तपाईं आफूलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ?
तपाईं आफूलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ?
तिनी घमण्डी थिए। उच्च सरकारी ओहदामा पदोन्नती भएकाले अरूको प्रशंसा र सम्मान पाएकोमा तिनी मक्ख थिए। तर अर्को एक जना पदाधिकारीले त्यस्तो सम्मान दिन नमानेकोले तिनलाई असाध्यै रिस उठ्यो। बदलामा त्यस घमण्डी पदाधिकारीले आफ्नो साम्राज्यमा बसोबास गर्ने उक्त अधिकारीको जस्तै जातीय पृष्ठभूमि भएका सबै मानिसलाई मार्ने निधो गरे। आत्म-महत्त्वको कस्तो विकृत रूप!
त्यसरी निधो गर्ने व्यक्ति फारसी राजा अहासूरसको अदालतको मुख्य मन्त्री हामान थिए। तिनको यस्तो दुस्मनी कोसित थियो? मोर्दकै नाउँ गरेको यहूदी। हुन त हामानले गरेको नरसंहार उसको दुस्मनीको भयावह रूप थियो तर घमण्डले कस्तो खतरा र गम्भीर परिणाम ल्याउँछ भनेर स्पष्ट हुन्छ। तिनको हठी मनोवृत्तिले अरूको लागि मात्र समस्या खडा गरेन तर त्यसले गर्दा तिनी आफै मानिसहरूअघि अपमानित हुनुका साथै मर्नु पनि पऱ्यो।—एस्तर ३:१-९; ५:८-१४; ६:४-१०; ७:१-१०.
साँचो उपासकहरू पनि घमण्डको सिकार हुनसक्छन्
हामी ‘आफ्नो परमेश्वरसित नम्र भएर हिंडेको’ यहोवा चाहनुहुन्छ। (मीका ६:८) आफूलाई नम्र बनाउन नसकेका थुप्रै मानिसहरूको विभिन्न विवरण बाइबलमा छन्। त्यसले गर्दा तिनीहरूले समस्या र दुःख भोग्नुपऱ्यो। त्यस्ता केही उदाहरणहरू विचार गर्नाले अनियन्त्रित सोचाइ कत्तिको मूर्खता र खतरा हुन्छ भनेर हामीलाई बुझ्न मदत गर्छ।
परमेश्वरको भविष्यवक्ता योनाको सोचाइ यत्ति अनियन्त्रित भयो कि निनवेका दुष्ट मानिसहरूको विरुद्धमा यहोवाले न्याय कार्यान्वयन गर्नुहुनेछ भनेर चेताउनी दिने ईश्वरीय आज्ञा पाउँदा तिनी भाग्न खोजे। (योना १:१-३) पछि तिनले प्रचार गरेकोले निनवेका मानिसहरूले पश्चात्ताप गर्दा योना ठुस्स परे। आफू भविष्यवक्ता भएकाले तिनले आफ्नो ख्यातिप्रति यत्ति चासो राखे कि निनवेका हजारौं मानिसहरूको ज्यानको कुनै पर्वाह नै गरेनन्। (योना ४:१-३) हामी हठी भएर आफैलाई मात्र बढ्ता महत्त्व दियौं भने हामीलाई वरपरका मानिस र घटनाहरूको निष्पक्ष र सही दृष्टिकोण राख्न गाह्रो हुनसक्छ।
उज्जियाहलाई विचार गर्नुहोस्, कुनै समयमा तिनी यहूदाको असल राजा थिए। तिनको सोचाइ अनियन्त्रित हुन थालेपछि तिनी हठी भएर पूजाहारीको कुनै कुनै कार्यभारहरू हडप्न खोजे। आफ्नो हठी र अहंकारी कामले गर्दा तिनले आफ्नो स्वास्थ्य र ईश्वरीय अनुमोदन गुमाउनु पऱ्यो।—२ इतिहास २६:३, १६-२१.
