बाइबल मुद्रणको लागि शरणस्थान
बाइबल मुद्रणको लागि शरणस्थान
बेल्जियमका ब्यूँझनुहोस्! लेखकद्वारा
झण्डै ५०० वर्षअघि सिंगो बाइबलका प्रथम मुद्रित प्रतिहरू बेल्जियमको आन्ट्वर्पमा तयार पारिएका थिए। उक्त शहरप्रति बाइबल मुद्रकहरू आकर्षित हुनुको कारण के थियो? तिनीहरूले बाइबल छाप्न कस्ता खतराहरू मोले? यसको जवाफ पाउन हामीले १६ औं शताब्दीको सुरुतिर कस्तो घटना घटेको थियो, थाह पाउनुपर्छ।
आन्ट्वर्प शहर, उत्तरी समुद्रबाट ८९ किलोमिटर पर शेल्ट नदीको मुखैमा पर्छ। कथित सुनौलो युगको बेला, १६ औं शताब्दीमा आन्ट्वर्पले पहिला यस्तो संवृद्धि कहिल्यै अनुभव गरेको थिएन। भनौं भने, द्रुतगतिमा शहरको विस्तार भएपछि यो युरोपको सबैभन्दा ठूलो बन्दरगाह बन्यो। अनि यो पश्चिमी युरोपको १,००,००० भन्दा बढी बासिन्दाहरू भएको शहर हुन पुग्यो।
आन्ट्वर्पको संवृद्धिले गर्दा युरोपभरिका व्यापारीहरू यो शहरतिर आकर्षित भए। यसका साथै यो शहर झन् झन् संवृद्धशाली भइरहेकोले त्यहाँका अख्तियारवालाहरू अझ बढी सहनशील भए अनि आन्ट्वर्प, नयाँ धारणाहरू मौलाउने उपयुक्त ठाउँ हुन पुग्यो। यहाँको सहनशील वातावरणले नयाँ धारणाहरू छापेर फैलाउन सुरक्षित महसुस गर्ने मुद्रकहरूलाई आकर्षित गऱ्यो। छोटो समयमै १६ औं शताब्दीको आन्ट्वर्प शहर, मुद्रक, प्रकाशक र बिक्रेता गरी जम्मा २७१ जनाको अखडा भइसकेको थियो। त्यतिबेलाका निजामती अधिकृतले आफ्नो शहरलाई “सबै प्रकारका कला, विज्ञान तथा सद्गुणको लागि सुरक्षित उर्वरभूमि शहर” भनेर बडो घमण्ड गरेका थिए।
किताब तथा सन्तहरू जलाइए
मुद्रण गरेर वितरण गरिएका नयाँ धारणाहरूमध्ये एउटा मार्टिन लुथरको
थियो (१४८३-१५४६)। तिनी धर्मसुधार गर्ने धार्मिक अभियानका नेता थिए। यसैको फलस्वरूप प्रोटेस्टेन्टवादको सुरुआत भयो। धर्मसुधारको अभियान सुरु भएको छ महिनाभित्रै आन्ट्वर्पको किताब पसलहरूमा लुथरका कृतिहरू देखा पर्न थालिसकेका थिए। यो देखेर क्याथोलिक चर्च प्रसन्न नहुनु कुनै छक्कलाग्दो कुरा होइन। जुलाई १५२१ मा चर्चले कथित ४०० वटा धर्मविरोधी पुस्तक आन्ट्वर्पमा सार्वजनिक रूपमा जलायो। त्यसको दुई वर्षपछिको घटना हो, लुथरको धारणासित सहमत हुने दुई जना अगस्टियन सन्तलाई काठमा झुण्ड्याएर जिउँदै जलाइएको थियो।यस्ता आक्रमणहरूले आन्ट्वर्पका साहसी मुद्रकहरूलाई रोकेन। ती मुद्रकहरूको साहसले जनसाधारणलाई बाइबल उपलब्ध गराउन अत्यावश्यक भूमिका निर्वाह गऱ्यो। ती मुद्रकहरू को थिए?
