परमेश्वरको भविष्यसूचक वचनमा ध्यान दिनुहोस्
परमेश्वरको भविष्यसूचक वचनमा ध्यान दिनुहोस्
“बढ़ता पुष्टि गराउने हामीसँग अगमवाणीको वचन छ। . . . तिमीहरूले त्यसलाई ध्यान दियौ भने असल गर्नेछौ।”–२ पत्रुस १:१९.
१, २. तपाईं झूटो मसीहको कुनचाहिं उदाहरण बताउन सक्नुहुन्छ?
शतकौंदेखि झूटा मसीहहरूले भविष्य बताउने प्रयास गरेका छन्। पाँचौ शताब्दीमा आफूलाई मोशा भन्ने एक जना व्यक्तिले क्रेट टापुका यहूदीहरूलाई आफू मसीह हुँ भनेर घोषणा गरे र उनीहरूलाई शोषणबाट मुक्ति दिलाउने विश्वास गराए। जसै तिनीहरू स्वतन्त्र हुने दिन आयो उनीहरू तिनलाई पछ्याउँदै भूमध्य सागर नजिकैको अग्लो ठाउँमा चढे। तिनले उनीहरू समुद्रमा हाम्फाल्नु मात्र पर्छ, समुद्र स्वतः दुई फ्याक भएर छुट्टिनेछ भनी बताए। पानीमा हाम्फाल्ने थुप्रै मानिसहरू डुबे अनि त्यो झूटो मसीहचाहिं त्यहाँबाट कुलेलम ठोकिसकेका थिए।
२ बाह्रौं शताब्दीतिर यमनमा पनि त्यस्तै एक जना “मसीह” देखापरे। त्यहाँका खालिफ अर्थात् शासकले तिनीसित मसीह हुनुको चिह्न मागे। यो “मसीहले” खालिफलाई आफ्नो टाउको छिनाइ मागे र भने तिनको तत्काल पुनरुत्थान हुनु नै त्यसको चिह्न हुनेछ। खालिफले तिनले बताएबमोजिम गरे र यसरी त्यो “मसीहको” अन्त्य भयो।
३. साँचो मसीह को हुनुहुन्छ र उहाँको सेवकाईले के प्रमाणित गऱ्यो?
३ झूटा मसीहहरू र तिनीहरूको भविष्यवाणीहरू पूर्णतया फेल खाए तर परमेश्वरको भविष्यसूचक वचनमा ध्यान दिंदा त्यसले कहिल्यै निराश पार्ने छैन। साँचो मसीह येशू ख्रीष्ट बाइबलका थुप्रै भविष्यवाणीहरूको जीवन्त पूर्ति हुनुहुन्थ्यो। उदाहरणका लागि, यशैयाको भविष्यवाणी उद्धरण गर्दै सुसमाचारका लेखक मत्तीले यस्तो लेखे: “ ‘यर्दनपारि समुद्रको किनारमा भएको जबलूनको मुलुक, र नप्तालीको मुलुक, अन्यजातिहरूको गालील, अँध्यारोमा बसेका मानिसहरूले एउटा ठूलो ज्योति देखे, र मृत्युका देश र छायामनि बसेकाहरूका लागि एउटा ज्योति उदय भयो।’ त्यस बेलादेखि येशूले प्रचार गर्दै भन्नलाग्नुभयो, ‘पश्चाताप गर। किनभने स्वर्गको राज्य नजीक आइपुगेको छ।’ ” (मत्ती ४:१५-१७; यशैया ९:१, २) येशू नै त्यो “ठूलो ज्योति” हुनुहुन्थ्यो र उहाँको सेवकाईले मोशाले अगमवाणी गरेका भविष्यवक्ता उहाँ नै हुनुहुन्थ्यो भनेर प्रमाणित गऱ्यो। येशूको कुरा सुन्न इन्कार गर्नेहरू नाश हुनेथिए।—व्यवस्था १८:१८, १९; प्रेरित ३:२२, २३.
४. येशूले कसरी यशैया ५३:१२ पूरा गर्नुभयो?
