किन यत्ति धेरै बन्देज?
युवाहरू सोध्छन् ...
किन यत्ति धेरै बन्देज?
“ड्याडी-ममीले राती अबेर नगरी घरमा चाँडै फर्कनू भनेर दिने गरेको आदेशले मलाई हैरानै पारेको थियो। अरूहरूले चाहिं मभन्दा ढिलोसम्म बाहिरै बस्ने छुट पाउँदा मलाई भित्र-भित्रै पोलेर आउँथ्यो।”—एलेन, १९ वर्ष।
“क-कसले मलाई फोन गऱ्यो र मैले क-कसलाई फोन गरें भनेर मोबाइल चेक गर्दा मलाई दिक्क लाग्छ। मसित बच्चालाई जस्तै व्यवहार गरिएको जस्तो लाग्छ!”—एलीजाबेथ, १८ वर्ष।
घरमा लगाइएको बन्देजले के तपाईंलाई पनि दिक्कै बनाएको छ? के तपाईंलाई पनि कहिलेकाहीं घरबाट सुटुक्क निस्केर जाउँ वा आफ्नो कामकुराको बारेमा आमाबाबुसँग झूट बोलूँ जस्तो लागेको छ? लागेको छ भने सायद तपाईंको भावना एक किशोरीसँग मिल्ला जसले आफ्नो आमाबाबुलाई चाहिंदोभन्दा बढी ख्याल राख्नेको रूपमा लिइन् र यसो भनिन्: ‘उहाँहरूले मलाई अलि बढी स्वतन्त्रता दिनुपर्ने हो।’
घरमा आमाबाबु वा आफूभन्दा ठूलोले लगाएका बन्देजहरूमा यो गर, त्यो नगर भन्ने कुराहरू पर्छन्। यी बन्देजहरू तपाईंले पूरा गर्नुपर्ने होमवर्क, घरको कामकुरा, घर फर्कन तपाईंको आमाबाबुले तोक्नुभएको समय र साथै फोन, टेलिभिजन अथवा कम्प्युटरको प्रयोगसम्बन्धी लगाइएका प्रतिबन्धहरू हुन सक्छन्। उहाँहरूको नजर कहिलेकाहीं घरभन्दा बाहिरको तपाईंको क्रियाकलापहरूमा समेत पुग्न सक्छ। जस्तो, स्कूलमा तपाईंको कस्तो आनीबानी छ र तपाईंले कस्ता साथीहरू रोज्नुभएको छ आदि।
थुप्रै युवाहरू आमाबाबुले लगाएका बन्देजहरू स्वीकार्दैनन्। एउटा सर्वेक्षणमा अन्तरवार्ता लिइएकाहरूमध्ये झन्डै दुई तिहाइ युवाहरूले, आफूले सजाय पाउनुको मुख्य कारण नै घरको बन्देज तोडेकोले गर्दा हो भनी बताए।
थुप्रै युवाहरूचाहिं केही बन्देजहरू आफ्नो जीवन भताभुङ्ग हुनबाट बचाउनको लागि आवश्यक छन् भन्ने कुरा मानी लिन्छन्। तर यदि घरमा लगाइने बन्देजहरू साँच्चै नै आवश्यक छन् भने किन कुनै-कुनै नियमहरू असाध्यै झर्कोलाग्दो त? यदि तपाईं पनि आमाबाबुको बन्देजमा निसासिरहनु भएको छ भने कसरी केही हदसम्म भए पनि राहत पाउन सक्नुहुन्छ?
“म बच्चा हो र?”
