ दिनुभयो। आजका युवाहरूको लागि पनि उहाँले त्यसै गर्न सक्नुहुन्छ र गर्नुहुनेछ। लेआले यो कुरा साँचो भएको अनुभव गरिन्‌। पछि, स्कूलका कोही-कोही साथीहरू तिनीकहाँ आए र युवा जनहरूको प्रश्‍न पुस्तकबाट आफ्नो आनीबानी सुधार्न मदत पाइरहेको कुरा बताए। लेआ भन्छिन्‌: “मैले अरूलाई यहोवाबारे अझ बढी जान्‍न तथा तिनीहरूको जीवन परिवर्तन गर्न मदत गरिरहेकी छु भन्‍ने थाह पाउँदा म खुसी भएँ।”

१२. आफ्नो विश्‍वासबारे सोध्नेहरूलाई जवाफ दिन तपाईं कसरी बलियो हुन सक्नुहुन्छ?

१२ तपाईंले पनि जेनिफर र लेआले जस्तै अनुभव बटुल्न सक्नुहुन्छ। पत्रुसको सल्लाह पछ्याउनुहोस्‌, जसले मसीहीको हैसियतमा तपाईं सधैं “आशाको कारण [तपाईंसँग] सोध्नेहरू हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डरसँग, सधैं तयार” भइरहनुपर्छ भनेर लेखे। (१ पत्रुस ३:१५) तपाईं कसरी यसो गर्न सक्नुहुन्छ? “बिलकुल निर्भयतामा” यहोवाको वचन बोल्ने मदतको लागि उहाँलाई प्रार्थना गर्ने प्रथम शताब्दीका मसीहीहरूको अनुकरण गर्नुहोस्‌। (प्रेरित ४:२९) त्यसपछि अरूलाई आफ्नो विश्‍वासबारे बताउन साहसी हुनुहोस्‌। यसको परिणाम देखेर तपाईं तीन छक पर्न सक्नुहुन्छ। अझ महत्त्वपूर्ण कुरा त, तपाईंले यहोवाको हृदयलाई आनन्दित तुल्याउनुहुनेछ।

भिडिओ तथा विशेष क्रियाकलापहरू

१३. केही युवाहरूले कस्ता अवसरहरूको फाइदा उठाएर साक्षी दिएका छन्‌? (पृष्ठ २० र २१ का पेटीहरू हेर्नुहोस्‌।)

१३ थुप्रै युवाहरूले भिडिओहरू प्रयोग गरेर स्कूलका साथी तथा शिक्षकहरूलाई आफ्नो विश्‍वासबारे बताएका छन्‌। कहिलेकाहीं स्कूल प्रोजेक्ट अथवा विशेष क्रियाकलापहरूले पनि यहोवाको प्रशंसा गर्ने सुअवसर दिएको छ। उदाहरणका लागि, १५ वर्षका दुई जना यहोवाका साक्षी केटाहरूले इतिहासको कक्षामा संसारका धर्महरूमध्ये कुनै एउटाबारे रिपोर्ट लेख्ने काम पाए। ती दुई जनाले जेहोभाज्‌ विट्‌नेसेज—प्रोक्लेमर्स अफ गड्‌स किङडम पुस्तकको मदत लिएर यहोवाका साक्षीहरूबारे रिपोर्ट तयार पार्ने जमर्को कसे। b तिनीहरूले पाँच मिनेट लामो मौखिक रिपोर्ट पनि प्रस्तुत गर्नुपर्ने थियो। पछि, शिक्षक तथा विद्यार्थीले यति धेरै प्रश्‍न सोधे कि तिनीहरूले थप २० मिनेट समय लिनुपऱ्‍यो। त्यसको हप्तौंपछि पनि सहपाठीहरूले तिनीहरूलाई यहोवाका साक्षीहरूबारे प्रश्‍न सोधिरहे!

१४, १५. (क) मानिसको डर किन पासो हो? (ख) आफ्नो विश्‍वासबारे अरूलाई बताउने सन्दर्भमा तपाईं किन निर्धक्क हुनुपर्छ?

१४ माथिका अनुभवहरूले देखाएझैं, यहोवाको साक्षीको हैसियतमा तपाईंको विश्‍वासबारे अरूलाई बताउँदा ठूलो आशिष्‌ अनुभव गर्न सकिन्छ। मानिसको डरको कारण यहोवाबारे अरूलाई बुझ्न मदत दिने सुअवसर तथा आनन्दबाट पछि नहट्‌नुहोस्‌। बाइबल यसो भन्छ: “मानिसको डर त्यसको निम्ति पासो हो, तर परमप्रभुमाथि भरोसा गर्ने मानिस सुरक्षित रहन्छ।”—हितोपदेश २९:२५.

