सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

धार्मिक चित्रहरू यसका पुरातन स्रोतहरू

धार्मिक चित्रहरू यसका पुरातन स्रोतहरू

धार्मिक चित्रहरू यसका पुरातन स्रोतहरू

“धार्मिक चित्रहरू परमेश्‍वर र उहाँका सन्तहरूको भलाइ तथा पवित्रतासँग हाम्रो सम्बन्ध गाँस्ने एउटा माध्यम हो।”—अस्ट्रेलियाको ग्रीक अर्थोडक्स आर्कडायोसिज

अगस्त महिनाको उखुम गर्मीको दिनमा एजियन समुद्रको टिनोस टापुमा अवस्थित “परमेश्‍वरको सबैभन्दा पवित्र आमा[को]” आश्रमको सिमेन्टका खुड्‌किलाहरूमा घामको चर्को किरण पर्छ। अलिअलि गर्दै सरिरहेको लाममा बसेका २५,००० भन्दा बढी भक्‍तालु ग्रीक अर्थोडक्स तीर्थयात्रीहरूको येशूकी आमाको सजिसजाउ भएको चित्रसम्म पुग्ने कटिबद्धतालाई एकदमै पोल्ने घामले समेत कमजोर पार्न सकेको छैन।

एउटी लंगडी केटी पीडा र निराश अनुहार लिएर रगताम्य घुँडाको सहायताले घिस्रँदैछिन्‌। तिनको छेवैमा देशको अर्को कुनाबाट आएकी एउटी थकित वृद्धा आफ्ना थाकेका पाइलाहरू अघि सार्दैछिन्‌। एक जना उत्सुक अधबैंसे मानिस खलखलती पसिना बगाउँदै ठेलमठेल गरिरहेको भीडमा छिर्ने कोसिस गर्दैछन्‌। यिनीहरूको लक्ष्य भनेको मरियमको चित्रलाई चुम्बन गर्नु र त्यसलाई लम्पसार परेर ढोग्नु हो।

निस्सन्देह, यी गहिरो धार्मिक आस्था भएका मानिसहरूमा परमेश्‍वरको उपासना गर्ने निष्कपट इच्छा छ। तर धार्मिक चित्रहरूप्रति भक्‍ति देखाउने यस्तो चलन मसीहीधर्मको सुरुआत हुनुभन्दा शताब्दीयौं अघिदेखि चल्दै आएको हो भनेर चाहिं कति जनालाई थाह छ होला?

धार्मिक चित्रहरूको व्यापकता

अर्थोडक्स संसारमा धार्मिक चित्रहरू जताततै पाइन्छन्‌। येशू, मरियम र थुप्रै “सन्तहरूको” चित्रले चर्चको भवनमा प्रमुख स्थान ओगट्‌छ। विश्‍वासीहरूले प्रायजसो यी चित्रहरूलाई चुम्बन गरेर, धूप सल्काएर तथा मैनबत्तीहरू बालेर सम्मान गर्छन्‌। साथै प्रायजसो सबै नै अर्थोडक्सहरूको घरमा प्रार्थना गर्नको लागि चित्रहरूले सजिसजाउ भएको पूजाकोठा हुन्छ। चित्रहरूको उपासनाले आफूलाई परमेश्‍वरसँग अझ घनिष्ठ बनाउँछ भनी अर्थोडक्स मसीहीहरूले भन्‍नु सामान्य कुरा हो। धार्मिक चित्रहरू परमेश्‍वरको अनुग्रह तथा चमत्कारी शक्‍तिले भरिएको हुन्छ भनी धेरै जना विश्‍वास गर्छन्‌।

