‘तिमीहरूले धेरै फल फलाइरहो’
‘तिमीहरूले धेरै फल फलाइरहो’
“तिमीहरूले धेरै फल फलायौ भने, . . . तिमीहरू मेरा चेला हुनेछौ।”—यूहन्ना १५:८.
१. (क) येशूले चेला हुने सन्दर्भमा कुन आवश्यकताबारे प्रेरितहरूलाई बताउनुभयो? (ख) हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ?
उहाँको मृत्यु हुनुभन्दा अघिल्लो साँझको कुरा हो। येशूले आफ्ना प्रेरितहरूसित मन खोलेर कुराकानी गर्दै प्रोत्साहन दिन प्रशस्त समय बिताइसक्नुभएको थियो। यतिखेर मध्य रात भइसकेको हुनुपर्छ तरैपनि आफ्ना घनिष्ठ मित्रहरूप्रतिको प्रेमको कारण येशूले कुरा गरिरहनुभयो। त्यसपछि, कुराकानीको बीचमा उहाँले तिनीहरूलाई उहाँको चेला रहिरहन पूरा गर्नुपर्ने अर्को एउटा आवश्यकताबारे सम्झाउनुभयो। उहाँले यसो भन्नुभयो: “तिमीहरूले धेरै फल फलायौ भने, त्यसैमा मेरा पिताको महिमा हुनेछ, र तिमीहरू मेरा चेला हुनेछौ।” (यूहन्ना १५:८) चेलाहरूले पूरा गर्नुपर्ने यो आवश्यकता के हामीले पूरा गरिरहेका छौं? ‘धेरै फल फलाउनु’ भनेको के हो? यसको जवाफ पाउन त्यही साँझ भएको कुराकानीमा ध्यान देऔं।
२. आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात येशूले फलबारे कस्तो दृष्टान्त बताउनुभयो?
२ फल फलाउने सल्लाह, येशूले आफ्ना प्रेरितहरूलाई दिनुभएको दृष्टान्तको एउटा भाग हो। उहाँले यसो भन्नुभयो: “साँचो दाखको बोट म हुँ, औ मेरा पिता किसान हुनुहुन्छ। ममा फल नफल्ने हरेक हाँगालाई उहाँले छाँट्नु हुन्छ, औ फल फल्ने हरेक हाँगालाई झन् बढता फल फलोस् भनी उहाँले छिंवल्नुहुन्छ। मैले तिमीहरूलाई बोलेका वचनको कारणले गर्दा तिमीहरू अघिनै शुद्ध भइसकेका छौ। ममा रहो, र म तिमीहरूमा, जसरी हाँगा दाखको बोटमा रहेन भने त्यो आफैले फल फलाउनसक्तैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्तैनौ। दाखको बोट मै हुँ, तिमीहरू चाहिं हाँगाहरू हौ। . . . तिमीहरूले धेरै फल फलायौ भने, त्यसैमा मेरा पिताको महिमा हुनेछ, र तिमीहरू मेरा चेला हुनेछौ। जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू मेरो प्रेममा रहो। मेरा आज्ञाहरू पालन गर्छौ भने, तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु, र उहाँका प्रेममा रहन्छु।”—यूहन्ना १५:१-१०.
३. फल फलाउन येशूका अनुयायीहरूले के गर्नुपर्छ?
३ यस दृष्टान्तमा दाखको बोट लगाउने किसान यहोवा हुनुहुन्छ, दाखको बोट येशू हुनुहुन्छ र येशूले हाँगा भनी सम्बोधन गर्नुभएको उहाँका प्रेरितहरू हुन्। प्रेरितहरू येशूसित ‘रहुन्जेल’ तिनीहरूले फल फलाउनेथिए। त्यसपछि येशूले प्रेरितहरू यस्तो अपरिहार्य एकता कायम राख्न कसरी सफल हुनेछन् भन्ने कुरा यसरी बुझाउनुभयो: “मेरा आज्ञाहरू पालन गर्छौ भने, तिमीहरू मेरो प्रेममा रहनेछौ।” पछि प्रेरित यूहन्नाले पनि सँगी मसीहीहरूलाई यस्तै कुरा लेखे: “जसले [ख्रीष्टका] आज्ञाहरू पालन गर्छ, त्यो उहाँमा . . . रहन्छ।” a (१ यूहन्ना २:२४; ३:२४) यसर्थ, ख्रीष्टको आज्ञा पालन गरेर उहाँका चेलाहरू उहाँमा रहन्छन् अनि त्यस्तो एकताले फल फलाउन मदत गर्छ। हामीले फलाउनुपर्ने फलको विशेषता के हो?
