सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बोअज र रूथको असामान्य विवाह

बोअज र रूथको असामान्य विवाह

बोअज र रूथको असामान्य विवाह

बसन्त ऋतुको गतिविधिले बेतलेहेम नजिकैको खेतको खलामा निकै चहलपहल देखिन्छ। यो दिनभरि नै व्यस्त थियो। नयाँ ताजा चामल भुट्‌दाको बास्नाले गर्दा सबै भोका कामदारहरूले खाने बेला भएको पत्तो पाउँछन्‌। हरेकले आफ्नो परिश्रमको फल पाउनेछन्‌।

धनी जमिनदार बोअज अघाउन्जेल खानपीन गरिसकेपछि गहुँको ढिस्कोमा गएर आराम गर्छन्‌। पछि, कटनीको काम सिद्धिएपछि हरेक मानिस आराम गर्ने ठाउँतिर लाग्छन्‌। बोअज सन्तुष्ट भएर ओढ्‌नेले ग्वाम्म ढाकेपछि गहिरो निद्रामा पर्छन्‌।

गोप्य भेट

मध्यरातमा बोअज चिसो भएकोले काम्दै उठ्‌छन्‌। अहो! त्यहाँ त तिनको खुट्टामा ओढ्‌ने नै लागेको रहेनछ अनि अरू कोही त्यहीं सुतिरहेको पो रहेछ! अन्धकारमा ठम्याउन नसकेपछि तिनी सोध्छन्‌: “तिमी को हो?” एउटी आइमाईको यस्तो आवाज सुनिन्छ: “म तपाईंकी दासी रूथ हुँ। अब तपाईंको लुगा आफ्नी दासीलाई ओडाइदिनुहोस्‌, किनभने तपाईं मेरा नजीकका नातेदार हुनुहुन्छ।”—रूथ ३:१-९.

त्यस्तो एकलासे अन्धकारमा तिनीहरू दुई जना मात्र कुरा गर्न थाल्छन्‌। त्यसरी खेतको खलामा आइमाई आउने चलन थिएन। (रूथ ३:१४) तैपनि, बोअजको आग्रहमा रूथ तिनकै खुट्टानेर पल्टिरहन्छिन्‌ र बिहान सूर्योदय नहुँदै कसैले नदेखोस्‌ र तिनीहरूको कुरा नकाटोस्‌ भनेर गइहाल्छिन्‌।

के त्यो रोमान्टिक भेटघाट थियो? के त्यो दृश्‍य एक जना सम्पन्‍न व्यक्‍तिलाई रूथले चलाखीपूर्ण प्रेमजालमा फसाएको दृश्‍य हो, जो गरिब हुनुका साथै मूर्तिपूजक राष्ट्रबाट आउनुका साथै विधवा थिई? अथवा बोअजले पो रूथको नाजुक अवस्था र एक्लोपनको फाइदा उठाउँदै थिए? यी सबै प्रश्‍नको जवाफ परमेश्‍वरप्रतिको वफादारी र प्रेमसित सम्बन्धित छ। अनि यथार्थ कुरा अत्यन्तै हृदयविदारक छन्‌।

तर रूथ को हुन्‌? तिनको मनसाय के हो? अनि यी सम्पन्‍न मानिस बोअजचाहिं को हुन्‌?

“गुणवती”

यो घटना हुनुभन्दा धेरै अघि यहूदामा अनिकाल परेको थियो। चार जना भएको एउटा इस्राएली परिवार, एलिमेलेक, तिनकी स्वास्नी नाओमी अनि तिनीहरूका दुई जना छोरा महलोन र चिलियोन मोआबको उर्वर भूमिमा बसाइँ सरे। ती छोराहरूले दुई जना मोआबी स्त्रीहरू, रूथ र ओर्पासित विवाह गरे। ती तीन जना पुरुषको मोआबमा मृत्युभएपछि ती तीनै आइमाईहरूले इस्राएलको अवस्था सुध्रिएछ भन्‍ने कुरा सुने। त्यसैले छोराछोरी र नातिनातिनाको अभाव महसुस गरिरहेकी दुःखी विधवा नाओमीले आफ्नो मातृभूमि फर्कने निर्णय गरिन्‌।—रूथ १:१-१४.

