प्वाँखभरि आँखा भएको सुन्दर चरा
प्वाँखभरि आँखा भएको सुन्दर चरा
भारतका ब्यूँझनुहोस्! लेखकद्वारा
तपाईंले शीर्षकबाटै अनुमान लगाइसक्नुभयो होला, हामी यहाँ मुजुरबारे कुरा गर्दैछौं। हो, भाले मुजुरको लामो प्वाँख विश्व प्रख्यात छ। a तर के तपाईंले कहिल्यै विचार गर्नुभएको छ, त्यस्तो भव्य प्वाँखको उद्देश्य के हो र के यो प्राणीको विशेषता यसको सौन्दर्य मात्र हो?
मुनाल जातिमा पर्ने यो चरा तीन प्रकारको हुन्छ। हामी यहाँ भारतीय वा साधारण मुजुरबारे कुरा गर्नेछौं जुन प्रायजसो निलो-हरियो रङको अनि १५० सेन्टिमिटर लामो पङ्खासमेत गरी यसको लम्बाइ २०० देखि २३५ सेन्टिमिटर हुन्छ। पङ्खाका प्वाँखहरू हरियो र सुनौला रङका हुन्छन् अनि आँखाजस्तो देखिने निलो र पहेंलो तामाको रङका छिर्काहरू हुन्छन्। जीउका प्वाँखहरू प्रायजसो धातुजस्तो निलो-हरियो रङका हुन्छन्।
मुजुरलाई भारतको राष्ट्रिय चरा भनी औपचारिक मान्यता दिइएको छ र हुन पनि यसको रूप साँच्चै भव्य देखिन्छ। त्यसैकारण होला, अहंकारी मानिसहरूलाई वर्णन गर्न “मुजुरजस्तो घमण्डी” भन्ने अभिव्यक्ति चलाइन्छ। तथापि, यो चरा यसको बाह्य रूपबाट देखिएजस्तो घमण्डी भने छैन। वास्तवमा यसलाई सजिलै घरपालुवा बनाउन सकिन्छ। कोही-कोहीले मुजुरलाई पवित्र ठान्छन्। यसकारण भारतको ग्रामीण इलाकाका कृषकहरू मुजुरले आफ्नो अन्नबाली सत्यानाश गर्दा पनि केही नगरी चुपो लाग्छन्।
तिनीहरूको शानदार प्रदर्शन
निस्सन्देह, मुजुरहरू आफ्नो प्वाँख फैलाएर पङ्खाजस्तो शानदार प्रदर्शन गर्ने चराको रूपमा प्रख्यात छन्। यो प्रभावकारी प्रदर्शनको उद्देश्य के हो? यसको मुख्य कामचाहिं पोथीहरूलाई आकर्षित गर्नु हो।
पोथी मुजुर अलि स्वांगे हुन्छिन् तर तिनको ध्यान खिच्न प्रदर्शन गर्ने भालेहरू देखेर भने तिनी भुतुक्क हुन्छिन्। मुजुरको पूरै फैलाइएको प्वाँखमा
विभिन्न रङका चम्किला आँखाहरू देख्दा पोथी मुजुर ध्यान नदिई बस्न सक्दिनन्। पोथीले सबैभन्दा शानदार प्रदर्शन गर्ने मुजुरलाई आफ्नो जोडीको रूपमा छान्छिन्।तर प्वाँख फिजाएर देखाउनु भनेको प्रदर्शन गर्नु मात्र होइन। भालेले पहिला अगाडि निहुरिएर पङ्खाजस्तो गरी प्वाँख फिजाउँछ। त्यसपछि त्यसले घमण्डी जस्तो देखिने नाच देखाउँछ। त्यसको रातो-रातो खैरो रङका प्वाँखहरू शरीरको छेउमा झुन्डिन्छन् अनि ठाडो भएका प्वाँखहरूले खस्य्राकखुस्रुक गरेको आवाज सुनिन्छ। त्यसले ठूलो आवाज पनि निकाल्छ। यो पटक्कै संगीतमय हुँदैन तर भालेले पोथीप्रति आफ्नो चासो व्यक्त गर्छ।
कहिलेकाहीं पोथी मुजुरले भालेका चालढालको कताकता नक्कल गर्न खोज्छिन् तर प्रायजसो त्यसले कुनै चासो देखाउँदैन। तर जे होस्, सबैभन्दा उत्कृष्ट प्रदर्शन देखाउनेले पोथीको मन जित्छ। एउटा भालेले आफ्नो समूहमा पाँचवटा पोथीसम्म राखेर एक वर्षमा २५ वटासम्म बच्चा काढ्न सक्छ।
मुजुरको पारिवारिक जीवन
बच्चा काढ्ने समयपछि प्वाँख झार्ने समय हुन्छ। औसतमा हेर्ने हो भने, हुर्किसकेको मुजुरको शरीरमा २०० भन्दा बढी प्वाँखहरू हुन्छन्। यो जातको जगेर्ना गर्न यसका प्वाँखहरूको निर्यात निषेध गरिनुअघि ग्रामीण इलाकाका भारतीयहरूले ती जम्मा गरेर पश्चिमी मुलुकहरूमा निर्यात गर्थे। निस्सन्देह, स्थानीय तवरमा यी प्वाँखबाट पङ्खा र अन्य आकर्षक सामानहरू अझै पनि बनाइन्छ।