४ येशूले यशैया ५३:१२ को भविष्यसूचक वचन पनि पूरा गर्नुभयो: “उसले आफ्नो जीवन–रक्त खन्याएर प्राण दियो, र उ अपराधीहरूको गन्तीमा गनियो। तापनि उसले धेरैको पाप बोक्यो, र अपराधीहरूका निम्ति अर्जबिन्ती गऱ्यो।” अब चाँडै नै आफ्नो मानव जीवन छुडौतिको रूपमा बलिदान दिनुपर्छ भन्ने कुरा राम्ररी बुझ्नुभएकोले येशूले आफ्ना चेलाहरूको विश्वास दह्रिलो पार्नुभयो। (मर्कूस १०:४५) अनि उहाँले यो, रूप परिवर्तन मार्फत एउटा उल्लेखनीय तरिकामा गर्नुभयो।
रूप परिवर्तनले विश्वास सुदृढ पार्छ
५. तपाईं रूप परिवर्तनलाई आफ्नै शब्दमा कसरी वर्णन गर्नुहुन्छ?
५ रूप परिवर्तन एउटा भविष्यसूचक घटना थियो। येशूले भन्नुभयो: “मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना दूतहरूसित आउनेछ, . . . म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ खड़ा हुनेहरूमध्ये कोही छन्, जसले मानिसको पुत्रलाई आफ्नो राज्यमा आउँदै गरेको नदेखुञ्जेल कुनै रीतिले मृत्यु चाख्ने छैनन्।” (मत्ती १६:२७, २८) के येशूका केही चेलाहरूले उहाँ आफ्नो राज्यमा आउँदै गर्नुभएको देखे? मत्ती १७:१-७ भन्छ: “छ दिनपछि येशूले पत्रुस, याकूब र तिनको भाइ यूहन्नालाई आफ्नो साथमा लिनुभयो र एउटा अल्गो डाँड़ामा एकान्तमा लैजानुभयो। अनि तिनीहरूका सामने उहाँको रूप परिवर्त्तन भयो।” कस्तो नाटकीय घटना! “उहाँको चेहेरा सूर्यझैं चम्क्यो, औ उहाँको वस्त्र ज्योतिझैं सेतो भयो। औ मोशा र एलिया उहाँसित बातचीत गर्दै गरेका देखा परे।” त्यसपछि “चम्किलो बादलले तिनीहरूलाई ढाकिहाल्यो,” अनि तिनीहरूले परमेश्वरले यसो भन्नुभएको सुने: “ ‘यिनी मेरा प्रिय पुत्र हुन्, जसमा म प्रसन्न छु, तिमीहरूले उनको कुरा सुन।’ जब चेलाहरूले यो सुने, तब तिनीहरू घुर्लुप्प घोप्टे, र साह्रै डराए। अनि येशूले आएर तिनीहरूलाई छोएर भन्नुभयो, ‘उठ, नडराओ।’ ”
६. (क) येशूले किन रूप परिवर्तनलाई दर्शन भन्नुभयो? (ख) रूप परिवर्तन कुन कुराको पूर्व झलक थियो?
६ सम्भवतः यो विस्मयकारी घटना हर्मोन पर्वतमालाको कुनै डाँडामा भएको हुनुपर्छ जहाँ येशू ख्रीष्ट तथा उहाँका तीन जना चेलाहरूले रात बिताउनुभयो। अवश्य यो रूप परिवर्तन राती हुनका साथै अत्यन्त जीवन्त देखिएको हुनुपर्छ। येशूले यस घटनालाई “दर्शन” भन्नुको एउटा कारण धेरै अघि नै मरिसकेका मोशा तथा एलिया साँच्चै त्यहाँ उपस्थित थिएनन्। ख्रीष्ट मात्रै त्यहाँ साँच्चै उपस्थित हुनुहुन्थ्यो। (मत्ती १७:८, ९) त्यो ज्योतिर्मय प्रदर्शन पत्रुस, याकूब अनि यूहन्नाका लागि येशूले गौरवशाली ढंगमा राजसत्ता हासिल गर्नुहुँदाको पूर्व झलक थियो। मोशा र एलियाको उपस्थितिचाहिं येशूको राज्यका अभिषिक्त सहशासकहरूमा पूरा भए र यो दर्शनले राज्य तथा उहाँको भावी राज्याधिकारबारे उहाँले दिनुभएको प्रमाणलाई अझै सशक्त पाऱ्यो।
७. रूप परिवर्तनको सम्झना पत्रुसको मनमा ताजै थियो भनेर हामी कसरी भन्नसक्छौं?
