पसलबाट खुसुक्क सामान चोर्दा हुने नोक्सानी—कसले बेहोर्छ?
पसलबाट खुसुक्क सामान चोर्दा हुने नोक्सानी—कसले बेहोर्छ?
जापानका एक जना पसलेले एक जना केटोले सामान चोरिरहेको भेट्टाए र पुलिसलाई बोलाए। पुलिस त्यहाँ आइपुग्दा यो केटो टाप कस्यो। पुलिसले उसलाई लखेट्यो। यो केटोले रेलको लीग काटिरहेको बेला रेलले किचेर ऊ मऱ्यो।
पछि यस घटनाबारे टिभी र अखबारहरूमा निकै प्रचारप्रसार भएकोले कोही-कोहीले त्यो पसलेले पुलिसलाई बोलाउन नहुने थियो भनेर गाली गरे। मानिसहरूको रिस शान्त नहोउन्जेल तिनले पसल बन्द गरे। पछि पसल खोलेपछि सामान चोर्नेहरू फेरि आउन थाले। तथापि, हालै भोगेको दुर्घटनाले गर्दा चोरहरूलाई पक्रन तिनी डराए। तिनको पसल चोरहरूको लागि स्वर्गसरह भयो। केही समयपछि नै तिनले आफ्नो पसल सदाको लागि बन्द गर्नुपऱ्यो।
हुन त हो, प्रायजसो अवस्था यो जत्तिको दुःखदायी त हुँदैन तर यसले एउटा महत्त्वपूर्ण वास्तविकता स्पष्ट पार्छ। पसलबाट सामान चोरिंदा थुप्रै तरिकामा अनि धेरै मानिसहरूले यसको लागि ठूलो मोल चुकाउँछन्। यो अपराधले गर्दा चुकाउनुपर्ने चर्को मोललाई हामी नजिकबाट नियालौं।
पसलहरूले कसरी मोल चुकाउँछन्
पसलबाट सामान चोरी हुँदा संसारभरिका व्यापारीहरूले प्रतिवर्ष खरबौं रूपियाँ बराबरको क्षति बेहोर्नुपर्छ। कसै-कसैको अनुमानअनुसार संयुक्त राज्य अमेरिकामा मात्रै रू. १८ खरबभन्दा बढी रकम बराबरको क्षति हुन्छ। यत्रो ठूलो नोक्सानी बेहोरेर मानिसहरूले आफ्नो व्यापार कसरी चलाउन सक्छन् र? प्रायजसो पसलेहरू एकदमै विचलित भएका छन्। पसलमा चोर घुस्दा जिन्दगीभरको कमाइ बर्बाद हुन सक्छ।
न्यु योर्क सहरका एक जना पसले, लुक यसो भन्छन्, “बजारमा हुने प्रतिस्पर्धा सँगसँगै पसलबाट सामान चोरिंदा हुने नोक्सानीलाई पनि ध्यान दिनुपर्छ। यस्तो तालले कति दिनसम्म व्यापार चल्ने हो, मलाई थाह छैन।” इलेक्ट्रोनिक सुरक्षा प्रणाली जडान गर्ने तिनको औकात छैन। चोरहरूबारे तिनी यसो भन्छन्: “चोरहरू वास्तवमा को हुन् मलाई थाह छैन, मेरो पसलका नियमित ग्राहकहरू पनि हुन सक्छन्।”
कसै-कसैलाई लूकको समस्या खासै ठूलो कुरा होइन जस्तो लाग्छ। तिनीहरू यसो भन्छन्, “यी पसलहरूले निकै पैसा कमाउँछन्। त्यसैले मैले सानोतिनो चोरी गरे तापनि के फरक पर्छ र?” तर के खुद्रा व्यापारीहरूले साँच्चै यति धेरै नाफा कमाउन सक्छन् र?
