सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

उत्पादनशीलतामा वृद्धि?

“चार जना क्यानेडियालीमध्ये एक जनाले हप्तामा ५० घण्टाभन्दा बढी काम गर्छ जबकि एक दशकअघि त्यो अनुपात १० जनामा एक जना थियो” भनी भ्यानकुभर सन भन्‍ने अखबार रिपोर्ट गर्छ। कुल ३१,५०० जनासित गरिएको संघीय अध्ययनअनुसार “जवाफ दिनेहरूमध्ये आधाजतिले घरमा वा सप्ताहन्तको दौडान मालिकको निम्ति थप २७ घण्टा काम गरिरहेको कुरा” थाह भयो। यसो हुनुको एउटा प्रमुख कारण प्रविधि हो। “सर्वेक्षणले देखाएअनुसार घरमा गरिने सबै बेतलबी काम . . . कम्प्युटरमा गरिने काम हो” भनी उक्‍त अखबार बताउँछ। त्यसकारण हप्तामा चार दिन काम गरेर फुर्सतको समय बढी हुनुको साटो “तनाव, बिरामी, लखतरान भएका, गयल हुनेहरू तथा अन्य असरहरू निम्त्याउने प्रमुख कारण प्रविधि हो।” उक्‍त अखबार थप यसो भन्छ: “प्रविधिले गर्दा काममा चासो र उत्पादकत्व बढेको छ भन्‍ने कुरामा जवाफ दिने अधिकांश व्यक्‍तिहरू सहमत छ। साथै, प्रविधिले गर्दा तिनीहरूको काम वा तनाव कम भएको कुरा कसैले पनि गरेनन्‌।” (g03 5/22)

“कुरा गर्ने” बोटबिरुवा

जर्मनीको बन विश्‍वविद्यालयअन्तर्गत प्रयोगात्मक भौतिकशास्त्रको लागि इन्स्टिच्युटका अनुसन्धाताहरूले बोटबिरुवाको कुरा “सुन्‍ने” लेजर जडित माइक्रोफोन विकास गरेका छन्‌। यी माइक्रोफोनहरूले बोटबिरुवा तनावग्रस्त हुँदा निष्कासन गर्ने इथाइलिन ग्याँसका ध्वनि तरंगहरू समात्छ। बन विश्‍वविद्यालयका वैज्ञानिक डा. फ्रांक कुनेमान यसो भन्छन्‌: “बोटबिरुवा जति बढी तनावग्रस्त हुन्छ, माइक्रोफोनमा सुनिने संकेत पनि त्यति नै ठूलो हुन्छ।” एउटा अध्ययनले देखाएअनुसार हेर्दा तन्दुरुस्त देखिने कांक्रो “कराइरहेको थियो” भनी संकेतहरूले देखाउँछ। “अझ होसियारीपूर्वक नियालेर हेर्दा यसमा ढुसी लागेको थियो तर बाहिरबाट हेर्दा भने राम्रै देखिन्थ्यो।” वास्तवमा भन्‍ने हो भने, बाहिरबाट दाग देखिनको लागि आठ नौ दिन लाग्छ अनि त्यो देखेपछि मात्र किसानहरूले समस्या भएको थाह पाउँछन्‌। लण्डनको द टाइम्स यसो भन्छ: “बोटबिरुवाको कुरा सुन्यो भने कीरा लागेको वा रोग लागेको चेतावनी प्रारम्भिक चरणमै पत्ता लगाउन सम्भव हुनेछ। फलफूल तथा तरकारी कत्तिको तनावग्रस्त भएका छन्‌ भनी थाह भयो भने सञ्चय र ढुवानीको लागि पनि मदतकारी साबित हुनेछ।” (g03 5/08)

भारतमा सञ्चारजगत्‌को वृद्धि

भारतमा अखबार पढ्‌नेहरूको संख्या १९९९ देखि २००२ सम्मको तीन वर्षे अवधिमा १३.१ करोडबाट वृद्धि भएर १५.१ करोड पुगेको छ भनी नेसनल रीडरसीप स्टडीज काउन्सिलले गरेको सर्वेक्षणले देखाउँछ। अखबार, पत्रिका र अन्य प्रकाशनको कुल संख्या लिने हो भने मुद्रित प्रकाशनका पाठकहरू भारतमा १८ करोड जति छन्‌। तथापि, भारतको जनसंख्यामध्ये ६५ प्रतिशतभन्दा बढी निरक्षर भएको हुँदा पाठकहरूको संख्या अझ बढाउन सकिने ठाउँ छ। टेलिभिजन दर्शकहरूको संख्या ३८.३६ करोड र रेडियो स्रोताहरूको संख्या ६८.०६ करोड पुगेको छ। सन्‌ १९९९ मा १४ लाखको तुलनामा अहिले ६० लाखले इन्टरनेट उपयोग गरिरहेका छन्‌। भारतमा टेलिभिजन हुने घरमध्ये आधाजसोसित केबल र भूउपग्रह प्रसारण छ अनि यो गत तीन वर्षमा ३१ प्रतिशत वृद्धि हो। (g03 5/08)