सुरुका मुद्रक पछि शहीद
एड्रियन भान बर्गेन मुद्रक र किताब बिक्रेता थिए। लुथरका पुस्तकहरू बिक्री गरेको अभियोगमा तिनलाई सन् १५२२ मा ठिंगुरामा राखियो र त्यसको लगत्तै जेल सजाय सुनाइयो। पछि तिनलाई क्षमा गरियो तर तिनी तुरुन्तै फेरि आफ्नो काममा फर्के र छाप्ने काम थाले। यसपालि भने लुथरको “नयाँ नियम”-को आंशिक डच अनुवाद थियो। यो १५२३ मा प्रकाशित गरियो, अर्थात् जर्मन भाषामा लुथरको “नयाँ नियम” प्रकाशित भएको एक वर्ष नबित्दै छापियो।
तथापि, १५४२ मा नेदरल्याण्ड्सको डेल्फ्टस्थित भान बर्गेनको घरमा थुप्रै निषेधित पुस्तकहरू फेला परेपछि तिनी फेरि पक्राउमा परे। पहिला त न्यायाधीशले हल्का सजाय सुनाए, “निषेधित पुस्तकहरू घाँटीमा झुण्ड्याएर” दुई घण्टा ठिंगुरामा बस्ने। तर पछि भान बर्गेनलाई सजायस्वरूप मृत्युदण्ड सुनाइयो अनि तरबारले यी साहसी मुद्रकको टाउको छिनाइयो।
छेउको सानो टिपोटले तिनको ज्यान गयो
त्यस समयमा डच भाषाको बाइबल छाप्ने सबैभन्दा व्यस्त मुद्रक याकोप भान लिसभेल्ट थिए। तिनले डच भाषामा जम्माजम्मी १८ वटा बाइबल संस्करणहरू छापे। सन् १५२६ मा तिनले सम्पूर्ण डच बाइबल प्रकाशित गरे। त्यो बाइबल, फ्रान्सेली भाषामा छापिएको सिंगो बाइबलभन्दा चार वर्षअघि र पहिलो अंग्रेजी भाषामा छापिएको सिंगो बाइबलभन्दा नौ वर्षअघि छापियो! भान लिसभेल्टको बाइबल मुख्यतया लुथरको अपूरो जर्मन बाइबलमा आधारित थियो।
भान लिसभेल्टको १५४२ मा प्रकाशित अन्तिम डच संस्करणमा काठको सतहजस्तो देखिने छापामा कुँदिएका नयाँ छेउ टिप्पणीहरू थिए। उदाहरणको लागि, मत्ती ४:३ को छेवैमा काठको सतहजस्तो देखिने छापामा दियाबललाई दाह्रीवाल सन्तको रूपमा चित्रण गरिएको थियो र तिनको बोकाको जस्तो खुट्टा हुनुका साथै जपमाला बोकेका थिए। तथापि, क्याथोलिक चर्चलाई रिस उठ्नुको मुख्य कारण भने छेउका टिप्पणीहरू थिए। एउटा छेउको टिप्पणीमा यस्तो लेखिएको थियो—“येशू ख्रीष्टमार्फत मात्र उद्धार पाउन सकिन्छ” र यसै आधारमा भान लिसभेल्टलाई मृत्युदण्ड सुनाइएको थियो। भान लिसभेल्टले चर्चको अनुमोदन, “कृपा र अनुमति” पाएको आधारमा छापेको भए तापनि १५४५ मा तिनलाई आन्ट्वर्पमा टाउको छिनालेर मृत्युदण्ड दिइयो।
पहिला अनुमोदित, पछि निषेधित
त्यतिन्जेल फ्रान्सका ख्यातिप्राप्त क्याथोलिक मानवशास्त्री जाक लिफभ्रे डे एटापल्स् ल्याटिनबाट फ्रेन्च भाषामा बाइबल अनुवाद गर्न व्यस्त भए तापनि तिनले मौलिक युनानी पद पनि विचार गरे। डे एटापल्स् सर्वसाधारणको लागि बाइबल उपलब्ध गराउन चाहन्थे। तिनले यस्तो लेखे: “एकदमै शुद्ध ढंगमा ख्रीष्टको प्रचार हुने र कुनै मानव परम्पराहरूसित छ्यासमिस नहुने समय आउँदैछ, जुन अहिलेसम्म आइसकेको छैन।” सन् १५२३ मा तिनले पेरिसमा “नयाँ नियम”-को फ्रान्सेली अनुवाद प्रकाशित गरे। प्रतिष्ठित सोबोर्न विश्वविद्यालयका धर्मविद्हरूले यसको विरोध गरे किनभने यो स्थानीय भाषामा थियो। तिनीहरूको आक्रमणको दबाबमा डे एटापल्स् पेरिसबाट भागेर उत्तरपूर्वी फ्रान्सको स्ट्रासवर्ग गए।
