गोपनीयताको विरोधाभासपूर्ण अवस्था
गोपनीयताको विरोधाभासपूर्ण अवस्था
“झुपडीमा बस्ने गरिब मानिसले राजाको शक्तिलाई तिरस्कार गर्न सक्छ।”—विलियम पिट, बेलाइती राजनीतिज्ञ, १७५९-१८०६.
पिटका यी शब्दहरूले संकेत गरेअनुसार सबै मानिसले अरूको हस्तक्षेपविना निजी जीवन बिताउन पाउनुपर्छ, अनावश्यक सुपरिवेक्षणबाट अलग आफ्नै संसारमा रहन सक्नुपर्छ।
गोपनीयताको परिभाषा संस्कृतिअनुसार फरक-फरक हुन सक्छ। उदाहरणका लागि, प्रशान्त महासागरीय सामोआ टापुका घरहरूमा अक्सर भित्ता हुँदैन अनि घरभित्र हुने प्रायजसो पारिवारिक क्रियाकलाप बाहिरबाट पूरै देख्न सकिन्छ। यद्यपि, त्यहाँ पनि निम्तोविना अरूको घरमा जानु अशिष्ट ठानिन्छ।
हितोपदेश २५:१७) प्रेरित पावलले यस्तो सल्लाह दिए: “आफ्नै धन्धाको फिक्री” गर। —१ थिस्सलोनिकी ४:११, नयाँ संशोधित संस्करण।
मानिसहरूले निजी जीवनमा धेरै हस्तक्षेप गर्नुहुँदैन भनेर पहिलेदेखि नै मानिलिंदै आएका छन्। विलियम पिटको उक्त प्रख्यात कथनभन्दा हजारौं वर्षअघि बाइबलले अरूको निजी जीवनमा हस्तक्षेप गर्न नहुने कुरा बताएको थियो। राजा सुलेमानले यस्तो लेखे: “तेरो छिमेकीको घरमा घरिघरि नजा, तँलाई ज्यादै देख्ता त्यसले तँलाई घृणा गर्नलाग्छ।” (गोपनीयताको अधिकार अत्यन्तै महत्त्वपूर्ण भएको हुँदा युनेस्को कुरियर-ले यसलाई “नागरिक-अधिकारको आधारशिला” भनेको छ। त्यही सिलसिलामा एक जना प्रभावशाली ल्याटिन अमेरिकी राजनीतिज्ञले यसो भने: “एउटा अर्थमा भन्ने हो भने, सबै मानव-अधिकार भनेको गोपनीयताको अधिकारका विभिन्न पक्षहरू हुन्।”
तथापि, अपराध र विश्वव्यापी आतंकवाद बढिरहेको वर्तमान अवस्थामा सरकार तथा नियम कानुन लागू गराउने निकायहरूले आफ्ना नागरिकहरूलाई सुरक्षा दिन गोपनीयताको अधिकार तोड्नुपर्ने महसुस गर्छन्। किन? किनभने समाजका आपराधिक तत्त्वहरूले गोपनीयताको अधिकारलाई नै खराबीलाई छोप्ने पर्दा ठान्छन्। त्यसकारण, आफ्ना नागरिकहरूलाई सुरक्षा दिन सरकारको जिम्मेवारी र व्यक्तिविशेषको गोपनीयताको अधिकारबीच सन्तुलन कायम गर्नुपरेको छ।
एकातिर गोपनीयता, अर्कोतिर सुरक्षा
सेप्टेम्बर ११, २००१ का दिन विश्व हल्लाउने आतंककारी आक्रमणले व्यक्तिगत गोपनीयताको केही पक्षमा सरकारले हस्तक्षेप गर्न पाउनुपर्ने सन्दर्भमा थुप्रै मानिसहरूको धारणामा परिवर्तन आएको छ। सं.रा.अ.-का भूतपूर्व संघीय व्यापार कमिस्नरले बिजनेस विक-लाई यसो भने: “सेप्टेम्बर ११ ले ठूलो परिवर्तन ल्यायो।” तिनले अझ यसो भने: “आफ्नो गोपनीयतालाई सुरक्षा दिइने समाजमा आतंककारीहरू खुलेआम हिंड्छन्। ती आतंककारीहरूको कर्तुत पर्दाफास गर्न गोपनीयतामा केही हस्तक्षेप गर्नुपर्ने भए तापनि धेरै मानिसहरूले ‘ठिकै छ, आफ्नो काम गर्नुहोस्’ भन्नेछन्। उक्त पत्रिका यस्तो रिपोर्ट गर्छ: “सेप्टेम्बर ११ पश्चात् लिइएको तथ्यांकले देखाएअनुसार ८६% अमेरिकीहरू अनुहार हेरेर चिन्ने प्रणालीको व्यापक प्रयोग होस् भन्ने चाहन्छन् भने ८१% चाहिं बैंक र क्रेडिट कार्ड कारोबारको राम्ररी सुपरिवेक्षण गरिएको अनि अरू ६८% ले परिचय-पत्र राख्ने प्रबन्धलाई समर्थन गर्छन्।”