कुनै-कुनै पसलहरूले कुनै एउटा सामानमा ३०, ४० वा ५० प्रतिशतसम्म मूल्य बढाएका हुन्छन् तर त्यो सबै नाफा चाहिं होइन। व्यापारीहरूले यो थप आम्दानी घरभाडा, कर, कर्मचारीहरूको तलब तथा सुविधाहरू, भवन मर्मत, मेसिनहरूको मर्मत, बिमा, बिजुली, पानी, इन्धन, टेलिफोन र सेक्युरिटी प्रणालीजस्ता अन्य खर्चको लागि चलाउँछन्। यो सबै खर्च गरिसकेपछि २/३ प्रतिशत मात्र नाफा हुन सक्छ। त्यसकारण कसैले पसलबाट सामान चोर्दा व्यापारीको कमाइको केही अंश पनि हराउँछ।
सानोतिनो चोरी नि?
आफ्नी आमासँगै पसल गएको सानो केटो एक्लै चकलेटहरू राखिएको ठाउँतिर जान्छ। त्यहाँ उसले एउटा प्याकेट खोलेर एउटा चकलेट आफ्नो खल्तीमा खुसुक्क हाल्छ। के यस्तो सानोतिनो चोरीले पनि पसलको आम्दानीमा फरक पार्छ र?
कर्टेलिङ क्राइम—इन्साइड एण्ड आउट (भित्र र बाहिर अपराध कम गर्ने) भन्ने पुस्तिकामा सं.रा.अ.-को खुद्रा व्यापार प्रशासन यसो भन्छ: “कहिलेकाहीं चोर्ने ठगलाई एउटा पेन वा क्यालकुलेटर जस्तो सानोतिनो सामान यदाकदा चोर्नु ठूलो अपराध जस्तो नलाग्न सक्छ। तर आफ्नो जीविका चलाउन सङ्घर्ष गरिरहेका साना व्यापारीहरू भने यसले गर्दा ठूलो क्षति बेहोरिरहेका हुन्छन्।” पसलबाट सामान चोरीले गर्दा वर्षेनी हुने रू. ४५,००० क्षतिको पूर्ति गर्न यस्ता खुद्रा व्यापारीहरूले हरेक दिन थप ९०० वटा चकलेट वा ३८० क्यान सुप बिक्री गर्नुपर्ने हुन्छ किनभने यस्ता सामानहरूको बिक्री गर्दा नाफा एकदम थोरै हुन्छ। त्यसकारण यसरी खुसुक्क चकलेट चोर्ने साना केटाहरू थुप्रै छन् भने पसलले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ। हो, समस्या चाहिं यहाँनेर छ।
जवान होस् या वृद्ध, धनी होस् या गरिब अनि विभिन्न जाति तथा पृष्ठभूमिका करोडौं मानिसहरूले बजार र पसलबाट चोर्ने गर्छन्। परिणाम कस्तो भएको छ? सं.रा.अ.-को अपराध रोकथाम
निकायको रिपोर्टअनुसार संयुक्त राज्य अमेरिकाको एक तिहाइ व्यापार चोरीको कारण बन्द गर्न बाध्य भएको छ। अरू देशका व्यवसायहरू पनि यस्तै अप्ठ्यारो अवस्थामा परेका छन् भन्ने कुरामा कुनै शङ्का छैन।आखिर ग्राहकले मोल चुकाउँछ
मानिसहरूले पसलबाट चोरी गर्दा सामानको भाउ बढ्छ। यसकारण चोरीले गर्दा कुनै-कुनै इलाकामा ग्राहकले प्रतिवर्ष रू. १३,५०० जति बढी पैसा तिरिरहेका हुन्छन्। यसको मतलब तपाईं प्रतिदिन रू. २,७०० कमाउनुहुन्छ भने हरेक वर्ष एक हप्ता बराबरको कमाइ अरूले चोरेको सामानको क्षतिपूर्तिसरह तिरिरहनुभएको हुनेछ। के तपाईंसँग त्यति धेरै पैसा छ र? पेन्सनको भरमा गुजारा चलाइरहेका अवकाशप्राप्त व्यक्ति वा आफ्नो परिवार धान्न सङ्घर्ष गरिरहेकी एक्ली आमाको लागि यसरी एक हप्ताको कमाइ गुमाउनु भनेको एकदम धेरै हो। चोरीले गर्दा चुकाउनुपर्ने मोल यति मात्र होइन।
