परमेश्वरको भविष्यसूचक वचनले भविष्यको लागि आशा दिन्छ
परमेश्वरको भविष्यसूचक वचनले भविष्यको लागि आशा दिन्छ
परमेश्वरको वचन अर्थात् पवित्र बाइबलले गर्दा साँचो मसीहीहरू विश्वास र आशा गर्दै भविष्यको प्रतीक्षा गर्छन्। यहोवा परमेश्वरसितको सम्बन्धमा सुरक्षित महसुस गर्दै तिनीहरू भोलिका दिनको प्रतीक्षा गर्छन्। “परमेश्वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशनको सुरुको भाषणमा प्रस्ट पारिएझैं यहोवाका साक्षीहरू बाइबल भविष्यवाणीहरूका उत्सुक विद्यार्थीहरू भएको वर्षौं भइसक्यो। त्यसो भए, ती अधिवेशनहरूमा यहोवाले आफ्ना जनहरूको लागि के कुराहरू प्रस्तुत गर्नुहुनेथ्यो? उपस्थित सबै बाइबल तयार राखेर जवाफ पाउन उत्सुक देखिन्थे। अधिवेशनको हरेक दिनको मूल विषय उपशीर्षकद्वारा छुट्ट्याइएको छ।
पहिलो दिन: परमेश्वरको वचनको ज्योतिमा हिंड्ने
“हामीलाई परमेश्वरको वचनले डोऱ्याएको छ” विषयक भाषणले प्रस्ट पारेअनुसार यहोवाका जनहरू निस्पट्ट अन्धकारले छोपेको रातमा यात्रा थाल्ने मानिसजस्तै हुन्। घाम झुल्कन थाल्दा तिनले छायाँ मात्र देख्छन् तर घाम माथि माथि उदाउँदै मध्य दिनमा पुग्दा तिनले सबै कुरा स्पष्ट देख्छन्। हितोपदेश ४:१८ मा भविष्यवाणी गरिएझैं यहोवाका जनहरूले परमेश्वरको भविष्यसूचक वचनमा पाइने सच्चाइको चम्किलो ज्योतिमा आफ्नो मार्ग स्पष्ट देख्न सकेका छन्। तिनीहरूले आध्यात्मिक अन्धकारमा छामछाम-छुमछुम गर्नुपर्दैन।
“परमेश्वरको भविष्यसूचक वचनमा ध्यान दिनुहोस्” विषयक मुख्य भाषणले यहोवामा भर पर्नेहरूले झूटा मसीह र झूटा भविष्यवक्ताहरूका अनुयायीहरूले जस्तो निराशा र भ्रमको सामना गर्नुपर्दैन भनेर श्रोताहरूलाई बतायो। तर येशू नै साँचो मसीह हुनुहुन्छ भनेर प्रशस्त प्रमाणहरू छन्! उदाहरणका लागि, येशूले चमत्कारपूर्ण ढंगमा रूप परिवर्तन गर्नुभएर आफू परमेश्वरको राज्यको शासनारूढ राजा हुनुहुन्छ भनेर पूर्वझलक दिनुभयो। सन् १९१४ मा येशू राज्यशक्तिमा आउनुभए देखि उहाँलाई २ पत्रुस १:१९ मा उल्लेख गरिएको “बिहानको तारा” पनि भनिएको छ। वक्ताले यसो भने, “मसीही राज्यको बिहानको ताराको हैसियतमा उहाँले सबै आज्ञाकारी मानिसजातिको लागि नयाँ दिन अर्थात् नयाँ युगको उदय भएको घोषणा गर्नुहुन्छ।”
