औलो, यसबारे तपाईंले थाह पाउनुपर्ने कुरा
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१३ मा १९ करोड ८० लाखभन्दा धेरै मानिस औलोबाट (मलेरिया) सङ्क्रमित भए र लगभग ५ लाख ८४ हजार जनाले ज्यान गुमाए। पाँच जना रोगीमध्ये झन्डै चार जना पाँच वर्षमुनिका बालबालिका थिए। संसारभरका लगभग १०० देश र इलाकामा औलो डरलाग्दो समस्या बनेको छ। यस रोगले झन्डै ३ अरब २० करोड मानिसलाई खतरामा पारेको छ।
१ औलो के हो?
औलो परजीवीबाट सर्ने रोग हो। यो रोग लाग्दा ज्वरो आउने, काम्ने, पसिना आउने, टाउको दुख्ने, जीउ दुख्ने, वाकवाक लाग्ने र बान्ता हुनेजस्ता लक्षणहरू देखिन्छ। यी लक्षणहरू परजीवीको किसिम र सङ्क्रमण भएको समयावधिअनुसार हरेक ४८ देखि ७२ घण्टामा फेरि देखा पर्छ।
२ औलो कसरी फैलिन्छ?
-
१. पोथी एनोफेलेस जातिको लामखुट्टेले टोकेपछि प्लाज्मोडिया भनिने औलो परजीवी मानिसको रगतमा प्रवेश गर्छ।
-
२. सङ्क्रमित व्यक्तिको कलेजोको कोषहरूमा परजीवी पुग्छ र त्यहाँ परजीवीको सङ्ख्या बढ्दै जान्छ।
-
३. कलेजोका कोषहरू फुट्छन् अनि परजीवीले सङ्क्रमित व्यक्तिको रातो रक्तकोषलाई आक्रमण गर्छ। रातो रक्तकोषमा यी परजीवीहरूको सङ्ख्या अझ बढ्दै जान्छ।
-
४. रातो रक्तकोष पनि फुट्छ जसले गर्दा परजीवीहरूले अरू रातो रक्तकोषलाई आक्रमण गर्छ।
-
५. यसरी रातो रक्तकोषलाई आक्रमण गर्ने अनि रक्तकोष फुट्ने चक्र चलिरहन्छ। हरेक पटक रातो रक्तकोष फुट्दा सङ्क्रमित व्यक्तिमा औलोका लक्षणहरू देखा पर्छ।
३ तपाईं कसरी जोगिन सक्नुहुन्छ?
औलोको प्रकोप भएको ठाउँमा बस्दै हुनुहुन्छ भने . . .
-
झुल प्रयोग गर्नुहोस्।
-
झुल कीटनाशकयुक्त हुनुपर्छ।
-
झुल प्वाल परेको वा च्यातिएको हुनुहुँदैन।
-
झुललाई डस्नाले राम्ररी च्याप्नुपर्छ।
-
घरमा डी डी टी (लामखुट्टेनाशक रासायनिक पदार्थ) छर्कनुहोस्।
-
सम्भव छ भने झ्याल-ढोकामा जाली राख्नुहोस्। लामखुट्टे भगाउन एसी वा पङ्खा प्रयोग गर्नुहोस्।
-
शरीर पूरै ढाक्ने फिक्का रङ्गको लुगा लगाउनुहोस्।
-
सम्भव छ भने लामखुट्टे स्याउँस्याउँती हुने झाडीतिर नजानुहोस्। पानी जम्मा हुने ठाउँमा लामखुट्टेको प्रजनन हुने भएकोले त्यस्ता ठाउँतिर नजानुहोस्।
-
औलो सङ्क्रमित हुनुहुन्छ भने तुरुन्तै उपचार गराउनुहोस्।
औलोको प्रकोप भएको ठाउँमा जाँदै हुनुहुन्छ भने . . .
-
भ्रमण गर्नुअघि नै त्यस ठाउँको वर्तमान अवस्थाबारे जानकारी लिनुहोस्। ठाउँअनुसार औलो परजीवी फरक-फरक हुन्छ। त्यसैले कुन औषधी सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा परजीवीको किसिममा भर पर्छ। डाक्टरलाई आफ्नो स्वास्थ्य अवस्थाबारे बताएर सावधान हुनुपर्ने क्षेत्रहरूबारे जानकारी लिनु बुद्धिमानी हुन्छ।
-
भ्रमणको दौडान, यस लेखमा दिइएको निर्देशन पालन गर्नुहोस्।
-
औलो सङ्क्रमित भएमा तुरुन्तै उपचार गराउनुहोस्। सङ्क्रमित भएको एकदेखि चार हप्ताभित्र लक्षणहरू देखा पर्न सक्छ भन्ने कुरा याद गर्नुहोस्।