१५ नबिर्सनुहोस्‌, जवान मसीहीको हैसियतमा तपाईंसित तपाईंका साथीहरूको लागि अत्यन्तै महत्त्वपूर्ण एउटा कुरा छ—अहिले जीवनको सर्वोत्तम मार्ग र भविष्यको लागि अनन्त जीवनको प्रतिज्ञा। (१ तिमोथी ४:८) सायद तपाईं संयुक्‍त राज्य अमेरिकाका मानिसहरू साधारणतया भावशून्य वा भौतिकवादी हुन्छन्‌ भनेर सोच्नुहुन्छ होला। तर चाखलाग्दो कुरा, त्यहाँ गरिएको एउटा सर्वेक्षणले देखाएअनुसार युवाहरूमध्ये कम्तीमा पनि आधाले धर्मलाई गम्भीरतासाथ लिन्छन्‌ र एक तिहाइले आफ्नो जीवनमा “सबैभन्दा प्रभाव पार्ने” कुरा धर्म हो भन्छन्‌। संसारका अन्य भागहरूको अवस्था पनि यसैसित मिल्दोजुल्दो छ। त्यसकारण तपाईंको स्कूलका साथीहरू पनि बाइबलबारे तपाईंले बताउनुहुने कुरा सुन्‍न खुसी हुन सक्छन्‌।

युवाको हैसियतमा यहोवाको नजिक जानुहोस्‌

१६. यहोवालाई खुसी तुल्याउनुमा अरूलाई उहाँबारे बताउनुबाहेक कुन कुरा पनि समावेश छ?

१६ हो, यहोवाको हृदयलाई आनन्दित तुल्याउन उहाँबारे बताएर मात्र पुग्दैन। तपाईंको आचरण पनि उहाँका स्तरअनुरूप हुनुपर्छ। प्रेरित यूहन्‍नाले यस्तो लेखे: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कडा छैनन्‌।” (१ यूहन्‍ना ५:३) यहोवाको नजिक जानुभयो भने तपाईंले यो कुरा सत्य महसुस गर्नुहुनेछ। तपाईं कसरी उहाँको नजिक जान सक्नुहुन्छ?

१७. तपाईं कसरी यहोवाको नजिक जान सक्नुहुन्छ?

१७ बाइबल तथा बाइबलआधारित प्रकाशनहरू पढ्‌न समय निकाल्नुहोस्‌। यहोवाबारे जति धेरै सिक्नुहुन्छ, उहाँको आज्ञा पालन गर्न तथा अरूलाई उहाँबारे बताउन त्यति नै सजिलो हुनेछ। येशूले यसो भन्‍नुभयो: “असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ . . . किनकि हृदयमा जे प्रशस्त हुन्छ त्यही त्यसको मुखले बोल्दछ।” (लूका ६:४५) त्यसकारण आफ्नो हृदय असल कुराहरूले भर्नुहोस्‌। यस सन्दर्भमा लक्ष्य राखे कसो होला? तपाईं आउँदो हप्ताको सभाको लागि तयारी गर्ने सन्दर्भमा उन्‍नति गर्न सक्नुहुन्छ होला। तपाईंको अर्को लक्ष्य भनेको छोटो तर हृदयदेखि निस्केको टिप्पणी दिने हुन सक्छ। निस्सन्देह, तपाईंले जे सिक्नुहुन्छ, त्यो व्यवहारमा पनि उतार्नु अत्यावश्‍यक छ।—फिलिप्पी ४:९.

१८. तपाईंले केही विरोध सहनुपरे तापनि कुन कुराबारे निर्धक्क हुन सक्नुहुन्छ?

१८ यहोवाको सेवा गर्दा प्राप्त हुने आशिष्‌हरू चीरस्थायी र अझ भनौं भने, अनन्तकालीन हुन्छन्‌। हो, यहोवाको साक्षी भएको कारण कहिलेकाहीं तपाईंले केही हदसम्म सतावट वा खिसी सहनुपर्ने हुन सक्छ। तर मोशालाई विचार गर्नुहोस्‌। “तिनले आफ्नो दृष्टि प्रतिफलतिर लाएका थिए” भनी बाइबलले बताउँछ। (हिब्रू ११:२४-२६) यहोवाबारे सिक्न र अरूलाई उहाँबारे बताउन तपाईंले गर्नुभएको प्रयत्नको लागि यहोवाले अवश्‍य इनाम दिनुहुनेछ भन्‍ने कुरामा तपाईं पनि निर्धक्क हुन सक्नुहुन्छ। तपाईंको “काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ” तपाईंले देखाउनुभएको छ, सो उहाँले कहिल्यै बिर्सनुहुने छैन।—हिब्रू ६:१०.

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

के तपाईंलाई सम्झना छ?

• यहोवाले तपाईंको सेवाको मूल्यांकन गर्नुहुन्छ भनेर तपाईं किन पक्का हुन सक्नुहुन्छ?

• कसै-कसैले स्कूलमा साक्षी दिनको लागि कस्ता तरिकाहरू सफल पाएका छन्‌?