कुनै-कुनै पश्चिमी सरकारहरूले सोचिरहेको परिचय-पत्रमा बहालवालाको औंठा छाप, आँखाको नानीसम्बन्धी विस्तृत विवरण, अपराधीको इतिहास तथा आर्थिक विवरण उपलब्ध हुनेछ। परिचय-पत्रको जानकारीलाई क्रेडिट कार्डको जानकारीसित मिलाउन सकिन्छ र त्यो अनुहार चिन्ने सुपरिवेक्षण क्यामराको लागि प्रयोग गरिन्छ। यसरी अपराधीहरूले आफ्नो आपराधिक गतिविधिको लागि मालसामान किनमेल गर्न जाँदा तिनीहरूलाई पक्रन सजिलो हुन्छ।
अपराधीहरूले लुगाभित्र वा घरको भित्तामा बम, बन्दुक वा चक्कूहरू लुकाएर खानतलासीबाट बच्न खोजे तापनि भेट्टाउन सकिन्छ। कुनै-कुनै सुरक्षा निकायहरूसँग भएको उपकरणले तपाईंले लुगाभित्र राख्नुभएको सबै कुरा देखाउँछ। हालै बनाइएका राडर उपकरणले प्रहरीहरूलाई सँगैको कोठामा चलहल गरिरहेका वा सास फेरिरहेका मानिसहरूसमेत चिन्न मदत गर्छ। तर के सुपरिवेक्षण गर्ने क्षमता बढ्दैमा आपराधिक गतिविधिमा कमी आएको छ त?
के क्यामराहरूले अपराधीहरूलाई हतोत्साहित गर्छ?
अस्ट्रेलियाको ग्रामिण इलाका, बोर्कमा अपराध दर बढ्न थालेपछि केही सीमित उपकरणहरूलाई संकेत प्रसारण गर्ने चारवटा टेलिभिजन (सि सि टि भि) क्यामरा जडान गरियो। फलस्वरूप, अपराधको दर निकै कम भयो। तर त्यस्तो सफलता सबै ठाउँमा पाउन सकिएको छैन। ग्लास्गो, स्कटल्याण्डमा अपराध दर कम गर्न सन् १९९४ मा ३२ वटा सि सि टि भि जडान गरियो। स्कटिश अफिस सेन्ट्रल रिसर्च
युनिटले गरेको अध्ययनअनुसार ती क्यामराहरू जडान गरेपछिको वर्षमा कुनै-कुनै अपराधहरू कम भए। तथापि, रिपोर्टले यसो भन्यो: “वेश्यावृत्तिजस्ता अभद्र किसिमका अपराधहरू १२० प्रतिशतले बढ्यो; बेइमानीका अपराधहरू २१८५ प्रतिशतले र अन्य (लागूपदार्थको दुरुपयोगजस्ता) ४६४ प्रतिशतले बढ्यो।”सुपरिवेक्षण गर्दा कुनै एक क्षेत्रमा अपराध कम भए तापनि समष्टिगत रूपमा हेर्दा अपराध दरमा भने कुनै फरक पाइएन। द सिड्नी मर्निङ हेराल्ड-ले “विस्थापन” भनिने प्रहरी तथा अपराधशास्त्रीहरूको पदावलीलाई प्रकाश पाऱ्यो। उक्त अखबारले अझ यसो भन्यो: “अपराधीहरू आफू क्यामरा वा प्रहरी गस्तीबाट पक्राउमा परिएला भनी थाह पाएपछि अर्कै इलाकामा गएर आपराधिक गतिविधिमा संलग्न हुन्छन्।” यो कुरा पढ्नुहुँदा सायद तपाईं बाइबलले धेरैअघि भनेको यो कुरा सम्झनुहुन्छ होला: “जसले तुच्छ काम गर्छ, त्यसले ज्योतिलाई घृणा गर्छ, र ज्योतितिर आउँदैन, नत्रता त्यसका कामको दोष प्रकट हुनेछ।”—यूहन्ना ३:२०.