आफ्नो टोलको पसल बन्द हुँदा पूरै टोलछिमेकलाई अप्ठ्यारो पर्न सक्छ। प्राप्त रिपोर्टअनुसार हालै अमेरिकाको एउटा सानो, परिवाररूपी इलाकामा भएको औषधी पसल बन्द गर्न बाध्य हुनुको कारण पनि पसलबाट सामान चोरी हुनु नै थियो। यसरी पसल बन्द हुँदा त्यस इलाकाका वृद्ध तथा अशक्त व्यक्तिहरू औषधी किन्न साढे दुई किलोमिटरसम्म यात्रा गरेर टाढाको औषधी पसलमा जानुपऱ्यो। “त्यो पनि ह्वीलचेयरमा जाँदा कस्तो अप्ठ्यारो होला, कल्पना गर्नुहोस् त” भनी एक जना अधिकारीले भने।
आमाबाबुले चुकाउनुपर्ने चर्को मोल
ब्रुस, उच्च नैतिक स्तर भएका व्यक्ति हुन् र तिनी आफ्ना छोराछोरीलाई पनि इमानदार हुन सिकाउँछन्। एक दिन तिनकी छोरी चोरी गरेकोमा पक्राउ परिन्। तिनी यसो भन्छन्, “म त छानाबाट खसेझैं भएँ। आफ्नी छोरीलाई पसलबाट सामान चोर्दै गर्दा पक्रियो भन्ने टेलिफोन आउँदा कस्तो भयो होला, कल्पना गर्नुहोस् त। एक जना असल व्यक्ति बन्न हामीले आफ्नी छोरीलाई वर्षौंदेखि सिकाउँदै आयौं अनि अहिले आएर भने यस्तो भयो। उसले यसरी विद्रोह गर्ली भनेर हामीले सोचेका समेत थिएनौं।”
ब्रुसलाई आफ्नी छोरी र उसको भविष्यसम्बन्धी चिन्ताले पिरोल्न थाल्यो। साथै, तिनले स्वयम्सेवा गर्दै आएको धार्मिक शिक्षकको कामबाट पनि राजीनामा दिए। “यस्तो अवस्थामा कसरी प्लेटफर्मबाट मण्डलीलाई सिकाउने? आफ्ना छोराछोरीलाई हुर्काउने सन्दर्भमा मैले सफा अन्तस्करण राखेर कसरी अरूलाई निर्देशन दिन सक्थें र? मलाई ठीक लागेन।” तिनकी छोरीले तिनको यस अपराधले आफ्नो बुबालाई कस्तो असर पार्नेछ भनेर त्यति नसोचेको जस्तो देखिन्छ।
पसलबाट खुसुक्क सामान चोर्नेहरूले कसरी मोल चुकाउँछन्
विगतमा पसलबाट कसैले सामान चोरिरहेको भेटिंदा पसलेहरूले अक्सर कडा चेतावनी दिएर
चोरलाई छोडिदिन्थे। आजकल पसलेहरूले पहिलो चोटि चोरी गर्नेहरूलाई समेत अक्सर पक्रने गरेका छन्। अनि यस्ता चोरहरूले आफ्नो अपराधको गम्भीर परिणाम हुँदो रहेछ भनेर बुझ्छन्। नाटाली नाउँकी युवतीले यो आफ्नै भोगाइबाट थाह पाइन्।नाटालीले यसो भनिन्, “मैले जति धेरै चोटि सामान चोर्न थालें त्यति नै मेरो साहस बढ्न थाल्यो। चोरी गरेर पक्राउ परें नै भने पनि त्यो महँगो लुगा किन्नको लागि खर्च गर्नुपरेको रकमभन्दा वकिललाई दिनुपर्ने र अदालतको दस्तुर कम हुने थियो भन्ने सोचें।” नाटालीको यो सोचाइ गलत थियो।