एमिली नाउँ गरेकी एक किशोरी यस्तो प्रश्न गर्छिन्, “म बच्चा होइन, वयस्क बन्नको लागि मलाई केही हदसम्म स्वतन्त्रता चाहिन्छ भनेर ड्याडी-ममीलाई म कसरी बुझाउँ?” के तपाईंले पनि कहिल्यै यस्तै सोच्नुभएको छ? आफूलाई काखे बालक जस्तो व्यवहार गरिंदा एमिलीलाई जस्तै तपाईंलाई पनि रिस उठ्दो हो। निश्चय नै, कुनै कुरालाई हेर्ने तपाईंको शैली र तपाईंको आमाबाबुको शैली फरक हुन सक्छ। त्यसैले उहाँहरूले लगाउनुहुने बन्देज तपाईंलाई जोगाउन र वयस्क व्यक्ति बनाउन चाहिन्छ भन्ने उहाँहरूलाई लाग्न सक्छ।
आफूले केही हदसम्म स्वतन्त्रता पाए तापनि आफ्नो उमेरअनुसारको स्वतन्त्रता नपाएको जस्तो तपाईंलाई लाग्ला। अझ यदि तपाईंका भाइबहिनीहरूले तपाईंले भन्दा बढी लाड्प्यार पाएको जस्तो तपाईंलाई लाग्छ भने त झनै चित्त दुख्न सक्छ। मर्सी नाउँ गरेकी एक युवती भन्छिन्: “म सत्र वर्षकी भएँ र
ड्याडी-ममी मलाई राती चाँडै घर फर्कन भन्नुहुन्छ। मैले केही गल्ती गर्ने बित्तिकै उहाँहरू मलाई सजाय दिनुहुन्छ तर मेरो दाइ मेरै उमेरको हुनुहुँदा उहाँ राती जति बजे घर फर्के पनि हुन्थ्यो। उहाँले चाहिं कहिल्यै पनि सजाय पाउनु भएन।” म्याथ्यु आफ्नो किशोरावस्थालाई सम्झँदै उनकी बहिनी र फुपूका छोरीहरूको सन्दर्भमा यसो भन्छन्: “ती केटीहरूले देखादेखी गल्ती गर्दा पनि कहिल्यै सजाय पाउँदैनथे!”जे मन लाग्यो त्यही गर्न दिनु ठीक होला र?
सायद तपाईं आमाबाबुको बन्देजविना नै आफ्नो जीवन चलाउन चाहनुहुन्छ। तर कुनै पनि बन्देजविना यसरी स्वतन्त्र छोडिदिनु तपाईंको लागि उत्तम होला त? हुनसक्छ, तपाईं आफ्नै उमेरका त्यस्ता धेरै जवानहरूलाई चिन्नुहोला जो आफूलाई मन लागेको बेला घर फर्कन, मन लागेको लुगा लगाउन र मन परेको साथीसँग जहिले पनि र जहाँ पनि जान सक्छन्। सायद तिनीहरूका आमाबाबुलाई छोराछोरीले के-कसो गरिरहेका छन् भनेर बुझ्ने फुर्सदसमेत नभएको हुन सक्छ। तर छोराछोरी हुर्काउने यस्तो शैली कहिल्यै पनि सफल भएको छैन। (हितोपदेश २९:१५) थुप्रै मानिसहरू स्वार्थी भएकोले र तिनीहरू मध्ये धेरै जना कुनै पनि बन्देज नलगाइएको जे गरेपनि हुने घरमा हुर्केका हुनाले नै आज संसारमा माया-प्रेम भन्ने कुरा हराउँदै गएको हो।—२ तिमोथी ३:१-५.
बन्देजविनाको घरबारे तपाईंको सोचाइ पनि कुनै दिन बद्लिन सक्छ। आमाबाबुले थोरै मात्र बन्देज लगाएको र आमाबाबुको निरीक्षण नगन्य मात्रामा भएको वा हुँदै नभएको घरमा हुर्किएका तरूणी स्त्रीहरूमाझ गरिएको एउटा अध्ययनलाई ध्यान दिनुहोस्। बितेको समयलाई फर्केर हेर्दा तिनीहरूमध्ये कसैले पनि अनुशासन नपाएकोमा फाइदा भएको बताएनन्। त्यसको साटो, यसलाई तिनीहरूले आमाबाबुको हेरविचार अथवा योग्यताको कमीको रूपमा लिए।
आफूलाई मन लागी गर्न पाउने युवाहरूलाई देखेर डाही हुनुभन्दा, आमाबाबुले लगाएको बन्देजलाई उनीहरूको तपाईंप्रतिको माया र कोमल हेरचाहको रूपमा लिनुहोस्। उचित बन्देज लगाएर उनीहरूले यहोवा परमेश्वरको अनुसरण गरिरहेका छन्। यहोवा आफ्ना जनहरूलाई भन्नुहुन्छ: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।”—भजन ३२:८.