७ मसीही मण्डलीमा प्रमुख भूमिका निर्वाह गर्ने ती तीन प्रेरितहरूको विश्वास सुदृढ पार्न यो रूप परिवर्तनले मदत गऱ्यो। येशूको चम्किलो मुहार, टलटल टल्केको उहाँको पोसाक अनि येशू नै उहाँको प्रिय पुत्र हुनुहुन्छ जसलाई तिनीहरूले सुन्नुपर्छ भनी यहोवा आफैले गर्नुभएको घोषणा सबैले गर्दा यो दर्शन एकदमै प्रभावकारी साबित भयो। तर प्रेरितहरूले येशूको पुनरुत्थान नहोउञ्जेल यो दर्शनबारे कसैलाई पनि भन्नुहुँदैनथ्यो। झन्डै ३२ वर्षपछि पनि पत्रुसको मनमा यो दर्शन ताजै थियो। यो दर्शन र यसको महत्त्वलाई औंल्याउँदै तिनले लेखे: “तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको महाशक्ति र आगमनको समाचार दिंदा धूर्त्याइँसित अज्माएका दन्त्यकथाहरूको हामीले अनुसरण गरेनौं, तर उहाँको वैभवशाली रूप हाम्रा आँखैले देख्ने हामी साक्षी हौं। किनकि महाप्रतापी महिमाबाट उहाँलाई ‘यिनी मेरा प्रिय पुत्र हुन्, यिनमा म अति प्रसन्न छु,’ भन्ने वाणी आउँदा, उहाँले परमेश्वर पिताबाट आदर र महिमा पाउनुभएको थियो। औ त्यो पवित्र डाँड़ामा हामी उहाँसँग हुँदा स्वर्गबाट आएको त्यो वाणी हामी आफैले सुनेका थियौं।”—२ पत्रुस १:१६-१८.
८. (क) आफ्नो पुत्रबारे परमेश्वरले गर्नुभएको उद्घोषणाले कुन कुरामाथि ध्यानाकर्षण गऱ्यो? (ख) रूप परिवर्तनमा देखा परेको बादल केको संकेत थियो?
८ सबैभन्दा महत्त्वपूर्ण पक्ष परमेश्वरको यो उद्घोषणा थियो: “यिनी मेरा प्रिय पुत्र हुन्, जसमा म प्रसन्न छु, तिमीहरूले उनको कुरा सुन।” यो घोषणाले येशू नै परमेश्वरले नियुक्त गरेर सिंहासनमा बसाल्नुभएको राजा हुनुहुन्छ र सारा सृष्टिले उहाँको आज्ञा मान्नैपर्छ भनेर ध्यानाकर्षण गर्छ। अनि डम्म बादलले ढाक्नुले यो दर्शन अदृश्य रूपमा पूरा हुनेछ भनी संकेत गऱ्यो। राजकीय शक्तिसहित येशूको अदृश्य उपस्थिति हुँदाखेरिको “चिह्न” बुझ्नेहरूको समझका आँखाले मात्र त्यो देख्नेछन्। (मत्ती २४:३) वास्तवमा, यो दर्शन आफू मरेर नब्यूँतुञ्जेल कसैलाई नभन्नू भनी येशूले दिनुभएको निर्देशनले उहाँको मुक्ति तथा महिमा पुनरुत्थानपछि मात्र हुनेरहेछ भनेर देखाउँछ।
९. रूप परिवर्तनले किन हाम्रो विश्वास बलियो बनाउनुपर्ने हो?
९ रूप परिवर्तनलाई संकेत गरिसकेपछि पत्रुसले यसो भने: “बढ़ता पुष्टि गराउने हामीसँग अगमवाणीको वचन छ। औ झिसमिसे उज्यालो नहोउञ्जेल, र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउञ्जेल अन्धकारमा बलिरहेको दियोलाई झैं गरी तिमीहरूले त्यसलाई ध्यान दियौ भने असल गर्नेछौ। तर पहिले यो जान, कि कुनै धर्मशास्त्रको कुनै अगमवाणी कसैले खास आफ्नै अर्थले दिएको होइन, किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट उत्तेजित भएर मानिसहरूले परमेश्वरका तर्फबाट बोल्दथिए।” (२ पत्रुस १:१९-२१) रूप परिवर्तनले परमेश्वरको भविष्यसूचक वचन एकदमै भरोसायोग्य छ भनेर प्रस्ट पार्छ। हामीले त्यो वचन पालन गर्नैपर्छ र ईश्वरीय सहमति वा अनुमोदन नभएको “धूर्त्याइँसित अज्माएका दन्त्यकथाहरूको” पछि पटक्कै लाग्नुहुँदैन। येशूको रूप परिवर्तनले भविष्यसूचक वचनमाथिको हाम्रो विश्वासलाई सुदृढ बनाउनुपर्ने हो किनकि येशूको महिमा र राज्य शक्तिको त्यस पूर्व दर्शन अहिले वास्तविकतामा परिणत भइसक्यो। हो, अहिले ख्रीष्ट स्वर्गमा एक शक्तिशाली राजा भइसक्नुभयो भन्ने अकाट्य प्रमाण हामीसित छ।
बिहानको तारा कसरी उदाउँछन्
१०. पत्रुसले उल्लेख गरेका “बिहानको तारा[को]” अर्थ के हो र तपाईं किन यस्तो जवाफ दिनुहुन्छ?