वृद्धिको मौका
४. यहोवाले फल नफलाउने हाँगालाई “छाँट्नुहुन्छ” भन्ने बुँदाबाट हामी के सिक्न सक्छौं?
४ दाखको बोटको दृष्टान्तमा यहोवाले फल नफलाउने हाँगालाई “छाँट्नु हुन्छ” वा काट्नुहुन्छ। यसले हामीलाई के बताउँछ? यसको मतलब सबै चेलाहरूले फल फलाउनुपर्छ भनेको मात्र होइन तर परिस्थिति वा सीमितता जस्तोसुकै भए तापनि सबै जना त्यस्तो फल फलाउन सक्षम छन्। ख्रीष्टको चेलाले आफ्नो क्षमता वा सीमितताले नभ्याउने काम गर्न नसक्दा “छाँट्नु” वा अयोग्य ठहराउनु यहोवाको मायालु कार्यको विपरीत हुनेछ।—भजन १०३:१४; कलस्सी ३:२३; १ यूहन्ना ५:३.
५. (क) येशूको दृष्टान्तले हामी अझ बढी फलदायी हुन सक्छौं भनेर कसरी देखाउँछ? (ख) हामी कुन दुई प्रकारका फलबारे विचार गर्नेछौं?
५ दाखको बोटबारे येशूको दृष्टान्तले देखाएअनुसार हाम्रो परिस्थितिले दिउन्जेल हामीले चेलाको हैसियतमा आफ्नो कार्य बढाउँदै लैजानुपर्छ। यसबारे येशू के भन्नुहुन्छ, ध्यान दिनुहोस्: “ममा फल नफल्ने हरेक हाँगालाई उहाँले छाँट्नु हुन्छ, औ फल फल्ने हरेक हाँगालाई झन् बढता फल फलोस् भनी उहाँले छिंवल्नुहुन्छ।” (यूहन्ना १५:२) दृष्टान्तको अन्ततिर येशूले आफ्ना अनुयायीहरूलाई “झन बढ्ता फल” फलाउन आग्रह गर्नुभयो। (पद ८) यहाँ भन्न खोजिएको कुरा के हो? चेलाहरूको हैसियतमा हामी कहिल्यै आलस्य हुनुहुँदैन। (प्रकाश ३:१४, १५, १९) बरु, हामीले अझ बढी फल फलाउने तरिकाहरू खोज्नुपर्छ। हामीले कस्तो प्रकारको फल अझ प्रचुर मात्रामा फलाउने प्रयास गर्नुपर्छ? ती हुन् (१) “आत्माको फल” र (२) राज्यको फल।—गलाती ५:२२, २३; मत्ती २४:१४.
मसीही गुणका फलहरू
६. येशू ख्रीष्टले कसरी आत्माको फलमध्ये सुरुमा उल्लिखित फलको महत्त्वमा जोड दिनुभयो?
६ “आत्माको फल[को]” सुरुमा प्रेम उल्लेख गरिएको छ। परमेश्वरको पवित्र आत्माले मसीहीहरूमा प्रेम पैदा गर्छ किनभने येशूले फल फलाउने दाखबारे दृष्टान्त दिनुभन्दा एक छिनअघि दिनुभएको आज्ञा चेलाहरूले पालन गर्छन्। उहाँले प्रेरितहरूलाई यसो भन्नुभयो: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर।” (यूहन्ना १३:३४) वास्तवमा भन्ने हो भने, पार्थिव जीवनको अन्तिम रात गर्नुभएको कुराकानीको दौडान येशूले प्रेम देखाउनुपर्ने खाँचोबारे प्रेरितहरूलाई बारम्बार सम्झाउनुभयो।—यूहन्ना १४:१५, २१, २३, २४; १५:१२, १३, १७.