इस्राएलमा फर्कंदै गर्दा नाओमीले ओर्पालाई आफ्नै मानिसहरूबीच फर्कनु भनी सम्झाइ बुझाइ गरिन्‌। त्यसपछि नाओमीले रूथलाई यसो भनिन्‌: “हेर त, तिम्रो बहिनी ता आफ्ना मानिसहरू र आफ्ना देवताहरूकहाँ फर्केर गई। तिमी उसितै फर्केर जाऊ।” तर रूथले यसो भनिन्‌: “मलाई . . . तपाईंलाई छोड़न कर नगर्नुहोस्‌। तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु। . . . तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌, औ तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनेछन्‌। तपाईं जहाँ मर्नुहुन्छ म पनि त्यहीं मर्नेछु, र त्यहींनै गाड़िनेछु।” (रूथ १:१५-१७) यसरी ती दुवै निस्सहाय विधवाहरू बेतलेहेम फर्के। त्यहाँ रूथले आफ्नी सासूप्रति देखाएको प्रेम र हेरचाहबाट प्रभावित भएर छिमेकीहरूले तिनी “[नाओमीका निम्ति] सात भाइ छोराभन्दा पनि असल सिद्ध भएकी” छिन्‌ भन्‍न थाले। अरूचाहिं तिनलाई “गुणवती” स्त्री भन्‍ने गर्थे।—रूथ ३:११; ४:१५.

बेतलेहेममा गहुँ कटनी गर्ने कार्य सुरु हुँदा रूथले नाओमीलाई यसो भनिन्‌: “म खेतमा गएर जसले मप्रति निगाह गर्ला त्यसको पछि शिला-बाला खोज्नलाई जाऊँ कि?”—रूथ २:२.

संयोगवश तिनी आफ्नै ससूरो एलिमेलेकको नातेदार बोअजको खेतमा पुग्छिन्‌। तिनले खेतको रेखदेख गर्ने व्यक्‍तिसित सिलाबाला टिप्ने अनुमति माग्छिन्‌। तिनको लगनशीलता प्रस्टै देखिन्छ अनि त्यस व्यक्‍तिले बोअजलाई तिनको कार्यको प्रशंसा गर्छन्‌।—रूथ १:२२–२:७.

संरक्षक तथा उपकारी

बोअज यहोवाका समर्पित उपासक हुन्‌। हरेक बिहान तिनी आफ्ना कामदारहरूलाई यसरी अभिवादन गर्थे: “परमप्रभु तिमीहरूसँग होऊन्‌,” अनि तिनीहरूचाहिं यस्तो जवाफ दिन्थे: “परमप्रभुले तपाईंलाई आशिष देऊन्‌।” (रूथ २:४) कामप्रति देखाएको लगनशीलता अनि नाओमीप्रति देखाएको वफादारीताबारे थाह पाएपछि बोअजले रूथलाई शिलाबाला खोज्ने सन्दर्भमा विशेष प्रबन्ध मिलाइदिन्छन्‌। संक्षेपमा भन्‍ने हो भने तिनी रूथलाई यसो भन्छन्‌: ‘मेरै खेतमा काम गर; तिमी अरूको खेतमा जानु आवश्‍यक छैन। मेरा ठिटीहरूसँग लागिरहो; तिमी तिनीहरूसित सुरक्षित हुनेछौ। मैले यी मानिसहरूलाई तिमीलाई नछुनु भनी आज्ञा दिएको छु। तिमीलाई तिर्खा लाग्दा तिम्रो लागि तिनीहरूले नै पानी उघारी दिनेछन्‌।’—रूथ २:८, ९.

रूथ भुईंसम्म घोप्टेर यसो भन्छिन्‌: “म विदेशी हुँ भनी जानेर पनि हजूरले किन यति कृपा गर्नुहुन्छ?” जवाफमा बोअज यसो भन्छन्‌: ‘आफ्नो लोग्नेको मृत्युपछि तिमीले आफ्नो सासूप्रति गरेका सबै कामको वृत्तान्त मैले थाह पाएको छु। तिमी आफ्ना आमा-बाबु, नातेदार र आफ्नो जन्म-भूमि छोड़ेर अपरिचित जातिकहाँ आयौ। परमप्रभुले तिम्रो कामको पुरस्कार तिमीलाई देऊन्‌। उहाँले नै तिमीले पाउनुपर्ने सबै कुरा देऊन्‌।’—रूथ २:१०-१२.