अपराह्नको कार्यक्रमको सुरुमा “ज्योतिहरूझैं चम्किने” विषयक भाषणले एफिसी ५:८ मा भएको “ज्योतिका सन्तानझैं हिंड़डुल गर” भन्ने पावलको सल्लाहलाई अझ विस्तृत तवरमा छलफल गऱ्यो। अरूलाई परमेश्वरको वचनबारे बताएकाले मात्र नभई येशूको अनुकरण गर्दै बाइबलका कुराहरू आफ्नो जीवनमा लागू गरेकाले पनि मसीहीहरू ज्योति हुन्।
यसप्रकारको ज्योति हुन हामीले “परमेश्वरको वचन पढेर आनन्द उठाउ[नैपर्छ]।” यस शीर्षकलाई गोष्ठीको तीन भागमा बाँडिएको थियो। पहिलो वक्ताले अब्राहाम लिंकनको भनाइ उद्धरण गर्दै बाइबल, “परमेश्वरले मानिसलाई दिनुभएको सबैभन्दा उत्तम उपहार” हो भने। अनि श्रोताहरूलाई तिनीहरूको पढ्ने बानीले यहोवाको वचनप्रति मूल्यांकनको गहिराइबारे के देखाउँछ भनेर सोधे। श्रोताहरूलाई ध्यान दिएर बाइबल पढ्न, धर्मशास्त्रीय विवरणहरूको दृश्य कल्पना गर्न र पहिले सिकिसकेका कुराहरू नयाँ बुँदाहरूसित कसरी सम्बन्धित छ भनेर बुझ्ने प्रोत्साहन दिइयो।
गोष्ठीको अर्को भागले “खँदिलो खानेकुरा” खाने हो भने सरसरती मात्र पढ्ने नभई अध्ययन गर्नु आवश्यक छ भन्ने कुरामा जोड दियो। (हिब्रू ५:१३, १४) इस्राएली पूजाहारी एज्राले जस्तै हामीले पनि ‘मन दियौं’ भने अध्ययन प्रोत्साहनदायी हुनेछ भनी वक्ताले बताए। (एज्रा ७:१०) तर अध्ययन गर्नु किन यत्तिको महत्त्वपूर्ण छ? किनभने यहोवासित हाम्रो कस्तो सम्बन्ध छ, त्यो त्यसैमा भर पर्छ। तसर्थ, बाइबल अध्ययन गर्न मानसिक अनुशासन र प्रयासको खाँचो परे तापनि त्यो बहुमूल्य, आनन्ददायी र स्फूर्तिदायी हुनुपर्ने हो। अर्थपूर्ण अध्ययन गर्न हामी कसरी समय निकाल्न सक्छौं? गोष्ठीको अन्तिम वक्ताले भने, कम महत्त्वपूर्ण क्रियाकलापबाट ‘समय किनेर’। (एफिसी ५:१६, NW) हो, आफूसित भएको समयको सदुपयोग गर्नु नै समय निकाल्ने मूलभूत तरिका हो।
“परमेश्वरले थकितहरूलाई बल दिनुहुन्छ” विषयक भाषणले आजकाल थुप्रै मानिसहरू थकित छन् भनेर प्रस्ट पाऱ्यो। मसीही सेवकाईको लागि “असामान्य शक्ति” पाउन हामीले “दुर्बलहरूलाई बल दिनु[हुने]” यहोवामा भर पर्नुपर्छ। (२ कोरिन्थी ४:७, NW; यशैया ४०:२९) हामीलाई दृढ पार्ने सहायकहरूमा परमेश्वरको वचन, प्रार्थना, मसीही मण्डली, सेवकाईमा नियमित सहभागिता, मसीही निरीक्षकहरू र अरूको विश्वासको उदाहरण समावेश छन्। “समयलाई ध्यानमा राख्दै शिक्षक हुनुहोस्” विषयले मसीहीहरू शिक्षक हुनुका साथै प्रचारक हुनुपर्छ अनि “शिक्षण कला[मा]” विकास गर्न कडा परिश्रम गर्नुपर्छ भनी प्रस्ट पारियो।—२ तिमोथी ४:२, NW.
