उत्तम स्वास्थ्यको लागि वर्षौंदेखि गर्दै आएको सङ्घर्ष
उत्तम स्वास्थ्यको लागि वर्षौंदेखि गर्दै आएको सङ्घर्ष
न्यु योर्क सहरकी बासिन्दा जोआनलाई क्षयरोग (टिबी) लागेको थियो। तर उनलाई सामान्य प्रकारको टिबी लागेको थिएन। उनलाई जब्बर प्रकारको टिबी लागेको थियो जसलाई प्रायः कुनै औषधीले पनि छुँदैन र यसका आधाजसो बिरामीहरूको मृत्यु हुने गर्छ। तर जोआनले आफ्नो उपचारमा हेलचक्य्राइँ गरिरहेकी थिइन् र उनको कारणले एक जनालाई टिबी सरिसकेको थियो। ‘उसलाई त कोठामा थुनेर राख्नुपर्छ’ भनी हैरान भइसकेका उनका डाक्टरले भने।
टिबी एउटा पुरानो रोग हो र यसले मानिसहरूको ज्यान लिन्छ। साँच्चै नै करोडौं मानिसहरू टिबीबाट ग्रस्त हुनुका साथै मरेका पनि छन्। पुरातन मिश्र तथा पेरूमा सुरक्षित राखिएका लासहरूमा पनि यस रोगका सङ्केतहरू भेट्टिएका छन्। पुनः देखापरिरहेको टिबी रोगले आज वर्षेनी झन्डै २० लाख मानिसहरूको ज्यान लिन्छ।
एउटा अफ्रिकी झुपडीभित्र सानो खाटमा सुतिरहेका कार्लेटोसको निधारमा पसिनाका थोपाहरू थिए। औलोको कारण तिनी रुनसम्म पनि नसक्ने गरी कमजोर भइसकेका थिए। तिनका चिन्तित आमाबाबुसँग उपचार गराउने पैसा थिएन र आफ्नो बच्चालाई जँचाउन नजिकै कुनै स्वास्थ्यचौकी पनि थिएन। ज्वरो घट्दै घटेन र ४८ घण्टाभित्र तिनको मृत्यु भयो।
औलोको कारण कार्लेटोसजस्तै झन्डै दस लाख केटाकेटीको वर्षेनी मृत्यु हुने गर्छ। पूर्वी अफ्रिकाका गाउँहरूमा औलो सार्ने लामखुट्टेहरूले थुप्रै केटाकेटीलाई महिनामा ५० देखि ८० चोटिसम्म टोक्छन्। यी लामखुट्टेहरू नयाँ-नयाँ इलाकाहरूमा फैलिंदैछन् र औलोका औषधीहरूको प्रभावकारिता कम हुँदैछ। वर्षेनी झन्डै ३० करोड मानिसहरू घातक औलोबाट ग्रस्त हुने गर्छन्।
क्यालिफोर्नियाको सान फ्रान्सिस्को भन्ने ठाउँमा बसोबास गर्ने ३० वर्षीय केनेथ आफ्नो डाक्टरकहाँ पहिलो चोटि १९८० मा गए। तिनलाई पखाला लागेको थियो र सधैं थकाइ लागिरहन्थ्यो। त्यसको एक वर्षमा तिनको मृत्यु भयो। चिकित्सा क्षेत्रमा दखल भएका विशेषज्ञहरूद्वारा उपचार गराइएको भए तापनि तिनको जीउ सुक्दै गयो र आखिरमा तिनी निमोनिया भएर मरे।
दुई वर्षपछि सान फ्रान्सिस्को भन्दा १६,००० किलोमिटर टाढा उत्तरी तान्जानियामा एउटी युवतीमा पनि त्यस्तै लक्षणहरू देखापर्न थाले। केही हप्तामै उनी हिंड्न नसक्ने भइन् र लगत्तै उनको मृत्यु भयो। गाउँलेहरूले यस अनौठो बिमारीलाई जुलियानाको रोग भनी नामाकरण गरे किनभने जुलियाना भन्ने नाउँ छापिएको कपडा बेच्ने मानिसबाट उनी र अन्य स्थानीय स्त्रीहरूलाई त्यो रोग सरेको अड्कल लगाइएको थियो।
केनेथ र तान्जानियाली ती युवती दुवैलाई एउटै रोग लागेको थियो: एड्स। सन् १९८० दशकको सुरुतिर चिकित्सा-विज्ञानले सबैभन्दा खतरनाक सूक्ष्मजीवहरू विरुद्ध विजय हासिल गरेजस्तो मात्र के देखिएको थियो, सङ्क्रामक यो नयाँ रोग मानवजातिलाई चुनौती दिन खडा भयो। चौधौं शताब्दीमा युरेसियाभरि फैलिएको महामारीको कारण मर्नेको संख्या एड्सले दुई दशकभित्रमै भेट्टायो र त्यो महामारी युरोपले अझसम्म बिर्सन सकेको छैन।