• सहपाठीहरूलाई साक्षी दिन तपाईं कसरी बलियो हुन सक्नुहुन्छ?

• तपाईं कसरी यहोवाको नजिक जान सक्नुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २०-मा भएको पेटी/चित्रहरू]

स-साना केटाकेटीहरूले समेत यहोवाको प्रशंसा गर्छन्‌!

किशोरावस्थामा नपुगेका केटाकेटीहरूले समेत स्कूलमा साक्षी दिन सकेका छन्‌। यी अनुभवहरूलाई विचार गर्नुहोस्‌।

पाँच कक्षामा पढ्‌ने दस वर्षीया याम्बरको कक्षामा दोस्रो विश्‍वयुद्धको दौडान यहूदीहरूले भोगेको नाजी सतावटबारे पढाइ भइरहेको थियो। याम्बरले आफ्नी शिक्षिकालाई पर्पल ट्रयांगल्स भिडिओ दिने निर्णय गरिन्‌। नाजी शासनको दौडान यहोवाका साक्षीहरू पनि सताइएका थिए भनी थाह पाउँदा ती शिक्षिका ती न छक परिन्‌। ती शिक्षिकाले उक्‍त भिडिओ पूरै कक्षालाई देखाइन्‌।

आठ वर्षकी एलेक्साले आफूले क्रिसमसको उत्सवमा भाग नलिनुको कारण खुलाउँदै तिनको कक्षालाई एउटा पत्र लेखिन्‌। तिनकी शिक्षिका अति नै प्रभावित भइन्‌ र एलेक्सालाई उक्‍त पत्र तिनको कक्षाका साथै अर्को दुइटा कक्षामा ठूलो स्वरले पढ्‌न लगाइन्‌! तिनले पत्रको अन्ततिर यसो भनिन्‌: “मलाई आफ्नोभन्दा भिन्‍न विश्‍वास भएका व्यक्‍तिहरूको कदर गर्न सिकाइएको छ र क्रिसमस नमनाउने मेरो निर्णयलाई तपाईंहरूले कदर गर्नुभएकोमा म धन्यवादी छु।”

एक कक्षामा पढ्‌न थालेको केही समयपछि, एरिकले बाइबलका कथाहरू भएको मेरो पुस्तक स्कूलमा लिएर गए र आफ्ना सहपाठीहरूलाई उक्‍त पुस्तक देखाउने अनुमति मागे। तर तिनकी शिक्षिकाले भनिन्‌: “मसँग एउटा अझ राम्रो उपाय छ। बरु कक्षाका सबैले सुन्‍ने गरी एउटा कथा पढ न, हुन्‍न?” एरिकले त्यसै गरे। पछि, एरिकले यो पुस्तक लिन चाहनेहरू सबैलाई हात उठाउन लगाए। शिक्षिकालगायत १८ जनाले आफ्नो हात उठाए। अहिले एरिकलाई आफूसित साक्षी दिने आफ्नै विशेष इलाका छ जस्तो लाग्छ।

नौ वर्षीया ह्विट्‌नी जेहोभाज्‌ विट्‌नेसेज एण्ड एजुकेशन पुस्तिकाको लागि कृतज्ञ छिन्‌। c तिनी यसो भन्छिन्‌: “अक्सर मेरी आमाले हरेक वर्ष मेरा शिक्षक-शिक्षिकाहरूलाई यो पुस्तिका दिनुहुन्छ। तर यो वर्ष भने म आफैले दिएँ। यही पुस्तिकाको कारण मेरी शिक्षिकाले मलाई ‘साताको उत्कृष्ट विद्यार्थी’ घोषित गर्नुभयो।”

[फुटनोट]

c उल्लिखित सबै प्रकाशनहरू यहोवाका साक्षीहरूद्वारा प्रकाशित हुन्‌।

[पृष्ठ २१-मा भएको पेटी/चित्रहरू]

आफ्नो विश्‍वासबारे बताउन कसै-कसैले सदुपयोग गरेका मौकाहरू

स्कूल रिपोर्ट वा प्रोजेक्ट तयार पार्ने जिम्मा पाउँदा कसै-कसैले साक्षी दिन मौका मिल्ने खालको विषय रोजेका छन्‌

थुप्रै युवाहरूले आफ्नो शिक्षकलाई कक्षामा छलफल गरिंदै गरेको विषयवस्तुसित सम्बन्धित भिडिओ वा प्रकाशन दिएका छन्‌

केही युवाहरूले खाली समयमा बाइबल वा बाइबलआधारित प्रकाशन पढ्‌दा, अरू युवाहरूले त्यसबारे प्रश्‍न सोधेका छन्‌

[पृष्ठ १८-मा भएको चित्र]

अनुभवी व्यक्‍तिहरूले युवाहरूलाई यहोवाको सेवा गर्नको लागि प्रशिक्षण दिन मदत गर्न सक्छन्‌