७. प्रेरित पत्रुसले फल फलाउनु र ख्रीष्टको जस्तो गुण फलाउनुबीच सम्बन्ध छ भनेर कसरी देखाए?
७ त्यो रात उपस्थित पत्रुसले ख्रीष्टको जस्तो प्रेम र त्यससित सम्बन्धित गुणहरू ख्रीष्टका साँचो अनुयायीहरूले प्रकट गर्नुपर्छ भनेर बुझे। वर्षौंपछि पत्रुसले मसीहीहरूलाई आत्मसंयम, भ्रातृप्रेम र प्रेमजस्ता गुणहरू खेती गर्न प्रोत्साहन दिए। अनि त्यसो गर्दा “बेकम्मा र निष्फल” हुनदेखि जोगिनेछौं भनी बताए। (२ पत्रुस १:५-८) परिस्थिति जस्तो सुकै भए तापनि हामीले आत्माको फल फलाउन सक्छौं। त्यसकारण, हामी प्रेम, दया, नम्रता र ख्रीष्टको जस्तो अरू गुणहरू देखाउने प्रयास गरौं किनभने “यस्ताका विरुद्धमा कुनै व्यवस्था” वा सीमा छैन। (गलाती ५:२३) साँच्चै, हामीले “अझ बढ्ता फल” फलाइरहौं।
राज्य फल फलाउने
८. (क) आत्माको फल र राज्य फलबीचको सम्बन्ध के हो? (ख) हामीले कुन प्रश्नमाथि विचार गर्नुपर्छ?
८ रङबिरङ तथा रसिलो फलले बोटको शोभा बढाउँछ। तथापि, फलको महत्त्व बोटको शोभा बढाउनु मात्र होइन। बीउद्वारा बोट फैलाउन पनि फल अत्यावश्यक हुन्छ। त्यसै गरी, आत्माको फलले हाम्रो मसीही व्यक्तित्वको शोभा बढाउने मात्र होइन। प्रेम र विश्वासजस्ता गुणहरूले हामीलाई परमेश्वरको वचनमा पाइने राज्य सन्देशको बीउ फैलाउन उत्प्रेरित गर्छ। यस अपरिहार्य सम्बन्धलाई पावलले कसरी जोड दिएका छन्, विचार गर्नुहोस्। तिनी यसो भन्छन्: “हामी पनि विश्वास गर्दछौं [जुन आत्माको फलको एउटा भाग हो], यसैकारण हामी बोल्छौं पनि।” (२ कोरिन्थी ४:१३) यसप्रकार, हामी “निरन्तर स्तुतिको बलिदान परमेश्वरलाई चढाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो” भनेर पावल थप विवरण दिन्छन्। (हिब्रू १३:१५) के हाम्रो जीवनमा अझ बढी फलदायी हुन सक्ने ठाउँ छ? अर्थात् के हामी परमेश्वरको राज्यका उद्घोषकहरूको हैसियतमा “धेरै फल” फलाउन सक्छौं?
