सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परागकण—खतरा वा चमत्कार?

परागकण—खतरा वा चमत्कार?

परागकण—खतरा वा चमत्कार?

अस्ट्रेलियाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

हाच्छिउँ! यो आवाज, आँसु बग्नुका साथै चिलाइरहेको आँखा र पानीजस्तो सिंगान बग्दै चिलाइरहेको नाकले करोडौं मानिसहरूलाई वसन्तऋतुको विजयोल्लास सहितको आगमनलाई संकेत गर्छ। यस्तो एलर्जी अक्सर वातावरणमा परागकण मिसिंदा हुने गर्छ। बी एम जे-को (पहिलेको ब्रिटिस मेडिकल जर्नल) अनुमानअनुसार औद्योगिक राष्ट्रका ६ जना मध्ये १ जना मानिस परागज्वर पनि भनिने खास ऋतुमा हुने परागकणको एलर्जीले ग्रसित हुने गरेको छ। यो संख्या बोटबिरुवाबाट हावामा मिसिएको परागकणको मात्रा विचार गर्ने हो भने त्यो संख्याको तुलनामा भने केही पनि होइन।

स्वीडेनका सल्लाघारीहरूबाट मात्रै वर्षेनी झन्डै ७५,००० टन परागकण हावामा मिसिन्छ भनी वैज्ञानिकहरू अनुमान गर्छन्‌। उत्तर अमेरिकाको परागज्वरका बिरामीहरूलाई दुःख दिने रागवीड भनिने एकप्रकारको बोटले मात्र दिनमा दस लाख परागकण उत्पादन गर्न सक्छ। हावाले उडाएपछि त्यस बोटका परागकण पृथ्वीको सतहभन्दा ३ किलोमिटर माथिसम्म अनि समुद्रमा ६०० किलोमिटर टाढासम्म पाउन सकिन्छ।

तर परागकणका कारण कसै-कसैलाई किन त्यस्तो एलर्जी हुने गर्छ? उक्‍त प्रश्‍नमाथि विचार गर्नुअघि आउनुहोस्‌ परागकणका यी साना कणहरूमा पाइने अद्‌भुत संरचनालाई हामी नियालेर हेरौं।

जीवनका लागि चाहिने साना कणहरू

दी इन्साइक्लोपीडिया ब्रिटानिका भन्छ, परागकण, “फल फल्ने बिरुवामा परागकोष अर्थात्‌ पुंकेशरमा बन्छन्‌ र विभिन्‍न माध्यमबाट (हावा, पानी, किटाणु इत्यादि) स्त्रीकेशर अर्थात्‌ स्त्री इन्द्रियमा पुग्छ, जहाँ पराग-सेचन हुन्छ।”

फूल फुल्ने बोटहरूमा परागकण तीन भिन्‍ना भिन्‍नै भागहरूबाट बनेका हुन्छन्‌—शुक्रकीटको केन्द्र र अरू दुईवटा पत्र जसले त्यस कणको भित्ता वा खोलको काम गर्छ। बाहिरपट्टिको कडा पत्र नफुट्‌ने अनि कडा एसिड, क्षार र चर्को तापले समेत केही असर नपुऱ्‍याउने खालको हुन्छ। तैपनि, कुनै-कुनै बाहेक प्रायजसो सबै परागकण केही दिन वा हप्तासम्म मात्र जीवित रहन सक्छन्‌। तथापि, यसको बाह्‍य कडा खोल भने कुनै क्षयविना हजारौं वर्षसम्म रहिरहन सक्छ। यसर्थ, पृथ्वीको माटोमा प्रशस्त परागकण पाउन सकिन्छ। वास्तवमा, माटोका विभिन्‍न गहिराइहरूमा पाइने परागकणका नमुनाहरूको अध्ययन गरेर वैज्ञानिकहरूले पृथ्वीको वनस्पतिको इतिहासबारे धेरै कुरा थाह पाएका छन्‌।

त्यो इतिहास एकदम सही हुन सक्छ र यसको श्रेय परागकणका बाह्‍य खोलमा पाइने एकदम विशेष डिजाइनलाई दिन सकिन्छ। परागकणको प्रकारअनुसार त्यो खोल चिल्लो, चाउरी परेको, बुट्टेदार अर्थात्‌ पातका चुच्चो धारहरू अनि डल्ला डल्ला परेको हुन्छ। “त्यसैले, चिन्‍नको लागि हरेक जातिका परागकण मानिसहरूको औंलाको छाप जत्तिकै भरपर्दो हुन्छ,” भनेर मानवविज्ञान प्राध्यापक भौन एम. ब्रायन्ट, जु. बताउँछन्‌।