१० पत्रुस लेख्छन्: “झिसमिसे उज्यालो नहोउञ्जेल, र . . . बिहानको तारा नउदाउञ्जेल अन्धकारमा बलिरहेको दियोलाईझैं गरी तिमीहरूले [भविष्यसूचक वचनमा] ध्यान दियौ भने असल गर्नेछौ।” यो “बिहानको तारा” को अर्थ के हो? यो “बिहानको तारा” भन्ने शब्द बाइबलमा एकैचोटि मात्र उल्लेख गरिएको छ र यसको अर्थ “चहकिलो तारा[को]” अर्थसित मिल्छ। प्रकाश २२:१६ मा येशू ख्रीष्टलाई “बिहानको चहकिलो तारा” भनी सम्बोधन गरिएको छ। कुनै कुनै ऋतुमा पूर्वीय क्षितिजमा सबैभन्दा पछि उदाउने तारा यस्ता ताराहरू नै हुन्। यी ताराहरू सूर्य उदाउनुभन्दा केही बेरअघि मात्र उदाउँछन् र यसरी ती ताराहरूले नयाँ बिहानीको घोषणा गर्छन्। पत्रुसले राज्यशक्ति पाइसक्नुभएपछिको येशूलाई संकेत गर्न “बिहानको तारा” भन्ने शब्द प्रयोग गरे। त्यतिखेर येशू पृथ्वीलगायत सारा ब्रह्माण्डमा उदाउनुभएको थियो! मसीही राज्यको बिहानको ताराको रूपमा उहाँको यस अवस्थाले सबै आज्ञाकारी मानिसजातिको लागि नयाँ दिन अर्थात् नयाँ युग उदाएको घोषणा गर्दछ।
११. (क) दोस्रो पत्रुस १:१९ ले “बिहानको तारा” मानव मुटुमा उदाउँछ भन्न खोजेको किन हुनसक्दैन? (ख) तपाईं २ पत्रुस १:१९ कसरी व्याख्या गर्नुहुन्छ?
११ थुप्रै बाइबल अनुवादहरूले २ पत्रुस १:१९ मा लिपिबद्ध पत्रुसका शब्दहरूले मानव मुटुलाई संकेत गर्छ भन्ने विचार प्रकट गर्छ। एक जना वयस्क व्यक्तिको मुटुको वजन २५० देखि ३०० ग्रामसम्म हुन्छ। अहिले स्वर्गमा महिमित अमर आत्मिक प्राणी हुनुभइसकेको येशू कसरी मानिसहरूको त्यो सानो अंगमा उदाउनुहुन्छ? (१ तिमोथी ६:१६) निस्सन्देह, यसमा हाम्रो शारीरिक होइन लाक्षणिक हृदय विथोलित छ किनकि यही हृदयद्वारा हामी परमेश्वरको भविष्यसूचक वचनमा ध्यान केन्द्रित गर्छौं। तर तपाईंले न्यु वर्ल्ड ट्रान्सलेसन-मा २ पत्रुस १:१९ लाई ध्यान दिएर हेर्नु भयो भने “झिसमिसे उज्यालो नहोउञ्जेल र बिहानको तारा नउदाउञ्जेल” भन्ने अभिव्यक्ति र त्यसपछि “तिम्रो हृदय” भन्ने शब्दहरू बीच भिन्नता देखाउन अल्पविराम चिह्न प्रयोग गरिएको पाउनुहुनेछ। अतः, यस पदलाई यसप्रकार व्यक्त गर्न सकिन्छ: ‘त्यसै गरी हामीसित अझ निश्चित पारिएको भविष्यसूचक वचन छ; र झिसमिसे उज्यालो नहोउञ्जेल र बिहानको तारा नउदाउञ्जेल अन्धकारमा, जुन तिम्रो हृदय हो, त्यहाँ यस वचनलाई ध्यान दिंदै बत्तिझैं चम्कन दिएर तिमीले असल गरेका छौं।’
१२. साधारणतया मानव हृदयको अवस्था कस्तो छ तर साँचो मसीहीहरूबारे के भन्न सकिन्छ?