मुजुरहरू साँझतिर आराम गर्ने उपयुक्त ठाउँ खोज्न अग्ला रूखहरू चढ्छन्। बिहान भने यिनीहरू बिस्तारै तलतिर ओर्लन्छन्। यी प्राणीहरूको सौन्दर्यले तपाईंका आँखा मोहित होलान् तर यिनीहरूको गायन पनि त्यही स्तरको हुनेछ भन्ने आश नगर्नुहोस्। यी चराहरू आहारा खोज्न नजाउन्जेल यिनीहरूको उराठलाग्दो आवाजले साँझको शान्त वातावरणलाई भंग गरिदिन्छ।
मुजुरहरू सर्वहारा हुन्—यिनीहरूले जे पनि खान्छन्। यिनीहरूको आहारमा कीरा, माउसुली र कहिलेकाहीं स-साना सर्पलगायत बीउ, अन्न, गेडागुडी र बाली-बिरुवाका नरम जराहरू पर्छन्।
मुजुर हेर्दा घमण्डी देखिए तापनि एकदमै सतर्क हुन सक्छ। शिकारमाथि झम्टन तयार बिरालोजस्ता खतराको चाँडै चाल पाएपछि, यो खतराको जनाउ दिन ठूलो आवाजले कराउँदै जंगलमा दौडन्छ। अरू भालेहरूले पनि साथ दिन्छन्। यिनीहरू असाध्यै छिट्छिटो लहरै दौडन्छन्। तथापि, पोथी मुजुरले अत्यन्तै खतरनाक अवस्थामा समेत आफ्ना चल्लाहरू त्याग्न मान्दैन।
पखेटाको लामो पङ्खाले पनि मुजुरको गतिमा केही फरक पार्दैन जस्तो देखिन्छ तर उड्ने बेलामा भने यी लामा पङ्खाले केही असुविधा पुऱ्याएको देखिन्छ। एक चोटि मुजुर उडिसकेपछि आफ्नो पखेटा एकदमै छिट्छिटो फट्फटाउँदै तीव्र गतिमा उड्छ।
आठ महिनाको हुँदा बचेराहरू माउलाई छोडेर आफै बाँच्न सक्ने भइसकेका हुन्छन्। यसरी यिनीहरू गुँड छोडेर जाँदा आमाले फेरि चल्ला काढ्न तयारी गर्न सक्छिन्। हुर्कंदै गरेका भालेहरूको चिनारी आठ महिनादेखि बढ्न थाल्छ तर चार वर्षको भएपछि मात्र पङ्खा पूरै बढिसकेको हुन्छ। तब यिनीहरू आफ्नो छुट्टै परिवार बसाल्न तयार हुन्छन्।
इतिहासमा मुजुर
मुजुरहरूले पुरातन ग्रीस, रोम र भारतका बगैंचाहरूको शोभा बढाएका थिए। कला र अन्य साजसज्जाको रूपमा भारतका शाही दरबारहरूमा हजारौं वर्षसम्म मुजुरहरू राखिन्थे। साँच्चै भन्ने हो भने, भारतको धनसम्पत्तिको अति महत्त्वपूर्ण उदाहरणमध्ये मुजुर सिंहासन पनि थियो। रिपोर्टअनुसार यसमा थुप्रै हीराहरू, १०८ वटा माणिक र ११६ वटा पन्ना जडिएको थियो। सिंहासनमाथिको झल्लरमा सुनौलो मुजुर थियो अनि यसैबाट मुजुर सिंहासन भन्ने नाउँ आयो। यो सिंहासनलाई एउटै ठाउँमा राखिन्थ्यो र महत्त्वपूर्ण अवसरहरूमा मात्र प्रयोग गरिन्थ्यो।
बाइबल इतिहासले देखाएअनुसार राजा सुलेमानले आयात गरेका बहुमूल्य थोकहरूमध्ये मुजुर पनि थियो। तिनको शाही बगैंचामा मुजुरहरू डुलिरहेको कल्पना गर्नु रोचक कुरा हो। (१ राजा १०:२२, २३) यी चराहरूले एक जना बुद्धिमान् रचनाकार हुनुहुन्छ भनेर अवश्य बताउँछ। मुजुरले आफ्नो प्वाँखको रंगीचंगी चम्किला पखेटाहरू फिंजाएर नाच्दा ‘सबै कुरा सृष्टि गर्नुहुने’ परमेश्वर, यहोवाको कलात्मक क्षमताको प्रशंसा नगरी बस्न सकिंदैन।—प्रकाश ४:११. (g03 6/22)
[फुटनोट]
a यी लामा प्वाँखहरू पुच्छरबाट नभई चराको पिठ्यूँबाट उम्रन्छन्। मुजुरले आफ्नो पुच्छरका प्वाँखहरूले पङ्खाको प्वाँखलाई माथि ठाडो उठाउँछ।
[पृष्ठ १८-मा भएको चित्र]
पोथी मुजुर भालेको नाच देखेर सधैं प्रभावित हुँदैन
[स्रोत]
© D. Cavagnaro/Visuals Unlimited
[पृष्ठ १९-मा भएको चित्र]
पोथी मुजुरहरू असल आमा हुन्
[स्रोत]
© 2001 Steven Holt/stockpix.com
[पृष्ठ १७-मा भएको चित्रको स्रोत]
Peacock: Lela Jane Tinstman/Index Stock Photography
[पृष्ठ १८-मा भएको चित्रको स्रोत]
John Warden/Index Stock Photography