विश्वदर्शन
विश्वदर्शन
प्रवचनहरू बिक्रीमा
“भ्याइ-नभ्याई काम गर्नुपर्ने अनि प्रवचनहरू तयार पार्न जेनतेन गरिरहेका पादरीहरूले आफ्नो प्रार्थनाको जवाफ पाएका छन्: चर्च अफ इङ्ग्ल्याण्डका एक जना साधारण सदस्यले एउटा वेबसाइटमा सबै अवसरको लागि प्रवचनहरू तयार पारेका छन्” भनी लन्डनको द डेली टेलिग्राफ रिपोर्ट गर्छ। यो साइट बनाउने बब अस्टिन यसो भन्छन्: “प्रवचन दिनेहरू झन्-झनै व्यस्त हुँदैछन् अनि प्रवचनहरूको महत्त्व अहिले घट्दैछ।” तिनी “भरपर्दा र तयारी प्रवचनहरू” उपलब्ध भएको दाबी गर्छन् जसले मानिसहरूलाई “सोच्न लगाउँछ र ती उत्प्रेरणादायी हुनुका साथै शिक्षामूलक पनि” छन्। यो साइटमा हाल भएका “५० वटा प्रवचन ‘चर्चमा भाषण दिनको लागि प्रभावकारी’ साबित भइसकेका छन् र त्यसले विभिन्न बाइबल पद र विषयलाई ओगट्छ” तर यो उग्रवादी वा सैद्धान्तिक तवरमा विवादास्पद धारणाहरूबाट अलग्गै बस्छ भनी उक्त अखबार बताउँछ। “मण्डलीले बुझ्न सक्ने अनि १० देखि १२ मिनेट” मात्र लामो भनी वर्णन गरिएका यी प्रवचनहरू एउटाको मूल्य १३ अमेरिकी डलर पर्छ। (g04 6/8)
जनावरहरूको संख्यामा नियन्त्रण—चिडियाखानाहरूको लागि धर्मसङ्कट
“गर्भनिरोधक उपाय नअपनाई कुनै पनि चिडियाखाना अहिले सञ्चालन गर्न सकिंदैन” भनी म्युनिक हेलाब्रुन चिडियाखानाका प्रमुख जीवशास्त्री हेनिङ वाइजनर बताउँछन्। चिडियाखानाका जनावरहरूले छिट्छिटो सन्तान जन्माउँछन् अनि जङ्गलमा बस्ने जनावरहरूको तुलनामा यिनीहरू राम्ररी फस्टाउँछन् र आयु पनि लामो नै हुन्छ। तर चिडियाखानामा ठाउँ सीमित हुन्छ। यसैले गर्दा जन्म-निरोधकहरू चाहिन्छ। तथापि, “चिडियाखानामा परिवार-नियोजन गराउनुमा एउटा अवरोध छ। जनावरहरूलाई यो त्यति मन पर्दैन” भनी जर्मन पत्रिका फोकस बताउँछ। उदाहरणका लागि, भालुहरूले खानामा मिसाइएका जन्मनिरोधक चक्कीहरू सुँघेर निकालिदिन्छन्। जन्मनिरोधक चक्कीहरूले गर्दा कुनै-कुनै जनावरहरूमा स्तनको क्यान्सरजस्ता स्वास्थ्य समस्याहरू उत्पन्न हुन सक्छन्। अन्य विकल्पहरू भनेको उनीहरूलाई सुमर्नु र थारो पार्नु हो तर यसले पनि नयाँ समस्याहरू सृजना गर्छ। एउटा कुरा, ती स्थायी हुन्छन् अनि भविष्यमा सन्तानको खाँचो पर्न सक्छ। दोस्रो, सुमरिएका जनावरहरूले यौन हर्मोन पैदा गर्न छोड्छन् जसले गर्दा आफ्नै जातका अरू जनावरहरूमाझ तिनीहरूको सामाजिक महत्त्व घट्न सक्छ। अर्को विकल्प भनेको अनावश्यक सन्तानहरू मार्नु हो तर यसले थुप्रै जनावर प्रेमी तथा जनावर संरक्षण समूहहरूलाई आक्रोशित बनाउँछ। त्यसैकारण चिडियाखानाहरू साँच्चै धर्मसङ्कटमा परेका छन्। (g04 6/22)
मानिसहरूभन्दा गाईको मोल बढी?