यस्तो विरोधको कारण फ्रान्सका मुद्रकहरूले फ्रान्सेली भाषामा बाइबल छाप्ने आँट गरेनन्। त्यसो भए, डे एटापल्स्ले कहाँ गएर आफ्नो बाइबल छाप्ने? सबैभन्दा उपयुक्त ठाउँ आन्ट्वर्प थियो। आन्ट्वर्पमा मर्टन डे केजरले छापेको डे एटापल्स्को १५३० को बाइबल संस्करण एकै खण्डमा प्रकाशित पहिलो फ्रान्सेली बाइबल अनुवाद थियो। चाखलाग्दो कुरा के हो भने, डे केजरले बेल्जियमको सबैभन्दा पुरानो विश्वविद्यालय, लुभेनको क्याथोलिक विश्वविद्यालय र पवित्र रोमी सम्राट् चार्ल्स पाँचौं स्वयम्को अनुमोदन पाएर छापेका थिए! तैपनि, १५४६ मा डे एटापल्स्को अनुवाद पनि क्याथोलिक पाठकहरूलाई प्रतिबन्धित पुस्तकहरूको सूचीमा पऱ्यो।
“विशपले पुस्तक . . . टिन्डेलले पैसा पाए”
त्यही समयताका इंग्ल्याण्डका नियुक्त पादरी विलियम टिन्डेल बाइबललाई अंग्रेजीमा अनुवाद गर्न चाहन्थे। तथापि, लण्डनका विशप, कथबर्ट टन्स्टलले तिनको आलोचना गरे। टिन्डेलले इंग्ल्याण्डमा बसेर बाइबल अनुवाद गर्न नसकिने कुरा बुझेपछि जर्मनीमा भागे। अन्ततः फेब्रुअरी १५२६ मा “नयाँ नियम”-को पहिलो पूरा अंग्रेजी अनुवाद प्रकाशित गर्न तिनी सफल भए। एक महिना नबित्दै यो अनुवादका प्रथम प्रतिहरू बेलाइतमा देखा पर्न थालिसकेका थिए।
तर विशप टन्स्टल सर्वसाधारणलाई बाइबल पढ्न नदिन लागिपरेका थिए। यसैकारण, तिनले आफूले भेट्टाएजति सबै टिन्डेलको संस्करण जलाए। तैपनि, त्यसको वितरण भने रोकिएन। त्यसैकारण टिन्डेलको बाइबल इंग्ल्याण्डसम्म पुग्न नदिन विशपले प्याकिंग्टन नाउँका व्यापारीलाई सबै बाइबल किन्न लगाए। टिन्डेलले यो प्रस्ताव स्वीकारे अनि यसबाट प्राप्त रकम प्रयोग गरेर आफ्नो अनुवादमा सुधार गर्नुका साथै संशोधित संस्करण छापे। “अनि यस्तो सम्झौताले राम्रै परिणाम ल्यायो” भनी त्यतिबेलाको एउटा स्रोतले टिप्पणी गऱ्यो। “विशपले पुस्तक, प्याकिंग्टनले धन्यवाद र टिन्डेलले पैसा पाए।” तसर्थ, लण्डनको विशपले चालै नपाई बाइबल अनुवाद गर्ने टिन्डेलको कार्यलाई आर्थिक सहयोग जुटाइरहेका थिए।
टिन्डेलको आन्ट्वर्प सम्बन्ध
तर यी सबै प्रतिहरू संकलन गरेर जलाइसकेपछि पनि टिन्डेलको “नयाँ नियम” इंग्ल्याण्डको बजारमा छ्यासछ्यास्ती पाइन्थ्यो। त्यो कसरी हुन सक्थ्यो? आन्ट्वर्पका दुई जना साहसी मुद्रकहरू, हान्स र क्रिस्टोफर भान रुरमोन्डले टिन्डेलको “नयाँ नियम”-का थुप्रै गोप्य संस्करणहरू छापिसकेका थिए। यी बाइबलहरूमा थुप्रै मुद्रण त्रुटिहरू भए तापनि इंग्ल्याण्डका मानिसहरू ती पुस्तकहरू किन्न उत्सुक थिए।
तथापि, हान्सले टिन्डेलको “नयाँ नियम”-को १,५०० प्रति लण्डनमा छाप्नुका साथै इंग्ल्याण्डमा ५०० प्रति भित्र्याएकोमा तिनलाई झ्यानखानामा थुनियो। इंग्ल्याण्डको झ्यालखानामै तिनको मृत्यु भएको हुनुपर्छ। सन् १५३१ मा हान्सका भाइ क्रिस्टोफरलाई इंग्ल्याण्डमा “नयाँ नियम” बिक्री गरेकोमा झ्यालखानामा थुनियो। सम्भवतः क्रिस्टोफर पनि कैदी छँदै झ्यालखानामा मरे।
आन्ट्वर्पमा छापिएको “टिन्डेलको महान् स्मृति”
सन् १५२९ देखि १५३५ सम्म टिन्डेलले आफ्नो प्रायजसो समय आन्ट्वर्पमा बिताए र त्यहाँको वातावरण तिनको कामको लागि अनुकूल थियो। त्यहीं छँदा १५३० मा मर्टन डे केजरले टिन्डेलको पेन्टाट्युकको पहिलो अनुवाद छापे जसमा पहिलो चोटि अंग्रेजीमा यहोवाको नाउँ देखा पऱ्यो।
मे १५३५ मा टिन्डेल आन्ट्वर्पमा गिरफ्तार भए। तिनले झ्यालखानामा कैदी जीवन बिताइरहेको बेला तिनको चेला माइल्स कभर्डेलले टिन्डेलको हिब्रू धर्मशास्त्रको अनुवाद पूरा गरे। अक्टोबर ६, १५३६ मा बेल्जियमको भिल्भोर्डमा टिन्डेललाई काठमा बाँधी गलहत्याएर जिउँदै जलाइयो। तिनका अन्तिम शब्दहरू थिए: “हे, प्रभु! बेलाइती नरेशका आँखा खोलिदेऊ!”