ब्ल्याक डेथ
सन् १३४७ मा क्राइमिया भन्ने ठाउँबाट आएको जहाज सिसिलीको टापु मेसिनियामा आइपुग्दा ब्ल्याक डेथ भन्ने प्लेगले उत्पात मच्चाएको सङ्केत पाउन सकिन्छ। सधैंजसोको ढुवानीको अलावा उक्त जहाजले त्यो प्लेग पनि बोकेर ल्यायो। a चाँडै ब्ल्याक डेथ इटालीभरि फैलियो।
त्यसको एक वर्षपछि इटालीको सियनाका आन्योलो डि टुराले आफ्नो गृह-नगरको भयावह दृश्य यसरी वर्णन गरे: ‘सियनामा मे महिनादेखि मानिसहरू भकाभक मर्न थाले। प्लेग निर्मम र दर्दनाक थियो। यो रोग लागेकाहरू तुरुन्तै मरिहाल्थे। दिनप्रतिदिन सयौं मानिसहरू मरे।’ तिनले अझ यसो भने: ‘मैले आफ्नै हातले मेरा पाँच जना छोराछोरीलाई गाडें र त्यस्तै हालत अरू थुप्रैको थियो। आफूले जोसुकै गुमाउनुपरे तापनि कोही रोएनन् किनभने सबै जना मृत्युको पर्खाइमा थिए। यति धेरै मानिस मरे कि सबैलाई संसारको अन्त भनेको यही हो जस्तो लाग्यो।’
कोही-कोही इतिहासकारअनुसार चार वर्षभित्रमा प्लेग युरोपभरि फैलियो र झन्डै एक तिहाइ जनसंख्या अर्थात् दुईदेखि तीन करोड मानिसहरू मरे। टाढाको आइसल्याण्डमा समेत ठूलो संख्यामा मानिसहरू मरे। भनिन्छ, सुदूर पूर्वमा १३ औं शताब्दीको सुरुमा चीनको जनसंख्या १२.३ करोडबाट
घटेर १४ औं शताब्दीको दौडान ६.५ करोड पुग्यो र यसको कारण सम्भवतः प्लेगसँगै सुरु भएको अनिकाल थियो।विगतमा कुनै पनि महामारी, युद्ध वा अनिकालले त्यस्तो व्यापक रूपमा दुःख निम्त्याएको थिएन। म्यान एण्ड माइक्रोब्स् (अङ्ग्रेजी) नामक पुस्तकमा यस्तो टिप्पणी गरिएको छ: “मानव इतिहासमा यस्तो विपत्ति पहिला कहिल्यै भएको थिएन। युरोप, उत्तर अफ्रिका र एसियाका केही भागहरूमा २५ देखि ५० प्रतिशत मानिसहरू सखाप भए।”
अमेरिकी महादेशहरू चाहिं संसारका अन्य भागबाट टाढा भएकोले ब्ल्याक डेथले गर्दा भएको विध्वंसबाट प्रभावित भएनन्। तर त्यहाँ ओहोरदोहोर गर्ने समुद्री जहाजहरूले चाँडै त्यो रोग पनि ल्याइपुऱ्यायो। पश्चिमी गोलार्धमा उत्पात मच्चाएको प्लेगभन्दा पनि भयानक महामारीहरू सोह्रौं शताब्दीमा देखापरे।
बिफरले अमेरिकी महादेशहरूलाई कब्जा गर्छ
सन् १४९२ मा कोलम्बस वेस्ट इन्डिजमा आइपुग्दा त्यहाँका मानिसहरू ‘राम्रो अनुहार भएका, हँसिला र मध्यम कदका हट्टाकट्टा जीउडाल भएका’ भनी वर्णन गरेका थिए। तथापि, पूर्वीय गोलार्धमा फैलिएका रोगहरू विरुद्ध तिनीहरूको लड्ने क्षमता कत्ति कमजोर छ भन्ने कुरा तिनीहरूको हृष्टपुष्ट बाहिरी रूप हेर्दा अनुमान गर्न मुस्किल पर्थ्यो।