बोअजले तिनको माया पाउन खोजिरहेका होइनन्‌। तिनले साँचो हृदयले प्रशंसा गर्छन्‌। तिनले दिएको आश्‍वासनप्रति रूथ पनि निष्कपटता साथ कृतज्ञता जाहेर गर्छिन्‌। तिनी आफूले असीम अनुग्रह पाएको ठानेर झनै परिश्रम गरेर काम गर्न थाल्छिन्‌। पछि दिउँसोको खाना खाने बेला बोअज रूथलाई यसो भन्दै बोलाउँछन्‌: “यहाँ आएर केही खाऊ, र तिम्रो रोटी सिर्कामा चोप।” तिनी अघाउन्जेल खान्छिन्‌ र केही खाना घरमा नाओमीका लागि लगिदिन छुट्याउँछिन्‌।—रूथ २:१४.

दिनको अन्तमा रूथले झन्डै चार पाथीजति शिलाबाला टिपिन्‌। तिनी शिलाबाला र नाओमीको लागि जोगाएको खाना घरमा लैजान्छिन्‌। (रूथ २:१५-१८) त्यति धेरै शिलाबाला टिपेकोमा खुसी हुँदै नाओमी यसो भन्छिन्‌: “आज तिमीले कहाँ शिला-बाला बटुल्यौ? ती मानिस धन्यका होऊन्‌ जसले कृपागरी तिम्रो हेरचाहा गरे।” त्यो मानिस बोअज रहेछ भनी थाह पाएपछि नाओमी यसो भन्छिन्‌: “परमप्रभुले तिनलाई आशिष देऊन्‌, परमप्रभुले जिउँदा र मरेकाहरूमाथि कृपा गर्न छोड़नुभएन। . . . त्यो मानिस ता हाम्रा कुटुम्बका मानिस हुन्‌।”—रूथ २:१९, २०.

“घरबार” गराउने प्रयासमा

आफ्नी बुहारीको “घरबार” होस्‌ भन्‍ने चाहनाले गर्दा नाओमीले परमेश्‍वरको व्यवस्थाअनुरूप उद्धार गर्न आग्रह गर्ने मौकाको फाइदा उठाउँछिन्‌। (लेवी २५:२५; व्यवस्था २५:५, ६) अब नाओमीले बोअजको ध्यानाकर्षित गर्न रूथलाई एकदमै प्रभावकारी, अझ भनौं भने नाटकीय योजनाअनुरूप काम गर्न लगाउँछिन्‌। राम्ररी सिकाइएको हुनाले तयारीका साथ रातको निष्पट्ट अन्धकारमा रूथ बोअजको खेतको खलामा जान्छिन्‌। तिनी बोअजलाई सुतिरहेको भेट्टाउँछिन्‌। तिनी उनको खुट्टाबाट ओढ्‌ने हटाउँछिन्‌ र तिनी कहिले उठ्‌ने हो भनी पर्खेर बस्छिन्‌।—रूथ ३:१-७.

बोअज बिउँझेपछि रूथको लाक्षणिक कार्यले गर्दा ‘आफ्नो लुगा आफ्नी दासीलाई ओडाइदिनुहोस्‌’ भनेर तिनले गरेको आग्रहको महत्त्व बुझ्न बोअजलाई पक्कै पनि गाह्रो हुँदैन। रूथको यस्तो कार्यले ती वयस्क यहूदीलाई आफू रूथको मृत पति महलोनको कुटुम्ब भएको नाताले उद्धारकको दायित्व पूरा गर्नुपर्ने कुराको सम्झना दिलायो।—रूथ ३:९.

रूथ त्यसरी राती आउलिन्‌ भनेर आशा गरिएको थिएन। तथापि, उद्धार गर्ने दायित्व तिनको हो भनेर रूथले गरेको दाबी भने असामान्य थिएन भनी बोअजको प्रतिक्रियाले देखायो। रूथको आग्रह अनुरूप कार्य गर्न बोअज इच्छुक थिए।

रूथको आवाज अलि त्रसित सुनिन्थ्यो होला, त्यसैकारण बोअजले तिनलाई यस्तो आश्‍वासन दिन्छन्‌: “हे मेरी छोरी, ढुक्क भएर बस। तिमी जे चाहन्छौ म गर्नेछु, किनभने तिमी गुणवती छौ भन्‍ने कुरा यस नगरका सबै मानिसलाई थाह भइसकेको छ।”—रूथ ३:११.