९. के फल फलाउनु भनेको चेला बनाउनु मात्र हो? वर्णन गर्नुहोस्।
९ यसको सही जवाफ दिन हामीले पहिला राज्यको फल फलाउनुमा कुन-कुन कुरा मुछिएको छ भनेर बुझ्नुपर्छ। फल फलाउनु भनेको चेला बनाउनु हो भन्ने निष्कर्षमा पुग्नु के सही हुनेछ? (मत्ती २८:१९) के फल फलाउनु भन्नाले हामीले यहोवाका बप्तिस्माप्राप्त उपासकहरू हुन मदत गरेका व्यक्तिहरूलाई मात्र सम्बोधन गरिरहेको हुन सक्छ? हुन सक्दैन। त्यसो हुँदो हो त, राज्य सन्देशप्रति भावशून्य इलाकामा वर्षौंदेखि प्रचार गरिरहेका प्रिय साक्षीहरू असाध्यै निराश हुनेथिए। हो, हामीले फलाउने राज्य फल भनेको नयाँ चेलाहरू मात्र हुँदो हो त ती मेहनती साक्षीहरू येशूको दृष्टान्तका काम नलाग्ने हाँगाजस्तै हुनेछन्! निस्सन्देह, कुरा त्यस्तो होइन। त्यसोभए, हाम्रो सेवकाईको खास राज्य फल के हो?
राज्य बीउ फैलाएर फलदायी
१०. बीउ छर्ने र विभिन्न प्रकारको जमिनबारे येशूको दृष्टान्तले राज्य बीउ के हो र के होइन भनेर कसरी देखाउँछ?
१० बीउ छर्ने र विभिन्न प्रकारको जमिनबारे येशूले बताउनुभएको दृष्टान्तले यसको जवाफ दिन्छ —यो त्यति फलदायी नभएका इलाकामा साक्षी दिनेहरूको लागि साँच्चै प्रोत्साहनजनक जवाफ हो। येशूले भन्नुभएअनुसार बीउ भनेको परमेश्वरको वचनमा पाइने राज्य सन्देश हो अनि जमिनले मानिसको प्रतीकात्मक हृदयलाई बुझाउँछ। कुनै बीउ “असल जमिनमा परे, र उम्रेर सय . . . फल फलाए।” (लूका ८:८) कस्तो फल? गहुँको बोट उम्रेर पाकेपछि त्यसले गहुँको डाँठ नभई नयाँ बीउको रूपमा फल फलाउँछ। त्यसरी नै, मसीहीले फलाउने फल नयाँ चेलाहरू नभई नयाँ राज्य बीउ हुन्।
११. राज्य फललाई कसरी परिभाषित गर्न सकिन्छ?
११ तसर्थ, यस सन्दर्भमा फल भनेको न त नयाँ चेला हो न असल मसीही गुणहरू नै हुन्। यो बीउ, राज्य सन्देश भएकोले फल भनेको बीउ धेरै गुणा बढ्नु हुन सक्छ। यस सन्दर्भमा फल फलाउनु भनेको परमेश्वरको राज्यबारे अरूलाई बताउनु हो। (मत्ती २४:१४) हाम्रो परिस्थिति जस्तोसुकै भए तापनि के हामी त्यस्तो राज्य फल फलाउन अर्थात् परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्न सक्दैनौं र? अवश्य सक्छौं! त्यही दृष्टान्तमा येशूले यसको कारण पनि बताउनुभएको छ।
परमेश्वरको महिमाको लागि आफ्नो सर्वोत्तम कुरा चढाउने
१२. के सबै मसीहीहरूले राज्य फल फलाउन सक्छन्? वर्णन गर्नुहोस्।
१२ येशूले यसो भन्नुभयो, “असल जमीनमा छरिएको चाहिं . . . कुनैले सय, कुनैले साठी र कुनैले तीस गुणा फलाउँछ।” (मत्ती १३:२३) जमिनमा छरिएको बीउले परिस्थितिअनुसार फल फलाउँछ। त्यसै गरी, हामीले प्रचार कार्यमा कति गर्न सक्छौं, त्यो हाम्रो परिस्थितिअनुसार फरक-फरक हुन सक्छ र यो कुरा बुझेको छु भनेर येशूले स्पष्ट पार्नुभयो। कसै-कसैले धेरै मौका पाउलान् र अरू कतिपयचाहिं स्वस्थ तथा बलियो हुन सक्छन्। तसर्थ, हामीले गर्न सक्ने कुरा अरूको दाँजोमा धेरै वा कम हुन सक्छ तर हामीले आफ्नो सर्वोत्तम सेवा चढाइरहेका छौं भने यहोवा प्रसन्न हुनुहुन्छ। (गलाती ६:४) ढल्कँदो उमेर वा अशक्तताको कारण प्रचार कार्यमा हामीले धेरै गर्न नसके तापनि हाम्रो अनुकम्पापूर्ण पिता, यहोवाले हामीलाई ‘धेरै फल फलाइरहन’ सक्ने व्यक्ति नै ठान्नुहुन्छ। किन? किनभने हामी उहाँलाई ‘आफूसित जे जत्ति छ’ सबै दिन्छौं अर्थात् तनमनको सेवा चढाउँछौं। b—मर्कूस १२:४३, ४४; लूका १०:२७.