१२ पापी मानिसजातिको हृदय साधारणतया कस्तो हुन्छ? तिनीहरूको हृदय त आध्यात्मिक अन्धकारमा छ! तथापि, हामी साँचो मसीहीहरू हौं भने अन्धकारमा हुनसक्ने हाम्रो हृदयमा बत्ती बलिरहेजत्तिकै उज्यालो हुन्छ। अनि पत्रुसका शब्दहरूले संकेत गरेझैं परमेश्वरको ज्योतिर्मय भविष्यसूचक वचनमा ध्यान दिएर साँचो मसीहीहरू सतर्क हुनसक्छन् र झिसमिसे नयाँ बिहानीलाई पर्खनसक्छन्। फलतः तिनीहरूले बिहानको तारा मानव हृदयमा होइन तर सम्पूर्ण सृष्टिसामु उदाइसक्नुभयो भनेर बुझ्नेछन्।
१३. (क) बिहानको तारा उदाइसक्यो भनेर हामी किन पक्का हुनसक्छौं? (ख) येशूले हाम्रो समयमा पूरा हुनेछ भनी भविष्यवाणी गर्नुभएको कठिन अवस्था मसीहीहरूले किन सहन सकेका छन्?
१३ बिहानको तारा उदाइसक्नुभएको छ! आफ्नो उपस्थितिबारे येशूले गर्नुभएको महान् भविष्यवाणीहरूमा ध्यान दिएर हामी त्यसबारे पक्का हुनसक्छौं। पहिले कहिल्यै नभएका युद्ध, अनिकाल, भुइँचालो अनि विश्वव्यापी तवरमा राज्यको सुसमाचार प्रचारजस्ता घटनाहरूमा हामी त्यसको पूर्ति अनुभव गरिरहेका छौं। (मत्ती २४:३-१४) येशू ख्रीष्टले भन्नुभएका कठिनाइहरूले हामी साँचो मसीहीहरूलाई प्रभावित गरे तापनि आफ्नो शान्त अनि आनन्दित हृदयले त्यसलाई सहन सकेका छौं। किन? किनकि हामी परमेश्वरको भविष्यसूचक वचनमा ध्यान दिन्छौं र उहाँले भविष्यबारे गर्नुभएको प्रतिज्ञामाथि विश्वास गर्छौं। हामी अहिले सर्वोत्तम समयको संघारमा पुगिसकेका छौं किनभने हामी “अन्तको समयको” पनि अन्तमा आइसकेका छौं! (दानिएल १२:४) यो संसार यशैया ६०:२ ले बताएझैं नैराश्यजनक स्थितिमा पुगिसकेको छ: “हेर्, अँध्यारोले पृथ्वीलाई, र निष्पट्ट अँध्यारोले मानिसहरूलाई ढाक्नेछ।” त्यसोभए यस्तो निष्पट्ट अन्धकारमा आफ्नो बाटो कसरी ठिम्याउन सकिएला त? यसको लागि ढिलो हुनुअगावै, अहिल्यै विनम्र भएर परमेश्वरको भविष्यसूचक वचनमा ध्यान दिनैपर्छ। इमानदार हृदय हुनेजति सबैले जीवन र ज्योतिको स्रोत यहोवा परमेश्वरतिर फर्कनु आवश्यक छ। (भजन ३६:९; ) यसो गरेको खण्डमा मात्र साँचो समझ पाउनसकिन्छ र आज्ञाकारी मानिसजातिलाई परमेश्वरले दिनुहुने उदेकलाग्दो भविष्यको आनन्द उठाउने आशा गर्नसकिन्छ।— प्रेरित १७:२८प्रकाश २१:१-५.
“ज्योति संसारमा आएको छ”
१४. बाइबलका अद्भुत प्रतिज्ञाहरू पूरा भएको हेर्न चाहन्छौं भने हामीले के गर्नैपर्छ?