तैपनि, अहिले बन्देज तपाईंलाई सहनै नसकिने अनि असाध्यै कडा जस्तो लाग्ला। यदि त्यसो हो भने, घरमा बिताउनुहुने जीवनलाई अझ बढी आनन्दित बनाउन तपाईंले चाल्न सक्नुहुने केही व्यावहारिक कदमलाई विचार गर्नुहोस्।
असल परिणाम ल्याउने कुराकानी
तपाईंले अझ बढी स्वतन्त्रताको चाह गरिरहनुभएको होस् अथवा अहिले आफूसँग भएको स्वतन्त्रताप्रति अलिक असन्तुष्ट
हुनुभएको नै किन नहोस्, उत्तम समाधान भनेको खुलस्त कुराकानी नै हो। तर कसैले भन्लान्, ‘मैले हजारौं पटक आमाबाबुसँग कुरा गर्ने प्रयास गरिसकें, खै त मेरो समस्या ज्यूँको त्यूँनै छ!’ यदि तपाईं पनि यस्तै सोच्नुहुन्छ भने आफैलाई सोध्नुहोस्, ‘के म मेरो कुराकानी गर्ने तरिकालाई अझ सुधार्न सक्छु?’ कुराकानी नै एउटा त्यस्तो विकल्प हो जसले (१) तपाईंले चाहनुभएको कुरा तपाईंलाई दिलाउन सक्छ अथवा (२) तपाईंले चाहनुभएको कुरा किन पूरा गरिएन भनी तपाईंलाई बुझ्न मदत गर्न सक्छ। हो, यदि तपाईं वयस्कहरूले पाउने स्वतन्त्रता प्राप्त गर्न चाहनुहुन्छ भने परिपक्व तरिकामा कुरा गर्न सिक्नुहोस्।◼ आवेशलाई नियन्त्रणमा राख्न सिक्नुहोस्। बाइबल यसो भन्छ: “मूर्ख मानिसले रीस पोखाउँछ, तर बुद्धिमान मानिसले पर्खेर त्यो शान्त हुनदिन्छ।” (हितोपदेश २९:११) खुलस्त कुराकानी गर्ने व्यक्ति जहिले पनि गुनासो गर्दै हिंड्दैन। यसो गर्दा तपाईंले आमाबाबुबाट अर्को गाली मात्र खानुपर्ला! त्यसकारण गुनासो गर्न, ठुस्किन र बच्चापन देखाउनबाट जोगिनुहोस्। आमाबाबुले केही कुरामा बन्देज लगाउँदा रिसाउँदै ढोका ढ्याम्म लगाएर हिंड्दैमा वा खुट्टा बजारेर रिस पोखाउँदैमा तपाईंले बढी स्वतन्त्रता पाउन सक्नुहुन्न। बरु, उल्टो यसले तपाईंलाई अझ बढी बन्देज पो थप्न सक्छ।
◼ बन्देज लगाइनुमा आमाबाबुको दृष्टिकोण बुझ्ने प्रयास गर्नुहोस्। आमा मात्र भएको परिवारमा हुर्किएकी जवान मसीही ट्रासीले आमाले किन बन्देज लगाएको भनेर आमाको दृष्टिकोण बुझ्ने प्रयास गर्दा उनलाई त्यो बन्देज स्वीकार्न सजिलो भयो। उनी भन्छिन्: “म आफैलाई सोध्ने गर्छु, ‘बन्देजहरू लगाएर मेरी आमाले के गर्न खोज्नुभएको हो?’ उहाँले त मलाई असल व्यक्ति बन्न मदत दिने प्रयास मात्र गर्नुभएको हो।” (हितोपदेश ३:१, २) यस्तो सोचाइले आमाबाबुसँग आफ्ना विचारहरू पोखाउन तपाईंलाई मदत गर्न सक्छ। उदाहरणको लागि, उहाँहरूले तपाईंलाई कुनै जमघटहरूमा जान दिनुभएन। यस्तो अवस्थामा वादविवाद गर्दै बस्नुको सट्टा यसो भन्न सक्नुहुन्छ, “यदि कुनै परिपक्व अनि भरोसायोग्य साथी मसँगै लगें भने जान दिनुहुन्छ?” आमाबाबुले सधैं नै तपाईंको कुरा सुन्नु त नहोला तैपनि, यदि तपाईंले उहाँहरूको चिन्तालाई बुझ्नुभयो भने उचित कुराहरूमा स्वतन्त्रता माग्न सक्नुहुनेछ।
