सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आध्यात्मिक मूल्यमान्यताहरू त्यसलाई के हुँदैछ?

आध्यात्मिक मूल्यमान्यताहरू त्यसलाई के हुँदैछ?

आध्यात्मिक मूल्यमान्यताहरू त्यसलाई के हुँदैछ?

“विवाह गर्नुअघि विवाहसम्बन्धी सल्लाह दिने साँझको क्याथोलिक कार्यक्रममा पन्ध्र जोडीजसो आउने गर्छन्‌। उपस्थित ३० जनामध्ये ३ जनाले मात्र आफूसित विश्‍वास भएको कुरा बताउँछन्‌।”—ला क्रोआ, फ्रान्सेली क्याथोलिक दैनिक।

धार्मिक मूल्यमान्यताहरू संकटमा परेका छन्‌। न्युजवीक जुलाई १२, १९९९ को अन्तरराष्ट्रिय संस्करणको आवरणमै यस्तो प्रश्‍न सोधिएको थियो: “के परमेश्‍वर मरिसक्यो?” पश्‍चिमी युरोपका बासिन्दाहरूलाई वास्तवमा त्यस्तै लाग्छ। त्यसै वर्षको अक्टोबरमा रोममा बसेको क्याथोलिक चर्चको धर्मसभाको प्रतिवेदन प्रस्तुत गर्दै फ्रान्सेली पत्रिका ले मोन्डे-ले यस्तो टिप्पणी गऱ्‍यो: “चर्चप्रति ‘एलर्जी’ भइरहेको संस्कृतिमा चर्चलाई आफ्नो सन्देश सुनाउन कठिनाइ परिरहेको छ। . . . इटालीमा अब क्याथोलिकवादमा एकमत छैन। . . . जर्मनीमा गर्भपतन गर्नुअघि दिइने सुझाव केन्द्रहरूसम्बन्धी विवादले गर्दा पोप र प्रजातन्त्रबीचको दूरी बढ्‌दैछ किनभने प्रजातन्त्रवादीहरू तानाशाहहरूको कुरा सुन्‍न चाहँदैनन्‌। [नेदरल्याण्ड्‌समा] मसीही धर्म त्यागिएपछि नै मानिसहरूले नैतिक नियमहरू छोड्‌नुका साथै आफ्नो इच्छाले मर्न पाउनु पर्छ भन्‍ने स्वच्छन्द अडान लिन थालेका हुन्‌ भनेर अवलोकनकर्ताहरू बताउँछन्‌।”

अरू ठाउँमा पनि परिस्थिति यस्तै छ। सन्‌ १९९९ मा क्यान्टबरीका आर्चविशप जर्ज क्यारीले बेलाइतको चर्च “अबको एक पुस्तापछि लोप हुनेछ” भन्‍ने चेतावनी दिए। “मसीही युरोपको अन्त” विषयक लेखमा फ्रान्सेली अखबार ले फिगारो-ले यसो भन्यो: “अरू ठाउँमा पनि यस्तै भइरहेको छ। . . . मानिसहरूले नैतिक तथा धार्मिक सिद्धान्तहरूप्रति एकपछि अर्को शंका उपशंका व्यक्‍त गर्दै छन्‌।”

धार्मिक सहभागितामा कमी

युरोपमा, चर्चको उपस्थिति संख्यामा तीव्र गिरावट आएको छ। हरेक आइतबार मासमा १० प्रतिशतभन्दा पनि कम फ्रान्सेली क्याथोलिकहरू उपस्थित हुन्छन्‌ भने पेरिसका ३ देखि ४ प्रतिशत मात्र नियमित तवरमा चर्च धाउँछन्‌। त्यतिनै वा त्योभन्दा पनि कम उपस्थिति संयुक्‍त अधिराज्य, जर्मनी र स्कान्डिनाभियाली राष्ट्रहरूमा पनि देखिन थालेको छ।

धार्मिक अधिकारीहरूबीच व्याप्त गम्भीर चिन्ता भनेको पादरी बन्‍न चाहने उम्मेदवारहरूको अभाव पनि हो। एक शताब्दीभन्दा कम समयको दौडान फ्रान्समा पादरीहरूको संख्या अपत्यारिलो ढंगमा घटेर १०,००० बासिन्दाको रेखदेख गर्न रहेको १४ जना पादरीबाट आज १०,००० को लागि १ जना पुगेको छ। युरोपमा पादरीहरूको सरदर आयु बढ्‌दैछ र आयरल्याण्ड तथा बेल्जियमजस्ता देशहरूमा समेत पादरीहरूको कमी खट्‌किन थालेको छ। साथै, धार्मिकशिक्षा हासिल गर्न भर्ना हुन आउने बच्चाहरूको संख्यामा पनि कमी आइरहेको हुनाले क्याथोलिक चर्चहरूको अस्तित्वमाथि गम्भीर प्रश्‍न उब्जिन थालेको छ।

धर्मप्रति मानिसहरूको विश्‍वासलाई विचार गर्दा त्यो हराउँदै गएको पाइन्छ। जम्मा ६ प्रतिशत फ्रान्सेलीहरू मात्र “सत्य एउटै धर्ममा मात्र पाउन सकिन्छ” भन्‍ने विश्‍वास गर्छन्‌ जबकि त्यो संख्या सन्‌ १९८१ मा १५ प्रतिशत र १९५२ मा भने ५० प्रतिशत थियो। धार्मिक भावशून्यता फैलिंदैछ। धर्मसित कुनै सरोकार छैन भन्‍ने व्यक्‍तिहरूको अनुपात १९८० मा २६ प्रतिशतबाट बढेर २००० मा ४२ प्रतिशत पुगेको छ।— लेस भ्यालियुर्स डी फ्रांसे—भोल्युशो डे १९८० ऐ २००० (फ्रान्सेली मूल्यमान्यताहरू—सन्‌ १९८० देखि २००० सम्मको विकासक्रम)।