१४ येशू ख्रीष्ट शक्तिशाली राजाको हैसियतमा शासन गर्दैहुनुहुन्छ भनी धर्मशास्त्रले स्पष्ट पार्छ। उहाँ सन् १९१४ देखि राज्यशक्तिमा आइसक्नुभएको हुँदा अद्भुत प्रतिज्ञाहरू अब बिस्तारै पूरा हुँदै जानेछन्। यदि हामी ती पूरा भएको हेर्ने इच्छा गर्छौं भने अनजानमा गरेका पापकर्महरूका लागि पश्चात्ताप गर्नुका साथै येशू ख्रीष्टमाथि विश्वास गर्ने नम्र व्यक्ति हुनुपर्छ। निस्सन्देह, अन्धकारलाई प्रेम गर्नेहरूले अनन्त जीवन पाउनेछैनन्। येशूले भन्नुभयो: “न्यायको फैसला यो हो, ज्योति संसारमा आएको छ, र मानिसहरूले ज्योतिभन्दा बरू अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए। किनभने जसले तुच्छ काम गर्छ, त्यसले ज्योतिलाई घृणा गर्छ, र ज्योतितिर आउँदैन, नत्रता त्यसका कामको दोष प्रकट हुनेछ। तर त्यसका काम परमेश्वरमा भएका हुन् भनी प्रकट होस् भनेर सत्य काम गर्ने चाहिं ज्योतिमा आउँछ?”—यूहन्ना ३:१९-२१.
१५. परमेश्वरले आफ्नो पुत्र मार्फत सम्भव तुल्याइदिनुभएको छुटकारालाई हामीले बेवास्ता गऱ्यौं भने के हुनेछ?
१५ येशूद्वारा यस संसारमा आध्यात्मिक ज्योति आएको छ र उहाँको कुरा सुन्नु अत्यावश्यक छ। पावलले लेखे: “पुरानो समयमा परमेश्वर पितापुर्खाहरूसँग कैयौं भाग भाग र कैयौं रीतिले अगमवक्ताद्वारा बोल्नुभयो, औ यी दिनका अन्तमा आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ, जसलाई उहाँले सबै कुराका हकदार नियुक्त गर्नुभयो।” (हिब्रू १:१, २) परमेश्वरले आफ्ना पुत्र मार्फत सम्भव तुल्याइदिनुभएको छुटकारालाई हामी लत्याउँछौं भने के हुनेछ? पावल भन्दै जान्छन्: “यदि स्वर्गदूतहरूद्वारा बोलिएका वचन दृढ़ प्रमाणित भयो भने, र हरेक अपराध र अनाज्ञाकारिताले ठीक ठीक बदला पाए भने, यदि हामीले यति ठूलो मुक्तिको वास्ता नराखे, हामी कसरी उम्कौंला? जो पहिले प्रभुबाटै कहिएको हो, र हामीलाई चाहिं सुन्ने मानिसहरूद्वारा निश्चय भयो। परमेश्वर पनि, चिह्नहरू, अनौठा कामहरू, नाना प्रकारका शक्तिहरू र पवित्र आत्माको वरदानबाट उहाँको आफ्नै इच्छाबमोजिम तिनीहरूको गवाही हुनुभयो।” (हिब्रू २:२-४) हो, भविष्यसूचक वचन उद्घोषणा गर्ने प्रमुख व्यक्ति येशू नै हुनुहुन्छ।—प्रकाश १९:१०.
१६. यहोवा परमेश्वरले गर्नुभएका सम्पूर्ण भविष्यवाणीहरूमा हामी किन पूर्णतया विश्वास गर्नसक्छौं?