आफ्नो सोचाइलाई नियन्त्रणमा नराख्दा येशूका चेलाहरू पनि झन्डै पासोमा परेका थिए। तिनीहरू व्यक्तिगत महिमा र शक्तिको लागि बढ्तै चिन्तित थिए। महान् परीक्षाको घडीमा तिनीहरूले येशूलाई छाडेर भागे। (मत्ती १८:१; २०:२०-२८; २६:५६; मर्कूस ९:३३, ३४; लूका २२:२४) नम्र हुन नसक्दा अनि आफूलाई महत्त्वपूर्ण ठान्दा तिनीहरूले यहोवाको उद्देश्य र उहाँको इच्छासित सम्बन्धित तिनीहरूको भूमिका झन्डै बिर्सेका थिए।
आत्म-महत्त्वका हानिकारक असरहरू
हामीले आफ्नैबारे मात्र बढ्ता चासो लिन थाल्यौं भने दुःख पाउनुका साथै अरूसितको हाम्रो सम्बन्ध पनि बिग्रनसक्छ। उदाहरणका लागि, हामी बसेको कोठामा कुनै दुई व्यक्तिले कानेखुसी गर्दै हाँसेको देखौंला। यदि हामी आत्म-केन्द्रित छौं भने तिनीहरूले खासखुस गरेर हाम्रै कुरा काटेको होला भन्ने गलत अनुमान लगाउनसक्छौं। तिनीहरूले त्यसरी कुरा गर्नुको अरू थुप्रै कारण हुनसक्छ भन्ने मनमै नआउन सक्छ। आखिर, हाम्रै कुरा काटेको त
होला नि। हामी खिन्न भएर त्यस दम्पतीसित नबोल्ने निर्णय गरौंला। त्यसरी आफैलाई बढ्ता महत्त्व दिनाले साथी, परिवारका सदस्यहरू र अरूसित गलतफहमी हुनुका साथै तिनीहरूसितको सम्बन्ध बिग्रनसक्छ।आफ्नैबारेमा असाध्यै सोच्ने मानिस आफ्नो योग्यता, कार्य र सम्पत्तिको घमण्ड गर्ने र धाक मात्र लगाउने हुनसक्छ। वा तिनीहरूले आफ्नैबारेमा मात्र कुरा सुनाएको सुनाएकै गर्नसक्छन्। त्यस्ता बोलीले साँचो प्रेम झल्काउँदैन र अरूलाई पनि मन पर्दैन। तसर्थ, अहंकारी मानिसले आफैलाई अरूबाट अलग्ग राख्छ।—१ कोरिन्थी १३:४.
यहोवाका साक्षीहरूको हैसियतमा हामीले आफ्नो जन सेवकाईमा खिसी गर्ने र सुन्न नचाहने मानिसहरू भेट्नसक्छौं। तर हामीले बिर्सन नहुने कुरा के हो भने, त्यस्तो विरोध हामीविरुद्ध नभई हाम्रो सन्देशको स्रोत यहोवाविरुद्ध हो। तथापि, आफूलाई चाहिनेभन्दा बढ्ता महत्त्व दिएर अहंकारी भयौं भने गम्भीर परिणाम हुनसक्छ। वर्षौंअघिको कुरा हो, एक जना भाइलाई घरधनीको जवाफ मन परेन र यो भाइले पनि तिनलाई जथाभाबी भने। (एफिसी ४:२९) त्यसपछि त्यो भाइले घरघर सेवकाईमा भाग लिनै छाडे। हो, हामी घमण्डी छौं भने प्रचार गर्दा झरंगै रिस उठ्नसक्छ। हामी त्यसो हुन कहिल्यै नदेऔं। बरु, मसीही सेवकाईमा लाग्ने सुअवसरको ठीक मूल्यांकन गरिरहन नम्र भई यहोवाको मदत मागौं।—२ कोरिन्थी ४:१, ७; १०:४, ५.