विश्वका धनी र गरिबहरूबीचको अन्तर बढ्दैछ। गत २० वर्षमा कम विकसित राष्ट्रहरूको (७० करोड बासिन्दाहरू) शेयर विश्व बजारमा १ प्रतिशतबाट घटेर ०.६ प्रतिशत पुग्यो। “काला अफ्रिकीहरूको अधिकांश जनसंख्या अघिल्लो पुस्ताभन्दा अझ गरिब भएको छ” भनी फ्रान्सेली अर्थविद् फेलिप यर्गन्सेनले च्यालेन्जेज् पत्रिकामा लेखे। उदाहरणका लागि, इथियोपियाका ६.७ करोड मानिसहरूले लक्जम्बर्गका ४,००,००० बासिन्दाहरूको सम्पत्तिको एक तिहाइ जतिमा गुजारा चलाउँछन्। यर्गन्सेनले टिप्पणी गरेअनुसार युरोपेली कृषकहरू एउटा गाईको लागि दिनहुँ १५० रूपियाँको दरले आर्थिक सहयोग पाउँछन् जबकी लगभग २.५ अरब मानिसहरू त्योभन्दा कम रकममा दिनहुँ आफ्नो गुजारा चलाउँछन्। तसर्थ, संसारका थुप्रै भागहरूमा “मानिसको भन्दा गाईको मूल्य धेरै छ” भनी यर्गन्सेन बताउँछन्। (g04 6/8)
सङ्गीत र आक्रोश
आयोवा स्टेट युनिभर्सिटी र मानव सेवासम्बन्धी टेक्सस विभागका (सं.रा.अ.) अनुसन्धाताहरूले हिंस्रक गीतहरूको असर पत्ता लगाउने प्रयासमा कलेजमा पढिरहेका ५०० भन्दा बढी विद्यार्थीहरू समेटेर पाँचवटा अनुसन्धान गरे। एउटै गायकले गाएका विभिन्न हिंस्रक तथा अहिंस्रक गीतहरू सुनिसकेपछि विद्यार्थीहरूसित आक्रोशित भावनाको मात्रा परीक्षण गर्न विभिन्न जाँचहरू गरियो। जर्नल अफ पर्सनालिटी एण्ड सोसियल साइकोलजी-ले (अङ्ग्रेजी) प्रकाशित गरेको अध्यययन कस्तो निष्कर्षमा पुग्यो भने, कसैले नउक्साए पनि हिंस्रक गीतहरूले वैरभाव र आक्रोशित सोचाइ बढाउन सक्छ। “हिंस्रक मनोरञ्जनको साधनबारे गरिएको यो र अन्य अनुसन्धानले निकालेको मूलभूत निष्कर्ष के हो भने, गीतको बोलले अवश्य फरक पार्छ” भनी प्रमुख अनुसन्धाता क्रेग एन्डरसनले बताए। “यो सन्देश सबै ग्राहकहरूका लागि महत्त्वपूर्ण छ तर विशेष गरी बालबालिका तथा किशोरकिशोरीका आमाबाबुको लागि” भनी एन्डरसनले बताए। (g04 6/8)
मात्तिएका बालबालिका
बेलाइतका ५० वटा अस्पतालको दुर्घटना तथा आकस्मिक विभागहरू सर्वेक्षण गर्दा “छ वर्षको कलिलो उमेरका बालबालिकालाई समेत बढी रक्सी पिएकोले अस्पतालमा भर्ना गर्नुपरेको छ” भनी लन्डनको द डेली टेलिग्राफ रिपोर्ट गर्छ। एउटा अस्पतालमा डाक्टर तथा नर्सहरूले गर्मीको छुट्टीको बेला प्रतिहप्ता रक्सीले मात्तिएका १०० जनासम्म बच्चाको उपचार गरेको कुरा रिपोर्ट गरे। “अस्पतालका ७० प्रतिशतभन्दा बढी कर्मचारीहरूको विचारमा पहिलेभन्दा एकदमै कम उमेरका बालबालिकाहरू मद्यको दुर्व्यसनी भएको पाइयो” भनी उक्त अखबार बताउँछ। साथै, हालैको एउटा सरकारी रिपोर्टअनुसार बेलाइतमा मद्यको कारणले हुने मृत्युको संख्या २० वर्षमा तीन गुणा बढेको छ। (g04 6/8)