१३. (क) हाम्रोलागि “गएर” राज्य फल फलाइरहनुको एउटा प्रमुख कारण के हो? (ख) राज्य सन्देश त्यति नसुन्ने इलाकाहरूमा फल फलाइरहन हामीलाई कुन कुराले मदत गर्नेछ?—(पृष्ठ २१ को पेटी हेर्नुहोस्।)
१३ हामी जे जति राज्य फल फलाउन सक्छौं, त्यो काम गर्नुको कारण बिर्सेनौं भने हामी ‘गएर फल फलाइरहन’ उत्प्रेरित हुनेछौं। (यूहन्ना १५:१६) येशूले सबैभन्दा महत्त्वपूर्ण कारण यसरी बताउनुभयो: “तिमीहरूले धेरै फल फलायौ भने, त्यसैमा मेरा पिताको महिमा हुनेछ।” (यूहन्ना १५:८) हो, हाम्रो प्रचार कार्यले सारा मानिसजातिसामु यहोवाको नाउँ पवित्र गर्छ। (भजन १०९:३०) लगभग ७५ वर्ष पुगिसकेकी विश्वासी साक्षी अनर यसो भन्छिन्: “हाम्रो कुरा त्यति नसुन्ने इलाकामा समेत अति उच्चको प्रतिनिधित्व गर्न पाउनु एउटा सुअवसर हो।” सन् १९७४ देखि जोसिलो साक्षीको हैसियतमा सेवा गर्दै आएका क्लडियोलाई थोरै मानिसले मात्र तिनको कुरा सुने तापनि प्रचार गरिरहनुको कारण सोद्धा तिनले यूहन्ना ४:३४ उद्धरण गरे, जहाँ यसो भनिएको छ: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।” क्लडियोले अझै यसो भने: “येशूले जस्तै राज्य उद्घोषकको हैसियतमा मलाई दिइएको काम थाल्नु मात्र होइन तर पूरा गर्न चाहन्छु।” (यूहन्ना १७:४) यस कुरामा संसारभरिका साक्षीहरू सहमत छन्।—“कसरी ‘धीरजसित फल फलाउने’ ” भन्ने पेटी पृष्ठ २१ मा हेर्नुहोस्।
प्रचार गर्नु तथा सिकाउनु
१४. (क) बप्तिस्मा दिने यूहन्ना र येशूको कामले कुन द्विपक्षीय उद्देश्य पूरा गऱ्यो? (ख) अहिलेको मसीही क्रियाकलापलाई तपाईं कसरी वर्णन गर्नुहुन्छ?