रूथको काम सद्‌गुणी थियो भन्‍ने कुरा बोअजले व्यक्‍त गरेका यी शब्दहरूबाट प्रकट हुन्छ: “हे मेरी छोरी, परमप्रभुले तिमीलाई आशिष दिनुभएको छ। तिमीले देखाएको यो आखिरी भक्‍ति पहिलेको भन्दा प्रगाढ़ छ।” (रूथ ३:१०) पहिला, रूथले नाओमीप्रति कृपा वा वफादार प्रेम प्रकट गरिन्‌। पछि बोअज उद्धारक भएको हुनाले आफूभन्दा निकै पाको उमेरको व्यक्‍तिसामु मनमा कुनै संकोच नराखी आफ्नो चिनारी दिइन्‌। तिनी आफ्नो मृत पति महलोनको नाउँ अनि नाओमीको खातिर सन्तान जन्माउन इच्छुक थिइन्‌।

उद्धारक पछि हट्‌छन्‌

भोलिपल्ट बिहान, बोअजसितभन्दा नाओमीसित नजिकको नाता भएको एक जना कुटुम्बलाई बोअजले बोलाउँछन्‌। त्यस शहरका बासिन्दा तथा बूढा-प्रधानहरूका सामु बोअज यसो भन्छन्‌: ‘तपाईंले एलीमेलेकको नाउँमा रहेको एक टुक्रा जमीन नाओमीबाट लिनुहोस्‌ भनी तपाईंसित यो कुरा उठाउने मैले प्रतिज्ञा गरेको छु। किनभने तिनले त्यो बेच्नैपर्छ।’ बोअज थप यसो भन्छन्‌: ‘के तपाईं खरिद गर्नुहुन्छ? गर्नुहुन्‍न भने म नै खरिद गर्नेछु।’ त्यो कुरा सुनिसकेपछि त्यस नातेदारले खरिद गर्ने संकेत दिन्छन्‌।—रूथ ४:१-४.

तर ती नातेदार अब छक्क पर्छन्‌! सबै साक्षीहरूका सामु बोअज यसो भन्छन्‌: “नाओमीबाट त्यो खेत लिएको दिन मरेको मानिसको पैतृकसम्पत्तिसँग तिनको नाउँ कायम राख्नलाई ती मरेका मानिसकी स्वास्नी मोआबी रूथ पनि तपाईंले प्राप्त गर्नुहुनेछ।” आफ्नै पैत्रिक सम्पत्ति गुमाउनुपर्ला भन्‍ने डरले त्यो नातेदार अरूको उद्धार गर्ने अधिकारबाट यसो भन्दै पन्छिन्छन्‌: “म आफै यो काम गर्नसक्‍तिनँ।”—रूथ ४:५, ६.

चलनअनुसार त्यस्तो उद्धार गर्न अस्वीकार गर्ने मानिसले जुत्ता फुकालेर आफ्नो दौंतरीलाई दिनुपर्थ्यो। त्यसैले “तपाईंले आफ्नै निम्ति त्यो किन्‍नहोस्‌” भनी बोअजलाई आग्रह गर्दा तिनी आफ्नो जुत्ता फुकाल्छन्‌। त्यसपछि बोअज ती बूढा-प्रधानहरू र सबै मानिसहरूलाई यसो भन्छन्‌: “मैले आजको दिन एलीमेलेक औ महलोन र किल्योनका जे जति छन्‌ सो सबै नाओमीको हातबाट प्राप्त गरेको कुरामा तपाईंहरू साक्षी हुनुहुन्छ। यसबाहेक महलोनकी पत्नी मोआबी रूथलाई पनि ती मरिसकेका मानिसको नाउँ कायम राख्नलाई . . . मैले आफ्नी पत्नी हुनलाई प्राप्त गरेको छु। तपाईंहरू आजको दिन साक्षी हुनुहुन्छ।”—रूथ ४:७-१०.

त्यस मूलढोकामा हुने सबैले बोअजलाई यसो भन्छन्‌: “तपाईंको घरमा आउने यी स्त्रीलाई परमप्रभुले इस्राएलको घराना निर्माण गर्ने राहेल र लेआजस्तै तुल्याऊन्‌। तपाईंबाट इफ्रातामा ठूलो काम होस्‌, र बेतलेहेममा तपाईंको नाउँ जीवित रहोस्‌।”—रूथ ४:११, १२.

