मौसम के यसमा कुनै गडबडी छ?
मौसम के यसमा कुनै गडबडी छ?
“दुई जना बेलाइती महाशयको भेट हुँदा सुरुमा तिनीहरू मौसमबारे कुरा गर्छन्।” यसरी प्रख्यात लेखक साम्यल जोन्सनले ठट्यौली गरेका थिए। तर हालैका वर्षहरूमा मौसम, कुराकानी थाल्ने विषय मात्र भएको छैन। यो संसारभरिका मानिसहरूको लागि गम्भीर चिन्ताको विषय भएको छ। किन? हुन त, मौसमबारे पूर्वानुमान गर्न सधैं नै गाह्रो भए तापनि अहिले अत्यन्तै अनियमित भएको छ।
उदाहरणका लागि, २००२ को ग्रीष्मऋतुमा युरोपमा असामान्य भीषण आँधीबेहरी चल्यो। फलस्वरूप, यसलाई “एक शताब्दीभन्दा लामो समयावधिको दौडान मध्य युरोपमा आएको सबैभन्दा भयानक बाढी” भनी वर्णन गरियो। तल दिइएका समाचारहरूलाई विचार गर्नुहोस्:
अस्ट्रिया: “अस्ट्रियाको साल्जवर्ग, कारिन्थिया र टिरोल प्रान्तहरू विशेष गरी भयानक आँधीबेहरीबाट प्रभावित भए। धेरै सडकहरूमा माटो र धूलोमूलोको दलदल थियो अनि फोहोरको डङ्गुर १५ मिटरसम्म अग्लो भयो। भियनाको सुटबानहोफ स्टेसनमा आँधीबेहरीको कारण भएको रेल दुर्घटनाले केही मानिसहरूलाई घाइते बनायो।”
चेक गणतन्त्र: “प्राग शहरको लागि यो एउटा डरलाग्दो अनुभव भएको छ। तर प्रान्तहरूमा भने यो विपत्ति अझै भयावह भएको छ। आफ्नो घरबाट अन्यत्र सारिएका मानिसहरूको संख्या २,००,००० सम्म पुग्यो। पूरै शहरहरू बाढीले डुबेका छन्।”
फ्रान्स: “तेइस जनाको मृत्यु, ९ जना बेपत्ता अनि हजारौं अत्यन्तै गम्भीर रूपले प्रभावित . . . सोमबारको हुरीमा बिजुली चम्कँदा तीन जनाको मृत्यु भयो। . . . संकटमा परेका मानिसहरूलाई उद्धार गरिसकेपछि एक जना वारुणकर्मीको मृत्यु भयो; पानीले तिनीहरूको गाडीलाई नै बगायो।”
जर्मनी: “संघीय गणतन्त्रको इतिहासमा अहिले ‘यो शताब्दीको बाढीमा’ जस्तो मानिसहरूलाई शहर र गाउँबाट यस्तो व्यापक रूपमा पहिला कहिल्यै उद्धार गर्नुपरेको थिएन। हजारौंको संख्यामा मानिसहरू आफ्नो घर छोडेर भागेका छन्। धेरैले सावधानी अपनाउन यसो गरे। कसै-कसैलाई अन्तिम घडीमा डुंगा वा हेलिकोप्टरबाट उद्धार गरियो।”
रोमानिया: “जुलाईको बीचतिर हुरीबतास आएदेखि झन्डै एक दर्जन मानिसले ज्यान गुमाइसके।”
रूस: “ब्ल्याक सीको किनारामा ५८ जना मानिसको मृत्यु भयो . . . लगभग ३० वटा कार र बस समुद्रको पींधमा परिरहेका थिए अनि फेरि आँधी आउन सक्ने सूचना प्रकाशित भएपछि खोजी गर्न सकिएन।”
युरोपमा मात्रै होइन
अगस्त २००२ मा जर्मन दैनिक सुडोइच जाइटुङ-ले यस्तो रिपोर्ट गऱ्यो: “एसिया, युरोप र दक्षिण अमेरिकामा भीषण वर्षा तथा हुरी आउने विचित्रको मौसमले ठूलो विध्वंश मच्चाएको छ। बुधबार नेपालमा गएको पहिरोमा कम्तीमा ५० जनाको मृत्यु भयो। दक्षिणी चीनमा आएको तुफानमा आठ जनाको मृत्यु भयो र मध्य चीनमा अत्यधिक वर्षा भयो। चीनको बाढीले गर्दा मेकोंग नदी उर्लेर ३० वर्षको इतिहासमा सबैभन्दा चरम बिन्दुमा पुग्यो र उत्तरपूर्वी थाइल्याण्डका १०० भन्दा बढी घरहरू डुबे। . . . अर्जेन्टिनामा भएको भीषण वर्षामा कम्तीमा पाँच जना डुबे। . . . चीनमा हालै ग्रीष्मऋतुमा आएको हुरीबतासले गर्दा एक हजारभन्दा बढी मानिसहरूको ज्यान गइसक्यो।”
