सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पुस्तकहरूको विरुद्धमा एउटा पुस्तक

पुस्तकहरूको विरुद्धमा एउटा पुस्तक

पुस्तकहरूको विरुद्धमा एउटा पुस्तक

इटालीका ब्यूँझनुहोस्‌! लेखकद्वारा

थुप्रै मानिसहरूले बाइबलप्रति किन पूर्वाग्रह राख्छन्‌? कुनै-कुनै देशमा यसको जवाफ “विधर्म” नियन्त्रण गर्नको लागि मानिसहरूले तयार पारेको एउटा माध्यम —इन्डेक्स अफ फरबिडन बूक्स अर्थात्‌ निषेधित पुस्तकहरूको अनुक्रमणिकाको इतिहाससित सम्बन्धित हुन सक्छ। यो कसरी हुन सक्छ?

छपाइसम्बन्धी आविष्कारलाई क्याथोलिक चर्चले बडो उत्साहित भएर स्वागत गऱ्‍यो। कोही-कोही पादरीहरूले “ईश्‍वरीय कला” भनेर वर्णन गरेको यस आविष्कारलाई केही पोपहरूले प्रशंसासमेत गरे। यद्यपि, चाँडै चर्चको धर्मतन्त्रले क्याथोलिक शिक्षा विपरीतका विचारधाराहरू फैलाउन छपाइको प्रयोग भइरहेको छ भन्‍ने कुरा चाल पायो। त्यसकारण, १५ औं शताब्दीको अन्तमा युरोपका थुप्रै पादरीहरूको अधिकार क्षेत्रहरूमा सीमितताहरू लागू गरियो। कुनै कुरा छाप्नुअघि रोमन क्याथोलिक विशपबाट अनुमति लिनुपर्ने नियम लागू गरियो र सन्‌ १५१५ मा पाँचौं ल्याटरन काउन्सिलले छपाइमा नियन्त्रण गर्ने निर्देशन दियो। यो नियम उल्लंघन गर्नेहरू चर्चबाट बहिष्कृत हुन सक्थे। तथापि, विशेष गरी धर्म सुधार सुरु भएपछि यो नियमले चर्चको विश्‍वास तथा नैतिकताको लागि खतरनाक मानिएका मुद्रित सामग्री तथा पुस्तकहरूको वितरण रोक्न सकेन। त्यसकारण, १६ औं शताब्दीको अन्ततिर भ्याटिकन मण्डलले “थुप्रै वर्षसम्म छपाइको काम नहोस्‌” भन्‍ने चाहना गऱ्‍यो।

त्यति पहिलाको कुरा होइन, सन्‌ १९५१ मा एक जना इटालेली जेसुइटले उल्लेख गरेअनुसार “संक्रामक पुस्तकहरूको अति खराब उग्र भेल” रोक्नका लागि चर्च सबै क्याथोलिकहरूलाई लागू हुने एउटा सूची चाहन्थ्यो। सन्‌ १५४२ मा रोमी इन्क्वीजिशन स्थापना गरियो। स्पष्टतः यसको पहिलो सार्वजनिक कार्य भनेको धार्मिक क्षेत्रको प्रेस स्वतन्त्रता विरुद्ध आदेश जारी गर्नु थियो। भूतपूर्व इन्क्वीजिटर-जनरल, जान प्येट्रो काराफा सन्‌ १५५५ मा पोप पल चौथो बनेपछि, निषेधित पुस्तकहरूको सूची तयार पार्न तिनले तुरुन्तै एउटा समिति गठन गरे। यसैले सन्‌ १५५९ मा सबै क्याथोलिकहरूलाई लागू हुने पहिलो इन्डेक्स अफ फरबिडन बूक्स छापियो।

कस्ता किसिमका पुस्तकहरू निषेधित थिए?

यो इन्डेक्स तीन “समूहमा” बाँडिएको थियो। पहिलोमा यस्ता लेखकहरूको सूची दिइएको थियो, चाहे जुनसुकै विषयमा लेखेका होऊन्‌, तिनीहरूका सबै पुस्तकहरू निषेधित थिए। दोस्रोमा निषेधित कृतिहरूको सूची थियो, जुन लेखकहरूका अरू पुस्तकहरूको निन्दा गरिएको थिएन। अनि तेस्रोमा निषेधित बेनामी कृतिहरूको लामो सूची दिइएको थियो। त्यो इन्डेक्समा १,१०७ वटा पुस्तक निषेध गरिएको थियो र यसले धार्मिक विषयका लेखकहरूलाई मात्र होइन तर अन्य साहित्यकारहरूलाई पनि असर गऱ्‍यो। एउटा परिशिष्टमा निषेधित बाइबल संस्करणहरूको सूची थियो, जसमा जनसाधारणले बोल्ने भाषाका सबै अनुवादहरू निषेध गरिएको थियो।

