आफ्नो बच्चालाई पालनपोषण गर्नुको महत्त्व
आफ्नो बच्चालाई पालनपोषण गर्नुको महत्त्व
कुनै व्यक्तिले बाल्यकालमा सिक्ने या नसिक्ने कुराले उसको भावी क्षमतालाई असर गर्छ। त्यसोभए सन्तुलित अर्थात् सफल वयस्क बन्न छोराछोरीले आफ्ना आमाबाबुबाट के चाहन्छन्? हालैका दशकहरूमा गरिएका अनुसन्धानहरूको आधारमा कोही-कोही कस्तो निष्कर्षमा पुगेका छन्, ध्यान दिनुहोस्।
सिन्याप्सिस्को भूमिका
मस्तिष्कको चित्र उतार्ने प्रविधिहरूले गर्दा मस्तिष्कको विकासबारे अध्ययन गर्न वैज्ञानिकहरूले पहिला कहिल्यै नपाएका अवसरहरू पाएका छन्। यी अध्ययनहरूले देखाउँछ—बाल्यकाल भनेको जानकारीहरू हासिल गर्ने, सहज किसिमले भावना व्यक्त गर्ने अनि भाषामा पोख्त हुन आवश्यक मानसिक क्षमता विकास गर्ने एउटा महत्त्वपूर्ण समय हो। “बाल्यकालको दौडान वंशानुगत तत्त्व अनि वातावरणीय उत्प्रेरणाको अन्तरक्रियाले हरेक क्षण मस्तिष्कले आकार लिंदा एकदमै अद्भुत ढङ्गले तीव्र गतिमा स्नायु रेसाहरू एक-अर्कामा जोडिन्छन्” भनी नेसनल पत्रिका रिपोर्ट गर्छ।
वैज्ञानिकहरूको विश्वासअनुसार सिन्याप्सिस् भनिने अधिकांश यी स्नायु रेसाहरू जीवनका प्रारम्भिक चरणहरूमा बन्ने गर्छन्। बाल-विकासम्बन्धी प्राध्यापक डा. टि. बेरी ब्रेजाल्टोनका अनुसार यसैबेला “बच्चाहरूको बौद्धिकता, आत्म-पहिचान अनि उत्प्रेरणा जस्ता कुराहरूलाई असर गर्ने आधार विकसित हुन्छन्।”
सुरुका केही वर्षहरूमा बच्चाहरूको मस्तिष्कको आकार, बनौट अनि कार्य शैली नाटकीय ढङ्गले विकास हुन्छ। उत्प्रेरणा पाउने अनि सिक्ने खालको राम्रो वातावरण छ भने सिन्याप्टिक कनेक्सनहरू वृद्धि हुन्छ, जसले मस्तिष्कमा न्युरोल पाथवेहरूको बृहत् जालो बनाउँछ। यिनै न्युरोल पाथवेहरूले सोच्ने, सिक्ने अनि तर्क गर्ने क्षमतालाई सम्भव तुल्याउँछ।
सम्भवतः यसको अर्थ हो, बच्चाहरूको मस्तिष्कले जति धेरै उत्प्रेरणाहरू पाउँछ, त्यति नै धेरै स्नायु कोषहरू सक्रिय हुन्छन् अनि त्यति नै राम्ररी स्नायु
रेसाहरू एक-अर्कामा जोडिन्छन्। चाखलाग्दो कुरा चाहिं के हो भने, यस्तो किसिमको उत्प्रेरणाभित्र तथ्य, जानकारी अथवा भाषाहरूबाट हासिल हुने बौद्धिक उत्प्रेरणा मात्र पर्दैनन्। भावनात्मक उत्प्रेरणा पनि चाहिन्छ भनी वैज्ञानिकहरूले पत्ता लगाएका छन्। नसुम्सुम्याइएका, स्पर्श नगरिएका अनि कुनै खेल नखेलेका अथवा भावनात्मक तवरमा उत्प्रेरणा नदिइएका बच्चाहरूमा यस्ता सिन्याप्टिक कनेक्सनहरू थोरै मात्र बन्ने गर्छन्।विकास गर्ने अनि अन्तर्निहित क्षमता
अन्ततः बच्चाहरू हुर्कंदै जाँदा तिनीहरूमा विकासको गति कम हुँदै जान्छ। शरीरले सम्भवतः काम नलाग्ने सिन्याप्टिक वाइरिङ्गहरू मिल्काउन सक्छ। यसले बच्चाहरूको अन्तर्निहित क्षमतामा ठूलो असर गर्न सक्छ। “यदि बच्चाले सही उमेरमा सही किसिमको उत्प्रेरणा नपाएमा न्युरोलोजिकल सर्किटहरू राम्ररी विकास हुनेछैन,” भनी मस्तिष्क अनुसन्धाता म्याक्स सिन्याडर बताउँछन्। डा. जे. फ्रेजर मस्टर्डअनुसार यसको परिणाम, नराम्रो आइ.क्यू अर्थात् बौद्धिक क्षमता राम्रो नहुने, राम्ररी बोल्ने अनि गणितीय क्षमता खस्कने, वयस्क भएपछि देखापर्ने स्वास्थ्य समस्याहरूले सताउने अनि आचरणसम्बन्धी समस्याहरू देखापर्न सक्छ।
तसर्थ, बाल्यकालको अनुभवले वयस्क हुँदा ठोस असर गर्न सक्छ भन्ने कुरा यसबाट स्पष्ट हुन्छ। कुनै व्यक्ति भावनात्मक तवरमा बलियो छ या छैन, कुनै पनि विषयमा उसले स्पष्ट सोच्न सक्छ या सक्दैन, ऊ समानुभूतिशील छ या छैन, यी सब कुरालाई उसको बाल्यकालको अनुभवले असर गर्न सक्छ। त्यसैले आमाबाबुको भूमिकाको विशेष महत्त्व हुन्छ। एक जना बाल-चिकित्सक यसो भन्छन्, “बाल्यकालमा बच्चाले हासिल गर्ने अनुभवको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आमाबाबुको सचेत भूमिका हो।”
सुन्दा सजिलो लाग्न सक्छ। बच्चाको विकास र हेरचाह गर्नुहोस् अनि तिनीहरू फल्नेछन्-फुल्नेछन्। दुःखको कुरा, बच्चाहरूको राम्ररी हेरचाह कसरी गर्ने भन्ने कुरा थाह पाउन सधैं सजिलो हुँदैन भनेर आमाबाबुलाई थाह छ। सफलतापूर्वक बच्चाहरूलाई हुर्काइने ज्ञान सधैं आफसेआफ थाह हुँदैन।
एउटा अध्ययनअनुसार सर्वेक्षण लिइएकाहरूमध्ये २५ प्रतिशतलाई के गर्दा बच्चाहरूको बौद्धिकता बढ्छ या त्यसमा अवरोध पुग्छ अनि के गर्दा तिनीहरूको आत्मविश्वास बढ्छ या घट्छ अनि सिक्ने कुराप्रतिको प्रेम बढ्छ या घट्छ भनी थाह नभएको पत्ता लाग्यो। यसले यी प्रश्नहरू उठाउँछ: तपाईंको बच्चाको अन्तर्निहित क्षमता विकास गर्ने सर्वोत्तम तरिका के हो? अनि तपाईं कसरी सही वातावरण दिन सक्नुहुन्छ? आउनुहोस्, जाँचौ। (g04 10/22)
[पृष्ठ ६-मा भएको चित्र]
उत्प्रेरणा नदिइएको बच्चाले अरूहरूको तुलनामा त्यति उन्नति नगर्न सक्छ