संसारका थुप्रै भागमा पानीले कोलाहल मच्चाइरहेको बेला संयुक्त राज्य अमेरिकामा भने अति खडेरी लागिरहेको थियो। यस्तो रिपोर्ट गरियो: “देशभरिका मानिसहरू कम पानी र सुख्खा इनारले गर्दा चिन्तित छन्, जुनसुकै खोल्साहरूमा पानीको सतह अहिलेजति कम पहिले कहिल्यै भएको थिएन अनि यस याममा सामान्यभन्दा दुईगुणा बढी डढेलो लागेको छ। बालीनाली र चरनको विनाश, पिउने पानीको आपूर्तिमा कमी, डढेलो र हुरीले गर्दा विशेषज्ञहरू २००२ को खडेरीबाट अर्थतन्त्रमा परेको प्रतिकूल असरले अरबौं डलरको नोक्सानी बेहोर्नुपर्ने पूर्वानुमान गर्छन्।”
उत्तरी अफ्रिकाका केही भागहरूमा पनि १९६० को दशकदेखि लागेको खडेरीले उत्पात मच्चाइरहेको छ। रिपोर्टहरूअनुसार “२० औं शताब्दीको पहिलो भागभन्दा पछिल्लो भागमा बीसदेखि उनन्चास प्रतिशतले वर्षा कम भयो जसले गर्दा व्यापक अनिकाल र मृत्यु भयो।”
पूर्वी प्रशान्त महासागरको पानी तातो भएकोले देखा परेको एल निन्यो मौसम पद्धतिले बेला-बेलामा उत्तर तथा दक्षिण अमेरिकामा बाढी तथा अन्य मौसम गडबडी हुने गर्छ। a सि एन एन समाचार संगठनको रिपोर्टअनुसार १९८३/८४ को एल निन्यो “१,००० भन्दा बढी मृत्युको लागि जिम्मेवार थियो, अनि झण्डै सबैजसो महादेशमा मौसमसित सम्बन्धित विपत्तिहरू भए र यसले गर्दा सम्पत्ति तथा गाईवस्तु गरी जम्मा १० अरब अमेरिकी डलरको नोक्सानी बेहोर्नुपऱ्यो।” यी घटनाहरू १९ औं शताब्दीमा पहिलो चोटि देखा परेदेखि अहिले नियमित तवरमा (प्रत्येक चार वर्षको अन्तरालमा) भइरहेका छन्। तर विशेषज्ञहरूमध्ये कसै-कसैको विचारमा “एल निन्योले आफ्नो तालिका तीव्र बनाएको छ” अनि भविष्यमा यो “अझ धेरै देखिनेछ।”
नासा अर्थात् सं.रा.अ. राष्ट्रिय हवाई तथा वायुमण्डल प्रशासन यस्तो आश्वासन दिन्छ: “हामीले भोगिरहेको त्यो ‘अजिबको’ मौसम—त्यो असामान्य किसिमले तातो याम वा अत्यन्तै चिसो हिउँद—यी सबको कारण मौसममा भएको सामान्य, क्षेत्रीय परिवर्तन हो।” यद्यपि, गम्भीर समस्या हुन सक्ने संकेतहरू देखा परेका छन्। वातावरण-संरक्षण संगठन ग्रीनपीस यस्तो पूर्वानुमान गर्छ: “शक्तिशाली चक्रवात अर्थात् हावाको भुमरी र भीषण वर्षाजस्ता खतरनाक मौसम पद्धतिले यस ग्रहमा विध्वंस मच्चाइरहनेछ। अझ भयावह खडेरी तथा बाढीले यस पृथ्वीको दृश्य नै परिवर्तन गर्नेछ र यसले गर्दा समुद्री तटका जमिनको क्षय र जंगलको विनाश हुनेछ।” के यस्ता दाबीहरूको कुनै आधार छ? छ भने, यी “खतरनाक मौसम पद्धति” हुनुको कारण के हो? (g03 8/08)
[फुटनोट]
a अप्रिल ८, २००० ब्यूँझनुहोस्! अंकमा “एल निन्यो भनेको के हो?” भन्ने लेख हेर्नुहोस्।
[पृष्ठ ३-मा भएको चित्र]
जर्मनीमा (माथि) अनि चेक गणतन्त्रमा (बायाँ) बाढी