स्थानीय रूपमा लगाइएको प्रतिबन्ध सुरुमा असरदायी भए तापनि युनिभर्सिटी अफ पार्मा, इटालीका आधुनिक इतिहासका शिक्षक, जिल्योला फ्रान्येटोका अनुसार “सम्पूर्ण क्याथोलिकवादलाई असर गर्ने यी प्रबन्धहरूद्वारा चर्चले स्वदेशी भाषामा पवित्र पुस्तक छाप्न, पढ्‌न र आफूसित राख्न पहिलो पटक आधिकारिक प्रतिबन्ध लगायो।” पुस्तक बिक्रेता तथा सम्पादकहरूका साथै छपाइबाट नाफा कमाउने सरकारहरूले यो इन्डेक्सको उत्तिकै तीव्र विरोध गरे। यी तथा अन्य कारणहरूले गर्दा यसको नयाँ संस्करण छाप्ने प्रबन्ध मिलाइयो र काउन्सिल अफ ट्रेन्टको सभाहरूपछि सन्‌ १५६४ मा यो प्रकाशित भयो।

यसको संशोधनको रेखदेख गर्न विशेष गरी सन्‌ १५७१ मा इन्डेक्सको मण्डली खडा गरियो। कुन कृतिमाथि प्रतिबन्ध लगाउने भनी एक पटकमा तीनवटासम्म निकायले निर्णय गर्थे—ती निकायहरू पवित्र सेवाको मण्डली, इन्डेक्सको मण्डली र पोपको पदाधिकारी, पवित्र महलका शासक थिए। एउटै जिम्मेवारी विभिन्‍न व्यक्‍तिहरूले सम्हाल्ने भएको कारण तथा विशपहरूलाई बढी अधिकार दिनुपर्छ कि स्थानीय इन्क्वीजिटरहरूलाई भन्‍ने विषयमा मतभिन्‍नता भएको कारण निषेधित पुस्तकहरूको तेस्रो सूचीको प्रकाशनमा ढिलाइ भयो। इन्डेक्सको मण्डलीले तयार गरेर मार्च १५९६ मा क्लेमेण्ट आठौंले घोषणा गरेको इन्डेक्स, जनसाधारणले बोल्ने भाषाहरूका सबै बाइबलमाथि प्रतिबन्ध लगाउने आदेश दिन प्रभावकारी नहोउन्जेल पवित्र सेवाको अनुरोधमा स्थगित गरियो।

शताब्दीयौंको दौडान लगातार परिमार्जन भए तापनि यस संस्करणपछि इन्डेक्स अफ फरबिडन बूक्स धेरथोर स्थायी भयो। आफ्ना कृतिहरू पनि यसमा समावेश भएको देखेपछि थुप्रै प्रोटेस्टेन्टहरूले यस इन्डेक्सलाई “सबैभन्दा राम्रा पुस्तकहरू चिन्‍ने सर्वोत्तम मार्गदर्शक” भनी वर्णन गरे। तथापि, याद गर्नुपर्ने कुरा के छ भने, त्यतिबेला पुस्तकहरू जाँच गर्ने सम्बन्धमा प्रोटेस्टेन्टहरूको विचारधारा पनि झण्डै-झण्डै क्याथोलिकहरूको जस्तै थियो।

यस इन्डेक्सले संस्कृतिलाई संकुचित बनायो, जसले इटालीजस्ता देशहरूलाई “सीमित घेराभित्र” धकेल्यो भनी इतिहासकार एन्टोन्यो रोटोन्डो बताउँछन्‌। अर्का इतिहासकार ग्वीडो डालओल्योअनुसार “युरोपका अन्य भागहरूको तुलनामा इटाली सांस्कृतिक रूपमा पछाडि पर्नुका मुख्य कारणहरूमध्ये” यो इन्डेक्स पनि एक थियो। हाँसो उठ्‌दो कुरा, केही पुस्तकहरू बचे किनभने निषेधित साहित्य तालाबन्दी गरेर राख्नको लागि थुप्रै चर्चका पुस्तकालयहरूमा बनाइएका नरक (इटालेली भाषामा इन्फेर्नो) भनिने विशेष ठाउँमा ती थन्काइएका थिए।