◼ आमाबाबुले भरोसा गर्न सक्ने हुनुहोस्। आमाबाबुको विश्वास जित्न सक्नु भनेको बैंकमा पैसा जम्मा गर्नु जस्तै हो। पैसा जति जम्मा गर्नुभएको छ त्यति मात्र निकाल्न सक्नुहुन्छ। जम्मा गरेभन्दा बढी निकाल्दा जरिवाना तिर्नुपर्ने हुन्छ र पटक-पटक यसो गर्दा त खाता सधैंको लागि बन्द समेत हुन सक्छ। आमाबाबुबाट थप सुअवसरहरू पाउनु भनेको पनि बैंकमा भएको पैसा निकाल्नु जस्तै हो। यदि तपाईंले जिम्मेवारपूर्ण आनीबानी देखाउनुभएको छ भने मात्र थप सुअवसरहरू पाउनुहुनेछ।
◼ व्यावहारिक आशाहरू मात्र राख्नुहोस्। तपाईंमाथि उचित किसिमले अधिकार जमाउने जिम्मेवारी आमाबाबुको हो। त्यसैकारण, बाइबलले “पिताको आज्ञा” र ‘आमाको अर्तीको’ विषयमा बताउँछ। (हितोपदेश ६:२०) आमाबाबुले लगाउनुभएको बन्देजले जीवन नै ध्वस्त पार्ने भयो भनेर तपाईंले सोच्नु पर्दैन। त्यसको विपरीत, यदि तपाईंले आमाबाबुको बन्देज स्वीकार्नुभयो भने अन्तमा ‘तपाईंको नै भलो हुनेछ’ भनी यहोवा प्रतिज्ञा गर्नुहुन्छ।—एफिसी ६:१-३.(g 12/06)
“युवाहरू सोध्छन् . . . ” भन्ने शृङ्खलाका अन्य लेखहरू www.watchtower.org/ype वेबसाइटमा हेर्न सक्नुहुन्छ।
एकछिन सोच्नुहोस्
◼ कस्ता बन्देजहरू तपाईंलाई पालन गर्न असाध्यै गाह्रो जस्तो लाग्यो?
◼ यस लेखमा भएका कस्ता बुँदाहरूले तपाईंलाई आमाबाबुको बन्देज स्वीकार्न मदत गर्नेछ?
◼ तपाईं कसरी आमाबाबुको विश्वास अझ धेरै जित्न सक्नुहुन्छ?
[पृष्ठ ११-मा भएको पेटी/चित्र]
जब बन्देजको पालना गरिंदैन
सायद यस्तो अवस्था एकदमै सामान्य होला: आफूमाथि लगाइएको बन्देज तोडेको, आफ्नो कामकुरा गर्नबाट चुकेको, अनुमति पाएकोभन्दा बढी समयसम्म फोनमा झुण्डिएको। यस्तो बेला तपाईंले आमाबाबुलाई कारण बताउनुपर्ने हुन्छ! त्यसोभए बिग्रिएको परिस्थितिलाई झन् बिग्रनबाट जोगाउन तपाईं के गर्न सक्नुहुन्छ?
◼ सत्य बोल्नुहोस्। यस्तो बेला आफ्ना दोषहरू लुकाएर आमाबाबुलाई ढाँट्नु हुँदैन। इमानदार हुनुहोस् र सत्य कुरालाई नबंग्याई सीधै बताउनुहोस्। (हितोपदेश २८:१३) आफू सही ठहरिन मनगढन्ते कुरा गरेर आमाबाबुलाई छक्याउने प्रयास गर्नुभयो भने तपाईंप्रति भएको उहाँहरूको बाँकी विश्वास पनि धरापमा पर्न सक्छ भन्ने यथार्थलाई नबिर्सनुहोस्। सफाइ दिन र कुरा लुकाउन नखोज्नुहोस्। सधैं सम्झनुहोस्, “मीठो जवाफले क्रोधलाई शान्त गर्छ।”—हितोपदेश १५:१.
◼ माफी माग्नुहोस्। तपाईंले निम्त्याउनुभएको चिन्ता, निरुत्साह अथवा बिगार्नुभएको कामप्रति पछुतो गर्नु ठीकै हो र सायद यसो गर्दा तपाईंले पाउने सजाय केही हदसम्म कम पनि होला। (१ शमूएल २५:२४) तर तपाईंको पछुतो भने निष्कपट हुनैपर्छ।
◼ नतिजाहरू स्वीकार्नुहोस्। विशेष गरी तपाईंले पाएको सजाय जायज नलाग्दा तपाईंको पहिलो प्रतिक्रिया यसको विरोध गर्ने हुन सक्छ। (हितोपदेश २०:३) तरैपनि, आफूले गरेका गलत कामकुराको कारण पाएको सजाय स्वीकार्नु परिपक्वताको चिनारी हो। (गलाती ६:७) तपाईंले आमाबाबुको विश्वास पुनः जित्ने काम गर्नु नै सबैभन्दा राम्रो विकल्प हुन सक्छ।
[पृष्ठ १२-मा भएका चित्र]
आमाबाबुको चिन्तालाई बुझ्ने प्रयास गर्नुहोस्