मानिसहरूको आशिष्‌ पाएपछि बोअजले रूथलाई आफ्नी पत्नीको रूपमा स्वीकार्छन्‌। तिनीबाट ओबेद नाउँको छोरो जन्मिन्छ अनि यसरी रूथ र बोअज, राजा दाऊद अन्ततः येशू ख्रीष्टका पुर्खाहरू भए।—रूथ ४:१३-१७; मत्ती १:५, ६, १६.

“पुरस्कार”

यस विवरणबाट प्रस्ट भएझैं आफ्ना कामदारहरूलाई अभिवादन गर्ने कुरादेखि लिएर एलीमेलेकको परिवारको नाउँ कायम राख्ने दायित्व स्वीकारुन्जेलसम्म बोअज एक जना उल्लेखनीय व्यक्‍ति ठहरिए। तिनी अख्तियार भएको व्यक्‍तिझैं बोल्थे अनि तुरुन्तै कदम चालिहाल्ने खालका व्यक्‍ति थिए। साथै, तिनी आत्मसंयमी, विश्‍वासी र वफादार पनि थिए। बोअज उदार, दयालु, नैतिक तवरमा स्वच्छ अनि यहोवाका आज्ञाहरूप्रति पूर्णतया आज्ञाकारी थिए।

रूथचाहिं यहोवाप्रति देखाएको प्रेम, नाओमीप्रतिको वफादारीता अनि परिश्रमी र नम्रता जस्ता गुणहरूले गर्दा उल्लेखनीय साबित भइन्‌। त्यसैकारण, मानिसहरूले तिनलाई “गुणवती” भनेर वर्णन गर्नु कुनै अनौठो कुरा होइन। तिनी “परिश्रम विनाको कमाइ” खाँदिन थिइन्‌ अनि परिश्रमी भएकी हुँदा खाँचोमा परेकी आफ्नी सासूलाई पनि केही दिन सक्ने भइन्‌। (हितोपदेश ३१:२७, ३१) नाओमीप्रति कर्तव्यबोध महसुस गर्दा रूथले पक्कै पनि अरूलाई दिंदा प्राप्त हुने आनन्द महसुस गरेको हुनुपर्छ।—प्रेरित २०:३५; १ तिमोथी ५:४, ८.

रूथको पुस्तकमा हामी कस्तो राम्रो उदाहरणहरू पाउँछौं! यहोवाले नाओमीलाई बिर्सनुहुन्‍न। रूथले ‘पुरस्कारस्वरूप’ येशू ख्रीष्टको पुर्खा हुने अवसर पाइन्‌। बोअजले “गुणवती” स्त्री आफ्नो पत्नीको रूपमा पाए। हाम्रोलागि त्यस्ता व्यक्‍तिहरू विश्‍वासका राम्रा उदाहरणहरू हुन्‌।

[पृष्ठ २६-मा भएको पेटी]

आशाको किरण

तपाईं पनि आफ्नो जीवन दुःखदायी अवस्थाबाट गुज्रिरहेको महसुस गर्दै हुनुहुन्छ भने रूथको कथाबाट आशाको किरण पाउन सक्नुहुन्छ। यो विवरण न्यायकर्ताको पुस्तकको लागि एउटा महत्त्वपूर्ण सारांश भएको छ। रूथको पुस्तकले विदेशी भूमि मोआबबाट आएको एक जना नम्र विधवालाई यहोवाले आफ्ना जनहरूका निम्ति राजा खडा गर्न कसरी चलाउनुभयो भन्‍ने कुरा बताउँछ। न्यायकर्ता पुस्तकको अन्तमा रूथको विश्‍वास त्यस युगको ज्योतिझैं चम्कन थाल्छ।

रूथको कथा पढेपछि तपाईं एउटा कुरामा ढुक्क हुन सक्नुहुन्छ, जस्तोसुकै कठिन परिस्थितिमा हुनुभए तापनि परमेश्‍वरले आफ्ना जनहरूको हेरचाह गर्नुहुन्छ र उहाँले आफ्नो उद्देश्‍य पूरा गर्नु हुन्छ।