१६ माथि उल्लेख भएझैं पत्रुसले भने: “कुनै अगमवाणी कसैले खास आफ्नै अर्थले दिएको होइन।” मानिस आफैले सही अगमवाणी गर्नसक्दैन तर परमेश्वरले मानिसजाति मार्फत गर्नुभएका सबै भविष्यवाणीहरूमा भने हामी पूर्णतया विश्वास गर्नसक्छौं। ती सबै यहोवा परमेश्वरले नै भन्नुभएका कुराहरू हुन्। उहाँले पवित्र आत्माद्वारा आफ्ना सेवकहरूलाई बाइबलका भविष्यवाणीहरू कसरी पूरा भए भनी बुझाउनुभएको छ। सन् १९१४ देखि यस्ता भविष्यवाणीहरू पूरा भइरहेको देखेका हुनाले हामी यहोवाप्रति साँच्चै कृतज्ञ छौं। अतः, यस दुष्ट रीतिरिवाजको अन्तसम्बन्धी बाँकी भविष्यवाणीहरू पनि पूरा हुनेछन् भनी हामी निर्धक्क छौं। हामी ज्योति चम्काउँदै ईश्वरीय अगमवाणीहरूमा हाम्रो ध्यान लगाउनु नितान्त आवश्यक छ। (मत्ती ५:१६) ‘निष्पट्ट अन्धकारले’ ढाकेको यस पृथ्वीमा यहोवाले ‘हाम्रोलागि ज्योति दिइरहनुभएकोमा’ हामी साँच्चै कृतज्ञ छौं!—यशैया ५८:१०.
१७. हामीलाई परमेश्वरबाट आध्यात्मिक ज्योतिको आवश्यकता किन छ?
१७ ज्योतिले गर्दा हामी देख्नसक्छौं। यसकै कारण उब्जनी हुन्छ र हामी थरिथरिका आहार प्राप्त गर्छौं। ज्योतिबिना हामी बाँच्न सक्दैनौं। आध्यात्मिक ज्योतिबारे चाहिं के भन्न सकिन्छ? यसले हामीलाई परमेश्वरको वचन बाइबलमा बताइएको भविष्यतर्फ डोऱ्याउने बाटो देखाउँछ। (भजन ) यहोवा परमेश्वरले प्रेमपूर्वक ‘उहाँको ज्योति र उहाँको सत्यता पठाउनुभएको छ।’ ( ११९:१०५भजन ४३:३) हामीले यस्ता प्रबन्धहरूप्रति गहिरो मूल्यांकन व्यक्त गर्नुपर्ने हो। यसकारण, आउनुहोस् “परमेश्वरको महिमाको ज्ञानको ज्योति” ग्रहण गर्न सक्दो प्रयास गरौं ताकि यसले हाम्रो हृदयमा अझ उज्यालो छर्नसकोस्।—२ कोरिन्थी ४:६; एफिसी १:१८.
१८. यहोवाको बिहानको तारा अहिले के गर्न तयार हुनुहुन्छ?
१८ सन् १९१४ मा सारा ब्रह्माण्डमा बिहानको तारा येशू ख्रीष्ट उदाउनुका साथै उहाँको रूप परिवर्तनको दर्शन पूरा हुन थालेको रहेछ भनेर थाह पाउनु हाम्रोलागि कत्ति ठूलो आशिष् हो! अहिले यहोवाको बिहानको तारा देखा परिसक्नुभएको छ र आफ्नो रूप परिवर्तन हुनुसितसम्बन्धित परमेश्वरका थप उद्देश्य पूरा गर्न अर्थात् “सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लड़ाइँ[को]” निम्ति तयार हुनुहुन्छ। (प्रकाश १६:१४, १६) यो पुरानो रीतिरिवाज हटिसकेपछि यहोवाले “नयाँ स्वर्ग अनि नयाँ पृथ्वी” ल्याउने आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ र त्यतिखेर हामी उहाँलाई ब्रह्माण्डका सार्वभौम प्रभु अनि साँचो भविष्यवाणीका परमेश्वरको रूपमा सदासर्वदा प्रशंसा गरिरहनसक्नेछौं। (२ पत्रुस ३:१३) त्यो महान् दिन नआउञ्जेल परमेश्वरको भविष्यसूचक वचनमा ध्यान दिंदै ईश्वरीय ज्योतिमा हिंडिरहौं।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
• येशूको रूप परिवर्तनलाई तपाईं कसरी वर्णन गर्नुहुन्छ?
• रूप परिवर्तनले विश्वासलाई कसरी सुदृढ पार्छ?
• यहोवाको बिहानको ताराको अर्थ के हो र यो कहिले उदायो?
• हामीले परमेश्वरको भविष्यसूचक वचनमा किन ध्यान दिनुपर्ने हो?
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ १३-मा भएको चित्र]
के तपाईं रूप परिवर्तनको महत्त्व बताउन सक्नुहुन्छ?
[पृष्ठ १५-मा भएको चित्र]
बिहानको तारा उदाइसक्नुभयो। कसरी र कहिले के तपाईंलाई थाह छ?