आफूलाई बढ्तै महत्त्वपूर्ण ठान्नाले हामीलाई आवश्यक सल्लाह स्वीकार्न पनि गाह्रो हुनसक्छ। केही वर्षअघि मध्य अमेरिकी मुलुकमा भएको घटना हो, एक जना किशोरले मसीही मण्डलीमा ईश्वरतान्त्रिक सेवकाई स्कूलमा भाषण दिए। स्कूल निरीक्षकले ठाडो सल्लाह दिंदा उक्त किशोर रिसाएर बाइबल भुइँमा बजारेर कहिल्यै नफर्किने विचार गर्दै राज्यभवनबाट ठमठम बाहिर निस्के। तर केही दिनपछि तिनले आफ्नो घमण्डलाई वशमा राखेर स्कूल निरीक्षकसित मिलाप गरे अनि नम्र भई सल्लाह स्वीकारे। समयको दौडान उक्त जवान परिपक्व मसीही भए।
हठी हुँदा र आफूलाई मात्र बढ्तै महत्त्व दिंदा परमेश्वरसितको हाम्रो सम्बन्ध बिग्रनसक्छ। हितोपदेश १६:५ यस्तो चेताउनी दिन्छ: “अहंकारी मानिस, सबका सब, परमप्रभुको दृष्टिमा घृणित छन्।”
आफूबारे सन्तुलित दृष्टिकोण राख्ने
स्पष्टतः, हामीले आफूलाई बढ्तै महत्त्व दिनुहुँदैन। निस्सन्देह, यसको अर्थ हाम्रो काम र बोलीलाई हल्कासित लिनु भनेको होइन। बाइबलले देखाएअनुसार निरीक्षक, सेवकाई सेवकहरू वा साँच्चै भन्ने हो भने मण्डलीमा सबै जना गम्भीर हुनुपर्छ। (१ तिमोथी ३:४, ८, ११; तीतस २:२) उसो भए मसीहीहरूले आफैलाई नम्र, सन्तुलित र उचित दृष्टिकोणले हेर्न के गर्न सक्छन्?
आफूलाई सन्तुलित दृष्टिकोणले हेर्ने व्यक्तिहरूको थुप्रै प्रोत्साहनदायी उदाहरणहरू बाइबलमा छन्। सबैभन्दा विशेष, येशू ख्रीष्टको नम्रताको उदाहरण हो। आफ्नो पिताको इच्छा गर्न र मानिसजातिको उद्धार गर्न परमेश्वरको पुत्रले स्वैच्छापूर्वक आफ्नो महिमित स्वर्गीय ओहदा त्यागेर पृथ्वीको साधारण मानिस हुनुभयो। अपमान, दुर्व्यवहार र लज्जास्पद मृत्युको बावजूद उहाँले आत्मसंयम कायम राख्नुभयो। (मत्ती २०:२८; फिलिप्पी २:५-८; १ पत्रुस २:२३, २४) येशूले कसरी यसो गर्न सक्नुभयो? उहाँ पूर्णतया यहोवामा भर पर्नुका साथै ईश्वरीय इच्छा गर्न दृढ पनि हुनुहुन्थ्यो। येशूले परमेश्वरको वचन ध्यान दिएर पढ्नुभयो, खुरन्धार प्रार्थना गर्नुभयो र सेवकाईमा उत्कट प्रयास गर्नुभयो। (मत्ती ४:१-१०; २६:३६-४४; लूका ८:१; यूहन्ना ४:३४; ८:२८; हिब्रू ५:७) येशूको उदाहरण अनुकरण गऱ्यौं भने हामीले आफैलाई सन्तुलित दृष्टिकोणले हेर्नसक्छौं।—१ पत्रुस २:२१.
शाऊलको छोरा जोनाथनको असल उदाहरण पनि विचार गर्नुहोस्। बुबाको अनाज्ञाकारिताले गर्दा जोनाथनले शाऊलको उत्तराधिकारी हुने मौका गुमाए। (१ शमूएल १५:१०-२९) के त्यसले गर्दा जोनाथन चिढिए? तिनको सट्टा जवान दाऊदले शासन गर्ने हुँदा के तिनले ईर्ष्या गरे? जोनाथन दाऊदभन्दा उमेरमा ठूलो र सम्भवतः अनुभवी भए तापनि तिनले विनय तथा नम्रतासाथ यहोवाको प्रबन्ध पालन गर्नुका साथै वफादार भई दाऊदको समर्थन गरे। (१ शमूएल २३:१६-१८) परमेश्वरको इच्छालाई राम्ररी बुझेर त्यसअनुसार गर्न इच्छुक हुँदा हामीले ‘आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढ़ी नसम्झन’ मदत पाउँछौं।—रोमी १२:३.
येशूले विनय र नम्रता देखाउनुको महत्त्व सिकाउनुभयो। यो कुरा देखाउन उहाँले आफ्ना चेलाहरूलाई विवाहको भोजमा जाँदा “मुख्य स्थानमा” नबस किनभने कोही इज्जतदार मानिसलाई त्यो ठाउँ छोडेर तल्लो ठाउँमा बस्नुपर्दा लाजमा परिएला भन्नुभयो। यस पाठलाई स्पष्ट पार्न येशूले अझ भन्नुभयो: “आफूलाई ठूलो तुल्याउने चाहिं हरेक होचिनेछ, औ आफूलाई होच्याउने चाहिं ठूलो हुनेछ।” (लूका १४:७-११) हामीले बुद्धिमानी भई येशूको सल्लाह पालन गर्नुका साथै ‘सहानुभूतिको हृदय’ धारण गर्नुपर्छ।—कलस्सी ३:१२; १ कोरिन्थी १:३१.