बोटबिरुवामा पराग-सेचन हुने तरिका

परागकण एकपटक पोथी बिरुवामा हुने स्त्रीकेशरको एउटा भाग अर्थात्‌ योनिमुखको सम्पर्कमा आइसकेपछि रासायनिक परिवर्तनले गर्दा परागकण फुल्छन्‌ र बढेर तल रज कणसम्म पुग्ने नलीलाई ठूलो पार्छन्‌। त्यसपछि परागकणभित्र रहेका शुक्रकीटहरू त्यस नलीबाट अण्डाशयमा पुगेर अङ्‌कुराउन सक्ने बीउ बन्‍न थाल्छन्‌। बीउ परिपक्व भएपछि केवल यसलाई अङ्‌कुराउने उचित वातावरणको आवश्‍यकता पर्छ।

कुनै-कुनै बीउ लाग्ने बोटहरू भाले वा पोथीको रूपमा उम्रन्छन्‌ भने प्रायजसोले परागकण र रजकण दुवै उत्पादन गर्छन्‌। केही बोटहरूले स्वसेचन गर्छन्‌ भने अरूले आफ्नै जातिको वा आफ्नो जातिसित मिल्दोजुल्दो अन्य बोटहरूमा परागकण सारेर परसेचन गर्छन्‌। परसेचन गर्ने बिरुवाले “अक्सर परागकणलाई ग्रहण गर्न योनिमुख योग्य हुनुअघि वा पछि आफ्ना परागकण निष्कासन गरेर स्वसेचनबाट बच्ने गर्छन्‌” भनी ब्रिटानिका बताउँछ। अरूमा चाहिं आफ्नै बोटबाट निस्केको परागकण र त्यस्तै अरू बिरुवाबाट आएको परागकणलाई छुट्ट्याउन सक्ने रसायन हुन्छ। तिनीहरूले आफ्नै परागकण हो भन्‍ने चाल पाएपछि पराग नलीको वृद्धिलाई रोकेर परागकणलाई निष्कृय तुल्याइदिन्छन्‌।

थरीथरीका बोटबिरुवा भएको क्षेत्रमा हावामा विभिन्‍न थरीका परागकण मिसिएका हुन्छन्‌। बोटबिरुवाले त्यसबाट आफूलाई चाहिने परागकण कसरी छान्छन्‌? कुनै-कुनैले एरोडाइनामिक्सको जटिल सिद्धान्त अपनाउँछन्‌। उदाहरणका लागि, सल्लाको रूखहरूलाई विचार गर्नुहोस्‌।

बतास कटनी गर्ने

भाले सल्लाका कोणहरू झुप्पा झुप्पा भएर फल्छन्‌ र परिपक्व भएपछि बतासमा थुप्रै परागकण निष्कासन गर्छन्‌। पोथी सल्लाका कोणहरूले यसलाई घेरेर बसेका तीखा पातहरूको सहयोगमा बतासलाई यस्तो अचम्म किसिमले प्रवाह गराउँछन्‌ कि हावामा भएका परागकण फनफनी घुम्दै कोणका प्रजनन सतहहरूमा खस्छन्‌ भनेर वैज्ञानिकहरूले पत्ता लगाएका छन्‌। ग्रहणशील पोथीहरूमा कत्लाहरू एकअर्काबाट छुट्टिंदै बिस्तारै खुल्न थालेपछि यी सतहहरूमा यी कणहरू पस्न सक्छन्‌।

अनुसन्धाता कार्ल जे. निक्लासले सल्लाका कोणहरूको एरोनटीकल संरचनाबारे एउटा बृहत्‌ परीक्षण गरे। साइन्टिफिक अमेरिकन पत्रिकामा तिनले यस्तो लेखे: “हाम्रा अध्ययनहरूले देखाएअनुसार हरेक जातिका बिरुवाले उत्पादन गर्ने कोणको अद्धितीय आकारका कारण हावा अनौठो [फरक] ढंगमा भिन्‍नै दिशामा बग्न थाल्छ। . . . त्यस्तै गरी, हरेक प्रकारको परागकणको आकार, प्रकार र घनत्व बेजोड हुन्छ र यसले गर्दा हावाको तीव्रगतिसित समेत विशेष ढंगमा अन्तरक्रिया गर्न सक्छन्‌।” यी प्रविधिहरू कत्तिको प्रभावकारी छन्‌? निक्लास भन्छन्‌: “हामीले अध्ययन गरेका प्रायजसो कोणले अरूजातिको होइन तर ‘आफ्नै’ जातिको परागकण हावाबाट छान्छन्‌।”

हो, सबै बोटबिरुवाले हावाको माध्यमबाट पराग-सेचन गर्दैनन्‌ र एलर्जी हुनेहरूको लागि यो खुसीको कुरा हो! थुप्रैले जीवजन्तुहरूको सहायता लिन्छन्‌।

पुष्परसबाट प्रलोभित

चरा, साना स्तनपायी जन्तुहरू र कीरा-फटेङ्‌ग्राबाट पराग-सेचन हुने बोटबिरुवाले साधारणतया बल्छी, काँडा वा च्यापच्याप टाँसिने धागोजस्ता तत्त्वहरूको उपयोग गरेर चारा खान आउने पराग-सेचकको शरीरमा परागकण टाँसिदिन्छ। उदाहरणका लागि, भुत्लैभुत्ला भएको बम्बलबी भनिने एकप्रकारको माहुरीले एकपटकमै १५,००० वटा परागकण पराग-सेचन गर्ने गर्छ!