नियम कानुन लागू गराउने निकायहरूले सामना गर्ने चुनौती के हो भने, अत्याधुनिक प्रविधियुक्त राडर वा सुपरिवेक्षण प्रणालीले पनि मानिसको मन अनि हृदयमा के छ भनेर पत्ता लगाउन सक्दैन। यद्यपि, अपराध, घृणा र हिंसा विरुद्ध लड्नुपर्ने साँचो लडन्त हृदयमा हो।
तर मानिसहरूले अहिलेसम्म आविष्कार गरेको भन्दा प्रभावकारी सुपरिवेक्षण प्रणाली सक्रिय छ। यस्तो प्रकारको सुपरिवेक्षण र यसले मानिसमाथि पार्न सक्ने सकारात्मक असरबारे अर्को लेखमा छलफल गरिनेछ। (g03 1/22)
[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]
“आफ्नो गोपनीयतालाई सुरक्षा दिइने वातावरणमा आतंककारीहरू खुलेआम हिंड्छन्”
[पृष्ठ ७-मा भएको पेटी/चित्र]
तपाईंको स्वास्थ्यसम्बन्धी रेकर्ड कत्तिको गोप्य छ?
थुप्रै मानिसहरू आफ्नो चिकित्सा विवरण अर्थात् डाक्टर र अस्पतालसित भएका आफ्नो व्यक्तिगत जानकारी गोप्य रहने ग्यारेन्टी हुन्छ भन्ठान्छन्। यद्यपि, प्राइभसी राइट्स क्लियरिङहाउस नामक गोपनीयता संरक्षण संगठन यस्तो चेतावनी दिन्छ, “तपाईंलाई सुरक्षाको झूटो आभास भइरहेको हुन सक्छ।” डेटाबेस नेशन—द डेथ अफ प्राइभसी इन द ट्वेन्टी फर्स्ट सेन्चुरी भन्ने पुस्तकका लेखक, सिम्सन गारफिन्कल यसो भन्छन्: “आज, चिकित्सा विवरणहरूको ठूलो भूमिका छ। . . . कसलाई जागिर दिने अनि कसको बिमा गर्ने जस्ता कुराहरूको निर्णय गर्न संघसंस्थाका मालिक तथा बिमा कम्पनीहरूले उक्त जानकारी प्रयोग गर्छन्। चन्दा संकलन गर्न अस्पताल तथा धार्मिक संगठनहरूले प्रयोग गर्छन्। सम्भाव्य क्रेताहरूको जानकारी पाउन बजार व्यवस्थापकहरूले समेत चिकित्सा विवरणहरू खोतल्छन्।”
गारफिन्कल अझ यस्तो टिप्पणी गर्छन्: “गोपनीयताको प्रक्रियालाई अझ जटिल बनाउने कुरा के हो भने, सामान्य जाँचको लागि अस्पताल जाँदा ५० देखि ७५ प्रतिशत मानिसलाई बिरामीको चार्टको जानकारी चाहिरहेको हुन्छ।” कुनै-कुनै ठाउँमा बिरामीहरू अस्पतालमा भर्ना हुँदा आफूले चालै नपाई अरूले पनि थाह पाउन सक्ने स्वीकृति जनाउँदै कागजातहरूमा हस्ताक्षर गरेर गोप्य जानकारी खुलाइरहेका हुन्छन्। यस्ता फारामहरूमा हस्ताक्षर गर्नुहुँदा “तपाईंले आफ्नो चिकित्सा जानकारी बिमा कम्पनी, सरकारी निकाय वा अन्य व्यक्तिहरूलाई उपलब्ध गराइरहनुभएको हुनेछ” भनी प्राइभसी राइट्स क्लियरिङहाउस बताउँछ।