वैवाहिक बन्धन टुक्रिंदा चुकाउनुपर्ने मोल

दुई दशकभन्दा लामो समयावधिको दौडान प्रकाशित १०० वटा भन्दा बढी लेखलाई केलाएपछि सिभिटास फ्यामिलि स्टडीज युनिटका परियोजना प्रबन्धक रिबेका ओनिल भन्छिन्‌: “थुप्रै आमा, बुबा र केटाकेटीहरूको लागि ‘बुबा नभएको परिवारले’ गर्दा गरिबी, भावनात्मक पीडा, स्वास्थ्य समस्या, मौका नपाउनु अनि अस्थायित्वजस्ता” परिणामहरू भोग्छन्‌। ओनिलअनुसार टुक्रिएको परिवारका बालबालिकाहरूको “स्वास्थ्य समस्या हुने सम्भावना ५० प्रतिशत बढी हुन्छ अनि घरबाट भाग्ने सम्भावना दुई गुणा र दुर्व्यवहार भोग्ने सम्भावना पाँच गुणा बढी हुन्छ” भनी लण्डनको द सन्डे टेलिग्राफ रिपोर्ट गर्छ। उक्‍त अखबार यसो भन्छ: “आफ्नो जन्मजात बुबासित सँगै नबस्ने बच्चाहरूको पनि अरूसितको मानव सम्बन्ध र स्कूलमा समस्या हुने सम्भावना तीन गुणा बढी हुन्छ। किशोरकिशोरी छँदा मद्यपान, धूम्रपान, लागूपदार्थ सेवन गर्ने . . . अपराध गर्ने, कम उमेरमै यौनसम्बन्ध राख्ने र किशोरावस्थामै आमाबुबा बन्‍ने सम्भावना दुई गुणा बढी हुन्छ।” उक्‍त रिपोर्टअनुसार एकल आमाबुबाभन्दा विवाहित जोडीहरू गरिब वा विपन्‍न भए तापनि तिनीहरूका छोराछोरीले त्यस्तो समस्या सामना गर्ने सम्भावना कम हुन्छ। (g03 5/22)

हिंसात्मक मृत्युहरूको अग्रपंक्‍तिमा आत्महत्या पर्छ

“विश्‍वमा हेर्ने हो भने हिंस्रक मृत्युको अग्रपंक्‍तिमा आत्महत्या पर्छ” भनी लण्डनको अखबार, दी इन्डिपेन्डेन्ट रिपोर्ट गर्छ। विश्‍व स्वास्थ्यसंघको रिपोर्टमा आधारित लेखअनुसार सन्‌ २००० मा हिंस्रक कार्यहरूले गर्दा १६ लाख मानिसहरूको मृत्यु भयो। आत्महत्याले त्यो वर्ष ८,१५,००० र नरहत्याले ५,२०,००० अनि युद्ध तथा विवादले ३,१०,००० मानिसहरूको ज्यान लियो। सन्‌ २००० मा भएका अधिकांश मृत्यु “विकासोन्मुख राष्ट्रहरूमा भयो भने १० प्रतिशतभन्दा कमचाहिं विकसित राष्ट्रहरूमा भयो” भनी उक्‍त अखबार बताउँछ। बेलाइतभन्दा बेलारूस, इस्टोनिया र लिथुआनियामा आत्महत्या दर चार गुणा बढी थियो। अफ्रिका, उत्तर र दक्षिण अमेरिकामा आत्महत्याभन्दा नरहत्या दुई गुणाभन्दा बढी छ तर अस्ट्रेलिया, युरोप र सूदुरपूर्वमा यसको ठीक विपरीत छ। (g03 5/22)