१४ सुसमाचारका पुस्तकमा उल्लिखित प्रथम राज्य उद्घोषक, बप्तिस्मा दिने यूहन्ना हुन्। (मत्ती ३:१, २; लूका ३:१८) तिनको प्रमुख उद्देश्य “गवाही” दिनु थियो र “सबैले . . . विश्वास गरून्” भन्ने आशामा गहिरो विश्वास र आशा राखेर तिनले सन्देश सुनाए। (यूहन्ना १:६, ७) निस्सन्देह, यूहन्नाले प्रचार गरेका कोही-कोही ख्रीष्टका चेला भए। (यूहन्ना १:३५-३७) यसप्रकार, यूहन्नाले प्रचार गर्नुका साथै चेला बनाउने काम गरे। येशूले पनि प्रचार गर्नुका साथै चेला बनाउनुभयो। (मत्ती ४:२३; ११:१) त्यसैकारण, येशूले आफ्ना अनुयायीहरूलाई राज्य सन्देश प्रचार गर्न मात्र होइन तर सन्देश स्वीकार्ने व्यक्तिहरूलाई चेला बन्न मदत गर्ने सल्लाह दिनु कुनै अचम्मलाग्दो कुरा होइन। (मत्ती २८:१९, २०) तसर्थ, आज हाम्रो काम प्रचार गर्नु र सिकाउनु दुवै हो।
१५. सा.यु. प्रथम शताब्दी र अहिले भइरहेको प्रचार कार्यप्रतिको प्रतिक्रियाबीच कस्तो समानता छ?
१५ सा.यु. प्रथम शताब्दीमा पावलले प्रचार गरेको र सिकाएको सुनेकाहरूमध्ये “कतिले सो बोलेका कुरा विश्वास गरे, औ कतिले गरेनन्।” (प्रेरित २८:२४) आज पनि त्यस्तै भइरहेको छ। दुःखको कुरा, प्रायजसो राज्य बीउ, नसुन्ने प्रकारको जमिनमा पर्छ। तैपनि, येशूले भविष्यवाणी गर्नुभएझैं कुनै-कुनै बीउ जमिनमा पर्छ, जरा गाड्छ र बोट उम्रन्छ। वास्तवमा भन्ने हो भने, वर्षेनी प्रत्येक हप्ता लगभग ५,००० जना ख्रीष्टका साँचो अनुयायीहरू बन्छन्! यी नयाँ चेलाहरूले “बोलेका कुरा विश्वास” गरे तापनि अरू धेरैजसोले त्यसो गर्दैनन्। ती नयाँ चेलाहरूलाई राज्य सन्देश ग्रहण गर्न कुन कुराले मदत गऱ्यो? अक्सर साक्षीहरूले देखाएको व्यक्तिगत चासो अर्थात् साँच्चै भनौं भने रोपेको बीउमा पानी लगाउँदा त्यसले फरक पाऱ्यो। (१ कोरिन्थी ३:६) उदाहरणहरू त थुप्रै छन् तर तीमध्ये केवल दुइटा विचार गर्नुहोस्।
व्यक्तिगत चासोले फरक पार्छ
१६, १७. हामीले सेवकाईमा भेट्ने व्यक्तिहरूलाई व्यक्तिगत चासो देखाउनु किन महत्त्वपूर्ण छ?
१६ बेल्जियमकी जवान साक्षी, कारोलिइन राज्य सन्देशप्रति रत्तीभर चासो नदेखाएकी वृद्ध महिलाकहाँ गइन्। ती वृद्ध महिलाको दुवै हातमा पट्टी बाँधिएको कारण कारोलिइन र तिनको साथीले मदत गर्ने प्रस्ताव राखे तर तिनी मानिनन्। दुई दिनपछि ती साक्षीहरू फेरि त्यस महिलालाई भेट्न गए र उनको हालखबर सोधे। कारोलिइनले भनिन्, “यसपछि त कुरा अर्कै भयो। हामीले तिनलाई व्यक्तिविशेषको हैसियतमा चासो देखाएको देखेर तिनी छक्क परिन्। उनले हामीलाई घरमा बोलाइन् र बाइबल अध्ययन सुरु भयो।”