[पृष्ठ ७-मा भएको पेटी/चित्र]
गोपनीयता र आर्थिक लाभ
इन्टरनेट प्रयोग गर्ने मानिसहरू विशेष गरी अनावश्यक सुपरिवेक्षणको सिकार हुन्छन्। प्राइभसी राइट्स क्लियरिङहाउस यसो भन्छ: “गोपनीयताको अधिकारको पूर्णतया सुरक्षित हुने त्यस्तो कुनै पनि अन-लाइन गतिविधि वा कार्य छैन। . . . इन्टरनेट चलाउने व्यक्तिहरूले विभिन्न साइटबाट जानकारी वा डकुमेन्ट प्राप्त गर्छन् . . . वा अरूसित अन्तरक्रिया नगरी केवल ‘ब्राउज’ गर्छन्। इन्टरनेट प्रयोग गर्ने धेरै जसो व्यक्तिहरू यस्ता गतिविधि अरूले थाह पाउँदैनन् भन्ठान्छन्। तर त्यस्तो हुँदैन। कसैले समाचारका वा अन्य कुन साइट वा बेब साइट खोलेर हेऱ्यो भन्ने जस्ता सबै अन-लाइन गतिविधिहरू रेकर्ड गरेर राख्न सकिन्छ। . . . इन्टरनेट प्रयोग गर्ने व्यक्तिको ‘ब्राउजिङ पद्धति’ . . . पैसा कमाउने एउटा महत्त्वपूर्ण स्रोत हो। . . . यो जानकारी पाएपछि व्यापार प्रबन्धकहरूले एकै नासे रुचि तथा स्वभाव भएका व्यक्तिहरूको सूची इन्टरनेटमा राख्न सक्छन्।”
त्यसो नहुँदो हो त, कम्पनीले उपभोक्ताहरूलाई पठाउने पत्रमा तपाईंको नाउँ हुन कसरी सम्भव छ र? निम्न कुराहरू गर्नुहुँदा तपाईंको नाउँ थपिन सक्छ:
◼ ग्यारेन्टी कार्ड वा उत्पादन रेजिस्ट्रेशन कार्ड भर्नुहुँदा।
◼ क्लब, संगठन वा संघहरूमा सदस्य हुँदा वा तिनीहरूलाई चन्दा दिनुहुँदा।
◼ पत्रिका, पुस्तक क्लब तथा म्युजिक क्लबको ग्राहक बन्नुहुँदा।
◼ फोन बुकमा तपाईंको नाउँ र ठेगाना राख्नुहुँदा।
◼ चिट्ठा वा अन्य प्रतियोगिताहरूमा भाग लिनुहुँदा।
साथै, तपाईंले डेबिट कार्ड, क्रेडिट कार्ड वा किनमेल गर्न चेक काट्ने कार्ड प्रयोग गर्नुहुँदा तपाईंले किन्नुभएका मालसामानहरूको सूची सँगसँगै तपाईंको नाउँ ठेगानाको पनि रेकर्ड राख्न सकिन्छ किनभने यो सबै जानकारी प्राइस स्क्यानरले सञ्चय गरेको हुन्छ। तपाईंले किनमेल गर्नुभएका कुराहरूबाट विस्तृत तथ्यांक तयार पारेर व्यापारिक प्रायोजनको लागि प्रयोग गर्न सकिन्छ। a
[फुटनोट]
a प्राइभसी वाच क्लियरिङहाउस वेब साइटबाट लिएर छाँटकाँट गरिएको जानकारी।
[पृष्ठ ६-मा भएको चित्र]
के सुपरिवेक्षणले अपराध कम गर्छ?