टिन्डेलले छोडेको सम्पदा
टिन्डेललाई मृत्युदण्ड दिएको धेरै समय बित्न नपाउँदै इंग्ल्याण्डको राजा हेन्री आठौंले चर्चहरूमा बाइबल अनुवाद पढ्न अनुमति दिए। यो आन्ट्वर्पकै अर्को मुद्रक, मथायास क्रोमले छापेका थिए। यो बाइबल सामान्यतया म्याथ्युको बाइबल (थमस म्याथ्युको नाउँबाट राखिएको) भनेर चिनिन्छ र यसमा मुख्यतया टिन्डेलको अनुवाद समावेश गरिएको छ। a आफूहरूले केही वर्षअघि जलाएको बाइबल नै अहिले विशपहरूले प्रयोग गर्नु कस्तो व्यंग्यात्मक कुरा हो किनभने तिनीहरूले त्यही अनुवादको लागि टिन्डेललाई मृत्युदण्ड सुनाएका थिए।
टिन्डेलको प्रायजसो अनुवाद किङ जेम्स भर्सन-मा संरक्षित छ। तसर्थ, अंग्रेजी भाषामा किङ जेम्स भर्सन-ले छाप पारेका कतिपय शब्दहरू टिन्डेलकै थिए र सुरुमा आन्ट्वर्पमा छापिएका थिए। प्राध्यापक लात्राअनुसार अंग्रेजी भाषामा टिन्डेलको प्रभाव शेक्सपियरको भन्दा बढी थियो!
सोह्रौं शताब्दीको अन्तमा आन्ट्वर्पमा धार्मिक सहिष्णुताको वातावरण हराउँदै गयो र बाइबल मुद्रणको लागि “शरणस्थान” हुन छाड्यो। यो परिवर्तन खास गरी क्याथोलिक चर्चले गरेको प्रतिरोधात्मक धार्मिक सुधारले निम्त्याएको सतावटले गर्दा भएको थियो। तैपनि, आन्ट्वर्पका प्रारम्भिक बाइबल मुद्रकहरूको साहस र त्यागले आज संसारभरि बाइबल पाठकहरूलाई परमेश्वरको वचन उपलब्ध गराउन ठूलो योगदान पुऱ्याएको छ। (g02 9/8)
[फुटनोट]
a थमस म्याथ्युकै अर्को नाउँ जोन रजर्स होला र तिनी टिन्डेलका साथी अनि सहकर्मी थिए।
[पृष्ठ १३-मा भएको चित्र]
माथि: हातले छापा मिलाउँदै; बाइबल अनुवाद गरिरहेका मार्टिन लुथर; आन्ट्वर्प शहरको पुरानो नक्सा
[पृष्ठ १४-मा भएको चित्र]
याकोप भान लिसभेल्टको किताब पसल
[पृष्ठ १५-मा भएको चित्र]
जाक लिफभ्रे डे एटापल्स् र आन्ट्वर्पमा १५३० मा छापिएको तिनको बाइबल संस्करणको मुखपृष्ठ
[पृष्ठ १५-मा भएको चित्र]
लण्डनमा अंग्रेजी बाइबलहरू सार्वजनिक तवरमा जलाइँदै
[पृष्ठ १६-मा भएको चित्र]
विलियम टिन्डेल, तिनको बाइबलको एउटा पृष्ठ अनि माइल्स कभर्डेल
[पृष्ठ १४-मा भएको चित्रको स्रोत]
Page 13: Typesetter: Printer’s Ornaments/by Carol Belanger Grafton/Dover Publications, Inc.; Luther: From the book Bildersaal deutscher Geschichte; map: By courtesy of Museum Plantin-Moretus/Stedelijk Prentenkabinet Antwerpen; page 15: Portrait: From the book Histoire de la Bible en France; Bible page: © Cliché Bibliothèque nationale de France, Paris; burning Bibles: From the book The Parallel Bible, The Holy Bible, 1885; page 16: Tyndale: From the book The Evolution of the English Bible; Coverdale: From the book Our English Bible: Its Translations and Translators