१७ संयुक्त राज्य अमेरिकाकी साक्षी, सान्डी पनि आफूले प्रचार गर्ने मानिसहरूप्रति व्यक्तिगत चासो देखाउँछिन्। तिनी स्थानीय अखबारमा जन्मसम्बन्धी विज्ञापन हेर्छिन् अनि नवजात शिशुका आमाबुबाकहाँ बाइबलका कथाहरू भएको मेरो पुस्तक लिएर जान्छिन्। c यस्ता आमाहरू प्रायजसो घरैमा हुने र अरूलाई आफ्नो बच्चा देखाउन पाउँदा खुसी हुने भएकोले कुरा थाल्न सजिलो हुन्छ। सान्डी यसो भन्छिन्, “म नवजात शिशु र आमाबाबुबीच आत्मीयता बढाउन पढाइले खेल्ने महत्त्वपूर्ण भूमिकाबारे कुरा गर्छु। त्यसपछि, अहिलेको समाजमा नवजात शिशु हुर्काउनुको चुनौतीबारे कुरा गर्छु।” हालै, त्यस्तो भेटघाटको फलस्वरूप एउटी आमा र तिनकी छ जना बालबच्चाले यहोवाको सेवा गर्न थालेका छन्। आफै अग्रसर भएर व्यक्तिगत चासो देखाउँदा हाम्रो सेवकाईमा पनि त्यस्तै आनन्ददायी परिणाम प्राप्त हुन सक्छ।
१८. (क) ‘धेरै फल फलाउने’ आवश्यकता किन हामी सबैले पूरा गर्न सक्ने कुरा हो? (ख) यूहन्नाले लेखेको सुसमाचारको पुस्तकमा बताइएझैं चेला हुँदा पूरा गर्नुपर्ने कुन तीनवटा आवश्यकता पूरा गर्न तपाईं कटिबद्ध हुनुहुन्छ?
१८ ‘धेरै फल फलाइरहने’ कार्य हामीले गर्न सक्छौं भनी थाह पाउनु कस्तो आश्वासनदायी कुरा हो! हामी जवान होऔं वा वृद्ध, स्वस्थ वा अस्वस्थ, राज्य सन्देश सुन्ने इलाकामा होस् या नसुन्ने, हामी सबैले धेरै फल फलाउन सक्छौं। कसरी? आत्माको फल अझ बढी फलाउनुका साथै आफ्नो क्षमताले भ्याएसम्म परमेश्वरको राज्य सन्देश फैलाएर। साथै, हामी ‘येशूको वचनमा रहन’ तथा ‘आपसमा प्रेम गर्न’ प्रयास गर्छौं। हो, यूहन्नाले लेखेको सुसमाचारको पुस्तकमा बताइएझैं चेला हुँदा पूरा गर्नुपर्ने यी तीनवटा महत्त्वपूर्ण आवश्यकता पूरा गरेर हामी साँच्चै “[ख्रीष्टका] चेलाहरू” हौं भनी प्रमाणित गर्छौं।—यूहन्ना ८:३१; १३:३५.
[फुटनोटहरू]
a दृष्टान्तमा दाखको बोटका हाँगाहरूले येशूका प्रेरितहरू र परमेश्वरको स्वर्गीय राज्यमा ठाउँ पाउने अरू मसीहीहरूलाई संकेत गरे तापनि यस दृष्टान्तमा पाइने सत्यबाट आज ख्रीष्टका सबै अनुयायीहरूले लाभ उठाउन सक्छन्।—यूहन्ना ३:१६; १०:१६.
b वृद्वावस्था वा बिमारीको कारण घरबाट निस्कन नसक्ने व्यक्तिहरूले चिठीद्वारा वा सम्भव भए टेलिफोन वा आफूलाई भेट्न आउने व्यक्तिहरूलाई सुसमाचार सुनाउन सक्छन्।
c यहोवाका साक्षीहरूद्वारा प्रकाशित।
पुनरावृत्तिका लागि प्रश्नहरू
• हामीले कस्तो प्रकारको फल प्रशस्त मात्रामा फलाउनुपर्छ?
• ‘धेरै फल फलाउने’ लक्ष्य हामी किन प्राप्त गर्न सक्छौं?
• यूहन्नाले लेखेको सुसमाचारको पुस्तकमा बताइएझैं चेला हुँदा पूरा गर्नुपर्ने कुन तीनवटा महत्त्वपूर्ण आवश्यकताबारे हामीले विचार गऱ्यौं?