“परमेश्वर विरुद्ध लड्नेहरू विजय हुनेछैनन्” विषयक त्यस दिनको अन्तिम भाषणले हालै केही मुलुकहरूमा यहोवाका साक्षीहरू खतरनाक गुट हुन् भन्ने गलत अर्थ लगाइएको घटनाहरूबारे उल्लेख गऱ्यो। तर हामी डराउनु पर्दैन किनभने यशैया ५४:१७ यसो भन्छ: “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ, औ मामिलामा तेरो विरुद्धमा उठ्ने जोसुकैलाई पनि तैंले हराउनेछस्। यो चाहिं परमप्रभुका दासहरूको अधिकार हो, र मद्वारानै तिनीहरूको न्याय स्थापित हुनेछ, परमप्रभु भन्नुहुन्छ।”
दोस्रो दिन: भविष्यसूचक धर्मशास्त्रीय वचनबाट प्रकट भएका कुराहरू
त्यस दिनको बाइबल पद छलफल गरेपछि उपस्थित सबैजनाले “ज्योति वाहकहरूको हैसियतमा यहोवाको
महिमा गर्ने” शीर्षकको दोस्रो गोष्ठीबाट आनन्द उठाए। पहिलो भाषणले देखाएअनुसार मसीहीहरूको लक्ष्य सबै ठाउँमा प्रचार गरेर यहोवाको महिमा गर्नु हो। त्यसपछिको भागले इच्छुक व्यक्तिहरूलाई परमेश्वरको संगठनतर्फ डोऱ्याउने आवश्यकताबारे उल्लेख गऱ्यो। कसरी? परमेश्वरको संगठन कसरी चल्छ भनेर देखाउन हरेक गृह बाइबल अध्ययन गर्नुअघि वा पछि पाँच दस मिनेट समय निकालेर। यस गोष्ठीको तेस्रो भाषणले असल कामहरू गरेर परमेश्वरको महिमा गर्नुपर्छ भन्ने कुरामा जोड दियो।“यहोवाका सम्झौटाहरूलाई प्रगाढ प्रेम गर्नुहोस्” विषयक भाषणले भजन ११९ अध्यायबाट छानिएका पदहरू छलफल गऱ्यो। हामीलाई सम्झौटाहरू चाहिन्छ नै किनकि हामी स्वभावैले भुल्ने हुन्छौं। त्यसो भए, भजनरचयिताले जस्तै हामीले पनि यहोवाका सम्झौटाहरूलाई प्रेम गर्न सिक्नु एकदमै महत्त्वपूर्ण छ!
त्यसपछि अधिवेशनको प्रमुख आकर्षणको पालो आयो र त्यो थियो, “भविष्यसूचक वचन पालन गर्नाले बप्तिस्मातर्फ डोऱ्याउँछ” विषयक बप्तिस्मा भाषण। बप्तिस्मा लिने उम्मेदवारहरूलाई बप्तिस्मा लिएर मात्र नभई येशूको पाइलामा टेक्दै हिंडेर उहाँको अनुकरण गर्नुपर्छ भनेर बताइयो। (१ पत्रुस २:२१) येशूले आफ्ना आत्मा अभिषिक्त चेलाहरूसँगसँगै यूहन्ना १०:१६ मा भविष्यवाणी गरिएको “अरू भेड़ा[का]” नयाँ जनहरूले पनि भाग पाउनु कत्ति राम्रो सुअवसर हो!
अपराह्नको कार्यक्रमको सुरुआतमा “आत्माले के भन्छ, सुन्नुहोस्” भाषणले यहोवाको आत्माले बाइबल, “विश्वासी अनि बुद्धिमान दास” र हाम्रो बाइबल प्रशिक्षित अन्तस्करण मार्फत हामीसित बोल्नुहुन्छ भनेर प्रस्ट पाऱ्यो। (मत्ती २४:४५) यसर्थ, परमेश्वरलाई खुसी तुल्याउने तरिका जान्न मसीहीहरूले स्वर्गबाटै आवाज सुन्नुपर्छ भन्ने छैन। त्यसपछिको भाषण “ईश्वरीय भक्तिअनुसारको शिक्षाको लागि दृढ” विषयक छलफलले यस संसारले फैलाउने अनैतिक विचारको पछि नलाग्नु भनी मसीहीहरूलाई आग्रह गऱ्यो। निस्सन्देह, हामीलाई जुनसुकै कुराबारे पनि जान्ने सकसक लाग्छ भने धर्मत्यागी र शैतानका अरू चम्चाहरूले बढावा दिने हानिकारक जानकारीहरूले प्रभावित हुनसक्छौं। बाइबलका साथै प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाका सबै लेखहरूको नियमित अध्ययन गर्नु एकदमै बेस हो।