सन् १५१८ मा हिस्पानियोला भन्ने टापुमा बिफरको प्रकोप सुरु भयो। त्यहाँका आदिवासीहरूमा बिफर पहिला कहिल्यै फैलिएको थिएन र यसको नतिजा विपत्तिजनक भएको थियो। एक जना स्पेनी प्रत्यक्षदर्शीले त्यस टापुमा जम्मा एक हजार मानिस बचे होलान् भनी अनुमान लगाए। यो महामारी चाँडै मेक्सिको र पेरूमा फैलियो अनि त्यहाँको हबिगत पनि त्यस्तै भएको थियो।
त्यसपछिको शताब्दीमा पिलग्रिम भनिने अङ्ग्रेजहरूको एउटा समूह उत्तर अमेरिकाको म्यासाचुसेट्स भन्ने ठाउँमा आइपुग्दा बिफरले त्यहाँका सम्पूर्ण बासिन्दालाई साँच्चै नै खत्तम पारेको थाह पाए। “त्यहाँका रैथानेहरू प्रायः बिफरले गर्दा मरिसकेका छन्” भनी पिलग्रिमका नेता जोन विनथ्रोपले लेखे।
बिफरपछि अन्य महामारीहरू भए। एउटा स्रोतअनुसार, कोलम्बस पुगेको एक शताब्दीपछि आयातित रोगहरूको कारण पश्चिमी गोलार्धको झन्डै ९० प्रतिशत जनसंख्या स्वाहा भयो। मेक्सिकोको जनसंख्या ३ करोडबाट घटेर ३० लाख पुगेको थियो भने पेरूको जनसंख्या ८० लाखबाट घटेर १० लाख पुगेको थियो। निस्सन्देह, बिफरको सिकार हुनेहरूमध्ये आदिवासी अमेरिकीहरू मात्र थिएनन्। “मानव इतिहासलाई हेर्ने हो भने, बिफरले प्लेग . . . र बीसौं शताब्दीमा लडिएका सबै युद्धले भन्दा पनि कता हो कता धेरै मान्छेको ज्यान लियो” भनी स्कर्ज—द वान्स एण्ड फ्युचर थ्रेट अफ स्मलपक्स (अङ्ग्रेजी) पुस्तक बताउँछ।
युद्ध अझै जित्न सकिएको छैन
आजभोलि, प्लेग र बिफरजस्ता डरलाग्दा महामारीहरू उहिले-उहिले भएका विपत्तिहरू मात्र हुन् जस्तो लाग्न सक्छ। बीसौं शताब्दीको दौडान विशेष गरी औद्योगिक राष्ट्रहरूमा मानिसहरूले सङ्क्रमित रोगहरू विरुद्ध थुप्रै विजयहरू हासिल गरे। डाक्टरहरूले प्रायजसो रोगका कारण र त्यसको
उपचारविधि पनि पत्ता लगाए। (तलको पेटी हेर्नुहोस्।) नयाँ खोप तथा एन्टिबायोटिक, जस्तोसुकै जब्बर रोगलाई निको पार्न सक्ने अचूक औषधी जस्तै भयो।तथापि, सं.रा.अ. नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका भूतपूर्व निर्देशक डा. रिचर्ड क्राउसले औंल्याएझैं “महामारी चाहिं मृत्यु र कर जत्तिकै निश्चित छ।” टिबी र औलो निर्मूल भएको छैन। अनि रुढीले विश्वमा अझै उत्पात मच्चाउन छोडेको छैन भनेर अहिले सर्वत्र फैलिएको एड्सले तीतो सम्झना गराउँछ। “सङ्क्रामक रोगहरू अझै पनि संसारमा हुने मृत्युको मुख्य कारण हुन् र यस अवस्थामा चाँडै परिवर्तन हुने कुनै लक्षण देखिंदैन” भनी म्यान एण्ड माइक्रोब्स् नामक पुस्तकले उल्लेख गर्छ।
रोगहरू विरुद्धको सङ्घर्षमा उल्लेखनीय प्रगतिहरूको बावजुद विगत केही दशकका उपलब्धिहरू क्षणिक हुन सक्छन् भनी केही डाक्टरहरू चिन्तित छन्। “सङ्क्रामक रोगहरूको खतरा उन्मूलन भएको छैन, अवस्था झनै खराब हुँदैछ” भनी महामारी रोकथाम विशेषज्ञ रबर्ट शोप बताउँछन्। यसपछिको लेखले यसको कारण बताउनेछ। (g04 5/22)
[फुटनोट]
a प्लेग विभिन्न किसिमका छन्। बुबोनिक प्लेग र निमोनिक प्लेग पनि यसका प्रकार हुन्। बुबोनिक प्लेग प्रायः मुसामा पर्ने उपियाँबाट सर्छ भने निमोनिक प्लेग चाहिं प्रायः सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा निस्कने छिटाबाट सर्छ।