निद्रा नपुगेका बालबालिकाहरू

निद्राको कमीले गर्दा बालबालिकामा भयावह परिणाम भइरहेको छ भनी यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट पत्रिका बताउँछ। निद्रा नपुगेका बालबालिकालाई स्कूलको पढाइ गाह्रो लाग्नुका साथै साथी बनाउन पनि समस्या हुन्छ। “पर्याप्त निद्रा नपुगेका बालबालिकाहरू छोटो समयसम्म मात्र ध्यान दिन सक्छन्‌ अनि चिढचिढाहा, छुकछुके र अधीर हुन्छन्‌” भनी उक्‍त पत्रिका रिपोर्ट गर्छ। यस्ता समस्याहरूको लागि अक्सर आमाबाबु जिम्मेवार हुन्छन्‌ भनी चिकित्सकहरूलाई चिन्ता लाग्न थालेको छ। बाल मनोचिकित्सक ब्राउन-म्याकडनल्ड यसो भन्छिन्‌: “तपाईंको पारिवारिक गतिविधिले गर्दा बच्चा राति ११ बजेसम्म सुतेको हुँदैन भने तपाईंले आफ्ना बानीहरू पुनः केलाउनुपर्छ।” बच्चाहरूको लागि सप्ताहन्तमा समेत राति सुत्ने र बिहान उठ्‌ने एउटै समय तोक्नुपर्छ अनि यसो गर्दा सुत्ने राम्रो बानी बस्छ। अन्य सुझावहरूमा सुत्नुअघि नुहाउने, गुटुमुटु पार्ने, स-सानाको लागि कथा पढिदिने र सुत्नुभन्दा एक घण्टाअघि टेलिभिजन हेर्न वा कम्प्युटर प्रयोग गर्न नदिनेजस्ता बानीलाई नियमित तवरमा कायमै राख्नुपर्छ। (g03 5/22)

पोपको स्मारिका बिक्रीमा ह्रास

केही वर्षअघिसम्म “[पोल्याण्डमा] धार्मिक सरसामानहरू बिक्री गर्दा राम्रै आयआर्जन हुन्थ्यो” भनी न्युजवीक-को पोलिस संस्करणले बताउँछ। तथापि, हालै भने पवित्र मूर्तिहरूको बिक्रीमा “संकट” आइपरेको छ। सन्‌ २००२ मा पोल्याण्डमा पोपको भ्रमणबारे व्यापक प्रचारप्रसार गरिए तापनि सिक्री र चित्रकलाजस्ता परम्परागत धार्मिक सरसामानको मागमा खासै वृद्धि भएन। पोपको चित्र भएको “प्लास्टर अफ पेरिस र धातुबाट बनाइएका अर्धमूर्ति, चित्रकला र आकृतिहरू बजारमा छ्यासछ्यासती” भए तापनि ग्राहकहरू जे पायो त्यही माल किन्दैनन्‌ भनी उक्‍त अखबार बताउँछ। तथापि, एउटा धारणा भने लोकप्रिय भएको छ। यो एकातिर “पवित्र मूर्ति” अनि अर्कोतिर “प्लास्टिकमा गालेर राखिएको सुनका गेडाहरू” भएको प्लास्टिक कार्ड थियो। यी “जपमाला कार्ड” अहिले सबैभन्दा अत्याधुनिक तथा लोकप्रिय पोप” स्मारिका हुन्‌ भनी पोलिस साप्ताहिक भ्रपोस्ट बताउँछ। (g03 5/22)

“खेल, खाजा र रगत”

जापानी युवाहरू “भिडिओ, कम्प्युटर गेम, खाजा र पैतालामा मसाज गर्ने सुविधा निश्‍शुल्क पाइने ठूलो खुला ठाउँ भएको एयर कन्डिसन कोठाहरूमा ओइरिंदैछन्‌” भनी आइ एच टी आसाही शिम्बुन रिपोर्ट गर्छ। “पूरा गर्नुपर्ने एउटा शर्त छ: रगत बगाउनुपर्छ” किनभने यी ठाउँहरू जापान रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्‍तदान केन्द्रहरू हुन्‌। “मानिसहरू पार्टीजस्तो वातावरणमा रक्‍तदान गर्छन्‌” भनी उक्‍त अखबार बताउँछ। “थुप्रै जवान मानिसहरू रक्‍तदान गरिसकेपछि त्यहीं हल्लिरहन्छन्‌ अनि निश्‍शुल्क दिइने डोनट, जुस र कम्प्युटर गेमको आनन्द उठाउँछन्‌। अर्को आकर्षण यहाँ हप्ताको केही दिन उपलब्ध निश्‍शुल्क भावी बताइने सुविधा हो।” मेकअपसम्बन्धी पाठ, शिआत्सु (अकुप्रेसर), कन्सर्ट, मसाज र सस्तो बजार पनि हुन्छ। रक्‍तदान कार्यप्रति आएको ह्रासलाई रोक्न रेडक्रसले देशभरि नै यस्ता केन्द्रहरू बनाउँदैछ। कुनै समय “निरस र डरलाग्दो” भन्‍ने नाउँ कमाएका यी केन्द्रहरू अहिले “विशेषगरी किशोरकिशोरी तथा २० देखि ३० वर्षबीचका जवानहरूको लागि लोकप्रिय जमघट थलो” भएको छ भनी उक्‍त अखबार बताउँछ। (g03 5/22)