कमिला तथा एन्टिबायोटिक
“कुनै-कुनै कमिलाहरूले आफ्ना बच्चाहरूलाई खुवाउन च्याउ उमार्ने गर्छन् अनि त्यो बालीलाई जोगाउन ‘कीटनाशकको’ रूपमा एन्टिबायोटिकसमेत प्रयोग गरेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्” भनी द मायामी हेरल्ड-को अन्तरराष्ट्रिय संस्करण बताउँछ। पात काट्नेहरू भनिने यी कमिलाहरूले किसानले जस्तै बोट सार्छन्, छाँट्छन् अनि झार उखेल्छन्। कमिलाको बालीलाई सङ्क्रामक ढुसीबाट जोगाउने एन्टिबायोटिक, स्ट्रेप्टोमाइसेट परिवारमा पर्ने एउटा ब्याक्टेरियाले उत्पादन गर्छ र यो पात काट्ने कमिलाको बाह्य छालामा बस्छ। वासिङ्टन डीसी-को प्राकृतिक इतिहासको राष्ट्रिय सङ्ग्रहालयका कीरा विशेषज्ञ टेड शुल्जले टिप्पणी गरेअनुसार मानिसहरूले औषधी प्रतिरोधी जीवाणुहरू विरुद्ध लड्न नयाँ एन्टिबायोटिकहरू आविष्कार गरिरहनुपर्छ तर पात काट्ने कमिलाहरूले एउटै एन्टिबायोटिक प्रयोग गर्दै आएको युगानुयुग भइसक्यो। कमिलाहरूको एन्टिबायोटिक प्रयोगको सफलता बुझ्नु नै “मानव बचावसित प्रत्यक्षतः सम्बन्धित हुन सक्छ” भनी शुल्ज बताउँछन्। (g04 6/22)
विश्वव्यापी स्वास्थ्य विपत्ति
यो संसार “सबैभन्दा ठूलो स्वास्थ्य विपत्तितर्फ” उन्मुख हुँदैछ र यसको कारण मधुमेह रोगीहरूको संख्यामा वृद्धि हो भनी इन्टरनेसनल डायबेटिज फेडरेसनका (आइ डि एफ) अध्यक्ष बेलाइतका प्राध्यापक सर जर्ज अल्बर्टी चेतावनी दिन्छन्। आइ डि एफ-को तथ्याङ्कअनुसार संसारभरि ३० करोडभन्दा बढी मानिसहरूले ग्लुकोजलाई राम्ररी पचाउन सक्दैनन् जसले गर्दा मधुमेह हुनेगर्छ भनी बेलाइतको गार्जियन अखबार रिपोर्ट गर्छ। कुनै समय खास गरी वृद्धहरूलाई लाग्ने टाइप २ मधुमेह अहिले बेलाइतका जवानहरूमा देखापर्न थालिरहेको छ किनभने तिनीहरू बजारी खाना खाने र व्यायाम नगर्ने हुँदा मोटाउन थालेका छन्। सबैभन्दा निराशलाग्दो कुरा के हो भने, यो [मधुमेह र यसका असरहरू] जीवन शैलीमा छाँटकाँट गरेर प्रायजसो रोक्न सकिन्छ” भनी अल्बर्टी बताउँछन्। विकासोन्मुख राष्ट्रहरूमा पनि मधुमेहका रोगीहरूको संख्या बढ्न सक्छ किनभने तिनीहरूले “भोजनसम्बन्धी अस्वास्थ्यकर बानी र सम्पन्न राष्ट्रहरूको सहरी जीवन शैली” स्वीकार्दैछन् भनी द गार्जियन टिप्पणी गर्छ। (g04 6/22)