“पक्का कुराहरूको नमुना पक्रिराख्नुहोस्” विषयक अर्को भाषणले धर्मशास्त्रीय “नमूना” अथवा सत्यको रूपरेखालाई राम्ररी जान्नुपर्ने महत्त्वलाई जोड दियो। (२ तिमोथी १:१३) यो नमुनाअनुसार चल्नाले ईश्वरीय भक्तिका साथै सत्यसित मेल नखाने कुराहरू पनि चिन्न सकिन्छ।
यहोवाले तपाईंलाई धन-सम्पत्ति सरह ठान्नुभएको कल्पना गर्नुहोस् त। कस्तो सम्मान! हाग्गैको भविष्यवाणीमा आधारित “यहोवाको घरमा ‘धन-सम्पत्तिहरू’ जम्मा हुँदैछ” विषयक भाषण सबैभन्दा प्रोत्साहनदायी थियो। किनकि उक्त भाषणले “ठूला भीड़[का]” हरेक सदस्य यहोवाको नजरमा साँच्चै धन-सम्पत्ति सरह छन् भनेर श्रोताहरूलाई आश्वासन दियो। (प्रकाश ७:९) त्यसकारण, यहोवाले आउँदै गरेको “महा संकष्ट[मा]” सबै जातिहरूलाई अन्तिम पटक ‘हल्लाउनुहुँदा’ ठूलो भीडलाई बचाउनुहुनेछ। (हाग्गै २:७, २१, २२; मत्ती २४:२१) तथापि, त्यतिञ्जेल यहोवाका जनहरू आध्यात्मिक तवरमा जागा रहनुपर्छ भनेर “भविष्यसूचक धर्मशास्त्रले हामीलाई सतर्क गराउँछ” भन्ने भाषणमा प्रस्ट पारियो। वक्ताले येशूका यी शब्दहरू उद्धरण गरे: “जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्, सो तिमीहरूले जान्दैनौ।” (मत्ती २४:४२) आध्यात्मिक तवरमा हामी कसरी जागा रहनसक्छौं? यहोवाको सेवामा व्यस्त रहेर, अटुट प्रार्थना गरेर अनि यहोवाको महान् दिनलाई पर्खेर।
त्यस दिनको अन्तिम भाषणको शीर्षक थियो, “अन्तको समयमा भविष्यसूचक वचन।” सबैले उक्त भाषणलाई वर्षौंसम्म याद राख्नेछन्। किन? किनकि वक्ताले दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्! नामक नयाँ पुस्तक विमोचन गरे। वक्ताले भने, “आकर्षक चित्रहरू भएको यस ३२० पृष्ठे प्रकाशनमा दानियलको पुस्तकका हरेक भागलाई समेटिएको छ।” यहोवाले आफ्नो भविष्यसूचक वचनलाई अझ प्रस्ट पार्नुहुँदैछ भनेर विश्वासलाई बलियो बनाउने कस्तो जोडदार प्रमाण!
तेस्रो दिन: परमेश्वरको भविष्यसूचक वचन कहिल्यै फरक परेको छैन
अधिवेशनको अन्तिम दिनको सुरुमै “तोकिएको समयको लागि भविष्यसूचक वचन” भन्ने गोष्ठी प्रस्तुत गरियो। तीनैवटा भागले भविष्यवक्ता हबकूकले, परमेश्वरले