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ २१-मा भएको पेटी]
कसरी ‘धीरजसित फल फलाउने’
राज्य सन्देश त्यति नस्वीकार्ने इलाकाहरूमा लगनशील भई प्रचार गरिरहन तपाईंलाई कुन कुराले मदत गर्छ? यस प्रश्नका केही मदतकारी जवाफ तल दिइएका छन्।
“इलाकाबाट जस्तोसुकै प्रतिक्रिया प्राप्त भए तापनि हामीलाई येशूको पूरापूर समर्थन छ भन्ने कुरा थाह पाउँदा आशावादी र लगनशील हुन सक्छौं।”—ह्यारी, उमेर ७२; १९४६ मा बप्तिस्मा लिएका।
“दोस्रो कोरिन्थी २:१७ ले मलाई सधैं प्रोत्साहन दिन्छ। त्यहाँ बताइएअनुसार ‘परमेश्वरका सामुन्ने हामी ख्रीष्टसित’ सेवकाई गर्छौं। सेवकाईमा लाग्दा घनिष्ठ मित्रहरूसितको संगतिबाट म आनन्द उठाउँछु।”—क्लडियो, उमेर ४३; १९७४ मा बप्तिस्मा लिएका।
“साँच्चै भन्ने हो भने, प्रचार कार्य, व्यक्तिगत तवरमा मेरोलागि चुनौती हो। तैपनि, मैले भजन १८:२९ मा लिपिबद्ध शब्दको सत्यता बुझेको छु: ‘मेरै परमेश्वरको सहायताले म पर्खाल नाँघ्छु।’ ”—जेराड, उमेर ७९; १९५५ मा बप्तिस्मा लिएका।
“सेवकाईमा एउटा मात्र भए पनि शास्त्रपद पढ्न पाउँदा बाइबलले कसैको हृदय जाँच्ने मौका पायो भनेर म सन्तुष्ट महसुस गर्छु।”—एलेनोर, उमेर २६; १९८९ मा बप्तिस्मा लिएकी।
“म बेग्लाबेग्लै ढंगमा प्रस्तुति चलाउने प्रयास गरिरहन्छु। यति धेरै परिचयहरू छन् कि मैले आफ्नो बाँकी जीवनमा ती सबै प्रयोग गर्न सक्दिनँ होला।”—पल, उमेर ७९; १९४० मा बप्तिस्मा लिएका।
“म नकारात्मक टिप्पणीहरूलाई व्यक्तिगत तवरमा लिन्नँ। म मित्रैलो भएर मानिसहरूसित कुराकानी गर्ने अनि तिनीहरूको दृष्टिकोण बुझ्ने प्रयास गर्छु।”—डानियल, उमेर ७५; १९४६ मा बप्तिस्मा लिएका।
“मैले भर्खरै बप्तिस्मा लिएका दुई जना नयाँ व्यक्तिहरूलाई भेटें र तिनीहरूको भनाइअनुसार मेरो प्रचार कार्यले साक्षी हुन मदत गऱ्यो रे। मैले चालै नपाई अरू कसैले तिनीहरूसित बाइबल अध्ययन गर्नुका साथै तिनीहरूलाई प्रगति गर्न मदत गरेछन्। हाम्रो सेवकाई एउटा सामूहिक प्रयास हो भनी थाह पाउँदा मलाई आनन्द लाग्छ।”—जोआन, उमेर ६६, १९५४ मा बप्तिस्मा लिएकी।
तपाईंलाई ‘धीरजसित फल फलाउन’ कुन कुराले मदत गर्छ?—लूका ८:१५.
[पृष्ठ २०-मा भएका चित्रहरू]
आत्माको फल फलाउनुका साथै राज्य सन्देश घोषणा गरेर हामी धेरै फल फलाउँछौं
[पृष्ठ २३-मा भएको चित्र]
येशूले आफ्ना प्रेरितहरूलाई ‘धेरै फल फलाउनू’ भन्नुको अर्थ के थियो?