नैतिक मूल्यमान्यताहरूमा आमूल परिवर्तन

नैतिकतासम्बन्धी मूल्यमान्यताहरू पनि खस्कँदै गइरहेको देख्न सकिन्छ। अघिनै वर्णन गरिएझैं चर्च धाउने थुप्रै मानिसहरू आफ्नो चर्चले दिएको नैतिकतासम्बन्धी आदेशहरू मान्‍न इन्कार गर्छन्‌। तिनीहरू आफ्ना बानीबेहोरासम्बन्धी स्तरहरू निर्धारण गर्ने अधिकार धार्मिक नेताहरूसित छ भन्‍ने कुरामा सहमत छैनन्‌। मानव-अधिकारको पक्षमा पोपले केही कुरा बोल्दा सहमति जनाउने भीडसमेत आफ्नो व्यक्‍तिगत जीवनमा असर पार्ने कुनै कुरा बोल्दा पोपको कुरा मान्‍न इन्कार गर्छन्‌। उदाहरणको लागि, जन्म निरोधको विषयमा तिनले लिएको अडानलाई थुप्रै मानिसहरू, अझ भनौं भने क्याथोलिक दम्पतीहरूले समेत बेवास्ता गर्छन्‌।

यस्तो धारणाले धर्म मान्‍ने र नमान्‍ने दुवैखाले अनि समाजका जुनसुकै स्तरका मानिसहरूलाई असर गर्छ। पवित्र धर्मशास्त्रले सुस्पष्ट निषेध गरेका थुप्रै चलनहरू अपनाइन्छ। बीस वर्षअघि ४५ प्रतिशत फ्रान्सेली नागरिकहरू समलिंगी व्यवहारलाई हेयको दृष्टिले हेर्थे। आजभने ८० प्रतिशतले यसलाई स्वीकार्य मानेका छन्‌। वैवाहिक वफादारीलाई अधिकांश मानिसहरूले स्वीकारे तापनि ३६ प्रतिशतले मात्र विवाह बाहिर राखिने सम्बन्ध कहिल्यै उचित हुँदैन भनेर त्यसको घोर भर्त्सना गरेका छन्‌।—रोमी १:२६, २७; १ कोरिन्थी ६:९, १०; हिब्रू १३:४.

धर्म खिचडी भएको छ

पश्‍चिमी समाजमा आफ्नो इच्छाअनुसार गर्ने धर्मको विकास हुन थालेको छ र हरेक व्यक्‍तिले आफूले चाहेअनुसारका विश्‍वासहरू रोज्न सक्छन्‌। केही खास धर्मसिद्धान्तहरू अपनाएर बाँकीलाई इन्कार गरिन्छ। कोही कोही आफूलाई मसीही भन्‍न त रुचाउँछन्‌ तर पुनर्जन्ममाथि पनि विश्‍वास गरिरहेका हुन्छन्‌ र अरूचाहिं बेग्लाबेग्लै धार्मिक मूल्यमान्यताहरू पछ्याउँछन्‌। (उपदेशक ९:५, १०; इजकिएल १८:४, २०; मत्ती ७:२१; एफिसी ४:५, ६) लेस भ्यालियुर्स डी फ्रांसे पुस्तकले आज थुप्रै विश्‍वासीहरू चर्चले स्थापना गरेको मान्यताहरूबाट तर्किरहेका छन्‌ भन्‍ने कुरा देखायो।

तथापि, आफूलाई मनपरेजस्तो धर्म गर्ने बढ्‌दो झुकावका पनि खतराहरू छन्‌। धर्मसम्बन्धी इतिहासकार तथा इन्स्टिच्युट डे फ्रान्सका सदस्य झाँ डेलुम्यु कुनै पनि व्यक्‍तिले कुनै स्थापित परिपाटीबाट अलग रहेर आफ्नै धर्म बनाउनु असंभव छ भन्‍ने दृढ विश्‍वास गर्छन्‌। “कुनै खास मतमा आधारित छैन भने धर्मको अस्तित्व रहन सक्दैन।” ठोस आध्यात्मिक मूल्यमान्यताहरू धार्मिक प्रचलनहरूमा संयोजित हुनैपर्छ। यस्तो परिवर्तनले असर गरिरहेको समाजमा धार्मिक प्रचलनहरू र आध्यात्मिक मूल्यमान्यताहरूको संयोजन कहाँ पाउन सकिन्छ?

बाइबलका सम्पूर्ण पानाहरूले हामीलाई स्वीकार्य चालचलन तथा नैतिकता निर्धारण गर्ने काम परमेश्‍वरको हो भन्‍ने सम्झना दिलाउँछ। यद्यपि परमेश्‍वरले हामीलाई त्यसअनुसार चल्ने वा नचल्ने निर्णय गर्ने स्वतन्त्रता भने दिनुभएको छ। पहिल्यैदेखि सम्मान पाउँदै आएको यस पुस्तकको आज पनि व्यावहारिक महत्त्व छ र यो ‘आफ्नो खुट्टाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालो हो’ भनेर विश्‍वव्यापी रूपमा लाखौं मानिसहरूले मानिलिएका छन्‌। (भजन ११९:१०५) तिनीहरू कसरी त्यस्तो निष्कर्षमा पुगे? यसबारे अर्को लेखमा छलफल गरिनेछ।