कार्यान्वयन गर्नुहुने न्यायबारे गरेका तीनवटा भविष्यवाणीबारे छलफल गरे। पहिलोचाहिं तर्किएका यहूदा विरुद्ध थियो भने दोस्रोचाहिं अत्याचारी बेबिलोन विरुद्ध। तेस्रो भाग पूरा हुन बाँकी छ र यो दुष्ट मानिसहरूमा आउन लागेको विनाशसित सम्बन्धित छ। यो कुरा पूरा हुन बाँकी छ। गोष्ठी प्रस्तुत गर्ने अन्तिम भाइले आरमागेडोनबारे बताउँदै श्रोताहरूको मनमा स्वास्थ्यकर ईश्वरीय भय जगाए। तिनले यसो भने: “यहोवाले आफ्नो महान् शक्तिलाई पूर्ण रूपमा चलाउनुहुँदा त्यो साँच्चै विस्मयकारी हुनेछ।”अधिवेशनमा मनै छुने बाइबल नाटकको शीर्षक थियो, “आध्यात्मिक सम्पदाको मूल्यांकन गर्नुहोस्।” यो प्रस्तुतिले आफूले आफूलाई केलाउन मदत गऱ्यो र यसले आध्यात्मिक कामकुराप्रति याकूब र एसावको मनोवृत्तिमा भिन्नता देखायो। एसावले आफ्नो आध्यात्मिक सम्पदालाई तुच्छ ठानेको हुँदा त्यो सम्पदाको मूल्यांकन गर्ने याकूबलाई दिइयो। श्रोताहरूलाई यो प्रश्न सोधियो, “यहोवाले हामीलाई के [आध्यात्मिक सम्पदा] दिनुभएको छ?” त्यसको जवाफ वक्ताले यसरी दिए, “उहाँको सत्य वचन, बाइबल; अनन्त जीवनको आशा र सुसमाचार उद्घोषकहरूको रूपमा उहाँको प्रतिनिधित्व गर्न पाउने सम्मान।”
त्यसपछिको भागको शीर्षक थियो, “हाम्रो अनमोल सम्पदा तपाईंलाई कत्तिको अर्थपूर्ण लाग्छ?” व्यक्तिगत तथा भौतिक इच्छाको सट्टा यहोवाको सेवा र आध्यात्मिक सुअवसरहरूलाई प्राथमिकता दिएर हामी आफ्नो आध्यात्मिक सम्पदाप्रति सही मनोवृत्ति देखाउँछौं। यसरी हामी आदम, एसाव र अविश्वासी इस्राएलीहरूभन्दा भिन्नै भएर यहोवासितको हाम्रो सम्बन्धलाई नै केन्द्रबिन्दु बनाउँछौं।
“भविष्यवाणी गरिएअनुसार सबै कुरा नयाँ तुल्याउने” विषयक जनभाषणले “नयाँ स्वर्ग” र “नयाँ पृथ्वी” सम्बन्धी चार प्रमुख भविष्यवाणीहरू प्रस्तुत गऱ्यो। (यशैया ६५:१७-२५; ६६:२२-२४; २ पत्रुस ३:१३; प्रकाश २१:१, ३-५) स्पष्टतया, यी भविष्यवाणीहरू सा.यु.पू. ५३७ मा पुनर्स्थापित इस्राएलीहरूको समयमा भन्दा अझ महान् ढंगमा पूरा गर्ने यहोवाको मनसाय थियो। हो, उहाँको मनमा आफ्नो राज्य सरकार (“नयाँ स्वर्ग”) अनि महिमित विश्वव्यापी प्रमोदवनमा बसोबास गर्ने त्यसको पार्थिव प्रजाहरू (“नयाँ पृथ्वी”) थियो।
अधिवेशनलाई रोमाञ्चकारी र प्रेरणादायी ढंगमा टुंग्याउने भाषणको शीर्षक थियो, “परमेश्वरको वचनले डोऱ्याउँदै लाँदा हाम्रा प्रत्याशाहरू।” त्यो भाषणले परमेश्वरको राज्य सन्देश घोषणा गर्ने काम गर्न “समय अल्प भएको छ” भनेर बतायो। (१ कोरिन्थी ७:२९) हो, हामी शैतान र त्यसको सम्पूर्ण दुष्ट रीतिरिवाजमाथि यहोवाले फैसला गर्नुहुने समयको संघारमै छौं। हाम्रो विचार पनि यो भजन गाउने भजनरचयिताको जस्तै होस्: “हाम्रो आत्माले परमप्रभुको बाटो हेरेको छ, हाम्रा सहायता र हाम्रो ढाल उहाँनै हुनुहुन्छ।” (भजन ३३:२०) परमेश्वरको भविष्यसूचक वचनमा आशा राख्नेहरूको लागि भविष्यमा अत्यन्तै गौरवशाली प्रत्याशा छ!
[पृष्ठ ७-मा भएका चित्रहरू]
प्रेरणादायी नाटकले यहोवाका सेवकहरूको आध्यात्मिक सम्पदाप्रति मूल्यांकन जगायो
[पृष्ठ ७-मा भएका चित्रहरू]
परमेश्वरको भविष्यसूचक वचन पालन गर्ने थुप्रैले बप्तिस्मा लिए