सन्तुलित दृष्टिकोण राख्नाले पाइने आशिष्हरू
यहोवाका जनहरूले विनयी र नम्र मनोभाव राख्दा आफ्नो सेवकाईबाट साँचो आनन्द उठाउन सक्छन्। प्राचीनहरूले नम्र भई “बगाललाई कोमलसाथ रेखदेख” गर्दा तिनीहरूसित कुरा गर्न कसैले पनि अप्ठ्यारो मान्दैन। (प्रेरित २०:२८, २९) त्यसपछि मण्डलीमा सबैले तिनीहरूसित खुलस्त कुराकानी गर्नसक्नुका साथै तिनीहरूको मदत पनि माग्छन्। त्यसरी प्रेम, न्यानोपन र भरोसाले गर्दा मण्डलीमा झनै आत्मीयता हुन्छ।
आफूलाई मात्र बढ्तै महत्त्वपूर्ण नसम्झने गर्दा असल मित्र बनाउन सक्छौं। हामी विनयी र नम्र छौं भने काम अथवा भौतिक थोकहरूमा अरूभन्दा श्रेष्ठ हुन खोजेर प्रतिस्पर्धात्मक मनोवृत्ति विकास हुन दिनेछैनौं। यी ईश्वरीय गुणहरूले हामीलाई अरूको विचार गर्न मदत गर्छ जसले गर्दा हामी खाँचोमा परेकाहरूलाई सान्त्वना दिन र सहयोग गर्न सक्ने हुनेछौं। (फिलिप्पी २:३, ४) मानिसहरूसित प्रेमपूर्ण र कोमल व्यवहार गऱ्यौं भने तिनीहरूले राम्रो प्रतिक्रिया देखाउँछन्। अनि यस्तो निस्वार्थ सम्बन्ध नै बलियो मित्रता गाँस्ने जग होइन र? आफूलाई बढ्तै महत्त्वपूर्ण नठान्दा कस्तो राम्रो आशिष् पाइँदोरहेछ!—रोमी १२:१०.
आफूबारे सन्तुलित दृष्टिकोण राख्नाले कसैको चित्त दुखाउँदा आफ्नो गल्ती स्वीकार्न हामीलाई गाह्रो हुँदैन। (मत्ती ५:२३, २४) यसो गर्दा मिलाप र पारस्परिक आदर बढ्छ अनि त्यसले असल सम्बन्ध बनाउँछ। निरीक्षण गर्ने जिम्मेवारी पाएका मसीही प्राचीनहरू विनयी र नम्र छन् भने तिनीहरूले अरूको भलाइ गर्न धेरै योगदान पुऱ्याउने मौका पाउँछन्। (हितोपदेश ३:२७; मत्ती ११:२९) नम्र मानिसलाई आफूविरुद्ध पाप गर्ने व्यक्तिलाई क्षमा दिन पनि गाह्रो पर्दैन। (मत्ती ६:१२-१५) अरूले अनजानमा गरेको व्यवहारमा तिनी झट्टै रिसाउँदैनन् र कुनै पनि रीतिले समाधान गर्न नसकिने समस्यालाई यहोवाले सुल्झाउनु हुन्छ भनेर निर्धक्क हुन्छन्।—भजन ३७:५; हितोपदेश ३:५, ६.
आफैलाई विनयी तथा नम्र बनाउँदा पाइने सबैभन्दा महान् आशिष् यहोवाको कृपा र अनुमोदन हो। “परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (१ पत्रुस ५:५) हामी आफैलाई बढ्ता राम्रो ठान्ने सोचाइको पासोमा कहिल्यै नफसौं। बरु, यहोवाको प्रबन्धमा हाम्रो स्थान के हो भनेर नम्र भई बुझौं। ‘परमेश्वरसित नम्र भएर हिंड्नु’ भन्ने परमेश्वरको इच्छा पूरा गर्ने सबैले महान् आशिष् पाउनेछन्।
[पृष्ठ २२-मा भएको चित्र]
जोनाथनले नम्र भई दाऊदको समर्थन गरे