प्रथम शताब्दीका मसीहीहरूले उपासना गर्दा चित्रहरू चलाउँदैनथे भन्‍ने कुरा थाह पाउँदा सायद ती विश्‍वासीहरू छक्क पर्लान्‌। बाइज्यान्टियम पुस्तक यसो भन्छ: “प्रारम्भिक मसीहीहरूले आफू यहूदी हुँदादेखिनै मूर्तिपूजालाई घृणित ठान्थे र पवित्र व्यक्‍तिहरूको श्रद्धा गर्नुलाई निन्दनीय दृष्टिकोणले हेर्थे।” सोही पुस्तक यसो भन्छ: “पाँचौं शताब्दीदेखि . . . सार्वजनिक तथा व्यक्‍तिगत उपासनामा चित्र वा मूर्तिहरूको प्रयोग एकदमै व्याप्त भयो। धार्मिक चित्रहरू प्रयोग गर्ने चलन प्रथम शताब्दीका मसीहीहरूबाट सुरु भएको होइन भने कहाँबाट सुरु भयो त?

मूल स्रोत पत्ता लगाउने

अनुसन्धाता भिटालिज इभानोभिच पेट्रेन्कोले यस्तो लेखे: “प्रतिमाहरूको प्रयोग तथा यसको प्रचलन मसीही युगभन्दा निकै अघि सुरु भएको हो र यसको ‘पुर्खा गैरमसीहीधर्म’ हो।” चित्रहरूको उपासना पुरातन बेबिलोन, मिश्र र युनानका धर्महरूबाट सुरु भएको पाइन्छ भन्‍ने कुरामा थुप्रै इतिहासकारहरू सहमत छन्‌। उदाहरणका लागि, पुरातन युनानमा प्रतीकहरू मूर्तिको रूपमा हुन्थे। यसमा ईश्‍वरीय शक्‍ति हुन्छ भनी विश्‍वास गरिन्थ्यो। कतिपय मूर्तिहरू त मानिसले बनाएका होइनन्‌ तर सीधै स्वर्गबाट खसेको हो भनेर मानिसहरू विचार गर्थे। विशेष चाडहरूको दौडान जात्रा निकालेर कुलदेवताका यस्ता मूर्तिहरूलाई शहर परिक्रमा गराइन्थ्यो र यी मूर्तिहरूको लागि बलि चढाइन्थ्यो। “ईश्‍वर र तिनको मूर्तिबीचको भिन्‍नता छुट्याउने . . . कोसिस गरिएको भए तापनि भक्‍तालुहरू कुलदेवताको मूर्तिलाई स्वयम्‌ ईश्‍वर नै ठान्थे” भनी पेट्रेन्कोले बताए।

त्यसोभए यस्ता विचारधारा र चलनहरू मसीहीधर्म भित्र कसरी छिऱ्‍यो त? सोही अनुसन्धाताले यस्तो बताए, ख्रीष्टका प्रेरितहरूको मृत्युभएको शताब्दीयौं पछि विशेष गरी मिश्रमा “मसीही विचारधाराले मसीही विश्‍वास र चलनहरूसँगसँगै प्रचलित मिश्री, युनानी, यहूदी, पूर्वीय र रोमी प्रचलन तथा विश्‍वासहरूको समिश्रणको चुनौती सामना गर्नुपऱ्‍यो।” फलस्वरूप “मसीही शिल्पकारहरूले [अन्तरविश्‍वासको] विधि अपनाए र गैरमसीहीधर्मका चिह्नहरूलाई छाँटकाँट गरेर मसीहीधर्मसँग सम्बन्धित नयाँ चिह्नहरू बनाए र यी नयाँ मसीही चिह्नहरू गैरमसीहीधर्मका प्रभावबाट भने शुद्ध थिएनन्‌।”