एउटा ड्रेस चोरिरहेको अवस्थामा नाटाली पक्राउ परिन् अनि पुलिसले उनलाई हतकडी लगाएर लग्यो। पुलिस स्टेसनमा उनको औंठाछाप लिइयो अनि अरू अपराधीहरूसँगै कोठरीमा राखियो। आमाबाबु आएर धरौटीको प्रबन्ध नगरुन्जेल उनले घण्टौं पर्खनुपऱ्यो।
चोर्ने विचार गरिरहेका जो कसैलाई नाटाली यसो भन्छिन्: “मेरो सल्लाह मान्नुहोस्, आफूलाई मन परेको ड्रेस वा जिन्स खुरुक्क किन्नुहोस्, चोर्ने त सोचाइसमेत नराख्नुहोस्।” चोर्नुभयो भने “तपाईंले जिन्दगीभर पछुताउनुपर्नेछ” उनी बताउँछिन्।
कुनै अपराधको लागि पक्राउ परेको रेकर्ड भयो भने असाध्यै पछुताउनुपर्ने हुन्छ। आफूले कुनै सामान चोरेको थियो भने त्यो अपराधको रेकर्ड बिर्सिइँदैन तर कुनै लुगामा लागेको दागले जस्तै फेरि-फेरि पनि पिरोलिरहन्छ भनेर थाह पाउँदा असाध्यै तनावपूर्ण हुन सक्छ। पसलमा चोरी गरेको त्यस्तो कुनै रेकर्ड छ भने विश्वविद्यालयमा भर्ना हुनुअघि आफ्नो अपराधबारे पनि बताउनुपर्ने हुन सक्छ। अनि चिकित्सा, दन्त सेवा वा आर्किटेक्चरजस्ता पेसाहरूमा प्रवेश गर्न गाह्रो पर्न सक्छ। यस्तो व्यक्तिलाई जागिर दिन कम्पनीहरू हिचकिचाउन सक्छन्। अनि तिनले आफ्नो अपराधको लागि अदालतले तोकेको सजाय भोगिसकेका छन् अनि त्यसपछि फेरि कहिल्यै चोरेका छैनन् भने पनि समस्याहरू झेलिरहनुपर्ने हुन सक्छ।
पसलबाट खुसुक्क सामान चोर्ने व्यक्तिलाई दोषी नठहराइए तापनि ठूलो मोल चुकाउनुपर्ने हुन सक्छ। यी लेखहरूको शृङ्खलाको सुरुतिर उल्लिखित हेक्टरले पनि त्यो कुरा आफ्नै अनुभवबाट थाह पाए। तिनी यसो भन्छन्, “म एक चोटि पनि पक्रिइनँ। सधैं उम्कन सकें।” तर तिनले यसको परिणाम भोग्नुपऱ्यो। तिनी त्यसबारे सम्झँदै यसो भन्छन्: “मलाई लाग्छ जवान व्यक्तिहरूले एउटा कुरा बुझ्नुपर्छ: तपाईं जे रोप्नुहुन्छ, त्यसैको कटनी गर्नुहुन्छ। तपाईं पुलिसको हातमा कहिल्यै नपर्नु भए तापनि तपाईंले यसको परिणाम भोग्नै पर्छ।”
पसलबाट खुसुक्क सामान चोर्नु भनेको कोही पनि सिकार नहुने अपराध होइन अनि यस्ता चोरहरूले चोर्ने सामान सित्तैमा आउने कुराहरू होइनन्। पसलबाट सामान चोर्ने बानी बसालिसकेकाहरूले त्यो बानी चटक्कै छोड्नुपर्छ। तर पसलबाट सामान चोर्ने व्यक्तिले अब उप्रान्त कहिल्यै नचोर्ने बल कसरी पाउन सक्छन्? के यो अपराध कहिल्यै निर्मूल हुनेछ? (g05 6/22)
[पृष्ठ ७-मा भएको चित्र]
पसलबाट खुसुक्क सामान चोर्दा व्यापारहरू बर्बाद हुन्छन्
[पृष्ठ ७-मा भएको चित्र]
पसलबाट खुसुक्क सामान चोरिंदाको मोल सबैले चुकाउँछन्
[पृष्ठ ८-मा भएको चित्र]
पसलबाट खुसुक्क सामान चोर्ने बानीले तपाईंको भविष्यलाई असर गर्छ
[स्रोत]
Fingerprints: © Morocco Flowers/ Index Stock Imagery