वास्तवमा, माहुरीहरू फूल फुल्ने बिरुवाका प्रमुख पराग-सेचक हुन्‌। त्यसको बदलामा बिरुवाले माहुरीहरूलाई खानको लागि गुलियो पुष्परस र परागकण उपहारस्वरूप दिन्छन्‌ र परागकणबाट भने माहुरीले प्रोटिन, भिटामिन, खनिज र चिल्लो पदार्थ पाउने गर्छ। एकदमै असाधारण आदानप्रदान कार्यमा माहुरीहरू १०० वटासम्म फूलमा पुग्छन्‌, तर एउटै जातिका फूलहरूबाट यिनीहरूले परागकण, पुष्परस वा ती दुवै तत्त्वहरू प्रशस्त मात्रामा वा नसिद्धिउन्जेल बटुल्ने गर्छन्‌। यो उल्लेखनीय स्वाभाविक व्यवहारले प्रभावकारी पराग-सेचन कार्यमा टेवा पुऱ्‍याउँछ।

फूलहरूद्वारा झुक्याइएको

कुनै-कुनै बोटबिरुवाले भने आफूलाई कीराहरूमार्फत पराग-सेचन गराउन गुलियोको सट्टा एकदमै भव्य किसिमले झुक्याउँछन्‌। पश्‍चिम अस्ट्रेलियामा उम्रने ह्‍यामर अर्किडलाई विचार गर्नुहोस्‌। ह्‍यामर अर्किडको फूलमा एउटा तल्लो पत्र हुन्छ जुन मानव आँखाले हेर्दा समेत त्यो आकर्षक अनि पखेटा नभएको पोथी बारुला जस्तै देखिन्छ। साँच्चैको पोथी बारुलाले दिने जस्तै यौन संकेत वा यौन गन्ध दुरुस्तै रासायनिक तत्त्वसमेत फूलहरूले उत्पादन गर्छन्‌! डाँठको टुप्पोमा रहेको यस्तो मनमोहक फूलको तल्लो पत्रको ठीक माथि परागकणले भरिएका चिपचिपे थैलाहरू हुन्छन्‌।

यस्तो नक्कली संकेतको सुगन्धबाट लोभिएर भाले बारुला यस नक्कली बारुलोलाई समातेर “तिनीसितै” उड्‌ने कोसिस गर्छ। तथापि, त्यो त्यहाँ पुग्ने वित्तिकै आफ्नो पखेटाको बेगले प्रियसीलाई सँगै माथि उठाउँछ र परागकणले भरिएका चिपचिपे थैलीहरूको बीचसम्मै पुऱ्‍याउँछ। आफ्नो गल्तीको हेक्का भएपछि त्यसले राम्रोसित चूलमा अड्‌केको उक्‍त नक्कली बारुलोलाई छोडेर आफ्नै ठाउँमा फर्कन्छ अनि फेरि अर्को ह्‍यामर अर्किडबाट मूर्ख बन्छ। a तथापि, यसपटक भने त्यसले अघिल्लोपल्ट टिपेको परागकणबाट यस अर्किडमा पराग-सेचन गर्छ।

तर पोथी बारुलाहरू सक्रिए छन्‌ भने भालेले तीमध्येकै एउटालाई छान्छ छद्‌मवेशी बारुलालाई होइन। यसले गर्दा, पोथी बारुलो भूमिगत प्युपा अवस्थाबाट निस्कनुभन्दा केही हप्ताअघि नै अर्किड फक्रन्छ र फूललाई अस्थायी लाभ दिन्छ।

एलर्जि किन हुन्छ?