चाँडै चित्रहरूले व्यक्‍तिगत तथा सार्वजनिक जीवन दुवैमा प्रमुख स्थान ओगट्यो। यो कसरी भयो भन्‍नेबारे इतिहासकार विल डुरान्ट आफ्नो पुस्तक दि एजेज्‌ अफ फेथ-मा यसरी बताउँछन्‌: “उपासना गरिने सन्तहरूको संख्या बढ्‌दै जाँदा, तिनीहरू सबैलाई चिन्‍नु र सम्झनु पर्ने आवश्‍यकता सिर्जना भयो। सन्तहरू र मरियमको चित्र थुप्रो संख्यामा छापियो र ख्रीष्टको सन्दर्भमा भन्‍ने हो भने, उहाँको शारीरिक रूप मात्र होइन तर उहाँको क्रूससमेत श्रद्धाको वस्तु भयो र सबै मानिसहरूले यसलाई जादुको बुटीको रूपमा लिन थाले। कल्पना शक्‍ति चलाउन पाउने मानिसको प्राकृतिक स्वतन्त्रताले धार्मिक महत्त्वका पुराना चीजहरू, चित्र तथा मूर्तिहरूलाई उपासनाको वस्तुमा परिणत गरिदियो र मानिसहरूले तिनीहरूको सामुन्‍ने लम्पसार परेर ढोगे, चुम्बन गरे, तिनीहरूको अगाडि मैनबत्ती र धूप बाले, फूल चढाए र तिनीहरूको अलौकिक शक्‍तिद्वारा चमत्कार गर्न खोजे। . . . प्रतिमाहरू स्वयम्‌ ईश्‍वर होइनन्‌ तर तिनीहरू ईश्‍वरका सम्झौटोहरू मात्र हुन्‌ भनी चर्चका पादरीहरू र परिषद्‌हरूले बारम्बार बताए तापनि मानिसहरूले यसबीच भिन्‍नता छुट्‌याउन चाहेनन्‌।”

त्यसै गरी आज पनि धार्मिक चित्रहरू प्रयोग गर्ने धेरै जनाले प्रतिमाहरू उपासनाका होइनन्‌ तर श्रद्धाका वस्तुहरू मात्र हुन्‌ भन्‍ने तर्क गर्छन्‌। तिनीहरूले धार्मिक चित्रहरू परमेश्‍वरको उपासना गर्नको लागि वैध र अपरिहार्य वस्तुहरू हुन्‌ भनेर पनि तर्क गर्न सक्छन्‌। सायद तपाईंलाई पनि यस्तै लाग्छ होला। तर यस्तो प्रश्‍न उठ्‌छ, यसबारे परमेश्‍वरलाई कस्तो लाग्छ? के वास्तवमा चित्रको श्रद्धा गर्नु भनेको यसको उपासना गर्नुजस्तै हुन सक्छ र? के यस्ता प्रचलनहरूको पछाडि नदेखिने खतराहरू हुन सक्छन्‌?

[पृष्ठ ४-मा भएको पेटी/चित्र]

धार्मिक चित्र भनेको के हो?

रोमन क्याथोलिकहरूको उपासनामा प्रचलित मूर्तिहरू जस्तो नभई धार्मिक चित्रहरू ख्रीष्ट, मरियम, “सन्त,” स्वर्गदूत, बाइबलका पात्र तथा घटना वा अर्थोडक्स चर्चको इतिहासका घटनाहरूको द्विआयामिक तस्बिरहरू हुन्‌। प्रायजसो यी चित्रहरू सजिलै यताउता लैजान सकिने काठका पाटीहरूमा बनाइएका हुन्छन्‌।

अर्थोडक्स चर्चअनुसार, “सन्तहरूको चित्र मासु र रगतबाट बनेका साधारण मानिसहरूको चित्रजस्तो देखिंदैन।” साथै धार्मिक चित्रहरूमा “पछाडिको भाग फराकिलो हुँदै जान्छ” अर्थात्‌ टाढाको वस्तु सानो-सानोजस्तो देखिंदै जाने हुँदैन। प्रायजसो “छायाँहरू हुँदैनन्‌ वा दिन र रात छुट्टिंदैन।” चित्रको काठ र रंगमा “परमेश्‍वरले बास गर्नुहुन्छ” भनेर पनि विश्‍वास गरिन्छ।

[पृष्ठ ४-मा भएको चित्र]

प्रतिमाहरूको प्रयोग गैरमसीहीधर्मका मूर्तिपूजक प्रचलनहरूबाट सुरु भएको हुन सक्छ

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

© AFP/CORBIS