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
चौधौं शताब्दीमा युरेसियाभरि फैलिएको महामारीको कारण मर्नेको संख्या एड्सले दुई दशकभित्रमै भेट्टायो
[पृष्ठ ६-मा भएको पेटी/चित्र]
ज्ञानको विरुद्ध अन्धविश्वास
चौधौं शताब्दीमा एभिनन स्थित पोपको घरमा पनि ब्ल्याक डेथको खतरा हुँदा तिनका चिकित्सकहरूले तीनवटा ग्रह, शनि, बृहस्पति र मङ्गल, मकरको आकारमा रहेको छ र यही नै प्लेगको मुख्य कारण हो भनेर बताए।
त्यसको झन्डै चार शताब्दीपछिको कुरा हो, जर्ज वसिङ्टनलाई राति सुत्दा एक चोटि घाँटी दुखेको थियो। तीन जना नाउँ चलेका डाक्टरले तिनको सङ्क्रमण निको पार्न तिनको नसाबाट झन्डै दुई लिटर रगत निकाले। केही घण्टामै बिरामीको मृत्यु भयो। झन्डै २,५०० वर्षसम्म—हिपोक्रेट्सको समयदेखि १९ औं शताब्दीको बीच भागसम्म नसाबाट त्यसरी रगत बगाउनु सामान्य उपचारविधि थियो।
अन्धविश्वास र परम्पराले चिकित्साजगत्को प्रगतिमा बाधा पुऱ्याए तापनि समर्पित डाक्टरहरू सङ्क्रामक रोगको कारण र त्यसको उपचार पत्ता लगाउन दत्तचित्त भई लागे। तिनीहरूले हासिल गरेका केही उल्लेखनीय उपलब्धिहरू यस प्रकार छन्।
◼ बिफर। सन् १७९८ मा एडवार्ड जेनरले पत्ता लगाएको बिफरको खोप सफल साबित भयो। बीसौं शताब्दीको दौडान पोलियो, पहेंलो जरो, दादुरा र रुबेलाजस्ता रोगहरूका रोकथामको लागि खोपहरू प्रभावकारी साबित भएका छन्।
◼ क्षयरोग। सन् १८८२ मा रोबर्ट कोकले क्षयरोगको ब्याक्टेरिया र रोग निदान गर्ने तरिका पत्ता लगाए। त्यसको झन्डै ६० वर्षपछि क्षयरोगको उपचार गर्न स्ट्रेप्टोमाइसिन भन्ने प्रभावकारी एन्टिबायोटिक पत्ता लाग्यो। यो औषधी बुबोनिक प्लेगको उपचारको लागि उपयोगी साबित भयो।
◼ औलो। सिन्कोनाको रूखको बोक्राबाट निकालिने कुइनाइन भनिने तत्त्वले १७ औं शताब्दीदेखि यता करोडौं औलो पीडित मानिसहरूको ज्यान जोगाएको छ। सन् १८९७ मा रोनाल्ड रसले औलो सार्ने एनोफिलिस जातको लामखुट्टे हो भनी पत्ता लगाए र पछि, उष्ण प्रदेशीय क्षेत्रहरूमा मृत्युदर घटाउन लामखुट्टे नियन्त्रणमा जोड दिइयो।
[चित्र]
राशिपत्र (माथि) र रगत बगाइराखेको
[स्रोत]
Both: Biblioteca Histórica “Marqués de Valdecilla”
[पृष्ठ ३-मा भएको चित्र]
पुनः देखापरिरहेको विभिन्न किसिमका क्षयरोगले आज वर्षेनी झन्डै २० लाख मानिसहरूको ज्यान लिन्छ
[स्रोत]
X ray: New Jersey Medical School–National Tuberculosis Center; man: Photo: WHO/Thierry Falise
[पृष्ठ ४-मा भएको चित्र]
लगभग १५०० तिर कुँदिएको यो जर्मन चित्रमा ब्ल्याक डेथबाट बच्न डाक्टरले मास्क लगाएको चित्रण गरिएको छ। त्यो चुच्चोमा अत्तर राखिएको हुन्थ्यो
[स्रोत]
Godo-Foto
[पृष्ठ ४-मा भएको चित्र]
बुबोनिक प्लेगका जीवाणुहरू
[स्रोत]
© Gary Gaugler/Visuals Unlimited