केही मानिसहरूलाई परागकणको एलर्जी किन हुन्छ? ससाना परागकणका दानाहरू नाकभित्र पसेपछि नाकका लेसिलो म्युकसमा टाँसिन्छन्‌। त्यहाँबाट यी घाँटीमा पुग्छन्‌ जहाँ यी या त निलिन्छन्‌ या खकारसित बाहिर निस्कन्छन्‌ र कुनै प्रतिकूल असर पुऱ्‍याउँदैनन्‌। यद्यपि, कहिलेकाहीं परागकणले स्नायुप्रणालीलाई उत्तेजित गराउँछ।

यो समस्या परागकणको प्रोटिनसित सम्बन्धित छ। एलर्जी हुने रोगीहरूको स्नायुप्रणालीले कारणवश कुनै-कुनै परागकणको प्रोटिनलाई खतरा ठान्छ। तिनीहरूको शरीरले एकपछि अर्को गर्दै श्रृंखलाबद्ध प्रतिक्रियाहरू देखाउन थाल्छ र यसले शरीरमा पाइने संयोजक तन्तुहरूमार्फत अत्यधिक मात्रामा हिस्टामिन उत्पादन गराउन थाल्छ। हिस्टामिनले गर्दा रक्‍तनली फुल्छ र अनेकन्‌ तत्त्व सजिलै छिर्न सक्छ जसले गर्दा त्यसमा स्नायुकोषहरूमा प्रशस्त मात्रामा पाइने तरल पदार्थ चुहिन थाल्छ। सामान्य अवस्थामा यी स्नायुकोषहरू घाउ वा संक्रमण भएका ठाउँहरूमा गएर शरीरमा आक्रमण गर्ने हानिकारक तत्त्वहरूलाई नाश गर्न मदत गर्छन्‌। तथापि, एलर्जी हुनेहरूमा भने परागकणले गलत संकेत दिन्छ र यसले गर्दा नाक चिलाउँछ वा पानीजस्तो सिंगान बग्न थाल्छ, तन्तुहरू सुनिन्छ र आँखा रसिलो हुन्छ।

मानिसहरूमा यस्तो एलर्जी हुने झुकाव तिनीहरूको आमाबाबुबाट वंशाणुगत रूपमा सर्छ यद्यपि त्यो लक्षण भने एकै प्रकारको परागकणबाट मात्र लाग्ने नहुन सक्छ। वायु प्रदुषणले गर्दा पनि परागकणको एलर्जी हुन सक्छ। “जापानमा परागकणप्रति संवेदनशील व्यक्‍तिहरू र वरपरको हावामा डिजेलका कणहरू अत्यधिक मात्रामा मिसिने ठाउँले फरक पारेको पाइएको थियो,” भनी बी एम जे-ले बतायो। “जनावरहरूमा गरिएको अध्ययनले देखाएअनुसार यी कणहरूले एलर्जीप्रतिको संवेदनशीलतालाई बढाउँछन्‌।”

खुसीको कुरा थुप्रै रोगीहरूलाई एन्टीहिस्टामिन्सले रोगका लक्षणहरूलाई केही कम गर्न सक्छ। b अंग्रेजीमा नाउँले नै बुझाएझैं यो औषधीले हिस्टामिनको कार्यलाई प्रतिरोध गर्छ। तथापि, परागकणको झिजोलाग्दा असरबाट कुनै पनि व्यक्‍ति बच्न त सक्दैन तर जीवनका यी साना कणहरूको डिजाइन र छरिने प्रक्रियामा पाइने प्रवीणताबाट भने चकित हुन सक्छन्‌। ती नहुँदा हुन्‌ त पृथ्वी साँच्चै बाँझो हुने थियो। (g03 7/22)

[फुटनोटहरू]

a यस फूलको तल्लो पत्र कब्जामा अडिएर ह्‍यामर अर्थात्‌ घनले जस्तै तल माथि झुल्न सक्ने भएकोले यसलाई ह्‍यामर अर्किड भनिएको हो।

b विगतमा एन्टीहिस्टामिन्सले झुम्म पार्ने वा मुख सुक्खा बनाउने गर्थ्यो। तर नयाँ औषधीमा भने यस्ता प्रतिकूल असरहरूलाई कम पारिएको छ।

[पृष्ठ २५-मा भएको रेखाचित्र]

स्त्रीकेशर

डिम्बाशय

रज कण

परागकण पस्ने नली

योनिमुख

परागकण

पुंकेशर

परागकोष

पुष्पदल

[स्रोत]

NED SEIDLER/NGS Image Collection

[पृष्ठ २५-मा भएको चित्र]

विभिन्‍न प्रकारका परागकण सूक्ष्मदर्शक-यन्त्रबाट हेर्दा

[स्रोत]

Pollen grains: © PSU Entomology/PHOTO RESEARCHERS, INC.

[पृष्ठ २६-मा भएको चित्र]

ह्‍यामर अर्किड फूलको एउटा भाग पोथी बारुलाजस्तै देखिन्छ

[स्रोत]

Hammer orchid images: © BERT & BABS WELLS/OSF

[पृष्ठ २४-मा भएको चित्रको स्रोत]

Pollen grains: © PSU Entomology/PHOTO RESEARCHERS, INC.

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

Pollen grains: © PSU Entomology/PHOTO RESEARCHERS, INC.