यद्यपि, ज्योतिको युगमा जनसाधारणको विचारधाराले “प्रेस स्वतन्त्रता विरुद्ध प्रयोग गरिएको सबैभन्दा शक्‍तिशाली दमनकारी संयन्त्रको” पतनमा बिस्तारै नयाँ भूमिका खेल्यो। सन्‌ १७६६ मा एक जना इटालेली सम्पादकले यस्तो लेखे: “रोमको निषेधाज्ञाले पुस्तकको श्रेष्ठता निर्धारण गर्दैन। यो जनताले निर्णय गर्छन्‌।” यो इन्डेक्सको महत्त्व घट्‌दै गइरहेको थियो र सन्‌ १९१७ मा, यसको रेखदेख गर्ने इन्डेक्सको मण्डली विघटन गरियो। सन्‌ १९६६ देखि “चर्चका नियमहरूका साथै यससित सम्बन्धित अनुगमनको” सन्दर्भमा इन्डेक्सको “कुनै असर रहेन।”

जनसाधारणको भाषामा बाइबल

इन्डेक्सको इतिहासले प्रकट गरेअनुसार सबै “संक्रामक पुस्तकहरू[मध्ये]” विशेष गरी एउटाले चर्चका अधिकारीहरूलाई चिन्तामा पाऱ्‍यो—त्यो थियो, जनसाधारणको भाषामा बाइबल। सोह्रौं शताब्दीमा, “पूरै बाइबल वा नयाँ नियमको लगभग २१० वटा संस्करण” इन्डेक्समा सूचीबद्ध थिए भनी विशेषज्ञ खासूस मार्टिनाथ डे बुखान्डा बताउँछन्‌। सोह्रौं शताब्दीको दौडान इटालेलीहरू बाइबलका जोसिला पाठकहरू भनेर चिनिन्थे। यद्यपि, यस इन्डेक्सले स्थानीय भाषामा धर्मशास्त्र पढ्‌न कडा प्रतिबन्ध लगाएको कारण परमेश्‍वरको वचनसित यस राष्ट्रको सम्बन्धमा ठूलो असर पाऱ्‍यो। “इटालेलीहरूको मनमा विधर्मको स्रोत भनेर निषेध गरिएको तथा बेवास्ता गरिएको पवित्र धर्मशास्त्र, फलस्वरूप धर्मत्यागीहरूको लेखोटहरूसित छ्यासमिस हुन पुग्यो” भनी फ्रान्येटो बताउँछन्‌। तिनी अझै यसो भन्छन्‌: “दक्षिणी युरोपका क्याथोलिकहरूका लागि उद्धार पाउने मार्ग भनेको क्याटेकिजम्‌ अर्थात्‌ प्रश्‍नोत्तरद्वारा लिइने शिक्षा थियो” र “धार्मिक तवरमा परिपक्व व्यक्‍तिले भन्दा अपरिपक्व व्यक्‍तिले प्राथमिकता पाउँथ्यो।”

सन्‌ १७५७ मा मात्रै पोप बेनेडिक्ट चौधौंले ‘रोमन चर्चद्वारा अनुमति प्राप्त स्वदेशी भाषाका बाइबल अनुवादहरू’ पढ्‌ने अनुमति दिए। त्यसैले अन्तमा ल्याटिन भल्गेटमा आधारित नयाँ इटालेली संस्करण तयार पार्न सकियो। वास्तवमा, पूर्णतया मूल भाषाहरूमा आधारित, पहिलो पूर्ण बाइबल अनुवाद प्राप्त गर्न इटालेली क्याथोलिकहरूले सन्‌ १९५८ सम्म कुर्नुपऱ्‍यो।

फ्रान्येटोको भनाइअनुसार “जताततै धर्मशास्त्र वितरण गर्न” आज विशेष गरी गैर-क्याथोलिकहरू व्यस्त छन्‌। निस्सन्देह, सबैभन्दा सक्रिय भनेका यहोवाका साक्षीहरू हुन्‌, जसले इटालेली भाषामा ४० लाखभन्दा बढी प्रति न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होली स्क्रिप्चर्स वितरण गरेका छन्‌। यसरी तिनीहरूले लाखौं व्यक्‍तिहरूको हृदयमा परमेश्‍वरको वचनप्रतिको प्रेम पुनः जगाउन मदत गरेका छन्‌। (भजन ११९:९७) यो असाधारण पुस्तकसित अझ बढी परिचित हुनुभए कसो होला? (g03 9/08)

[पृष्ठ २०-मा भएको चित्र]

इन्डेक्स अफ द फरबिडन बूक्सका पृष्ठहरू

[स्रोत]

Su concessione del Ministero per i Beni e le Attività Culturali

[पृष्ठ २२-मा भएको चित्र]

चर्चद्वारा निषेधित १६ औं शताब्दीको एउटा बाइबल

[पृष्ठ २२-मा भएको चित्र]

“न्यू वर्ल्ड ट्रान्सलेसनले” थुप्रै मानिसहरूमा परमेश्‍वरको वचनप्रति प्रेम जगाएको छ